टी पार्टी थियो । सुबासिनी मान्छेहरुको कान्तिपुरीका महिलावर्गमण्डली आगामी सुधारका घोषणाउपर टीकाटिप्पणी गरिरहेका थिए ।
लामो टेबुलको वरिपरि सब प्रगतिशील दाढी नदारत व्यक्तित्वहरु घुट्का लिन लागेका थिए । बिजुलीले बोलिन् ‘‘शायद यहाँ धूम्रपान निषेध होला ?’’
पाकेटबाट चट्ट लाइटर केस र चुरोट निक्ले र प्रश्नशील मुखको कोणमा ढल्किए । पराले बोलिन्, ‘‘छिः आइमाईले चुरोट खाएकी त कति पनि सुहाउँदैन नि ! ओठ सुक्छ, गाला टाँसिन्छ, रोगन सिसा हुन्छ है ।’’
बिजुलीले आँखा तरिन्, ‘‘मैले त्यस्तो उपदेश माग्या होइन । यहाँको नियम पो सोध्या त ।’’
पराले प्याकुलगाले, लेग्रे स्वरले जवाफ दिइन्, ‘‘नीति नि । के नीति, नीति होइन नि ।’’
बिजुली झेक्किन्, ‘‘मानिस कति सस्ता नीति, कदर हुन्छन्, बुझ्नु अघि ।’’
‘‘नीति भन्या के त हँ ?’’
‘‘चालकको नियम, चालकको काइदा ।’’
‘‘बेस… वैज्ञानिक नीति मान्नुहुन्छ कि धम्र्मनीति ?’’
‘‘दुवै….’’
‘‘धम्र्मनीति भने तपाईँ देवराज चाहनुहुन्छ । यस समाजमा आउनु तपाईँको कालो भूल ।’’
‘‘वैज्ञानिक नीति मान्दछु म ता ….. ।’’
‘‘त्यसो भए व्यक्तिगत टिप्पणी किन त ? के मेरो चाख तपाईँलाई आदरणीय छैन ?’’
‘‘हो हुना ता, विज्ञान के भन्दछ ! निकोटिनको नाम सुन्नुभएको छ ?’’
‘‘नाम मात्र होइन, नाता पनि … म विज्ञानमा एम्.एस्सी. पढिरहेको छु ।’’
पराको नूर अलि गिर्याे । उनी प्रथमासम्म पढेकी थिइन् तर थिइन् उच्च कुलीन ।
बिजुलीले थपिन्, ‘‘म धूम्रपानी छु…. बानीबाट अमलेख हुन ।’’
‘‘हँ ? के भन्या हँ ?’’ बीनु सोध्न आइपुगिन्, ‘‘केको झगरा हँ ?’’
‘‘धूम्रपान खराब रे ….. ।’’ … बिजुलीले जोरको नकली हाँसो निकालिन् ।
‘‘हैन त भन्या छिः सुहाउँदैन है ।’’
‘‘कल्लाई ? गरीबलाई ? .. सब उच्च कुलका धनी बुहारी आजकल के गर्छन् ?’’
‘‘हो बा, हुन त साँच्चि हकि परादी अस्ति ..’’
बिजुलीले पाराको मुख ताकेर थपिन्, ‘‘यो बिलकुल निर्दाेष आदत् हो । परिवर्तन एक औपन्यासिकता । नवीनता एक मोहनी । म परम्पराबाट अमलेख हुन् चाहन्छु, व्यक्तित्वका लागि ।’’ उनले सिग्रेट सल्काइन्, फुर्र… धूवाँ उडाइन् ।
‘‘जो अप्रचलित छ त्यो मलाई बेस लाग्छ । जो परम्पराविरुद्ध छ, त्यसमा म व्यक्तित्व देख्छु । धेरै जना स्त्रीले धूवाँ पिउन लागेपछि म यो आदत जरुर छोड्नेछु ।’’
नीला सुगन्धी कुकीहरु चिसा हावामा लहराए । बिजुली शान्त अखलबल थिइन् । ‘‘तपाईँहरु बोक्रे नीतिमा विश्वास गर्नुहुन्छ । के तपाईँलाई आमाबुबाले बूढो स्वामीसँग बिहा गरिदिए पोइलो जानेसम्म तपाईँको व्यक्तित्व छ ?’’ बिजुलीले भनिन् ।
पीनु, ‘‘ह्या ! मोरी !’’
बिजुली, ‘‘आम्मै ! खास कुरा गर्या मैले ।’’
पीनु, ‘‘लौ मारी !’’
परा एकछिन चूप लागिन् । उनको मुख केही रातो भयो । उनको उमेर थियो १८ वर्षको तर स्वामी थिएँ पैँतालीस । उनलाई एक किसिमको झनक्क रिस उठेर आयो ।
‘‘अझ सुन ! … के पक्क पर्नु भो ?’’
‘‘हामी पोइल जाने त्यस्ता नारी होइनौँ !’’
‘‘तब घर सडाहा ?’’
‘‘सावित्री घर सडाहा ?’’
‘‘त्यो पुरातन अपवाद .. म पुराना कथाले जीवन निमार्ण गर्न चाहन्नँ ।’’
‘‘यो झूटो आदत हो । पुराना परम्परा स्त्री भन्यो कि मलाई रिस उठ्छ । एक बित्ता अग्लो अकल मकुण्डो जस्तो ।’’
‘‘तपाईँहरु के आजकल नयाँ वेद बनाउन लाग्नुभा’छ कि त ?’’
‘‘बस्, औ के…. बुझ्नुभो .. आफ्नो वेद आफैँसँग हुन्छ, धर्म भनेको त अन्धो गल्ली हो ।’’
‘‘राम ! राम !’’
‘‘के तपाईँ दोस्रो पुरुष कल्पना गर्नदेखि घिनाउनु र तर्सिनु हुन्छ ?’’
‘‘जरुर !’’ पराले नाक सिकुडिन् ।
‘‘तब हेर्नाेस्, तपाईँको र मेरो अन्तर, म पोइलो जाने कल्पनादेखि घिनाउनसट्टा खास पोइलो गएकी नारी हुँ, पतिता है ?’’
सारा स्त्रीसमाज जिल्ल परी सुन्न लागे । यो के ? बिजुली ? महिलामण्डलकी सभानेत्री, बिजुली ? … त्यस्ती विदुषी बिजुली ? आफ्नै मुखबाट ? छिः छिः ठट्टा होला । कस्ती नकच्चरी ए हँ ? हो त, खुर खुरखुर मान्छे वा वेश्या नै होऊ !
‘‘पोइला जानु कुनै खराब कुरा होइन ।’’
‘‘दुई–चार महिला काम समातेर उठेर निस्के ।’’
‘‘किन ? …. लाटा, अतिरोगि, नपुंसक, अतिशिशु, अतिवृद्ध यी हाम्रा पुरुषै होइनन् बुझ्नुभो ।’’
एक–दुई जना महिला फर्केर आएर मेचमा चाखले बसे । पीनुले सोधिन्, ‘‘अनि, अनि बिजुली दी …. !’’
‘‘मेरो पहिलो विवाह भयो एउटा पचास वर्षको बूढोसँग, जब म १६ वर्षकी थिएँ– ऊ अति धनी थियो….. ठूलो मानिस जसको म नाउँ लिन चाहन्नँ ।’’
‘‘आम्मै ! साच्चै ?’’
‘‘तब के म झूट कुरा गरिरहेछु त ? उसको ठर्राे सेतो रौँ, बूढो ढंग र सिँगाने बानी देखेर मैले वेदसँग संघर्ष आरम्भ गरेँ …. मैले भनेँ, धर्म भनेको प्राकृत मानवजाति विकाशक नियम हो । डोको छोप्ने चलन होइन । मेरो आत्मा घिनायो । मैले विवाह गरेको एक हप्तामा उसको घरमा आवजावत गर्ने युवकलाई आँखाले इशारा गरेँ, त्यो इशारा थियो, ‘अबलालाई पतनबाट र नरकबाट– हे युवा ! उद्धार गर ।’ उसले प्रत्युत्तर दियो । अनि म खसोखास पोइला गएँ । अनि म ऊसँग दार्जिलिंगतिर भागेर गएकी थिएँ । उसको व्यक्तित्वविना र आफ्नो व्यक्तित्वविना त पढ्ने थिइनँ । मेरो जीवन झुल्काउने, यसमा प्रकाश हाल्ने केवल वैज्ञानिक नीतिअनुसारको शूद्ध त्यक्त विचार हो ।
‘‘कति छन् स्त्रीहरु जसमा व्यक्तित्व छैन । ममा त्यो व्यक्तित्व थियो म उत्रेँ । मलाई समाज पतिता भन्ने थियो । मेरो पुरुषको व्यक्तित्वद्धारा म विश्वको मुखमा बट्टा लगाएर समाजको अरु चढ्दो, बढ्दो आदरपात्रिका छु । व्यक्तित्व भनेको जीवन हो । मनुष्यत्व हो । यसको अभाव रोग र मृत्यु हो । हामीमा आफ्नो आत्मालाई खराब परिस्थिति, मिथ्या पुरुषत्व तथा झूट परम्पराबाट छुटाउन सक्ने सामर्थ चाहिन्छ । त्यो सामर्थ ममा थियो, म उत्रेँ । मेरो जीवन बन्यो ! यसलाई कसैले अशुद्धि भन्न सक्तछ ? भन्नेहरुको समाजलाई म तिरस्कार र त्याग गर्दछु । यो मेरो आत्मविजयले म आज त्यही बिजुली छु जो तपाईँहरु देख्नुहुन्छ ।’’
धेरै जना उठेर बाहिर निस्के । कोहीकोही चाख मानेर बसे । पीनुलाई साह्रै असजिलो लाग्यो । यी के छाँटकी मानिस होलिन् । समाजमा खुलस्त यसरी ? पराले चूपचाप सुनिरहिन् । केही कुरा जरुर साँचो थियो । तर यी धर्मछाडा नकच्चरीहरु छिः, यस्तो महिलामण्डलमा पदार्पण गर्नु … उनलाई उठेर बाहिर निस्कूँनिस्कूँ जस्तो लाग्यो तर उनी अडिरहिन् । बिजुलीले थपिन्, ‘‘व्यक्तित्वविनाका पुरुषद्धारा जातिसंहार हुन सम्भव हुन जान्छ । व्यक्तित्वविनाका स्त्रीहरुबाट मानवजातिको उच्च विकास हुन सक्तैन ।’’
पाराले प्रश्न गरिन्, ‘‘तब के उमेर नमिले विवाह–विच्छेद गर्नैपर्दछ त सबले ?’’
बिजुलीले जवाफ दिइन्, ‘‘म सम्झन्छु बिलकुल आवश्यकीय छ । किनकि विषम उमेरको मेल प्रकृतिविरुद्ध छ । म जान्दछु मैले पापर गरिनँ । म जान्दछु म नरकमा पर्दिनँ । युवायुवतीसँग र वृद्धावृद्धसँगै मात्र जोडा मिल्दछ । मानवविकासको तत्वविरोधी सब क्रियाहरु पप हुन् । त्यसका समर्थक र पोषक सब क्रियाहरु ध्र्म हुन् । म स्त्रीको मानवतातरफको उत्तरदायित्वको चेतले गर्दा म पोइलो गएँ । मलाई वैज्ञानिक पोइलोले विकास ग¥यो । मलाई वेश्ये बिजुली भन्दछन् । यो कलंकले मलाई छुँदैन । जस्तो आकाशलाई भलले । सारा समाज, देवीदेवता, विश्वका मुहारमा ठाडा हेरेर ठमठमाउँदै हिँड्न सक्छु । मैले बिलकुल पाप गरिनँ । तर मानवविकासपथमा व्यक्तित्वसँगै चलेँ ।’’
यति भाषणपछि सभा विसर्जन भयो । पीनुलाई फर्केर हेर्दा बिजुलीले देखिनन् । उनी घरतिर हिँडिसकेकी थिइन् ।
…..
पराले घरमा बिजुलीको नकच्चरो भाषणउपर गौर गर्न लागिन् । उनले गीता पल्टाइन् । भागवत पढिन् । तर सुनेको कुराले जरो हाल्दो रहेछ । गीतामा कृष्ण थिए तरुना, राम्रा अबलेला । स्त्रीको अन्तरहृदयमा विश्वपुरुषको भावनामा अमर बैँस तथा पुंसत्वकै भावना प्रधान रहन्छ । उनले जलले शरीर सेचन गरिन् । पञ्चामृत खाइन् । तर हृदयले इशारा गथ्र्याे अर्कै कुराको केही वस्तु ठोस अभाव घरमा अनुभव हुन्थ्यो । वेद र यौनभाव बराबर ठक्कर खान्थे । के भएको ? श्रीकृष्ण भगवान्लाई अक्षता, सिन्दूर, केरा, अम्बा चढाइन् । छिः किन जीउ गलीगली आएको होला यसरी । कूचो बढारिन् । तन्ना कसिन् । सिरक पल्टाइन् ।
आए खुरखुर साँहिला बाजे । बिर्तावाल, धनी, प्रतिष्ठित साहिँला बाजे । उनी बडा च्यान्टा, सुन्दर कदका थिए । खूब ठाँटी पनि । अघि ज्यादै उत्ताउला रे । उग्र रन्डीबाज । पछि टाइफाइड जरो आएपछि मात्र धर्ममा अत्यन्त मन लागेर भिन्नै मानिस भएका थिए ।
‘‘के छ यहाँ ? के गर्न लागेकी हँ ? कृष्णजीको पूजा ग¥यौ ?’’
‘‘हजूर’’
‘‘कहाँ पुगेर आएकी आज ?’’
‘‘एकबाजि त्यहाँ पीनु नानीले बोलाएर तीसम्म ।’’
‘‘महिलामण्डलमा ! धुत् धुत्, बिजुलीकहाँ होइन, त्यो वेश्ये कहाँ ?’’
‘‘कसरी थाहा पाउनु मान्छे ?’’
उनले कुरा ढाँटिन् ।
‘‘धुत्, धुत् । अब त्यहाँ नजानू फेरि, बुझ्यौ ? मलाई मन पर्दैन ।’’
तब तमाखु ल्याइन् । स्वामीजी बालिष्टमा अडेस लगाएर टु¥याउन थाले । ‘किन यी मानिस यस्ता होलान् ?’’ ब्रह्मचर्य पालन गर्ने रे । बाह्र वर्ष नियमले’ ।
उनलाई जान्न कुतिकुति झन्झन् बढेर आउँथ्यो । ‘यो के किसिमको ब्रह्मचारी होला त ? तीनोटा छोरा–छोरीसमेत भएको ।’ उनको प्रश्न घाटीमै अड्क्यो, उनले साहस गर्न सकिनन् । अनि कामको निहुँले बाहिर निस्किन् ।
सेता फुलेका रौँ जति हेरिरह्यो उति के के जस्तो लाग्यो । दाढी पनि किन झुस्स राख्या होला ? … बाहिर भ¥याङको टाउकोमा नौलीसँग भेट भो । नौली खिरखिर, खुरखुर, गरेर हाँसेर हिँडी । ‘किन हाँस्छे मोरी ? के हाँस्न मन लाग्या होला, नकच्चरीलाई ? सधैँ त्यसै गरी हाँसेर गिज्याएर दगुर्छे ।’
उनलाई एउटा नयाँ त्रास मनमा पैदा भयो । उनीले ठीक जानिनन् के ! नौली पछिपछि बुइँगलमा पुगिन् र दुइटा सेतासेता डबल देखाएर भनिन्,
‘‘ए नौली ! तँ मलाई देख्यो कि हाँस्छेस्, किन हँ ? साँचै बोल् म तँलाई यी दुइटा डबल दिन्छु ।’’
नौलीले मुख छोपी । ‘‘नाइँ, भो भोन्दैन बाः लाज लाग्छ ।’’ उसले भनी ।
‘‘ह्या मोरी । साँचो भन् । यी दुई डबल ।’’
डबल फरेस दूधजस्ता सेता थिए । लोभले अन्कनाएर बताई । सब गुह्य खुल्यो, ‘‘कसरी साहिँला बाजेसँग उसको लसपस थियो । ठूली बज्यै स्वर्गवास भएपछि, तर सानी बज्यैको विवाहअघि । तर कसरी साहिँला बाजेलाई टाइफाइट जरोले झण्डै मार्याथ्यो ।’’ अनि ऊ खिरखिर हाँस्न थाली ।
‘‘अनि ?’’
‘‘साहिँला बाजे बिकम्मा काम नलाग्ने भयो ।’’
‘‘हँ ? कस्ता हँ ?’’
‘‘के जाति मान्छे नपुंसक । ही.. ही… ही.. ।’’
बस् झल्याँस्स सब कुरा पराले बुझिन् । ‘ब्रह्मचर्यको रहस्य पो रहेछ, अब ? मलाई छकाएको होला । यो मोरीले थाहा पाएकी रहिछ । अब ? छिः कस्तो फोहोरी ? यस्ती भोटेनीसँग ?’ दुइटा डबल उनले उसको हातमा फ्याँकिदिइन् ।
‘‘कस्तो घीनलाग्दो मान्छे होला हँ ? ‘टाइफाइड’ जरोले के नपुंसक बनाउँछ कसलाई ?’’ उनी देवरको टेबिलमा रहेको हिन्दीको ‘होमियोपैथी’ को ठेली पल्टाउन पुगिन् । टाइफाइड पछि अंगहरु बिग्रने, अन्धो हुने, नपुंसक हुने पनि हो रहेछ ।
‘‘तब बिहा किन ग¥या होला त ! अचम्म ! त्यस्तो उमेरमा’’ फेरि वसुन्धराकहाँ पुगिन् उनी । कुरा खोत्याउँदा उसले भनी, ‘‘साहिँला बाजेले भनेका थिए, उनलाई विवाह गर्नाको जरुरत थियो । ऊ बराबर पाउ दाब्न जान्थी । एउटी घरकी बजै नभई कसरी घर उलाउनु रे ? नौलीलाई मालिकनी बनाए छोराछोरीले चित्त दुखाउँछन् र निकाल्छ रे ! त्यसैले नचाहिए पनि घर सह्माल्न बिहा ग¥या रे !’’
क्रोधले झन्न बलेर परा तल ओर्लिन् । अबदेखि उनको चाला अघिभन्दा बिलकुल विपरित थियो । कोठामा पसिन् । स्वामीजी तमाखु टु¥याउँदै थिए ।
‘‘बुझ्यौ, बिजुली महिलामण्डलमा नजानू, मलाई निको लाग्दैन । त्यो बिजुली वेश्या हो ।’’
‘‘हँ के भन्यौ ?’’ स्वामीजी सशंक मुख हेर्न लागे ।
‘‘खबरदार, जान पाउन्नौ ।’’
‘‘हजूरको के अधिकार छ त्यस्तो निषेध गर्ने ?’’
स्वामीजी जिल्ला खाए । किन आज यत्रो विरोध आँधी हँ ? उनले भूल गरेका थिए । केही चीज सामग्री किन्नुपर्ने थियो उनको निमित्त । बिर्सेका थिए ।
‘‘म के हजूरकी नोकर्नी हुँ, त्यत्रो जखडबन्धकम राखिन बेकार ?’’
‘‘उहुँ, ठीक चालो छैन, व्यर्थ बिहा गरेँ क्यार ! यो मानिस ?’’ मनमनै सोच्दै साहिँला बाजेले भने, ‘‘किन ? किन ?’’
‘‘हजूरहरु स्त्रीलाई मालताल सम्झिबक्सिन्छ ।’’
‘‘अहँ ?’’ साहिँला बाजेले आँखा झिम्के ।
‘‘के हजूरलाई स्त्रीको जरुरत थियो रे ?’’
‘‘लौ पक्का पनि भेद खुल्यो’’, साहिँला बाजेको अन्तरले भन्यो ।
‘‘किन थिएन त ?’’ उत्तरमा भने ।
‘‘झूटो बोल्छन् तिनीहरु जो नपुंसक छन् ।’’
तब साहिँला बाजेले रोएर आफ्नो भूल स्वीकार गरे । उनलाई छोराछोरी हेर्ने मानिस चाहिएको थियो ।
भूल भयो । भेद पत्ता लागिहाल्यो । सूर्यलाई ढाकेर ढाकिन्थ्यो ?
परा रिसले चूर भइन्, ‘‘अर्काकी छोरीको जीवन यसै गरी बिगारिदिने हो त ? … नपुंसक !’’
साहिँला बाजेले हात जोडे, ‘‘नरिसाऊ, तिम्रो जे इच्छा गर, म केही भन्ने छैन !’’
‘‘के म रन्डी हुँ ? झ्याल … ?’’
‘‘धिक् ! के के आपद् आइलाग्यो गजबकी बाघिनी पो रहिछन् । यत्तिका दिन सिकाएको ब्रह्मचर्य र धर्म माटैमा मिल्यो त ?’’
‘‘के गर्छाै त ? मलाई छोडेर जान्छौ त ?’’
‘‘जरुर ! म एक निमेष बस्न चाहन्नँ नौलीका पोइ !’’
‘‘निन्ति छ, मेरो बेइज्जत नगर ।’’
‘‘म संसारलाई जाहेर, नराधम !’’ परा हिँडिन्, कता ? को जान्न सक्तथ्यो ?
शायद त्यही बिजुलीसँग बस्न– जसतरफ उनको धार्मिक हृदयमा त्यत्रो जोर परेर घृणा उत्पन्न भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।