२०७६ चैत्र १ गते, शनिबार

हप्ताको एक दिन बल्ल बल्ल आउने शनिबार । काठमाडौंमा अझै पनि घाम न्यानो लाग्ने बेला छ । घरको छतमा बसेर कान्तिपुरको शनिबार अङ्क हेर्दैछु ।

एउटा कविता देखेँ । कविता छोटो थियो । लेखकको नाम पढेँ । फोटो हेरेँ । मैले चिनेको मान्छेको कविता, मतलब पीपलको कविता । लेखकको चिनारी पनि सँगै थियो । यो ४०० औँ कविता रे !

म कविता अनिवार्य पढ्ने मान्छे होइन । तर समय र परिवेश मिलेमा अनि शीर्षक र लेखक चित्त बुझेमा कविता पढ्छु । कविता पढेँ ।

समय मलाई माफ गरिदेऊ
म तिमीसँग बग्न सकिनँ
तिम्रो सेकेण्डको सुईसँग
म अघि बढ्न सकिन ।
मैले कफिशालामा आँखा जुधाउँदा
अरु थप पेश गर्न सकिनँ
वियर, भोड्का र ह्वीस्कीहरु
उन्माद र मादकता छर्ने प्यालाहरु ।
समय मलाई माफ गरिदेऊ
म तिमीसँग अघि बढ्न सकिनँ ।

कविताको समय जति महान् त म के हुन सक्थेँ होला र । तर कविता पढुञ्जेल र पढिसकेपछि केहीबेर ‘समय’ को हो र के हो भन्ने सोचेँ । म आफैंको कल्पना गरेँ । यो कल्पनाले मलाई अवचेतन मस्तिष्कमा खिचेर राखिएका तस्बिरहरुको यात्रा गरायो । म भावविह्वल भइनँ । अनि भावशून्य पनि देखिइनँ ।

चिनजान धेरै वर्ष पहिला दोहोरो थियो । अहिले एकोहोरो पनि छैन । केवल मानसपटलमा यादहरु छन् । कविता पढेपछि म आश्चर्य चकित भएँ । यति धेरै कविता, यति धेरै धैर्यता र मेहनत । निकै प्रशंसनीय कालखण्ड व्यतित भइसकेछ लेखिकाको जीवनमा ।

टी.एन. आचार्य

२०७६ चैत्र ८ गते, शनिबार

अर्को कविताको व्यग्र प्रतीक्षा त गरिनँ । तर कहीँ कतै कविता जक्काभेट भइहाल्छ कि भन्ने आशामा अघिल्लो शनिबार बिट मारेको थिँए । मैले आफूलाई विषयान्तर गरेको थिएँ ।

काठमाडौँ निकै सशंकित भइसकेको थियो । कोभिड–१९ को महामारी सँघारमै आएर ढोका ढकढक्याउँदै थियो । आँखाभरि अनिश्चय बोकेर समाचार पढिन थालिएको थियो । फेरि अर्को शनिबार आयो । आज चाहिँ म कोठाभित्र नै बसी मोबाइल हेर्दै थिएँ । साहित्यपोष्ट अनलाइनमा अर्को कवितासँग जम्काभेट भयो । लेखिका उही थिइन्, पिपल ।

जम्काभेट भएको कवितासँग दोहोरो संवाद सुरु गरेँ ।

आकर्षण प्रेम मात्र होइन
डर पनि रहेछ,
भर पनि भएछ
कवितासँग लुकामारी खेलेपछि
बल्ल मैले थाहा पाउँछु
यो त लहरिने रहेछ
लहरा बढेर माथि माथि पुगेझैं
मन भित्रका शब्दमा वहकिने रहेछ ।

अनायास परिवर्तन आयो
म निस्प्रभावी देखिएँ
खुल्ला आकाश खुल्ला दिल
म नशामा छैन अब,
मलाई प्यास पनि लाग्दैन
मलाई शब्दाडम्बर छैन
अनि प्रश्नको घेरा छैन
नमागी पाएका खुसीहरु तिमीबाट
हिँडेछौ तिमी निस्काम सम्झिएर
समय ! तिमी कहाँ निस्काम थियौ र ?

कविताको अन्त्यले मेरो मथिंगलमा जोरले पक्डेझैँ लाग्यो । अघिल्लो कविताको समय फेरि दोरिएकोले हुनसक्छ । लगत्तै आफूलाई सोधेँ, ‘तिमी को हौ र यसरी सोच्नु पर्ने ?’

फेरि विषयान्तर गरेँ मैले आफूलाई, कोभिडका समाचार अनि राजनीतिका बहसहरुतिर ।

२०७६ चैत्र १० गते सोमबार

साधुवाद छ । अचेल कविता लेख्न थालेछौ । शुभकामनाका, बधाईका, अन्तरमनका, वरिपरिका अनि विशेषजस्तो लाग्ने मान्छेका । कान्तिपुरका हरफहरुमा साहित्यपोष्टका पानाहरुमा अनि सामाजिक सञ्जालमा तिमी छाएकी छौ अचेल । म कहाँ तिमी कहाँ । म पाठक, तिमी लेखक । तिम्रो कवितामा अरु नै होलान् वा म कति छु ? नभए पनि अन्यथा मान्दिनँ । तर छु कि भन्ने आत्मालाप गर्छु ।

कवितामा मेरो जम्काभेट बढ्न थालेपछि एकदिन लाग्यो यी कान्तिपुर, रातोपाटी, सेतापाटी, साहित्यपोष्ट बन्द गरिदिऊँ ? यस्तो सोच्नासाथ मलाई बाल्यकालको एउटा घटना याद आयो ।

म सानो थिएँ । सायद ५–७ वर्षको । धान रोप्ने दिनमा चिसाङ्ग खोला गड्गडाएको थियो । हाम्रो खेतमा बाढी भेल पसेको थियो । बाल मनस्थितिमा मलाई लाग्यो यो पानी माथि मुहानमै गएर फर्काउनुपर्छ । म हान्निएर लागेँ चिसाङ्गको भंगालो भेट्न । सुईखुट्टे केटो सिधै खोलाको शीरतर्फ हिँडेको देखेर आमा आत्तिएर सिठ्ठी लगाएर बोलाउनु भयो । म निकै माथि पुगे पनि आवाजले फर्केर हेरेँ । हामाले हातको इसाराले जोड जोडले बोलाउनु भयो । म फर्केर आमालाई खोला थुन्न गएको कुरा बताएँ । छोराको पारा देखेर आमा बेस्सरी हाँस्नुभयो । आमा बाँचुञ्जेल यो कुरा घरिघरि गरिरहनु हुन्थ्यो ।
पत्रिकाहरु बन्द गर्ने सोच आउनासाथ विलिन भयो । चिसाङ्गको गड्गडाहट थुन्न गएको बच्चाकालको घटनाले मलाई यस्ता सोचमा यसरी नै औँला ठड्याउँछन् । म खिसिक्क हाँसेर फर्केको छु कयौँपटक आजझैँ ।

२०७६ चैत्र १४ गते शुक्रबार

जीवन चल्दै थियो । यात्राझैँ । कहाँ पुगेँ थाहा नहुने । कहाँ पुग्नु छ उत्तर विनाको प्रश्नझैं । कोभिड १९ आइसकेको थियो । बैठकहरु बन्द भए । कामका समयसीमाहरु फुक्का भए । संसार सुनसान भयो ।

म मेरो घरको कोठाको कुर्सीमा बसेँ । खुट्टा झ्यालकै आडमा ठाडो पारेर दैनिक रुपमा सफा हुँदै गएको आकाश नियाल्दै थिएँ । जुन देखेँ, तारा हेरियो । लामो लामो बाटो तय गर्ने चराका हुलहरु देखिए । मलाई स्कुल पढ्दाका दिनहरु याद आए । त्यो बेलाको प्रकृति पनि यस्तै हुन्थ्यो । सफा र स्वच्छ ।

सम्झना निरन्तर डोलायमान भइरहेको थियो । विगतका गाँउका, स्कुलका, सानो हुँदा खेलेका अनि साँझपख अँगेनाको वरिपरि बसेर बुवाको कथा सुनेका । बल्ल याद भयो, ओहो ! आफूलाई बिर्सेर बाँचेको जिन्दगी पो बाँचिरहेको रहेछु । निकै गहिरो गरी आत्मबोध भयो । साँच्चै आत्मबोध । मैले आफूलाई बिर्सेछु, परिवार भुलेछु ।

अनि म खोतलखातलमा लागेँ । अतितका पुराना फोटा, कम्प्युटरका फाइल, चिठीपत्र, इतिहास बनेर थन्केका डायरीहरु । संसारको इतिहास पढेको म, किराँतकालदेखि शाहकाल घोकेको म, नियान्थाथलदेखि होजोस्यापिन्स खोजेको म, सिकन्दर र अट्टिलादेखि हिटलर सुनेको म । तर मेरो आफ्नै इतिहास नपढी, नबुझी, नहेरी आजसम्म आइएछ । मैले कोभिडलाई धन्यवाद दिँए । अनिश्चय त छदै थियो सारा मानव जगतमा । तर त्यो मेरो वशको विषय पनि त थिएन । यसैले धन्यवाद दिँदा अनुपयुक्त पनि लागेन ।

खोतल्दै जाँदा यही एउटा डायरी भेटेँ, पुरानो मितिको तर नयाँझैँ लाग्ने । चारवटा कविता लेखिएको रहेछ, अनि थन्किएछ । दिमागमा इतिहासको रिल घुम्यो फनफनी । इतिहासको पुनरावृति हुन्न । त्यसैले डायरी पल्टाउँदा ममा कुनै पश्चातापको भाव थिएन । मलाई थाहा छ मानिसको सबभन्दा ठूलो दुःख पश्चाताप हो ।

दुख त वर्तमानमा पो छ त, आजमा पो छ त । आज केही नगरेकोमा । आज केही गर्नुपर्छ भन्ने सोचेँ । मैले सरर इतिहास भइसकेको डायरी पढेँ । इतिहासमा विलिन हुन लागेको डायरीलाई एउटा मान्छेजस्तो लाग्यो । म मान्छे रुपको डायरीका अक्षरमात्र होइन परिवेशलाई पनि खोतलखातलमा लागेँ ।

मलाई फ्ल्यास ब्याक भयो । पूरै डेढ दशक अगाडिको ।

२०६० साल, श्रावण १ गते

ईन्द्रावतीझैं अविरल बग्दै थिँए । जिन्दगी सडक किनारमा असरल्लझैँ थियो । नयाँ अध्याय सुरु भयो जीवनमा । नयाँ कार्यालय, नयाँ मान्छे, नयाँ टेबल र जिम्मेवारी । म सानैदेखि विशेष दिनचर्याहरु लेख्न रुची मान्थेँ । यही बानीले होला आज मैले डायरी किनेँ । जीवनमा यही डायरी त हो नि दिन विशेष सम्झन ।

२०६१ मंसिर १५ गते

आज एउटा कविता कोर्छु । कविताको विषय मेरो सामनेको एकजना मान्छे थियो । मेरो टेबल अगाडि तिमी थियौ । वास्तविकजस्तै भएर नजिक नजिकमा आइरहने तिम्रो छायाँ देखेँ । अनि, मैले कविता लेखेँ । तिम्रो आँखाको, भावको, कपालको, औँलाको ।

म भोलिलाई आज देख्दैछु
तिम्रो साथ पाएको कविता लेख्दैछु
चराझैं उडेर
अनन्त आकाशमा उडान भरेँ
पहिला ठूलो अनि सानो हुँदै
बिलाउने चराहरुको यात्राझैं
मेरा दुख त्यही छायाँ बिलाएझैं
जीवनको कथा लेख्न खोज्दैछु
जीवनको यात्रामा साथ खोज्दैछु

मेरो पहिलो कविताले प्वाँख लगायो, भूर्रर्र उड्यो । सफा डायरीमा आफैंलाई राम्रा लागेका अक्षरहरु । यो डायरीमा लेखिएको पहिलो कविता । मेरा भावनाको प्वाँख काटिएनन् । अझ बढे । डायरी, कलम र काम गर्ने टेबलसँग मित्रता बस्यो । बाँकी एउटा चिजको थियो जीवनमा । हो, बाँकी एउटा चिज थियो । एक चिम्टी नुन त छँदै थियो, एक मुठ्ठी मायाको ठाउँ खाली थियो ।

२०६१ माघ १५ गते

मभित्र कवि रहेछ क्यारे । कसैले भनेको सुनेको सबै एकपल्ट कवि हुन्छन् । कता कता कविता लेखेर उनलाई देखाऊँ भन्ने चाहना पनि थियो । दुई महिनाको सोचाइपछि पहिलो कविता नदेखाउने निर्णय गरेँ ।

म मेरो गाउँ लेटाङ्गमा थिएँ । बिहानै उठेँ । घाम रातो हुँनै आँटेको थियो । बाँसघारीमा चराहरु ब्युझिए । आफ्नो गाउँमा निकै फुर्सदको मानसिकता थियो । दोश्रो कविता फुर्यो ।

म आज सूर्योदयको पर्खाइमा छु
बाँसघारीमा हजार पक्षीहरु
चिरबिर चिरबिर
म दर्शकझैं उभिएर
चराको संसारिकतामा डुब्छु ।
ओहो ! चिरबिर संगीतमय छ !
चिरबिर पृथ्वीमय छ !
चिरबिर प्रेममय छ ।
चिरबिरमा उल्लास छ ।
म बाँसघारीको एउटा बाँसमा डुब्छु ।
त्यही बाँसको एउटा हाँगोमा,
एकजोडी भँगेरा
जब म अनि तिमीजस्तै लाग्छ
तब, चिरबिरमा माधुर्यता लाग्छ ।
जिन्दगी चल्छ, दौडन्छ
बस् कल्पनामै उड्छ जिन्दगी !

दोश्रो कविताले अपार स्नेह पायो मेरो, मन मन्दिरमा । साँच्चै यो कविता तिमीलाई सुनाऊँ ? देखाऊँ ? यस्तै सोचेर तिम्रा पदचापमा कविताका भावहरु छरिदिएँ । सायद यी भावहरु उम्रन सकेनन् । पानी र माटोको अभावमा ।

२०६२ कात्तिक १५ गते, तेस्रो कविता

मैले त आफूलाई कवि ठानिसकेको थिएँ । कवि हुने परिवेश व्यक्तिपिच्छै फरक हुन्छन् होला । मेरो परिवेश तिमी थियौ । तिम्रो सामिप्यताको थियो । मलाई कविता फुर्दै गयो ।

मैले निकै सोचेँ प्रिय
मेरो भित्र रोक्न खोजेँ प्रिय
सकिन मैले भन्न अगाडि
त्यसैले,
तिमीलाई कविता सुनाउन रोजेँ प्रिय
म आकाशमा उडिसकेँ,
तिम्रो प्वाँखको सहारा लिएर
म आकाशमा उडिसकेँ
गहिराइमा कुदिसकेँ
म र तिमीसँगै,
हामी भएर ।
मैले त छिनोफानो गरिसकेछु
मेरो मनमा तिमीलाई भरिसकेछु
म प्रसिद्ध कवि त हुन सक्दिनँ होला
तर मेरो कवित्व
तिम्रो मनमा सारिसकेछु ।

आज निकै आँट गरेर यो कविता तिमीलाई देखाएँ । तिमीले डायरी ओल्टाइपल्टाइ गर्यौ । तिम्रो आँखा डायरीमा थियो । मेरो आँखा तिमीमा थियो । तिम्रो मुख बन्द थियो । मेरो मुख खुल्लै थियो । तिम्रो कानमा सायद हल्ला थियो । मेरो कान सियोको आवाज सुन्न तयार थियो । तिम्रा परेलीहरु झिम्किए । मैले गनिरहेँ । तिम्रा ओठ खुल्ने चाहनामा मैले मेरा आँखा विस्फारित गरेँ । मैले बिदा नमागी तिम्रा आँखाले बिदा दिए । म अटेरी भइनँ । तर गइनँ पनि । यसैउसै टहलिरहेँ ।

हुन्न र हुन्छको उत्तर नआउँदै म लागेँ । भोलिपल्ट कामविशेषले नेपालगञ्ज जानु थियो । म हिडेँ । जाँदा किन किन राम्रो महसुस भइरहेको थियो । सायद तिम्रो उत्तर महसुस भइसकेर हो वा ग्लानिबोध भएर हो । जति टाढा गयो उति आनन्द आएजस्तो भइरह्यो ।

आउँदा हवाइजहाजबाट फर्कनु पर्ने भयो । तर जब प्लेन चढेँ, मलाई काठमाडौं छिर्नै मन थिएन । कसम त्यो प्लेन त्यहाँबाट सिधै दिल्ली, कलकत्ता वा ढाका गइदिए हुन्थ्यो भन्ने सोचेर एकछिन हल्का महसुस गरेँ । मेरो इच्छा निर्वस्त्र भयो । म जाडोमा नाङ्गेझार भएझैं भएर काठमाडौँ नै उत्रेँ ।

२०६३ वैशाख १३ गते

‘निम्ता’

टेबलमा एउटा निम्ता थियो ।

प्रिय सिकारु कवी ! मेरो विवाहोत्सवमा हार्दिक निमन्त्रणा !

यो निम्तोले म स्तब्ध भएँ । मैले त नयाँ डायरीमा एकहोरो कविता लेखिरहेँ । तिम्रो त नयाँ गोरेटोको विमोचन रहेछ । मेरो परिवेश तिमी थियौ । हो तिमी थियौ । तर अब नहुने भयो ।

म गएँ विवाहमा, चाहना बिना । मानौँ जानैपर्छ । जीन्दगीभर हिँडिरहने गोरेटोका थुँगाहरु उन्ने महाउत्सव थियो त्यो तिम्रो लागि । म त्यो महाउत्सवको किनारामा उभिएर प्रमुख अतिथिको आसनमा हेरेँ । म त्यसको छेउमा त के निकै पर पनि कहीँ थिइनँ ।

आजको दिन थाहा भयो आँधी आकाशमा मात्र मडारिने रहेनछ । म आँधीमय मानसिकतामा छेवैको एउटा बुटो समातेर टुसुक्क बसेँझैँ प्लाष्टिकको कुर्सीमा बसेँ । आज म आँधी रोकिएपछि हिँडिन । कति गरे पनि आँधी नरोकिएपछि आँधी चल्दा चल्दै सम्हालिएर हिडेँ । आँधीले मलाई पछ्याएन । अनि मैले पनि फेरि त्यस्तो आँधीलाई रोजिनँ ।

२०६३ वैशाख १४ गते

खुरुक्क दिन दिनै डायरी लेख्ने मान्छे होइन म । तर आज लेख्नै पर्ने महसुस भयो । कविता त सुख र दुख अनि माया र बिछोड दुवैमा आउने रहेछ । कहिले हाँसो लिएर । कहिले गहभरि आँसु लिएर । आज कविता गम्भीर भएर आयो । पलायन हुनुको विकल्प नभएपछि सम्मानजनक विसर्जनको विकल्प रोज्दै आयो प्रिय कविता ।

निकै अघि बिदा दिए पनि
म फुत्तै निस्केर गएको थिइन,
त्यसबेला म
आज बिदा नमागी
आँधी खपेर,
भाग्दै नभागी
बिस्तारै निस्किएँ
उल्लासमय उत्सव हेर्न
मान्छे भएर गएको थिएँ
आँधी खपेर निस्काम फर्किएँ ।

सोचेँ आँधीसँग जुध्दिनँ अब
भाग्दिनँ पनि खोज्दिन पनि
रोज्दिनँ पनि म आँधीहरु
सिधा सपाट चल्छु फेरि
बस, यो डायरी फाल्दिनँ पनि
सङ्ग्राहलयमा बस्छ यो सम्झना बनी ।
हजार सपनाका बिसौं डायरी छन् यहाँ
सङ्ग्राहलयझैं बनिसकेका छन् जहाँ तहाँ
आज फेरि एउटा थपियो मेरो दराजमा ।

झण्डै तीन घण्टा लाग्यो मलाई २०७६ चैत्रको १४ मा फर्कन । विगत यात्राबाट म फेरि फर्केँ वर्तमानमा । अन्तिम कविता लेखेपछि बाँकी खाली खाली पानाहरु, त्यतिकै त्यतिकै रहेछन् यो डायरीमा ।

आज खाजा पनि मकै भटमास रहेछ । सानोमा हुँदा खाने गरेको प्यारो खानेकुरा । मैले खाजा खाँदै गर्दा विगतले छेउमै बसेर हेर्दै थियो ।

२०७७ जेष्ठ १५ गते

उनी किन लेख्छिन् । के हो र को हो उनको परिवेश ? प्रश्नले घेरा हालिरह्यो । कुनै समय सीमा नतोकिएको अर्को कविताको प्रतीक्षामा लागेँ ।
थाहा थिएन यस बिचमा मैले उनका कविता पढ्न छुटाएँ कि छुटाइन । न मेरो उनीसँग सम्पर्क छ अनि सोध्न सक्थेँ ।

साहित्यपोष्टमा उनको अर्को कवितासँग भेट भयो ।

आफ्नो भन्ने छोडेपछि
सबै आफ्ना लाग्छन् प्रिय
शरीर भन्न छोडेपछि
सबै ईश्वर लाग्छन् प्रिय
अन्तर्मनमा आफैं छिरेपछि
रिस पनि स्नेह लाग्छ प्रिय
भेट्नु किन,
देख्नु किन
छुनु किन
तिमी आफैं भन
बादलको उचाइमा उडेपछि
संसार जितेझैं लाग्छ प्रिय ।

२०७७ कात्तिक १ गते

कविताले उचाइ लिँदै छ । म कहिले आफूलाई देख्छु कवितामा । कहिले भिडभाड पाउँछु । म पाठकको स्वतन्त्रताको भरपुर आनन्द उठाउँछु । हिजोमात्र कान्तिपुरमा अर्को कविता देखेँ ।

तिम्रो झल्को र तिर्सनामा
न म प्रतीक्षा गर्छु
न छौ तिमी बिर्सने गरी ।
तर सम्झनाका असरल्लै बिस्कुनहरु छन्
हो ! यिनै बिस्कुनहरु
मलाई खास लाग्छन्
त्यसैले म गोठालो बसेको छु
बिस्कुनको छेउमा लठ्ठी लिएर
परेवा र भँगेराहरु नआउन भनेर ।

परेवा र भँगेराहरुले एउटा पनि बिस्कुन नखाउन भनेपछि बिस्कुनको महत्त्व त मैले बुझेँ । तर यी बिस्कुनहरु अब के हुन्छन् ? कुन मिलमा जान्छन् ? कि साँचेर राखेर अर्को सिजनमा छर्ने हो ? ता कि यो उम्रियोस्, बढोस्, फुलोस् र फलोस् । मलाई लाग्दैन बिस्कुनको प्रयोजन खोतल्ने अवसर अर्थपूर्ण वा सम्भव हुन्छ । किनकि संसार वास्तविक छ । चिमोट्दा दुख्ने र ठोकिँदा रुने । त्यही दुख्ने र ठोकिने संसारमा म पनि छु ।

म तिमीलाई भेट्न पनि सक्दिनँ । किनकि मजस्ता पाठकहरु तिम्रा सयौं होलान् । जीवनमा धेरै चिज स्वीकार गरियो । घाम, पानी, दिन, रात, चोट, पीडा । यी सहेरै त बुढो भइँदैछ दिनानुदिन । तर एउटा जीजिविषा बाँकी छ मनमा । एउटा प्रश्न बाँकी छ मनमा । भेट्ने अभिलाषा जीवित छ तर भेट नहुने कुरा स्वीकारेको छु ।

खाली एउटा प्रश्नको सिरानीमा टाउको अड्याएर म जीवनमा सबथोक भोग्दैछु । त्यो प्रश्न यस्तो छ । तिम्रो के त्यस्तो परिवेश थियो र कवि बन्यौ ? अथवा तिम्रो परिवेशमा म पनि छु वा छैन ?

२०७८ बैशाख ५ गते

पढ्ने कुराले रहरभन्दा अलि बढेर कहिलेकाँही केही पिरोल्थ्यो । पि.एच.डी. गर्ने सुरसार रहर नभएर आवश्यकता महसुस भएको धेरै भइसक्यो । बल्लतल्ल निकै प्रयासपछि अमेरिकाको महर्षि विश्वविद्यालयमा सो डिग्री पढ्न आवसीय भिसा प्राप्त भयो । अन्वेषण अनुसन्धानलगायत सबै गरेर ५ वर्ष अमेरिका बसाइको तय भएपछि मैले आफ्नो जाने तयारीलाई अन्तिम रुप दिएँ । पढाइ सकेर नेपाल नै फर्कने कसम साथीभाइसँग खाइयो । सबैभन्दा बढी त आफ्नो देशको माटो छोएर खाएँ ।

२०७९,०१,१५ Kirkwood Fairfield Iowa

विश्वविद्यालयले उपलब्ध गराएको होष्टलको तेस्रो तल्लामा बसेर मोबाइल चलाएँ । नेपालबाट ल्याएका वा साथीहरुले हालिदिएका किताब सरसर्ती हेरेँ । एउटा पुस्तकमा टक्क आँखा अडियो । पुस्तक खोलेँ । ‘पीपलका कवितासङ्ग्रह’ । अगाडि लेखकको परिचय थियो । सुझावको लागि इमेल ठेगाना थियो । त्यसपछि मन्तव्य ।

म किताब पढ्नुअघि मन्तव्य पढ्ने गर्छु । सुरुदेखि नै हेरेँ । कविताको परिवेश लेखिएको थियो । परिवारलाई धन्यवाद कोरिएको थियो । धेरैजसो लेखकका मिल्दाजुल्दा कुराहरु हुन्छन् । पारिजातको शिरीषको फूलमा शंकर कोइरालाको मन्तव्यजस्ता, अपवादबाहेक ।

बीचमा एउटा अनुच्छेद थियो । ती जस्ताको त्यस्तै यस प्रकार थिए –

‘कतिपय पानीको मूललाई सानो ढुङ्गाले थिचेर वषौँ रोकिएको हुन्छ । यो ढुङ्गा उप्काउनासाथ पानी मूल बनी बग्छ निरन्तर । मभित्र कविता छ भन्ने महसुस गराएर जीवनको उत्प्रेरणा प्रदान गर्ने मित्र रमेशजीलाई मुरी मुरी धन्यवाद । कविता लेख्न कविताले छुनु पर्छ । कविताले रुवाउनुपर्छ । अनि हँसाउनु पर्छ । हो, म उहाँका केही कविताहरु पढेपछि निकैपटक द्रविभूत भएको थिएँ । उत्साहित भएको थिएँ । उमङ्ग छाएको थियो । हो तिनै भावनाहरु आज म कोर्दैछु कवितामा । फेरि पनि साधुवाद रमेशजीलाई ।’