साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथा : कार्तवीर्य

शिक्षा र संस्कृतिको पैरवी गर्ने आश्रम आगोको लप्कोमा पुतपुत धुँवाउँदै थियो । उज्यालो छर्ने विद्यालय आफैँ विनासको अन्धकारमा निस्तानाबुद भएर लम्पसारिएको थियो टुक्राटुक्रामा, बागमतीको किनारमा ।

कुखुराको डाँकोसँगै बजेको घन्टी सुनेर आश्रमका सबै शिक्षार्थीहरू जुरमुराएर उठे । बिहानीको पहिलो प्रहरमा लँगौटी छोप्दै हानिए बागमतीतीर । आश्रमको कान्छो शिक्षार्थी कार्तवीर्य बाहिर निस्कनेमा अन्तिम थियो । भर्खरै भर्खरै आश्रममा आएकोले होला अझै घुलमिलिसकेको थिएन आश्रमको नौलो पर्यावरणमा । उत्तरबाँहिनी गोकर्णेश्वर नजिकैको मानेडाँडाको फेँदीमा नयाँशिक्षा लागु भएपछि खोलिएको विद्याआश्रमबाट पशुपतिमन्दिर पुग्न बनको बाटो हुँदै जानु पर्थ्यो । रातको समय वनको बाटो, एक्लै परिने डरले लतपतिएको कछाड मिलाउँदै अर्को हातमा पोकापन्तुरा बोकेर दौडियो सहपाठीहरूलाई भेट्टाउन । आर्यघाटमा नुहाएर कलशभरि बागमतीको जल बोकेर एकैलयमा ऋचा पाठ गर्दै पूर्वी ढोकाबाट मन्दिर छिरे बटुकहरू । आश्रमका शिक्षार्थीलाई यो सुबिधा उपलब्ध गराइएको थियो । पहिलो प्रहरमै शिवलिङ्गको पुजाअर्चना गरेर फूल र चन्दन लिएर पुनः ऋचा वाचन गर्दै शिवालयका एकसय आठ मन्दिरको परिकमा गरेर आश्रमतिर हानिए । भर्खरै यी बटुकहरूले आश्रम जाने छोटोबाटो पैलाएका थिए । श्लेशमान्तक बनको बाटो बागमतीपारिको मगरगाउँबाट केही बेर नदीको किनारैकिनार गएर पुनः जङ्घार तरेपछि नयाँबस्तीको पुछारमा पुगिन्थ्यो । त्यसपछि त दुई सय मिटर जतिमा आश्रम थियो ।

बैशाखको ओसिलो बिहानीमा चिरबिराएका चराहरू र बटुकहरूको पदचापले तर्सेर कुदेका मृगका झुन्ड देखेर पुकुकित बटुकहरू सुसेल्न थाले । बटुकहरूको सुसेलीले झनै बिच्किएका मृगहरू बुर्कुसी मारेर चारैदिशामा कुद्न थाले । भागदौडले सजगभएका चराहरू कङ्कलाश्वर गर्दै बनमाथिको आकाशमा मडारिन थाले । बनभित्र एक्कासी मच्चिएको कोलाहलले रिसाएका बाँदरका ढेडुँहरू आफ्ना तिखा दाँत देखाउँदै उपद्रया बटुकहरूलाई झम्टन थाले । बेलपत्र नटिपी कुलेलाम ठोके बटुकहरू । अंगालोभरि बेलपत्र च्यापेर रेखी मात्रै बसेको जुङ्गामा ताउ लगाउँदै पछिपछि आइपुग्यो कार्तवीर्य पनि बागमती किनारमा । केहीबेर सुस्ताएर बस्तीको सिधाबाटो छोडेर घुमाउरो बाटो किनारै किनार आश्रमतिर तेर्सिए । बस्तीको शिरानमा रूपालीको चियापसल थियो । त्यो बाटो हिँडे उसले मोहनी लगाउँछे भनेर बाटो बदल्छ्न् यी बटुकहरू फर्कने बेलामा ।

bahulako diary small and inside post
माधव फुयाल

आश्रमा पुगेपछि गुरूले गौमुत्रले अर्चन गरेर सबै बटुकहरूलाई शुद्ध गरिदिनु भयो । बागमतीको पवित्र जल हातमा लिएर एकसय आठ पटक गायत्री मन्त्र उच्चारण गरिसकेपछि बटुकहरू कर्मकाण्डको तयारीका लागि ओहोदा अनुसारको काममा तल्लीन भैहाले तुरून्तै । कनिष्ठहरू समिधा तयार पर्न लागे । मध्यमाहरू दुना टपरीमा सिदा तयार पार्न थाले र बरिष्ठ शिक्षार्थीहरू रेखी हाल्न थाले । गुरूहरू उनीहरूको कामको अवलोकन गर्दै बेलाबेलामा उनीहरूको कार्यको परिमार्जन र सबलीकरण गर्दिँदै थिए । सिदा र रेखीको काम सम्पन्न गरिसकेपछि सबै बटुकहरू ओहोदा अनुसार छुट्याइएको ठाउँमा गएर बसे । कलश तयार पार्न बेलपत्र नदेखेपछि गुरूले सोधे ‘बेल पत्र खोइ त शिष्यहरू ?’ गुरूको प्रस्नमा निरूत्तर निउरीमुन्टी भएर बसेका सहपाठीहरूलाई जिल्याउँदै हतारिएर बाहिरियो कार्तवीर्य बेलपत्र लिन भनेर । हतपतमा उठेर कुद्दा उसको धोतीले पुरै रेखी लतपतियो र गणेश स्थापना गरिएको कलश ढलेर पानीको आहाल बन्यो हवन कुण्डको वरिपरि । रिसालु स्वभावका आचार्य देवदत्त आगो भैहाले तुरून्तै । ‘अधर्यै र चन्चल स्वभाव अशुरको मात्र हुन्छ, ब्रामणको कदापी हुँदैन । ब्राह्मण हुने कुनै लक्षण किञ्चित् पनि देख्दिन म तँ स्वाठमा । जा, गौशालामा गएर भकारो सोर । त्यसैको लायक छ्स् । जेठको पुर्णिमासम्म गौमाताको सेवा गर्लास् अनि अलिअलि विवेक पलायो भने आउलास् शिक्षालयमा ।’

शिक्षालयबाट निकालिएकोमा दुखी हुँदै सुस्तरी बाहिरियो कार्तवीर्य । ‘बेलपत्र दिएर जा ।’ कर्कश स्वरमा गुरूले आदेश दिए निस्कने बेलामा । मन नलागी नलागी शयन कक्षामा गएर बेलपत्र लिएर आयो । भर्खरै पोखिएको पानीले भिजेको भुइँमा चिप्लिँदा अंगालोभरिको बेलपत्रको बिटो उछिट्टिएर शिवलिङ्गमाथि राखिएको त्रिकुट ढलेर शिवलिङ्गलाई नुहाउन तयार गरिएको जल र गोदुध हवन कुण्डमा पोखियो । र बल्दै गरेका समिधा ओसिएर पटपट पट्किँदै निभे । पहिल्यै आगो भएका देवदत्तले कार्तवीर्यको छातीमा लातीले बलैसँग हाने । अनपेक्षित लातीप्रहारले सम्हालिन खोज्दा खोज्दै ढुनमुनिएर पछारियो बलेसीमा । आचार्य देवदत्त निकै सिद्ध आचार्यमा दहरिन्थे । उनलाई देशविदेशबाट विशिष्ट निमन्त्रणा आउँथ्यो ज्योतिषी परामर्शका लागि । शास्त्रीय व्याख्यामा निपूर्ण आचार्य थिए उनी पुरै दक्षिण एसियामै । यस्ता ज्ञानी आचार्यबाट निम्न स्तरको शारीरिक यातना अनेपक्षित थियो सबैका लागि र सबै नै बिलखबन्द थिए । भुइँमा पछारिँदा च्यातिएको कछाड समातेर गौशालाको ढोका आगाडि बसेर सुक्क सुक्क रोयो केहीबेर कार्तवीर्य । सबैको सामु अपमानित हुँदा शिथिल र परास्त मानस्पटलमा दन्केको क्रोधको अग्निलाई च्यातिएको धोतीको फेरोले पुछेर गौशालाभित्र छिर्यो । बिहानीको कक्षा सिध्याएर बटुकहरू भने जजमानीका लागि पोकापन्तुरा बोकेर पशुपतितिर लागे ।

बिहान हवन सकिनु पहिले नै पत्रिका र फूलपाती लिएर आउने नयाँ कार्य थपिएको थियो भर्खरै । आश्रमबाट तीन चार किलोमिटरको दुरीको गौशलाचोक पुग्नु पर्थ्यो पत्रिका किन्न । आश्रम र गौशालाचोकको बीचमा भर्खरै बस्ती बिस्तार हुँदै थियो । फाट्टफुट्ट घर र पसल थपिँदै थिए । बस्तीको सुरूमै थियो रूपालीको चिया पसल । बालबिधुवा रूपाली सानै उमेरमा हाडनाता पर्नेसँग भागेर सहर पसेकी थिई । केही महिनामै श्रीमानले छोडेर हिँडेपछि नयाँबस्तीमा आएर चियापसल थापेर गुजारा चलाउँदै थिई । रूपाली औधी रूपसी थिई र एक्ली पनि । उसलाई फकाउन र जिस्काउन आउने युवाहरूको हरदम भिड लागिरहन्थ्यो उसको चिया पसलमा । ठुलाठुला आँखा, सुगठित ज्यान अनि दन्तलहर पुरै देखिने गरी हाँस्दा हरेक पुरूष उसको रूपको मोहनीजालमा फस्थ्यो । ऊ टुनामुना लगाउँछे भन्ने गर्थे आश्रमका बरिष्ठ शिक्षार्थीहरू । रूपालीसँग आँखा जुध्यो भने मोहनी लाग्छ । मोहनी लागेको पुरूष सदाका लागि उसको बसमा पर्छ भन्ने हल्ला थियो आश्रममा शिक्षार्थीहरू बीच । साँझ बिहान त्यो बाटो हिँड्दा रूपालीको पसल नाघ्न हतारिन्थे बटुकहरू । घोसेमुन्टो लगाएर एकै सासमा नाघिसक्थे दुईचार घर । उसले एकै चोटि मात्र देखेको थियो रूपालीलाई केही दिन अगाडि पशुपतिबाट आउँदा । चट्ट मिलेका पुरै दाँत देखाएर हाँसेकी रूपालीको अनुहारको एउटै झलक देखेको थियो हिँड्दै गर्दा । खै के भएको हो कुन्नी उसको मन मस्तिष्कमा सलबलाउन थाली रूपाली सुस्तरी सुस्तरी । अब उसका पाइला अनायासै सुस्ताउँथे रूपालीको पसल वरपर पुगेपछि । हडबडाएर भाग्ने पाइला टक्क रोकिन्थे अनि तर्कने आँखा उसैलाई खोजिरहन्थे ।

बैशाखको महिना डाँडाकाँडा पालुवाले मनमोहक देखिएका थिए । चौरभरि दुबो मौलाएको थियो । बनमा ऐँसेलु, चुत्रो र किम्बु मगमग बसाउने गरी लटरम्मै फलेका थिए । कार्तवीर्यका केही दिनहरू गाईलाई चरणमा छोडेर यिनै फल खाँदै रमाइलोसँग बिते । ब्रह्मचर्यमा रहँदा कुबेलामा खान बर्जित थियो तैपनि ऊ लुसुक्क आश्रममा लिएर जान्थ्यो र सहपाठीहरूसँग बाँडीचुँडी खान्थ्यो । सिरूफुलेको बनपाखा डुल्दै सुसेल्दै कहिले गीत गाउँथ्यो त कहिले रूपालीको कल्पनामा झोक्राएर बसिरहन्थ्यो । भर्खरै मनमा पलाएको प्रेमको मुनालाई भावनाले सिँचेर गोडमेल गरिरहन्थ्यो । आश्रमको कडाअनुशासनमा पढेबढेको उसले स्त्री स्वाभावसँग कहिल्यै समिप हुन पाएन । त्यसैले होला कहिलेकहीँ रूपालीलाई देखिहाल्यो भने पनि ऊ लाजले आफैं सिकुडिन्थ्यो । र, उसको वरिपरिबाट टाढिन हतारिन्थ्यो । कथमकदाचित आमने सामने हुने अवस्था आइहाले तुरून्तै आफ्नो दिशा परिवर्तन गरिहाल्थ्यो । अनि केही समयपछि ‘थुइक्क पानी मरूवा’ भनेर आफैंलाई धिक्कार्थ्यो । र, अलि पर पुगेर धित मरून्जेल निहारी रहन्थ्यो रूपाली पसलभित्र नछिरून्जेल ।

बैशाखका रापिला दिनहरूमा ऊ बिहान सबेरै गाईबस्तु लिएर आउँथ्यो चरणमा पाकेका पैयुँ र किम्बु अनि फाँटमा पाकेका गहुँभित्र पसेर कुटुलीकोसा अघाउन्जेल खान्थ्यो र दिन चढ्दै गएपछि आएर सुस्ताउँथ्यो वरपीपलको छहारीमा । सुस्ताउँदा सुस्ताउँदै निदाउँथ्यो । आज भोलि त रूपाली निर्धक्क उसका सपनामा पनि विचरण गर्न थाली सकेकी छे । ऊ तीनै मीठा तर ननिका सपनाहरूलाई सुम्सुमाइरहन्थ्यो हरदम हरपल । साँझ ढल्नै लाग्दा चरनमा अघाएर उग्राइरहेका गाईहरू धपाउँदै आश्रम आउँथ्यो र नबोली शयन कोठामा गएर एक्लै गुमसुम बसिरहन्थ्यो । उसको एकोहोरो टोलाउने स्वभाव आश्रममा कसैले पनि नदेखेको पक्कै होइन तर सबैले सजायले तिलतिल भएको दुखी मनुवाको अरन्य रोदन होला भनेर बेवास्ता गरिदिन्थे ।

घर्किँदो बैशाखकै सङ्घारमा आएर पसारिसकेको थियो गर्मिलो जेठ महिना । ऊ अझै कक्षाकोठामा फर्किएको थिएन । उसको याचिका पनि आचार्यले रद्द गरिदिए । निकट दिनहरूमा फिर्तीको सम्भावना नदेखेको उसले जीवनको नौलो आयामलाई आत्मसाथ गर्न थालेको थियो । नौलो अनुभूतिहरूमा रमाउन सिकेको थियो । उसले नरोजेको आयम थियो । केही सुखद तर समग्रमा अवाञ्छनीय लाग्थ्यो उसलाई । मनमौजी स्वतन्त्रता भने खुबै जचेको थियो उसका लागि । स्वछन्द जीवन शैली र विचरणको बेरोकटोक प्रचुरता निकै आन्ददायक लागेको थियो उसलाई । न अनुशासनको तगारो, न कार्यतालिकाको सपाट रटान । न पदानुक्रमको यन्त्रिक कार्यसम्पादनको चटारो । कति सादा र विभिदतापूर्ण बित्दै थिए उसका दिनहरू जंगलमा । रेखीभित्र कैद बालापन र गेरू बस्त्रले छोपेको जवानी अनुभूतिबिनै विलुप्त भएकोमा रोस उत्पन्न भएको थियो भर्खरै । तर पनि उसको अन्तस्करणमा लक्ष्यविहीन हुँदा ग्लानिको तीतो अनुभूति थियो ।

शिक्षाविहीन हुँदाको पीडा घनीभुत हुँदै रोसमा परिणत हुने क्रममा थियो । के शिक्षार्थी हुँदाहुँदै पनि यो अनुभूति सम्भव होला त ? भैदिए कति जाती हुँदो हो ? बेलाबेलामा कल्पिन्थ्यो ऊ । लक्ष्य र शिक्षा विहीन स्वतन्त्रता परपीडक हुँदो रहेछ । यति लामो समयसम्म आश्रमका हरेक क्रियाकलापको अभ्यासबाट विमुख गराइएकोमा असन्तुष्टि थियो । जति जति ग्वाला दिनचर्या लम्बिँदै गयो असन्तुष्टि सनैः सनैः आवेग बढ्दै थियो । अकर्मण्यतामा उसले आफ्नो अपमान र अपहेलाना महसुस गर्न थालेको थियो केही दिनदेखि । उपेक्षित र अपमानित मनस्थितिले ऊभित्र विद्रोहको भाव जन्माइसकेको थियो । ब्रह्मचर्यको पालन गर्नका लागि देशभरिबाट सर्वोत्कृष्टहरूबाट छानिएर ल्याइएको थियो ऊ आश्रममा । जगेडामा राखिँदा किन रिस नउठोस् उसलाई । ब्रह्मचर्यमा रहँदा कुनै पनि स्त्रीको भोगको कामना गर्नुमात्र पनि पाप थियो । मनमा स्त्रीगमनको भाव आएकै क्षण ब्रह्मचर्य भङ्ग भएको मानिन्थ्यो । यति जान्दा जान्दै पनि उसले रूपालीका बिम्बहरूलाई बिनारोकटोक विचरण गर्न दिन्थ्यो ।

जेठको चर्को घाममा गर्मीको पारो उच्चत्तम बिन्दुमा अड्किएको निकै दिन भैसकेको थियो । बस्तीको बीचबाट कुदेको कालोपत्रे सडमा खालीखुट्टा हिँड्न लगभग असम्भव नै भैसकेको थियो उसका लागि । आचार्यलाई भन्न मनै थिएन । तातेको सडकले पोलेको पैतालाको पीडा रूपालीको दर्शनले मेटिदिन्थ्यो । गर्मीले तर्सिएका ग्राहकहरूको अनुपस्थितिले रूपाली बरन्डामा सुस्ताइरहेकी हुन्थी । निकैबेर रूपालीको मोहनी स्वरूपलाई निहार्थ्यो र आँखाभरि सजाएर उसकै कल्पनामा बाटो छोट्याउँथ्यो । आज फर्किँदै गर्दा रूपाली भिजेका केशरासी सुकाएर बरन्डामै थिई कार्तवीर्यका पाइला त्यतै मोडिए अनायसै । उसको सामिप्य गएर विनम्र भएर भन्यो, ‘देवी साह्रै प्यास लागेको छ एक गिलास पानी मिल्ला ?’

मृगनयनी रूपासीले मुसुक्क हाँसेर भनी, ‘अवश्य ब्रामण ।’ यति भनेर भित्र गई र चाँदीको अम्खोरामा चिसो पानी दिई । उसको संस्कार र ब्राह्मणप्रतिको आतिथ्य र आदरभाव देखेर ऊ पुलुकित भयो । उसको रूप र चरित्रमा उडेका हल्ला मिथ्या रहेछ्न् भनेर निकै खुसी पनि भयो । ‘धन्यवाद देवी तपाईंको भलो होस् ।’ आशीर्वचन बोलेर ऊ बिदा हुनै लाग्दा रूपालीले मृदुवचनमा भनी, ‘बटुक यस्तो गर्मीमा तपाईं खाली खुट्टा हिँड्नु भएको छ, मैले पूजाको लागि कुसको खराउ किनेकी छु, तपाईंले लगाउनु भयो भने मेरो दान पूर्ण हुन्थ्यो ।’ उसले नाइँ भन्न सकेन । एउटा हातमा खराउ र अर्को हातमा पानीको लोटा लिएर मृदुमुस्कान सहित आई रूपाली, पोलेका पैतालामा चिसो पानी खनाइदिई र अगाडि खराउ राख्दै लगाउन अग्रह गरी । उसको आतिथ्यले हायलकायल कार्तवीर्य उसका दुबै हात समातेर आफ्नो निधारमा लगायो र फेरि दुबै हातलाई चुम्यो । दुबैका आँखा जुधे र दुबै मुस्काए । मिठो प्रेम तरङ्गको अनुभूति हुनासाथ रूपाली हडबडाएर भित्र पसी । ऊ पनि हडबडाएर निस्कियो त्यहाँबाट । केही पर पुगेर फर्केर हेर्यो रूपाली पनि बरण्डामा उभिएर उसैलाई हेर्दै थिई । उसले पहिलो पटक प्रेमको अनुभूति गरेको थियो ।

अक्षय तृतीयको दिन उखरमाउलो गर्मी शिरचढेर ताण्डव गर्दै थियो एकाबिहानै । ताउझैं तातेको सडकका त्यही खराउ लगाएर हिँडिको थियो कार्तवीर्य पत्रिका र पूजाका सामग्री लिन । साँघुरो सडका किनारमा ठडिएका अग्ला घरहरूको छेकोमा केही सुबिस्ता मिले पनि सूर्यनारायण आगो बर्साउँदै थिए यत्रतत्र । चोक र गल्लीमा भने सर्बत बाँड्न बसेकाहरू प्रसस्तै भेटिन्थे । रूपाली पनि सर्बत बाँड्दै होली त्यही गएर खाने ठोट लिएर गर्मी र छल्ने बहानामा ऊ गौशालाबाट बनै बन हिँडेर बस्तीको पुछारमा आइपुग्यो । रूपालीको सामिप्यताको कल्पन मात्रले पनि ऊ रोमान्चित हुन्थ्यो । त्यसमा पनि भर्खरै प्रकट गरिएको प्रेमको जवाफ बाँकी नै थियो । जहाँ अस्वीकारको सम्भावना शून्य थियो । घरघरमा सर्बतको गाग्रो र गिलास बोकेकाहरू सर्बत पिइदिन याचिका गर्दै थिए । रूपाली पनि सर्बतको गाग्रो कम्मरमा बेकेर हातमा गिलास लिएर सर्बत बाँड्न बसेकी थिई। ऊ सरासर रूपालीको अगाडि गएर उभियो । रूपालीले मृदुमुस्कान सहित सर्बतको गिलास टर्क्याई । उसले दुबै हातले गिलास र रूपालीको हात समायो । असमञ्जस रूपालीले चुपचाप उभिइरही । रूपालीका आँखा रसाए । निश्छल आँखाबाट निसृत आँसुको बहाबमा उसले अव्यक्त भैकन पनि व्यक्त प्रेमको अनुभूति गर्यो । गालाबाट टप्कँदै गरेका अश्रुधारालाई मायालु हातले पुछिदियो । एकै घुट्कोमा सर्बत पिएर छ्चल्किन लागेका आँसुका थुङ्गालाई बलैले लुकाएर इसारैले आफ्नो पनि प्रेम व्यक्त गर्यो र हलुङ्गो मन लिएर हिँड्यो । उसका पाइलामा उमङ्ग थियो र ज्यानमा स्फुर्ती । मन फूलको थुङ्गाझैं हलुङ्गो भएको थियो भने दुबै आँखाबाट प्रेमसुधा छचल्किरहेका थिए ।

जेठ पनि घर्किँनै लागिसकेको थियो । चर्को घामले थाकेका गाईबस्तु पनि ओत लागेर उग्राँदै थिए दोपहरमै । तारेभिरतिरबाट आकाश कालो हुँदै आयो । गोकर्णमाथिको फाँटमा धुलोमन्डी आकाशमा मडारिएको देखेर तुरून्तै गाईबस्तु धपाउँदै आश्रम आइपुग्यो । सबै शिक्षार्थीहरू कक्षाकोठामा थिए । ऊ सिधै शयन कक्षमा गएर सुत्यो । हुरीबताससँगै परेको असिनाले थर्किएको आश्रमका सबै शिक्षार्थीहरू स्थुलभएर जमिनमै टाँसीएझैँ गरी बसिरहे । सम्पूर्ण आश्रम नै डगमगाउने गरी उफ्रिएको हुन्डरी पुरै पर्यावरणलाई निथ्रुक्कै भिजाएर केहीबेरमै शान्त भयो । रूपाली पनि हरपल उसको मानसपटलमा यसैगरी उर्लेर आँउथी । उसका अङ्गप्रत्यङ्गलाई झन्झटाएर उराल्थी । रूपालीको कल्पनामा उर्लिएका ती लहरहरू बेजोडले मन मस्तिष्कबाट बुर्कुसी मारेर दौडिन्थे हरेक अङ्गअङ्गमा र कट्टीसम्म पुगेर सेलाउँथे । अनि गुलाबी जाडोले थर्थराएका स्थुल उसका अङ्गअङ्ग प्रेमिल प्यासको अतृप्त आकांक्षालाई सुमसुम्याएर मनका सपाट फाँटमा निर्रथक भौतारिरहन्थे । तिनै फाँटमा कुरिरहेको एउटा आकृति क्षितिजमा अस्ताउनै लागेको सूर्यको मधुर प्रकाशमा केही परिचितजस्तै लागेर आउँथ्यो ।

प्रेमले छच्लकिएको अशान्त मनले सामिप्यताको आकांक्षा लिएर उतैतिर बढेका पाइलाका रफ्तार मुटुको धड्कनभन्दा तेज हुँदै थियो । नगिचै पुगेर अस्पष्ट त्यो आकृतिलाई सुमसुम्याउने हेतुले हात बढायो । सपनामा चिहाउने त्यो रूपाली नै हो, उसलाई पक्का थाहा थियो । प्रेमले उद्वेलित बेचैन उसले जब त्यो आकृतिलाई बडबडाउँदै आफूतिर तानेर अँगाल्नै लाग्दा गुरूको कर्कस स्वरले उसको तन्द्रा भङ्ग भयो । ‘सन्ध्याकालमै आएर सुत्नु आलश्य हो र आलश्यता शिर्क्षाथीको सबैभन्दा ठुलो शत्रु हो’ भन्दै हकारे । ऊ उठेर गौशालातिर हिँड्यो । गुरूको मिजाज अरू दिनको भन्दा अलिनरम देखेर पुनः आश्रमभित्र आएर सोध्यो, ‘गुरू, म कहिलेदेखि कक्षामा फर्कन सकुँला ?’ उसले विनम्रपूर्वक सोधेको थियो । निकै आक्रोशित भएर उसको टुप्पीमा समाउँदै गुरूले भने, ‘मूर्ख स्वाँठ तन्द्रामा स्त्रीगमनको आकांक्षा राखेर बडबडाउँछ्स् अनि ब्रह्मचर्यको ढोङ्ग गर्छस् ? जबसम्म तेरो कलुषितमन कामाग्निबाट मुक्त रहन्न, तँ त्यही गौशालामा बसेस्’ भनेर गलहत्याउँदै निकालिदिए आश्रमबाट । यति बेलासम्म सबै शिक्षार्थी र गुरूहरू पनि भेला भैसकेका थिए । सबै सामु पुनः बेइज्जतीका साथ गलहत्याइएकाले उसको रिस सतहमै प्रकट भएको थियो । अगाडि राखिएको कलशलाई लात हानेर ऊ गौशाला भित्र छिर्यो ।

सिङ्गै असार गयो साउनको पनि आधाआधी भैसक्यो, खडेरीले चरचर धाँजफाटेको जमिन र पीरले सुकेका किसान दुबै लम्पसारिएका थिए बलेसीमै । झमझम पानी पर्ने बेलामा घाम धुरी चढेर आगो उगेल्न थालिसकेको थियो एका बिहानै । दूरदूरसम्म पनि बादलको एउटै थुङ्गोसम्म पनि थिएन आकाशमा । बाबुकाजीले भने रोपाइँको आशा मारिसकेको थिएन । ऊ हरेक दिन बिहानै खेतमा जान्थ्यो, ब्याडमा पानी हालेर आउँथ्यो । अब त बागमती पनि सुक्नै लागिसकेको थियो । त्यसमाथि सबैले थुनेर दह बनाउन थाले पछि त झनै बिचल्ली थियो । यसैकारण गाँउगाँउ बीच वैमनस्यता बढ्दाबढ्दै झैंझगडामै उत्रिसकेको थियो । भर्खरै किनेको नोकिया मोबाइफोनमा रेडियो सुन्दै हातमा ढ्वाङ्ग बोकेर ‘बुढी जाऊँ, छिटो दिउँसो फेरि सकिन्न ‘ भन्दै ब्याडमा पानी हाल्न हिँड्यो ।

‘यति लामो खडेरी त देख्या थिएन आजसम्म । ब्याड डढेरै सकिने पो हो कि यसपाली ? भोकभोकै मार्लाजस्तो छ यो असती खँडेरीले ।’ कहिले गीत गुनगुनाउँदै एक्लै फतफताउँदै अगिअगि लस्कँदै थियो बाबुकाजी । आफ्नै सुरमा लुखुर लुखुर हिँडिरहेको बाबुकाजी श्रीमतीको चिच्याहटले हडबडाएर ढुनमुनिँदै उसको सामुन्ने पुग्यो र झोकिँदै सोध्यो, ‘बिनासित्ती सातो उड्नेगरी किन कराको ?’ उकालोमा दौडिँदा फुलेको सासलाई नियन्त्र गर्न खोज्दै सोध्यो । दुबै हातले पुर्पुरो समाएर विस्फारित आँखाले खेततिर इसारा गर्दै मिनाले रून्चे स्वरमा भनी, ‘कसका डाम्ना हुन् ब्याड भुसुक्कै परे जस्तो छ ।’ ऊ पनि खेततिर फर्कियो र बित्तातोडले खेततिर हाँनियो । रोप्न ठिक्क ब्याड निमिट्यान्न पारेर उघ्राइरहेका गाई देखेर बाबुकाजी रिसले आगो भयो । र हातमा लिइराखेको ढ्वाङ्गले चुट्न थाल्यो बर्बराउँदै र सराप्दै । बाबुकाजीलाई रोक्दै, ‘हैन, बौलायौ कि के हो ? किन कुटेको यी बस्तुलाई । यिनले त हरियो देखे खाए । यिनको मालिकलाई समातेर पाता फर्काएर तिर्न लगाउनु पर्छ ।’ उसको हातबाट ढ्वाङ्ग खोस्दै मिना गर्जिइन् । बुढीको सुझबुझ उसलाइ मुनासिब लाग्यो । उसले सबै सँधियारहरूलाई बोलायो । सबै एकठ्ठा भएर गाई धनीको पहिचानमा लागे । निकै बेरको दौडधुपपछि गाई आश्रमको भन्ने सुइँको पाएपछि सबै गाई डोराउँदै आश्रमतिर लागे ।

बाबुकाजी र उसका सँधियार आश्रम नजिकै पुग्दा हतारिएका पैताला बलात् रोकिए । आश्रम पुतपुत धुँवाइरहेको थियो । दुई बरूण नियन्त्रक आगो निभाउन तल्लीन थिए । वरपर पुलिसको घेरा थियो । वरपर केही मानिसहरू झुन्ड झुन्ड भएर गफिँदै थिए । नयाँ शिक्षा लागु भएपछि मुलुकभरि पाठशाला सँगसँगै र आश्रम पनि धमाधम खुल्दै थिए हरेक सहरमा । केही वर्षदेखि देशको शिक्षाको प्रबर्धनमा यिनै विद्यालय र आश्रमको निकै ठुलो भूमिका थियो । देशको साक्षारता स्थरको निरन्तर बृद्धिमा यिनै आश्रमहरूको पनि उत्तिकै योगदान थियो । त्यही धरोहर निस्तानाबुद भएको देखेर बाबुकाजी झस्क्यो । माहौलको गम्भीरसँग निरीक्षण गरिसकेपछि भतिजो र अरू दुईजना सँधियारलाई सँगै राखेर सबैलाई गाईसहित फिर्ता पठाइदियो । असमन्जसमै केही क्षण रमिते भएर टाढै बसेर वातावरणको मोहाइना गरिरह्यो , कोही चिनजानको मानिस वा पुलिस नै भेटिन्छ्न् भनेर । यति ठुलो घटनाको पछाडि पक्कै कारण पनि ठुलै होला भन्ने अनुमान लगाएको थियो उसले । केही पर आश्रमको पश्चिमतिर केही युवाहरूको झुण्ड अझै पनि अशान्त नै देखिन्थे। हातमा ढुङ्गा बेकेर अगिपछि हिँडिरहेका तिनको रिसको पारो चड्दो घामसँगै बढ्दै थियो । केही क्षणमै ती साईसाई र सुईसुई गर्दै हातमा लिएका ढुङ्गा तेर्साउँदै अगाडि बढेर आश्रममा फुट्न बाँकी ढोका र झ्यालमा ताकी ताकी हान्न थाले । केहीबेर चुपचाप बसेका पुलिस लौरो बजाउँदै अगाडि बढेपछि ती पुनः भागेर अगिकै स्थानमा गएर रोकिन्थे । आश्रम बिल्कुल खाली थियो ।

नजिकै गएर बलैले बाबुकाजीले एकजना प्रहरी जवानलाई सोध्यो, ‘सर, के भएको यहाँ ? यिनीहरूको गाईले हाम्रो बिउमा चरेर सखाप पारेछन्, त्यही कुरा गर्न आएको त यस्तो जत्रा पो छ ।’ उसले केही भन्न नमिल्ने जनाउँदै पर गएर बस्न अरायो अलि रूखो लवजमा अनि ऊ लुरूरू तीनै युवाझुन्डतिर गयो । केहीबेर बन्दै गरेको घरको सिँडीमा बसेर रमिते बनिरह्यो बाबुकाजी । हातमा फुटेको ईट बेकेर नजिकै आएर बसेको युवकलाई उसले विनम्रतापूर्वक सोध्यो, ‘के भएर यो बबाल भएको होला भाइ’ उसले बिस्फारित आँखाले बाबुकाजीलाई हेर्यो र भन्यो, ‘तपाईंलाई थाहा छैन के भएको ?’ उसले छैन भनेर टाउको हल्लयो । ‘उ.. त्यो चोकमा एउटी चियापसल्नी थिई ।’ उसको वाक्य पुरा नहुँदै बाबुकाजीले सोध्यो, ‘रूपाली ?’ युवकले घुरेर हेर्यो केहीबेर अनि पुनः सुरू गर्यो, ‘आश्रमको एउटा ब्राह्मणले त्यो रूपालीलाई लिएर भागेछ । भन्नलाई ब्रह्मचारी भन्ने अनि काम चाहिँ व्यभिचारी गर्ने ?’ उसको बोलीमा रोस थियो । ए, त्यसको लागिको पो यत्रो हिंसात्मक विध्वंश भएको रहेछ । युवक भन्दै थियो, ‘चारपाटे मोडेर चोक घुमाउँदै थियौँ, पुलिस आएर लग्यो । नत्र… ।’ सानले सुनायो उसले पुरूषार्थ । केहीबेर गम खाएर बाबुकाजेले सोध्यो, ‘बाबुको बिहे भयो कि छैन ?’

‘भैसक्यो ।’

‘त्यसो भए तिमीलाई त्यो रूपालीलाई बाहुनले भगावोस् कि अरू कसैले केको तातो ?’ केही रिसालु आँखा ऊतिर तेर्सिन थालेपछि बाबुकाजी अलि सजग भएर परपर सर्यो । उसले मनमनै गम खायो, उमेर पुगेका केटाकेटीको बिहेमा यत्रो विध्वंश गर्नु समाजको हिंस्रक स्वरूप अहिलेसम्म देखेको थिएन । एउटा विद्यार्थीको कदमले पुरै विद्यालय नै नष्ट गर्ने हिंस्रक समाज उसले पहिले कहिल्यै देखेको थिएन । यही गाँउमा पहिले पनि त धेरैले भागी बिहे गरेकै हुन् तर कसैले पनि त्यस्तो ध्वंसात्मक प्रतिकार गरेनन् । शिक्षा र संस्कृतिको पैरवी गर्ने आश्रम आगोको लप्कोमा पुतपुत धुँवाउँदै थियो । उज्यालो छर्ने विद्यालय आफैँ विनासको अन्धकारमा निस्तानाबुद भएर लम्पसारिएको थियो टुक्राटुक्रामा, बागमतीको किनारमा । बाबुकाजी चुकचुकाउँदै उकालो लाग्यो ।

प्रतिक्रिया
Loading...