साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथाः कमरेड उज्यालोको चिठी

यो युद्धमा म बाँच्छु कि बाँच्दिनँ, सहिद बनेँ भने मेरा प्रिय कमरेडहरू यो औषधि मेरो आमालाई पुर्याइदिनु होला । बुबा म सानै हुँदा खसेको हुँदा आमाले नै मेरो स्याहारसुसार गरेर हुर्काउनु भएको हो ।

तीन महिना अघिदेखि कमरेड उज्यालो र अरु एक दर्जन लडाकुहरु मरिण खोलामाथि रहेको हाम्रो बेतपानी गाउँमा सेल्टर लिएर बसिरहेका छन् । सत्ताधारीहरुले यो गाउँलाई पञ्चायत शासनकालदेखि नै आफ्नो समर्थन केन्द्रको रुपमा लिँदै आएका छन् । यसकारण यहाँ राज्यको कुनै सेना, पुलिस प्रशासन आएर गाउँलेहरुलाई दुःख दिने गरेको छैन । राज्यको बुझाइमा यहाँ माओवादी लडाकुहरु आए भने अवश्य खबर गर्ने छन् भन्ने छ । बाहिरबाट यस्तो देखिए पनि सत्यता चाहिँ यहाँका गाउँलेहरु माओवादी युद्धको पक्षपोषक थिए । माओवादी लडाकुहरु यहाँको सेल्टरलाई अन्य ठाउँको भन्दा धेरै सुरक्षित महसुस गर्दथे । यो गाउँ चारैतिर जङ्गलले घेरेको एउटा डाँडोमा अवस्थित छ । वरिपरि जङ्गलले घेरेको कारण मानिसहरुको आवजत जावत कहीँकतैबाट नदेखिने हुँदा माओवादीले यो गाउँलाई सेल्टर मात्र नबनाएर सैन्य तालिमकेन्द्र नै बनाएको थियो ।

आज रिमरिम उज्यालो सँगसँगै फेरि एक दर्जनभन्दा बढी माओवादी लडाकुहरु थपिए । उनीहरुको कुरा सुन्दा बुझ्न सकिन्थ्यो कि आज रातीतिर भिषण युद्ध हुँदै छ । आठ दश जिल्लाका लडाकुहरुले आआफ्नो जिम्मेवारअनुसार तयारी पुरा गरिसकेका छन् । उनीहरु पनि छिट्टै सम्पर्कमा आइसक्ने छन् । यहाँ रहेका माओवादी लडाकुहरुले गाउँबाट खोजेर बुढो भइसकेको तीन वटा गोरु ल्याएर काटे । पकाउनको लागि बन्दोबस्त मिलाए । गाउँलेहरुलाई पनि यो भोजमा निम्तो गरेका कारण सबैजना भेला भए । सबैलाई अघाउन्जेल मासुभात ख्वाए । बिहानको दश बज्दो हो खानपिन गरेर सबै लडाकुहरु सैनिक पोशाकमा हातहतियार सहित तयार भए । उनीहरु आफ्नो पुग्नुपर्ने गन्तव्यस्थानतिर प्रस्थान गरे ।

bahulako diary small and inside post
यकिना अगाध

‘काका ! यो दुईटा झोला चाहिँ तपाईंले सुरक्षित राखिदिनुहोस् है ।’ कमरेड उज्यालोले मेरो काकालाई झोला जिम्मा लगाउँदै भन्यो, ‘युद्धमा हिँडेको छोरा । फेरि फर्केर आउँछु कि आउँदिन । युद्ध जिते पनि मर्न सक्छु, हारे पनि मर्न सक्छु । अरु साथीहरु मात्र मर्ने छन् म मात्र चाहिँ मर्दिनँ भन्ने कुनै ग्यारेन्टी छैन । म फर्केर आएन भने यो झोला ऊ त्यो मेरो साथी कमरेड मिरमिरेलाई दिनुहोस् है….।’ आफूले भन्न खोजेको वाक्य भनिनसक्दै कमरेड उज्यालोले काकालाई च्याप्पा समाएर बरर आँसु झार्यो ।

‘नरोऊ । नरोऊ नानी । तिम्रो भाग्य बलियो छ । तिमीहरुले युद्ध जिते पनि हारे पनि तिमी सहिद हुनुपर्ने छैन …।’ काकाले सान्त्वना दिन खोजे पनि राम्ररी सम्झाएर सान्त्वना दिन सकेनन् । काकाको घाँटीमा केही गह्रौ वस्तु अड्केको जस्तो भयो । आँखामा टल्किरहेको आँसु हतार हतार पुछेर दुबैजनाले मलीन अनुहार बनाए । उनको अरु साथीहरु तल्तिर पुगिसकेका थिए । झसँग ब्युँझेझैँ गरी काकासँग छुटेर कमरेड उज्यालो हामीहरुलाई बिदाइको हात हल्लाउँदै साथीहरु झर्दै गरेको ओरालोतिर ओर्लियो । युद्धको समय धेरै नै गोप्य हुने भएकोले उनीहरु कुन चाहिँ चौकी वा आर्मीक्याम्प हन्ना गइरहेका छन् भन्ने कुरा कसैलाई थाहा हुँदैनथ्यो । आज राति पक्कै भिषण युद्ध हुनेछ भन्नेसम्म गाउँलेहरुले अनुमान लाउन सक्दथ्यो । भोलिपल्ट रेडियो सुनेर थाहा भयो– कमरेड उज्यालोको टोलीले भिमान आर्मीक्याम्प हिर्काएछन् । युद्धमा माओवादीले सत्ताधारीलाई हराए छन् ।

आजभोलि गर्दा गर्दै दुई वर्ष बित्यो । काकाले कमरेड उज्यालोको बाटो हेरिरहे । अहँ ,उनी आएनन् । उनको साथी कमरेड मिरमिरेको बाटो हेर्यो । अहँ उनी पनि आएनन् । यो युद्धपछि सत्ताधारी र बिद्रोही माओवादीबीच शान्ति सम्झौता भयो । अहँ, त्यो कमरेड उज्यालोको झोला खोजेर कोही पनि आएनन् । काकाले एकदिन गाउँलेहरुलाई भेला गरेर झोला खोलेर हेरे । एउटा झोलामा कम्युनिष्ट घोषणपत्र, मार्क्सवादसम्बन्धी पुस्तकहरु, भिमान आक्रमणपछिको अरु योजनाको स्केच थियो । र्को झोलामा फेर्ने लुगाहरुसँगै औषधिको पोको र चिठी थियो । चिठी खोलेर हेरियो ।

चिठीमा लेखिएको थियो¬–

‘यो युद्धमा म बाँच्छु कि बाँच्दिनँ । म सहिद बनेँ भने मेरा प्रिय कमरेडहरु यो औषधि मेरो आमालाई पुर्याइदिनु होला । बुबा म सानै हुँदा खसेको हुँदा आमाले नै मेरो स्याहारसुसार गरेर हुर्काउनु भएको हो। म जनसेनामा पसेको साल रुखबाट झरेर मेरुदण्ड भाँचेका कारण आमा कुँजो हुनुहुन्छ । गरेर खान सक्नुहुन्न । यो औषधि खुवाउन पाए त निको पो हुन्थ्यो कि ? अहिले युद्ध भयङ्कर उत्कर्षमा छ । समयको सेकेन्ड सेकेन्ड महत्त्वपूर्ण छ । लडाँइको मोर्चाबाट बिदा मागेर म आमालाई हेर्न जाने कुरा देश र जनताको मुक्तिआन्दोलनलाई धोका दिनु बराबर हुनेछ । यसकारण आजसम्म यो औषधि पुर्याउन सकिनँ । मबाहेक आमालाई हेर्ने अरु कोही पनि छैन । अहिले छिमेकीहरुको जिम्मामा छाडिएको छ र उहाँहरुले नै हेरबिचार गरिरहनुभएको छ । मेरा प्रिय कमरेडहरु म यो युद्धमा मर्यो भने आमाको जिम्मा पार्टीलाई भयो ।’

तपाईंहरुको सहयोद्धा
कमरेड उज्यालो ।

चिठीमा अरु पनि केही लेखिएको थियो । सायद ठेगाना पो थियो कि ? उनलाई के लाग्यो कुन्नि नबुझिने गरी कोरेर मेटेको थियो । त्यो अक्षर पढ्नलाई सकिएन ।
‘अहो नि यो नानी कहाँको रहेछन् ?’ चिठीमा भएको ब्योहोरा सुनिसकेपछि गाउँलेहरुले काकालाई सोधे । काकालाई पनि उनको बारे केही थाहा भएन । काका र गाउँलेहरु मिलेर सक्दो कमरेड उज्यालोको घर ठेगाना खोजे । तर पनि कहिल्यै पत्ता लाउन सकेनन् ।

त्यो औषधि, त्यो चिठी, त्यो उनको सपना …. आज पनि यो झोलाझित्र कैद भएर बसिरहेको छ ।

लेखक परिचय
यअ
यकिना अगाध
प्रतिक्रिया
Loading...