साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

महाकवि देवकाेटाकाे कथा : मन र तन

मधुलाई यी अन्धयुगी अबतालीमा विश्वास बिलकुल थिएन, वास्तवमा । तर झल्याँस्स उनले सम्झे आजैको दिन रानीपोखरीको डीलमा फतफताइरहेकी माग्ने बहुलाही । वर्णन दुरुस्त त्यसको थियो ।

।।क।।

‘‘ए हजूर ! खान पाइनँ भूतेले सिलटिम्मुर खायो हजूर ! शीताम्मे भो, गयो ! त्यसका मुखाँ पानी हाल्देऊ न हजूर ! गोडामा गाथ्यो छौँडो मोरो पक्र्या छु, हजूर ! त्यै मेरी गुर्मा यी काम त हो नि ! काली कल्चौँडी मोरी ! उसका पोइ ता भूता छन्, बालुवामाथि सुत्ता छन्, हजूर !’’

bahulako diary small and inside post

कुन्तला दक्षिणी हरियो झ्यालमा पत्ता बनाएर गुनगुनाइरहेकी थिइन् । सायद सुरैयाको गाना । धेरैजसो शब्द सुनिन् । माग्नेनी विचित्र अर्थहीन असंग कुरा बोल्दथी ।

‘‘सारा कलेजालाई नाम्ले कीरा ।
नरमलाई दूध र केरा ।।
मरिगएपछि तिम्रा न मेरा ।’’

बूढी फलाक्न लागी ।

‘‘गाईलाई नाम्ले कीरा हुन्छ ।’’ …. उनको भित्री सम्झनाको पुरानो रेकाड् बज्यो । भौँ खुम्च्याउँदा ऐनाको मूर्ति भाग्यदेवीझैँ, मुस्कानबाट निमेषभरमा क्रोधको झनकमा पुग्यो । माग्ने पनि सराप्ने चाहिनी आइलागेका । पत्तासँग झर्किइन् । एकबार ठाउँमा बस्न मानेन । सरापेर थिचिन् । बस्यो । काँच कचौरीबाट पानी हातमा लगाएर गोरो मुहार पुछिन् । दलिन दुई हत्केलामा प्रशस्त ‘हेज्लिनस्नो ।’ अनि कलिला पुष्ट गाला निधार, चिउँडोले सौन्दर्यको सेतो जलप पाएर झन् कलिलो, ताजा, सेतो चमक लिए । निहुरेर मुस्काइन् जो मीठो र दुर्लभ सन्तोषको लक्षण थियो । सारीको गाँठो ठीक ठाउँमा मिलाएर सेफ्टीपिन्ले बाँधिन् अनि तीन पटक कोइलीको नृत्यका तीन उफर लिएर शिघ्रतया भँडारमा पुगिन् । हलुका मुठी बाँधेर आँगनतिर दगुरिन् ।

आम्मै ! के मूर्ति ! ठक्क टाढै अडिन् ।

साठीउपरकी लमचिउँडी, आधा मधिसेनी, चम्रीका पुच्छरका टल्किने सेता रौँ, काला रौँका संख्यासँग सफल प्रतियोगिता । गोबर अँगारबीच वर्ण, आँखामा मुजा, चिउँडोमा चोसे दीर्घता, अनुहारको उच्चारित विकर्षण थियो । थोते गिजा भोक या भ्रम चपाउँथे । मगजको दाना खल्बलिएजस्ती, बसेको कञ्चट, दाहिना गालामा एक कुरेत पालेको खत ! छिः !

कुन्तलाले वृद्धालाई नटोक्ने कालो सर्पजस्तो ठानेर हेरिरहिन् । झुत्रे झल्लरी चादरमनि केही चीजले म्याउँ गर्याे । उपमाग्ने पनि रहेछ ।
आम्मै ! के मान्छे होली त्यस्ती !

लक्ष्मीप्रसाद देवकोटा

बूढी चार आने मूगाको मला बायाँ हातले हल्लाएर गाइरहेकी थिई, ‘‘पांग्रे कुक्कुर नारी, जोत्थे घैयाबारी, तिम्रा बाबु थिए अक्कलका भारी, बिरालोको घोडा चढी, गर्थे टुकुचा वारिपारि, उधाउँथे खुर्पा खौरन्थे दाह्री … थाहा पाउली घरकी बुहारी !’’
कुन्तला पछिल्लो पंक्तिले झस्किन् । अगाडि बढिन् आँग जिरिंग भयो । भिक्षा दिइन् ।

बूढीले भनी, ‘‘नानी फाटे, कुन्तली, चोली मोहोर देऊ न ।’’

कुन्तलाले भनिन्, ‘‘काँ पाउनु चोली मोहोर ? जाऊ !’’

बूढीले सरापी ।

‘‘गरीब भाकी ! गरीब ! रित्ता हातलाई उल्टी शूली जाऊ, जाऊ, घुच्ची ! ह्याँ कराउन नआऊ ! जाऊ !’’

बूढी उठेर हिँडी ।

‘‘मेरो पोइ ता भूता छन्, बालुवामाथि सुत्ता छन्, सारसाजस्ता खुट्टा छन् ।’’

‘‘मि..याउँ … ।’’

उपरंकले हरिया विचित्र आँखाले खानेकुरा छ कि भनेर बूढीको चोलीबाट चिहायो ।

‘‘खालास् मोरा ! खालास् ? तेरो आमा टोक्ने हतपते !’’

कुन्ताला ढोकाबाट निस्केर बूढीको झुत्रो चादरको झल्लरीदेउ देखिउञ्जेल टोह्लिएर हेरिरहिन् ।

।।ख।।

कुन्तलाका माइती धनी थिए । उनले पेट बोकेको छ महीना भएपछि, दिनको तीन पटक झ्याउरी आउन थाली । उनका सन्दूकमा घीउ, कवाफ, तेल, फुरन्दाना, मिठाई टुट्न असम्भव भयो । उनी नेपाली बुहारी बनेकी थिइन् । प्रवेशिका अंग्रेजी पास गरेपछि डुल्न घरेलु आदतको विरोध ठहरिएको थियो । ग्रेजुएट लोग्ने पाएकीले सासूको दक्खल कम थियो । जाँतोले दूब्ली, भोकोसँग मितेरी लाउँछ । तर अघाउने बुहारी ढिक्कीका दुश्मन हुन्छन्, जाँतोका शत्रु ।

उनलाई बराबर वाकवाक लाग्ने रोग थियो । औषधि खान भएन । अनि षोडश वर्षमा मरेकी उल्टी छोरी जन्माइन् । हुरुक्क भएर बाँचेकी थिइन् । एक महीना ओछ्यान परिन् । दोस्रो महीना माइतमा सुत्केरी समय बिताउन गइन् । तेस्रो दिन उनलाई शिरमा चक्कर आयो । भर्याङलाई दोष लगाइन् । सातौँ दिन दाहिना कोखा चस्केर शूल भयो । बोक्सीलाई सरापिन् । अनि दुश्मन हुँदै गयो, खान खोज्नु तीव्र मित्र हुँदै गयो ।

एक दिन राति दुई बजेसम्म निद्रा लागेन । झ्याल खुलै रहेछ । झ्यालमा अडेस लागेर भारी कपालमा शीतल हावाको लहर लाग्न दिइन् । झ्यालैनेर पीपलको बोट थियो क्षेत्रपाटीमा । यसो त्यता आँखा घुमेछन् । हाँगामा ती रंगको बत्ती देखिन् । ‘‘आम्मै’’ उनी घोप्टो परिन् ।

चल्यो, ‘‘हुँ ! हुँ ! हुँ ! हुँ ! आय्या नि ! मरेँ नि ! खाई नि ! सिद्ध्याई नि !’’

आमा उठिन् । भाउजू उठिन् । बाहुनी ओर्लिन् । घोरपा बूढी उक्ली । कमिटीले बोक्सी र छौँडाको फैसला गर्यो । कनिका मन्छिए । इत्यादि । रात छर्लंग गयो ।

भोलिपल्ट स्त्रीसमाजले मोती धामी बोलाउने निर्णय गर्यो । यो वैज्ञानिक चिकित्यामा दक्षतर, दक्षतम इत्यादिको कब्जाभन्दा परको विषय ठहरियो । एक फुकाहाले अलि विशेक पार्यो ।

पर्सिपल्ट कुन्तलाले ऐना हेरिन् । मासु बफाएछ । गोल रेखा उडेछन् । खोबिल्टो हराएछ । तोरीको पहेँलो पात रोगनमा चढेछ । अघिको फादार मसिनो रोगको चमक सम्झिन् । कालले बेसार घस्या जस्तो । फेरि हेरिन् । चाहुरिएका अग्रदूत फेला पारिन् । छाती पनि खुकुलो भएर झोलिएजस्तो लाग्यो ।

‘‘हेर्नाेस् आमा !’’ …. इत्यादि ।

एउटी छोरी भएकी जननीजस्ती धैर्यशीला श्रोत्री पाउनु महिला संघकी नेत्रीको आनन्द हुन सक्छ, सब उजुरात सुनिदिन ।

आमाचाहिनीले परेको कुरालाई हँस्सीमा उडाएर भनिन् कि केही बिगार जरुर थियो ।

‘‘आँखी लाग्यो नानी ? कसैसँग झगडा त पर्या थिएन ?’’

‘‘कुन्नि ! कुन मोरी हो ! त्यै माग्नेनी त होइन ? अस्ति मैले बयान गरेकी क्या ! लमचिउँडी चोसे !’’

‘‘ए हँ ! बुझेँ, बुझेँ ! को हो त्यो ? कहाँकी हो ?’’

‘‘कोको ! काँकी ! काँकी ! काँट मोर्न आइलाग्छन् ! हेर्नस्न ।’’

‘‘भैगो ! त्यसको ओखती म गरुँला, बुझ्यौ नानी ? नडराऊ ! त्योभन्दा मापाका मान्छे छैनन् र ह्याँ ? आम्मै ! किन डराएको कुनू, सित्तैमा !’’

‘‘लौन आमा ! मर्न आँटिसकेँ भन्या ! हेर्नस्न बूढी भाकी अहिल्यै । चाँडै आमा ! विन्ती ! चाँडै ।’’

।।ग।।

बानेश्वरमा शंखमूल ओर्लने सडकको किनारमा अवालमनि एक घर तपाईँले देख्नुभएको हुन सक्छ । नदेखेको भए आउनोस् हेर्न जाऊँ ।
वरिपरि नर्कटको मजबूत बार छ । त्यसमा तीन तह काँचो धागोभरि पीपलको पात छ । चहचह, हजार मुटु हल्लिएझैँ झण्डन मुण्डन । आँगनमा चुदुवा र वेदी छ, जसमाथि चरु डढेका छन् । कुखुरा, बोका र परेवाका मुटुकलेजोका टुक्रा डढे पनि चोखो वैष्णवको नाकमा गह्नाउँछन् ।

पिँढीमा छ घनघोर ढम्मरधूस ढ्यांग्रो । भित्ताभरि जन्तर मन्तर रंगाएर टाँसिएका छन् ।

प्रवेशद्धारमा छ भँगेराटाउके काला अक्षरमा अंकित, ‘‘ओम् अथर्ववेदाय स्वाहा !’’ बारीभरि तीतेपातीको खेती देखिन्छ ।

एउटा जखमने बोको, दाढीवाला कालो बुज्रुकझैँ बोल्दछ, रहस्यमय पशुपुराणको ‘श्रीगणेशाय’ झैँ …..

‘‘वा वा … उ–उ–ऊ ….. वा वा ।’’

एउटा कालो भोटे कुकुर सिक्रीले बाँधिएको छ … घण्टाउके । त्यो ढ्यांग्रोको संरक्षकझैँ ।

अब कसको घर भन्ने चिनिसक्नुभएकोले वर्णन नलम्ब्याऊँ ।

सीमन्तिनी बज्यै, कुन्तलकी मायालु आमा, भोटे कुक्कुरको चेहरा र भुकाइले, सिक्रीले प्राबल्य तौलेर, द्धारैनिर अडेर, खडा हुनुहुन्छ । मालिकले बुझेर बोलाउन पठायो । आयो ध्यानसिंह खत्री बोलाउन । ऊ सेक्रेटरी वा सचिव थियो ।

अब कोठाको तस्वीर कल्पनाको आधारमा छोडिदिऊँ । गोबरले लिपेको टुक्रामा आसनीमाथि चोखो पानीका पात्रहरु राखेर एक व्यक्ति ध्यान र गुनगुन बीचमा आँखा चिम्लिरहेको थियो । टाउकोभरि रुद्राक्ष ।

एकछिनपछि ‘‘अँ बज्यै ! कलेजा भुट्न लागी होइन ?’’

‘‘हजूर !’’

‘‘साँच्चिकैकीसँग पो फेला पर्नुभएछ त, हँ ! करवीर साध्ने पो रहिछ त, हँ !’’

‘‘प्रभु !’’

‘‘कति दिन भो ?’’

‘‘धेरै भो हजूर !’’

‘‘दश महीना नाघ्यो होइन ?’’

‘‘छोरी पनि जन्मी, प्रभु ! तर के गर्नु ! उल्टो र मरेकी ?’’

‘‘ल, म भन्नै आँटेको थिएँ कि ! वीरले बताएको अब ! अँ औषधि ता गर्नै पर्याे त, हँ ?’’

‘‘तेसैले त आएकी हजूरकहाँ । के गर्नुपर्ने हो अब ! हजूरलाई जाहेरै छँदैछ !’’

‘‘हो बज्यै ! थाहा छ ! घर काँ ?’’

‘‘क्षेत्रपाटी, पीपलको रुखअगाडि !’’

‘‘हुम् .. राता, नीला बत्ती देखिएनन् ?’’

‘‘हजूर ! धन्यै हो ! कसरी जानिबक्सेको होला ! गजबै छ विद्या भनेको पनि !’’

‘‘अब बल्ल चिन्नुभो मोती धामीलाई ! ए ध्यानसिंह सुनाइदेन !’’

ध्यानसिंहले बखान सुरु गर्याे, कसरी जखमने बोको चढेर भूत र प्रेतको देशमा राति वारी हुन्थ्यो– औँसीका रातमा । भैँचालो ९० सालको, आफ्ना घरबाट एक यन्त्रले हटाइबक्सेको थियो । एउटा मकैचोरलाई एक राति पातालबाट कालो नाग उठेर टोकेको थियो । बल्लबल्ल फुकेर उहाँले नै बचाइकक्स्यो । बोक्सी त्यस सडकबाट हिँड्दा त्यस घरतर्फ फर्केर कहिल्यै हिँड्न सक्तैनथे । उल्टो फर्केर चल्थे । वीरले एक रात दश तोला बेटर सुन बोकेर ल्याएको, भोलिपल्ट बत्रो खसी भोज भायो । कलेजाफोक्सा कसरी वीरका पारिश्रमिक बनेका थिए । भूतको जगल्टा उखेलेको त्यहीँ राखिएको थियो । जटा नरीवलको झूसलाई रासायनिक प्रयोग गरेजस्तो केही वस्तु प्याँगभरि देखियो । एकबाजि एक बोक्सीले मास मन्त्रेर जक्खु ढ्यांग्रोलाई हान्न खोज्यो, आफैँ खुत्रुक्क ? त्यो बोको रातभरि हिमालमा विचित्र बूटी चरेर आउँथ्यो । एक ठाउँकी नानीसाहेब झण्डै खुत्रुक्क मरेकी । उहाँलाई भन्न आउनासाथ शूल निको भएर सुनको जन्त्र दिएको अद्यावधि उहाँले छातीमै पहिरिरहनुभएको थियो । अस्ति मात्र नाम्ले कीरा लागेको गाई छुनासाथ निको भयो, इत्यादि ।

‘‘बगडधूम ! बगडधूम !! बगडधूम !!’’ धामी उफ्रे । बज्यै तर्सिइन् ।

‘‘लौ परमेश्वर, के चाहिएको हो !’’

‘‘ओ मनुवा, हेर् ! मनुवा ! काली, काली बोक्सीले मनुवा, खाई छ तेरी एउटी छोरी ! मान्छे तँलाई हेर् है मनुवा ! होश गर् ! मनुवा ! होश गर् !’’

‘‘लौ परमेश्वर, हजूरको शरणमा छु !’’

‘‘अँ ! हेर् मनुवा ! बिहानीपख, मिर्मिरे हुँदै, हेर् है पन्ध्र रुपियाँ पोको झुड्या

एर, हेर् है मनुवा ! कालो, कालो, निक्खर बोको, बानेश्वरको थानमा बाँधी, मंगलबारमा, हेर्दै नहेरी, घरमा फर्केस्–

‘‘बगडधूम ! बगडधूम ! बगडधूम !’’

धामीले बल्दो बत्ती निल्यो, वीर गयो ।

‘‘के भन्यो बज्यै ! वीरले ! बुझ्नुभो ? सम्झिराख्नुस् ! ल जानोस् ! उसको कुरा पुर्यायो, निको भयो । बोक्सी भागी कञ्चन !’’

‘‘ए ध्यानसिंह, राम्ररी बुझाइदेन !’’

ध्यानसिंहले तीन फेरा दोहर्याएर पूरा पन्ध्र मिनेट कुरा बुझायो र थप्यो कि उहाँ जानैपर्ने थिएन अरु ठाउँ । त्यहीँबाट बोक्सीको मिति पुग्दथ्यो ।
त्यस दिन राति भद्रकाली बाजेको घरमा चोर आयो । कन्तुर खुला देखियो । बिजुली निभाएको थियो । बज्यैले बाजेलाई चिमटेर ब्यूँझाएकी थिइन् र कानमा ‘चोर’ भनेकी थिइन् । चोर सुत्केरी छोरीको कोठातिर लागेको थियो । कुन सटकोमा भागेछ । पाँच सय रुपियाँ नआउने बाटो लागे ।

।।घ।।

भोलिपल्ट छोरी कुन्तला बक्न लागेकी थिइन् ।

‘‘बिराएँ हजूर बिराएँ ! अब गर्दिन् ! अब खान्नँ ! जान्छु नि जान्छु !’’ उनी रुन लागिन् ।

बज्यै सीमन्तिनीका हातमा मोती धामीका बारीको एक मन्टा मन्तरेको तीतेपाती थियो ।

त्यो टाउकोमा लगाइदियो । बोक्सी बक्न लागी ।

‘‘तेरो नाउँ के ?’’

‘‘भ्भ भ्भ ? हि.. हि.. हि.. हि !’’ यहाँ कुन्तला हाँसिन् !’’

‘‘घर कहाँ ?’’

‘‘घर ? … घर ?…..’’ कुन्तलाभित्रकी बोक्सी सम्झन कोशिश गरेर बोलि, ‘‘बाग्मतीको ती, अहिले यहाँ अनि उहाँ … मानेको घर ? … हि ! हि ! हि ! हि !’’

‘‘अझ हाँस्छेस् ?’’

तीतेपातीले झटार्नासाथ बोक्सी डाँको छोडेर रुन लागी ।

‘‘जान्छेस् कि मारुँ ?’’

‘‘नमार नि ! जान्छु ! जान्छु भन्या जान्छु नि ! चोली दिइन्, मोहर मागेँ दिइन । यसकी छोरी गर्भमा उल्टो पारेर निमोठेर खाएँ ! यसलाई खान्छु भन्या खान दिएनन् नि बाबा ! खान दिएनन् ! हुँ .. हुँ .. हुँ .. हुँ ….. जान्छु नि ! जान्छु ! भोकै जान्छु !’’

‘‘मारुँ, अझ जान्छु भनेर जाँदी रहिनछ लौ ! रगत छदाएर मारुँ ?’’

‘‘नमार बाबा ! बिराएँ !’’ यहाँ कुन्तला हात जोरेर रुन लागिन् ।

‘‘गएँ भन्या ! गएँ .. गएँ .. अब आउन्नँ ।’’ अनि होश खुल्यो ।

‘‘के भो कुन्तला ?’’

कुन्तला सुस्त आँखा खोलेर जिल्ल परेर शिथिल देखिइन् । अनि उनी लजाइन् । ढोकामा कसैले अझसम्म नदेखिएकामा मधुवन, उनका ग्रेजुएट पतिदेव, सब तमाशा हेरिरहेका रहेछन् । उनी लुक्न खोजिन् ।

मधु भित्र पसे, ‘‘यही हो शूल भन्या !’’

सासूले भनिन्, ‘‘हजूर आज बल्ल बोक्सी बकी ।’’

‘‘खै त्यो के ?’’

‘‘यो’’– सासू शरमाइन्, ‘‘तीतोपातीको मुन्टा, बोक्सीको दोहलो गर्दछ भन्छन् ।’’

‘‘अश्विनीमणिको औषधी पार्नुभएन यहाँहरुले ?’’

‘‘कुन्नि, खाइराकी छ क्यारे !’’

‘‘उः त्यो दराजभरि औषधिका शीशी यसै छन् नि ?’’

‘‘खाइनस् नानी तैँले ?’’

‘‘अँ डाक्टर अब ! कस्ता गजब भइरहेछन् । ह्याँ !’’ एक जनाले बोलिन् ! मधुलाई रनक्क रिस उठ्यो । रिस औषधिझैँ निलेर भने, चतुरतासाथ ।

‘‘होइन मलाई पनि बोक्सीमा विश्वास छैन भन्नुभएको ? अहो ! को रौछ त ?’’

‘‘चोसे राँड ! बाग्मतीको तीरमा बस्छे रे !’’

‘‘त्यसलाई काँ भेट्यौ हँ ? कुन्तला !’’

‘‘घरमा ! श्रीपञ्चमीको दिन माग्न आएकी थी ! चोली, मोहर मागी । दिइन भनेर धम्की दिएर गएथी । रित्तो हातलाई उल्टो शूली भनेर गएकी राँड ! सम्झन पनि सक्तिनँ म ता ! यति लामो चोसे चिउँडो थियो । छौँडा काखिच्यापेकी थिई !’’

‘‘हँ ?’’

मधुलाई यी अन्धयुगी अबतालीमा विश्वास बिलकुल थिएन, वास्तवमा । तर झल्याँस्स उनले सम्झे आजैको दिन रानीपोखरीको डीलमा फतफताइरहेकी माग्ने बहुलाही । वर्णन दुरुस्त त्यसको थियो ।

‘‘बोक्सीले छोडी त ?’’

‘‘छोडेजस्तै छ !’’

‘‘बेस भएछ ! मेरो आधा घण्टा एक काम छ अनि हीँ आउँछु !’’ उनी हतपतसँग बाहिर निस्के ।

आधा घण्टापछि मोटरको हर्न ढोकामा सुनियो । अलि कानेखुशी गरेजस्तो गरेर डाक्टर अश्विनीमणि र मधु निस्के । मोटरबाट एक बूढी डोर्याउँदै उनी माथि लागे, डाक्टर पछि पछि ।

‘‘कस्तो छ ?’’

‘‘बेस छ !’’

‘‘हाम्रो पोइ ता भूता छन् ! बालुवामाथि सुत्ता छन् !!’’

‘‘ए कुन्तला ! तिम्री बोक्सी आई !’’

कुन्तला, ‘‘आम्मै !’’ भनेर चिल्लाइन्, सब एकक्षण तर्से । मधु पेट मिचिमिची हाँस्न लागे ।

‘‘के बोक्सी आई ?’’

डाक्टर बोले, ‘‘ल आऊ, बोक्सी आमै ! यहाँ बस !’’ बोक्सी बसी ।

‘‘ए हजूर ! खान पाइनँ ! भूतले सिलटिम्मुर खायो, हजूर ! मोहर चोली देऊ न !’’

खास, उहीँ बोक्सी ! सबैका मुख कालानीला । कुन्तला भाग्न खोजिन्, मधुले हात पक्रेर ताने ।

तब डाक्टर बोले, ‘‘बोक्सी यही हो ? अहिले मधु बाजेले भनेपछि पो थाहा पाएँ ए मैले ! रानीपोखरीको डीलबाट भरखर टिपेर मोटरमा हालेर यहाँ मार्न ल्याएको यल्लाई । छौँडो पनि काखीमा छ ।’’

मियाउँ … मियाउँ …

कुन्तला भाग्न खूब जोड गरिन् । मधुले नारी खिचेर राखे । डाक्टर बोल्दै गए, ‘‘रानीपोखरीको डीलबाट मोटरमा हालेपछि मात्र मैले मान्छे चिनेँ, यो को थाहा छ ?’’

सासूचाहिनीले मन्टो हल्लाइन् ।

‘‘यो खास मेरी काहिँली आमा, थाहा छ ?’’

सब जिल्ल परेर मुखामुख गर्न थाले ।

‘‘खास मेरी काहिँली आमा ! थाहा छ, थपाईँहरुलाई ? भूतनाथमणि सुब्बासाहेब मेरा काका होइनन् ? चिन्नुभा’ छ ?’’

सासूले बोलिन्, ‘‘हो वहाँलाई किन चिन्दैनथ्यौँ ।’’

‘‘बस, यिनी उनकै जेठी सुवासिनी, विवाहिता धर्मपत्नी, चिन्नुभयो अब ?’’ सासूले आश्चर्यको उद्गार गरिन् ।

‘‘के ? मनकानादेवी हुन् त यी ? उनलाई त मैले चिनेको हो नि ! बालककालमा सँगसँगै खेल्या अब मसँग !’’

‘‘हेर्नाेस्, निहालेर ! यो चिउँडो यस्तो थियो ?’’

‘‘हो, हो, यस्तै थियो !’’

‘‘अनि ! यो दाहिने गालामा पोलेको खत थियो ?’’

‘‘हो ल, मेरो भाइले त चिलिम घोप्टाएर पोलिदिएको अब । हो ल, उही रहिछन् उही हुन्, ए गजब !’’

‘‘चिन्नुभो त राम्ररी ?’’

‘‘चिनेँ, हो ल, उनै हुन् पक्का !’’

‘‘बस्, यिनको भूते भन्या भूतनाथमणिजी, खास मेरा स्वर्गवासी काका हुन् । वहाँ गौँडामा सुब्बा भएर जाँदा बदमाशले गोली हानेर मार्याे । यिनी त्यस बेला थिइन् ह्याँ ! ज्यादा प्रेम थियो । पैँतीस वर्षकी थिइन् । उनी चालीस । सुन्नासाथ मगज खल्बलिएर यो हालतमा छँदैछन् । भूतले सिलटिम्मुर खायो भन्या सुब्बासाहेब स्वर्गवास भए भन्या । पानी पिलाउन पाइन्नँ भन्छिन् । के के भन्छिन्, के के ! चिन्नुभयो ?’’

‘‘हरे ! मन् ! तिमी नै ह्वौ ! अभागिनी ! च्यु ! च्यु !! च्यु !!!’’ सासू बज्यै सीमन्तिनीका आँशु बबर्र गिरे ।

‘‘यी बोक्सी हुन् त ?’’ मधुले सोधे ।

‘‘हरे ! कसरी होलिन् । बिचरी ! मगज खुस्केकी !’’

कुन्तला जिल्ल परेर आमाका आँखाभरि आँशुका दाना गन्न लागिन् ।

‘‘नानी ! यी बोक्सी होइनन् ! तँलाई त्रास मात्र पसेको रहेछ !’’

‘‘धामीले सब कुरा कसरी बतायो त ?’’

‘‘कुन्नि, मन चोर्याे !’’

‘‘को धामी ?’’

‘‘मोती धामी !’’

‘‘एहे, मैले सुन्या छु’’ डाक्टरले भने, ‘‘चोरको राजा ! अब ल, कुन्तलादेवी यहाँ लेट्ने !’’ डाक्टरले बिछ्यौना देखाए ।

मधुले आज्ञा दिए । डाक्टरले कलेजो छामे ।

तब भने, ‘‘ल मिस्टर ! हात हाल्नोस् ! बोक्सी ! यहाँ बसिछ ! छाम्नुभो ?’’

‘‘ओहो ! कति ठूलो !’’

‘‘हेपाटाइटिज एक्स्ट्रा अर्डिनरी विद् नर्भस् ब्रेकडाउन ! बुझ्नुभो ?’’

‘‘ज्यादा खाएर काम नगरेर !’’

‘‘बस्, नेपाली बुहारी भन्या त्यही हो ! हिजो के खानुभयो ?’’

‘‘दाल, भात, अमि, कवाफ खाई अलिकति !’’

‘‘खुब मोटो ?’’

‘‘हो !’’

‘‘घीउ, तेल बोसो बन्द, आमाको स्नेह नै बोक्सी ! हजूर बोक्सी ….’’ डाक्टर कागज कोरेर गए ।

चोसे राँडलाई अँगालो मारेर सीमन्तिनी बज्यै रोइन्, एकछिन्सम्म ! मोहर, चोली मागी दिइन् ।

त्यसपछि मधुले उसलाई मोटरमा हालेर रानीपोखरीको डीलैमा पुर्याइदिए ।

आज तीन महीनापछि डिल्लीबजारको हरियो झ्यालमा कुन्तलालाई झलक्क देख्नुभयो भने चिन्नुहुने छैन ।

बेसारबाट उनी गुलाफ छन् । लतामंगेशलाई गलामा राख्छिन् र सुरैयाको नाट्यकदम एकान्तमा चाल्दछिन् ।

किन ?

तपाईँ बिहान ५ बजेदेखि ७ बजे टुँडिखेल डुल्न जानुहोस् । मधु र कुन्तलासँग सधैँ भेट हुनेछ । नपत्याए भेटेरै सोध्नुहोस्, यो साँचो कुरो हो कि होइन ।

प्रतिक्रिया
Loading...