अनन्त यात्राको परिणति के हुने हो; उसलाई थाहा छैन । सोचेको पनि छैन त नभनौँ, उसका सोचाइका परिसीमाहरू उसको मनस्थितिभित्रको वातावरणसँगमात्र सम्बन्धित भएकाले त्यसको तादात्म्य वा औचित्य आजको यो समयमा सम्भव हुन सक्ला र ? तर, ऊ विश्वस्त छ— पूरै ढुक्क । जिन्दगी भोग्ने क्रममा, व्याख्या र विश्लेषण गर्ने क्रममा, उपादेयता र निरर्थकताको जटिल परिभाषामा परिभाषित गर्ने क्रममा, उपेक्षा र प्रेमको सन्दर्भको क्रममा उसको आफ्नै खाले दृष्टिकोण रहिआएको छ; उसको आफ्नै खाले सङ्कुचन छ त्यसमा । ऊ एउटा सानो क्षितिजको घेराबाट सजिलै बाहिरिन सकेन । जतिसुकै ठूलाठूला कुरा सोचे पनि, मन जतिसुकै उदार बनाए पनि ऊ असफल रह्यो आफ्नो निश्चितिबाट । परिणामतः आजको यो यात्रा प्रारम्भ गर्यो उसले— एउटा उत्कट अभिलाषा वा एउटा अभीष्ट मनमा साँचेर । गतिहीनता साँचेर बाँचिरहेको जिन्दगीलाई गतिशील पार्दै, एउटा पुरानो, धेरै पुरानो घाउको खाटालाई उप्काएर ताजा र आलो पार्दै, त्यसमा मलम लगाएर पूरै बिसेक पार्ने विचारमा डुबेर ऊ बढिरहेछ निरन्तर । तर, के निरन्तरताभित्र पनि गतिरोध भएको अनुभव हुन्छ उसलाई ? एउटा आवेगमा घर छाडेर ऊ निकै टाढा आइसकेको छ । उसलाई स्वास्नीको पटक्कै माया छैन । त्यस्ती शङ्कालु स्वास्नीलाई पनि उसले यति लामो अवधिसम्म काखी च्यापिराख्यो ! उसको मन जित्न निकै उपाय गर्यो । चरित्रवान् बन्ने प्रयास र अभिनय दुवै गर्यो ! छोराछोरीले घर भरिइसक्ता पनि उसले बाहिरफेर कतै आँखा नलगाउँदा–नलगाउँदै पनि उसकी स्वास्नीको हेराइमा परिवर्तन आउनै सकेन । ऊ के गरोस् ! टाउकै काटेर ओछ्याए पनि उसकी स्वास्नी रिझिन्न; निशङ्क हुन सक्दिन— उसलाई यो पूर्ण विश्वास छ ।

उसले सुनेको छ— शशीले बिहे गरेकी छैन फेरि । शशीको बिहे धेरै अघि भएको थियो । उच्च–आकाङ्क्षा राख्ने शशीले त्यस केटोसँग एक वर्ष नपुग्दै सम्बन्ध–विच्छेद गरेकी खबर पनि उसले सुनेको हो । त्यसपछि शशी के गर्दै छे; उसलाई थाहा छैन । उसलाई प्रेम गरेकी हो । अझै पनि गर्छे, जसरी कि ऊ गर्छ । यही मान्छ ऊ ।

कति रात उसले स्वास्नीको समीपतामा पनि छटपटीमा काटेको छ । दिनभरिको कामको थकाइले चूर भएर मस्तसित निदाएकी स्वास्नीको श्वासले ऊ व्याकुल बनेको छ । जूनको मधुर र शीतल रश्मिमा जलेको छ । मुखले केही बोल्न नहुने परिस्थितिमा उसको मनभित्र ज्वालामुखी फुटिरहेको हुन्थ्यो । छाती नै भक्कानिएर आउँथ्यो । तर, त्यो भक्कानोभित्र पनि कति हँसिलो गरी उदाउँथ्यो निठुरीको अनुहार ! निठुरी ? अहँ हैन !

भावनाका उत्ताल तरङ्गहरू गतिवान् छन्— उसको यात्राजस्तै ।

श्रीराम पाण्डे

“तेरो मुख हेर्न म फर्केर पनि यस घरमा आउने छैन बुझिस् !” घर छाड्ने बेलामा स्वास्नीलाई यही भनेको थियो उसले । उसकी स्वास्नी पनि कम थिइन । भनेकी थिई, “जाऊ, तिमीजस्ता नामर्द लोग्ने हुनुभन्दा त नभएकै बेस ! स्वास्नी, छोराछोरीलाई बोझ ठानेर भाग्छौ भने भाग । अझैसम्म मेरा पाखुरा बलिया छन्; तिमी नभए नि गरेर खान सक्ने आँट छ । केही वर्ष त हो, त्यसपछि त मेरो छोरो पनि सामथ्र्यवान् हुनेछ ।”

“अझसम्म सुन्दरता र यौवन पनि त बाँकी छन् नि !” कटु व्यङ्ग्य गरेको थियो उसले ।

उसको भनाइ भुइँमा झर्न नपाउँदै रिसाएकी घाइते बघिनीझैँ उसले झम्टेकी थिई । साँच्चै रणचण्डी बनेर थर्थरी काम्दै, लामालामा निश्वास फाल्दै ऊ चिच्याएकी थिई, “तँ वेश्याहरूको फरियामुनि घुस्रिस् भनेर मलाई त्यस्तो नठान् बुझिस् ! त्यस्तो गरी सुख–सयलको जिन्दगी बिताउनुभन्दा मृत्यु उत्तम हुन्छ ! यत्रो वर्ष सँगै बसेर पनि मलाई चिन्न सकिनस् ? धिक्कार छ तँजस्तो लोग्नेलाई !” हिक्का र आँसु एकै चोटि छुटेका थिए उसकी स्वास्नीका । उसका निरीह छोराछोरीहरू अवाक्, स्पन्दनहीन बनेका थिए ।

अनि, बाहिरिएको थियो ऊ— घरपरिवार त्यागेर ।

एउटा सानो घर । खरको छानो, काठका भित्ताहरू माटाले लिपेर राम्रो पारिएको । सधैँ परिश्रमी र लगनशील उसकी स्वास्नी । स–साना पुतलीजस्ता उसका छोराछोरी । सुन्दर, स्वच्छ र पवित्र पुष्पवाटिकाझैँ उसको शान्त घर । तर, उसको मनस्थिति सधैँ अशान्त, उसको मन सधैँ अतृप्त । उसको मन प्रेमको भोको तर कसको ? र, कस्तो प्रेम ? देखेजति सबै केटीमान्छेलाई प्रेम गर्नुपर्ने, सामीप्य खोज्ने उसको अनन्त प्रेम–भोक ? तर, अचम्म ! वासनाविहीन ? यो शारीरिक आशक्ति थिएन भने के थियो त ? उत्तर ऊ आफैँसित थिएन । तर, त्यही प्रेम–भोकले खप्नुपरेका एक–दुई सामाजिक अपमान अनि गुमाउँदै गएको सामाजिक मूल्य र मान्यता ।

हुन त यी यस्ता बाह्यपक्ष हुन्, जसले उसको मनलाई भावावेगमा दुःखी बनाए पनि परिवर्तन भने गर्न सकेनन् । ऊ बदलिन सकेन र उदारप्रेमी बनिरह्यो ।

‘नारी–पुरुष दुवैको अधिकार समान छ । सामाजिक दायित्व उत्तिकै छ । हाम्रो यो समाजले नारीलाई दिनुपर्ने जति सम्मान दिन सकेको छैन । अन्यायपूर्वक रूढिग्रस्त सामाजिक बन्धनले बाँधेर राखेको छ । यो पुरुषवर्गको हैकमका विरुद्ध नारीहरू उठ्नुपर्छ । विद्रोही बन्नुपर्छ …’ इत्यादि सोचाइ राख्थ्यो ऊ । प्रायः गाउँको चियापसलमा उसका कुरा सुनेर एक–दुई जनाले उसको विद्वताको प्रशंसा पनि गर्थे । तर, ऊ अँध्यारोमा चम्किने जूनकीरीजति महत्त्वको पनि बन्न सकेन । उसको त्यो सौम्य मुखमुद्राभित्र उसकी स्वास्नी सदैव पिल्सिइरही ।

प्रेम र वासनामा फरक नदेख्ने उसले सायद वासनालाई नै प्रेम ठानेको थियो । यही दृष्टिदोषले गर्दा नै हुन सक्छ, ऊ अपरिवर्तित रह्यो । सबै स्वास्नीमान्छेलाई एकै लहरमा राखेर प्रेमको आडम्बर गरिरह्यो उसले ।

उसलाई थाहा छ— ‘उसकी स्वास्नी उसको सक्कली र एकलौटी माया पाउन लालायित रहन्छे । आफ्नो लोग्नेमाथिको एकाधिकार कायम राख्नकै निम्ति ऊ लोग्नेसित झगडा गर्छे । जबजब उसको मनमा शङ्काको छाल मडारिन्छ, तबतब ऊ लोग्नेलाई नियन्त्रण गर्न खोज्छे । परन्तु ऊ ठान्छ— उसको पनि आफ्नो छुट्टै अस्तित्व छ । त्यसैले स्वास्नीको नियन्त्रणभित्र खुम्चिन चाहँदैन । आखिर उसकी स्वास्नीले यो कुरा बुझ्न किन सकिन ? बुझाइ त दोहोरै हुनुपर्ने !’

आफ्नै सोचाइमा झस्किन्छ ऊ । उसले पनि त स्वास्नीको मन बुझ्न सकेन सायद !

“सामाजिक मान–मर्यादामा गिरावट आएको थाहा छ तपाईंलाई ? तपाईंको इज्जत कस्तो थियो, के भयो, थाहा छ ? तपाईंकी स्वास्नी हुनुको नाताले मैले तपाईंमाथिको यो सामाजिक अपमानका फिलुङ्गा पचाउनुपरिरहेछ । मेरो अस्तित्व पनि नामेटजस्तै भइसकेको छ यो समाजमा । कम्तीमा भोलिको कुरा त सोच्नुस् ! बालबच्चाको भविष्य त सोच्नुस् ! बाबुकै कारण यी सन्तानले आफ्नो स्वतन्त्र अस्तित्व कायम राखेर, स्वाभिमानी बनेर यही समाजमा बस्न नसक्ने स्थितिको सिर्जना भयो भने त्यसका लागि के यिनीहरूले तपाईंलाई माफ गर्लान् ?” एकछिन प्रतिक्रिया थाहा पाउन चुप लागेकी उसले पुनः बिस्तारै सम्झाउने पारामा भनेकी थिई, “हेर्नुस्, आजसम्म जे भयो; त्यो त्यति भयानक छैन । तर, तपाईं हिँडिरहनुभएको बाटो भयानक छ । पतनको गहिरो खाल्टोतिरको बाटो हो त्यो । तपाईंजस्तो सुशिक्षित मान्छेले त्यसो गर्नु र गर्दै रहनु के उचित हो ?”

“हैन मैले गरेकै के छु र ?” सारै सज्जन र चोखो बन्न खोजेको थियो ऊ ।

“यी अरूलाई भन्ने कुरा हुन् । म तपाईंकी स्वास्नी हुँ । पन्ध्र वर्ष तपाईंसित बिताइसकेँ । मलाई छल्न खोज्नु आफैँ छलिनु हो, होइन र ?”

ऊ चुपचाप थियो । ऊसित स्वास्नीलाई दिने जबाफ थिएन । त्यसैले “मलाई यस्ता फाल्तु कुरा सुन्ने फुर्सत छैन” भन्दै बाहिरिएको थियो फटाफट ।
ऊ सोच्दै जान्छ— आजसम्म स्वास्नीको कुनै नराम्रो कुराको प्रमाण फेला पार्न सकेको छैन उसले । तर पनि विगत दश वर्षदेखि स्वास्नीलाई चरित्रहीनताको आरोप लगाउँदै आइरहेछ ऊ ।

‘साँच्चै बढ्तै भनिएछ क्यारे !’ उसको मन एकतमासको भएर आउँछ । ऊभित्रको उथलपुथलले उसलाई शान्तिको सास फेर्न दिँदैन । जेसुकै होस् भनेर ऊ शान्ति सिर्जन चाहन्छ तर मनको अशान्ति हट्दैन । घरीघरी ऊ अतीतमा नै पुग्छ ।

सधैँको झगडा, शङ्का उपशङ्का, आपसी मनमुटाब यी सारा कुराभन्दा त उसले गरेको यो निर्णय नै बेस छ— ‘घर छोड्यो, टन्टै खलास ! हेरौँ न कसरी निर्वाह गर्दिरहिछे त्यसले !’ अति रोमाञ्चित हुन्छ ऊ ।

‘ढिलै भए पनि त्यो दुःखद पक्षको समाप्ति भयो । अब एउटा नयाँ जिन्दगी बाँचिन्छ, जहाँ सुन्दर सपनाजस्तै वर्तमान हुनेछ । मेरा स्वास्नी, छोराछोरी छन् भन्ने वास्तविकताबाट टाढा भएर बाँच्न सारै मजा हुन्छ । जे होस्, एउटा असामञ्जस्यपूर्ण अध्यायको पटाक्षेप भयो ।’

ऊ शान्तिपूर्वक निदाउन चाहन्छ ।

‘शशीसित भेट नभएको पनि पाँच वर्ष बितिसकेछ । यो पाँच वर्षको अन्तरालमा के–के भइसक्यो कुन्नि ! शशी कस्ती भई होली ? हाम्रोसँगै बाँच्ने र मर्ने प्रतिज्ञा ! ऊ कति खुसी हुन्छे होली मैले सधैँका लागि उसलाई अपनाउन आएको भन्दा ! उसको सल्लाह पनि त त्यस्तै थियो नि पहिले । शशीको अन्तरहृदयमा परिवर्तन त पक्कै आएको छैन होला ! जस्तोसुकै परिवर्तन आए पनि मसित गरेका वाचाहरू कसरी बिर्सन सक्थी र ऊ ! अरू कसैसित बिहा गर्दिनँ भन्थी तर बाआमाको करले बिहा गरी । त्यसैले सम्बन्ध–विच्छेद गरी । उसको मनमा यदि कसैको लागि स्थान छ भने त्यो म नै हुँ, यो त ठोकुवा नै गर्न सकिन्छ ।’

लामो निश्वास अचानक आउँछ उसको अन्तरबाट । झलक्क घर सम्झिन्छ ।

‘समाज पनि अन्धो नै हो, पवित्र प्रेममा बाधा हाल्नमात्रै खोज्ने ! दुई मनको मिलन किन सहन सक्दैन यो समाज ? सामाजिक प्रतिबन्ध नभएको भए मेरो र शशीको बीचमा यति ठूलो पर्खाल ठडिने नै थिएन । अब त त्यस्तो छेकबार केही छैन । समाजले भाँजो हाल्नुपर्ने प्रश्नै छैन । म पनि घरबाट फुक्का, शशी पनि फुक्का ! दुवै उन्मुक्त !!’ सन्तोष लाग्छ उसलाई ।

नाइटबस काठमाडौँ बसपार्कमा रोकिएपछि ऊ नयाँ उत्साह र स्फूर्तिले बसबाट ओर्लिन्छ । बसपार्कमा मेला लागेजस्तै भीड छ । यात्रीहरू धमाधम आउजाउ गरिरहेछन् । अहिलेसम्म नसोचेको समस्या उसको अगाडि तेर्सियो— कता जाने ? शशी कहाँ बस्छे ? कसरी भेट्ने होला ? निर्णयको निम्ति नै ऊ एउटा सानो चिया पसलभित्र छिर्छ । चिया अर्डर गरेर कुनाको खाली बेन्चमा गएर बस्छ । चिया आइपुग्छ । चियाको घुट्को निल्दासमेत उसलाई चियाको स्वाद थाहा हुँदैन । उसलाई कसले मद्दत गर्ला ? ऊ त्यस्तो सम्भावनाको खोजीमा दिमाग लडाउँछ ।

‘रूपा !’ ऊ झ्वाट्ट सम्झिन्छ । उसको हातमा कति बेरदेखि चियाको रित्तो गिलास नाचिरहेको रहेछ, उसलाई होसै भएनछ । हत्तपत्त गिलास टेबुलमा राखेर पैसा तिरी ऊ बाहिरिन्छ । रूपा बानेश्वरमा पसल चलाएर बस्छे भन्ने थाहा छ उसलाई । रूपालाई भेटेपछि शशी भेटिन्छे ! बडो ढुक्कसित ऊ सडकमा पुग्छ । ट्याक्सी चढेर बानेश्वरतिर लाग्छ ।

नयाँ बानेश्वरबाट पुरानो बानेश्वर जाने बाटामा धेरै चोटि ओहोरदोहोर गरेपछि मात्रै रूपाको पसल फेला पर्छ । सामान्य औपचारिक कुराकानी र रूपाको माइतीतिरको सन्चो–बिसन्चो बताएपछि ऊ सोध्छ, “रूपा ! शशी कहाँ छे ?”

“शशी ? किन र ?” सामान्य विस्मयका साथ रूपाको स्वर फुट्छ । आजअघि कहिल्यै पनि उसले शशीलाई खोजेको थाहा पाएकी थिइन रूपाले । करिब दुई वर्ष एउटै अफिसमा काम गर्दासमेत उसले शशीलाई खोजेको थिएन । तर, आज अचानक किन चाहियो शशीको ठेगाना ?

रूपाले परिस्थिति बुझ्ने प्रयास गरी ।

“म शशीलाई भेट्न चाहन्छु । तिमीलाई त थाहा छँदै छ रूपा, कि म शशीलाई प्रेम गर्छु । त्यसैले पनि आज भेट्नै आएको । केही खास कुरा पनि छ ।”

“कस्तो खास कुरा ? फेरि पुरानो कुरालाई नवीकरण गर्ने कि क्या हो ?” ऊ किञ्चित हाँस्ने प्रयास गर्छे ।

“त्यस्तै सम्झ ।”

“तर, किन ?”

उसले वास्तविकता नबताई धरै पाएन । त्यो सुनेपछि रूपाले ‘उसको निर्णय बेठीक हो’ भन्दै घर फर्कने सल्लाह दिई । ऊ मानेन । उसले ज्यादै ढिपी गरेकाले रूपाले उसलाई शशीको कोठामा लगिदिई ।

शशीको कोठाअगाडि पुग्दा उसको मन ढक्क फुल्छ । शशीसँगको हुनै लागेको साक्षात्कारअघि उसलाई एउटा अपराधबोध हुन्छ; हीनताभास हुन्छ । रूपा भित्र पस्छे तर ऊ ढोकाबाहिरै छेलिएर बस्छ ।

“बाहिर को आएको छ; थाहा छ शशी ? ” सुन्छ ऊ ।

“को आएको छ ?” निर्लिप्त स्वर छ शशीको ।

“हेर न ! देखेपछि अचम्ममा पछ्र्यौ !” रूपाको बोली सुन्छ ऊ ।

“जो आएको भए पनि भित्रै बोलाऊ ।” उत्सुकताशून्य छ शशीको आवाज ।

रूपाको बोलाहटपछि संयमित भएर गह्रौँ पाइलाले ऊ कोठाभित्र छिर्छ । उसको उपस्थितिले शशीलाई अप्ठ्यारो पर्छ भनेझैँ ऊ नतमस्तक नै रहन चाहन्छ ।

“बस्नुस् ।” शशीको स्वर ऊप्रति लक्षित छ । ऊ बस्छ । बलपूर्वक आफ्ना आँखा शशीमा अडाउँछ । शशी अलि पातली भइछे ।

“किन आउनुभो ?” सोझो प्रश्न गर्छे शशी । ऊ अलमलिन्छ । उसको उपस्थितिले शशीलाई हर्षित पार्नुपर्ने; तर ऊ त्यसको लक्षणसम्म पनि देख्दैन ।

मानौँ— उसको आगमन सामान्य दैनिक क्रियाकलापको अङ्गझैँ छ शशीलाई ।

यस अवधिमा पसलमा बस्नुपर्ने बाध्यता देखाएर रूपा हिँडिदिन्छे ।

“म यहाँ आउन पनि कुनै कारण नै हुनुपर्छ र ? कुनै काम नै पर्नुपर्छ र ? म तिमीलाई भेट्न आएको हुँ,” गम्भीर हुन्छ ऊ ।

“ए, राम्रो भो, आउनुभो । सम्झना त रहेछ नै, यो थाहा पाएर खुसी लाग्यो ।”

तर, शशीको आँखामा पीडाको लहर दौडेको ऊ प्रस्टै देख्छ ।

“घरतिर सबैलाई आरामै छ ? तपाईंका बालबच्चालाई कस्तो छ ? अनि, जीवनसाथीलाई ?”

“जीवनसाथी !” उपेक्षापूर्ण आवाज निकाल्छ ऊ । त्यसपछि पुनः मौनता छाउँछ ।

“प्रेम र विश्वासविनाको जीवन रुखो हुँदोरहेछ शशी ! मैले चाहेजस्तै ऊ कहिले पनि बन्न सकिन । सधैँभरि घृणा र व्यङ्ग्य पचाएर बाँच्न नसकिँदो रहेछ । मेरो जीवन उसको सोचाइको साँघुरो घेरामा सीमित रहन सकेन शशी । यो सीमितताको पर्खाल भत्काउनु नै श्रेयष्कर ठानेर भत्काइदिएँ । म अब पूर्ण स्वतन्त्र छु, पूर्ण उन्मुक्त ! त्यसैले म तिमीलाई भेट्न आएको ।”

“मतलब ?” शशी गम्भीर बनी ।

“मतलब मैले घरपरिवार त्यागिदिएँ । मैले उसलाई छाडिदिएँ । म अब तिमीलाई अपनाउन चाहन्छु । हामी दुवै एउटै छानामुनि जीवनको सहयात्री भएर बाँचौँ भन्ने म चाहन्छु ।”

“राम्रो ! ढिलै भए पनि तपाईँले यो निर्णय गर्न सक्नुभयो । अँ, भन्नुस्— चिया पकाऊँ कि खाजा खाने ?”

“चिया त भर्खरै खाएर आएको हो । तैपनि, तिम्रो हातको स्वादिलो चिया नै खाऊँ न त !”

चुपचाप चिया पकाउँछे शशी । बीचबीचमा ऊमात्र बोलिरहन्छ । चिया तयार पारेर उसको अघिल्तिर राखिदिन्छे शशी । एक कप आफूले पनि लिन्छे ।

“अचेल तिमी के गछ्र्यौ ? तिमीले पनि सम्बन्धविच्छेद गरेको कुरा सुनेको थेँ; साँच्चै हो नि ?”

“हो, एक पटक बदनाम भइसकेकी मैले लोग्नेको उपेक्षा नै उपहार सम्झेर जीवनयापन गर्नुभन्दा उन्मुक्त भएर बाँच्नु बेस ठानेँ । त्यसैले त्यसबाट छुट्कारा पाउन मैले त्यसो गरेँ । अनि, तपाईंले किन त्यत्रो निर्णय गर्नुभयो त ?”

“मेरो पनि त्यस्तै कारण हो । अब किन एक्लाएक्लै बाँच्नु ! एक भएर बाँचौँ, कसो ?”

उसको प्रस्तावको सोझो जबाफ दिइन शशीले । ऊ निकै गम्भीर भई । शून्य परिवेशमा चिया पिएको आवाजमात्र छिनछिनमा गुञ्जिरह्यो ।

“प्रस्ताव नराम्रो त होइन तैपनि झ्वाट्ट निर्णय लिनु के जरुरी छ र ? घरै छाडेर आउनुभएको रहेछ । केही दिन बस्नुस्, निर्णय गरौँला नि !”

बिहान बित्यो, दिन बित्यो र रात पर्यो । शशी दिनभर कतै गइन । उसलाई ‘आराम गर्नू’ भनेर ऊ दिनभरि नै कुनै किताबमा डुबिरही । ऊ पनि कतै गएन । शशीले खाना पकाई । दुवैले सँगै खाए । पलङ उसका लागि छाडिदिएर शशी भुइँमा ओछ्यान लगाएर सुती । रात छटछटीमा नै बित्यो उसको तर शशी मस्तसित निदाई ।

भोलिपल्ट खाना खाइसकेपछि शशीले भनी, “प्रेम गर्नु मानवीय गुण हो । मैले गरेँ; तपाईंले पनि गर्नुभयो । तर, हाम्रो प्रेम वास्तवमा प्रेम बन्न सकेन । मलाई लाग्छ— तपाईंको प्रेममा वास्तविकता थिएन; अहिले पनि छैन । फेरि प्रेमलाई मैले अमर सम्झनाको रूपमा आफ्नो हृदयमा तह लगाएर राखेकी छु । त्यो वासनाको आगोमा नबलोस् भनेर म सदैव सतर्क छु । तर, तपाईं प्रेमलाई वासनाको श्रेणीमा राखेर हेर्नुहुन्छ । आत्मीय प्रेम सबैलाई गरिँदैन । कोही आफ्नो भइसकेपछि त त्यो झन् एउटैमा सीमित भएर बस्छ । मेरो जीवनको आफ्नै गति छ— म स्वच्छन्द छु, फुक्का छु । यसरी फुक्का भएर बाँच्ने बानी परिसकेको जीवनलाई म फेरि कुनै बन्धन चाहन्नँ । प्रेम सबैसित गर्नुपर्छ तर ती सबैका आ–आफ्ना सीमा र परिभाषा हुन्छन्; तिनमा भिन्नता हुन्छन्— पहिल्याउन सक्नुपर्छ । राम्रा जति सबैलाई आफ्नो बनाउन पाए हुन्थ्यो भनेर गरिने प्रेम, प्रेम नभएर आशक्ति हो; वासनाको भद्र अभिव्यक्ति हो । सबैलाई आफ्नो बनाउन सकिँदैन, उत्तिकै प्रेम दिन पनि सकिँदैन । त्यो धृष्टता गर्नु पनि हुँदैन । मैले मानेँ— तपाईंले घर–परिवार छाड्नुभयो । त्यो तपाईंको आफ्नो घर हो । पत्नी तपाईंकी दुःखसुखकी साथी हुन् । उनी तपाईँसँगै हाँस्न र रुन चाहने, तपाईँसँगै बाँच्न र मर्न चाहने तपाईंकी जीवनसाथी हुन् । उनीसित तपाईंले आफ्नो जीवनका धेरै हिउँद, वर्षा बिताइसक्नुभएको छ । निकै सुखदुःख साटासाट गरिसक्नुभएको छ । ती छोराछोरी तपाईंका आफ्ना हुन् । तिनीहरूको भविष्यप्रतिको उत्तरदायित्व तपाईंमा छ । त्यसकारण यस अवस्थामा तपाईंले आफ्नो जिम्मेवारीबाट पन्छिनु कदापि उचित हुँदैन । आपसी विश्वासले मिलेर बाँच्ने वातावरणको सिर्जना गर्छ भने शङ्काले सुन्दर संसार नै नष्ट पार्छ । शङ्का र अविश्वासको कारण नै तपाईंहरूबीचमा कटुता आएको हुनुपर्छ । संवाद र सहमतिबाट त्यसको अन्त्य भई परिवारमा सौहार्द्रपूर्ण वातावरण फेरि सिर्जना हुन सक्छ । एउटा सुन्दर परिवार ध्वस्त हुनबाट सजिलै जोगिनेछ । पहिले जे हुनु, भयो । अब म आफ्नो स्वार्थका लागि तपाईंको परिवार भताभुङ्ग पार्न चाहन्नँ । त्यसैले म तपाईँको प्रस्ताव स्विकार्न असमर्थ छु ।”

“शशी, तिमी के भन्दै छ्यौ ? मैले त घर छाडिसकेँ— सधैँका लागि !” ऊ साँच्चै भावावेशमा आउँछ । ऊभित्र आवेगका उत्ताल तरङ्ग उठ्छन् ।

“मैले बुझेँ । छाडेको घरमा फेरि जान पनि सकिन्छ । र, अर्को कुरा— तपाईं र मेरो बीचमा सधैँ विश्वास र प्रेमको वातावरण बनिरहन्छ भन्ने ठाउँ पनि म देख्तिनँ । फेरि तपाईंलाई मैले त्यस्तो लोग्नेमान्छेको रूपमा चिनेकी छु, जसले प्रेम र वासना एउटै ठान्छ । चौध–पन्ध्र वर्षसँगै बिताएकी स्वास्नीको माया लत्याएर अनि छोराछोरी जन्माएर तिनीहरूको भविष्य निर्माण गर्ने दायित्वबाट पन्छिन घर छाडेर भाग्ने व्यक्तिले मलाई साथ दिइरहन्छ भन्ने विश्वास मलाई छैन । अर्की अलि राम्री भेटिएपछि मलाई नछोड्ला ? यदि म पनि त्यसरी नै छाडिएँ भने समाजमा मेरो बचेखुचेको इज्जत पनि विलुप्त हुनेछ । म पनि एक पटक विवाह बन्धनमा बाँधिइसकेकी मान्छे हुँ । त्यतिमात्र नभएर आपसी मनमुटाव र अविश्वासले मलाई सम्बन्धविच्छेद गर्न बाध्य पारेको हो । जे भए तापनि म आफ्नो सम्बन्ध कायम राख्न चाहन्थेँ तर मैले मानसिक र शारीरिक ताडना सहनै सकिनँ । वैवाहिक जीवनको त्यो तिक्त अनुभूति सँगालेकी छु मैले । म फेरि त्यही भुमरीमा डुब्न चाहन्नँ । त्यसैले पनि म एक्लै बाँच्न चाहन्छु । म बन्धन होइन, मुक्ति चाहन्छु । यद्यपि, म तपाईँलाई माया गर्थेँ र अझै गर्छु । म तपाईँप्रतिको त्यो सद्भावलाई सम्मान गर्छु । त्यस नाताले मलाई अपनाएर अर्को गल्ती गर्नु ठीक होइन र आफ्नो सामाजिक मान–प्रतिष्ठामा अझ ग्रहण लगाउनुहुन्न भन्ने सल्लाह दिन्छु । तपाईं जसरी मलाई प्रेम समर्पण गर्न चाहनुहुन्छ, त्यसरी आफ्नी पत्नीलाई समर्पण गर्नुस्, तपाईंको जीवन फक्रनेछ ।”

“म घर फर्किन सक्दिनँ शशी । म आगाको भुङ्ग्रामा पिल्सिएर बाँच्न सक्दिनँ । प्लिज, कुरा बुझ्ने कोशिस गर ! मेरो प्रस्ताव अस्वीकार नगर ।” ऊ रुन्चे स्वर पार्छ ।

“तपाईं प्रेमको नाटक गरिरहनुभएको छ; म त्यो राम्ररी बुझ्छु । तपाईं आफूलाई स्वार्थी भनाउन चाहनुहुन्न भने घर फर्किनुस् । म त यहाँ एक्लै बाँच्न सक्छु, मलाई तपाईंको खाँचो छैन । तर, उता तपाईं नभए तपाईंको घर–परिवार तहसनहस हुन्छ । तामाका मुनाजस्ता छोराछोरीको भविष्य सङ्कटमा पर्छ । हुन सक्छ— तपाईंकी पत्नीको जिन्दगी समाप्त होस् ।” ठोस निर्णय सुनाई शशीले ।

“के यो तिम्रो अन्तिम निर्णय हो ?” अझै आस बटुलेर सोध्छ ऊ, “सोच शशी, यो हामी दुवैमाथिको अन्याय हुनेछ ।”

“म न्याय र अन्यायको परिभाषा जान्दिनँ । मलाई सोझो कुरामात्र थाहा छ । म तपाईंको प्रस्ताव स्विकारेर अरू कसैको जिन्दगीमा तुषारापात गर्न चाहन्नँ । आफ्नो स्वतन्त्र जीवनलाई फेरि बन्धनमा पार्न चाहन्नँ । त्यसैले मेरो यो निर्णय अन्तिम हो र यो अकाट्य छ ।”

ऊ तिलमिलायो । किंकर्तव्यविमूढ भयो । उसलाई त्यो कोठाले नै निलेझैँ आभास भयो । ऊ सारै विक्षिप्त भयो ।

“त्यसो भए म मर्छु, घर त फर्किन्नँ–फर्किन्नँ !” उसले पनि आफ्नो निर्णय सुनायो ।

उसको भनाइमा शशी खित्का छाडेर हाँसी र भनी, “आखिर अभिनयको यो अन्तिम अस्त्र पनि प्रहार गर्नुभयो हैन ? भयो महाशय ! यो प्रेम र उत्सर्गको अभिनय त्याग्नुस्, खुरुक्क घर फर्किनुस् !”

अपमानबोधले ऊ रन्थनियो । बसेको ठाउँबाट जुरुक्क उठ्यो । फटाफट कोठाबाट बाहिरियो र सडकमा आयो । सडकमा रात ओर्लिसकेको भए तापनि अँध्यारो थिएन । उसले मर्न चाह्यो । झलक्क घर सम्झ्यो । शशीलाई सम्झ्यो— एउटा तीव्र घृणाको लहर शरीरभरि दौडेको अनुभव भयो उसलाई । ‘घमण्डी !’ मनमनै बर्बरायो ऊ र निरर्थक सडकमा भौँतारिन लाग्यो । भौँतारिँदा–भौँतारिँदै आत्मग्लानिले झन् थकित हुँदै उपेक्षा र अपमानको तीखो सुइरोले रोपिएको अनुभव गर्दागर्दै ऊ कति बेला बसपार्क पुगिसकेछ, उसलाई थाहै भएन । शून्य मस्तिष्क र निर्लिप्त भावले यन्त्रवत् बसको सिटमा बसिसकेपछि मात्र उसले आफू घरतिर फर्किँदै गरेको चाल पायो ।

‘शाल्मलि’ मासिक, पूर्णाङ्क ८६, २०७८ मङ्सिर