साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कथा : आम्बा ब्लेको माम

‘लौ, आज आँपडाँडाको हिक्मत मुखियालाई मार्यो रे ।’ मानिसहरू कलाङकुलुङ गर्दै बुढीमान्छेको घरमाथिबाट तेर्सै कुद्यो । हेर्दा हेर्दै आर्मीहरू त्यो डाँडातिर भएको घरहरूतिर छ्यापछ्याप्ती भयो । बुढीमान्छेको झुपडीमा पनि आइपुगे ।

‘खै ! किन हो कुन्नि मर्ने काल पनि आउँदैन । आफ्नो उमेरको कोही बाँकी रहेनन् । म मुला चाहिँ किन बाँचिरहेकी होलि ?’ कागा होपको तेर्सो बाटोमा भएको कुवाबाट पानी ल्याएर घरमा बिसाउँदै आम्बा ब्लेको मामले आफूले आफैंलाई सराप्यो ।

चैतको खडरीले गर्दा हरियो चिज कही पनि देखिँदैन । भाँडा पखालेको पानी भेट्टाएको कारण करेसामा स्योदोलो (एकप्रकारको चिप्लेझार) र सिस्नु अलिअलि पौलाई रहेको छ । त्यसलाई पनि दिनहुँ टिपेका कारण राम्ररी पलाउन सकेको छैन । सिस्नुको पात खानको लागि हरियो लार्भाहरु उत्तिकै स्याउँस्याउँति झुत्ति खेलिरहेको छ । बल नभएपछि राम्ररी पौरख पोखाउन नसकेर बुढ्यौली शरीरले खोरियातिर रोपेको मकै आफ्नै शरीरजस्तो सिठ्ठिएर थोतेघोकाहरु मात्र फल्ने गर्छन् । कोदो उस्तै । फापार बाली त झन् रुख मात्रै जिङरिङ्ग जिङरिन्छ । गहत चाहिँ अलिक केही बिसेक फल्छ । यति नै अन्नले वर्षभरि पुर्याएर सास धान्नु पर्छ यी आम्बा ब्लेको मामले । ढिंडो नै खाउँ भने तीन महिना पनि राम्ररी नपुग्ने भएकोले स्योदोलो र सिस्नु टिपेर त्यसमा अलिअलि पीठो छर्केर बस्तुलाई दिने फाँडोजस्तो बनाएर खाने गर्छिन् सधैंभरि ।

bahulako diary small and inside post

‘थुक्क असत्ति चिहान ! मैनालीहरुलाई खानु पर्नेमा मलाई चाहिँ खान खोज्ने ?’ पानी ल्याएको थकान मेटेर स्योदोलो र सिस्नु टिप्न घुरेन (करेसाबारी)मा ओर्लदा बुढीमान्छे लडेर उत्तानो परेपछि सराप्न थाल्यो ।

‘ओई यस्सै हामीलाई सराप्छेस् आफै मर्न नसकेकी भोटेनी बुढी ।’ आँपडाँडाबाट तामाजोर जाँदै गरेका हिक्मत मैनालीको छोरा रमेश बुढीमान्छेले सरापेको सुनेर रिसले काँप्दै करायो । बाटो मुन्तिर फाल हालेर कुद्दै बुढी भएकी ठाउँमा आईपुग्यो । उत्तानो परिरहेकी बुढीमान्छेलाई उठाउनको लागि सहारा दिनु त जतासुकै जाओस् गाला फुट्ने गरी एक थप्पड हिर्कायो ।

यकिना अगाध

‘थुक्क मर्न नसकेकी बुढी ।’ त्यति गर्दा पनि उनको चित्त नबुझेर बुढीमान्छेको अनुहारभरि थुक थुकी राखेर ऊ तामाजोरतिर गयो । बुढीमान्छेले यसपछि न त सराप्नै सकिन् न त गुहार माग्न नै । त्यस्तै अवस्थामा छक्क परेर बसिरहिन् । बुढीमान्छे उठुन्जेलसम्ममा आधीजुवा बाँकी रहेको घाम अस्ताई सकेको थियो । गोधुलीसँगैको अँध्यारोले केही पनि देखिनन् । आँखा नदेखेकाले बुढीमान्छेले स्योदोलो र सिस्नु टिप्न सकिनन् । घरभित्र पुग्दा कुखुरा माउले चल्लाहरुलाई अँगेनाछेऊ लगेर पखेटाले छोपिराखेको थियो । कुखुरा माउ र चल्लाहरुलाई समातेर ढोकाछेऊमा डोकोले छोपिन् । बुढीमान्छे भोकै अँगेना छेऊमा भएको ओछ्यानमा घोप्टो परेर निदाउन खोजिन् ।

‘ओ दिदी ! ओ दिदी ! ढोका खोल्नुहोस् त ।’ कसैले बुढीमान्छेलाई बोलायो । बुढीले यसो कान थापेर सुनिन् ।

‘ओ दिदी ! ओ दिदी ! ढोका खोल्नुहोस् त ।’ उहिले आफू १५–१६ वर्षकी हुँदा भाइ काइलाले बोलाएको आवाजजस्तो लाग्यो । स्वर सुनेर बुढी डराईन् । ओहो मेरो बितिसकेको भाइ कहाँबाट आइपुग्यो त आज भन्ने लाग्यो तिनलाई । काल आयो भने मरिसकेका आफ्नो आफन्तहरुले बोलाउन आउँछ रे भन्ने कुरा मनममा खेल्न थाल्नसाथ शरीर लर्याक लुर्युक भयो । अघि दिउँसो बरु मैनालीको छोराले हिर्काउँदा पनि शरीर यस्तो भएको थिएन । एकोहोरो बोलाउन थालेका कारण जेसुकै होस् भनेर अलिकति हिम्म्त बटुलेर तिनले ढोका खोलिन् । ढोका खोल्नसाथ चारजना ठिटाहरु ग्वारारा भित्र पस्यो । अगुल्टो ठोसेर आगो बालेपछि उज्यालोमा सबैको अनुहार देखियो ।

‘भुत भनेको त होईन पो रहेछ ।’ बल्ल बुढीमान्छेको मुखबाट कुरा निस्क्यो ।

‘दिदी भनेको त बज्यै पो हुनुहुँदो रहेछ ।’ एकजना ठिटो बोल्यो, ‘लासो (नमस्ते) है माम । नरिसाउनु होला । राती सुत्नुभएको बेला दुःख दिएँ । हामी तपाईकै पाहुना हौं ।’ ती ठिटाहरुले टाउकोमा तारा भएको रातो फेटा बाँधेका थिए । काँधमा बन्दुक भिरेका थिए । सुकेका र हरियो पातहरुजस्तो टाटेपाङ्र्ग्रे लुगा लगाएका थिए । बुढीमान्छेले नमस्ते पनि फर्काउन पाइनन् । बुढीमान्छेको छेऊमा उनीहरुले चाउचाउ, बिस्कुट, चिउराको पोकापाकी राखिदिए । आफ्नो भन्ने आफन्त कोही पनि थिएनन् । भएका केही आफन्तहरु मधेश पुगिसकेको थियो । चिठिपत्र, आवत जावत सबै बन्द भइसकेको थियो यसकारण कि नजिककाहरु मरिसकेका थिए । कुन चाहिँ नाताको पाहुनाले आज भोकै सुत्न लागेको बेला यत्ति धेरै कोसेली ल्यायो बुढीले बुझ्न सकिनन् ।

उनीहरुको विवाह भएको दुई दिनमै तिनीलाई घरमै छाडिराखेर श्रीमान् चाहिँ गाउँका मान्छेहरुसँग मधेशको गोदारमा नुन लिनको लागि हिँड्यो । ससुरोबा पहिल्यै बितिसकेकाले घरमा उनी र सासुआमा मात्र थिए । पश्चिमी डाँडातिर एकजुवा घाम बाँकी रहेको बेला पन्ध्र दिनपछि नुनको भारी लिएर तिनकी श्रीमान् घर आइपुग्यो । सासुआमा र तिनी पनि बाख्रा र गाईगोरु लिएर आइपुगिन् ।

‘सय वर्ष बाँचुन् मेरी छोरा ।’ बुहारीचाहिँलाई हतार हतार बाख्रा, गाईगोरु बाँध्न लाएर दूधमा कोम्हेन्दो (टोटोलाको फूल) चोपलेर छोराको निधारमा टाँस्दै आषिश दिईन् आमाले । उनले आमाको खुट्टा समाएर ढोग्यो । मधेशमा नुन लिन जाँदा औलोले धेरैजसोलाई त्यतै निल्थ्यो । बाँचेर आइपुगेकाहरुलाई यसैगरी स्वागत गरेर आशीर्वाद दिने यो गाउँघरको चलन नै बनिसकेको थियो ।

‘लौ छोरा ! कति धेरै थाक्यौ होला ।’ आमाले बाडा (जाँड खाने एक भाँडा) भरी जाँड छोराको अगाडि राख्दै सोधिन्, ‘सँगै गएका साथीहरुलाई पनि त केही भएन होला नि ?’ आमाको जवाफ फर्काउन नपाउँदै हिक्मत मैनालीले डाक्नलाई पठाएको मान्छे आइपुग्यो ।

‘तिमीलाई हिक्मत मुखिया सा’बले तुरुन्त आउँनको लागि खबर पठाउनुभएको छ ।’ मुखियाको आदेश सुन्नसाथ आमाले आफ्नो अगाडि राखिदिएकी जाँड पनि पिउन नपाई जुरुक्क उठेर जानु पर्यो उनलाई । बोलाउन आएको मान्छे सँगसँगै ऊ घरको तेर्सै बाटो कुद्दै आपडाँडामा रहेको मुखियाको घरको प्राङ्गणमा पुग्यो । मुखियालाई सिधा आँखा जुधाएर हेर्न नपाइने हुनाले शीर निहुर्याएर उभिई रह्यो ।

‘त्यो नुन तैंले कसको अनुमति लिएर लिन गईस् ?’ मुखियाले कड्केर सोध्यो ।

‘धेरै समय भयो नुन खान नपाएको हजुर त्यसकारण….।’ पन्ध्र वर्षको लर्के केटोले मुखियाको अगाडि डराएर आफूले भन्न खोजेको वाक्यलाई राम्ररी पुरा गर्न पनि सकेनन् ।

‘साला ! हामीले त खान पाएका छैनौं तँलाई नुन ? मैले पोहोर साल नुन लिन जा भनेर अह्राउँदा बिरामी बनेर तीन महिना सुत्ने तै हैनस् ।’ रिसको फोहोराले मुखियाको नाकको प्वाल मात्र फुलेनन्, ओठसमेत फरफरायो । मुखियाको आदेश आउने बित्तिकै उनको हात खुट्टा बाँधेर आँगनमा निर्जीव मुढालाईझैं पल्टायो । रगत नछादुन्जेलसम्म कुटिरह्यो । रगत छाद्न थालेपछि हात खुट्टा खोलेर घर पठाइदियो । अघि यहाँ आउँदा हरिणको पाठोझैं बुरुक्क बुरुक्क उफ्रदैं आएको केटो अहिले कुटाईको पीडा थाम्न नसकी थरथर काँप्दै सकिनसकी घरसम्म शंखे किराझैं घिस्रिदै घिस्रिदै पुग्यो । एकसय वर्ष बाँचून् भनेर आमाले दिएकी आषिशले काम गरेन । पिटाइको पीडा सहन नसकेर राती नै बुढी भइसकेकी आमा, भखरै विावह गरेर मनको बह पनि राम्ररी पोख्न नपाएका श्रीमतीलाई छाडेर बुबा भेट्नको लागि हतार हतार मृत्युको बाटो पछ्यायो ।

‘आमाचाहिँ र श्रीमतीचाहिँ मिलेर मार्यो होला ।’ भोलिपल्ट हिक्मत मुखियाको अगुवाइमा पञ्चायत बस्यो ।

‘हो हो । हिजै मात्र सद्दे नुन लिएर आएको मान्छे आज कसरी मर्छ त नत्र ?’ गाउँका भद्रभलाद्मी भनाउँदाहरुले मुखियासँगै स्वर थपे । सासु र बुहारीलाई ज्यान मारेको केशमा समाएर मुखियाको घरमा पुर्याइयो । तिनीहरु दुईलाई आफ्नो केही कुरा राख्ने मौकासमेत दिइएन । मुखिया र गाउँका भद्रभलाद्मीले भनेका ठाउँमा जबरजस्त हात समाएर बहीदारले ल्याप्चे ठोकाए । यी सासु, बुहारीको तामाजोर खोलामा डेडसय मुरी धान फल्ने खेत थियो । माइतीघरकाहरु मधेशमा बसाइँ सर्दा सिम्ले खोलामा चेलीलाई भनेर छाडी राखेको पचास मुरीभन्दा बढी धान फल्ने खेत थियो । छोरा मारेको आरोपमा ल्याप्चे ठोकाएको दिनदेखि यो खेतहरु मुखियाको भयो । चिलाउने डाँडाको राम्रो बारी जति प्रधानको कागज लेख्ने बहीदारले जोत्न थाल्यो । यही पीरले सासुचाहिँ बितिन् । तिनको भागमा अहिले बसेकी यही बाख्रा गोठजस्तो झुपडी र खोरिया मात्र रह्यो ।

श्रीमान् बितेको सातौं वर्षमा लाग्दै थियो । त्यतिखेर भखरै तिनले तेइसौं वर्षको बसन्त पछ्याउँदै थिईन् । दाजु पाराङ (माइला) आइपुगे । उनले बहिनीलाई एक्लै यसरी राख्न मन नलागेको बह पोख्यो । आफ्नै कुटुम्बेली नाता पर्ने राङजाको थिङसँग विवाह गरिदिने सल्लाह गर्यो । ‘माईतीहरुको जो मर्जि ।’ यति मात्र भनिन् तिनले । बहिनीले स्वीकृतिको ढोका खोलि दिएझैं लागेर माईतीले कुटुम्बालाई निम्तो दियो ।

‘आम्बा ब्लेको बुहारीलाई राङजाको थिङले मागी विवाह गरेर लाने रे !’ हल्ला मुखियाको कानसम्मै पुग्यो । मुखियाले तुरुन्तै पन्चायत डाक्यो । पन्चायतमा सहभागी जनाउनेहरुले विधवा आईमाईको फेरि विवाह हुँदा गाउँकै ईज्जत जाने कुरा जोडका साथ राख्यो । उपस्थित सबैले एकमतमा यही कुरालाई सदर गर्यो । तिनको दाजु पाराङले हाम्रो तामाङ जातमा विधवा भन्ने हुँदैन भनेर प्रतिवाद गर्न खोज्दा मर्ने गरी चुटाई खायो । त्यस दिनदेखि आजसम्म तिनलाई कसैले फेरि विवाह गर्ने हिम्मत नै जुटाउन सकेनन् ।

‘हजुरआमा चाउचाउ खानुहोस् ।’ बुढीआमाको अगाडि पकाएको चाउचाउ राखिदियो टाउकोमा रातो फेटा बाँधेको एकजना पाहुनाले ।

‘आबुइ… के चिज हो नि यस्तो त ?’ खानलाई भनेर यसो चलाएर हेर्दै थिईन्, बुढीमान्छे झसक्क झस्किईन्, ‘गड्यौला नै गड्यौला पो पकाएछौं । तिमीहरु बनझाँक्री हौ ?’ बनझाँक्रीले गड्यौला खाने गर्छ रे भनेर बुबाले सानोमा भनेको कुरा सुनेकी बुढीमान्छे लकलक काँपिन् ।

‘होइन नि हजुरआमा । यो त चाउचाउ पो हो है ।’ तारा भएको टोपी लगाएको अर्को ठिटोले स्पष्टीकरण दियो । बुढीमान्छेले आजसम्म चाउचाउ नदेखेकाले तिनलाई गड्यौलाझैं सम्झी घिन लाग्यो । तिनले खान नसकेर फ्यालिन् ।

‘हजुरआमालाई खान पकाइदिऊँ ।’ टोपी र फेटा नलाएको अर्को ठिटोले साथीलाई अह्राएको शब्दमा भने ।

‘सामाल भनेको यो घरमा केही पनि छैन नानी हो । अघि दिउँसो स्योदोलो र सिस्नु टिपुँ भनेको त्यो पनि टिप्न सकिनँ… ।’ बुढीमान्छे पाहुनालाई खान खुवाउन नसकेकीमा सुर्ताउन थालिन् ।

ठिटाहरुले आफूहरुसँग चामल र मासुसमेत भएको बुढीमान्छेलाई सुनाए । कुरा गर्दागर्दै चामलकै भात र मासु पकाएर बुढीमान्छेलाई पस्किदिए । धेरै समय अघिदेखि मासुभात खान नपाएकी तिनलाई असाध्यै स्वादिष्ट भयो । तातो तातो झोल थपीथपी खान खाएकीले खाइसक्ने बित्तिकै निद्राले आँखामा झ्याप्पा झ्याप्पा छोप्यो । अरुबेला तिनलाई यस्तो निन्द्रा कहिल्यै लाग्दैन थियो । ‘होइन यी मान्छेहरु मान्छे कि बनझाँक्री ?’ जे जे खान मन लाग्यो त्यहीत्यही पुर्याई दिएको देखेर बुढीमान्छेको मनमा कुरा खेल्न थाल्यो । यिनीहरुसँग आफ्नो जीवनको दुखको डोरीको लामो गाँठो फुकाउन मन गर्दा गर्दै बुढीमान्छे अँगेना छेऊको ओछ्यानमा भुसुक्क निदाईन् ।

सुन्तला, मेवा, आँप, अम्बक, कटहर रुखभरिभरि लठरम्मै फलिरहेको रहेछ । रातो, पहेंलो, निलो फूलहरुले बगैंचाको सुन्दरता थपिरहेको थियो । कुहु कुहु आवाजमा कोइलीहरु गीत गाइरहेका थिए । स्यारस्यार स्युरस्युर आएको बतासले मगमगाउँदो बास्न बोकेर दौडिरहेको थियो । यो बगैंचामा पाइला टेक्ने बित्तिकै तिनको खुट्टा सिमलको भुवाझैं हलुङ्गो भएर आयो । लौ आफूले आफैंलाई पत्याउन सकिनन् । यसो बुरुक्क उफ्रेर मात्र के हेरिकी थिईन् पुतलीजस्तै वारीपारी उड्न पो थालिन् । ‘ए स्वर्ग भनेको त यही पो रहेछ त ।’ तिनले बल्ल थाहा पाईन् । रुवाजस्तै हलुका न हलुका जीउ लिएर तिनी डुल्दै गएकी थिईन् बायुपंखी घोडामा चढेर तिनकी श्रीमान् लिन आउँदै रहेछन् । ‘आउ बुढी यही घोडामा चढ ।’ बुढाले मायालुपूर्वक हातमा समाएर घोडामाथि चढाउन खोज्यो । खुट्टा उचालेर घोडामाथि मात्र के चढ्न खोजेकी थिईन् तिनले हिक्मत मुखियालाई देखिन् । डरलाग्दो देखिने एकजना मान्छेले खुकुरी बोकेर मुखिया बुढोलाई लखेट्दै रहेछ ।

‘छिनाउनुस् छिनाउनुस् यस हिक्मतेलाई यमराज महाराज ।’ तिनको बुढोचाहिँ खुसी भएर घोडामाथि नै नाच्न थाल्यो ।

‘लौन गुहार ! बचाइदिनु पर्यो बुहारी ।’ तिनको खुट्टामा मुखियाले टाउको जोत्यो र फरिया समाएर धरधरी आँसु झार्यो । त्यही समय यमराजले खुकुरी झिकेर उनको गर्धन सर्लक्कै छिनायो ।

‘पाप गर्ने मान्छेलाई यहाँ यसरी नै मार्ने गरिन्छ ।’ आफ्नो मुखभरि छिटेर लागेको रगत पुछ्दै यमराजले भन्यो । आबुई… यस्तो ठाउँमा त म बस्दिनँ भनेर श्रीमान्ले प्रेमपूर्वक समाइरहेको हातबाट आफ्नो हात फुत्त फुत्काउने बित्तिकै तिनी उत्तानिएर पछारिईन् । आइया कस्तो नराम्ररी पछारिएँ भनेर तिनी जुरुक्क उठ्न खोज्दा झसँग भएर ब्युँझिइन् ।

घाम लागेर झलमल्ल भइसकेछ । कुखुरा माउ र चल्लाहरु क्लकक्लक र चिपचिप गरेर कराइरहेका रहेछन् । यसो आफू सुतेको अँगेना छेउतिर हेर्छिन् त बिस्कुट, चिउरा, चाउचाउ मात्र होइन कि चामलको केही बोराहरुसमेत रहेछ । सपना हो कि विपना हो बुढीमान्छेले खुट्याउन नसकेर आँखा मिचिमिचि त्यही समान र आफ्नो वरीपरी हेरिन् । देखेको बस्तुहरु त साँच्चैकै रहेछ । हिजो टाउकोमा रातो फेटा बाँधेका पाहुनाहरु भने कोही पनि देखिनन् ।

‘न त यहाँ वरिपरि पसल होओस् । न त मैले पैसा दिएकी नै होओस् । यति धेरै सामान ल्याएर राखिदिने हिजोको रातो फेटा बाँध्नेहरु पक्कै बनझाँक्री नै रहेछन् ।’ बुढीमान्छेलाई डर डर लागेर आयो ।

‘स्वाँ…ह्वाराङराङ ।’ आकाश गर्जेर हुरी बतास आएझैं आवाज सुनिन् । के भए छ नि आज भनेर बुढीमान्छे हतार हतार बाहिर आँगनतिर निस्किन् । आँपडाँडामा तीनवटा हेलिकप्टर बस्न लागिरहेको रहेछ । तामाजोर, चिलाउने गाउँतिरका मान्छेहरू आँपडाँडातिर स्वाँस्वाँ र फ्याँफ्याँ गर्दै कुद्दै गरिरहेको देखिन् ।

‘लौ, आज आँपडाँडाको हिक्मत मुखियालाई मार्यो रे ।’ मानिसहरू कलाङकुलुङ गर्दै बुढीमान्छेको घरमाथिबाट तेर्सै कुद्यो । हेर्दा हेर्दै आर्मीहरू त्यो डाँडातिर भएको घरहरूतिर छ्यापछ्याप्ती भयो । बुढीमान्छेको झुपडीमा पनि आइपुगे ।

‘ओ बुढीमान्छे तिमीले माओवादी देख्यौ ?’ एकजना आर्मीले टर्टो स्वर निकालेर सोध्यो । बुढीमान्छेले आजसम्म माओवादी भन्ने शब्द सुनेकी नै थिईनन् ।

‘मामच्यु (तामाङ भाषामा पतेरो) अरे ?’ तर्सेकीझैं देखिने बुढीमान्छेले हडबडाउँदै उल्टै उनै आर्मीलाई सोधिन् ।

‘माओवादी भन्छु मामच्यु भन्छे ? बहुलाही बुढी रहेछे ।’ आर्मीको कमान्डरले यति भनिसक्दा नसक्दै आर्मीहरु बुढीमान्छेको घरभित्रै नपसी माओवादी खोज्न पारीपट्टिको पाखोतिर दौडियो ।

हिजो बेलुकी टाउकोमा रातो फेटा बाँधेका गड्यौला खाने बनझाँक्रीहरु, अघि ब्युँझनुभन्दा अगाडि सपनामा देखेको यमराज, यी आर्मीहरुले खोज्दै गरेका मामच्यु (माओवादी)… ? कसले मारे होलान् त ती पापी हिक्मते मुखियालाई ? आब्बा ब्लेको मामबुढीले केही पनि कुरा बुझ्न सकिनन् । साँच्चै सपना हो कि विपना हो घटनाहरु देखेर तिनी फेरि तन्द्रामा परिन् ।

‘हे हे… ’, कसैले आजसम्म हाँसेको नदेखेका यी बुढीमान्छे एउटा पनि दाँत नभएको खुल्ला गिंजा देखाएर धेरै वर्षपछि आम्बा ब्लेको वारीवारी भित्ता थर्केने गरी हाँसिन् ।

लेखक परिचय
यअ
यकिना अगाध
प्रतिक्रिया
Loading...