
मलाई त्यति धेरै ज्ञान छैन तर बाले भने अनुसार हाम्रा पुर्खा योगी गोरखनाथ हुन् रे । शाह वंशीय राजाहरूलाई पनि योगी गोरखनाथको कृपा भएकोले राजसंस्था रहँदासम्म राजसंस्थाको संरक्षकको हैसियतमा हाम्रो निकै इज्जत थियो । तर समयले कोल्टो फेरिसकेको थियो, पहिलेजस्तो हाम्रो इज्जत र शान थिएन । बा चौघेराको गोरखनाथ मठमा पुजारी हुनुहुन्थ्यो। मठाधिस हुने पालो आउनै लाग्दा बाको निधन भयो। म त्यो बेला एघार वर्षको थिएँ, दाइ तेह्र वर्षको। हामी गरिब भए पनि बा हुँदासम्म खान लाउन हामीलाई कुनै समस्या थिएन। बाले मठबाट ल्याएका दाल चामल तरकारी फलफुल र प्रसादले नै हाम्रो छाक टर्थ्यो, हमी रमाएर बसेका थियौं । बा हुँदासम्म हाम्रो हुँदाखाँदाको परिवारको खुशीमा ग्रहण लाग्ला भनेर मैले कहिले पनि सोचेको थिएन । तर धेरै जसो नसोचेकै कुरा हुन्छ । हाम्रो जीवनमा पनि त्यही भयो ।
मलाई आमाको मुहारको पनि सम्झना छैन । म जन्मेको एक वर्ष नपुग्दै बारीमा घाँस काट्न गएको बेला सर्पले टोकेर आमाको निधन भएको थियो रे । मैले फोटोमा मात्र उहाँलाई देखेको छु । तर बाले आफू बाँचुन्जेल हामीलाई आमाको कमी हुन दिनु भएन । आमाको निधन पछि बाले हाम्रै लागि भनेर दोश्रो विवाह गर्नु भएन । हाम्रो घरको सम्पूर्ण काम बाले नै गर्नुहुन्थ्यो। बिहानै चार बजे मठमा गएर पुजा गर्ने त्यसपछि घर आएर हामीलाई खाना खुवाएर स्कुल पठाउने अनि फेरि मठमा गएर दिनभरि त्यहीं बस्ने र साँझको आरती गरेर खानेकुरा र प्रसाद ल्याएर आउने नै बाको दिनचर्या थियो। बा हुँदासम्म हाम्रो घरमा कहिले पनि साँझको खाना पाकेन । हामी बाले मठबाट ल्याएको प्रसाद र फलफुल खाएर सुत्थ्यौं।
त्यो क्रम केही वर्ष चल्यो। धर्मकर्मको अतिरिक्त बा बगैंचाको अत्यन्त सौखिन हुनुहुन्थ्यो। उहाँले हाम्रो आँगनमा मौसम अनुसार विभिन्न फुलहरू लगाउनु भएको थियो । ती फुलहरू टिपेर उहाँ मठमा पूजा गर्न जानु हुन्थ्यो । वर्षामा तिउरी र हिउँदमा हजारीले हाम्रो आँगन रंगिएका हुन्थे। बाले लगाएका सबै फुलहरू मध्ये एउटा फुल अलि विशिष्ट थियो। त्यो मालतीको फुल थियो। एउटै मालतीको बोटमा तीनथरी फरक रंगका फुलहरू फुल्थे- रातो मालती, सेतो मालती र धेरै रंगहरू मिसिएको छिर्के मालती। अर्को अनौठो कुरा के थियो भने त्यो मालतीको फुल बर्षै भरि नै फुलिरहन्थ्यो। पुषको कठांग्रिने जाडो होस् वा बैशाखको उराठ लाग्दो खडेरी होस् उसले आफ्नो धर्म छोड्दैनथ्यो। त्यसैले पनि बाले अरू फुललाई भन्दा त्यो मालतीको बोटलाई अलि बढी ध्यान दिनुहुन्थ्यो। खडेरी परेको बेला बरु हामीलाई खानको लागि पानी हुदैनथ्यो तर उक्त मालतीको बोटले अवश्य पनि आफ्नो जरामा पानी पाउँथ्यो।

डा. राजु अधिकारी
बाको उक्त मालतीप्रतिको लगावले मलाई पनि छोएको थियो। म पनि उसको स्याहारमा आफूलाई लगाउँथे। बाले भन्नु हुन्थ्यो- “मेरो शेष पछि पनि यो फुलको बोटलाई बचाएर राख्नू। यसमा फुल्ने तीनथरी फुल हामी तीन जनाका प्रतिक हुन्। जबसम्म यो फुलको बोटमा फुल फुलिरहन्छ तबसम्म म यहीं वरपर घुमिरहेको हुनेछु, तिमीहरूलाई हेरिरहेको हुनेछु।”
तर भने जस्तो सबै कहाँ हुन्छ र ? हिउँदमा कटुवा खोलाको चिसो पानीमा नुहाएर पूजा गर्न जाँदा बूढो हुँदै गरेको उहाँको शरीरले थेग्न सकेन। रुघाखोकीबाट सुरु भएको उहाँको बिरामीपछि बिग्रिदै गएर न्यूमोनियामा परिणत हुँदा मृत्युले उहाँलाई हामीबाट चुँडेर लग्यो । आमाको राम्रो झल्कोसम्म पनि नभएको मैले एघार वर्षमै बाको निधन भोग्नु पर्यो।
केही महिना त बा को यादले निकै सतायो तर दाइ घरमा भएकोले मैले त्यति दुख भोग्नु परेन। बाले संसार छोड्नु भन्दा पहिले दाइलाई एउटा कुरा को वाचा गराउनु भएको थियो- “कान्छो पढ्नमा निकै तेज छ, जसरी भए पनि उसको पढाइलाई बिचमा नछुटाउनू। जस्तो दुख गरेर भए पनि उस्लाई पढाउनू।” मेरो भाग्यको ढोका खोल्ने बाको त्यो वचन दाइको भाग्यको ढोकाको लागि चाहिं कहेल खोल्न नसक्ने ताल्चा भैदियो। दाइ त्यो बेला छ कक्षामा पढ्थ्यो म चाहिं चार कक्षामा। बाको मृत्यु पछि घरको सम्पूर्ण काम र मेरो पढाइको जिम्मेवारी दाइको काँधमा आयो। बा को निधन पछि दाइले आफ्नो पढाइ छाड्न बाध्य भयो। हाम्रो पाँच कठ्ठा जमिनमा खेति गर्ने र परिवार पाल्ने बोझ आइपरेको अनुभूति भएपछि उसमा निकै नै चाडै जिम्मेवारी बोध भयो र उसले त्यसलाई कुनै आनाकानी नगरी बहन गर्यो र पुरा पनि गर्यो। तर पाँच कठ्ठा जमिनको आम्दानीले हामीलाई वर्ष भरि खान पुग्न सम्भव थिएन। त्यसमाथि मेरो पढाइ खर्चको भार पनि ऊमाथि थियो।
हाम्रो घर घोराही बजार नजिकै भएकोले ऊ हरेक दिन जसो बजारमा गएर मजदुरी गर्न जान्थ्यो। बाँच्नको लागि र मेरो पढाइ खर्चको लागि उसले ठेलामा गुडाएर तरकारी र फलफुल बेच्ने, गाउँतिर बरफ र पाउरोटी बेच्न डुलाउने देखि बसपार्कमा कुल्लीको काम समेत गर्न थाल्यो। दिनभरिको थकाइले चुर भए पनि जस्तो सुकै हालतमा पनि ऊ चार बजे टुपुक्क घर आइपुग्थ्यो किनभने त्यो भनेको म स्कुलबाट घर फर्कने समय थियो। कहिलेकाहीं ऊ घर घर आउन अलि ढीलो गर्दा म आँगनमा मालतीको बोट र त्यसमा फुलेका फुलहरूसँग खेलिरहेको हुन्थे। तर जति ढीलो गरे पनि मालतीका फुलहरू फक्रन थाल्ने समयमा ऊ टुप्लुक्क घर आइपुग्थ्यो। विदाको दिनमा म घर एक्लै हुन्थें, ऊ काम गर्न जान्थ्यो। मालती फक्रन थालेपछि म दाइ आउने भयो भनेर फुरुङ्ग हुन्थे। साउनको झरीमा हलो जोतेर फर्किदा होस् या पुसको जाडोमा मजदुरी गरेर फर्किदा होस् अथवा कार्तिकको सुन्दर मौसममा धान काटेर फर्किदा होस् कि जेठको गर्मीमा बरफ बेचेर फर्किदा होस्, मालती फुल्न लाग्दा ऊ जहिल्यै पनि जहाँबाट पनि चराहरू साँझमा आफ्नो गुड फर्केर आए जस्तै गरी टुप्लुक्क आइपुग्थ्यो।
त्यसरी नै केही वर्ष बित्यो। म पनि हलि ठूलो भएँ। उसलाई सघाउने भैसकेको भए पनि पढाइको बहानामा मैले उसलाई सघाउन आनाकानी गर्थें। उसले पनि मलाई कर गर्दैनथ्यो। आफूले काम नगर्नु मात्र थिएन अलि ठूलो हुँदै गएपछि मलाई आफ्ना साथीहरूको अगाडि उसलाई भेट्न अप्ठ्यारो लाग्न थाल्यो। कहिलेकाहीं बजारमा सिनेमा हेर्न जाँदा मेरो ऊसँग जम्का भेट हुन्थ्यो। ऊ कहिले ठेला गाडामा तरकारी राखेर डुलाइरहेको भेटिन्थ्यो भने कहिले भारी बोकेको। साथीहरूले कुल्लीको भाइ भन्लान भनेर त्यो बेला मेरो मुख लाजले रातो हुन्थ्यो। उसलाई नदेखे जस्तो गरेर म तर्केर हिंड्थे। उसले पनि मेरो अप्ठ्यारो महशुस गरेर मलाई बजारमा देखेपछि ऊ आफै बाटो काटेर जान्थ्यो र मलाई सजिलो बनाइदिन्थ्यो। तर उसले कहिले पनि त्यो कुरा मलाई भनेन। उसलाई त्यो बारेमा कुनै गुनासो पनि थिएन। साँझ म घर आउँदा साविक अनुसार नै ऊ घर आएको हुन्थ्यो। साँजको खाना पनि उसले नै पकाउँथ्यो। कुनै दिन मेरो मुड अलि “अफ’ भएको बुझ्यो भने मलाई खुशी बनाउन अर्को दिन उसले बजारबाट अलि सस्तो खालको कुखुराको मासु ल्याएर पकाएर राख्थ्यो र मेरो घर आउने प्रतिक्षा गरिरहेको हुन्थ्यो।
कहिलेकाहीँ हामीमा झगडा पनि हुन्थ्यो तर जहिले पनि उसले हार्नै पर्ने नियम थियो। म सधैं ठिक हुन्थें, ऊ सधैं गलल। उसले बालाई दिएको वाचाले उसलाई बाँधी राखेको थियो।
यस्तै गर्दै दिनहरू चल्दै गए, मेरो पढाइ राम्रै थियो, म जहिले पनि स्कुलमा पहिलो या दोश्रो हुन्थें। कहिलेकाहीँ मैले स्कुलबाट जेहेन्दार र गरिब छात्रको छात्रवृत्ति पनि पाउँथे। तर त्यो मेरो व्यक्तिगत पैसा हुन्थ्यो, त्यसमा दाइको कुनै हक हुँदैनथ्यो, उसले पनि कहिल्यै त्यसमा आशा पनि गरेनँ। एस एल सी पास गरे पछि म क्याम्पस पढ्न थालें। त्यापछि मेरो र उसको दुरी बिस्तारै बढ्दै जान थाल्यो। क्याम्पसमा मैले बस्नको लागि छात्राबास पाएँ। मेरो पढाइ राम्रो भएकोले शुल्क पनि मिनाह भयो तर पनि मेरो दैनिक खर्च उसले नै पुर्याउनु पर्थ्यो। सुरुसुरुमा शनिबार घर जाने गरेपनि पछि पछि म घर जान पनि छोडिसकेको थिए। उसले के गर्थ्यो, कहाँ बस्थ्यो, के खान्थ्यो, मेरो वास्ताको विषय पनि थिएन। आफू भेट्न जाँदा मलाई अप्ठ्यारो हुन्छ भन्ने बुझेर होला ऊ पनि मलाई छात्राबासमा भेट्न कहिल्यै जादैनथ्यो।
उसलाई बेवास्ता गर्न थाले पनि मालतीको बोटप्रतिको मेरो मोह भने हराएको थिएन । म कहिलेकाहीँ बाले भनेको बचन सम्झिन्थेँ र घर गएर उक्त मालतीको बोटलाई पानी दिन्थेँ, उसका वरिपरि लागेका झारहरू गोडेर फालिदिन्थेँ । उक्त बोटलाई स्याहार गर्दा मलाई बालाई स्याहार गरेरजस्तै लाग्थ्यो । उक्त बोटको स्पर्शमा मैले बाको स्पर्श महशुस गर्थें, ती फुलहरूको सुगन्धमा मैले बाको सुगन्ध महशुस गर्थें । पहिलेको जस्तो स्याहार सुसार नभएकोले उक्त मालतीको बोट पनि झ्यांगिन सकेको थिएन। हाँगाहरू सुक्न थालिसकेका थिए। फुलहरू पनि निकै कम फुक्थे र साना पनि भएका थिए। एक दिन मैले त्यो बोटमा छिर्किबिर्की फुल फुल्न छोडिसकेको थाहा पाएँ। त्यहाँ राता र सेता मात्रै फुलहरू थिए। स्याहार नपुगेर हो कि भनेर म कहिलेकाहिँ घर जाँदा मैले उसलाई निकै गोडमेल गरें, जरामा पानी हालें तर जति गर्दा पनि फेरी छिर्के फुल फुल्न सकेन। त्यसपछि मलाई ‘यी फुलहरू हामीहरूका प्रतिकहरू हुन्’ भन्ने बाको वचन साँचो लाग्न थाल्यो। बा भौतिक रूपमा नभएकोले छिर्केबिर्के फुलहरू फुल्न छोडेका हुन् कि भन्ने लाग्न थाल्यो। बाको निधन पछि नै ती छिर्केबिर्के फुलहरू फुल्न छोडिसकेका पो थिए कि, मैले याद नगरेको पो रहेछु कि जस्तो भान भयो। अन्धविश्वास भनूँ या बाको माया, मैले बाको उक्त बोलीलाई दिमागबाट फेरि निकाल्न सकेन र ती मालतीका फुलहरूलाई हाम्रो अस्तित्वसँग जोड्न थालेँ।
मैले अंग्रेजी विषय लिएर प्रमाणपत्र तह उत्तीर्ण गरे र स्नातक तहमा भर्ना भएँ। त्यतिबेलासम्म म पूर्ण रूपमा आफ्नै खुट्टामा उभिन सक्ने भैसकेको थिए। बिहान मैले स्कुलका विद्यार्थीहरूलाई ट्युसन पढ़ाउँथें, दिउसो स्नातक तहमा अध्ययन गर्थे र साँझमा फेरि रात्री स्कुलमा पढाउँथे। म दाइप्रतिको निर्भरताबाट बाहिर आइसकेको थिएँ। एक्लो जीवन बाँच्नको लागि मसँग मनग्गे पैसा फैसकेको थियो। ममा आफ्नो सफलता प्रति घमण्ड पनि जागेको थियो। मेरो विगत मसँग अलग भैसकेको थियो, मानौ कि मेरो ऊसँग कुनै सम्बन्ध छैन। आफू भन्दा भन्दा पढेलेखेको भनेर दाइ मसँग नजिकिन धकाउथ्यो भने म ऊसँग नजिकिन र उसको भाइ भनेर चिनिन लाज मान्थे।
समयले आफ्नो चक्र जारी राख्यो । मेरो प्रगति पनि राम्रै भयो । साहित्यको निकै सौखिन थिएँ। आफ्नो पढाइको विषय भएकोले अंग्रेजी साहित्यमा मेरो रुची र दक्खल राम्रै थियो । स्वदेशी साहित्यप्रति पनि म निकै आकर्षित थिएँ। समय भयो भने स्वदेशी साहित्यका नयाँ पुराना सबै पुस्तकहरू ध्यान लगाएर पढ्ने गर्थे । क्याम्पसको पुस्तकालय मेरो नियमित गन्तव्यस्थल थियो ।
एक दिन पुस्तकालयमा दन्त्यकथाको किताबसँग समय बिताउँदै गर्दा म ‘शिशिर र बसन्त’ को कथामा रमाउन पुगें । मैले उक्त कथाबारे सुनेको थिएँ तर पढ्न भने कहिल्यै मौका मिलेको थिएन । बाबु आमासँग आफ्नो बाल्यकाल बिताउन पाएका भाग्यमानी बालबालिकाहरूले ती दन्त्य कथाहरू आफ्ना आमा बुवाहरूबाट ओछ्यानमा निदाउनु अगाडि सुन्थे तर मलाई त्यो सौभाग्य प्राप्त भएको थिएन। त्यसैले बाल्यकालको उक्त अतृप्त चाहना मैले पुस्तकालयमा पुरा गर्न लागिपरेको थिएँ।
आमा नभएको र बाबुले माया गर्दागर्दै पनि परिवेशमा परी दुख पाएका दाजुभाइहरू अकस्मात छुट्टिएर बस्नु परेका उनीहरूको कथा मलाई आफ्नै कथा जस्तो लाग्न थाल्यो। शिशिर राजा भएर बस्दा वसन्तले पाएको दुख मैले दाइको दुखसँग दाज्न थालें। मलाई अकस्मात दाइ प्रति निकै माया पलाएर आयो। मैले गल्ती गरेको भान भयो र आफूले गरेको गल्तीले मलाई आत्मग्लानी भयो। उसले मलाई गरेका त्यागहरू र मैले उसलाई गरेका व्यवहारहरू झल्झली मेरो आँखा अगाडि नाच्न थाले। अनायाश मेरो आँखाबाट आँसु बग्यो। म सम्हालिन सकेन र मेरो भक्कानो फुट्यो। पुस्तकालयको कर्मचारीले मलाई अनौठो दृष्टिले हेर्यो तर केही भनेन। म आँखा पुछ्दै, उक्त कथा पुरै पढ्न थाले। म जति जति कथामा लिन हुँदै गएँ मेरो छटपटी उति नै बढ्दै गयो मलाई सह्य भएन। मैले गरेको पापको प्रायश्चित नगरेसम्म मलाई उक्त पिडाबाट मुक्ति हुने संकेत देखिएन।
तुरुन्तै घर गएर दाइसँग माफी माग्नु र उसले मलाई लगाएको ऋण आफ्ना भविष्यका व्यवहारले चुक्ता गर्नु मात्रै मेरो पिडा मुक्तिको बाटो हो जस्तो लाग्यो। म जुरुक्क उठेर किताब पुस्तकालयमा फिर्ता गरी सिधै घरतिर लागे। घर पुग्दा साँझको चार बज्न लागेको थियो। घर खाली थियो। मैले त्यो घरमा पाइला नटेकेको पनि तिन वर्ष जति भैसकेको थियो। घरको हालत देखेर मलाई फेरि रुन मन लाग्यो। आँगनमा जताततै झार उम्रेको थियो। घरका भित्ताहरूमा लिपेको माटो खसेर टाटा पाटा भएको थियो। ढोकामा ताल्चा लागेको थियो। घरको त्यो अवस्था देख्दा धेरै समय देखि त्यहाँ कोही बसेको थिएन स्पष्टै हुन्थ्यो। घरको त्यो हालत देखेर म दुखी भन्दा पनि डरले झसंग भएँ- “खै त दाइ? कतै ऊ..?’ मेरो मनले पाप सोच्यो।
“तर कसरी हुन्छ, कतै न कतैबाट त मैले थाहा पाउनु पर्थ्यो” मैले आफूलाई सान्त्वना दिएँ।
तर मनले मानेन। के गर्ने कस्लाई सोध्ने भनेर म छटपटाउन थालें। गाउँका एकजना बुढा बाजे बाख्रा चराएर फर्किदै थिए। मैले आत्तिदै एकै स्वरमा “मेरो दाइलाई देख्यौ?” भनेर सोधे।
“खै हाम्ले नदेखेको त धेरै भै’गो। दुई तीन वर्ष भै’गो होला। रक्सी खाएर थला पर्या थे, कता गए थाहा भएन।”
उनको उत्तरले मलाई झन् निराश तुल्यायो र बेचैन बनायो ।
“के साँच्चै उ…?”
म अत्तालिएँ।
मेरो नजर मालतीको बोटमा पुग्यो । घडी हेरेँ चार बज्न पाँच मिनेट बाँकी थियो। ठिक्क मालती फुल्ने समय भएको थियो । छिर्केबिर्के मालती त बा बितेपछि फुल्न छोडिसकेको थियो । तर रातो र सेतो मालती अझै फुल्न नछोडेको होस् भन्ने मलाई आशा थियो । बाले भने जस्तै राता र सेता मालतीहरू हामी दुई भाइका प्रतिक थिए भन्ने मेरो मनमा गडेको थियो। म मालतीको बोटको नजिकै पुगें। स्याहार नपुगेर निकै सानो झ्याङमा सिमित भएको त्यो बोटमा एक दुईवटा राता मालतीहरू फुलेको देखें। मैले त्यो बोटमा झट्टपट्ट सेतो मालती खोंजे। तर अफसोच- त्यहाँ सबै राता मालतीहरू मात्रै फक्रन थालेका थिए। मैले फेरि घडी हेरेँ। चार बजिसकेको थियो। सबै मालती फुल्ने बेमा भैसकेको थियो। एक पछि अर्को गर्दै राता मालतीका फूलहरू फक्रिए तर सेतो कतै देखिएन।
दाइलाई सम्झेर म त्यही मालतीको बोट समातेर रुन थाले। मलाई राता फुल मात्र फुलाउन त्यो मालतीको बोटदेखि रिस उठ्यो। मैले फर्खर फक्रेका राता मातीका फूलहरू निमोठेर फ्याक्न थालें । त्यसै बीच अचानक मेरो नजर भर्खर फक्रन थालेको एउटा सानो सेतो फूलमा गयो । मैले खुशीले छिटो छिटो त्यो फूललाई पहिल्याएँ । सुरुमा त त्यो के साँच्चै सेतो फुल नै हो भनेर मलाई खुट्याउनु थियो, अनि त्यसलाई बचाउनु पनि थियो। सेतो नै हो भन्ने निर्क्योल भएपछि मैले मायाले त्यसलाई छोएँ । मलाई अनायास खुशी र शान्ति प्राप्त भयो। एकछिन् एकटकले त्यही फूललाई हेरेँ । आँखामा खुशीका आँसु टल्पलाए। त्यो फूलमा मैले मेरो दाइलाई देखें । त्यसपछि जहाँ भएपनि ऊ जिउँदै छ भन्ने मलाई विश्वास भयो।
त्यही बेला पछाडिबाट एक जनाले मानिसले मलाई टाउकोमा सुम्सुम्यायो।
मैले पुलुक्क फर्केर हेरेँ। एकजना हट्टा कट्ठा जवान सुगठित शरीर र कालो चस्मामा एउटा सुटकेश पकडेर मेरो पछाडि उभिएको थियो। मैले झ्वाट्टै चिन्न सकेनँ र के सोध्ने भनेर अलमल परेँ ।
“ के भो ? चिनिनस् कि के हो ?” चस्मामा हात लगाउँदै उसले भन्यो ।
मैले बोली चिनिहाँलेँ। म उठेँ ।
“ मलेसिया गा’थे, आजै आउँदैछु ” उसले भन्यो ।
मेरो खुसीको सीमा रहेन । मैले फेरि मालतीको बोटलाई हेरेँ । त्यहाँ एउटा मात्रै होइन अरू धेरै सेता मालतीहरू पनि फुलिसकेका थिए । राता सेता मालतीहरूले ढाकेको उक्त बोट मलाई नै हेर्दै मुस्कुराइरहेको जस्तो मलाई भान भैरहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

