साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अहङ्कारी सिंह र मोहिनी मयूर

नानी मयूर सिंहको सानिध्य र पीडाले बेहोस हुन्थी । आफ्ना रङ्गिन प्वाँख जम्मै उखेलिँदा पनि चुइक्क बोलिन । सिंहको साथ र सिंहको खुसीको लागि मयूरी जे गर्न पनि तयार भई, तर सिंहले समयमा बुझ्न सकेन - पीडा कति घातक हुन्छ ।

हेर्दै मनमोहन प्राकृतिक छ्टाहरूले ओतप्रोत शान्त र सुन्दर वातावरण । लता, लतिका र वनकुसुमले हराभरा भएको निर्मल सरोवरको छेउमा स्वतन्त्र भएर मयूरी नाँच्दै थिइन् ।

मयूरीको हृदयमा भर्खर वसन्तले पालुवा फेर्दै थिए । पखेटाहरूमा रङ्ग भरिँदै थिए। जवानीको लाली चढ्दै थियो । सारा धर्ती, आकाश र बन्यजन्तु आफ्नै हो भन्ने भाव जीवितै थियो । विचार र भावनामा दूषित रङ्ग मिसिएको थिएन । बनावटी केही थिएन । मयूरीको हाँसोमा हिमाल मुस्कुराउँथ्यो । जे थियो जम्मै शाश्वत थियो । ऊ सबैलाई आफ्नो नजरले हेर्थी, नजर निर्दोष थिए । पवित्र आत्माले बास गरेको। शंकाले जन्म लिएको थिएन ।

bahulako diary small and inside post

आफ्नो सानो संसारमा मयूरी रमाउँदै थिई । आफैमा सन्तुष्ट भएर बाँचेकी । उसलाई आफू नाच्दा ती रंगिन प्वाँखहरू फैलिन्छन् भन्नेसम्म पनि थाहा थिएन । ती सुन्दर प्वाँखहरू उसले देखेकी पनि थिईन्। तर पनि प्वाँख फिँजारेर नाच्थी। ऊ नाच्दा चराचर जगत् हर्षित हुन्थ्यो ।

“आमा ! तिमी पनि नाच्च आउन ।”, ऊ आमा पनि सँगसँगै पँखेटा फिँजारेर नाच्न लगाउँथी । त्यहाँ प्रतिपल उत्सवझैँ थियो । हरेक पलमा प्रफुल्ल भएर बाँच्ने कलाले निपुर्ण । अनि अरूलाई पनि प्रसन्न भएर बाँच्न सिकाउँदै थिईन् ।

स्वच्छन्द भएर मयूरी नाचेको देख्दा कोइलीहरूले कोकिल कन्ठबाट कुहुकुहुको सुमधुर ध्वनी निकाल्दै प्रकृतिलाई संगीतमय बनाउँथे । वातावरण स्वर्ग झैँ हुन्थ्यो। यावत जीवातहरूले मयूरीलाई प्रेम र श्रद्धाले हेर्थे, बोलाउँथे । कालिज, जुरेरी, मैना, चिबे सबै एक स्वरमा मीठो गीत गाउँदै गर्दा मयूरी छमछमी नाच्थी ।

यो मनोरम दृश्य देखेर स्वर्गबाट देवताहरूले पनि पुष्पवृष्टि गर्थे । रुखका हाँगाहरू पनि झुकेर ताली ठोक्थे । जल, थल र नभका यावत जीव जम्मै उत्साहित हुँन्थे । बादल लुकामारी खेल्दै मयूरीलाई चोर आँखाले सुटुक्क हेर्थ्यो । कहिले हाँस्थ्यो कहिले रुन्थ्यो । बादल रुँदा मयूरीका प्वाँखमा तप्पक्क आँसु चुहाउँथ्यो । बादल प्रायः मयूरीको भाव बुझ्थ्यो । रवीका किरणहरू प्वाँखमा पर्दा मयूरी रोमान्चित हुन्थी ।

यो देखेर बादललाई मयूर र रवीको सामिप्यता मन परेको थिएन । रवीको न्यानो किरण मयूर माथि पोखिएको देखेर बादललाई झनक्क रिस उठ्थ्यो अनि कालो मुख लगाएर उज्यालो छेकिदिन्थ्यो ।मयूरी उदास हुन्थिन् । मयूरीको उदासी देखेर फेरि बादल पिरोलिन्थ्यो अनि रविको मार्गबाट हटिदिन्थ्यो । फेरि छेक्थ्यो, फेरि हट्थ्यो । बादल मयूरीको लुकामारी चलि नै रहन्थ्यो ।

एक दिनको कुरा हो । एउटा सिंह पानी खान त्यो सरोवरमा आयो । सिंह निकै थाकेको थियो । टन्न पानी खाएपछि ऊ शीतल छहारीमा सुस्ताउन पल्टियो । सिंह दबिएको चालमा आएको थियो । सिंह आएको कसैले चालै पाएनन् ।

मयूरी पारिलो घाममा कौमार्य सेकाउँदै फखेटा फिँजारेर आफ्नै धुनमा नाच्दै थिई । उसको नाचको झन्कारले सिंहको निद्रा टुट्यो । सुतिसुति सिंहले मयूरीलाई पुलुक्क हेर्‍यो । मयूरीको सौर्न्दर्यले सिंह नतमस्तक भयो अनि सिंहको शरीरभरि उर्जा संप्रेषित हुनथाल्यो । मयूरीलाई एकै छमाटमा खाउँला झै्ँ गर्‍यो । तर झलक्क सोच्यो, “यो मयूरीलाई त म पेवा बनाउँछु ।” मख्क पर्दै कर्के नजरले मयूरीका फिँजारिएका प्वाँखहरूलाई एकोहोरो हेर्दै घुटुक्क थुक निल्यो ।

मयूरीको मोहनी रूपले घायल भएको सिंह एकै नजरमा मोहित हुँदै पागल प्रेमी बन्यो। मयूरी नाचुन्जेल एक टकले हेरेको हेरै गर्‍यो । सिंहका मनमा बैंसका उन्माद छताछुल्ल पोखिए । कौमार्यको बास्नाले नानी मयूर मगमगाएकी थिई । उसको बास्नाले सिंहको होस् गुम्दै गयो । सिंह भित्रको पुरुषत्व जागृत हुँदै थियो ।

अन्जान मयूरी आफ्नै तालमा स्वच्छन्द भएर नाचेकी थिइन् । धन्न सिंहले आफ्नो काम बास्नालाई रोक्दै सोच्यो – “नानी, मयूरले मलाई उत्तेजित पार्न त नाँच्दै छैन ? कस्तो बैँस चढेको हो यसलाई ? कति उत्ताउलो भएकी ? कि मलाई लल्कार्दै छे यसले ?”

फेरि सोच्यो, “साँच्चै यसका प्वाँख कति सुन्दर छन् । यसको प्वाँखमा लुटुपुटु गर्दै जिन्दगी भर निदाउन पाए । मेरो गुफामा यसका प्वाँख लैजान पाए । यसलाई सजाउन पाए, मेरो गुफा पनि जीवन्त हुनेथियो, उज्यालो हुने थियो । यो नाच्दा साँच्चै प्रकृति हाँस्छ । यो खुसी हुँदा बिरुवा पनि पल्लवित हुन्छ, फुल फुल्छ, फल लाग्छ । यसलाई मेरो निजी पार्छु जसरी भए पनि, यो मेरो दृढ़ संकल्प भयो । यसको हाँसो मेरो मात्र बनाउँछु ।”

ऊ कल्पना गर्दा गर्दै मुसुक्क मुस्कुरायो । र मयूरलाई आफ्नो बनाउने अठोट गर्दै,आफ्ना बलिस्ठ तिघ्रामा आफैले ताल ठोक्यो । सिँह आफ्नै मनको रंगमञ्चमा मयूरलाई अँगालो मार्दै रोमान्चित भयो । नाच्दा नाच्दै मयूरी थाकेर पानी पिउन तलाउमा आईन् । उनी आएको मौका छोपेर सिंहले सुस्तरी पछाडिबाट उसलाई च्याप्प समायो । मयूरी सिताङ्ग भइन् ।

मयूरीको मुख छोप्दै सिंह बोल्यो “तिमी मेरो बनन्, नाई न भन ल । तिमीलाई म संसारको सुख दिन्छु । तिम्रो प्वाँख अघोर मन पर्‍यो, तिम्रो रूपको म कायल भएँ । मेरो आत्मा तिमीलाई अँगाल्न आतुर छ। मलाई स्वीकार गर तिमी सधैँ यसरी नै आफ्ना पखेटा फिँजारेर हाँस्नु तिम्रो खुसी नै मेरो खुसी हुने छ ।”

नानी मयूर जीवनमा पहिलो पटक यस्ता सम्वाद सुनेर लल्याकलुलुक्क भई । सिंहको न्यानो स्पर्समा संमोहित हुँदै गई। अल्लारे बैंसमा एकैचोटि सिंहलाई विश्वास गर्न पुगी । सिंहले आफ्नो पन्जामा प्रेमको जालो बुनेको पतै पाइन। सिंह बोल्दै गयो, “आजसम्म म यो जंगलको राजा भएर बसेको तिमीलाई देखेर म तिम्रो दास बन्न चाहन्छु । तिमीलाई नपाए म पागल हुने छु । तिम्रो रूप, बैँस र तिम्रो ईज्जत् यहाँ सुरक्षीत छैन । यहाँ तिमीलाई अरूले दागा गरेर लैजान सक्छन् । सिंह पत्नी भएर मेरो राज्यमा सुनको सिंहासनमा बसौली । हिँड् तिमीलाई मान सम्मान दिन्छु । माया प्रेमले तिमीलाई निथ्रुक्क भिजाउँनेछु । तिमीले चारैतिर भौंतारिनु पर्दैन । मात्र मेरो गुफा सजाऊ । मलाई खुसी पार । मेरो अगाडि मात्र नाच्नु अनि हाँस्नु । संसार तिम्रो कदममा ल्याइदिन्छु तिम्रा गोडाहरूले काँडाहरूको मार्गमा कुल्चिदै हिँड्नु पर्दैन । तिमी रानी भएर मात्र बस्ने छौ । आऊ तिमी मेरो हात समाऊ । तिमीलाई म स्वर्गको आनन्द दिन्छु । जंगलमा शिकारीहरूको ठूलो डर छ । तिमी आफ्नो रूप लुकाएर राख्न पनि त सक्दिनौ। जंगलमा व्वाँसाहरू उतिकै सलबलाएका छन् । नानी मयूरी ! हिँड तिम्रा बाआमासँग तिमीलाई मागेर लैजान्छु ।”

नानी मयूर अपरिपक्व थिई । निकै चाँडो सिंहको हातमा आई । सिंहले फालेको जालमा फस्दै गई । सिंहको मीठो बोलीमा मख्ख पर्दै सिंहको छातीमा लपक्क टाँसिएर पहिलो चोटि पुरुष सिंहको ओठमा मीठो चुम्बन गरी । सिंहको हात समाउँदै बाआमासँग बिदा भएर सुन्दर भविस्यको कल्पना गर्दै अँध्यारो ओडारतिर लम्किँदै अघि बढी ।

सिंह आफ्नो भाग्य सम्झेर ठूलो स्वरमा गर्जन लाग्यो । मयूरीजस्तो जीवन साथी पाएर ऊ गजक्क पर्‍यो । दिनहरू बित्दै गए । नानी मयूर झन झन राम्री हुँदै गई । उसका प्वाँखहरूले जीवनका कैयौं रङ्गहरु फेर्‍यो, रङ्गहरू अझ गाढा हुँदै गए । उसको हिँडाइमा पनि परिपक्वता आउन थाल्यो ।

जतिजति मयूरी पूर्ण हुँदै जान थालिन् सिंहलाई उतिउति नानी मयूरप्रति शंका उब्जिन थाक्यो । नानी मयूरको जुन नाच मन परेर आकर्षित भएको थियो आज त्यही नाच उसलाई उत्ताउलो लाग्न थाल्यो । जुन प्वाँखले लठ्ठ पारेको थियो त्यही प्वाँख भद्दा लाग्न थाल्यो । घण्टौं घण्टा मयूरीको प्रशंसा गरेर नथाक्ने सिंह अब नानी मयूरसँग बस्दा पनि गर्जिन लाग्यो । छुँदा पनि नङ्ग्राले चिथोर्न थाल्यो । मयूरी सिंहको यो चालबाट बिछिप्त हुन थाली आफ्नै प्वाँखदेखि रिसाउन लागि । हाफ्नै खुट्टा देखेर रुन थाली । प्वाँखमा गर्व गर्ने मयूरी खुट्टाको तागत सम्झेर व्याकुल हुन लागि ।

हुँदाहुँदै नानी मयूरको प्रशंसा अरू जनावरले गरेको पनि सिंहलाई निको लाग्दैन थियो । मयूरी बाहिर निस्केको पनि मन पराउन छोड्यो । गर्दागर्दै सिँह पनि ओडार बाहिर निस्कन मान्दैन थियो । बिस्तारै ओडारभित्र पनि मयूरीलाई एक्लै छोड्न नसक्ने भयो । ओडारका भित्ता र जमिनदेखि पनि ऊ सशंकित हुन थाल्यो ।

काफल पाक्यो भन्दै गुफाको छेउछाउ चरी आउँथ्यो सिँहलाई डर लाग्थ्यो । “कतै मयूरीलाई उडाउन त आएको होइन यो कोइली” ऊ सोच्थ्यो । ओडारको मुखमा चारा खोज्दै आउने कमिला देख्दा पनि सिंह सधैं झसङ्ग हुन्थ्यो । सर्प, बिच्छी ,स्याल ,ब्वाँसो यत्रतत्र थिए ।

मयूरी जम्मैलाई चिन्दथी तर पनि सिंह ओडारबाट बाहिर निक्लिन मान्दैन थियो । सिंहलाई डर मात्र लाग्थ्यो, “मयूरी सानी छ । यसको बुद्धि छैन् । यसलाई जसले पनि फकाएर लैजान सक्छ भन्दै सबैसँग सशंकित हुन्थ्यो ।

सिंहले आफ्नो शक्ति र तागत बिर्सियो । नकारात्मक कुरा मात्र सोच्दा सोच्दै सिंह बिछिप्त हुन थाक्यो । अनि गुफाभित्र बसेर नानी मयूरको सुन्दर प्वाँख उखेल्न लाग्यो ।

ऊ बर्बराउँथ्यो ” किन हेर्छन् जम्मैले यो प्वाँख ? किन रमाउँछन् अरू यी प्वाँख फिँजारिदा ? ऊ भित्रभित्रै मडारिन्थ्यो, पिल्सिन्थ्यो । अनि नानी मयूरलाई फकाई फुस्लाई राम्रा प्वाँखहरू जम्मै उखेल्ल थाल्यो । प्वाँख उखेल्दा सिंहले मयूरलाई आफ्नो छातीमा टाँसेको थियो ।

नानी मयूर सिंहको सानिध्य र पीडाले बेहोस हुन्थी ।आफ्ना रंगिन प्वाँख जम्मै उखेलिँदा पनि चुइक्क बोलिन । सिंहको साथ र सिंहको खुसीको लागि मयूरी जे गर्न पनि तयार भई तर सिंहले समयमा बुझ्न सकेन । पीडा कति घातक हुन्छ भनेर ।

बिस्तारै प्वाँख उखलिएको ठाउँमा साना साना घाउ निस्कन थाले । सिंहले औषधिमुलो त गर्‍यो तर हेर्दा हेर्दै ती घाउहरूले बिकराल रूप लियो बिस्तारै घाउहरू क्यान्सरमा रूपान्तरित भए । प्वाँख उखेलेको ठाउँमा भन्दा बढी नानी मयूरको मन र मुटुमा क्यान्सर फैलियो । अनि हेर्दाहेर्दै एक दिन गुफा भित्रै सिंहको काखमा मयूरीले आफ्नो प्राण त्यागी ।

मयूरीको मृत्यु पछि सिंह निकै व्याकुल भयो । ऊ निकै दिन ओडारबाट बाहिरसम्म निस्केन । नानी मयूरको मृत्युले त्यो सुन्दर पर्यावरण ओइलायो । ओडारको द्वारमा रवीको झुल्योले बाटो बिरायो । गुफाको माथिबाट कुनै चराचुरुङ्गी उड्न मानेनन् । कोइलीको कुहुकुहुमा बिरहको संगीत गुन्जिन थाल्यो । पवन पनि बिपरित मार्गमा वहन थाल्यो । गर्दा गर्दै सरोवर पनि सुख्खा भयो । ओडार मसान घाटमा परिणत हुन समय नै लागेन ।

एक दिन सिंह श्वास फेर्न नसकेर ओडार बाहिर आयो । बाहिरको वातावरण देखेपछि ऊ आत्तियो । ऊ झल्याँस् भयो मयूरी हुँदा र नहुँदाको फरक स्पस्ट भयो चकमन्न वातावरणमा ऊ बिरक्तियो। डरलाग्दो शून्यता देखेर उसको हृदयमा पश्चातापको बाढी उर्लियो । ऊ फेरि पागल भयो आफ्ना गल्ती सम्झेर भावबिह्वल हुँदै भित्र पस्यो । उखलेका राखेका नानी मयूरको प्वाँखलाई हेर्दै कोलाहल मच्चाउन थाल्यो । मस्तिष्कले चारैतिर नानी मयूरी हाँसेको, नाचेको देखेर उसले खप्न सकेन अनि तिनै प्वाँखले आँफ्नै घाँटी रेटेर आत्महत्या गर्यो ।

हिजोआज त्यो गुफामा सिंह प्रेत भएर हिँड्दैछ । गुफाबाट बाहिर आजसम्म निस्कन सकेको छैन। त्यो सुन्दर भूमिमा हिजोआज शून्यता बाहेक केही छैन । छ त केवल नानी मयूरको पवित्र प्रेम कुरेर बर्सौं देखि पर्खिरहेको अहंकारी सिंहको भड्किएको आत्मा ।

लेखक परिचय
अक
अनिता काेइराला
प्रतिक्रिया
Loading...