रातको दोस्रो प्रहर बित्यो । कुलबहादुरलाई अलिकति पनि निद्रा आएको छैन । घरी झ्यालमा जान्छ, झ्याल खोल्छ र बाहिर हेर्छ । बाहिर पूरै अन्धकार छ । गाउँको भोटे कुकुर घरीघरी भुकिरहेकै छ । झ्याउँकीरीको आवाजले पनि सन्नाटालाई चिरिरहेकै छ ।

“चिन्ता गरेर के गर्नु, सुत्नुहोस्‌ !”, मायादेवी खाटको एकछेउमा छे, आफ्नो लोग्नेको मौनतालाई चिर्दै भन्छे, “आखिर यो रात अड्किने होइन क्यारे ।”

“तँ किन नसुतेकी नि ?”

“निद्रा लागे पो सुत्नु ।”

“यता सुन्‌ त ! ” कुलबहादुर मायादेवीनजिक जान्छ, केही क्षण टोलाएर हेर्छ । मायादेवीका सेताम्य कपाल देखेपछि लाग्छ, मानौं आज पहिलोपल्ट उसलाई बुढ्यौलीको अनुभव भइरहेछ, भन्छ, “म प्याट्ट मरें भने तँ के गर्छेस्‌ ? के गरी खान्छेस्‌ ? ”

“के अलच्छिन कुरा गरेको ?”

“लच्छिनै कुरा गरे पनि आखिर एकदिन त मर्नैपर्ने हो ।”, मायादेवी केही बोल्दिन । कुलबहादुर एकछिन खाटमा बस्छ, केही सोच्छ ।

अशेष मल्ल

“मुद्दा हारियो भने त काँ बस्ने !”, कुलबहादुर एकाएक झस्किन्छ । उसलाई लाग्छ आजको यो रात यहीँ अड्किरहे हुन्थ्यो । बिहान नभए पनि हुन्थ्यो । तर समय उसको चाहनाभित्र कहाँ बाँधिन्छ र ? एक्लै बडबडाउँछ, “छोरालाई वास्ता छैन, मलाई मात्र के वास्ता, मुद्दा हारियोस्‌ कि जितियोस्‌ …” केहीबेर बोल्दैन फैरि बडबडाउँछ, “त्यसो, भनेर कै गर्नु ! आफूलाई यही थोत्रो घर चाहिएको छ, यै पनि गयो भने त पाटीको बास हुन्छ ।

“के गर्ने त ?”

“त्यही त के गर्ने गर्ने, भाग्यमा जे छ त्यो त हुन्छ, हुन्छ ।”

“मैले भनेको मान्ने भए एकपल्ट उनीहरूसँग माफ माग्ने कि ?”

“माफ मागेर के हुन्छ ? मुद्दाको फैसला अब कसैले भनेर पनि रोकिँदैन । भोलि-भोलि भन्दाभन्दै फैसलाको दिन पनि आयो… हे ईश्वर ! भोलि के हुने होला ?”, कुलबहादुर पसिना-पसिना हुन्छ । उसलाई लाग्छ – भोलिको मुद्दा उसको पक्षमा फैसला हुन सम्भव छैन ।

“जितिन्छ कि !” मायादेवी भन्छे ।

“जित्ने त आसै नगर्‌ न बूढी !”

“हाम्रो गल्ती नै के छ र ?”

“त्यो त भगवान्‌ जानून्‌ ।” कुलबहादुर केहीबेर चुप लागेर फेरि भन्छ, “मैले भनेको मान्छेस्‌ ?”

“के ?”

“तँ सहर जा, छोरासँग बस्‌, म जसरी भए पनि आफ्नो ज्यान पालिहाल्छु ।”

“जान्नँ, जाने भए दुवै जाऔँ, म तपैँलाई छाडेर एक्लै त जान्नँ-जान्नँ ।”

“म खानै नपाए पनि जान्नँ त्यसको घरमा ।”

“आफू नजाने भए मलाई के कर गर्नुहुन्छ त ?”

“तैपनि तँ भनेकी त्यसकी आमा परिस्‌, कमसेकम तँलाई त पाल्ला नि त्यल्ले ।”

“म पशु हुँ र त्यल्ले पाल्ने ? पर्दैन बरू सडेरै मर्छु, आमाबाबुलाई नोकर नोकर्नी भन्नसम्म बाँकी नराख्ने त्यसको धन खानुभन्दा त मर्न निको ।”

“हो, ठीकै भनिस्‌… के गर्ने ! भएको एउटा छोरा त्यो पनि”, कुलबहादुर एकाएक आँसु झार्छ र रुँदै भन्छ, ‘त्यत्रो दुःख गरी हुर्काइयो, पढाइयो, अहिले ठूलो भएर हामीलाई आत्मा रुवाउने त्यो छोराबुहारीको आश्रयमा जानुभन्दा मर्नु बेस ।”

कुलबहादुर अब थचक्क भुइँमा बस्छ र घरको दलिन हेर्छ, बाबुबाजेको यो एउटा चिनो, भत्कन लगेको घर । सयौँपटक पानी चुहेर सयौँपटक टाल्दा-टाल्दा टाल्न पर्न बाँकी नभएको छानो, उसलाई लाग्छ अहिले नै यो भत्केर दुवैलाई किचे पनि हुने । तर त्यसो पनि कहाँ हुन्छ र !

“घरको मुद्दा छ भनेर जान्दाजान्दै एकपल्ट त आउनुपर्छ ।”

“त्यसको के कुरा गर्छेस्‌, त्यो त अब आफैँ कमाउने भइहाल्यो, बूढो बाबुआमा मरून्-बाँचुन्‌ के मतलब त्यल्लाइ !”

“यता सुन् त ! भोलिको मुद्दामा हामी हार्यौँ भने यो घर भोलि नै त छाड्न पर्दैन होला नि !”

“भोलि छाड्न नपरे पनि त छाड्नुपर्छ, पर्सि नपरे निपर्सि त पर्छ… ।”

“तलको एक टुक्रो जग्गा बेचेर अर्को बनाउँदा हुन्न र ?”

“त्यो बाँझो टुत्रो कल्ले किन्ने, किने पनि कति न पो देला र ?”

“त्यसो भए के गर्ने त?”

”जे त पर्ला ।” कुलबहादुर उठ्छ, झ्यालमा जान्छ र टाउकोमा हात राखेर सोच्छ । एकाएक कुनै समधान फेला परेजस्तो मायादेवीको नजिक आउँछ र हतारिदै भन्छ, “मैले एउट उपाय सोचेँ ।”

”के ?”

“पैला भन्‌, मान्छु भनेर ।”

“कुरा त भन्नूस्…..।”

“सन्यासी भएर जाऊँ….।”

‘सन्यासी ! … के कुरा गरेको त्यस्तो ?”

“अब अर्को उपाय छैन बूढी ! … छोराबुहारी छुट्टिएर गैहाले, भएको यो थोत्रो घरमा भतिजाहरूको मुद्दा छ, यो मुदा जितिहाल्यौँ भने पनि यो बुढेसकालमा कसको लागि यो घर रुँगेर बस्ने ? किन बस्ने ?”

मायादेवी एकाएक रुन्छे । कुलबहादुरलाई लाग्छ – उससँग ‘नरोऊ’ भन्ने शब्द पनि छैन । भन्छ, “अघाउँजी रोएर आँसु निखार्‌, भोलिदेखि रुनुपर्ने बाँकी आँसु नहोस्‌ ।” मायादेथी झन्‌-झन्‌ रुन्छे । कुलबहादुर एक कुनामा टक्रक्क बस्छ र कल्पना गर्छ, “सन्यासी भएपछि त शान्ति होला ति !” मायादेवी रोइ नै रहन्छे । कुलबहादुर टोलाइरहन्छ अनि रातको चौथो प्रहर पनि बित्छ ।