‘लौन नि ! नानी उहाँको अनुहारमा पानी छ्यापिदेऊ ।’, घरका एक जना अभिभावकले अह्राउनेबित्तिकै वाइबा पाराङका ठूली छोरीले लोटामा पानी ल्याएर बाबाचाहिँको अनुहारमा पानी छम्किन थालिन् । चिसो पानी अनुहारमा परेपछि वाइबा पाराङ चलमलाएझैं भयो ।
‘कुडेलेको ग्लान साजी पनि बेहोस भयो अरे !’, यो कुराको पुष्टि नहुँदै अर्को समाचार आइपुग्यो, ‘चोक्टेको ग्लान पाराङ पनि बेहोस भयो अरे ।’
बेंसीटोलको वाइबा पाराङसँग भेटेर बिहान दुब्ले बाइको नाति कुडेलेबाट चोक्टेडाँडातिर उक्लेपछि यस्तो भएको थियो । वारीपारीका मान्छेहरू कलकले चराझैं कलाङकुलुङ गर्न थाल्यो । तल र माथि कुदेको देखिन थाल्यो ।
‘रामपुरे साहु दुब्ले बाइ मर्यो रे ।’, चैतको हुरीको बेगमा गाउँभरि खबर फैलियो । दुब्लेका छोरा प्रेम, चुइसे र घरका मान्छेहरू किरिया कर्ममा बसे ।
एकसरो लुगा मात्र लाएको जीउ लिएर श्रीमतीसँग दुब्ले बाइ यो गाउँमा तीस वर्षअगाडि आइपुगेको थियो । मंसिरतिर काभ्रे तिमालको मान्छेहरू धान खोज्न मरिणखोला झर्दा तिनीहरुलाई पछ्याउँदै पसेको थियो । यहाँ आइनपुन्जेलसम्म बाटोभरि खाने सामाल तिनै तेमालेहरुले दिएका थिए ।
बेंसिटोलको वाईबा खलक असाध्यै धनि थियो । यहाँको राम्रा खेत, बारी, खोरिया उनीहरुकै थियो । मरिण खोलामा धान लिन आउने तेमालेहरु यहाँ आईपुगेर बास बस्यो । बास बस्ने क्रममा पाईबा पाराङकोमा बेच्ने धान छ भन्ने थाहा पाएपछि तिनीहरु मरिणतिर पुग्नु परेनन् । औलो रोगले मरे पनि मरिण खोलातिर पुगेर घरजम गरौंला भन्ने सोचेका दुब्ले बाइको पनि बाटो टुङ्गियो । उनीसँग यहाँबाट मरिणसम्म पुग्ने सामाल भएन ।
‘यो हामीसँग पछ्याएर आएको मान्छेलाई तपाईंकोमा राख्नुहोस् है मामा !’ तेमालेले वाईबा पाराङसँग अनुरोध चढायो । काम गर्ने मान्छे नपाएको बेला के खोज्छस् कानो आँखो भनेझैं भएकोले वाईबा पाराङले दुब्ले बाइ बुढाबुढीलाई सहजै आफूसँगै राख्ने निर्णय गर्यो । असाध्यै जाँगरिलो थियो दुब्ले बाइ । गोरु जोत्न, घाँस दाउरा गर्न, गाई बाख्रा चराउन, भैंसी हेर्न बुढा बुढीलाई नै अह्राउनै नपर्ने । साह्रै मनबुझ्दो काम गर्ने भएकाले वाईबा पाराङले ती दुईलाई खाईलाई वर्षको दश मुरी मकै ज्यालास्वरुप दियो । तिनी दुईले यहाँ काम गर्न थालेको एक वर्षपछि गाई बाख्रा र भैंसी चराउन सजिलो हुने भएकाले रामपुर दोभानको खेतमा गोठ सारियो । घरदेखि टाढा बस्तुभाउलाई मात्र छाड्ने कुरो आएन, बस्तुभाउ रुङ्नु पर्ने भएकाले दुब्ले बाइको बुढाबुढीलाई यही गोठमै बस्ने खाने ब्यवस्था मिलाईयो । उनीहरुले ज्यालास्वरुप पाएको अन्नलाई पनि यही ल्याएर राखियो । यहाँ गोठ राखेपछि तेमाल मरिण गर्ने बटुवाहरु यही बास बस्न थाल्यो । बास बस्ने र बाटोमा हिंड्ने बटुवाहरुले खाजा पनि छ कि भनि सोधखोज गर्न थाल्यो । बटुवाहरु खाजामा जाँड खाने गर्दथ्यो । बटुवाले जाँड खोज्न थालेपछि आफूले पाएको अन्नको जाँड बनाएर दुब्ले बाइको बुढीले बेच्न थालिन् ।
हिउँदोमा मरिणखोलाबाट रोशी जानेको हूल, रोशीबाट मरिणखोलातिर जानेको हूल कमिलाको बथानझैं हुन्थ्यो । काठमाडौं र मधेश गर्न यो बाटो छोटो हुने हुनाले सबैको छनौटमा पर्दथ्यो । गाउँघरमा खाजापानी बनाएर बेच्ने चलन थिएन । यो बाटोमा खाजा खानको लागि यो गोठबाहेक अरु कुनै नभएको हुनाले बटुवाहरु सबैजना यही पसेर जाँडपानी लगायतको खाजा खान थाले । एकवर्षमै दुब्लेको बुढीले एकहजार रुपैयाँ जोडिन् । त्यो रकम लगेर दुब्ले बाइले आफू बसेको गोठसहितको यो खेत किन्नको लागि वाईबा पाराङसँग विन्ति बिसायो । प्रशस्त खेत, बारी, खोरिया भएका वाईबा पाराङको स्याहार्ने मान्छे भने थिएन, यसकारण उनलाई दुब्ले बाइको बिन्ति मनासिब लाग्यो र सात सय रुपैयाँ लिएर रामपुर दोभानको सबै खेत जिम्मा लगाइदियो ।
‘पाराङ काका ! मैले त यसो सानो तिनो भए पनि पसल राखेर व्यापार चलाउने मन पो गरें । जहानले पनि हुन्छ भनिन् । मसँग त पुग्दो रकमको जोहो छैन । तपाईंले नै दिनुभएको यो खेत बन्धकी राखेर भए पनि तपाईंले मलाई ऋण पत्याई दिनुपर्यो ।’ खेत किनेको दुई महिनापछि बाईबा पाराङसँग ऋणको लागि दुब्ले बाइले याचना गर्न गयो ।
‘हुन्छ नि । लैलाऊ । मलाई पनि यो पैसा खासै खाँचो छैन । रकम घरमा राखेर मलाई पनि केही फाइदा हुने होइन क्यार !’ वाईबा पाराङले उनको प्रस्तावलाई सहर्ज स्वीकार मात्र गरेनन्, उनले भने, ‘खेत बन्धक सन्धकको कागज नै किन गर्नु पर्यो र ?’
वाइबा पाराङकहाँबाट लगेको ऋणले उनले पसलको सामग्री खरीद गरेर व्यापारको सुरुवात गर्यो । पसल सुरु गरेपछि बेफुर्सद भएका कारण उनले वाईबा पाराङको गोठाले गर्ने काम छाड्यो । वाईबा पाराङले पनि उनले काम छाडेकोमा ननिको मानेनन् । पसलमा अब जाँड मात्र नभएर रक्सी, मिठाई, चिउरा, सखर, बिस्कुट, बिंडी पाउन थाल्यो । यो भेगमा अरु कसैको पसल नभएका कारण व्यापार यति चम्क्यो कि उनले एकै वर्षमा साहुको ऋणको साँवा ब्याज भुक्तान गर्यो ।
‘दुब्ले बाइले वाईबा पाराङको ऋण तिर्यो रे ।’
‘आसामी भनेको त दुब्ले बाइ जस्तो पो हुनु पर्छ छ ।’
‘हिजो घरबार नभएको मान्छे भए पनि कत्ति ईमान्दार रहेछ । पैसा कमाउने बुद्धि पनि अचम्मको रहेछ ।’
‘लौ है हेर्दा हेर्दै त्यत्रो खेत पनि जोड्यो ।’ बिहे, छेवार, ब्रतबन्ध, मराउ, जात्रा मात्रा जताततै दुब्ले बाइको मात्र कुरा हुन थाल्यो । ग्लान पाराङ र साँजी पनि यहाँको चलेको नाम चलेको साहु थियो । उनीहरु घिउ, राँगा, गाई, भैंसी, बाख्रा मात्र होइन कि मकै र धान पनि प्रशस्तै बेच्ने गर्दथ्यो । महाभारत डाँडापारिसम्म उनीहरुको आसामीहरु थिए ।
‘हाम्रो पनि रकम चलाउँछौ कि ?’ ग्लान पाराङ र साँजीले पनि दुब्ले बाइलाई सोध्यो ।
‘अहो ! अहिलेलाई त मलाई खाँचो छैन । मेरै साहु वाईबा पारङ छँदै छन् नि ।’
‘गुलियो सुलियो, चिउरा सिउराको पोकापाकी राखेर मात्र हुन्छ त ! तिमी त व्यापारी मान्छे ।’ ग्लान पाराङले दुब्ले बाइलाई फकायो, ‘हामी दुई दाजुभाइको रकम लगेर काठमाडौंबाट कपडा ल्याएर बेच । तिमी त काठमाडौं देखेको मान्छे । हामीले गरौं भने हाम्रो त खेतीभन्दा अरुमा केही सीप छैन त । रकम भएर मात्र के गर्नु ।’ ग्लान पाराङ र साँजीको कुरा सुनेर व्यापार गर्न सिपालु दुब्ले बाइको गिदीमा व्यापारको बिजुली चम्क्यो । ग्लान दाजुभाइ बाईवा पाराङभन्दा धनि थियो ।
‘मसँग त बन्धी राख्न केही छैन । यो खेत मात्र हो…….।’
‘बन्धकी सन्धकी केही चाहिँदैन । तिमीले रकम चलाउँछौ मात्र भन न हामी दिइृहाल्छौं नि ।’ दुब्ले बाइको कुरा नसक्दै ग्लान साँजीले हतारमा आफ्नो कुरा राख्यो । भोलिपल्ट आफूसँग भएको चार–चार हजार रुपैयाँ रकम दुबैजनाले दुब्ले बाइलाई दिए ।
‘हा हा हा क्या गज्जब भयो है । ब्याज पनि आउने, पैसा मुसाले खान्छ कि चोरले लान्छ कि भन्ने पीर पनि नहुने ।’ दुब्ले बाइले रकम लिएपछि दाजुभाइ नै खुसीले गद्गद् भएर हाँसे । ग्लान दाजुभाइले दुब्ले बाइलाई रकम दिएको थाहा पाएर वाईबा पाराङले पनि आफूसँग भएर पाँच हजार रुपैयाँ ल्याएर दियो ।
‘ओहो ग्लान दाजुभाइले मसँग सेखी गरेको त देख्या कि !’ आफ्नो रकम दुब्ले बाइले लिईदिएकोमा वाईबा पाराङ पनि खुसी भयो । यो गाउँ टोलमा रकम हुनेहरुले सुरक्षाको लागि दुब्ले बाइकहाँ रकम ल्याएर राख्न थाल्यो । पसल भरिभरि कपडाको थाक लाग्न थाल्यो । चप्पल आयो । जुत्ता आयो । हुँदा हुँदा मरिण, क्यान, बरुण, झ्याँडी, बन्खु, तामाजोरका मान्छेहरुले तोरी, घिउ, धान, मकै लगायतका आफूसँग भएका सामानहरु बेच्नु पर्यो भने दुब्ले बाइको पसलमा ल्याउन थाल्यो । उनीहरुलाई यति सजिलो भयो कि लालबन्दी, हरीऔन वा रोशीको मंगलटार र तीनपिप्ले बजारतिर जीउको बाजी लाएर भारी बोकेर जानु परेन । आफूसँग भएको सामान बेच्ने र त्यहीबाट आफूलाई चाहिने सामान लाने गर्दथ्यो । यो भेगमा यस्तो सुविस्ताको कुनै पसल थिएन । देख्दा देख्दै दुब्ले बाइ ‘रामपुरे साहु’मा परिणत भयो ।
रामपुर खोलामा घट्टा थिएन । घट्टामा पिँधेको पिठो खान मन लाग्यो भने डाँडाकाँडा खोलानाला तरेर दुई दिनको बाटो हिँडेर मङ्गलटार नजिकको कालढुङ्गामा पुग्नु पर्दथ्यो । यति धेरै हिँडेर सामाल बनाएर खाने कुरो भएन । यहाँका सबै गाउँलेहरू आआफ्ना घरको जाँतोमा पिँधेको च्याख्ला खान बाध्य हुने गर्थे । पिठोको ढिंडो खान मन लाग्यो भने जाँतोमा पिंधेको च्याख्ला चाल्नामा चालेर निस्केको खस्रो पिठोले नै चित्त बुझाउनु पर्दथ्यो । सिन्धुली बजारमा नुन लिन जाँदा सिम्ले खोलामा ग्लान साजीले मान्छेहरुले ठूलो ढुङ्गालाई चेप्टो चकटी जस्तो बनाएर काटिरहेको देखे छन् । त्यो ढुङ्गो घट्टा निर्माणको लागि काटेर बनाईरहेको थाहा पाएपछि उनले त्यसलाई किनेर मान्छे लगाएर बोकाएर रामपुरमा ल्याए । ती मान्छेहरुले रामपुर खोलाको अर्चले पाखा नजिकै त्यो घ्ट्टो थापि दिए । यो खोलामा सबैभन्दा पहिला घट्टा थापेका कारण ग्लान साँजीलाई सबैले ‘घट्टावारे बाजे’ भनेर बोलाउन थाले । अरु कुनै घट्टा नभएका कारण घट्टामा मान्छेको भीड लाग्थ्यो र रातदिन घट्टा चल्ने गर्दथ्यो । उनको बासै त्यही घट्टामा हुन्थ्यो । घट्टामा पालो पाउन मान्छेहरुले हप्ता दिनसम्म कुर्न पथ्र्यो । आफ्नो पालो आएको दिन अरुले पालो मिच्लान् भनेर पालो आएकाहरु राती पनि त्यही घट्टामा सुत्ने हुनाले ग्लान साजि पनि यही बस्न बाध्य थियो । एकरात घट्टा घुम्दा घुम्दै बिग्रियो । राती बनाउन सम्भावनै भएन । पालो कुर्न आएकाहरु पनि काम नभएकाले आआफ्नो घर फर्किए । ज्यालामा आएको पीठोको भारी बोकेर ‘घट्टावारे बाजे’ अर्थात् ग्लान साँजी पनि घरतिर हिंड्यो । रामपुर पसल नाघेर ज्यामिरे खोला पुग्न पुग्न लाग्दा अगुल्टो हल्लाएको दृष्य देखियो ।
‘मान्छे कि भुत ?’ आगो बलेको अगुल्टो देखेर ग्लान साँजी तर्सियो । भारीलाई पिठ्युँमा मिलाएर यसो राम्ररी हेर्न खोज्दा खोज्दै अगुल्टो अलप भयो ।
‘अहो रात त छकाल (मध्य) पो हुँदैरहेछ ।’ आकाशतिर मुन्टो फर्काएर तारा हेर्दै समयको अनुमान लगायो । यो खोलाबगर काँस, तितेपाती, आँख, बयर, बाँस र एैंसेलु घारीले बेरिएको थियो । बाँसहरु हौसिएर दिउँसो पनि उज्यालोलाई राम्ररी छिर्न दिँदैनथ्यो । मान्छे हिंड्ने बाटो त केवल नाम मात्राको । घारिले घेरिएका कारण बाटो हिंड्ने बटुवाहरुले झारहरु हँसिया, खुकुरीले छिलेर आफू हिंड्न मिल्ने ठाउँ मात्र बनाएको थियो । यही घारी झ्याम्मिएको नागाबेली बाटोमा अघि देखेको आगोको अगुल्टो गायब भयो ।
‘रक्षा गर ठाकुर ।’ घट्टावारे ग्लान साँजीले देउतालाई बल माग्यो । तर्सिन खोजेको मनलाई बलियो गरी बाँध्यो । अघिदेखि हिउँ जमेझैं स्थिर भइरहेको पाइला फेरि अघि सार्न थाल्यो ।
‘गन गन गुन गुन ।’ अर्को घुम्दिमा पुग्नै लाग्दा त अस्पष्ट कुरा नै पो बोलेको सुनिन थाल्यो ।
‘यो मध्यान्हा रातमा को होला ?’ मन तुलबुल भयो । चप्पल नलाएका कारण पाइला सार्दा स्यारस्यार स्युरस्युर स्वर निस्कने कुरा भएन । बिरालोको चालमा घट्टावारे ग्लान साँजी खुरुखुरु अघि बढ्यो ।
‘गुहार गुहार । हत्तेरिका । थुक्का साला । थुथुथु… ।’ हारगुहार र गाली बर्साउँदै घट्टावारे बेहोस भएर आफैंले बोकिरहेको भारीमाथि उत्तानो पल्ट्यो । सित र तुसारोले भिजेर चिसो भएपछि उनको होस खुल्यो । पिठोको भारी त्यही छाडी राखेर दौडदै उनी घरमा पुग्यो । बाटोमा दुब्ले बाइ मसान बनेर बाटो छेकेकोले आफू बेहोस भएर ढलेको र बल्ल तल्ल होस फिरेर आफू घर आइपुगेको कुरा उनले श्रीमतीलाई सुनायो । बुढाको कुरा सुनेर श्रीमती चाहिँको पनि शरीर काम्यो । घट्टावारेको सातो गएर बिरामी भएका कारण भोलिपल्ट धामी ल्याएर सातो बोलायो ।
‘दुब्ले बाइ मसान बन्यो रे ।’ भोटथुम, कुडुले, बेसिटोल गाउँभरि हल्ला भयो । यो गाउँका मान्छेहरु यति डराए कि साँझ परेपछि दोबाटोमा निस्केर दिशापिसाब गर्न पनि छाड्यो ।
साँझ अलि अलि मात्र ज्वरो थियो । रात छिप्पिँदै गएपछि झन् बढ्न थाल्यो । तिनतारा घर माथिमाथि आइपुग्ने बेलासम्ममा होस हराउने, आउने गर्न थाल्यो ।
‘ठूलीकान्छी त मर्ने नै भइन् कि के हो छोरीकी बुबा ?’ ज्वरोले निस्लोट भएकी छोरीलाई काखमा लिएर वाईबा पाराङको जहान रुन थालिन् ।
‘मर्दिनन् । डराउनु पर्दैन ।’ वाईबा पाराङले बुढीलाई सान्त्वना दिन खोजे पनि आफू भने भित्रभित्रै डराइसकेका थिए ।
‘छोरी त मर्ने नै भइन् क्यार !’ बुढीको काखमा लम्पसार पल्टिरहेकी छोरीको निधार छाम्दा छाम्दै अघिसम्म बुढीलाई सान्त्वना दिइरहेको वाईबा पाराङको मुखबाट एक्कासी कुरा फुत्क्यो । बुढोको कुरा सुनेर बुढी चाहिँ जिउ फ्यालेर रुन थालिन् । उनले बुढीलाई कसो कसो फाकाए र ठाकुर डाँडामा झाँक्री लिन जान तयार भयो ।
‘दुब्ले बुढो मसान बनेर हिँडिरहेको छ रे ! होस् पुर्याएर जानु होला है छोरीकी बुबा ।’ घरबाट निस्कने बेला उनलाई बुढीले सचेत गराइन् । नाम चाहिँ बेंसिटोल गाउँ तर नामको मात्र । घर चाहिँ आफ्नो मात्र भएको हुनाले साथी लानलाई पनि कोही नपाउने । छोरा छोरी ससानै भएको हुनाले साथी लाने कुरा पनि भएन ।
‘च्यापलाङ च्योपलोङ, च्यापलाङ च्योपलोङ’ रामपुर पसल नाघेर ठाकुरथान पुग्न पुग्न लागेको बेला बाटोमा भएको खोलाको पानीमा कसैले पाइला चालेको जस्तो सुनियो । औँसीको रातको अन्धकारले गर्दा केही पनि देखिएन । वाईबा पाराङको आङ फुकेर आयो । ऊ अगाडि बढ्न नसकेर त्यही हडबडिएर उभियो । हेर्दा हेर्दै उनले आफ्नो अगाडि मान्छेको छाया देख्यो ।
‘ओम माने पेमे, ओम माने पेमे, भाग दुब्ले भुत ।’ एक्कासी ऊ चिच्यायो । अहो ! मसान त त्यही पो ठिङ्ग उभिएर बसि रह्यो । उनको होस खुल्दा त अघि घरबाट हिँड्दा घरमाथि टल्किरहेको आकाशको तिनतारा राङजा डाँडाको टुप्पोतिर पो टल्किरहेको थियो ।
दुब्ले मसानले गाउँवालाको सातो लग्यो । यो घटनापछि त झन् मान्छेहरु जस्तै आपत विपत पर्दा पनि साँझपछि घरबाट बाहिर निस्कनै छाड्यो ।
‘साहुको ऋण खाएर मरेका आसामीहरुको आत्मले शान्ति पाउँदैनन् रे भनेको हो रहेछ !’ गाउँलेहरुले भन्न थाले, ‘बिचरा ! रामपुरे साहुको आत्म ऋण तिर्न नपाएर तड्पेर हिँडिरहेको जस्तो छ ।’ गाउँका मान्छेहरुले उनको आत्मशान्तिको लागि शान्ति स्वस्ति पूजापाठ गर्नुपर्ने कुरा गरे । आफ्नो सातो लगेका कारण ग्लान साँजी र वाईबा पाराङ मिलेर लामा ल्याएर पूजापाठको मेसो गर्यो । चौकी डाँडाभन्दा अन्य ठाउँमा लामा थिएन । लामागुरु फुर्सद नभएका कारण धामी ल्याएर मसान मन्साउने सल्लाह भयो । यहाँको सबैभन्दा नामी धामी ठाकुरडाँडाको वाईबा बाबु ल्याए । उनले आफ्नो न्वारानदेखिको ज्ञान निकाल्यो । गर्नुपर्ने विधिको केही पनि तुस बाँकी राखेनन् ।
‘ह्वाँ ह्वाँ, उहु उहु ।’ यहाँ गाउँघरतिरको भन्दा निकै कालो अनुहारमा टिलिक्क टल्केको दाँत देखाएर, यामनको पेट बोकेको एकजना मधेशीमूलको बुढा किरियापुत्री बसेको गोठछेऊमा बसेर आफ्नो टाउको आफैंले ठोकेर रोइरहेको छ । उनीसँगै आएका अन्य चारजना मान्छे भने उनीहरुलाई देखेर भेला हुन आइपुगेका यताउता गाउँका मान्छेहरुसँग कुरा गरिरहेका छन् ।
‘कहिले बितेका हुन् रामपुरे साहु बुढो ?’ मधेशीमूलका ती बुढासँग आएका चार जनामध्येको एकजनाले सोध्यो ।
‘दश दिन भयो ।’ कुरा त त्यो मान्छेले वाईबा पाराङको जहानलाई सोधेका थिए तर बिचैमा कुरा काटेर रामपुरे साहु बुढाका जेठी बुहारीले जवाफ दिए ।
‘चिहान कहाँ हो नि ?’ अर्कोले सोध्यो ।
‘उ त्यो दोभानमा ।’ साहु बुढाका माइली बुहारीले त्यहीबाट औंलाले ईशारा गर्दै देखाइन् । ती चार जना र मधेशीमूलका बुढा चिहान हेर्न दोभानमा अवस्थित घाटमा पुग्यो । मुर्दा पोलेर खोलामा सेलाएका काठका मुढाहरु, अंगारहरु सुकेको खोलाको थोरै पानीले बगाउन नसकेका कारण सतहमा तैरी रहेका थिए ।
‘मेरो बीस हजार खाएर कसरी सास जान सक्यो नि तिम्रो ….।’ चिहानको खरानी समाएर फेरि मधेशीमूलका बुढा ग्वाँग्वाँ रुन थाल्यो । बुढालाई ती चार जनामध्ये एकजनाले सान्त्वना दिएर थमथमायो । तीनजना चाहिँ गाउँलेहरुको हूलमा आएर सोधपुछ गर्न थाल्यो ।
‘साहु बुढो बिमारी थियो ?’
‘हामीले देख्दा त त्यस्तो देखिन्नथ्यो ।’
‘साहु बुढा बितेको तपाईहरुले देख्नुभयो ?’
‘देखेनौं ।’
‘मलामी को को जानु भयो ?’
‘राती बितेको कारण उनीहरुको घरपरिवार मात्र ।’
मधेशीमूलका बुढोसँग आएका मान्छेहरुले गाउँलेहरुसँग बस् यति कुरा मात्र सोध्यो । अरु केही पनि सोधीखोजी गरेनन् । गाउँका मान्छेहरुले भने यो कुरा सोध्नुको कुनै कारण देखेनन् । यो गाउँ तामाङ बसोबास गाउँ हो । आफ्नो बाहेक अरु जातले छोयो भने जागित्रा बन्छ रे भन्ने विश्वासका कारण अन्य जातकोमा मलामी जाने चलन पनि थिएन । यहाँ ज्यार्दि (आर्य)हरु मर्दा घरमा सास गए अपकुशन हुन्छ भन्ने परम्परा थियो । यसकारण मान्छे बाँच्दैन भन्ने पक्कापक्की भएपछि धुकधुकी बाँकी हुँदै घाटमा लगेर बिरामीको खुट्टालाई पानीमा डुबाएर राख्ने चलन थियो । साहु बुढाको सास जाने बेलामा गाउँलेहरु सुतिसकेका हुनाले उनको सदगत कसैले पनि देख्ने कुरो आएन ।
‘लौ यहाँ रोएर बसेर केही फाईदा छैन ।’ मधेशीमूलका बुढालाई उनीसँगै आएका साथीहरुले सान्त्वना दिए, ‘भावीले यस्तै लखेको रहेछ र….।’ रामपुरे साहुलाई खोज्दै खोज्दै भेट्न आएका तिनीहरु आफ्नै गन्तव्य स्थानतिर फर्किएर गयो ।
ग्लान साँजीले राती घट्टा रुङ्ना छाड्यो । वाईबा पाराङ ठाकुरथानको खेततिर जान छाड्यो । गाउँका मान्छेहरु मसान बनेका दुब्ले बाइ आउँछ भनेर पश्चिमी डाँडामा एक जुवा घाम हुँदै काम छाडेर घर आउन थाले । जुठो परेको घरको किरियापुत्रीको कर्म पनि सक्यो । अन्य जात जातिसँग दोहोरो कुरा गर्न मिल्ने भयो ।
‘बुबालाई ऋण दिएको थिएँ ।’ ग्लान दाजुभाइ र वाईबा पाराङले दुब्लेका दुई छोरा बुहारीहरुसँग संयुक्त कुरा राख्यो ।
‘खोई हजुर ! बुबाले सास जाने बेलामा यो कुरा त केही पनि जानकारी दिनुभएन ।’ दुब्ले बाइको ठूलो छोराचाहिले विनम्रता पूर्वक अनभिज्ञता दर्शायो, ‘तपाईंहरुको ऋण भएको भए बुबाले मर्ने बेलामा त कुरा नलुकाउनु पर्ने हो । तपाईंहरुसँग ऋण लिएको प्रमाण भए त हामीले पनि नतिरी सन्चो पाउने कुरा त होइन यो । केही प्रमाण छ कि त काकाहरुसँग ?’ विश्वासमा उनीहरुले कसैले पनि कुनै कागनपत्र बनाएको थिएन । फेरि ऋण दिनेबेला हकवालाहरुसँग सोधनी गरेर दिएको पनि थिएन । यी साहुहरुसँग लिने र दिनेसँगको आत्मसाक्षीबाहेक कुनै प्रमाण भएन । सास जाने बेलामा पनि फेरि दुब्ले बाइले यो कुरा छोरा बुहारीहरु कसैलाई पनि भनेनन् । आफ्नो जीवनभर दुःख गरेर कमाएको रकम क्षणभरमै हराएको हुनाले तीन भाइ साहुहरु अध्याँरो मुख लाएर आआफ्नो घरको बाटो समाए ।
‘रामपुरे साहु दुब्ले बाइ पुलिसले समायो रे !’ रामपुर पसलको खोलाछेऊतिर गोठालो गएका गोठाला गोठाल्नी बच्चाहरुले खबर ल्याए । एकैछिनमा यो खबर बेसिटोल, कुडुले, घाराङ ब्ले, भोटथुमतिर खरबारीमा सल्केको डडेलोझैं सरसराउन पुग्यो । वाईबा पाराङ, ग्लान पाराङ र ग्लान साँजीको कानमा पनि सुसाउन पुग्यो ।
‘जिउँदो भए पो समाउनु ? मरेर अस्ति नै मसान बनिसक्यो ।’ वाईबा पाराङ र ग्लान साँजीले यो खबरलाई पत्याएनन्, ‘इस् ! कुनचाहिँ बहुला गोठालोले यस्तो खबर फैलायो होला… ।’ उल्टै खबर ल्याउनेहरुलाई श्राप्यो । यस्तो खबर ल्याउनेलाई श्राप्नु पनि किन नश्राप्नु यी दुई भाइले मसान बनेर रातीराती डुली हिँडेको आफ्नै आँखाले देखेका थिए । चोक्टेबाट ग्लान पाराङ कुँडुलेतिर कुद्दै आयो ।
‘हिँड् भाइ । साहु बुढालाई पुलिसले पक्रेर राखेको छ रे ।’ कुँडुले पुगेर भाइ ग्लान साँजीलाई भन्यो । ग्लान साँजी त्यहाँ जानलाई मान्न खोजेन ।
‘नहुने खबर भए यसरी सानसनी मच्चाएर कसरी आउँछ त ?’ भाइले जानलाई आनाकानी गरेको देखेर दाइचाहिँले अलिक धम्किको भाषा बोल्यो, ‘हो रहेछ भने म त मेरो मात्र काम गर्छु नि फेरि ।’ ग्लान साँजी पनि दाजुसँगै रामपुर पसलतिर दौडियो । ती दुई दाजुभाइ गएको देखेर वाईबा पाराङ पनि पछि लाग्दै कुद्यो । अचम्मै भयो । मरेर मसान बनिसकेको रामपुरे साहु त जिउँदै पो रहेछ । पुलिसले हात खुट्टा बाँधेर पसलको छेउको बरको चौतारोमा लडाइराखेका रहेछन् । अस्ति धम्मरधुस अनुहार बनाएर रोइरहेको मधेशीमूलको यामानको भुँडीवाल बुढो चाहिँ छेवैमा बसेर कालो अनुहारमा दर्शन ढुङ्गोझैं टिलिक्क टल्केको दाँत देखाएर हाँसिरहेको थियो, ‘हि हि हि हिहिहि…।’
‘मलाई कृपा गरेर छाडिदिनुहोस् हजुर ! म सबै साहुहरुको रकम तिर्छु ।’
बारम्बार ताकेता गर्दा पनि ऋण तिर्न नमानेपछि मधेशमूलका ती साहुले पुलिस लिएर आउने धम्की दिएका रहेछन् । त्यो कुरालाई पनि दुब्ले बाइले अटेर गरेर बसेका रहेछन् । त्यस दिन समाउनलाई ती साहुले पुलिस लिएर आउँदै छन् रे ! भन्ने सुनेपछि घरपरिवारसँग सल्लाह गरेर जिउँदै मान्छे मरेको हल्ला फिँजाएर काजकिरिया गर्न लगाएका दुब्ले बाइ डरले थरथर काँपेर गुहार माग्दै थियो, ‘अब जीवनमा कहिल्यै पनि यस्तो कुबुद्धिमा लाग्दिनँ । ठाकुर देवताको कसम खान्छु ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।