बादलका काला मुस्ला एकअर्काको काँध ठोक्काउँदै यसरी गर्जदै थिए । मानौँ प्रकृतिले आफ्नो विनाशलाई सुपारी दिइरहेको छ । गर्जनसँगै परेका चट्याङको उज्यालो नै हो सायद अन्धकारमा लुकेका दर्शन ढुङ्गाहरूको डर । उज्यालो पनि कति दर्दनाक, उफ् ! सिरानीतिर खुट्टा राखेर पल्टिएको विशेष सोच्छ, “बादलले एक अञ्जुली आँसु उधारो दिए यी थामी नसक्नु भावना बगाएर परेला निथ्रुक्क भिजाउनु हुन्थ्यो नि । कति आफूमात्र रोएको होला !”

सोच्न त मनमनमै सोचेको थियो तर ओठको लगाम फुस्किएछ क्यारे शून्यताले पनि सुन्यो । शून्यतासँगसँगै अर्का दुईवटा खाटमा लम्पसार परेका विमर्श र अभिले पनि सुने । अभि भन्छ, “रुनै मन लाको भए आइजा तेरो टुप्पी रिङ्गाइदिन्छु अनि रोइ … कहीँ नभएको दुखीआत्मा ।”

“तेस्तो नभन न, बिचरा कति कुरा खप्दै होला !”, विमर्शले आश्वासन दिन्छ ।

विशेषको बुबाको आत्माले स्वर्ग छोएको भर्खर १८ दिन मात्र भएको थियो । बादलसँग आँसु उधारो माग्नुको कारण सायद आमाको देहावसानमै रित्तिएर होला, आँसु पनि आश पनि ।

एकछिनमा अभिले विमर्शतिर पुलुक्क हेर्दै विशेषलाई सोध्छ, “ल आज भन् त ! तेरा मनका हरेक भावना पोख् । हामी सुन्नलाई मात्र भए पनि छम् ।”

भुवन बास्तोला

अब भने ओठमा लगाम लागेछ। एक शब्द पनि फुटेन । बहिरोको दुनियाँभन्दा शान्त माहोल थियो । त्यत्तिकैमा विमर्शले भन्छ, “आफूलाई व्यक्त गर्न कारण चाहिन्छ, तर आफूलाई व्यक्त गर्नु नै कारण हो …. कस्ले पो भन्या थियो यो, ‘आइ उइउइ’ले हो क्या हो !”

विशेषले अलिअलि लेख्थ्यो पनि, साहित्य झैँ; उसमा उद्धारणको पनि उत्तिकै रुचि थियो । त्यसैले विमर्शले उसकै विधा अप्नायो ।

विशेषको बक्को अब फुट्यो । उसले आफ्नो दाइने हात टाउकोमा राख्दै भन्यो, “यो तालुमा कपालको साट्टो जिउने आशा उम्रिदिएको भए … हुन त आशा काट्ने हजामको कमि पनि त छैन, … समय छ, प्रतिशोध छ, तिमीहरु छौ, उनीहरु छन् ।”

दुबै स्तब्ध भए । एक टकमा उसलाई हेरिरहे ।  अभिले भन्यो, “अल्लि खुलेर भन् न ।”

विशेषले उत्तर दिइहाल्यो, “जे भन्छौ सोचेथेँ त्यही भनिस् । शब्दकोश रित्तिएर नै भावना बगाउन आँसु मागेको थिए ।”

विमर्शले जवाफ दियो, ” एक तिहाइँ जीवन बाँकी छ, बाँच्ने बाटो किन देख्दैनस् ?”

“बाँच्न बाटो होइन चाहत चाहिन्छ ।”

“चाहना किन छैन त नि ?”, अभिले सोद्यो ।

विशेषले विवश भएर उत्तर दिन्छ, “बुवा बित्नुभयो, बिहान सूर्यका किरणहरु जिम्मेवारी बोकेर शिर चुम्छन् । बादलले मेरा आँसु पनि पोखेर जिन्दगीको खेतमा मुल फुटाएको छ । र म उम्रन सक्ने बिउ पनि हुँ । तर, मलाई माटोको सट्टा भयले दबाएको छ ।”

“कस्तो भय ?”, विमर्शले वाक्य सक्किन नपाउँदै सोध्छ ।

“त्यस्तो भय जुन आदि कहाँबाट भयो थाहा छैन, जसको कारण थाहा छैन, लाग्छ त्यो अनन्तकालदेखि आनन्दले मेरो आत्मा खादै रमाइरहेको छ, लाग्छ जुन भयलाई कुनै ‘कारण’ले बयान गर्न सकिँदैन ।”

एकछिन टोलाइरहन्छ र फेरि आत्मालाई बोल्न दिन्छ, “सायद भयमा विश्वास हराएको छ, आशाले उठ्नै नसक्ने गरी अर्जुनका बाण खाएका छन् , र सायद जीवनको महाभारत लेख्ने मयुरको प्वाँख भाचिएर गयो !”

“सायद …!”, अभिले भन्छ ।

असारको झरी न थियो, कताको पोल ढल्यो कुन्नि अचानक बत्ती गयो ।

“उफ्! ल ठिक भयो अब उदासिनताको अनुहार हेर्नू परेन तिमीहरुले ।” विशेषले भन्यो ।

“ए साच्चै ! श्रेयाको कुरा कहाँसम्म पुग्यो ?”, विमर्शले सोध्यो ।

विशेषले भन्यो, “कुशको औँठी फुस्कियो भने असुभ हुन्छ भन्थे, मैले उन्लाई दिएको कुशको औँठी फुस्किएछ क्यारे ।”

“मदानी भाचियो तर घिउ निस्किएन !”, अभिले भन्यो ।

“कति साहित्यिक भाको के हामी ? सरलमै बोल्दा हुन्छ त !”, विमर्शले भन्यो ।

विशेषले प्रतिप्रश्न गर्यो, “यति भारी सोच हलुका शब्दले केलाउन कसरी सक्नु त ?”

“ल ल भैगो !”

“गीत सुनम् न ओए । बजाइ त विमर्श ।”, अभिले भन्यो ।

विमर्शले मोबाइल खोल्नै लाग्दा विशेषले भन्यो, “बिल्ली आइलिसको लभलि लगा है !”

गीत बज्यो । मौसम उस्तै थियो । रातीको २ बजिसक्यो । कुराकानीको विषयले बोलाएको स्तब्ध शून्यताको आवाजमा त्यो गीतको माधुर्य मिस्सिरहेको थियो । र सायद शब्दहरुमा भावना मिस्सिरहेका थिए । नभन्दै विशेषले गीतसँगै गाउन थाल्यो, “…need a place to hide, but I can’t find one near…wanna feel alive, outside I can’t fight my fear…”

विशेष भावनामा बग्दै थियो, विमर्शलाई अजिब लाग्यो र गीत बन्द गर्दियो । तर विशेषले केही पनि भनेन । एकछिनमा दुई ओठ छुट्टायो, “सन्सारको अस्तित्व कहिले मेट्टिएला है ? कि अस्तित्व को अर्थ नै छैन ? अर्थ नभए सन्सार किन छ ?”

“कहाँको कुरा थियो कहाँ आएर कुन छेउको कुरा गरेछस् यार ?”, विमर्शले भन्यो ।

फेरि कुरा फेर्यो र भन्यो, ” मेरो पढाइले नै भविस्य देख्दिन भनेर श्रेया गै, आमाको आशीर्वादले उहाँकै आशा कसरी मेटाउनु ?”

“छोड् यार सुतम् । धेरै भयो अब टाउको नदुखाम् ।”, विमर्शले भन्यो ।

धेरैपछि बल्ल अभिले बोल्दै, “ल यार ल सुतम् त नि ” भन्यो।

“ए अँ! सन्सारको अस्तित्व त कहिले मेटिन्छ थाहा भएन तर आफू मेटिएर सन्सारको अस्तित्व मेटाउन चाहिँ सकिन्छ ।”, अभिले थप्यो ।

विमर्श डराइसकेको थियो र सासले चुप चुप भन्दै अभिलाई थर्कायो र सबै आफ्नो आफ्नो बिस्तारामा पल्टिए । विशेष भने अभिको कुरा सोच्दै बस्यो र आफ्नो टाउकोबाट हटाउनै सकेन । यत्तिकैमा एकछिनमा तीनजना नै निदाएछन् क्यारे । विशेष भोलि पल्ट बिहान ८ बजेतिर बिउँझियो । यस्सो हेर्दा अभि र विमर्श दुई ओटै थिएनन्, घर गएछन् सोचेर आमालाई केही सोधेन ।

दिन उस्तै थियो, असारे पानी, टिनको छानोमा झमझम बजिरहेको थियो । कलेज पनि छुट्टी थियो । विशेषको दिमागबाट अझै अभिको कुरा निस्किएको थिएन । समयको महत्त्व उसको जिन्दगीबाट हराएको थियो, कसरी दिन बित्यो या बितायो, उसलाई केही भान भएन । साझ झ्याउकिरी भञ्ज्याङ्बाट कराए, ऊ सुनिरह्यो सोच्दै, “मेरा कहानी झैँ यिनीहरु नि आफ्ना व्यथा सुनाउँदै होलान् ।”

रात पर्यो, आमाले खाना खान बोलाउनु भयो, गयो र बल गरी गरी खाँदा नि नसकेर एक चोइली भात फाल्यो । त्यति गरेपछि फेरि आफ्नै कोठामा गयो। पल्टियो । हिजोको गफगाफ सबै फेरि स्मरण गर्यो । एकछिनमा मनमनै सोच्यो, “अभिले मेरो मृत्युको आह्वान त गरेको होइन ?” र उतिबेलै उसका आँखा घडीतिर ढल्किए र दुर्भाग्यपूर्ण १:११ भएको थियो । उसले ब्रह्माण्डले पठाएको निर्देशन पनि यही रहेछ सोच्यो । साइकोलोजीले कुनै मान्छेमा आत्महत्याको सोच आएको छ भने उसले २ देखि ८ घन्टा भित्र आत्महत्या गर्छ र यदि गरेन भने उसमा केही महिना या वर्ष नै त्यस्ता सोच आउदैनन् भन्छ ।

ऊ एउटा लेखकको हैसियतले टेबलमा लेख्न बस्यो । पाना पल्टायो, कलम खोल्यो र सोच्दै नसोची लेख्न थाल्यो ।

“हराइ जाला चङ्गा लठ्ठाको धागो चुँडी गए
चल्थ्यो सास उसैले मात्र जीवन हुनि भए
विशेष किन विशेष भएन, कसरी भएन ?
अवशेष मेरो, न शरीर रह्यो आत्मा रहेन।
होला समय पर्यन्त केही, बाँच्ने प्रयत्न कहीँ
हात रोकेँ सास रोकेँ साहस रोकेँ, यहीँ यहीँ ….!”

यति लेख्ना साथ कलम जस्ताको तस्तै राखेर, चक्कुले दुबै हातका नाडी काट्यो । रगत त्यसरी बग्दै थियो मानौँ पानीको बाँध भर्खर मात्र खोलियो । र त्यो भेलसँगै आत्मा बग्दै गएको थियो, सास मर्दै गएको थियो । जीवन भोगाइभन्दा त्यो दुखाइले आनन्द दिएको थियो । ऊ मुक्त हुँदै थियो । आँखा बन्द भए र भुइँमा ढल्यो । बद्र्याङ आवाज आयो, आमा बिउँझिनु भयो र हस्याङफस्याङ जाँदा रगतको आहाल र बेहोस छोरा देख्दा अक्क न बक्क परेर भक्कानो छोडेर रुन थाल्नुभयो । नजिक जाने पनि हिम्मत थिएन । कस्सो एम्बुलेन्स बोलाउने मेसो चाहिँ पाउनुभएछ । एक्लै मान्छे, डर र त्रासमा आफूलाइ डुबाएर रुन थाल्नु भयो, लाग्यो सृष्टिको अन्त्य आज नै हो । आफ्नो सारी च्यातेर नाडीमा बाध्नु भयो । एम्बुलेन्स छिट्टै नै आइपुग्यो ।

हस्पिटल ल्याइपुर्याउँदा निकै नै रगत गैसकेको थियो । डाक्टरले पहिल्यै गाह्रो छ भन्दिसकेको थियो । त्यही पनि आमाको मन न हो, भएभरिका भगवान् सम्झँदै प्राथना गर्दै, त्यही च्यातिएको सारीले सुक्क सुक्क आँसु पुस्दै, अप्रेसन थिएटर बाहिर कुरिरहेकी थिइन्। फक्रन नपाउँदैको फूल झर्दै गरेको कुन फूलको बोटले सहन सक्ला ? फुट्न नपाउँदैको मुल सुक्दै गरेको कुन रुखको फेदले सहन सक्ला ? अयोध्यामा रामको पर्खाइसरि कुरिरहेकी एक लाचार आमाका कानमा करिब ३ घन्टापछि “खतराबाट मुक्त छन्” भन्ने स्वर्गीय वाक्यको झन्कार भयो । उनको खस्नै लागेको मुटु ठाउँमा आयो र डाक्टरको पाउ नै छुन गई छोरालाई भेट्न गइन् ।

थेरापिस्ट पनि त्यही नै थिए । आमा पस्ने बितिकै उसले सोधे, “मर्न हिम्मत जुटाउन सक्नेले बाच्न हिम्मत जुटाउन किन सकेन ? लाखौं तारा छन् तर अन्धकार पन्छ्याउन उही जूनको आवस्यकता हुन्छ । तिमी उही जूनझैँ कारण किन खोज्दैनौ ? आमाको अनुहार हेर त, करोडौं कस्तुरी त्यहीँ छन् ।”

उसले आमातिर पुलुक्क हेर्यो । केही बोल्न सकेन, न आमा केही बोल्न सकिन् । उनी गएर अङ्गालो हालेर रुन थालिन् र सोधिन्,”किन छोरा ? किन मार्न चाहिस् मलाई ?” ऊ अक्क न बक्क पर्यो, मन शून्य भयो, तन मन्द भयो । एकछिनमा “त्यहाँ बसेको अभि छ नि ? उसैको निर्देशनमा हो। ” भनेर ढोकाको आडैमा भएको कुर्सीतिर औंलाले देखाउन थाल्यो ।

थेरापिस्ट र आमा दुबै पछाडि फर्किएर हेरे । कोही पनि देखेनन् ।

“को अभि, बाबू ?” , आमाले सोधिन् ।

“लौ मेरो साथी के त नि ? अभि र विमर्श त्यहीँ त छन् नि हेर्नू न !”, विशेषले भन्यो।

उनीहरु फेरि फर्किएर हेरे तर कोही थिएनन् । अब थेरापिस्ट अल्लि अगाडि गयो र सोध्यो, “कहिलेदेखि बनाएको यिनीहरुलाई साथी ?”

“खै ! थाहा भएन ।”, एकछिन सोचेर उत्तर दियो । उसलाई अभि र विमर्श कहिले साथी भए, कुन स्थानबाट भए ? थाहा भएन । तिनीहरूको भौतिक अस्तित्व कहिल्यै थिएन, सिर्फ विशेषको मस्तिष्कमा थियो । वास्तवमा अभि भन्नु नै विमर्श थियो, विमर्श भन्नु नै विशेष थियो । यो कुरा थेरापिस्टले विशेषलाइ भन्दै गर्दा विशेष छाँगाबाट खसेजस्तो भयो।

“यो dissociative disorders भित्र पर्छ । खासमा आफ्नो एक्लोपन दूर गर्न दिमागले वास्तविकता नै अर्कै बनाइदिन्छ र यसलाई हामी आजकल tulpamancy पनि भन्छौं ।”, थेरापिस्टले भने ।

विशेष आफैंले सोध्यो, ” किन हुन्छ यस्तो ?”

“कुण्ठा ! अव्यक्त भावना र इच्छाको असामान्य प्रतिकार ।”