
“फेरि एक-एक पावा दिनुपर्यो भाउजू ! ”
“सुकुटी नि ?”’
“आँ, त्यो पनि ।”
“कति ठाम ?”
“पाँचै जनालाई चाँडै बनाएर ल्याउनोस है !”
“खुकुरी क्लियोप्याट्राभन्दा त यही लोकल नै टप हुन्छ ।”
“कुरै छोड न फेरि बनाएको कसले नि ! ”
“यो भट्टीकी भाउजूले बनाएको जे पनि मीठो हुन्छ ।”
“त्यै त भन्या कहिलेकाहीँ काँचै सुकुटी पनि भाउजूले बनाएपछि स्वादै अर्को ! ”
“हामीले योसमेत कति पावा हुन्छ, खाएको ?”’
“काँ पावा भन्छौ सेर भन न सेर…।”
“एक पावा, दुई, तीन, चार त्योसम्म पाँच…छ…पहिले खाएको ती पावा फेरि अगि एक पावा…।”
“गन्न त आउँछ कि ?”
“बाठो भयौ तिमी मात्रै जान्नेजस्तो ! ”
“कसले भन्यो तिमीले बाहेक गन्न जान्दैन भनेर ! ”
“हेर न जँड्याहा जस्तो बोल्छ ।”
“रक्सी हातमा भएपछि के तँ सरिफ ?”
“लु ल्याइदिएँ सुकुटी फेरि चाहिन्छ भने पनि तयार छ… ।”
“भाउजू ! नजानोस् न।”
“जानोस् जानोस् ।”
“कति जिस्काएको हौ मलाई….।”
“जिस्काएको हो के त… तपाईँकी छोरी नै दस क्लास पढ्ने भैसकी तपाईँलाई किन जिस्काइराख्ने !”
“हा….हा….. हा…..!”
“हा…. हा…. हा….!”
“हैन भाउजू….तपाईँलाई अबदेखि साउनी भन्छौं है ?”
“जे भन्नोस् …।”
“कस्तो रिसाउनुभा’को नि !”
“अनि नानाथरी भनेपछि को सिसाउँदैन त ?”
“हो ठीक भन्नुभो, यिनीहरूलाई पिएपछि बढ्ता नबोली हुँदैन…।”
“अँ, अब भने मजा आयो यो पनि बोल्न थाल्यो ।”
“म गएँ… सुकुटी चाहियो भने भन्नुहोला… पल्लो कोठामा पनि दुई सेर रक्सी भन्दै थियो ।”
“जानोस्, आरासमसँग जानोस् ।”
“एइ ! भाउजू गयो हैन, तेसो भा’ त्यो ढोका लाइदे-लाइदे अरूले देख्ला ।”
“देखे के भो त ?”
“अफिसर भएर पिउने भन्छन् नि !”
“नभनेको होर ?”’
“ए ! कस्ले त्यसो भन्यो हँ ?”
“तिमीलाई थाहा छैन…अस्ति चोकमा केटाहरू उफ्रिदै थिए रे !”
“के अनेर उफ्रिदै थिए हँ ?”
“के भन्छन् र ! हामीले रक्सी खाएर मात्यौं रे, अफिसर भएर दमाई जस्तो भयौं रे ।”
“कसका बाबुको धन खाएका छौं र हामीले ? को हो त्यसो भन्ने पाता फर्काउनु पर्दैन ?”
“हो, हो अबदेखि जसले हाम्रो विरोधमा बोल्छ त्यसलाई पाता फर्काउने ।”
“हुन पनि हामीले ओभर खान थाल्यौं हौ ।”
“केको ओभर ? अफिस टायममा खा’ छैनौं पाँच बजेसम्म पो अफिसर हौं त त्यसपछि त सर्वसाधारण,..।”
“अस्ति भाषण गर्दा तिमी नै हौ त मादक पदार्थको सेवनले हानि गर्छ… हामीलै विकास गर्न अगि बढ्नु छ भने अब पार्टीहरूमा पनि रक्सी बन्द गर्नुपर्छ… भनेको ।”
“ए त्यसो भनेँ र ?”
“किन भनेनौ, मादक पदार्थ उन्मूलनगोष्ठीको सभापति भएको हैनौ तिमी ?”
“ए याद आयो… छोड्देऊ यार ! जसले जुन कुराको अनुभव गर्छ त्यसले त्यसैको व्याख्यान गर्न जान्दछ । रक्सीले के गर्छ भन्ने कुरो अब हामीलाई पूर्ण अनुभव छ ।”
“ठीक…ठीक…वाह ! क्या उदाहरण दियौ…।”
“यसैले त यत्रो ठूलो पोस्ट पाइरा’छु ।”
“हामी पाँच जनामध्ये बढी अधिकार तिमीलाई नै त प्राप्त छ ।”
“त्यसो त हामी पनि आ-आफ्नो कार्यालयको त हाकिम हौं हाकिम ।”
“एइ हाकिमसाब ! तिम्रो अफिसमा त्यो काम गर्ने के रे…टाइपिस्ट छे नि….”
“मिट्ठू ?”
“अँ…वाह ! क्या राम्री छे हैन ?”
“कुरा छोड्न त्यसको त ।”
“मिलाउँछौ ?”
“पक्का ।”
“पक्का ।”
“ए अलिकति रक्सी हाल…हाल…भयो…भयो !”
“कडा रैछ हौ !”
“त्यतिलाई पनि कडा भन्छौ… केको अफिसर ?”
“अफिसर भन्दैमा के भगवान् भइन्छ र !”
“भगवानसरह नै हो…हो…।”
“कति बज्यो हौ ?”
“साढे नौ बज्यो ।”
“हो के त हौ घाम पनि अस्ताएको छैन त ?”
“मध्यरात हुन आँटिसक्यो घाम अस्ताउने कुरा गर्छौ ।”
“त्यसो भा’ चाँडै जानुपर्छ, मार्छे बूढीले ।”
“हैन यतै सुत्नुपर्छ आज… बाहिरै मातेको देखे के भन्छन् ?”
“भोलि बिहान झन् शङ्का गर्छ ।”
“शङ्का-शङ्का यस्तै हो भोलि सबेरै मेरो फिल्ड जानु छ । गाउँमा तालिम दिनु छ यार !”
“के को तालिम बेपत्तामा !”
“विकास गर्ने टेक्निक नै जान्दैनन् क्यार !”
“तिम्रै हातमा त छ नि तालिम पर्सि दिए पनि हुन्छ ।”
“हुन्छ, केही फरक पर्देन ।”
“सकियो कि क्या हो रक्सी । ए खतम भैगएछ नि !”
“अर्को एक बोतल मगाउनुपर्छ कि ?”
“भयो अब त छाद्ने बेला भैसक्यो ।”
“जाऊँ त त्यसो भए !”
“उठ !”
“लु ढोका कसले खोल्ने ?”
“म खोल्छु म ।”
“ल जाऊँ ।”
“हेन हौ यो त माथि बुइँगलमा जाने भर्याङ होइन ?”
“काँको बुइँगलमा छिँडीमा छिँडीमा…।”
“कता हौ बाटो ?”
“ए ए….लु खाइस् । रगत आयो ?”
“को लड्यो हौ माथि ?”
“ए साउनी हो ! साउनी… हाम्रो पिउनलाई माथि पठाइदिनुहोस् बाटो त देख्नै छाडियो।”
“बिस्तारै है…बिस्तारै ।”
“हँ बल्ल सडक निस्कियो…लु…बाई…बाई !”
“टाटा… टाटा ।”
“सि यु टुमारो, ..बाई…बाई,।”
“भोलि साँझ फेरि यहीं भेटौं है !”
अशेष मल्लको कथासङ्ग्रह ‘अर्धविराम’बाट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

