साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

विश्वका उत्कृष्ट कथाहरू, स्यार्डिनियाली फ्याउरो

Chovar Blues Mobile Size

                                       स्यार्डिनियाली फ्याउरो

                                                            ग्राजिया देलेद्दा

 

ग्राजिया देलेद्दाको जन्म सन्‌ १८७५ मा इटालीको सार्डिनियामा भएको हो । साहित्यमा सन्‌ १९२६ को नोबेल पुरस्कार पाउने दोस्री महिला लेखिका हुन्‌ उनी । प्राथिमक तहमै स्कुल छाडे पनि तेह्र वर्षकै उमेरमा पहिलो उपन्यास साङ्गे स्यार्दो लेख्न थालिन्‌ । पुगनपुग बिस वर्षको उमेरमा उनको सार्डिनियन टेल्ज नामको कथा सङ्ग्रह प्रकाशित भयो, जसबाट उनले धेरै चर्चा बटुलिन्‌ । उनको अर्को चर्चित रचना एलियास पोर्तुलु हो जसमा समाज र प्रेमको द्वन्द्वलाई मुख्य विषयवस्तु बनाइएको छ ।

उपन्यास, कथा, कविता र आत्मसंस्मरण विधामा गरी जम्मा चार दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्‌ देलेद्दाका । मानवीय समस्यालाई अति सुक्ष्म ढङ्गले केलाउन सकेका हुनाले उनलाई सन्‌ १९२६ को नोबेल पुरस्कारद्वारा सम्मानित गरियो । दमदार उनको सर्वोत्कृष्ट उपन्यास हो । दी ओल्ड म्यात द माउन्टेन (१९००), आफ्टर द डिभोर्स १९०२), एसे (१९०४), द वुमनत एन्ड द प्रिस्ट (१९२०), मरियाना (१९२५), कोसिमा (१९३७) आदि उनका महत्त्वपूर्ण कृतिहरू हुन्‌ । उनको मृत्यु १५ अगस्ट १९३६ मा रोममा भयो

मे महिनाका लामा र गर्मी दिनहरू फेरि फर्के, अनि काका जिउ टोमस जसरी दश वर्षअघि बस्ने गर्थे, उसै गरी आज पनि घर अगाडिको खुला प्राङ्गणमा बसे, जुन पहाडको भिरालोलाई पृष्ठभूमिमा पारेर बनाइएको काला रङका ससाना घरहरूको पुछारमा पर्थ्यो । तर व्यर्थमा वसन्त त्रातुले एकदमै विचित्र खालको कामवासना जगाउने सुवास मास्तिर फ्याँकिदियो । बुढेसकालले जीर्ण बुढो कालो कुक्र र बुढो पहँलो बिरालोका बिचमा बसेका आफूवरिपरिका हरेक चिजजस्तै चेतनाशून्य र जड भएर बसेका थिए ।

घाँसको गन्धले राति मात्रै उनलाई चरन क्षेत्रको सम्झना गराउँथ्यो । जहाँ उनले जीवनका धेरै समय बिताएका थिए । अनि धेरै टाढा घामजस्तै सुनौलो र विशाल जून समुद्रबाट उदाउँदा अनि सेतो आकाशमुनी काला तटिय पर्बतहरू उभिएको पहाडहरू अनि क्षितिजअगाडि दाहिनेपट्टि उभिएको पहाडको अचम्मको अर्धवृत्त र विशाल उपत्यका ती सबै चिज प्रकाश र छायाँको जगमगाउँदो घुम्टोले छोपेको देखिन्थ्यो । त्यति बेला ती बुढा केटाकेटीजस्तो कुरा सोच्थे । जस्तो उनी लुस्बेका बारेमा, पापी आत्माहरू जो बँदेलमा परिणत भैसकेपछि तिनीहरूको चरन क्षेत्रसम्म लिएर जाने राक्षसको वारेमा सोच्ने गर्थे । जुन बादलभित्र लुकेको बेला उनी बडो गम्भीर भएर ब्याउन लागेका सातवटा गाईका बारेमा सोच्न पुग्थे, जसलाई त्यस बखत खानाकै रूपमा गुप्त स्थानमा बसेर पूरै पृथ्वीभरिका मानिस शान्तपूर्वक हसुर्न थाल्थे ।

उनी लगभग बोल्दै बोल्दैनथे भन्दा पनि हुन्छ । तर एक दिन साँझपख उनकी नातिनी जानाले “सुत्न जाने होइन हजुरबा ?” भनेर झक्फकाउँदा उनी त त्रिपालमा चुपचाप ठाडो र अररो भएर बसिराखेका, जानाले सोचिन्‌, हजुरबा त मरिसक्नु भो कि क्या हो । आत्तिएर उनले आफ्ना छिमेकी जिया लेनार्दालाई बोलाइन्‌ अनि दुवैजना उनलाई होसमा ल्याउन सफल भए । घरमा लगेर अगेनोसामु गुन्द्रीमा लमतन्न पारेर सुताइदिए ।

जिया लेनार्दा डाक्टरलाई बोलाउनुपर्यो छिटो । हजुरबा त लास जस्तै चिसो भैसक्नु भो” हजुरबालाई छुँदै जानाले भनिन्‌ ।

हाम्रा डाक्टर त हिँडिसके, कान रोगको अध्ययन गर्न भनेर दुई महिनाका लागि राजधानीतिर लागिसके किनभने उनको भनाइमा गाउँका सबै जना बहिरा भैसके रे ! चरनक्षेत्रको भाडा माग्दा कोही सुन्दैनन्‌ रे ! अटेरी गरिबस्छन्‌ रे !

यस्तो लाग्थ्यो मानौँ जनताको पैसाबाट उनले ती सबै जग्गा किनेकै होइनन्‌, कतै न्याय पाइहाल्छन्‌ कि त उनले । अब हामीसित अरू विकल्प छैन । उनको सद्टामा सहरको त्यही मूर्ख, घमन्डी डाक्टर मात्रै हो, जो आफूलाई स्पेनको राजाको दरबारिया निजी डाक्टर ठान्छन्, उनी आउँछन् कि आउँदैनन्‌ भन्न सकिन्न ।

“जिया लेनार्दा, उनी जसरी पनि आउनै पर्छ । बिस लिरा त लेलान्‌ नि।” जानाले ढिपी कस्दै भनिन्‌ ।

ती महिला बाहिरिइन्‌

सट्टामा आउने ती डाक्टर निजी डाक्टरकै घरमा बस्थे, पूरै गाउँमा बस्न लायकको घर त्यही एउटै मात्रै थियो । वरिपरि बगैँचा, ढुङ्गा, छापिएको छायाँदार बाटो, अङ्गुर र प्याजी रङको फलको लहराले ढाकेको ठुलो प्राङ्गण सानै भए पनि सहरबाट आएका ती सट्टा डाक्टरका लागि पनि उक्त घर सुविधाजनकै थियो । ठुलो सहरमा हुने दुराचार, हत्या हिंसा, वेश्या, जुवाघर सबै उपलब्ध थियो ती डाक्टरको गृहनगरमा । जिया लेनार्दा ती डाक्टरकहाँ पुग्दा उनी डाइनिङ्ग रुममा बसेर पहँला कभर भएका पुस्तक पढ्नमा व्यस्त थिए । डाइनिङ्‌ रुमको ढोका प्राङ्गणपट्टि खुल्थ्यो । उनले सोचिन्‌ पक्कै पनि डाक्टर उपचारसम्बन्धी पढाइमा व्यस्त होलान्‌ उनको नजिक मात्रै देख्ने आँखा पुस्तकको पेजमै गडेको देखिन्थ्यो । उनका सेता हातहरू आफ्नो कालो नरम गाला सुम्सुम्याउनमा व्यस्त देखिन्थे । काटिएका बाक्ला ओठहरूबाट उनको उछिट्टिएका दाँत देखिन्थ्यो ।

आउने महिलालाई देख्नुअघि घरकी नोकर्नीले उनलाई दुई चोटि बोलाउनु परेको थियो । उनले हत्तपत्त पुस्तक बन्द गरे अनि सुस्त र अन्यमनस्क डाक्टर जिया लेनार्दाको पछि पछि लागे । उनले डाक्टरसित बोल्ने आँट गरिनन्‌ । डाक्टरको अघि अघि लागिन्‌ मानौँ उनी बाटो देखाउँथिन्‌ ।

उफ्रिँदै छिटो छिटो चुपचाप साँघुरो गल्ली गेग्य्रान बाटो, जुनको उज्यालोमा उनीहरू अघि बढ्दै थिए ।

तल गहिरो उपत्यकामा महिलाको अँध्यारो झ्यालको सामुन्ने टाउको उठाउँदा पहाडका चाँदीजस्तै टल्किने चुचुराहरू देखे । उपत्यकाको सुवास भेडीगोठबाट आउने गन्धसित मिसिएको थियो । जुन झुपडीबाट आएको थियो, अनि ढोका अगाडि सिँढीमा यताउता पोको परेर बसेका भैडागोठलाको शरीरबाट पनि त्यस्तै आइरहेको थियो । त्यहाँका सबैथोक उराठ लाग्दा र भव्य देखिन्थे । तर जिउ टोमसको आँगनमा भने पराल र तेजपातको गन्धले भेडीगोठ र भेडागोठालाको शरीरबाट आएको गन्धलाई जितेको थियो, अनि होचो पर्खालसामु डिलमा जून र ताराको उज्यालोले लगभग पूरै झलमल्ल भएकी एउटी महिलाको पातलो स्वरूप देखे ती डाक्टरले, खास गरी कम्मरभन्दा मुनि पूरै लुकेको धर्काबिनाको । महिलाको त्यस्तो स्वरूपले डाक्टरलाई खम्बामा टाँसिएको अर्धप्रतिमाको झल्को दियो ।

डाक्टरलाई देख्नासाथ उनी भान्साकोठातिर लागिन्‌ अनि बत्ति बालिन हजुरबाको गुन्द्री छैउमा घुँडा टेकेर बसिन्‌ उता जिया लेनार्दा चाहिँ डाक्टरका लागि कुर्सी लिन अर्को कोठातिर दौडिन्‌ ।

त्यसपछि जानाले टाउको उठाइन्‌ र डाक्टरसित आँखा जुधाइन । डाक्टरले अविस्मरणीय हलचल महसुस गरे । उनलाई लाग्यो त्यस्तो आकर्षक र रहस्यमय अनुहारकी केटी त कहिल्यै देखेकै थिएनन्‌ । फराकिलो निधार टिलिक्क टक्किने चिल्लो कपालका दुईवटा केस्राले लगभग पूरै आँखीभौँ छोपेको, पुक्कमाथि उठेको च्यापु मुलायम जसले उनको गालामा सानो छायाँ पारेको देखिन्थ्यो, अनि पङ्क्ति मिलेका सेता दाँत, जसले उनको अभिमानी मुहारको निष्ठुरता प्रदर्शन गर्थ्यो भने उता उनका ठुला ठुला बल्ढयाँङ्ग्रे आँखाभरि गहिरो उदासिनता र थकान देखिन्थ्यो । यसरी आफ्नो पारख गरेको देखेपछि आफ्नो आँखा झुकाइन्‌ र त्यसपछि फेरि माथि उठाइनन्‌, तर जब डाक्टरको प्रश्नको जबाफ हजुरबाले फर्काउन नसकेपछि उनी गुन्गुनाइन्‌, उहाँले कान सुन्न छाडेको बिस वर्षभन्दा बढी भैसक्यो ।

“तिमीले डाक्टरलाई भनिनौ त ? त्यसो भए उहाँले खुट्टामा तातोपानीले मसाज (फुटबाथ) गर्नुपर्छ, ठिक पार, खुट्टा चिसोले कक्रेजस्तो छ ।”

“फुटबाथ गर्ने रे ! उहाँलाई पोल्दैन ?”

जिया लेनार्दाले जानासित सल्लाह लिँदै सोधिन्‌, “उहाँले जुत्ता नफुकालेकै आठ महिना भैसक्यो ।”

“ल ठिक छ, त्यसो भए अहिलेलाई उहाँलाई यहीँ छोडिदिने हो त ?”

“यहाँ नराखेर कहाँ राख्नु त अन्त ? उहाँ सधैँ यहीँ सुत्नुहुन्छ ।”

डाक्टर त्यहाँबाट उठे । प्रेस्क्रिप्सन लेखेर जानालाई दिएपछि उनले बरिपिर हेरे, काठको भर्याङ ओर्लेर उनी बाहिर निस्के । कोठा पनि गुफाजस्तै अँध्यारो थियो, सबै चिजबिजले चरम गरिबी झल्काउँथ्यो, दयाको दृष्टिले जानातिर हेरे उनले, गोरी अनि पातली उनलाई देख्दा कन्दरामा फुलेको कुमुदिनी फूलको याद आयो डाक्टरलाई ।

“बुढालाई पोसिलो खानेकुरा नपुगे जस्तो छ, साथै तिमीलाई पनि” डाक्टरले अलि अप्ठयारो मान्दै भने, “दुवैजनाले जित सकिन्छ पोषिलो खानेकुरा खानु……।”

तिनले डाक्टरको कुरा तुरुन्तै बुझिहालिन्‌ “हुन्छ हानी जे पनि गर्न सक्छौँ ।”

जानाको अभिव्यक्तिमा घृणाको भाव बढी थियो, त्यसैले डाक्टर हिनताबोध गर्दै बाहिरिए ।

बलौटे चट्टानको बाटो हुँदै उनी आफ्नो मरुद्यानतिर लागे, जूनको उज्यालोमा छायाँदार बाटो पनि टलक्क टल्केको देखिन्थ्यो, अनि फक्रेका प्याजी रङका फूलहरू अङ्गुरका झुप्पाजस्तै झुन्डिरहेका देखिन्थे, जसको सुवासले जो कोही पनि लट्ठिन्थ्यो । ढोकाको सँघारमा बसेर बुढी नोकर्नी चर्खामा धागो काटिरहेकी थिई । जानाको अनौठो अनुहार उनको आँखा वरिपिर घुमिरहेको थियो । उनले सोधे- “तिमी जीउ टामस अक्चीत्तुलाई चिन्छ्यौ ?”

“अक्चित्तु परिवारलाई नचिन्ने यहाँ को होला र ? नुओरोसम्म नाम चलेको छ उनीहरूको । जानासित बिहे गर्न सबै मरिहत्ते गर्छन्‌ ।”

“साँच्चै उनी निकै राम्री रहिछिन्‌, यसअघि मैले उनलाई कहिल्यै देखेको रहेनछु ।”

“घरबाट कहिल्यै बाहिर निस्किन्नन्‌ उनी । निस्किनु पनि किन पर्यो र पराईलाई । गुलाबको बास्ना त घरभित्र पनि फैलिन्छ भन्छन्‌ । विदेशीहरू त्यत्तिकै ओइरिन्छन्‌ त्यतिमात्रै हो र ? नुओरोदेखिका मान्छे उनको एक झल्को पाउनकै लागि मात्रै भए पनि आइपुग्छन्‌ के रे ? नगरमा उर्दी लगाई हिँड्ने पनि उनको सुन्दरताका बारेमा कराउँदै हिँड्न थालेको छकि क्याहो?”

“कुरा त्यसो होइन मालिक साहेब ती बुढा यति धनीमानी छन्‌ कि, उनी आफैँलाई थाहा छैन आफूसित कति सम्पत्ति छ भनेर । सिङ्गो स्पेनजित त उनको जग्गा जमिनै होला, अनि सुनिन्छ, बिस हजार स्कुडी भन्दा बढी पैसा कतै खाल्डोमा गाडेर राखेका छन्‌ रे । त्यो जानालाई मात्रै थाहा छ भन्छन्, तसर्थ उनी डन जुआचिनुसित समेत बिहे गर्न चाहन्नन्‌ जो निकै भद्र छन्‌ तर उनीजित धनी छैनन्‌ ।”

“अनि त्यत्रो बिधि धनसम्पत्ति चाहिँ कहाँबाट आएछ नि ?”

“यी संसारका सारा चिजहरू कहाँबाट आउँछन ! हो त्यहीँबाट भन्छन्‌, पहिला पहिला डाकुहरूको छापामा धेरैचोटि उनको पनि हात थियो रे (तर म ग्यारेन्टीका साथ भन्न सक्दिनँ) जति बेला घोडाको सिपाही आजको हाम्रो सैनिक प्रहरी जितको छिटोछरितो थिएन रे । त्यस बखत भेडा गोठालाहरू बोराभरि चिज, सुनको सिक्का र चाँदीकन प्लेट बोकेर घर फर्कँदै थिए रे….।

ती वृद्धाले धमाधम बयान गर्न थालिन्‌ मानौ धागोको गुजुल्टोबाट धागो फुत्काएजस्तो उनको स्मृतिबाट कथा फुतुफतु झर्दै थियो । डाक्टरले बडो ध्यानपूर्वक बुढीको कुरा सुने रुखको शितलमा, सुनका टुक्राले छर्के जस्तो अनुभव भो उनलाई । बल्ल उनले जानाको हाँसो र उनका यी शब्दहरूको आशय बुझे- “हामी जे पनि गर्न सक्छौँ ।”

पहिलो भेटको भोलिपल्टै डाक्टर जिउ टोमसकहाँ फर्के। ती वृद्ध, गुन्द्रीमा बसेर चिसो पानीमा भिजाएको जौको रोटी माक्लामुक्लुक पार्दै थिए । उनको एकापट्टि कुकुर अर्कोपट्टि बिरालो बसिराखेको थियो । होचो ढोकाबाट घामको उज्यालो छड्के परेर छिरेको थियो । मे महिनाको हावाले बुढाको शरीरबाट निस्केको नमिठो गन्ध फैलाएको थियो ।

“कस्तो छ तपाईंलाई, ठीक छ ?”

“हेरे भैहाल्यो नि ! आफैँले” खिसिट्युरीको भाषामा जानाले भनिन्‌ ।

“हुन्छ म आफैँ हेरिहाल्छु नि, जिउ टोमस, कति वर्ष हुनुभो तपाईं ?”

“म अझै सक्छु” बचेखुचेका दुई चारवटा काला दाँत देखाउँदै बुढाले भने ।

चपाउने कुरा गर्यो होला भन्ने बुभ्नुभो डाक्टर साहेबले । हजुरबातिर फर्किँदै दाहिने हातको बुढीऔँलाबाहेक अरू सबै औँला देखाउँदै जानाले भनिन्‌ “यी यसरी होइन त ?”

“ए कुरो त्यसो पो ! नब्बे । भगवानले मेरो रक्षा गरुन्‌ ।”

“भलो होस्‌ तपाईंको, मलाई आशा छ, तपाईं सय वर्षभन्दा बढी बाँच्नुहन्छ । अनि जाना, उहाँसित तिमी एक्लै बस्दै आएकी ?”

आफन्त, काका काकी भाइ भदाहा, अरू बुढाबुढी, केटाकेटी कसरी बिते उनले सबै बताइन्‌ डाक्टरलाई । मृत्युलाई उनले खासै महत्त्वपूर्ण घटना नठानी बडो शान्तपर्वक बोलिन्‌ तर डाक्टरले बुढातिर फर्किँदै ठूलो स्वरमा भने- “आफ्नो जीवनशैली बदल्नुस्‌, तपाईं सरसफाइमा ध्यान दिनुस्‌, रोस्ट खानुस्‌ अनि जानालाई अलि जीवनको आनन्द लुट्न दिनुस्‌ जिउ टोमस्‌ ।”

त्यसपछि बुढाले सोधै, “उनी कहिले फर्किँदै छन हँ ?

“को ?”

अहो !” जानाले भनिन्‌, “उही क्या त हाम्रो निजी डाक्टर, कहिले फर्केलान्‌ र कानको उपचार गरिदेलान्‌ भन्ने पिर छ उहाँलाई ।”

गज्जब उसो भए हाम्रो डाक्टर साहेबको ख्याति त खुब चम्केछ हैन ?”

बुढाले आफ्नै ढङ्गले सबै कुरा बुभ्दै गए । आफ्नो थोत्रो ज्याकेटको बाहुला सुम्सुम्याए जुन चिल्लोले गर्दा टिलिक्क टल्केको थियो । फोहोर देखियो हो ? यहाँको चलनै यस्तै छ, के गर्ने ।

“धनी मान्छेहरूले प्रदर्शन गरिहिँड्दैनन्‌ ।”

वास्तवमा साँच्चै भन्ने हो भने, डाक्टरले बडो गौढ गरेर हेरिसकेका थिए कि सहरमा सबैभन्दा सफासुग्घर भई बस्ने मान्छे भनेकै गरिबहरू हुन् ।

धनीहरूलाई त कपडाको चासो पनि छैन, अनुहार पनि घिन लाग्दो, सायद त्यही सजिलो लाग्दो हो उनीहरूलाई । डाक्टरलाई कुरिबसेकी जिया लेनार्दा एक दिन नोकरले जस्तो लुगा लगाएर बसेकी थिइन्‌ । यद्यपि उनी हुनेखाने, सम्पत्तिवाल महिला थिइन्‌ । धन सम्पत्तिकै बलमा त्रिचालिस वर्षको उमेरमा पनि बिसवर्षे ठिटोसित बिहे गरेकी थिइन्‌ ।

गुड मर्निङ डाक्टर ! हजुरलाई एउटा अनुरोध गरौँ कि भन्ठानेकी छु, मेरा श्रीमान्‌ सेनामा हुनुहुन्छ, भेडाको ऊन काट्ने समय आयो । बिदामा आइदिए हुन्थ्यो । अड्डातिर हजुरको चिनेको मान्छे कोही छैनन्‌ ?”

“अहँ कोही छैन, दुर्भाग्यवश !”

“मैले कति चोटि हाम्रो निजी डाक्टर साहेबलाई बिन्ती गरेँ, रोम हुँदै जानुभो भने सम्भिनुहोला है भनेर । उहाँ सधैँ हुन्छ, हुन्छ मात्रै भन्नुहुन्छ, बिर्सिहाल्नुहुन्छ । मेरो जाक निकै फूर्तिलो हुनुहुन्छ, साथै यत्तिकै आकर्षक पनि । (म उहाँकी श्रीमती भएर मात्रै मैले प्रशंसा गरेकी होइन) अनि मह जत्तिकै गुलियो अर्थात्‌ असल हुनुहुन्छ… अलिकति बल लगाउनासाथ सबै चिज प्राप्त गर्न सक्नुहुन्थ्यो उहाँ ..।” चर्खामा धागो बेर्ने लामो पिनले उनले कसैलाई घोचेको हाउभाउ गर्नासाथ डाक्टर खुइया गर्दै पर सरे ।

यो संसारमा हामीले चाहेको चिज प्राप्त गर्न आकर्षक र असल जस्ता गुण हुनु मात्रै पर्याप्त छैनन्‌, बुझ्नु भो ?

जानाकै बारेमा र आफ्ना विगतका थुप्रै चिज सम्झिदै डाक्टर मरूध्धानतिर फर्के । उनी सोच्दै थिए जवानीमा आफू पनि निकै आकर्षक र असल थिए र पनि अझै उनले केही पाएका थिएनन् । न प्रेम, न धन, न त कुनै सुख । के चाहिँ सत्य हो भने उनले त्यसको खोजी नै गरेका थिएनन्, सायद स्वत स्फुर्त रूपमा सबै चिज पाइन्छ भनेर प्रतिक्षा गरे हुन्नन् । अनि जति जति उनले प्रतिक्षा गर्दै गए, उति उति समय व्यर्थमा बित्दै गयो । तर विगत केही वर्षदेखि यता उनमा विद्रोहको पागलपनको लक्षण नदेखिएको पनि हैन । भएजति जायजेथा बेचेर उनी प्रेम, धन र सुखको खोजीमा हिँडे एक दिन उनलाई महसुस भो, ती चिजहरू किनेर नपाइने रहेछन्‌ अनि जब थैली रित्तो भो । उनए आफ्ना भएका दुईचार जना बिरामीकहाँ गए, ख्यालठट्टा गर्न थाले बेसुरमा लामो लामो बाटो हिँड्न थाले, अनि फ्रान्सिसी उपन्यास पढ्न थाले ।

उता जिया लेनार्दा चाहिँ राम्ररी देख्न सके सबै थोक पाइन्छ भन्ने कुरामा ढुक्क थिइन्‌ । उनले देखेकी थिइन्‌ । डाक्टर हरेक दिन अक्सित्तुकहाँ धाउँथे, बुढाको स्वास्थ्य ठीक हुँदा हुँदै पनि । उनी जानातिर फर्किन्‌।

तिमीले नै भन्देउ न प्रिय सबैले भेडाको ऊन कात्ने तयारी गरिसके । सबै काम खेताला लगाएर गर्नुपर्छ म एक्लैले के गर्नु ? हेर त, डाक्टरले कत्रा ठूला ठूला आँखा पारेर तिमीलाई हेरिराखेका छन्‌ ?

“…. उनले के नै गर्न सक्छन्‌ र प्रियन्जाकुको बिदाका कुरा चिठीमा लेखिदिनुस्‌ भन्दा उनले नाइँ भन्न त सक्दैनन्‌ क्यारे ।”

तर जानाले बाचा गरिनन्‌, लामो दिनको थकानपछि जब न्यानो हावा शून्य निलो आकाश चम्किलो सूर्यले अवर्णनीय उदासीनता सिर्जना गर्यो । डाक्टर साँझपख जिउ टोमसको प्राङ्गणमा गए, दुईतिर खुट्टा झारेर छेकवार सामु कुर्सीमा बसे, जुनकिरी र ताराको टिमटिमे उज्यालोमा जाना डाक्टरसित ठट्टा गर्न थालिन्‌ । के कति कारणले खास खास रोग लाग्छ विष कसरी बनाइन्छ, सोध्न थालिन्‌, अरू पनि थुप्रै कुरा गरिन्‌ बडो शान्तसित, तर उनले आफ्नो छिमेकीले चाहेको सहयोगका बारेमा भने केही पनि बोलिनन्‌ ।

कहिलेकाहीँ जिया लेनार्दा आफू पनि होचो पर्खालमाथि बसेर अँध्यारोमा धागो कात्दै जाना र डाक्टरबिचको वार्तालापमा सामेल हुन्थिन्‌ । यसले डाक्टरलाई झर्को लगायो, उनी जानासित एकान्त चाहन्थे । त्यसैले उनले बहिरो मान्छेलाई रातको चिसो हावाले झन्‌ खराब गर्छ भन्दै चाँडै सुत्न मनाएका थिए बुढालाई । घरकी बुढी नोकर्नी भेडाको ऊन काटेर बस्थिन्‌, केही बोल्दिनथिन्‌ ।

“डाक्टरसाहेब, तपाईंले भर्खरै उत्सव देख्नुभो होला, यदि देख्नुभएको भए खासै रमाइलो थिएन त्यो । न त सानमिचेल र सान भोज नै त्यति रमाइलो हुन्छ । जाकु आउनुभो भने म तपाईंलाई निम्तो गर्ने थिएँ तर उहाँबिनाको भोज त मलाई अन्त्येष्टि जस्तो लाग्छ ।”

“ठीक छ भद्रे, ठीक छ, तिमीलाई साँचो कुरा भनूँ ! तिमी सिकिस्त बिरामी छ्यौ भने मात्रै जाकुको बिदा स्वीकृत हुन्छ नत्र हुँदैन, तिमी त बाख्रोजस्तै स्वस्थ देखिन्छ्यौ ।”

त्यसपछि उनको गुनासो सुरु भो, जाकु गएदेखि नै उनलाई धेरैतिर दुख्न थालेको थियो, अब भेडाको ऊन काट्ने समय आयो, वास्तवमै उनलाई खपिनसक्नु भो । डाक्टरलाई विश्वस्त तुल्याउन उनी ओछ्यान परिन्‌ । डाक्टरको मन पग्लिन थाल्यो । बिरामी भएको सर्टिफिकेट लेखिदिएर औषधी मगाइदिए उनले । जानाले बिरामी छिमेकीलाई कुरेर बसिन्‌ औषधीको मात्रा खन्याइन्‌ लाल्टिनको धिपधिपे उज्यालोमा । औषधी हेर्दै गुन्गुनाइन्‌, “विष त होइन नि यो हो त?”

तत्पश्चात्‌ जाना प्राङ्गणतिरै फर्किन्‌ जहाँ डाक्टर रङरोगन गरिएको कुर्सीमा बसिराखेका थिए । जुन महिनाको साँझ थियो त्यो, न्यानो अनि सुगन्धित । प्रेम र स्मृतिको रात । जसरी नागबेली परेको उपत्यकाबाट ओलियान्डरको तितो मिठो गन्ध आउँछ, त्यसै गरी डाक्टरको पनि नागबेली परेको अनि अन्धकार विगतबाट स्मृतिका छालहरू एकपछि अर्को गर्दै आउन थाल्यो । उनले कुर्सी तानेर होचो पर्खालनजिकै लगे जहाँ जाना बसिराखेकी थिइन्‌ । त्यसपछि उनीहरू सदाझैँ गफिन थाले । बेला बेलामा एउटा भेडागोठालो यताउति गर्थ्यो, जिउ टोमसको प्राङ्गणमा डाक्टरको स्वर सुन्दा उसलाई केही अचम्म लागेन । त्यतिखेरसम्म सबैलाई विश्वास भैसकेको थियो कि डाक्टर घरीघरी जानालाई फकाउँदैछ, जानाले डाक्टरलाई स्विकार्छे भन्ने लागिसकेको थियो अरूलाई पनि । नत्र भने जानाले डाक्टरलाई छेउमै पर्न दिने थिइनन्‌ । तर वास्तवमा ती दुई बिलकुलै निर्दोष थिए, उनीहरू त खुला रूपमा घाँस, विषालु बिरुवा र औषधोपचार गर्दा प्रयोग हने वस्तुका
वारेमा कुरा गरिरहेका थिए ।

“ओलियान्डर ? अहँ, त्यो त विषालु छैन, बरु हेमलक पो विषालु छ त, तिमीलाई थाहा छ, त्यो कस्तो देखिन्छ भनेर ?”
“कसलाई थाहा छैन र ?”
“यसलाई भन्छन्‌ तितो बिरुवा यसले मान्छेलाई हँसाई हँसाई मार्छ…. तिमीले जस्तै ।”
“मेरो नाडी छोडिदिनुस्‌ डाक्टर जियाले नार्दालाई जस्तो मलाई ज्वरो आएको छैन ।”
“तिमीलाई नआए पनि मलाई त आएको छ नि, जाना ।”
“त्यसो भए कइनिन (चिराइतो) खानुहोस कि त्यो पसि विषै हो ?”

“आज तिमी किन खालि विषको मात्रै कुरा गरिराखेकी छ्यौ हँ ? कसैलाई मार्ने सुर छ कि क्या हो ? यदि त्यसो हो भने मै मारिदिन्छु त्यसलाई अहिल्यै आदेश दिन्छ्यौ भने … तर..।”

“के तर ?”

“तर….”

उनले जानाको नाडी फेरि छामे, उनले नाइँनास्ती गरिनन्‌, अँध्यारो भैसकेको हुनाले कसैले देख्दैनथ्यो ।

अँ, अलिकति विष चाहिएको छ मलाई, फ्याउरोको लागि ।”

“के रे ? फ्याउरोको लागि रे ? यहीँ आउँछ कि क्याहो फ्याउरो हँ ?”

“अवश्य आउँछ त्यो, म जान्छु अब, छाडिदिनुस्‌ मलाई” साउती गरिन्‌ जानाले । धम्की दिँदै उनले हात बटारिन्‌ तर डाक्टरले उनको अर्को हात च्याप्प समाते, मानौँ उनी चोर हुन्‌ ।

“मलाई एक चोटि म्वाइँ खाऊ न जाना, मात्र एक चोटि ।”

“जानुस्‌ गएर अगुल्टोलाई चुम्बन गर्नुस्‌ । बरु मलाई विष दिनुस्‌ । त्यो फ्याउरो आएर हाम्रो भर्खर जन्मेको पाठाहरू लैजान्छ … ।”

जाकुको बिदाको निवेदन डाक्टरको सर्टिफिकेटसहित हुलाकमार्फत पठाइसकेपछि यता जिया लेनार्दा बिमारबाट उठिन्‌ अनि छिमेकीको काम सघाउन जान थालिन्‌ । बिनाआश्चर्य उनलाई महसुस भो, डाक्टर त धानबालीको ठुटो बलेजस्तो दनदनी बलिरहेको । उनी चकचके केटो जस्तो घरी यता घरी उता गरिरहेका बाटोमा । जिउ टोमसलाई भेट्न दिनको दुइचोटि आउन थालेका प्रमुख सहरबाट आफ्ना सहपाठी डाक्टर आउनुअघि नै बुढाको बहिरोपनको उपचार गरिदिने दाबी गर्दै थिए उनी । जानाचाहिँ निष्क्रिय देखिन्थिन्‌ । प्रायः उनी देखै पर्दिनथिन्‌, दुलोभित्र पसेको माकुरोजस्तो उनी कोठामा थुनिएर बस्न थालिन्‌ ।

आइतवार मात्रै प्रार्थनाका लागि कोठाबाट बाहिर निस्किन्थिन्‌ जाना चर्च अगाडि पर्खिबस्थे डाक्टर चाहिँ एकपछि अर्को गर्दै महिलाहरू घुमाउरो बाटोमा देखापरे, छुट्टीको पहिरनमा ठाँदिटएका बुट्टादार पछ्यौराभित्र हात बाँधेको अर्थात्‌ बच्चा काखी च्यापेका, निलो क्रसको रातो जामामा सजिएका । गन्तव्यमा पुगेपछि तिनीहरू रिडिमरको मूर्तिद्वारा सुरक्षित माउन्ट नुओरोतिर फर्के अनि आशिर्वाद लिने दिने काम गरे । सुनजडित पटुकी सूर्यको किरण पर्दा टलक्क टल्क्यो । जसले गर्दा उनीहरूको भव्य ग्रिसेली व्यक्तित्व झनै चम्क्यो । तर उता डाक्टर भने मोहनी नै लागेजस्तो गरी खालि जानातिर मात्रै हेरिरहेका थिए । अनि बुढापाका गफाडीहरूले भन्न थालेका थिए, टोमस अक्चित्तुकी छोरीले डाक्टरलाई म्यान्ड्रेक (बिषालु विरुवा) पिलाएकी छै ..।

एक दिन महिला जुलुसमा भाग लिने थोरै पुरुषमध्ये एक जना जाकु पनि पर्थे, जो छुट्टिमा घर आएका थिए । देख्नमा साँच्चिकै फुर्तिला थिए, त्यसमा बिवादै थिएन । अग्लो रातो वर्णको दाहीजुँगा खौरिएर चिटिक्क परेका चम्किला कुइरा आँखा उनको छेउमा पर्नासाथ महिलाहरू आँखा झुकाउँथे मानौं उनी तिनीहरूलाई वास्तै गर्दैनथे ।

सेनाको जागिरले उनलाई एउटा विजेताको रूप दिएको थियो । महिला भन्दा उनका अन्य कुराहरू बढी गम्भीर थिए । घरमा आइपुग्नेबित्तिकै भर्खर जन्मेको पाठो र उन काट्ने चर्चित समारोहको निम्तो लिएर उनी डाक्टरलाई भेट्न र बधाई दिन गए । डाक्टर उनीसित स्थानीय भाषामा बोले, उनले ठेट इटालियनमा जबाफ दिए । डाक्टरले सिधा प्रश्न सोधै- “ थुप्रै मान्छेलाई निम्ता गर्दै हुनुहुन्छ कि क्या हो तपाई ?” उनले जबाफ दिए “हो, किनभने मेरो परिवारै ठूलो छ नि त, फेरि मजस्तो मान्छेको नस-नाता थुप्रो हुने नै भए । मेरा शत्रु पनि धेरै हुन सक्छन्‌ तर मित्र पनि कम छैनन्‌ । यसबाहेक म अलि फराकिलो सोचकै छु, म लेनार्दाको पहिलो श्रीमान पट्टिका आफन्तलाई समेत निम्ता गर्दै छु । उनीहरूले मलाई मार्न सक्लान्‌ तर सुतेको बेला मात्रै । यदि मेरी श्रीमतीको मभन्दा बाहेक तीन चारवटै लोग्ने भैदिएको भए पनि म उनीहरूका सबै नसनातालाई निम्तो पठाउने थिएँ ।”

“मैले बुझेँ, तपाईं संसारले चिनेको मान्छे हुनुहुँदो रहेछ । ज्यादै राम्रो कुरा हो यो । मलाई लाग्छ, तपाईं आफ्ना छिमेकीलाई पनि सम्भिनु नै हुने छ।” डाक्टर जानासितको प्रेममा पागल भएको कुरो थाहा नपाए झैँ गरे जाकुले ।

“अवश्य, छिमेकी भनेको त नसनाताभन्दा पनि ठूला हुन्‌ ।”

उन काट्ने दिन आयो, जाना, जिया, लेनार्दालगायत अन्य महिलाहरू जाकुको गाडामा चढे ।

भेडीगोठ पठारमा थियो, सवारी साधन गह्रुँगो बयलगाडा झन्डै नभाँचिएको, पत्थरिलो बाटोमा बुरुक्क बुरुक्क उफ्रिन्थ्यो, तैपनि महिलाहरू डराएनन्‌ । जाना चाहिँ हातले घुँडा च्याप्प समातेर अगेनोको सामु बसेजस्तो गरी डल्लो परेर बसेकी थिइन्‌, उदास देखिन्थिन्‌ उनी ।

एक प्रकारको लुकेको उज्यालोले उनका आँखाहरू टल्केको देखिन्थ्यो, जङ्गलको बिचमा रातको अँध्यारोमा कतै टाढाको आगोको मुस्लो जस्तै ।

“छिमेकी मित्र, मरिजानु तपाईंको अनुहार त मलामीको जस्तै देखिन्छ । उनी आउँछन्‌ क्या आउँछन्‌ प्रार्थना सिद्धिनासाथ पुजारीसित आउँदै छन्‌ केही बेरपछि …।”
“हाँस त, जाना, ल हाँस त ।” विद्वेष राख्दै महिलाहरूले हाँसिमजाक गरे ।
“घोडाको आवाज सुन्दै छु म, राक्षसजस्तो छिटो छिटो दगुर्दै छ ।”
“कस्तो कुर्सी हो त्यो । कति पर्छ त्यसलाई ? नौ रियाल ?”

त्यसपछि जाना रिसले आगो भइन्‌, “सत्यानाश होस्‌ तिमीहरू सबैको । एक्लै छाडिदेओ मलाई अब म सहन सक्दिनँ । आज उप्रान्त त्यो मान्छेको
अनुहार मात्रै हेरिछु रे भने त के गिद्धले मेरो आँखा लुछोस्‌ बरु म हेर्दै हेर्दिनँ त्यसलाई ..।”

डाक्टर र पुजारी दिउँसो मध्यान्हतिर आइपुगे, सबैले भव्य स्वागत गरे । बाँझको रुखमुनि शितलमा जाकु, नोकर अनि उनका साथीहरूले बलिवेदीजस्तो देखिने ठुलो ढुङ्गामाथि खुट्टा बाँधेर भेडालाई लडाए अनि ऊन काटे । कुकुहरू घाँसमाथि लडीबुडी गर्दै लखेटालखेट गर्दै थिए । बाँझको रुखमा बसेर चराहरू चिरबिर चिरबिर गर्दै थिए, बुढा जो धर्मगुरु एलिजा जस्तो देखिन्थे, बोरामा ऊन बटुलेर खाँद्दै थिए । अनि वरिपरि कुमुदिनी र लिलीफूलहरू, जुन हावाले गर्दा बटारिएका थिए अहिले आएर सोझिएका देखिन्थे मानौँ ती फूलहरू हातमा कँची बोकेर निहुरिएका मान्छेहरूका बिचमा के हुँदै छ भनेर हेर्न लालयित थिए । ऊन काटेर छाडिदिनासाथ ती भैडाहरू ऊनको थुप्रोबाट बुरुक्क उफ्रे अनि खुम्चिएका तिनीहरू उन्मुक्त हुँदै थुतुनो भुइमा दल्दै भागे ।

हात पछाडि लगेर मुठ्ठी बाँधे डाक्टरले, अलि बेर उभिएरै सबै गतिविधि ध्यानपूर्वक हेरे, त्यसपछि उनी झुपडीतिर फर्के जहाँ महिलाहरू खाना बनाउनमा व्यस्त थिए । उनीहरूलाई सहयोग गर्दै थिए, जाकुको बुढो बाबु जो सिङ्गै पाठोलाई झिरमा उन्न खटिएका थिए । पर कतै बाँझको रुखको शितलमा घाँसमाथि लमतन्न परेर पल्टेको पुजारीचाहिँ केही युवाहरूलाई जम्मा पारेर बकेसियन कथा सुनाउँदै थिए । महिलाहरूले जानालाई कुइनाले घचेडर औँलाले डाक्टर देखाइदिए ।

तुरुन्तै मनस्थिति बदल्दै डाक्टरसित ठ्टा गर्न, थालिन जाना । उनले डाक्टरलाई झरनाबाट पानी ल्याइदिन आग्रह गरिन्‌ । जानाको ठट्टा सुन्नासाथ उनी हातमा बाल्टिन लिएर चर्को घाममा पानी लिन हिँडे । घामले डढेको घाँस र तेजपातबाट मान्छे नै लठिने खालको बास्ना आइरहेको थियो ।

पुजारीलाई घेरेर बसेको समूहले डाक्टरलाई फर्काउन सिटी बजाउने र कराउने गर्न थाले । पाठो सेकाउन थालेका बुढाले पनि घृणाको सङ्केतस्वरूप बुढीऔँला समाते । पढेको मान्छे, पाको मान्छे, एउटी आइमाईले मूर्ख बनाउन खोज्दा सजिलै मूर्ख बन्ने ? यो कस्तो अचम्म । त्यसपछि जाना आफैँलाई धिक्कार्दै दौडिन थालिन्‌ । डाक्टरलाई नभेटाउन्जेल टाउकोमा रुमाल ‘झुन्ड्याउँदै उनी दौडिरहिन्‌ । डाक्टरलाई भेट्नासाथ बाल्टिन खोसिन्‌ । धारासम्मै डाक्टर जानाको पछि पछि लागेर गएको टाढाबाट महिलाहरूले देखे । जाकुको बुढो बाबुले रिसाएर आगोमा थुक्न थाले । यस्तो लाग्थ्यो उनी थुकेरै आगो निभाउन चाहन्थे ।

टोमस अचित्तुको नातिनीलाई तिमीहरूले देखेका छौ नि हैन ? हो डाक्टरसित ऊ एकान्त चाहन्थी । त्यो मेरो छोरी भैदिएकी भए लात्ताले गर्धनमा हान्ने थिएँ ।

“हुन दिनुस्‌, सहन दिनुस्‌ ससुराज्यू” जिया लेनार्दाले नम्र स्वरमा भनिन्‌ “प्रेम के हो उनले बुझिन्‌, प्रेममा तपाईं कसरी पागल हुनुभो, त्यो पनि बुझिन्‌ । जसरी तिर्खाएको मान्छे पानी नपाउँदा छट्पटिन्छ त्यस्तै हो प्रेममा परेपछि ।”

वास्तवमा चर्को घामले डाक्टर आलसतालस भएका थिए । जानाको पछि लागेर झरना आसपासको झाडीभित्र पसे, फेरि जानालाई बहुपासमा बाँध्न खोजे। सेवाको महारानीको जस्तो आँखा भएकी जानाले डाक्टरसित आँखा जुधाइन्‌ तर टाउकामा बाल्टिनको पानी खन्याइदिने धम्की दिँदै उनलाई घचेडिदिइन्‌ पर पुग्ने गरी । सँधै एकनास प्राङ्गणको होचो पर्खालको छेउमा साँझमा बसेको दिनदेखि आफ्नो पछि पछि लगाइन्‌ फेरि डाक्टरको प्रस्ताब अस्वीकार गर्दै गइन्। अलिकति सिधासादा जस्तो पनि अलिकति विश्वासघाती जस्ती पनि देखिने जानाले प्राय डाक्टरसित एउटै चिज घरीघरी मागिरहिन्‌- त्यो हो अलिकति विष ।

“यसो भए ठिकै छ जाना म तिमीलाई खुसी राख्ने प्रयत्न गर्ने छु आज म तिमीकहाँ आउने छु । अनि मानवखप्परको चित्र भएको सानो बोतलमा बिष पनि ल्याइदिउँला हुन्न ? तर होस गर्नु नि ! जेलमा सडौला नि फेरि ।”

“मैले भनेँ नि, फ्याउराका लागि भनेर ठीक छ, अहिलेलाई मलाई छोडिदिनुस् । सुन्नुभो हैन तपाईंले मेरो कुरा ? कोही आएजस्तो छ ।

वास्तवमा छहरा वरिपरिको झाडी मा खस्याकखुसुक गरेको थियो, मानौं बँदेल त्यहाँबाट भाग्न खोज्दै थियो, जाकु पो फुत्त देखा परे । उनक्को अनुहार अत्यन्तै उद्देलित थियो । यद्यपि दुवैजनालाई त्यसरी त्यहाँ भेट्न भनेको खालि संयोग मात्रै भएको बहाना गर्दै थिए उनी । “ए के गरिरहेको तिमीहरू त्यहाँ यस्तो अँध्यारोमा हँ ? खाना खाने समय हो यो, प्रेम गर्ने समय होइन …।”

“तपाईं भौकाएको हैन, तिर्खाएको हो” जानाले व्याङ्ग्य कसिन्‌ । बाल्टिन उचाल्दै भनिन्‌ “पानी पिउनुस्‌ ह्यान्डसम्‌ ..।”

तर जाकु पूरै जिउ छोडेर फ्यात्त भुइँमा बसे अनि स्वाँस्वाँ गर्दै झर्नाको पानी कलकल पिए ।

भोज भैरहेको बेला जब पुजारीले डाक्टरतिर रोटीको टुक्रा फाले अनि दुर्भवपूर्ण सङ्केत गरे, उनी जोडले हाँसे । उनी हाँस्न त हाँसे तर पटक पटक बेचैन भए, नयाँ नयाँ विचारले उनी किचिए । भोज सिद्धिनासाथ उनी झुपडीपछाडि ढुङ्गाका माझ शितलमा पल्टिन गए, त्यहाँबाट उनले अरूलाई देख्न सक्थे तर अरूले उनलाई देख्न सक्दैनथ्यो, अनि बाँझको रुखको शितलमा बसेर एउटा भेडागोठालो ऊन काट्दै गरेको दृश्य उनले देखे । त्यसको नजिकै पुजारीलगायत अन्य मान्छेहरूले गायन प्रतियोगिता सुरु गरेका थिए । लामबद्ध भई बसेका महिलाहरू काखमा हात राखेर बडो ध्यानपूर्वक गीत सुन्दै थिए ।

ओ तीव्र मौनताका बिच गीत अनि हाँसो सबै निलो आकाशको विशालतामा जसरी पाताला सेता बादलहरू फाटेर गायब हुन्छन्‌ उसै गरी गायब भए अनि डाक्टारले चट्टानभन्दा अलि पर कतै घोडाले घाँस खाइरहेको आवाज सुने । यसै गरी कुकुर झुप्रोभित्र बसेर हाड कुटकट टोक्दै थियो । जहाँ जाकु बेला बेलामा ऊन खन्याउन आउँथे ।

गायन प्रतियोगिता झन्‌ सशक्त हुँदै जाँदा जाना अचानक जुरूक्क उठिन् अनि झुपडीतिर लागिन्‌ । डाक्टर चुरोट तानिरहेका थिए । चुरोटको निलो धुवाँ मास्तिर उडेको हेरिरहे उनले । ङिच्च हाँस्दा ओठ मास्तिर फर्क्यो । दाँतमा बनाइएको सुनको जलप देखियो ।

अन्ततः जाकु आइपुगे, अनि हि आवाज बिलौना गरेजस्तो गरी झुपडीको छिद्रबाट बाहिर निस्क्यो ।

“म कसम खाएर…. गिद्धले खाओस्‌ मलाई यदि मलाई छोएको रहेछ भने उसलाई देखेर मुस्कुराउनु मेरो आफ्नै बाध्यता छ। …. यसमा हामी सबैको हित छ …. तर यो पीडा अन्त भैछाड्छ …. अन्त …. ।”
त्यो मान्छे जो ऊन खन्याउने उद्देश्यले आएको थियो होला, सायद मौन थियो । तिनी कराउँदै गइन्‌ अति क्रुद्ध, उनको स्वर घृणाले भरिएको थियो “म के गरूँ ? मैले तिम्री स्वास्नीप्रति कहिल्यै ईर्ष्या गरेँ ? बुढी काग, फ्याउरी । तर यो अन्त्य हुँदै छ… .छिट्टै…।”

त्यसपछि जाकु जोडले हाँसे, अनि फेरि हाँसो, गीत र घोडा चरेको आवाज सुनियो ।

म डाक्टर अझै मजा लिन चाहन्थे । उनी बुरुक्क उफ्रिँदै चिच्याउन थाले “ए हेर त उ फ्याउरो आयो, फ्याउरो ।”

अनि प्रेमी-प्रेमिका दुवै झुपडीबाट बाहिर निस्केर दौडिन थाले, अचम्मै भो, यसै बिच, सामूहिक नाचगान बन्द भो, महिलाहरू यताउति पल्याकपुलुक हेर्न थाले भने ककुरहरू चाहिँ साँच्चिकै फ्याउरो आयो भन्ठानेर जोडले भुक्न थाले ।

 

लेखक परिचय
बघ
बद्रिप्रसाद घिमिरे
प्रतिक्रिया
Loading...