श्यामसुन्दरले झ्यालको कापबाट कोठाभित्र चियाएर हेर्दा आफ्नी स्वास्नीलाई हाकिमसँग सुतिरहेको देख्नुपर्ला भन्ने कल्पना पनि गरेको थिएन । त्यति बेला उसलाई लाग्यो- ढोका फोरेर भित्र पसुँ र हाकिमको घाँटी निमोठुँ, तर उ झ्यालमा अडेसिएर कालोनीलो भयो । उसलाई लाग्यो पिउनकी स्वास्नी भन्दैमा हाकिमले त्यो हदसम्म गर्न नहुने हो । उसलाई एकाएक लाग्यो-. स्वास्नीलाई घिच्च्याउँदै बाहिर ल्याऔँ, पिटूँ र जागिर छोडूँ तर ऊ झ्यालमै अडेसिरह्यो ।
त्यति बेला बाहिर मन्दिरका घण्टहरू एकनासले बजिरहेका थिए । यति बिहानै ‘र अझ एक घण्टा पनि नबित्दै यस्तो घटना घट्ला भन्ने श्यामसुन्दरले सोचेको पनि थिएन । वास्तवमा श्यामसुन्दर एक घण्टाअघि स्वास्नीसँग बिदा भएको थियो र हाकिमलाई नमस्कार गरेर हिँडेको थियो ।
हाकिमले भनेको थियो, “काम सकिएन भने एक हप्ता बसे पनि हुन्छ, तिम्रो टी.ए.डी.ए. पाकिरहन्छ… म काज थप गरिदिउँला ।” श्यामसुन्दरले देब्रे हातको कागजलाई अलिकति खुम्च्यायो । बाटोबाटै यसरी फर्किएर नआउनु पर्थ्यो भन्ने लाग्यो उसलाई र हाकिमले हप्ताहप्ता नबिराई काजमा खटाइरहनुको रहस्य पनि यतिखर बुझ्यो उसले ।
रन्थनिएर एकाएक ढोकानेर पुग्यो, तर त्यहाँ पनि ऊ उभियो मात्रै । बरू बिस्तारै ढोकालाई छोयो । भित्र चुकुल लागेको स्पष्ट बुझ्यो । अघिको भन्दा बढ्ता कालोनीलो भयो ऊ । एक घण्टाअगाडि त्यही ढोका नेर उभिएर हाकिमले दस-दसका केढी नोटहरू उसलाई थमाइदिएको थियो र भनेको थियो, “श्याममुन्दर ! तिमीलाई टी. ए. डी.ए. ले पुग्दैन यो पनि लगिराख ।” त्यति बेला उसलाई लागेको थियो- श्यामसुन्दर ! तिम्रो असाध्ग माया लाग्छ । तिमी पिउन भए पनि आफ्नै जरतो लाग्छ……आफूलाई पिउन भनेर नठान नि… श्यामसुन्दर त्यहीँको त्यहीँ ठिङ्ग उभिरह्यो । भित्रबाट चुराको केही मसिनो आवाज आएजस्तो मात्र लागेको हो, बस त्यत्ति। बरू बाहिर मन्दिरको घण्ट भने अझ चर्को आवाजले आराइरह्यो ।
श्यामसुन्दर सिढी ओर्लिएर तल चोकमा झर्यो । धारामा मुख धोइरहेको उसको सानो छोराले दगुर्दै आएर उसलाई समात्यो ।
“बुबा ! तपाइँ गाउँ जानुभएको होइन ? किन फर्कनुभएको ?” श्यामसुन्दर केही पनि बौलेन ।
“बुबा ! मैले पाउरोटी, बिस्कुट, चिया के के खाएँ….” छोराले गौरवसाथ भन्यो ।
“कहाँबाट ल्याइस् पैसा ? ” श्यामसुन्दरले काम्दै भन्यो ।
“साहेबले दिनुभएको ।” छोराको उत्तर सुनेर श्यामसुन्दरले ओठ टोक्यो । निकै टोकेछ, सायद दुख्यो पनि तर ख्याल गरेन ।
“बुबा ! मलाई बिस्कुट भन्दा पाउरोटी मन पछ ।’” छोराले श्यामसुन्दरको कमेज समातेर भन्यो । प्रत्युत्तरमा श्यामसुन्दरले छोराको गालामा एक चड्कन हान्यो । छोरो रन्थनिएर अलि पर पुग्यो । अप्रत्याशित भएर होला छोरो रोएन र बोलेन पनि । श्यामसुन्दर फेरि छोरानेर पुग्यो र एक लात हान्यो । त्यसपछि छोरो निकै रोयो । श्यामसुन्दर चोकबाट बाहिर निस्क्यो । सडकमा आएर फेरि उभियो । छेउको मन्दिरमा पूजा गर्नेहरूको भीडमा उसले कसैलाई चिनेन र चिन्ने कोसिस पनि गरेन । बरु भीडबाटै एउटा मान्छे उतिर आयो, नजिक आएपछि मात्रै उसले चिन्यो त्यो मान्छे विश्वनाथ रहेछ । विश्वनाथ अर्थात् चामल, दाल, नुन बेच्ने पसले । विश्वनाथ अर्थात् उसलाई उधारोमा यी कुराहरू दिने पसले । विश्वनाथ अर्थात् जसलाई तीन सयभन्दा बढी रुपियाँ उसले तिर्न बाँकी नै छ। विश्वनाथ अर्थात्….. । विश्वनाथ उसको नजिक आयो र खिसिक्क हाँस्दै भन्यो, “लौ मन्दिरको फूल लगा श्यामसुन्दर ! बिहान बिहान भगवानको दर्शन गर्नुपर्छ लाटा ! …फूल….मन्दिर… भगवान्… श्यामसुन्दर…” विश्वनाथले के भनिरहेछ भन्ने उसले बुझ्न सकेन ।
“के भो ए तँलाई ?” विश्वनाथले पाखुरा समातेर सोधेपछि भने निकै झस्कियो । विश्वनाथले भन्यो, “तँ ता गाउँ जान्छु भन्थिस् , कहिले जान्छस् ? अफिसको काजमा गएपछि त टन्नै कमाउँछस् हैन ? अस्तिको पैसा पनि तिरेको छैनस् ”
“तिर्छुँ ।’” श्यामसुन्दरले त्यति मात्रै भन्यो र केही नबोली डिड्यो । विश्वनाथले के प्रतिक्रिया जनायो या कै भन्यो उसले केही वास्ता राखेन न त्यसको केही ख्यालै रह्यो । यत्ति हो श्यामसुन्दरलाई विश्दनाथसँग त्यसरी उभिएर कुरा गर्न भने पटक्कै मन भएन । एकाएक फेरि फर्किएर चोकभित्र पस्यो । किन पस्यो वा के गर्ने मन लागेको हो स्वयंलाई पनि केही थाहा भएन । धारनिर छोरो टुक्रुक्क बसेर रोइरहेको रहेछ । श्याससुन्दरलाई अलिकति पनि सहानुभूति लागेन । सिडीनेर आएर भित्तामा अडेसियो । सिढीको पहिलो खुट्किलोमा खुट्टा राखिसकेको पनि दोस्रो खुट्किलोमा खुट्टो राख्न सकेन । छाती फुलेर निकै ठूलो भएको अनुभव गर्यो उसले । भित्तामा उसले देख्यो- छोराको गालाबाट आँसु बिस्तारै बग्दैछ, तर त्यसलाई पनि उसले केही वास्ता राखेन। ऊ बिस्तारै उठ्न, खोज्यो तर एकाएक वाकवाकी लागेजस्तो, रिंगटा चलेजस्तो के भएको हो उठ्न सकेन र त्यहीँ बसिरह्यो । उसलाई हेर्दै छोरो उठ्यो र दगुर्दै बाहिर गयो । उसले देख्यो धाराबाट पानी बगिरहेको छ । बन्द गर्नेतिर उसको ध्यान अलिकति पनि गएन, जस्तो कि अरू अरू दिन यसरी पानी खेर जाँदा उसलाई चित्त दुख्थ्यो । चित्त यसकारण दुख्थ्यो कि ऊ जुन ठाउँबाट आएको हो त्यो ठाउँमा पानीको अभाव छ । यो ठाउँमा जागिरै भएर आएपछि पनि सायद त्यही कारणले होला पानीलाई बढी माया गर्ने थालेको थियो ।
श्यामसुन्दरले माथि तलामा हेर्यो । कोठाको ढोकामा पर्दा हावाले बिस्तारै हल्लिएको देख्यो । एक्काएक जुरुक्क उठेर सिढी चढ्यो, तर माथि आएपछि फेरि शिथिल भयो । त्यस्तै रिङटा चल्ला जस्तो …त्यस्तै वाकवाकी आउला जस्तो …। भित्तामा अडेसिएर फेरि टोलायो ऊ। ठीक यति बेला भित्रबाट आएको उसकी स्वास्नीको हाँसो उसले प्रस्टै सुन्यो अनि सँगसँगै हाकिमको अस्पष्ट आवाज…। फेरि हाँसो…फोरि अस्पष्ट आवाज। फेरि हाँसो फेरि अस्पष्ट आवाज । श्यामसुन्दरको मुटु फुट्ला झैं भयो । उसलाई लाग्यो- गएर जबरजस्ती ढोका फुटाऔं र स्वास्नीको घाँटी निमोठूँ अनि कुनै हतियार उठाएर हाकिमको छाती घोपूँ, तनतनी रगत पिऊँ …। यति बेला ढोकनेर भाँचिएको कुर्सी देख्यो, त्यही कुर्सी उठाएर हाकिमको टाउको फोरिदिऊँ झैं लाग्यो उसलाई ।
ढोकानेर पुगेर उभियो । ढोकामा लात हान्न चाह्यो, तर त्यसो गरेन अथवा गर्न सकेन । सायद लगलग कामिरहेका खुट्टा ढोकामा लात हान्न सक्षम भइरहेको थिएन । हात उठाएर ढोकमा हान्न चाह्यो, तर त्यसो पनि गरेन अथवा गर्न सकेन । बिस्तारै ढोका छोयो । भित्र चुकुल लागेकै छ । भित्रबाट एकाएक चुराको मसिनो आवाज आएको थाहा पाएपछि उ त्यसरी नै एकाएक झस्कियो र केही हेर्दै नहेरी सिढीनेर आयो, सिढीबाट ओर्लियो। सिढीबाट ओर्लिंदाओर्लिंदै उसले कोठाको ढोकाबाट चुकुल खोलिएको आवाज प्रस्टै सुन्यो, सँगसँगै ढोका खोलिएको आवाज पनि उसले प्रस्टै सुन्यो, तर फर्केर हेरेन अथवा हेर्न चाहेन अथवा हेर्न सकेन । उसलाई केसम्म लाग्यो भने ढोका खोलेर स्वास्नी र हाकिम बाहिर निस्केको हुनुपर्छ, तर श्यामसुन्दर पछाडि फर्फिदै फर्किएन । हतार-हतार सिढीबाट ओर्लियो र चोक हुँदै हाँकिएर बाहिर सडक तिर लाग्यो ।
(मल्ल कथासङ्ग्रह ‘अर्धविराम’बाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।