अध्याय बाह्र

त्यस राति खोल्स्तोमेरले अरु पनि धेरै कुराको सम्झना गर्न सक्थ्यो, तर भास्काले उसको पिठयूँमा जीनपोश हालेर उसलाई सरासर दौडाएर लग्यो र रातभरि एउटा भट्टीको ढोकानेर बाँधेर राख्यो । उसैको छेउमा कुनै एक किसानको घोडी पनि बाँधिएको थियो । दुवै घोडाहरू एक अर्कालाई चाटिरहेका थिए । बिहान उसलाई तबेलामा फर्काइयो तर उसको जिउ चिलाउन थाल्यो ।

किन यस्तरी कन्याइलागेको होला ?’ – उसले,मनमनै सोच्यो ।
पाँच दिन त्यसरी नै बिते । आखिर एक शालीहोत्रीलाई बोलाइयो ।
“लुतो नै हो ।”- शालीहोत्रीले हाँसेर भन्यो । – “यसलाई त अब जिप्सीहरूको हातमा बेचेर पठाइदिए हुन्छ ।”
“किन र ?”
“मारि नै दिए पनि हुन्छ, तर यहाँबाट चाहिं अहिले नै हटाऊ !”

बिहानको शान्त र रमाइलो बेला थियो । घोडाको बथान चरनतर्फ गइसकेको थियो । खोल्स्तोमेर एक्लै रहयो । एकजना डरलाग्दो मान्छे उसको छेउमा आयो – उ दुब्लो, कालो र फोहोरी थियो । उसको कालो भोटोमा पनि ठाउँ ठाउँमा दाग लागेको थियो । त्यो छाला काढ्ने मिजार थियो । उसले खोल्स्तोमेरतर्फ हेर्दा पनि नहेरेर उसको दाम्लो हातमा लियो र उसलाई हाँकेर लग्यो । खोल्स्तोमेर पनि पछिल्तिर नफर्केरै आफ्ना टाँगहरू घिसार्दै चुपचाप हिड्न थाल्यो । पछिल्ला टाँगहरू परालका त्यान्द्राहरूमा अल्झनेगर्थे । ढोकाबाट बाहिर निस्केपछि हिजडा घोडा इनारतर्फ मोडियो, तर छाला काढ्ने मिजारले उसलाई पछिल्तिर तानेर भन्यो : “अब के गर्न जाने त्यता ?”

भास्कार पछि पछि हिँडिरहेको थियो । मिजार र उसले मिलेर खोल्स्तोमेरलाई ईटाको टहरो पछिल्तिरको एक खौँचमा पुर्याए र त्यहाँ पुगेर टक्क रोकिए, मानौं त्यहाँ कुनै अनौठो कुरा घटिहालोस्‌ ! भिजारले लगाम भास्काको हातमा थमाइदियो र आफूले चाहिँ कोट फुकाल्यो । अनि उसले भोटोको बाहुला माथि सुर्कायो, आफ्ना बूटहरूमा घुसारिराखेको चुपी र सान लगाउने रेत निकाल्यो, अनि ऊ चुपी उध्याउन लाग्यो । हिजडा घोडाले गर्दन उठाएर लगामसम्म मुख पुर्याउने कोशिश गर्यो । लगाम चबाएर समय बिताउने उसको सुर थियो, तर त्यो निकै टाढा थियो । उसले लामो सुस्केरा हाल्यो र आँखा चिम्म गर्यो। उसको ओठ लत्रिरहेको थियो र पहेँला ठूटे दाँतहरू पनि देखिन थाले । चुपीमा सान लगाएको सुन्दै त्यसैको लयमा ऊ उँघ्न थाल्यो । उसको एउटा गोडा दुखेर उसलाई पिर्न लागिरहेको थियो र बेला बेलामा उसको त्यो गोडा थर्र काम्थ्यो पनि । घाउ लागेकोले त्यो गोडा सुनिएको थियो । उसको टाउको कसैले जगल्ट्याएर माथि उचालेको जस्तो एकाएक उसलाई अनुभव भयो । उसले आँखा खोल्यो । आफ्नो ठीक सामुन्ने नै उसले दुईवटा कुकुर देख्यो । एउटा कुकुर मिजार भएको ठाउँतिर फर्केर हावा सुँध्दैथियो । अर्को चाहिं भुइँमा बसेर हिजडा घोडालाई नै ताक्दैथियो, मानौं उसबाट केही पाइने आशा राखेको होस्‌ ! हिजडा घोडाले कुकुरहरूतर्फ पुलुक्क हेर्यो र जुन हातले उसलाई जगल्ट्याइराखेको थियो त्यसैमा मुख दल्न थाल्यो ।

“सके यो मेरो उपचार गर्न आएको होला !’-उसले विचार गर्यो।-ठीक छ, गरोस्‌ !’

हुन पनि उसको घाँटीमा केही कुरा गरिएको उसलाई अनुभव भयो । एक्कासि एउटा तीक्ष्ण पीडा भयो । ऊ झसङ्ग भयो, भुइँमा लात्तीले हान्न थाल्यो, अनि एक छिन रोकिएर अगाडि के हुने हो भन्ने प्रतीक्षा गर्न लाग्यो । अगाडि यही भयो कि कुनै तातो तातो तरल पदार्थ उसको घाँटी र छातीमा बग्न लाग्यो । उसले लामो सास तान्यो । त्यो सास कतिसम्म गहिरो थियो भने उसको पूरै आङ डम्म फुल्यो । उसले तत्कालै हाइसन्चो अनुभव गन्यो, मानौं उसको जीवनको सारा बोझ नै उसको जीउबाट उतारिएको होस्‌ ! उसले आँखा चिम्लिदियो र टाउको पनि खुकुलो पारिदियो । टाउको एकाफट्टि लत्रिहाल्यो । कसैले पनि त्यसलाई समातेर माथि उठाएन । अनि उसले गर्दन पनि शिथिल पारिदियो, उसका टाँगहरू काम्न लागे र उसको सारा शरीरमा नै कम्प छुट्यो । उसलाई डर त उति लागिरहेको थिएन, तर ज्यादै अकमक्क परेको थियो । हरेक कुरा एकदमै नयाँ लागिरहेको थियो । ऊ छक्क पर्यो र उसले अगाडि लम्कने र माथि उफ्रने कोशिश गर्यो । परन्तु उसका टाँग लड्खंडाएर लुला हुँदैगए । ऊ एकातिर ढल्न लाग्यो । आफूलाई उभ्याइराख्ने कोशिश गर्दै ऊ बायाँतिर बुङ्ग ढलिहाल्यो । उसको जीउमा कम्प छुटिरहुँन्जेलसम्म मिजार कुकुरहरूलाई धपाउँदैथियो । अनि उसले एउटा टाँग समात्दै हिजडा घोडालाई उत्तानो पारेर पल्टाइदियो । त्यसपछि भास्कालाई घोडाको खुट्टा समातिराख्नको निम्ति अह्याएर मिजार उसको छाला काढ्न लाग्यो ।

“कुनै जमानामा यो एक उम्दा घोडा थियो ।”-भास्काले भन्यो ।

“अलि मोटोघाटो हुँदो हो त छाला पनि बढिया नै हुनेथियो ।”-छाला काढनै मिजारले भन्यो ।

साँझपख घोडाको बथान भिरालो चढ्दै घरतिर फर्किरहेको थियो । बायाँ छेऊ लागेर हिडिरहेका घोडाहरूले तल भुइँमा एउटा रातो टाटो देखे । त्यहाँ कुकुरहरू पनि झुम्मिएका थिए र आकाशमा चाहिं काग र चीलहरू मडराइरहेका थिए । एउटा कुकुर आफ्ना दुवै पञ्जाले सिनुलाई समातेर दाँतले लुछ्दैथियो । एउटा ठूलै चोक्टा नलुछिएसम्म त्यसले टाउको हल्लाउँदै लुछिरहेको देखिन्थ्यो । कैली घोडी टक्क रोकिई, अनि आफ्नो गर्दन र टाउको अगाडि लगेर निक्कै बेरसम्म हावा सुँघ्दैरही । बडो मुश्किलले त्यसलाई त्यहाँबाट धपाएर लगियो ।

पुरानो बनको बीचमा रहेको गहिरो खोंचमा बिहानपख बाक्लो झाडीको पछाडि ब्वाँसोका केही छाउराहरू रमाउँदै कराइरहेका थिएं । त्यहाँ जम्मा पाँचवटा छाउराहरू थिए जसमध्ये चारवटा त करीब एकैनासका थिए, किन्तु पाँचौं चाहिंको कद सानो थियो भने टाउको चाहिं धडभन्दा निकै ठूलो थियो । एउटी दुब्लीपातली माउ भझाडीबाट बाहिर निस्केर लत्रिरहेको पेट घिसार्दै आई र आफ्ना छाउराहरूको सामुन्ने बसी । उसका थुनहरू पनि भुइँ सम्म नै लत्रिरहेका थिए । छाउराहरू उसैको वरिपरि अर्धवृत्त बनाएर उभिएका थिए । माउ आफ्नो सबभन्दा सानो
छाउरोको नजिक पुगी र अगिल्ला टाँग झुकाई, मुन्टो पनि तल्तिर निहुराई, बंगारा खोली, आफ्नो पेटलाई केही बेरसम्म जोडले हल्लाई र एक निकै ठूलो चोक्टा घोडाको मासु मुखबाट बाहिर ओकेली । ठूला छाउराहरू त्यसतर्फ लम्किए, तर माउ चाहिंले तिनीहरूलाई पल्तिर हटाइदिई र पूरै चोक्टा सानो छाउरोलाई खान दिई । सानो छाउरोले घुर्र गर्यो, मानौं उ क्रुद्ध भएको होस्‌ ! अनि उसले मासुको टुक्रालाई झम्टेर पञ्जामा लियो र दाँतले टोकेर खान थाल्यो । यसै गरेर माउले दोस्रो टुक्रा ओकेली, तेस्रो टुक्रा ओकेली र एवं रीतले पाँचैवटा छाउराहरूलाई खान दिई । अनि मात्र ऊ छाउराहरूको नजिकै पल्टेर आराम लिन लागी ।

एक हप्तापछि नै ईटको कटेरोपछिल्तिर एउटा ठूलो खप्पर र दुइटा फिलाका हाड सिवाय अरु केही बाँकी रहेन । घोडाको सिनुलाई लुछिचुँडीकन लगिसकेका थिए । ती फिलाका हाडहरू र खप्पर पनि गर्मीको याममा हाड बटुल्ने कुनै एक किसानले उठाएर लग्यो र आफ्नो जरूरत अनुसार त्यसलाई पनि काममा प्रयोग गर्यो ।

सेर्पुखोभ्स्कोइको मृत शरीर चाहिं निकै दिन बितेर गैसकेपछि मात्र धर्तीलाई सुम्पियो । ऊ स्वादिष्ट भोजन र रक्सीले पेट भर्ने गर्थ्यो । तर उसको छाला, मासु र हाडखोड कसैको निम्ति पनि काम लाग्ने ठहरिएन । बीस वर्षसम्म नै उसको हिँडडुल गर्ने “जिउँदो लाश” यस धरतीको निम्ति असहच भार बनिरहचो । ती मानिसहरूको निम्ति पनि ऊ अनाहक बोझ नै थियो जसमाथि उसलाई गाड्ने जिम्मेदारी आइपरेको थियो । ऊ कसैको निम्ति पनि उपयोगी रहेको थिएन । जे होस्‌, अरुको मृत लाशलाई जो गाडिदिन्छन्‌ ती “जिउँदा लाशहरूले” उसको थसुल्लो, भद्दा, सड्न थालेको र गन्हाउने शरीरलाई दामी वर्दी र टल्कने बूट लगाइदिनु जरुरी नै ठानेँ । एउटा निकै राम्रो शवपेटिकामा उसलाई सुताइयो । शवपेटिकाको चारैतिर झल्झर हालिएको थियो । यस नयाँ शवपेटिकालाई पछि अर्को सीसाको शवपेटिकामा हालियो । अनि नयाँ बर्दी र टल्कने बूट लगाइएको यस सडन आँटेको र कीरा पर्न लागेको देहलाई मस्को लगेर त्यसै ठाउँमा गाडियो जहाँ त्यसभन्दा पहिले उसका अरु कैयौं नातेदारहरूका हाडखोरहरू मक्किसकेका थिए ।