“प्रिय जिन्दगी, मलाई लाग्दैछ फरक फरक रङ्गका फूलहरु फुलाएर फरक सुगन्ध दिने तिमी एउटा सुन्दर बगैँचा हौ । कुनैबेला रुप नै फेरिन सक्ने अवस्थामा पनि कुरुप देखिँदैनौ किनभने तिमी फुल्नका लागि संघर्षरत छौ । तिम्रो महिमा अति सुन्दर अति सुगन्धित !”

निकै लामो समयपछि फेसबुकमा स्वस्तिमाले लेखेका हरफहरु पढ्दा लाग्छ, निकै खुसी छिन् उनी । जिन्दगीलाई फूलसँग दाँज्न सक्ने क्षमता हुनु मानव इतिहासमै उत्कृष्ट जीवनशैली लाग्यो मलाई । पहिले पहिले जस्तो खुसुक्क मेसेज बक्समा उपस्थित हुन भने अप्ठ्यारो लाग्यो ।

‘अनि सुन्दर बगैचाकी गुलाफ तिमी….।’ लेख्न त लेखिहालेँ, कस्तो असर पर्ने हो डरले जित्दै गयो । यस अर्थमा कि म नवविवाहित, उनी अविवाहित । स्पष्टीकरण खोजिहालिन् श्रीमतीले ।

मगंलबजारमा रहेको डेराबाट ग्वार्कोसम्म हिँडेर अफिस (इन्टर्न) जाने दैनिकी थियो । बिहानको १० बजे नै घाम चर्को थियो । पाटन सुन्धारा पुग्दा नपुग्दै पानी वर्षियो । हुन त वर्षातको समय सुरु हुँदै थियो, छाता झोलामै रहन्थ्यो । साना रोडमा दुई जना जम्काभेट भएको अवस्थामा कि त छाता बन्द गर्नुपर्ने कि घुमाउन वा उठाउन पर्ने । ग्वार्को पुग्दा छाता ओढेर पनि केही भाग भिजिसकेको थिएँ ।

अचम्म ! त्यस्तो मुसलधारे पानीमा कतै ओत नखोजेर खुला सडकमा भिजिरहेकी केटी सबैको नजरमा परेकी हुँदी हो । गाडी आइरहेका छन्, मान्छे चढेका छन् । सडकमा जम्मा भएको पानी छ्याप्दै हुइकिएका छन् गाडी । उभिएको ठाउँबाट डेक चल्दिन ऊ । गठ्ठाघर पुग्न कुरिरहेको म पनि घरि गाडी हेर्छु घरि उसैलाई । पानी रोकिने छाँट छैन, उसका आँखाले पनि सडकबाट आफँैलाई हेर्न समेत खोजेका थिएनन् । मैले नजिक नजिक हुँदै आफ्नो छातामा उसलाई पनि ओताएँ । पुलुक्क मतिर हेरी उसले, मास्क लगाएकी थिई । बाक्ला आखीभौँले उसका आँखाको सुन्दरता बढाएका थिए पक्कै । भलै मैले पुरै अनुहार देखिनँ, मास्कले ढाकेको थियो । कलेजी रङको कुर्तामा भिजेर भित्री बस्त्र देखिएको थियो, शरीरमै टासिएको थियो कुर्ता पनि ।

प्रमिला घिमिरे

पुरानो बाटोको बस निकै नियालिरहेकी उसलाई सोधेँ, भक्तपुर जाने हो तपार्इँ ? फेरि पनि पुलुक्क हेरी र पनि बोलिन । म निकै अप्ठ्यारोमा परेँ, छातामा ओतिइरहेकी उसबाट टाढा हुन अरुले के भन्लान् जस्तो, नजिक हुन ऊ बोलेकै थिइन । मुन्टो निहुराएर आँखाले कृतज्ञता जनाएकी हो कि जस्तो पनि तर त्यस्तो अप्ठ्यारोमा मद्दत दिएको मैले बोलाउँदा पनि बोलेकी थिइन ऊ ।

मध्यपुर ठिमी हुँदै चल्ने बस नयाँबाटो चल्ने रुटमा पर्छ । करिब आधा घण्टासम्म बस आएको होइन, पानी रोकिने छाँट पनि छैन । बरु १५ मिनेटमा उसको लुगाबाट पानी तर्किसकेको थियो । झोलाबाट निलो रङको आउटर झिकेर लगाई उसले । बेला बेलामा मलाई पुलुक्क हेर्थी, म मुसुक्क हाँसिदिन्थेँ । म ग्वार्को पुगेको ३५ औँ मिनेटमा बल्ल बस आयो । मसँग सँगै हिडिरहेकी थिई ऊ । थाहा छैन के सोचेर छाता हातमा थमाइदिएँ । म बस चढेँ । ४० जनाको सिट क्षमता भएको बसमा ८० भन्दा बढी नै हुँदा हुन् यात्रु । कन्डक्टरले धकेली धकेली पछाडि पुर्याइदिए । कोटेश्वर पुगेपछि देखेँ ऊ पनि त्यसमै चढिछ । ठ्याक्कै ड्राइभरको सिट पछाडि झ्यालतिर फर्केकी थिई ।

हजुरबाजस्ता उमेरका मान्छे थिए उसको नजिकै । घरिघरि तर्केर हेर्थी हजुरबालाई, रिसाएका जस्ता थिए आँखा पनि । कौशलटार पुगेपछि, अलि कम हुँदै गयो भिड । ऊ मलाई हेरिरहेकी थिई, मानौँ म उसको रक्षक हुँ । त्यसो त उसको भिजेको कपाल चिसै थियो । म तानिएथेँ उसैतिर, म छेउमा पुगेपछि लामो सास फेरी उसले । खुसीको, आनन्दको । मैले झोलाको खल्तीबाट भाडा झिकेँ, त्यसैबेला प्लास्टिकले बेरेर उसले छाता राखिदिई । पहिलो सिटमा बसेकी महिलाले आफ्नो सिट छोडिदिएर झरिन् गठ्ठाघरमै । बस्न पाउँदा धन्यवाद पनि नभनेकी उसको व्यवहार कस्तो हो कस्तो अलमल्ल परेको थिएँ ।

ती दिदीलाई सोधेँ – चिन्नुहुन्छ ? उनले मलाई सरसर्ती हेरिन्, चिनेजस्तो लागेन त भाइ । मलाई होइन उसलाई चिन्नुहुन्छ कि ? हिँडिरहेकै बेलामा पुलुक्क मलाई हेरिन् । मैले थपँे, तपाईले सिट छोड्दिनुभएकी केटीलाई चिन्नुहुन्छ कि भनेको । दुःखको सास फेरिन् दिदीले, ‘ती बुढाको व्यवहार हिंसात्मक थियो, मैले बस चढ्ने बित्तिकै महसुस गरेकी थिएँ ।’ मैले नबुझेको अड्कल काटिछन् थपिन्– “यौनहिंसा ।” हामी महिलाले बसमा आरक्षण खोज्नुको मुख्य कारण त्यस्ता व्यवहारबाट बच्नु पनि हो भाइ । नचिनेकै भए पनि मानवता देखाउनुपर्छ तपाईँले पनि, मैले पनि ।

मेरो कौतुहलताको रहस्य मैले खोलेँ, पानीमा रुझेकी उसलाई ओत दिएँ र पनि मलाई धन्यवादसम्म भनिनन्, तपाईँले सिट मिलाइदिँदा पनि कृतज्ञता देखाइनन् ।

‘आत्माले त भन्यो होला कैयाँैपटक ।’ दिदी हाँसिन् ।

माइती भेट्न गएकी रहिछन् दिदी । दिदीसँग छुटेपछि छिटो र लम्किएकोे हिँडाइको चालमा अफिस पुगेँ । अफिस पस्ने बित्तिकै सहकर्मीलाई ढिला आउनुको कारण बताएँ, क्षमा मागेँ र बिस्तारै कुरा सुरु गरेँ उसैको । मेरो कुरा ध्यान दिएर सुनिरहेका साथीहरु मध्य दिव्याले भनिन्– बोल्न नसक्ने समस्या पो छ कि ? खै किन किन मेरा हात पाखुरा नै गले । काममा पनि बिहानका दृष्यहरुले स्थान लिन थाले ।

हप्ता दिनपछिको कुरा, टिचिङ अस्पतालको न्यूरो वार्डमा उपचार गराइरहनु भएको मामाको छोरालाई आँखा, नाक–कान, घाँटीको ओपिडि देखाउन पर्ने थियो । केहीबेर भेट्न गएको म पनि माइजुसँगै गएँ । वाक् तथा श्रवण कक्षमा थिई ऊ । संयोगले नाम त्यहीँ थाहा पाएँ, स्वस्तिमा कोइराला । त्यसदिन पनि मास्क चाहिँ त्यही थियो ।

एकछिन त सोचेँ, किन लगाएको होला मास्क ? उपचारभन्दा रोकथाम राम्रो भन्ने उक्ति शिरोपर गरेकी हो कि ? सामान्य अवस्थामा महिलाहरु आफ्नो सुन्दरताको प्रदर्शन गर्न रुचाउँछन भन्ने सुनेको थिएँ तर किन उसमा मिल्न गएन त्यो भनाइ ? मैले अड्कल काटेँ, कि ऊ धेरै राम्री हुनुपर्छ कि धेरै नराम्री ।

घर फर्किएपछि फेसबुकमा खोजेँ, स्वस्तिमा कोइराला तर भेटिनँ । पानी परेको बेला, ग्वार्कोमा बस पर्खिँदा निकै सम्झन्थेँ । झरीमा भिजेको माटोको बास्ना मन पर्छ मलाई, उसलाई सम्झेको बेला ठ्याक्कै त्यही सुगन्ध छाउँथ्यो मनभरि । सम्झनाले पनि काउकुती लाउँछन्, युवकमा हुनपर्ने विपरित लिङ्गी आर्कषणमात्रै भए पनि सही लाग्थ्यो सम्झिँदा । कहाँ थिई कहाँ तर प्रष्टै भन्नुपर्दा मेरो मनको एउटा कुनामा नचलमलाई बसेकी थिई ।

असारको अन्तिम साताको साँझपख, साथीहरुसँग हल्लिँदै बगंलामुखी पुगेका थियौ । तीन वटी केटी अरुसँगै ढुंगेधारामा पानी थाप्दै थिए । स्वस्तिमा र उनका बहिनीहरु रहेछन् । केहीबेर मन्दिर घुमेर मैनबत्तिको दियो बाले सबैले ।

‘स्वस्तिमा…!’

पुलुक्क हेरे तीनै जनाले । मैले बोलाएको थिइनँ तर साथीहरुलाई म उनलाई चिन्छु नाम स्वस्तिमा हो भन्ने प्रसंगमा बोलेको थिएँ । मलाई टुलुटुलु हेरिरहिन्, बहिनीहरुले सोधे – चिन्नुहुन्छ दिदी ?चिनेको छु भन्ने भाषामा टाउकाले संकंत गरिन् । साथीहरुको उत्ताउलो व्यवहारले दिक्क भएझैं फर्किहाले उनीहरु । मैले पनि दियो बालेर प्रार्थना गरेँ – “भगवान् स्वस्तिमाको आवाज देऊ ।” कहिल्यै नदेखेको जसरी हेर्दै थिए साथीहरु, अँध्यारो बढ्दै गएपछि हामी घरतिर लाग्यौँ ।

शनिबारको दिन च्यासल चोकमा फोहोर फाल्न आएका थिए दिदी बहिनी । घरबेटी काकीले पनि चिन्नुभएको रहेछ, केही वर्षअघि हामी बसेकै घरमा बसेका थिए रे स्वस्तिमाहरु । भाइबहिनीको रेखदेख गरेर बसेकी उनलाई टाइफाइड भएको रहेछ । ‘बेलैमा उपचार नगराएकोले मस्तिष्कमा प्रभाव परेको कारण बोली बिग्रियो र स्वर नबुझिँदा बोल्न छोडिन् । उपचार हुन्छ, थेरापीको सहायता लिन भनेका थिए डा.ले तर ७२ सालको भूकम्पपछि अन्योलमा परेको स्वास्थ्य सेवाकै कारण ढिला भयो । हाम्रो घर भत्किएपछि डेरा सरेका हुन् उनीहरु ।’ घरबेटीको छोरीको नाम पनि स्वस्तिमा, उनीहरु दुवै स्कूलदेखिका साथी रहेछन् ।

“गोठालो जाँदा लाएको माया काठमाडौं जाँदा भुलेछ, निष्ठूरी मायालु … ।” स्कूल पढ्दा स्वस्तिमाले गाएको गीतको भिडियो थियो त्यो । घरबेटी काकीलाई थाहा नदिएरै आफ्नो मोबाइलमा सेयर गरेँ । स्वस्ती स्वस्ती नाममा फेसबुक पनि रहेछ उनको, रिक्वेस्ट पठाएँ ।

‘निर्मला आन्टीमार्फत मैले तपाईँलाई चिनेँ देवकोटा जी, तपार्इँलाई धेरै अघिदेखिको सहयोगको लागि धन्यवाद भन्नु छ ।’ स्वस्तीको जवाफ थियो । ओहो ! कति छिटो कुरा भइसकेछ । मैले अथ्र्याए भावनाले निकै नजिक रहेछन् घरबेटी काकी र स्वस्तिमाहरु । कुरा त्यहीबाट सुरु भएको थियो हाम्रो र निरन्तर भइरह्यो । स्कूलदेखिका फोटोहरु हेरेँ, अनुहारमा सामान्य परिवर्तन छ तर अरुको असामान्य हेराइबाट बच्न सधैँ मास्क लगाउने रहिछन् । छात्रवृत्तिमा मानविकी संकायमा स्नातक पढ्दै गरेकी उनी मामाघरमा बसेकी थिइन् काभ्रेपलाञ्चोक ।

भक्तपुरमा रहेको मार्केटिङ सोलुसन एण्ड सर्भिसिङजस्तै व्यवसाय ललितपुरको मुख्य बजार लगनखेलमा पनि सुरु भएको रहेछ । भर्खरै खुलेको शाखामा अन्र्तवाता दिएर काम थालेका हामी छ जना थियाँै, म अकाउन्टेन्टका लागि छानिएँ । केही महिना अन्योल भयो सबैलाई, मेरो जिम्मेवारी के हो, हामी कस्तो सेवाका लागि आएका हौँ भन्नेजस्ता अन्योल थिए । एकदिने तालिम त दिइएको थियो, लक्ष्य, सिद्घान्त नै नबुझेको समय केही गाह्रो थियो । आर्थिक आवश्यकता सहजै प्राप्त गर्न, कामजस्तो भए पनि गर्छु भनेर होमिएकाहरुलाई पैसाले मात्र पुगेन । इमान र सम्मान खोज्नेहरु कामको जिम्मेवारी भएर पनि भौतारिने अवस्था थियो ।

पढाइ अवधिभर मामाघरमै बसेर बेलाबखत मामाको व्यवसाय बुझ्ने अवसर पाएकी उनले धेरै कुरा सेयर गरेकी थिइन् व्यवसायका सम्बन्धमा । उनी खोज अनुसन्धानमा तीव्र रुचि राख्थिन् । मार्केटिङ सोलुसनको अवधारणा उनैले बुझाएकी हुन् । च्यासलमै बसिरहेकी उनको पनि काम थिएन, फ्रेसरलाई काम पाउनै गाह्रो समय आइसकेको थियो । मानविकी पढेकाहरुको स्कोप थाहा नभएको परिस्थितिले वा स्वस्तिको स्वास्थ्यका दृष्टिकोणले काम पाइरहेकी थिइनन् ।

सिजनअनुसारका सामग्रीहरु र पर्व विशेषका सामग्रीहरुको बजार व्यवस्थापनको काम सुरु भएको थियो । सोचेका सामग्रीहरु फुटपाथमै पाइन्छ, यस्तो अफिस नै केका लागि भन्नेहरुका निम्ति र नयाँ सामग्रीका निम्ति “मास कम्युनिकेसन”को खाँचो थियो । तर्कसहित बोल्न जान्नेहरु थिएनन् । स्वस्तीको ज्ञान र क्षमता बुझेर हुनुपर्छ मामाले उनलाई मास कम्युनिकेसनको लागि कन्टेन्ट राइटरको रुपमा ललितपुर शाखामा कामको लागि व्यवस्था गरिदिनुभएको थियो ।

सबै कुरा राम्रो भइरहेको थियो, बजार व्यवस्थापनमा मास कम्युनिकेसनको भुमिकाले निकै सहज भएको थियो । कन्टेन्ट राइटिङसँगै डिजिटल अभिलेख रेकर्ड गर्ने काममा स्वस्ती निकै व्यस्त रहन्थिन् । त्यसका लागि मेनेजर निकै कृतज्ञ हुनुहुन्थ्यो ।

उनको परिवारसँग निकै नै सामिप्यता बढ्यो एउटै कार्यालयमा काम गर्न लागेपछि । घरबाट सँगै काममा जान्थ्याैँ र सँगै फर्किन्थ्याैँ । उनकी आमाले मलाई आफ्नो छोरो जत्तिकै व्यवहार गर्नुहुन्थ्यो । पछिल्ला दिनहरुमा स्पिच थेरापीमा व्यस्त उनका व्यवहारहरु परिवर्तन भइरहेको थिए । आमाहरुसँग एकदुई शब्द बोल्ने उनी मसँग भने बोल्दिन थिइन् ।

सुम्निमा (स्वस्तीकी बहिनी) भन्थिन्, ‘भर्खर भर्खर हिउँद लागेको छ भन्ने मौसम हेरेर होइन, महिना हेरेर अड्कल काटिरहेकी छिन् स्वस्ती ।’ स्वस्ती पनि भन्थिन् ४ बजे निद्रा खुलेपछि आँखा जोरिँदैनन्, हरेक प्रयास गर्दा पनि निदाउँन सक्दिन । बरु उनको दिमाग घडीको सुइसँगै घुमेको हुन्थ्यो रे । यस्तै कुरा फेरिहाल्थिन्, ‘के भएको म आजभोलि ? घरको सम्पूर्ण जिम्मेवारी सम्हालिरहेकी थिएँ ।’ प्रसंग मोडिँदै जाँदा म पनि असमञ्जस हुन थालेँ । हाम्रो मेसेजमा सिमित कुराकानी पनि अपूर्ण लाग्न थाल्यो तर उनको छटपटी सजिलै अध्ययन गरिरहेको थिएँ म ।

स्वस्तीको अवस्थाले पनि सुम्निमालाई भ्याइनभ्याई भयो । कुनबेला घरबाट निस्कन्छिन्, कहाँ जान्छिन् र कुनबेला फर्कन्छिन् भन्ने स्वस्तीलाई थाहा हुँदैन थियो । सुम्निमालाई हप्ता दिनदेखि वाकवाकी र वान्ता भइरहेको थाहा भएर पनि छेउमा एक गिलास पानी राखिदिनु बाहेक हेरचाह छैन, सोधखोज भएन, उपचार खोजिएन ।

ती दिनहरु सम्झँदा लाग्छ, उनको ओछ्यानको छेउमा लडिरहेको गिलासले केही दिनदेखि उठ्न परेको थिएन । घरका सदस्यहरुलाई पनि त्यसले प्रभाव नपारेको हुनुपर्छ । गर्नपर्छ भन्ने पनि छ तर हात चलाउन मन गर्दिनथिइन् उनी । स्वस्तीको अवस्था देखेर आमा, भाइ–बहिनीहरु निशब्द थिए । एकान्त मन पराइरहेकी थिइन उनी तर काममा पनि गइरहेकी थिइन् । परिवारले उनलाई थकान भएको महसुस गरिरहेको थियो तर उनैलाई थाहा थिएन के भइरहेको छ । पछिल्लो समय कापीका पानाहरुमा कम्ति लख्ने उनले मोबाइलमा भने लेख्न छोडेकी थिइनन् भन्ने लाग्छ मलाई ।

“नजन्मिँदै सुरु हुने जिन्दगीको कथा…।

आखिर के हो जिन्दगीको परिचय ? हाम्रो जीवन कहानी हामी नजन्मिँदै सुरु हुने कुरा मैले कतै पढेकी थिएँ, अहिले लाग्छ यो शतप्रतिशत साँचो हो । सायद सुख सयलमा पनि शान्ती छैन होला, त्यसैले सघंर्षका हरेक भोगाइहरुमा म सन्तुष्ट हुने प्रयासरत छु । र पनि कुनै बेला अभाव महसुस हुन्छ कुनै बेला दबाब । यसै क्रममा सुरु भएको छटपटी र बेचैनी पनि कति अत्यास लाग्दो ! यसले निम्त्याएको नैराश्यता र अल्छिपनको त के कुरा गराैँ । के मान्छेको भोगाइ भावीले लेख्ने कुरा साँचो हो ? साँच्चै बुझिनसक्नु छ जिन्दगी, नकल्पिएको भोगाइ अनि भावनाहरु । उफ्.. !” – स्वस्तीको निराशाजनक दिनहरुमा पछिल्लो फेसबुक पोस्ट ।

हाइ काढ्थिन् र मौन बस्थिन् ।

उनको मौनता पनि यति शून्य कि शरीर चिसो भएर आउँथ्यो । बोलिदिए हुन्थ्यो र मनका बहहरु खोलिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । शरीरका अङ्गहरु सक्रिय भएर पनि मनका भावनाहरु एकीकृत हुन नसक्दा कति गाह्रो हुँदोरहेछ, स्वस्तीको व्यवहारबाट अध्ययन गरेको छु मैले ।

पेप्टिक अल्सरको सुरुवाती चरणको उपचारका लागि सुम्निमाले कार्यालयमा बिदा लिएकी थिइन् । प्रशस्त आराम, समयमा खाना र औषधि लिन सुझाएका थिए डाक्टरले । सबैलाई आश थियो, केही सक्रिय भइदिए हुन्थ्यो स्वस्ती तर उनका दिनहरु फेरिएनन् । काममा जानुपर्छ भन्ने छ, जान्थिन् । भान्सामा के पाक्दै छ भन्ने सम्म पनि उनलाई चासो थिएन । आमाको फुर्सद नदेखेर होला ठिक पारेको तरकारी चाहिँ काटिदिन्थिन् । खाएको जुठा भाँडा माझ्ने कुरा त कल्पनामा पनि सोचिएनन् ।

तिम्रा दिनहरुको असक्रियता स्वभाविक लाग्दैन भनेर आमाले नसम्झाउनु भएको पनि होइन । के भइरहेको छ भनेर मैले नसोधेको पनि होइन । उनी आफैँले क्रियाशिलता बढाउन नखोजेको पनि होइन । तर के भएको हो उनलाई, दैनिक कार्यव्यवस्थापनमा आलस्यता बढेको देखिन्थ्यो र छटपटाउँथिन् । कहिले फोटोहरु हेर्थिन्, कहिले डायरी लेख्थिन् त कहिले सामाजिक सञ्जालमा अल्मलिन्थिन् ।

चिन्ने र देख्नेले उनको अवस्था हेरेको आधारमा भन्ने गर्थे, प्रेममा धोका पाएकी जस्तो छ । स्वस्तीले आफ्नो साथी सम्बन्धबारे कुनै हिन्ट दिएकी थिइनन् । त्यसो त बुबा विदेशबाट नफर्कुञ्जेल बिहेका कुरा नचलाउन आग्रह गरिरहेकी थिइन् आमालाई । कार्यालयमा भने उनको काम उत्कृष्ट भएको भनिन्थ्यो तर पनि मामाको पहुँचमा मिलेको कामको जस मामालाई अनि अपजस स्वस्तीलाई । उनको गुनासो भनेको त्यही नै थियो र मैले बुझेको पनि त्यस्तै ।

भदौको तेश्रो हप्ता, म घर अगाडि लिन पुग्दा भनेकी थिइन्– म आज काममा जान्नँ ।

भोलिपल्ट पनि त्यसै भनिन्– म आज पनि जान्नँ । कार्यालय गएको मलाई सबैले प्रश्न तेर्स्याएथे– स्वस्ती खोइ ? त्यस साँझ स्वस्ती भेट्न गएको म भाइको करकापमा त्यतै बसेँ ।

तेश्रो दिन बिहान, झिसमिस उज्यालो पनि भएको थिएन । सधैँ छ/सात बजे उठ्ने स्वस्ती ४ बजेदेखि नै घरिघरि झ्यालको पर्दा खोलेर हेरिरहेकी थिइन् । ५ बजेको हुँदो हो, झिसमिसमै निस्किइन् उनी । छोरी गएको बाटो कुन बेला आउलिन् भनेर हेरिरहेकी आमालाई समयले झस्काउँथ्यो घरिघरि । निकै बेरपछि हातभरि फलफूल, तरकारीका झोला देखेर आमाले पत्याउनुभएन ऊ स्वस्ती नै हो भन्ने । मैले पनि भान्सामा पुगेर ठम्याएँ – आइपुगिन् स्वस्ती ।

मोबाइल छोडेर गएकी उनी निस्किएदेखि फोन आउने क्रम बढ्दो थियो । स्वस्ती फर्किएपछि नुहाउन गएका बेला आमाले उठाइदिनुभयो – मामाको फोन रहेछ । सामान्य कुराकानीसमेत नगरी आएको कर्कश आवाजमा धाक र धम्कीसहित उहाँले भन्नुभएको सुनेँ– मैले मिलाइदिएको जागिर …।

स्वस्तीलाई आमाले भन्नुभयो– ‘छोरी तिमी आज काममा नजानु ।’ आमाको त्यो आग्रह उनले पत्याइनन्, हामीले पनि बुझेनौ ।

‘मामासँग कुरा भएको थियो, तिम्रो अवस्थाबारे किन भनिनौ ? तिम्रो ज्ञान, सिप र क्षमता उपर अरुको मानहानी सहनु पर्दैन, त्यसैले नजाऊ ।’ उनको कमाइले नै परिवारको आर्थिक भार धानिरहेको बताउने आमाले काममा नजाऊ भन्नु अप्रत्याशित थियो हाम्रा लागि । आमाको आदेश मानेर केही नबोली घरै बस्ने भइन् स्वस्ती ।

सधैँ जसो हामी सँगै कार्यालय पुग्ने गरेको सबैलाई थाहा थियो । अघिल्लो दिनझैँ प्रश्न तेर्सियो– खोइ त स्वस्तिमा ?

उनी काममा नआउने बताएपछि मेनेजरले फोन गर्नुभयो, –स्वस्तिमा जी, तपाईँको राजीनामा स्वीकृत भएको छैन, किन आउनुभएन ?

राजीनामा ! कहिले दिइन् स्वस्तीले । किन दिइन् राजीनामा ? हामी छक्क पर्याैँ । उता आमाले जवाफ दिनुभयो, ‘आत्मसम्मानको अभाव र आफ्ना भनिनेको दबाबमा गरिएको कामले उनी सन्तुष्ट छैनन् सर ।’ आमाले पढेकी छैनन् भनेर आफ्ना समस्याहरु नसुनाउने हामीलाई पनि गतिलो दनक दिनुभयो आमाले, मैले यही सोचेँ ।

नभन्दै स्वस्तीले मार्केटिङ सोलुसनमा काम छोडिन् । हाम्रो भेटघाट पातलिए पनि मेसेन्जरमा कुरा भइरहन्थ्यो ।

मैले थाहा पाएअनुसार, हरेक दिन बिहान उनको हिँडाइ रोकिएन । उनी भन्थिन् – मेरो ऊर्जा भनेको बिहानको हिँडाइ हो, म यसलाई निरन्तरता दिनेछु । पहिलो र दोश्रो दिन कुनै लक्ष्यविहीन हिँडिरहँदा शरीर र आत्माको विछोड भएको महसुस भयो । मलाई हराइरहेकी म भेटाइदिएको यही हिँडाइले हो । मेरो मन र मस्तिष्कको मिलन गराइदिएको पनि हिँडाइले हो । म अब हिँड्छु र हिँडिरहन्छु । आफैँमा निर्भर रहेर हिँड्छु । कसैप्रति गुनासो नरहोस्, अरुको ध्यान आफूतिर तान्नुपर्ने बाध्यता नहोस् । म सक्षम हुन चाहन्छु । सबै वरिपरि भएर पनि कोही नभएको झँै स्वतन्त्र रहोस् जिन्दगी, वरिपरि कोही नभएर पनि म छु भन्ने सम्बन्ध बनाउन सकियोस् न अनि पो बाँचेको अर्थ हुन्छ ।

स्वस्तीले नै सिकाएकी हुन् – गन्तव्यहीन नै किन नहोस्, यात्रा कायम राख्नुपर्दो रहेछ । आफ्नो स्वाभिमान बचाउने भोक हुनुपर्ने रहेछ ।

शनिबार पनि फुर्सद मिल्दैनथ्यो उनलाई, व्यस्तताकै बिच ‘आफ्नै लागि समय’ छुट्याएकी थिइन । ‘आफ्नै लागि समय’ भनेको आफ्नो रुचि अनुसारको कार्यसुची रहेछ । हरेक बिहान केही क्षण हिँड्नु, फर्केर व्यायाम गर्नु, ध्यान गर्नु । आफ्नो रुचि अनुसारको कामः नयाँ परिकारहरु पकाउनु, नयाँ ठाउँ घुम्नु, आफन्तजन भेट्नु । उनी कहिल्यै पनि खाली बस्दिन थिइन्, योजनाहरु आफैँ बन्थे समय अनुसार र परिस्थिति अनुसार । पढ्ने र कार्यक्रम योजना गर्ने उनको व्यस्तता बेग्लै हुने । ‘यति धेरै व्यस्त रहँदा थकाइ लाग्दैन स्वस्ती’ भनेछ कुनै व्यत्तिले भने उनी हाँस्दै भन्थिन्, “म मेरा रुचिहरुसँग आफ्नो थकान मेटिरहेकी छु ।” उनी आत्मनिर्भर छिन् । लाग्छ, आत्मनिर्भर मान्छेले अरुसँग कहिल्यै गुनासो गर्दैन र आफ्ना रुचिहरुसँग कहिल्यै थाक्दैन ।

आफ्नो मनले चाहेका कुराहरु प्राप्त गर्न हरेक कोसिस गर्नुपर्छ भन्थिन् उनी । उनलाई भेट्न, तिर्सनाहरु मेट्न सधैँ तयार हुन्थिन् पनि । जीवन पनि सँगै बिताउने चाहना त थियो मेरो, यस भावमा भने उनलाई बुझ्न सकेको थिइन । साथी सम्बन्ध गुम्न सक्छ भन्ने डरले मैले आफ्ना भावनाहरु कहिल्यै खोलिन । प्रेम सम्बन्धका बारेमा प्रसंग आउँदा पनि केही बोलिनँ ।

विदेशमा बुबाको श्रम, नेपालमा व्यवसाय गरेर आमाले वचत गर्नुभएको रकम र उनको कमाइले किर्तीपुरमा सानो घर घडेरी जोडेर बसाइ सरेपछि भने मेरो व्यत्तिगत र पारिवारिक भेटघाट लगभग शून्य थियो । मैले पनि गर्दै आएको काम छोडिदिएर इलेक्ट्रोनिक सामानहरुको होलसेल खोलेँ । व्यवसाय विस्तारमा सल्लाह सुझाव लिएर भाडामा प्रयोग हुने गरी व्यवस्थापनको आफैँले जिम्मा लियौँ । कार्यक्रम आयोजकका रुपमा स्वस्ती र व्यवस्थापकका रुपमा हामीबिच सम्झौता भए पनि भेटेका बेला नमस्कार आदानप्रदान गर्नुबाहेक हाम्रो भेट कहिल्यै लम्बिएनन् ।

खुसीको कुरा, मैले सुरुमा भेट्दा बोल्न नसक्ने उनी थेरापी र उपचारका सहगोगले अहिले बोल्छिन् । आवाज उस्तै सुरिलो छ, जस्तो मैले गीतमा सुनेको थिएँ । त्रिभुवन विश्वविद्यालयबाट ‘साइकोलोजी’मा स्नातकोत्तर गर्न सुरु गरेकी उनी फुर्सदको समय विभिन्न कार्यक्रममा सञ्चालकको भूमिकामा देखिन थालेकी छिन् । यस अर्थमा स्वस्ती मेरो साथीमात्र होइनन्, आत्मविश्वासी बन्न सिकाउने प्रेरणा पनि हुन् ।