दालचिनीले आफ्नो पूरा उमेर पुगेर पनि बिहा गर्ने अझ केही विचार गरिनन्, किनभने जति वरको खबर आउँथ्यो कुनै धनवान् थिए, कुनै रूपवान् । धन र रूपभन्दा पनि ठूलो, अर्को तेस्रो कुरा वरमा हुनुपर्छ भन्ने उनको सिद्धान्त थियो ।

बाबुले ‘चरीकोट अदालत’मा आठ वर्षसम्म हाकिम भएर कमाएका धनमा आधाजति जुवा खेलेर, आधाजति ढाक्रे हुँदा खर्च गरेर सकेका थिए । बाबुको एकमात्र उत्तराधिकारिणी छोरी भएर पनि उनले पैतृक सम्पत्ति केही प्राप्त गर्न पाइनन् । सात वर्षअगाडि उनका पिताको मृत्यु भइसकेको थियो । जब उनी पन्ध्र पुगेर सोह्र लागेकी मात्र थिइन्– अंग–प्रत्यंग विकसित हुँदैहुँदै आएको थियो ।

उनकी आमा मन्दाकिनी देवी उच्चकूलकी छोरी हुन् । माइतको दाइजोले आमा–छोरी दुवैलाई लाउनखानसम्म जेनतेन पुग्दथ्यो, तर घर किन्न भने सकेका थिएनन् । दालचिनी जन्मनुभन्दा अगाडिदेखि नै उनका आमाबुबाहरूको जीवन डेरामै बितेको थियो । दालचिनीको जन्म ‘गुच्चाटेल’मा पुरानो बाँके घरको तल्लो तलाको पूर्वपट्टिको सन्झ्याल भएको कोठामा भएको हो । उनको पास्नी ‘नरदेवी’ मा र अक्षरारम्भ ‘जैसीदेवल’मा हुन पुग्यो । एक–दुई वर्षमा उनीहरू त्यो टोल छोडेर अर्कै टोलमा डेरा लिएर बस्न पुग्थे– कतै अपायक हुन्थ्यो, कतै अफाप हुन्थ्यो, कतै बहाल चर्को हुन्थ्यो, कतै घरपट्टी छुच्चा हुन्थे, कतै बेपर्दा, कतै नरमाइलो । यही क्रमले उनीहरू ‘मासँगल्ली’, ‘टेउड’, ‘चोखाछे’, ‘ठमेल’, ‘न्ह्योखाटोल’, ‘बाघबजार’, ‘भेडासिं’, ‘महाभूत’ धेरै ठाउँमा डेरा गरेर बसे ।

एक वर्षअगाडि मन्दाकिनीको मृत्यु अपरझटको व्यथाले भयो । दालचिनीले त्यो घर पनि अफाप भनेर छोडिदिइन् र अनि उनी असनमा डेरा खोजेर बस्न आइन् । आज ५–६ वर्ष बितिसक्यो, उनी त्यहीँ छन् ।

भीमनिधि तिवारी

अस्ति श्रीपञ्चमीदेखि उनी एक्काईस पुगेर बाईस लागिन् । उनको सौन्दर्य छ शृंगार छैन, ठूलो मन छ उत्ताउलोपन छैन, झ्यालमा उस्तो बस्तिनन्, बाहिर उस्तो निस्किन्नन् । कहिलेकाहीँ हामी उनलाई तस्बिर पसलमा देख्छौँ– अग्ली, कलकलाउँदो चेहरा, लज्जाशील, सलक्क कपाल फर्काएर बाटेकी, रातो टीका, रातो किनारा भएको सेतो धोती, पानबुट्टे डम्बरकुमारीको तीनतहे खास्टो, रातो बनातको चट्टी । साथी एउटी बूढी पछिपछि लागेकी ।

उनलाई अरू कुनै कुरामा सोख छैन सिवाय चित्रमा (तस्बिरमा) । यसमा उनले धेरै रुपियाँ खर्च गरिसकिन् । उनको कोठाको चारैतिर तस्बिररै–तस्बिर टाँगिएका छन् । भुइँदेखि दलिनसम्म टमाटम ! फोटो, छापिएका चित्रहरू, हस्तलिखित चित्रहरू ! अत्यन्त मनोहर चित्रमय कोठा छ । त्यसैमा उनको सुनको स्वर्ग छ, साम्राज्य छ । सुख छ, समययापन छ । नेपालका सारा कलाकारहरूलाई उनी चिन्दछिन्– अनुहारले होइन, नामले, कलाले । उनी आफू पनि अलिअलि तस्बिर लेख्छिन् । उनको अधिकांश समय चित्रहरू निरीक्षण गर्नमै बित्दछ । तकियानजिक ठूलाठूला अल्बमहरू, त्यसमा सयौँ चित्र सुसज्जित छन् । उनका आँखा अक्सर त्यसैमा स्थिर हुन्छन् । छन पनि एकएक चित्र मानो कलाका प्राण सजीव शब्दायमान छन् ।

०००

साउनको महिना, आधा रातको समय, बाहिर पानी झमझम परिरहेको छ, भित्र दालचिनीको दिल एउटा ‘दम्पती’ नामक चित्रले हरिरहेको छ । त्यो चित्र उनले आज मात्र खरिद गरेकी हुन्, साँझदेखि हेर्न थालेकी यस बेलासम्म पनि अझ हेरिसकेकी छैनन् । जति हेर पनि उनका आँखा तृप्त हुँदैनन्, हृदय तृप्त हुँदैन । उनी एक्लै कहिले त्यो चित्रको प्रशंसा गर्छिन्, कहिले कलाकारको ।

दालचिनीको भावुक हृदयले नजाने त्यस चित्रमा कतिकति सौन्दर्य, कतिकति कला देखेको थियो, तर हाम्रा आँखाबाट भने त्यसमा यति कुरा देखिन्थे– एउटा भत्किन लागेको, टेवा दिएर अड्याएको छाप्रो । छाप्रोको छानामा फर्सीका लहरा, झरेका फूल, कैँडा, छाप्रोको पिँढीमा फुटेको मकल, पुरानो डोको, थोत्रो घुम, अगाडि मलको ढिस्को, पछाडि रछानको खाल्टो ।

एउटा जोडी उमेरदार दरिद्र दम्पती । लोग्नेको च्यातिएको टोपीबाट कपाल निस्केको, झुत्रोझुत्रो बाँकटे भोटो, घुँडासम्म छोटो फाटेको धोती । स्वास्नीको चाहिँ चिथ्राचिथ्रा चोलो, झुत्रोझुत्रो कैयौँ ठाउँमा सिएको, टालेको धोती, न कपालमा धागो न हातमा चुरा । तर साथमा सौभाग्यको सवाक् मूर्ति लोग्ने ।

दुवैजना एउटा थोत्रो सुकुलमा बसेका– प्रेममा सुधबुध भुलेर । कपोलमा कपोल मिलाएर, पूर्वतिर हेरिरहेका । डाँडाबाट पूर्णचन्द्र आधा मात्र उदाइरहेका । एक जोडी बकुल्ला आकाशमा उडिरहेका । एक जोडी सारौँ त्यहीँ नजिकैको रूखमा बसिरहेका । एक जोडी ढुकुर चुच्चोमा चुच्चो मिलाएर आहार साटासाट गरिरहेका । पश्चिमी आकासमा अनेकरंगी बादल । चित्रको मोटामोटी कुरा यत्तिकै हो । त्यसको दायाँपट्टि छेउमा ‘कलाकार केदारले’ भनेर लेखिएको थियो ।

दालचिनीको हातबाट त्यो चित्र एक्कासि बिछ्यौनामा खस्यो । अब उनी कलाकारको कल्पना गर्न थालिन् । मनमनैले सोध्थिन् । मनैमनले जवाफ दिन्थिन् । दिवाल घडीबाट ट्याङ एक बज्यो (रातिको) ।

“के यी कलाकार युवक होलान् ?”

“होइन ।”

“किन ?”

“युवकको अपूरो अनुभवबाट यस्तो चित्र बन्न सक्दैन ।”

“के वृद्ध होलान् त ?”

“होइन ।”

“किन ?”

“वृद्ध भएका भए यस्तो शृंगाररसको चित्र उनको कुचीबाट अंकित हुँदैनथ्यो ।”

अनि उनी यही निष्कर्षमा आइपुगिन्– यी कलाकार अवश्यमेव मध्यवयस्कका छन्, वारि घाट र पारि घाटको बीचमा पुगेको डुंगा जस्तो । उनको दिलमा केके थियो त्यो उनी नै जानून् । तर उनको मुखाकृति अंग सञ्चालन, परिस्थितिबाट त यही अन्दाज गर्न सक्छिन् । उनी त्यो चित्र ‘दम्पती’मा भन्दा कलाकार ‘केदार’मा ज्यादा आकर्षित थिइन् ।

पाँच रुपियाँमा यस्तो सस्तो चित्र ! उनले त्यसलाई जीवनभरको सस्तो खरिद सम्झिन् र त्यो तस्बिर पसलेलाई बारबार धन्यवाद दिइन्, जसले उनलाई त्यस्तो चित्र ल्याइदियो ।

नेपालका (काठमाडौं सहरका) एकएक तस्बिर पसलेलाई थाहा थियो उनी चित्रकी साह्रै प्रेमी छन् । अतः विदेशबाट झिकाइएका या नेपालमै लेखिएका नयाँ चित्रहरू आइपुग्नासाथ पहिले उनीहरू दालचिनीको चित्रमय कोठामा पुग्थे । उनले छानेर किनेपछि बाँकी जति पसल–पसलमा बिक्री हुन आउँथे ।

०००

त्यो टोलका सब अल्लारे ठिटाहरू दालचिनीसित कुराकानी गर्न चाहन्थे, आवतजावत गर्न चाहन्थे । तर उनी भने ती कसैलाई पनि वास्ता गर्दिनन्, टेर्दिनन्, हेर्दिनन् । उनको यस्तो व्यवहारमा तिनीहरू स्वभावतः अप्रसन्न थिए । कुनैकुनै छिचल्केका ठिटाहरू कहिलेकाहीँ उनको डेराको ढोकामा केही निहुँ लिएर पुग्दथे । फलतः झम्टाइ खान्थे, फर्कन्थे । कुनै बाठाबाठाचाहिँ बजारभरको राम्रा चित्र लिएर नजराना दिन जान्थे । ती पनि असफल भएर नै निस्कन्थे ।

एक थरी बदमासहरूको दिनभरि काम नै यही थियो जो जे बेच्न या खोज्न आयो त्यसलाई दालचिनीको डेरा देखाइदिनु । दाउरेले दाउरा ल्यायो, डुइनीले रातो माटो ल्याई, गुरुङ ऊन खोज्न आयो, तमौटे भाँडा साट्न आयो यी बदमासहरू ती सबलाई दालचिनीको घर या ढोका देखाइदिन्थे । यसो गर्नमा उनीहरूलाई खुब मजा आउँथ्यो, किनकि दालचिनी त्योसित रिसाउँथिन् ।

०००

एकपटक सानो दसैंताक एउटा लठ्याउरो काँठेले लामो दाह्री, लामो सिङ भएको अजङ्गको बोको बिक्री गर्न डुलाइरहेको थियो । यी बदमासहरूले विचार गरे, यसलाई पनि दालचिनीको घर बताइदिऊँ । बोको बेचुवा साह्रै सोझो थियो । बदमासहरूले भनेबमोजिम बोकोलाई उसले दालचिनीको डेराभित्र लगे । उनी विस्मित भइन् र त्यो काँठेलाई नराम्रोसित रिसाएर गाली गर्न थालिन् । तल बदमासहरू पेट मिचीमिची हाँस्न लागे । विचरी दालचिनी आजित भएर अब त दिउँसो पनि ढोका बन्द गरेर बस्ने गरिन् । अब उनको ढोका पशुपतिनाथको मन्दिरको दरबाजा झैँ टायमटायममा र आवश्यक परेमा अर्थात् आफू घरपट्टी आमाकहाँ र घरपट्टी आमा आफूकहाँ जानुआउनु परेका बेला मात्र खुल्ने भयो ।

त्यो ‘दम्पती’ भन्ने चित्रले उनलाई यति प्रभाव पार्यो उनी बिहान उठ्नासाथ त्यसैलाई हेर्थिन् । राति सुत्ने बेलामा त्यसैलाई हेर्थिन्, दिउँसो पनि छिनछिनमा त्यसैमा नजर लगाउँथिन् । अब अरू सारा चित्रहरू उनलाई फिका लाग्न थाले ।

०००

एकदिन दिउँसो पल्टेकी मात्र थिइन् झपक्क निद्रा लागेछ । सपनामा अपरिचित ‘केदार’ सित उनको भेट, बोलचाल भएछ । त्यही ‘दम्पती’ नामक चित्रमा उनले धेरै कुरा सोधिछन् । उसले सब प्रश्नको ठीकठीक उत्तर दिएछ । जसै बिउँझेकी थिइन् त्यस दिनेदेखि आँखाबाट आँसु बहन थाल्यो, मुटुको धड्कन बढ्न थाल्यो, श्वासप्रश्वास दीर्घदीर्घ चल्न थाल्यो । खानु, पिउनु, सुत्नु छुट्तैछुट्तै गयो । आँखा धसिँदैधसिँदै गए । कन्चटमा नीला नसा देखिँदैदेखिँदै आए । गाला कप्लक्क पर्यो । घाँटी सुकेर छिन्ला जस्तो भयो । दिनप्रतिदिन तागत घट्तैघट्तै र व्याकुलता बढ्दैबढ्दै आयो ।

अब उनले आफ्नो जीवन नै विसर्जन हुने ठानेर ‘केदार’को पूरा हुलिया पाउनका निमित्त त्यो तस्बिर पसलेलाई डाक्न पठाइन् जसले उनलाई ‘दम्पती’ बिक्री गर्न ल्याएको थियो । जसै त्यो तस्बिर पसले सम्मुख भयो पित्तको रोगीको पाकस्थलीमा पित्तपित्त हुँडलिएको जस्तो उनको दिलमा पनि कैयौँ कुरा उर्लन थाले । अरूअरू धेरै कुरा गरिन्, तर ‘केदार’को विषयमा उनको मुखबाट एक वचन पनि निस्केन– सायद लाजले, धकले । जसै त्यो तस्बिर पसले ढोकाबाट बाहिर निस्केको मात्र थियो ‘केदार’को बारे केही कुरा पनि नसोधेकामा उनको मुटुमा पश्चातापको शोला चल्न थाल्यो, खास्टोले मुख छोपेर रोइन्, आँसु आएसम्मन् रोइन् ।

०००

एकदिन, झमक्क साँझ परेको, भर्खर बत्ती बलेको मात्र थियो, एउटा युवक भनेको जस्तो डेरा नपाएर खोजीखोजी हिँडिरहेको रहेछ । संयोग त्यो युवक उही बदमास मण्डलीमा आइपुग्यो र त्यताकतै डेरा पाइन्छ कि, सोध्यो । बस, के थियो, बदमासहरूमध्ये एउटा डेरा देखाउन अघिअघि लाग्यो, युवक पछिपछि । दालचिनीको घरको भर्याङनिर आइपुगेर उसले भन्यो, “ऊ, ढोका त्यही हो, बन्द गरेको छ । ‘खोल्नोस्’ भनेर ढ्याम्मढ्याम्म हान्नू । त्यहीँ भित्र डेराकी मालिक्नी छन् । सस्तो बहालमा दिन्छिन् ।” युवक माथि उक्लियो । बदमास फर्कियो ।

सोझो दिलको सोझै काम । त्यो युवकले दालचिनीको ढोकामा हत्केलाले ढ्याम्मढ्याम्म हान्यो । भित्रबाट दालचिनीले मन्द स्वरले सोधिन्– “को त्यो ?”

“म” बाहिरको युवकले भन्यो ।

“किन ?”

“खोल्नोस् न त ।”

“के काम ?”

“काम छ ।”

“को ? किन ?” (ढोका खोलेर)

“डेरा खोज्न आएको ।” (भित्र पसेर)

“रातको टायम, एक्ली स्वास्नीमान्छे बसेको कोठामा आएर डेरा ?” (रिसाएर)

“छैन ?”

“बेकाइदा, ठानामा गएर उजुरी गर्छु ।” (रिसले चूर भएर)

“म निर्दोष हुँ ।”

“सरम छैन, अझ म निर्दोष हुँ । घर काँ हो तिम्रो ? को हौ तिमी ?”

“घर छैन । डेरा खोज्न आएको हुँ । केदार हो मेरो नाम ।”

अब दालचिनीले त्यो युवकको शिरदेखि पैतालासम्म हेरिन् — झुस्स दाह्री, गडेका आँखा, कालोकालो रोगन । खद्दरको टोपी, मामुली केटो, मामुली कमिज, सुरुवाल । धूलोले गोडा छोपेको । जुत्ता छैन । त्यो युवकचाहिँ त्यो चित्रमय कोठा देखेर चकित भयो, मोहित भयो । दालचिनीले आफ्नो अल्बमबाट त्यही ‘दम्पती’ नामक चित्र झिकेर देखाएर सोधिन्– “यो लेखेको कसले ?”

युवकले धेरैबेरसम्म त्यो चित्र टुलुटुलु हेरेर आँखाबाट टपक्क आँसु खसाल्यो । “मेरो यो हराएको एक वर्ष भयो । कहाँबाट यहाँ आइपुग्यो !!!”

दालचिनीले भनिन्, “मेरो दिल हराएको पनि एक वर्ष भयो । कहाँबाट आज यहाँ आइपुग्यो !!!”

परस्परमा दुवैजनाले निकै बेरसम्म हेराहेर गरे ।

अनि उनले आफ्नो कोठा देखाएर एकपटक भनिन् – “यो डेरा खाली छ हजुरको निम्ति ।”

अनि उनले आफ्नो हृदय देखाएर अर्कोपटक भनिन्– “यो डेरा खाली छ हजुरको निम्ति ।”

‘भीमनिधि तिवारीका प्रतिनिधि कथाहरू’बाट ।