केदार गल्लीभित्र छिर्छ । चोकमा आइपुग्छ । सफा दर्शन ढुङ्गाले छापेको चोक । बीचमा दर्शन ढुङ्गाकै एउटा सानो देवल छ, जसको चारैतिर देवताका खाने मुखहरू कुँदिएका छन्‌ । देवताको मुख र निधारमा अक्षताहरू टाँसिएका छन्‌ ।

केदार चारैतिर नौलो आँखा घुमाउँछ । झ्यालहरू प्रायः बन्द छन्‌ । ढोकाहरू पनि बन्दाबन्दी । यस्तो लाग्छ कि ती चोकका परिवारहरू कतै टाढा धेरै टाढा तीथयात्रामा गएका छन्‌ ।

दाहिनेपट्टि घरको बार्दलीमा आइमाईका फरियाहरू सुकाइएका छन्‌ । फरियाहरू साँझको हावामा सुस्त सुस्त हल्लिरहेका छन्‌ । र चोकको वातावरणमा मानिसहरूको सास पनि सुस्त सुस्त चलिरहेको झैँ प्रतीत हुन्छ ।

गोपालको घर कतापट्टि पर्छ । केदार पहिल्याउन सक्तैन । अलि पर पर्छ । यसरी कि जस्तो कुनै डरलाग्दो वस्तुको अगाडि मानिस सतर्क भई पाइला चाल्छ । झ्यालबाट कोही पनि हेर्दैन । नत्र सोध्न हुन्थ्यो ।

केदार असमञ्जसमा पर्छ । एक मन त उसलाई यस्तो लाग्छ फर्कु। तर कसरी, उसले आउँछु भनिसकेको छ । उही बेला उसले घरको पूरा हुलिया लिनुपर्ने ।

एउटा कुकुर उसको नजिकैबाट खुर्र… दगुरेर चोकको दलानतिर लाग्छ र यसै गरी बाहिरबाट अर्को एउटा पनि आउँछ, र केदार उभिएको ठाउँमा आएर गुर्राउँछ, भुक्छ र केदारको खुट्टादेखि कस्मरसम्मको भाग सुँध्न थाल्छ । केदार त्यसबखत ठीक एउटा उभ्याइएको मुर्दा जस्तो हुन्छ । फेरि त्यो कुकुर पनि दलानतिर दगुर्दै जान्छ ।

ओ ! केदार खल्ती छाम्छ । शायद ऊ आफैँलाई छाम्छ । साँझपख त्यस चोकको सुनसानले केदारको मनलाई एँठन गर्छ । ऊ चिच्याउँछ – गोपालजी…… ए गोपालजी…… गोपालजी !

एउटा झ्याल खुल्छ र अधबैँसे खालकी यौटी आइमाई हेर्छे – ‘कसलाई खोज्नुभा’ को……..

पोषण पाण्डे

‘यहाँ गोपालजीको घर कतापट्टि पर्छ क्यार………..’

‘ऊ त्यो ढोकाबाट जानुस्‌………’

त्यस अघबैँसे आइमाईले सङ्केत गरेको ढोका देखिन्छ । केदार पुलुक्क फेरि उतिर हेर्छ ।

‘अलि जोरले घचेट्नुस्‌…….’

भर्याङका सिँढीहरू फराकिला र चौडा छन्‌ । उज्यालो मद्धिम । केदार भर्याङ उक्लँदै जान्छ । साथै भर्याङको खापामा औँलाले टिक.. टिक… हान्दै पनि जान्छ र ‘माथि को हुनुहुन्छ ?’ भन्दै जान्छ । जवाफ कतैबाट आउँदैन । पहिलो भर्याङ नाघेपछि दुईवटा कोठा आउँछन्‌ । जसमा ठूला ठूला ताल्चा लागेका हुन्छन्‌ । मटान सुनसान तर सफा छ। मधुरो उज्यालो छ। ड्वाङड्वाङ,ती भएकोले छस्स कता कता एकतमासको नरमाइलो अनुभव गराउँछ ।

केदार खापामा टिकटिक हानेर फेरि आवाज दिन्छ- ‘माथि को हुनुहुन्छ…….’

उही सुनसान उही सन्नटा । मटानको सुनसान एउटा चिसो हात जस्तो छ, जसले केदारको मुटुमा बिस्तार बिस्तार छुन लागिरहेछ । यो सूनसान कुनै विरह रागको प्रारम्भिक आलाप जस्तो प्रतीत हुन्छ ।

केदार अर्को भर्याङको डँडाल्नो समात्छ। सिँढीमा टेक्न खुट्टा उचाल्छ ।

छिन्द्रिङ्,…….छिन्द्रिङ्………
छिन्द्रिङ्……..छिन्द्रिङ्……..

कुनै महारात्रीको पृष्ठभुमिमा फाँसीको तख्तातिर चलाइएको एक कैदी, जसको हात खुट्टामा बाँधिएको जञ्जीर बजिरहेछ-

छिन्द्रिङ्,……….. छिन्द्रिङ्……….

खुट्टा भुइँमै फर्किन्छ । केदार टक्क अड्छ। उसलाई लाग्छ- ऊ स्वयं नै त्यो कैदी हो । मटान जेल। र ऊ गैरहेछ भर्याङमाथि- फाँसीको तख्तातिर !

अजीब हालतमा पर्छ केदार । अब ऊ तल ओर्लिन पनि सक्तैन । माथिबाट सुस्तरी उस्तै आवाज आइरहेछ-

छिन्द्रिङ्………..छिन्द्रिङ्……….

कुनै तान्त्रिकको मुठ्ठी । त्यसभित्र केदार छ – निजत्वहीन आत्मसमर्पण, अचल ।

पसिना तर्किन्छ। रुमाल झिकेर केदार मुख पुछ्तछ । टोपी अलि सारेर निधार माथिमाथि सम्म पुछ्दछ । उसको निरीह चेहरा करुणाले निथ्रुक्क भिजेको छ। तर उसलाई उसको अगाडि उभिएको अमूर्त तान्त्रिकले कत्ति पनि माया गर्दैन ।

माथि भर्याङको सिँढीमा पैतालाको चाप सुनिन्छ । ओर्लिदै आउँछ । खरानी केश भैसकेकी एउटी बुढी उसको नजिकैबाट तल भर्याङ ओर्लिन्छे ।

‘गोपालजी यहाँ बस्नुहुन्छ ?’

‘माथि…..’

केही चिसो हावा घाँटी र निधारमा सरेतुल्य लाग्छ । केदार केही मात्रामा आफूलाई पाउँछ । खुट्टा माथि उचाल्छ सिँढीमा र डँडाल्नी समातेर एक्कै चोटिमाथि पुग्छ । पछाडि फर्केर पनि हेर्दैन, मानो हेर्दा कहीँ छादेर नमरियोस्‌ । उसलाई लाग्छ-मटानमा उभिएको तान्त्रिकको मुट्ठीबाट ऊ उम्किसकेको छ ।

माथि फेरि उही सुनसान । फेरि अर्को भर्याङ । फेरि उही आवाज-छिन्द्रिङ् ……..छिन्द्रिङ् ……..केदार सकेजति ठूलो स्वरले बोलाउँछ, ‘गोपालजी, ए गोपालजी…….’

‘को हँ ?’ भर्याङबाट आवाज आउछ ।

‘म… गोपालजी हुनुहुन्छ कि…….’

युवती भर्याङमुन्तिर ओर्लिसकेकी हुन्छे ।

‘को, कहाँबाट पाल्नुभा…….?’

‘गोपालजी यही बस्नुहुन्छ, होइन ?’

युवती मौनरूपले ‘हो’ भन्छे र छातीबाट सरेको साडीको सप्कोलाई घाँटीमा बेर्दै सोध्छे ।

‘यहाँको शुभ नाम केदार हो कि……..’

‘ज्यू, मेरो नाम केदार हो, वहाँको साथी हुँ-बोलाउनुभा’ थ्यो…….’

‘हो, आउनुभो भने एक छिन बस्न लगाउनू भनेर जानुभा’छ….एक्कै छिनमा आउनुहुन्छ….माथि पाल्नुस्‌ न……’

युवती अगाडि केदार पछाडि भर्याङ उर्क्लिदै जान्छन्‌ । अहिले त्यो ‘छिन्द्रिङ’ ‘छिन्द्रिङ’ आवाज छैन । अहिले सुनसानको त्यो भुत पनि छैन । मटानको तात्रिक पनि छैन।

गोपालको कोठा । चकलातिर संकेत गरेर “बस्नुस्‌” भन्दै युवती बाहिर निस्कन्छे । कोठा सामान्य साज श्रृङ्गारले पूर्ण छ । केदार बसेको ठाउँ अगाडि एउटा झ्याल छ । झ्यालबाहिर थलकमलको रूख । रूखको हाँगा-छायाँमा चराहरूको चिरबिर चिरबिर आवाज छ । हाँगा बिगाहरू उछिन्दै यौटा काग कराइरहेछ । थलकमलको बास्ना हस्स कोठासम्म आइरहेछ ।

केदारलाई यो बास्ना उति स्वादिलो लाग्दैन । रूखलाई ऊ छोड्छ र त्यसमाथि हेर्छ । झ्यालबाट यौटा सानो आकाश देखिन्छ । टाटेपाटे, थोप्ला थोप्ली बादलहरू नीला, सेता, बैजयन्ती-छ्यासमिसे ! घुम्म, साँझ बिछेको ।

छिन्द्रिङ्…….छिन्द्रिङ्……

सुनसानको भुत फेरि आइपुग्छ । कोठामा पनि आइपुग्छ । केदारको अमूर्त तान्त्रिक पञ्जा फिजाएर आउँछ अगाडि अगाडि । उसको मनमा पुनः डमरू बज्न थाल्छ ।

केदारलाई लाग्छ – ऊ कुनै गुभाज्यूको गुप्त कोठामा बसिरहेछ जहाँ खुला कुचाल छैन, केवल आँखीझ्याल ! केवल आँखीझ्याल । त्यस गुप्त कोठाको भित्तामा कुनै गुप्त मूर्ति छ जो रातो कपडाले छोपिएको छ । कपडामा अक्षताहरू टाँस्सिएका छन्‌ अनि कुनै इनारभित्रको आवाजझैँ गुभाज्यूको तान्त्रिक-पाठ सुरू हुन्छ ।

मृत्युको आँखा डेडो हुन्छ त्यो डेडो आँखाले केदारलाई एक टकसित हेर्छ।

कोठाको टेबुल घडी, चाइनिज मोडेलको….. ..टिक्‌…. टिक्….टिक्….टिक,…..टिक, टिक” ‘अङ्कुहरू लाटोकोसेराका आँखै आँखा जस्ता……

केदार जुरुक्क उठ्छ । झ्यालमा गएर उभिन्छ। थुक्न खोज्छ । थुक आउँदैन । अनिकालको बंजर भूमिजस्तो-उसको जिब्रो…..

बल्लतल्ल अलिकता थूक आउँछ-सेताम्य फींज….. जस्तो ।

केदार झ्याल छोडेर पुनः चकलामा आउन खोज्छ। यस्तैमा उसको आँखा ढोकाबाहिरको मटानमा छारिन्छ। त्यहाँ उही युवती शिर निहुराई नाङलामा चामल निफनिरहेकी हुन्छे । यसो गर्दा उसको छातीको भाग थर्किन्छ र हातका चुराहरू बज्छन्‌ ।
छिन्द्रिङ्………छिन्द्रिङ्………
छिन्द्रिङ्………. छिन्दिङ्……..
अनिमेष दृष्टिले केदार हेरि रहन्छ एउटा लामो सास फेर्छ । सुनसानको भूत भाग्छ । तांत्रिकको पञ्जा लुप्त हुन्छ । केदार युवतीको हात क्वार्क्वार्ती हेरिरहेछ जसबाट चुराहरूको आवाज उसै गरी आउँछ- छिन्द्रिङ्‌…… छिन्द्रिङ्…….

अगाडि लत्रेको केशको झुप्पा हटाउन युवती शिर उचाल्छे । सीधा अगाडि कोठाभित्र उभिएको केदारसँग उसको आँखा जुध्छ। हत्तपत्त फरियाको फन्कोले शिर आधा ढाकी युवती निहुरिन्छे र चामल केलाउन थाल्छे।

केदार पनि हत्तपत्त चकलामा आएर बस्छ। ऊ भित्रभित्रै आफ्नो बेवकूफीले शर्मिन्दा हुन्छ। त्यो युवतीले उसलाई जरूरै पनि सोमत नभएको भन्ठानिहोली । हुन पनि हो नि, अर्काको घरको कोठामा बसेर, अर्काकी स्वास्नीलाई यसरी क्वार्वार्क्वार्ती……। केदार भित्रभित्रै आफूलाई पुरा बेवकूफ साबित गर्छ । उ पछुताउन थाल्छ, उसले किन हेरेको त्यता…. सुखूक्क चकलामै बसिरा भए….। त्यो युवतीले अब जरूरै पनि गोपाललाई भन्दी हो-हजुरको साथी त कस्तो बेसोमती रहेछ । साथै अरू पनि के के के के भन्दी हो ।

केदारभित्रको ‘पुरुष’ निहुरिन्छ । शिर र खुट्टा एकै ठाउँमा जोर्छ । डल्लो पर्छ, भकुण्डो जस्तो । केदार त्यसलाई एक लात हान्छ, दुई लात…..तीन लात…….

आफै उ लखतरान हुन्छ, थाक्छ। पश्चात्तापमाथि काबू पाउन सक्तैन । केदार टोलाएर झ्यालतिर हेरिरहन्छ ।

छिन्द्रिङ्…… छिन्द्रिङ्………फेरि उही क्रम, फेरि उही बिस्तार ।

उसलाई विश्वास लाग्दैन-यो त्यही युवतीका चुराहरूको आवाज हो जसलाई केही छिनअगाडि उसले प्रत्यक्ष देखेको हुन्छ। किन उसलाई विश्वास हुँदैन-खास यो त्यही युवतीका चुराहरूको आवाज हो ।
छिन्द्रिङ्……….छिन्द्रिङ्……
छिम्द्रिङ्……..छिद्धिङ्…….

केदारको सूर्यलाई कुहिरोले ढाक्छ । सूनसान फेरि सर्छ । पंजा फैलिन्छ । झ्यालअगाडि थलकमलको रूख घुम्म उभिएको छ। साँझ त्यसभित्र डुब्छ-चुर्लुम्म । चराचुरुंगी चुपचाप भैसकेका छन्‌ । अगाडि अर्को घरको झ्यालभित्र बत्ती बल्छ । सूचीकारको मेशिन चल्छ- खर्‌- खर् -खर्‌खर्‌-बूढो सूचीकारले कपडा सिउँदै गएको एकसुरे भजन अस्पष्ट रूपले आइरहेछ। सुनसान खलबलिनुको सट्टा गहिरिन्छ । केदार थलकमलको रूखलाई हेरिरहन्छ। हेर्दा हेर्दै त्यो रूख यौटा कालो छाया जस्तो देखिन्छ-उभिएको धुम्म-निश्चल ।

कोठामा बत्ती बल्छ । झस्केर केदार खल्ती छाम्छ । हातले अर्को हात छाम्छ ।

युवती उसको अगाडि चियाको कप राखिदिन्छे, निहुरेर……मर्यादा पूर्वक ! केदार त्यस युवतीको नाडीभरका चुराहरू देख्छ। झ्वाट्ट उसलाई यौटा यस्तो विचार आउँछ-ती चुराहरू कुनै साह्रो वस्तुले ठ्वाङ्ङ हानेर फोरिदिउँ …… । अफसोस, उसको मस्तिष्कमा गोपालको लाश तेर्सिन्छ-जल्दो-फिर्दो ।

‘गोपालजी त खै, अहिलेसम्म पनि आउनुभएन……चियाको कप उठाउँदै केदार भन्छ ।

युवती जो ढोकासम्म पुगिसकेकी हुन्छे, रुकेर भन्छे-

“आउँद हुनुहोला…..”

“कतै टाढा गा’ को त हैन…….?”

“हैन होला……मान्छे बोलाएपछि त्यसो किन गर्नुहुन्थ्यो……..आउदै हुनुहोला …….. बस्नुस्न……….आउनु पनि भो क्यार-” भर्याङमा कान थाप्तै युवती भन्छे ।

नभन्दै गोपाल आइ पनि पुग्छ । कोट जुत्ता टोपी एकै सेकेण्डम फुकाल्छ । केदार चियाको सर्को तानिरहेको हुन्छ ।

हैन के चिया मात्रै ख्वाको यो, भोज ख्वाउन बोलाएको मान्छेलाई…… गोपाल स्वास्नीतिर हेरेर भन्छ ।

गोपालकी स्वास्नी दुई थालमा खानाहेरू भरेर ल्याउँछे र सामुन्ने राख्छे।

गोपाल दुइटा खाली गिलास: काँचको झिकेर सफासँग रुमालले पुछी आफू र केदारको भाग सँगै राख्छ। अनि दराजबाट यौटा शीशी झिकेर केदारपट्टिको गिलासमा बिस्तारै हाल्न खोज्छ ।

“होइन….. होइन….म जखाउँ……..”

“किन……असलचाहि हो यो…….क्यै गर्दैन………”

“प्लीज……”

“आ…….अलिकति मात्रै…….नत्र के मज्जा आयो र ।” गोपाल एक पेग जति रक्सी केदारको गिलासमा हालिदिन्छ र उसै गरी आफ्नो गिलासमा पनि खन्याउँछ ।

“कैलेदेखि डेरा गच्या तिमीले यो चराका…..”

अम्लेट चपाउँदै केदार प्रश्न गर्छ…

“भयो पाँच सात मैना जति………किन र…..?”
“यसै …….यसै सोध्या निकै ठूलो छ घर…….”

“अँ बहाल पनि सस्तो छ फेरि……सफा पति…..शहरको गल्ली भित्र यति सफा सुग्घर र सस्तो पाउनु…..

ढोकाबाट एउटी बूढीले चियाउँछे । उ आफैसित केही फत्फताइरहेकी, गुनगुनाइरहेकी झैं हुन्छे ।

“के बूढी आमै…..” गोपाल ढाड बंग्याएर बुढीतिर हेर्दै सोध्छ ।

“क्यै होइन, नानी को हुनुहुँदो रहेछ भनेर हेर्या….. केदारतिर संकेत गर्दै बूढी भन्छे। फेरि आफै भन्छे-‘ए…..नानी पो हुनुहुँदो रहेछ……. बिचरा अघि कति बेर पर्खिरहनुभो भर्याङमा…….क्वै सुन्ने
होइ……..”

केदार देख्छ-बुढी त्यही चाहि हो……खरानी केश भएकी जसलाई उसले माथि आउँदा भर्याङमा भेटेको थियो हातमा मक्कल च्यापेकी……

बुढी बाहिर निस्किन्छे । केदार सोध्छ-

“को हो यो बुढी आइमाई……”

“घरपटिनी……अचम्मकी छ, कोही नयाँ मानिस आयो कि उसलाई मुख हेर्न परिहाल्छ । घुमधुम्ती एक्लै कुरा गरिरहन्छे । कहिलेकाहीं सुर चढ्यो भने यस्तो यस्तो कुरा गर्छे कता हो कता……उसको
ससुराको पालाको…..उसको लोग्नेको पालाको……गोपाल सुरिलो हाडको मासी चुस्तै भन्छ-

तर कहिलेचाहिँ कुराँ गर्दा गर्दै तुरुक्क रुन्छे………

किन र…..?

“छोरालाई संझेर । एक दिन उसको छोरो कौसीको डीलमा उभिएर बाज उडाउँदा चिप्लेर तल चोकमा खस्यो रे बूढीले पानी ख्वाउन पनि पाइन, छोरो त्यहीं भुतुक्कै भयो रे मुखबाट रगत छादेर…. ”

गोपाल आफ्नो खाली भैसकेको गिलासमा रक्सी खन्याउँछ र केदारको गिलासमा पन्ति तुर्क्याउन खोज्छ ।

“भो….भो……” हातले गिलास छोप्तै केदार भन्छ ।

गिलासको एक पेग रक्सी एकै चोटि तन्क्याएर गोपाल मासुको एक ठूलो टुक्रा हातमा लिन्छ र फेरि भन्न थाल्छ ।

बूढीको किस्सा अचम्मको छ भन्या उसको लोग्ने त हद सोखिन रे बाज पाल्नमा …..किसिम किसिमका बाजहरू थिए रे उसका……. बाहिर बाहिरबाट झिकाएर तालीम प्राप्त आकाशमा पाल्तु परेवाहरू कसैका उड्नै पाउँदैनथे रे….सेता खैरा परेवाहरू आकाशमा कतै देखियो कि झटपट उसको लोग्ने बाज झिकेर सुमसुम्याउँथ्यो र अनि एकचोटि बाजलाई म्वाइँ खाएर आकाशमाथि हुत्त छोडिदिन्थ्यो रे…..बाज हानिदै हुत्तिदै आकाशमा उडेका परेवाको हुलमा घुस्थ्यो । उसको एक एक प्रहारमा पाँच सात, पाँच सात परेवाहरू तत्काल जमीनमा पछारिन्थे ‘भ्याएसम्मकालाई उ आफ्ना पंजाहरूमा र थुतुनामा- सोहोरेर ल्याउँथ्यो……उसको लोग्नेको प्रायः दिनभरि नै कौसीमा बास हुन्थ्यो रे…..उ आफ्नो प्यारो बाज हातमा लिएर आकाशको चाल मारिरहन्थ्यो रे।……एकबाजि त रिसाएर हो वा केले हो हातमा लिइरहेको, बाजले उसको छोग्नेको देब्रेपट्टिको आँखै ख्वाप्ल्याक्कै खाइदियो रे …..उसको लोग्ने कानो भयो तैपनि बाज पाल्न छोडेन….. बाजलाई सुमसुम्याउन छोडेन, उडाउन छोडेन….. उसलाई अघोरै सौख थियो रे यसमा…….।

केदारको पेट ढुस्स हुन्छ । उ केही पनि खान सक्तैन । रक्सी त उसले छुनै सकेको छैन । उ अचारको लेदो चाट्न थाल्छ ।

‘अफसोस लाग्छ-‘ गोपाल भन्छ ।

“किन र……के कुरोमा…..’

“आखिर बुढीको लोग्ने पनि उसै गरी कौसीबाट चिप्लेर चोकमा खसेको थियो रे……उसले पनि पानी खान पाएको थिएन रे मर्दा-खेरी……’

केदार करुवा लिएर चुठ्न जान्छ झ्यालमा । थलकमलको रूख झुम्म छ । त्यसको कालो छायाँ भूतको जस्तो प्रतीत हुन्छ ।

‘रूमालले हात पुछ्तै केदार भन्छ- जाउँ त अब…… ९ पनि बजेछ।’

‘खै तिमीले त केही पनि खाएनछौ…..उसको भागतिर हेर्दै गोपाल भन्छ…..’सप्पै खाने कुरा यस्सै छ…..रक्सी त छुँदै छोएनछौ-‘

गोपाल सोध्छ…… के भो तिमीलाई……

क्वै भा’ छैन…….अलि संचो थिएन…..बरु लाइट साइट केही छैन…..तल भर्याङमा……।’

‘बिजुली नै जड्चा छैन तल मटानहरूमा……पख म पनि आउँछु तलसम्म…….’

घरको ढोकासम्म पुर्याएर गोपाल भन्छ-
‘ल त……गुडनाइट…….’
हात उचालेर इशाराद्वारा केदार उसको अभिवादन फर्काउँछ ।

चोक पानि उज्यालो छ । सफा शान्त, बीचको देवल यथावत्‌ ।देउता समाधिमा छ, अक्षता खाएर ।

त्यो सफा फराकिलो चोक यौटा बिशाल पखेटा जस्तो लाग्छ ! मृत्युको चोखो पखेटा । भुत्लाहरू केदारको आँखामा टाँस्सिन आउँछन्‌ । उ छिटो छिटो कदम बढाउँदै चोकबाहिर जान्छ । सडकमा आइपुग्छ ।