अध्याय एघार
मालिक फर्केर आयो र मुस्कुराउँदै निकिताको सामुन्ने बस्यो । उनीहरू दुवै जना केही बेरसम्म चुप लागिरहे ।
“अँ , तिमी बताउँदै थियौ, भोयेइकोभसँग घोडा किनेको कुरा ।” -सेर्पुखोभ्स्कोइले त्यसै सोध्यो ।
“हो ! आत्लास्नी चाहिं उसैसँग किनिएको हो । सेर्पुखोभ्त्स्कोइसँग म एक घोडी किन्न चाहन्थेँ, तर उससँग काम लाग्ने कुनै घोडी नै बाँकी थिएन ।”
ऊ त बर्बाद भैसक्यो ।”-सेर्पुखोभ्स्कोइले भन्यो । अनि एकाएक रोकियो र यताउति पल्याकपुलुक हेर्न लाग्यो । यही “बर्बाद” भएको मान्छेलाई बीस हजार रुबल तिर्नु छ भन्ने उसलाई सम्झना भएर आयो । दुबोभित्स्कीको बारेमा कुरा चल्दा मान्छेहरू उसलाई “बर्बाद भैसक्यो” भनेर भन्छन् भने उसको बारेमा के भन्दा होलान् ? ऊ चुप लागिहाल्यो ।
त्यसपछि निकै बेससम्म दुवै मौन रहे । मालिक चाहिं पाहुनाको अगिल्तिर कुन कुराको डिंग हाँक्न सकिन्छ भनेर आफ्नो श्रीसम्पत्तिको बारेमा सोच्न लाग्यो । सेर्पुखोभ्स्कोइ पनि कुन कुरा गर्नाले उसको हालत उतिसारो बिग्रेको छैन भन्ने देखाउन सकिन्छ होला भनेर विचार गर्दैथियो । परन्तु उनीहरू दुवैको मगज निकै बोधो भैसकेको थियो, यद्यपि सिगारको सर्को तानेर उनीहरू आफूलाई झकझक्याउन खोज्दैथिए । ‘यसले पिउने कुरा कहिले पो निकाल्ने होला ?’- सेर्पुखोभ्स्कोइले मनमनै सोच्यो । “केही त जरुर पिउनैपर्ला, नत्र भने उराठ लागेर मरिनेछ !’- मालिक पनि सोच्दै थियो ।
“के यहाँ निकै दिन रोकिने विचार छ त ?”-सेर्पुखोभ्स्कोइले सोध्यो ।
“एक महिना अरु बसिएला ! कसो, केही खाने होइन त ? फ्रिट्ज, खाना पाकेन र ?
उनीहरू भोजनकक्षमा पसे । त्यहाँ झाड-फानूसको ठीक मुन्तिर टेबुल सजाइएको थियो । टेबुलमा पानस र अरु नाना थरीका चीजबीजहरू राखिएका थिए : काँचको बुट्टादार सिफोनी , बिर्कोमा पुतलीहरू जडिएका शिशीहरू, किसिम किसिमका मदिराहरू राखिएका काँचका अन्तीहरू र स्वादिष्ट परिकारहरूले भरिएका किस्तीहरू । दुवैले सबभन्दा पहिले रक्सी घुटक्याए, त्यसपछि खाना खाए र आखिरमा कुरा गर्न लागे । सेर्पुखोभ्स्कोइको मुख रातै भैसकेको थियो । उसले धक नमानेर बोल्न शुरु गरिसकेको थियो ।
आइमाईहरूको चर्चा चल्यो । ज-जसलाई उनीहरूले आफ्नो रखौटी तुल्याइसकेका थिए तिनको कुरा भयो : जिप्सी, फ्रान्सेली र नर्तकी ।
“के त तिमीले मात्येलाई छोडि नै दियौ ?”-मालिकले सोध्यो । मात्ये नै त्यो आइमाई थिई जसको कारणले गर्दा सेर्पुखोभ्स्कोइ तवाह भएको थियो ।
“हैन, उसलाई मैले छोडेको होइन, बरु उसैले नै मलाई छोडी ! हरे ! आफ्नो जिन्दगीमा त कति पैसा उडाइयो कति, गनेर पनि साध्य हुँदैन ! अचेल त एक हजार रुबल मात्रै पनि हातमा परेको बेला म आफूलाई भाग्यमानी ठान्छु । सबै टन्टा छोडेर दुनियाँबाटै भाग्ने मन लाग्छ । मास्कोमा त अब एक दिन पनि बस्ने मन छैन । उफ् ! के भनौं, खै ?”
सेर्पुखोभ्स्कोइको कुरा सुनेर मालिक पनि उदास भैसकेको थियो । उ त आफ्नै कुरा गर्न चाहन्थ्यो र डिंग हाँक्न पाए उसलाई पुगिहाल्थ्यो । तर सेर्पुखोभ्स्कोइ पनि आफ्नो सुखमयी अतीतको चर्चा गर्न इच्छुक थियो । मालिकले उसको गिलासमा अरु रक्सी थपिदियो र उसको कुरा कहिले टुंगिनेहोला भनेर प्रतीक्षा गर्न लाग्यो । आफ्नो अश्वशालाका उम्दा घोडाहरूको बारेमा ऊ बताउने मौका पर्खिरहेको थियो । ऊ भन्न चाहन्थ्यो: सके अरु कसैसित पनि यति सुव्यवस्थित अश्वशाला छैन होला जस्तो उससित छ, अनि मारी पनि उसलाई भित्री हृदयदेखि नै प्रेम गर्छे, धनदौलतको खातिर होइन !
“म तिमीलाई के बताउँदैथिएँ भने मेरो अश्वशालामा …”-उसले भन्न शुरु मात्र गरेको थियो, तर सेर्पुखोभ्स्कोइले बीचैमा उसको कुरा काटिदियो ।
“मेरो कुरा त सुन ! कुनै जमाना यस्तो पनि थियो जब म जीवनलाई मोह गर्थें र जिउने ढंग पनि मलाई थाहा थियो । तिमी आफ्नो घोडदौडको कुरा गर्दै थियौ । लौ, भन त, तिम्रो सबभन्दा तेज घोडा कुन हो ?”
फेरि आफ्ना घोडाहरूको बारेमा बताउने मौका पाइएको हुँदा मालिक निकै रमायो । उसले केही भन्न शुरु मात्रै के गरेको हुँदो हो, सेर्पुखोभ्स्कोइले उसको कुरा बीचैमा काटिदियो ।
“हो ! हो !”-उसले भन्यो ।-“तिमीहरू त अश्वशालाका मालिक न ठहरियौ । बस्, केबल नाउँ कमाउन चाहन्छौ । जीवनको आनन्द लुट्न र सुखभोग गर्न त जानेकै हुँदैनौ । मैले त आफ्नो जीवन अर्के ढंगले बिताएको छु । मैले भर्खरै तिमीलाई बताएको थिएँ – मसँग एउटा टाटेपाङरे घोडा थियो । त्यसमा पनि हुबहु त्यस्तै रङ्गका धब्बाहरू थिए जस्तो तिम्रो घोडा गोठालाले चढ्ने गरेको घोडाको छ । अहो ! त्यो घोडाको बयानै गर्न सकिन्न ! तिमीलाई थाहा नहुन सक्छ, त्यो धेरै पुरानो कुरा हो, सन् बयालीस साल तिरको । त्यतिखेर म भर्खरभर्खरै मास्को आएको थिएँ । म एक जना घोडा-व्यापारीकहाँ पुगें । उससँग एउटा टाटेपाङरे घोडा थियो । सबै लक्षण राम्रा थिए । मैले मोल सोधेँ । उसले भन्यो- एक हजार ! मलाई त्यो घोडा मनपरिसकेको थियो । मैले तुरुन्त किनिहालें र त्यसमा सवार हुन थालें । त्यस्तो घोडा त न मसँग छ, न तिमीसँग नै छ, न त अरु कसैसँग छ र भविष्यमा नै हुनेछ । के वेग, के बल, के सौन्दर्य सबै कुरामा त्यो भन्दा कुनै उम्दा कुनै अर्का घोडा भएको मलाई थाहा छैन । तिमी त त्यतिखेर सानो केटो नै थियौ । त्यसैले त्यस घोडालाई तिमीले देख्ने त कुरै भएन, बरु उसको नामसम्म जरूर सुनेका होऔला ! सारा मास्कोभरि नै त्यो घोडा प्रख्यात थियो।
“हो, मैले त्यसको नाउँ सुनेको थिएँ ।” । मालिकले उपेक्षा भावमा भन्यो “तर म तिमीलाई आफ्ना…”
तिमीले पनि सुनेका रहेछौ । मैले त त्यसलाई हचुवा नै किनेको थिएँ, न नस्ल सोधियो, न त कागतपत्र नै जाँचियो, न कसैसँग सोधपुछ नै गरियो । जछि मात्र थाहा पाइयो । भोयेइकोभ र मैले त्यसको वंशको जाँच गर्यौं । ऊ ल्युबेज्नी प्रथमको छोरो थियो र उसको नाउँ खोल्स्तोमेर थियो । ऊ गजले कपडा नापे झैँ लामो लामो डग चालेर हिंड्थ्यो । खेनोभोको अश्वशालाबाट उसलाई एकजना सईसको हातमा बेचिदिएका थिए, किनकि ऊ टाटेपाङरे रङ्गको थियो । त्यस अश्वशालामा चाहिं असल जातका घोडाहरू मात्र पालिन्थे । सईसले त्यस घोडालाई खसी पारेर हिजडा तुल्याइदियो र एक जना घोडाव्यापारीलाई बेचिदियो । त्यो जस्तो घोडा त कसैले देखेकै छैन होला । अहो, त्यो कस्तो समय थियो ! ‘हाय, जवानी ! गयो जवानी !’”-उसले लामो सास फेर्दै जिप्सी गीतको एक चरण दोहोर्यायो । उसलाई नसा लाग्न थालिसकेको थियो । “अहो, त्यो समय ज्यादै रमणीय थियो । त्यतिखेर मेरो उमेर पच्चीस वर्षको थियो । सालिन्दा असी हजार मेरो आम्दानी थियो । एउटा रौं पनि फुलेको थिएन, एउटा दाँत पनि फुक्लेको थिएन । सबै दाँतहरू मोती जस्तै टल्कन्थे । जुन कुरामा हात हालिन्थ्यो त्यो फत्ते भैहाल्थ्यो । तर अब सब खेल खतम भयो ।”
“ती दिनहरूमा घोडाको यस्तो वेग हुँदैनथ्यो जस्तो आज छ ।”-एक छिनको बिश्रामबाट फाइदा उठाउँदै मालिकले झटपट भन्यो ।-“खै, के भनौं, मेरा पहिला घोडाहरूले दौड्न शुरु गर्दा बिना…”
“तिम्रा घोडाहरूले ? ती दिनहरूमा घोडाहरू यीभन्दा कता हो कता बढी तेज हुन्थे ।”
“के रे? बढी तेज हुन्थे ?”
“हो ज्यादै तेज ! मलाई त्यस दिनको सम्झना छ जब मैले खोल्स्तोसेरलाई मास्कोमा घोडदौडमा लिएर गएको थिएँ । मेरा घोडाहरू कहिल्यै पनि घोडदौडमा सामेल भएका थिएनन् । घोडदौडका घोडाहरूलाई म मन पनि पराउँदिनथेँ । म त केवल असल जातका घोडाहरू मात्रै पाल्थे- गेनेराल, शोले,मागोमेत । त्यो टाटेपाङरे घोडालाई बग्गीमा नारेर म त्यहाँ पुगें । मेरो कोचवान पनि निकै शानदार पो थियो त । मलाई ऊ मन पर्थ्यो । रक्सीले आखिर उसलाई बिगारिदियो । अँ, म घोडदौडको मैदानमा पुगें । ‘सेर्पुखोभ्स्कोइ, कहिले किनौला हँ तिमी घोडदौडका घोडाहरू?’-मान्छेहरूले मसँग सोधपुछ गर्न थाले । ‘तिम्रा जस्ता बेकम्मा घोडाहरू किन चाहियो र मलाई ? मेरो यै टाटेपाङरे घोडाले तिमीहरूका सबै घोडाहरूलाई उछिन्न सकिहाल्छ नि !’मैले भनें । ‘के ठट्टा गर्छौं ? यस्तो पनि कही हुन सक्छ र ?’ – उनीहरूले भने । “बाजी थाप्ने त ? लौ, एक हजारको बाजी भयो !”- हामीले हात मिलायौं । घोडदौड शुरु भैहाल्यो । मेरो घोडा पूरै पाँच सेकेण्ड अगावै पुग्यो । मैले बाजीमा एक हजार रूबल जिते । यो त के भयो र ! एकपल्ट बग्गीमा तीनवटा उम्दा घोडालाई नारेर मैले तीन घण्टाभित्र पूरै एक सय भेर्स्ता पार गरेको थिएँ । सारा मास्कोभरि नै सनसनी मच्चिएको थियो ।”
सेर्पुखोभ्स्कोइ यसरी सरासर झूठो बोल्दै गइरहेको थियो र मालिकले एक शब्द भन्ने पनि मौका पाइरहेको थिएन । निदाउरो मुख लगाएर उसको सामुन्ने ऊ बसिरहेको थियो र आफ्नो गिलासमा र उसको गिलासमा पनि रक्सी थप्दै गैरहेको थियो । यसबाहेक अरु गर्न नै के सक्न्थ्यो र ?
मिर्मिरे उज्यालो हुनै आँटेको थियो । उनीहरू दुवै रक्सी घुटक्याउँदै बसिरहेका थिए । उराठ लागेर मालिकको हालत खराब भएर जाँदैथियो ।
“अँ, अब त सुत्नु नै ठीक होला ।” – सेर्पुखोभ्स्कोइले भन्यो र बडो मुस्किलले कुर्सीबाट उठेर लड्खडाउँदै आफ्नो कोठातर्फ लाग्यो ।,
मालिक पलङमा आफ्नी रखौटीसँग लेटेर कुरा गर्दै थियो ।
“यो मान्छे त वाक्कलाग्दो पो रहेछ ! टन्न पिएपछि त भए नभएको कुरो पो फत्फताउँदो रहेछ !”
“मसित जिस्किन पनि त चुकेन ऊ !”
“सके मबाट केही पैसा थुत्ने उसको दाउ होला !”
सेर्पुखोभ्स्कोइ लुगासमेत नफुकालीकन बिछ्यौनामा लम्पसार पल्टिरहेको थियो र लामो लामो सास फेर्दै थियो ।
“शायद आज मैले अलि बढी नै झूठो बोलें क्या रे ?’ – उसले सोच्यो “तर यसले के बिग्रियो त ? रक्सी त मीठै थियो । जे होस्, त्यो सुगुरको छाउरो नै हो । व्वसायी न ठहरियो । म पनि सुंगुरकै छाउरो रहेछु ।’ – उसले मनमनै सोच्यो र खित्का छोडेर हाँस्न थाल्यो । – “पहिले म अरुलाई पाल्थें, तर अब मलाई अरुले पाल्छन् । त्यो मोरी विंक्लरले मलाई राखेको छ । म उसबाट पैसा लिन्छु । जे रोपिन्छ आखिर त्यही न फल्छ । अब त त्यही फल नचाखी सुख पाइन्छ र ? हो, अब त मैले लुगा फुकालेर सुतिहाल्नुपर्छ ! अरे, यी पाजी बूटहरू त अटेरी भएर बसेजस्ता छन् हँ !’
“ए, कोही छ यहाँ ?- उसले बोलायो । तर जुन टहलुवालाई उसको सुश्रुषा गर्न भनेर राखिएको थियो त्यो त उहिले नै गएर मस्तसँग निदाइसकेको थियो ।
ऊ उठ्यो । उसले एक एक गरेर आफ्नो कोट, इस्टकोट र जसोतसो आफ्नो पतलून पनि फुकाल्यो, तर बूट चाहिं निकैबेरसम्म पनि फुकाल्न सकेन । उसको कमलो भुँडीले बीच बीचमा बाधा पुर्याउँथ्यो । आखिर एउटा बूट तानेर निकाल्यो, तर हजारपल्ट तानतुन गर्दा पनि अर्को बूट चाहिँ निकाल्नै सकिएन । ऊ निकै थाकिसकेको थियो र त्यो बू्ट लगाएको लगायै विछ्यौनामा पल्टेर घुर्न लागिहाल्यो । कोठाभरि तमाखु, रक्सी र बुढ्यौलीको घिनलाग्दो गन्ध फैलिरहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।