जुडियाको प्रतिनिधि

                                                                               अनातोले फ्रान्स

 

अनातोले फ्रान्सको जन्म सन्‌ १८४४ मा फ्रान्सको राजधानी पेरिसमा भएको हो । नामकरण गर्दाको बखत उनको नाम ज्याक्स अनातोले फ्राँस्वाँथिबाउल राखिएको थियो । पुस्तक व्यापारीको छोरा हुनुको नाताले साहित्यिक पुस्तकमा सानैदेखि उनको रुचि बढ्दै गयो । उनको साहित्यिक यात्रा ढिलै सुरु भएको देखिन्छ । पहिलो कथा सङ्ग्रह प्रकाशित हुँदा उनको उमेर पैँतिस वर्ष थियो । उनको सौन्दर्यपूर्ण एवम्‌ मौलिक लेखनशैलीका लागि सन्‌ १९२१ को नोबेल पुरस्कार प्रदान गरियो । ८० वर्षको उमेरमा उनको मृत्यु १२ अक्टोबर १९२४ मा टुर भन्ने ठाउँमा भयो । अनातोले फ्रान्सका उपन्यास, कथा, निबन्ध र आत्मजीवनी आदि विधामा ४२ भन्दा बढी कृतिहरू प्रकाशित छन्‌ । द क्राइम अफ सिल्भेस्त्र बोर्नाड (१८८१) थापा (१८९०), अल द साइन अफ क्विन (१८९३), द लाइफ अफ द जोन आर्क (१९०८), द रिभोल्ट अफ द एन्जेल्स (१९१४) आदि उनका महत्त्वपूर्ण कृतिहरू हुन्‌ ।

 

एलियस लामिया इटालीको एउटा उच्च कुलमा जन्मेको थियो। दर्शनशास्त्र पढ्न एथेन्सको स्कुलमा जानुअघिसम्म उसले अझै तोगा प्य्राटेक्स्ता लगाउन छाडेको थिएन । त्यसपछि ऊ रोमको स्कुल इलिनस्थित आफ्नो घरमा बस्न थाल्यो । त्यहाँ बदमास र ऐयासी जीवन बिताउने केटाहरूको सङ्गत परेर गलत बाटोमा लाग्न थाल्यो । वाणिज्य दूत सल्पिसियस कुइरिनुसकी श्रीमती लेपिदासित अनुचित सम्बन्ध र आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लाग्यो उसलाई । आरोप प्रमाणित भएपछि त्यति बेला उसले भर्खर चौविस वर्षमा टेकेको थियो । अठार वर्ष लामो निर्वासनको अबधिमा उसले कम्पादेसिया प्यालेस्टाइन, आर्मेनिया, एन्तिओक, सिजारिया र जेरुसेलम घुम्ने अवसर पायो ।

तिविरियस सिजरको निधनपछि कायस सत्तामा आए । उनको शासनकालमा लामियाले रोम फर्कने अनुमति पायो । आफ्नो भागको धेरथोर जायजेथा पनि फिर्ता पायो । हन्डर खाएपछि उसको बुद्धि फिरेको थियो । रोमन नागरिकका श्रीमती र छोरीहरूसितको संसर्गबाट टाढै रह्यो ऊ । कुनै जागिर वा उच्च ओहदा हासिल गर्ने प्रयास पनि गरेन । मानिसको संसर्गबाट पनि ऊ सकेसम्म अलग्गै रहन चाहन्थ्यो । यसरी ऊ इस्कुइलिनको आफ्नै घरमा एकान्त जीवन बिताउन थाल्यो । समय बिताउन लामो यात्राका क्रममा आफूले देखेभोगेको अनुभव र वस्तुहरूलाई लिपिबद्ध गर्ने काममा लाग्यो ऊ । त्यसो गर्दा पुराना दुःख कष्ट बिर्सेर सुखको अनुभुति हुन्थ्यो । एक दिन अचानक उसले आफूलाई बुढो भएको महसुस गर्यो, ज्यादै दुःख लाग्यो उसलाई । बैसठ्ठी वर्षको उमेरमा उसलाई रुघाखोकीले सतायो तर त्यो त्यति साह्रो चर्को बिमारबाट थिएन । बिरामबाट बच्न हावापानी बदल्ने उद्देश्यले बाई जाने निर्णय गर्यो । बाईको समुद्री तटमा कोही बेला माटीकोरे चराहरू थुप्रिने गर्थे । तर यति बेला छुट्टी लिएर घुम्न चाहने धनाढय रोमवासीहरूको अति लोकप्रिय गन्तव्यमा परिणत भैसकेको थियो । एक हप्तासम्म लामिया भिडबाट अलग रहेर एक्लै बस्यो । त्यसपछि एक दिन डिनर लिइसकेपछि उसलाई समुद्री टापु चढ्ने विचार आयो । त्यो समुद्री टापु अङ्गुरका लहराले ढाकेको हुनाले बडो सुन्दर देखिन्थ्यो । शिखरमा पुगेपछि लामिया गोरेटो नजिकै एउटा रुखमुनि बसेर चारैतिर फैलिएको सुन्दर दृश्य हेर्न थाल्यो । बायाँतिर कयुमीको खन्डहरसम्म फैलिएको नाङ्गो निलो फ्लेग्रियाको मैदान थियो भने दायाँपट्टि मिसेनम अन्तर्दिप पटाइहेनिया समुद्रभित्र छुरी धसिएझैं छिरेको देखिन्थ्यो । उसका बङगाराहरू पनि उत्तिकै बलिया देखिन्थे । पालकीभित्र बसेको मान्छेलाई देख्नेबित्तिकै उसलाई कतै देखे देखे जस्तो, चिने चिने जस्तो लागिसकेको थियो । उसको नाम याद नहुन्जेल बोलाइहाल्न पनि सकेन लामियाले । त्यसपछि अचानक अनुहारमा आश्चर्य र प्रसन्तताको भाव ल्याउँदै ऊ हतार हतार पालकी भएतिर दौड्यो । “पोन्टियस पाइलेट !” उसले चर्को स्वरमा चिच्यायो- “धन्य हुन्‌ प्रभु, जसले मलाई आज तिमीसित फेरि भेट गराइदिए ।”

ती बृद्धले बोकिराखेका नोकरलाई रोकिन सङ्केत गरे अनि आपूलाई सम्बोधन गर्ने अपरिचित मान्छेलाई खुब नियालेर हेर्न थाले। “पोन्टियस ! मेरो अभिन्न मित्र !” लामियाले भन्यो- “यो बिस वर्षमा मेरो कपाल फुलेकै हो ? गाला चाउरी परेकै हो ? के तिमीले आफ्नो पुरानो साथी एलियस लामियालाई समेत चिन्न छोड्यौ ?” एलियस लामियाको नाम सुन्नेबित्तिकै पोन्टियस पाइलेट नाम गरेका मोटाघाटा ती वृद्ध बडो फूर्तिसाथ पाल्कीबाट ओर्ले अनि एलियस लामियालाई पटक पटक अँगालोमा बेरे ।

धन्य छ प्रभु ! तिमीसित अचानक भेट हुन लेख्या रहेछ । तर अचम्म त्यति लामो समयअघिको कुरा तिम्रो सम्झनामा अझै ताजै रहेछ, जति बेला म सिरियामा जुडियाको प्रतिनिधि थिएँ । लगभग तिस वर्षअघि मैले तिमीलाई पहिलो चोटि भेटेको थिएँ त्यति बेला तिमी सिरियामा निवार्सित जीवन बिताउँदै थियौ । मित्रको हैसियतले तिम्रा लागि मैले जे जति गर्न सकेँ, त्यसका लागि म आफूलाई भाग्यमानी नै ठान्छु । लामिया, साथीका हैसियतले तिमी पनि म सँगसँगै उराठलाग्दो सहर जेसेलम गएका थियौ, जहाँ यहुदीहरूले मलाई बडो : घुणाका दृष्टिले हेर्थे । तिमी मेरो साथी र पाहुना भएर दश वर्षभन्दा बढीनै मसित बस्यौ । रोम र रोमनका चिजबीजका बारेमा कुरा गर्दै सान्त्वना प्राप्त गर्ने कोसिस गयौँ । तिमीलाई दुःखका पहाडले थिचेको थियो भने मलाई राज्यको दायित्वले । लामियाले पोन्टियस पाइलेटलाई फेरि एक चोटि अँगालोमा बेरे । तिमीले दुइटा कुरा बिर्स्यौ पोन्टियस, पहिलो कुरो- हेरोद एन्तिपाससित तिमीले मेरो प्रशंसा गरेको कुरो नजरअन्दाज गर्दै छौ । दोस्रो- तिम्रो पैसाको थैली मेरा लागि सधैँ खुला थियो, त्यो पनि बिर्स्यौ ।”

“भैगो त्यो कुरा छाडिदिऔँ, तिमी रोम फर्केपछि एक जना स्वतन्त्र भएको गुलाममार्फत पैसा पठाई दिइसक्यौ । ब्याजसमेत मैले फिर्ता पाइसकेको छु। त्यसैले अब पैसाको कुरै नगरौँ” पोन्टियसले भने ।

“पोन्टियस, तिमीले लगाएको गुन वा दिएको ऋण पैसाले तिर्न सकिन्न, बरू भन त, ईश्वरले तिम्रा इच्छाहरू पूरा गरिदिए ? तिमीले पाउनुपर्ने सुख पाएका छौं ? सुखी छ तिम्रो जीवन ? तिम्रो परिवार, सम्पति र स्वास्थ्यका बारेमा बताऊ त ।”

“म सिसिली फर्किसकेको छुँ ।जहाँ म आफ्नो जमिनमा गहुँ खेती गर्छु । मेरी प्यारी छोरी, पोन्सिया, जो विधुवा भएकी छिन् । भगवानको कृपाले मेरो मानसिक स्वास्थ्य पनि ठिकै छ । मेरो स्मरण शक्तिमा कति पनि ह्वास भएको छैन। यो ढल्किदो उमेरमा कुनै समस्या, दुःख वा बिमारी नै नहुने भन्ने त होइन । बाथरोगले मलाई नराम्ररी सताएको छ यति बेला। म दुखाइ कम गर्न फ्लेग्रियाको मैदानमा दुखाइ कम गर्ने औषधी खोज्न जान लागेको । यति बेला तातो माटोबाट गन्धकको बाफ निस्किन्छ रे भन्छन्‌ मान्छेहरूको भनाइमा त्यसबाट बाथरोग निको भई शरीर स्वस्थ हुन्छ रे । चिकित्सकहरू पनि त्यसै भन्छन्‌ ।

“तिमीले चाहेजस्तै होस्‌ पोन्टियस, मेरो यही कामना छ।” तर बाथरोगबाट पीडित भए पनि मभन्दा त तन्नेरी नै देखिन्छौ तिमी । तिमी म भन्दा दश वर्ष जेठो हुनुपर्छ पक्कै पनि । निःसन्देह नै ममा भन्दा तिमीमै बढी जोस जाँगर र उत्साह देख्छु । तिमीलाई स्वस्थ देख्न पाउँदा म अति नै खुसी छु। उमेर नपुग्दै तिमीले किन जागिर छाड्यौ पोन्टियस ? जुडियामा शासन गर्न छाडेर किन सिसिलीमा स्वेच्छिक निर्वासन रोजेको तिमीले ? मेरो अनुपस्थितिमा तिमीले गरेको देखे-भोगेको सबै कुरा मलाई सुनाऊ त । खच्चर र घोडाको ब्यापारबाट अर्थोपार्जन गर्न म कप्पादेसिया गएका बखत तिमी समारियाका मानिसहरूको विद्रोहलाई दबाउने जान तयारीमा थियौ । त्यस बेलादेखि मैले तिमीलाई देखेकै छैन । तिम्रो अभियान सफल भो ? भन त, तिम्रा हरेक कुरामा मलाई खुब रुचि छ ।”

पोन्टियस पाइलेटले खिन्न हुँदै मुन्टो हल्लाए- “मेरो नैसर्गिक स्वभाव अनि आफ्नो कर्तव्यनिष्ठता आदि सबै कारणले मेरो जिम्मेवारी पूरा गर्न बाध्य भएँ त्यो पनि, पुरा लगन र जोसका साथ । तर मलाई कठोर घृणाले पछ्याउन छोडेन । षड्यन्त्र र झुटो आरोपले गर्दा बेलैमा जागिर छाड्नुपर्यो मैले । फल नलागीकनै बोट सुक्यो भन्नपर्यो । समारियन विद्रोहका बारेमा सोधिहाल्यौ । ल, यो डाँडामा बसेर कुरा गरौं- छोटकरीमा म तिमीलाई बताउने छु, ती घटनाहरू मेरो दिमागमा अझै छन्‌, मानौँ ती घटनाहरू हिजै मात्रै घटेका हुन्‌ ।”

“सिरियामा प्रभावकारी भाषण दिन सक्ने थुप्रै मान्छेमध्येका एक जनाले समारियनहरूलाई माउन्ट गेरिजममा हतियारसहित भेला हुन उक्सायो । त्यहाँका बासिन्दाहरू माझ एभान्कर र एनिजका पालामा मोजेज नाम गरेका कुल देवता र मुखियाले लुकाइराखेको पवित्र अवशेष देखाइदिने वाचा गर्यो । उसको बहाकवमा लागेर समारियनहरू बिद्रोहमा उत्रे । सारा कुरा सुन्नासाथ मैले त्यो बिद्रोह गर्न लागेको कुरा बुझिहालेँ । मैले पहाडको वरिपिर घेरा हाल्न पैदलसेवा खटाइहालेँ अनि आसपासको इलाकाको रेखदेखका लागि घोडचढी सेना तैनाथ गरिदिएँ । बडो होसियारीका साथ पाइला चाल्नु जरूरी थियो । माउन्ट गेरेजिमको फेदीमा रहेको तिरथाबा सहरलाई पहिल्यै बिद्रोहिहरूले घेरा हालिसकेका थिए । मैले तिनीहरूलाई सजिलै तितरबितर पारिदिएँ, संगठित नभएको विद्रोहलाई मैले दबाइदिएँ हत्या-हिंसा बिनै विद्रोहिहरू भागभाग भए । बिद्रोही नेताहरूलाई पनि मारिदिएँ मैले लामिया, तिमीलाई त थाहै होला । गभर्नरले मलाइ कति साँघुरो घेरामा राखेको थियो, जो सिरियामा मात्रै होइन रोमको चाहनाविरुद्ध शासन गर्थ्यो अनि साम्राज्यका प्रान्तहरूलाई शोषित भूभागका रूपमा हेर्ने गर्थ्यो, सहायक गभर्नरको जिम्मामा छाड्न सकियोस्‌ । मदेखि रिसाएका भिटेलियसको खुट्टामा छाँद हाल्न गए । उनीहरूको कुरा सुन्दा यस्तो लाग्थ्यो कि उनीहरूभन्दा सम्राटको ठुलो शुभचिन्तक अरू कोही छैन । सारा झगडाको बिउ नै मै हुँ भन्ने धारणा थियो । भिटेलियसको तिरायाबामा मेरो हिंसात्मक आक्रमणबाट बच्न उनीहरू जम्मै एकै ठाउँमा भेला भएका थिए ।

सुमेरियनहरूको गुनासो सुनिसकेपछि भिटेलियसले आफ्नो साथी मार्सेलसलाई जुडियाको शासक नियुक्त गर्यो । मलाई रोम गएर सम्राटका सामु आफ्नो कुरा राख्न आदेश दियो । शोकसन्तप्त हृदय लिएर म जहाजबाट रोम प्रस्थान गरेँ । इटालीको किनारमा जहाजबाट उत्रिनासाथ थाहा भो भने वृद्ध सम्राट तिबेरियसको केप मिनेसममा असामयिक निधन भएछ । साँझपखको केप मिनेसमको तुषारोमा पनि विशाल चुचुरो चम्केको देखिन्थ्यो । तिबेरियसको उत्तराधिकारी कायससित न्यायका लागि याचना गरेँ उनी अलि विवेकशील देखिन्थे । उनी सिरियाको घटनाका अलि बढी सतर्क थिए । तर लामिया, भाग्यले साथ नदिएपछि कसैको केही सिप लाग्दो रहेनछ । रोममा कायसको कोठा नजिकै उनको बाल्यकालको साथी जीउअग्रिप्पा बस्दोरहेछ । भाग्यको खेल नै त्यस्तै रहेछ, अग्रिप्पा भिटेलियसको साथी बन्न पुग्यो, किनभने भिटेलिस अन्तिपासको विरोधी थियो भने आग्रिप्पा पनि अन्तिपासको दुश्मन थियो । अग्रिप्पा उसलाई घृणाको दृष्टिले हेर्थ्यो ।

सम्राट पूर्वाग्राही निकले उनले मेरो कुरा सुनेनन् । दुर्भाग्का अगाडि घुँडा टेक्नुबाहेक मसित अरू विकल्प रहेन, बिनाकारण मैले बेइजत्ति सहनु पर्यो, म बाध्य भएर सिसिली फर्के । यदि मेरी पोन्सिया आएर सान्त्वना नदिएको भए म मरिसक्येँ हुँला । त्यसपछि मैले कृषकको पेशा अँगालेँ । गहुँखेती गर्न थालेको छु । सँधियारका खेतमा भन्दा मेरै खेतमा गहुँ खेती राम्रो छ। अब कति समय पो बाँचिएला र बाँच्नुजित बाँचसकियो भन्ने लाग्छ मलाई । भिटेलियस र मेरो बिचको सम्बन्ध भविष्यले नै बताउने छ।

पोन्टियस, म के कुरामा विश्वस्त भएँ भने समारियनहरूप्रति तिमीले जे जस्तो व्यवहार गर्यौ, त्यो तिम्रो चरित्र अनुसार गर्यौ, रोमको भलाइकै लागि गर्यौ “मलाई राम्रो याद छ, जुडियामा हुँदा मैले तिमीलाई धेरै चोटि शान्तिपूर्वक शासन गर्न सल्लाह दिएको थिएँ । तिमीभन्दा खरो स्वभावको र सानो उमेरको भए पनि मैले तिमीलाई सुझाव दिएको थिएँ, यहुदीहरूसित शान्ति र सज्जनताको व्यवहार गर भनेर । “सभ्य व्यवहार त्यो पनि यहुदीहरूसित पोन्टियस पाइलेट चिच्यायो । यतिका वर्ष यहुदीहरूसित” सङ्गत गरे पनि मानव जातिका सबैभन्दा ठुलो शत्रुलाई तिमीले चिन्न सकेको रहेनछौ । तिनीहरू नीच, घमन्डी, जिद्दी स्वभावका र सानो चित्तका छन्‌ । प्रेम र घृणा के हो उनीलाई थाहा छैन । घृणाको योग्य पनि छैनन्‌ तिनीहरू । लामिया मेरो चरित्र भनौँ या स्वभाव, अगस्टस महान्‌को सिद्धान्तसित मिल्छ । म जुडियाको प्रतिनिधि नियुक्त हुँदा सम्पूर्ण साम्राज्यमा अधिनस्थ राज्यहरू एकापसमा नलड्ने सहमति भएको थियो । ठुलो गभर्नरले सानो शासकको काममा कसैले हस्तक्षेप गरेको सुनेको थिएँ । धेरै पहिलेदेखि मलाई आफ्नो काम-कर्तव्यको पूरा ख्याल थियो । शासनमा बुद्धि र विवेक प्रयोग गर्ने कुरामा म सचेत थिएँ । शासनमा नरम गरम अर्थात्‌ मध्यमार्गी बाटो अपनाएको कुरामा ईश्वर साक्षी छन्‌ । तर मेरो सदभावप्रेरित इमान्दारीको फल के पाएँ मैले ? मेरो शासनको सुरुवातदेखि नै विद्रोहले पराकाष्ठा नाघ्यो । त्यति बेला तिमीले मेरो साथ दियौ । ती सारा कुरा सम्झेर तिमीलाई सुनाइरहन जरुरी छ र ? सिजारियाको सेनाले जाडोयाममा आफ्नो शिविर जेरुसेलममा सार्यो। सेनाको झन्डामा सम्राटको तस्बिर बनाइएको हुन्थ्यो । जेरुसेलमका बासिन्दाहरू सम्राटलाई देउता मानेर पुज्न अस्वीकार गर्थे । यदि कसैलाई पुज्नु नै छ भने उसलाई देउता मानेर किन नपुज्ने ? यति सानो कुरो पनि जेरुसेलमवासीहरूले बुझेनन्‌ ।

“जेरूसलमका पादरी म भए ठाउँ आयो अनि बनावटी नम्रता देखाउँदै जेरुसेलमको पवित्र सहरबाट सम्राटको तस्बिर भएको झन्डा हटाइयोस भनी प्रार्थना गर्न थाल्यो । सिजरको दैवी स्वभाव र साम्राज्यको इज्जतलाई मध्यनजर गर्दै मैले उनीहरूको कुरा अस्वीकार गरिदएँ । मेरो कुरा सुन्नासाथ अनियन्त्रित भयो । मैले सेनालाई एन्टोनियाको टावरमा हतियार थन्क्याएर लट्ठीका भरमा विद्रोहीको भिडलाई तितरबितर पार्न आदेश दिएँ । तर मूर्ख यहुदीहरू बरु सेनाको लद्ठीको मार खेपेर बसे त्यहाँबाट डेग चलेनन्‌ । कोही भुइंमा पछारिए, कोही फलामको छडले घाँटी थिचेर जानाजानी मृत्युवरण गरे । ज्यादै जिद्दी स्वभावका थिए यहुदीहरू । लामिया, त्यति बेला मेरो कति अपमान भो, तिमी आफैँ त्यसको साक्षी छौँ । भिटेलियसको आदेशमा झन्डा फेरि सिजरिया पठाउन म बाध्य भएँ । त्यो हदसम्मको अपमान गरिनुपर्ने पात्र म थिइनँ । ईश्वरका अगाडि म कसम खाएर भन्न सक्छु, मेरो आफ्नो कार्यकालमा नियम उलङ्घन गर्ने र न्याय मर्ने काम गरिन ।”

“अब म बुढो भइसकेँ । मेरा शत्रु र कुरा काट्नेहरू यस संसारमा छैनन्‌ । तिनीहरूसित बदला नलिईकनै मर्ने भएँ म। मजस्तो मान्छे को जन्मेला र फेरि ?”

यसरी पोन्टियस पाइलेट बिलौना गर्दै चुप भो । लामियाले जबाफ दियो ।

“त्यही मान्छे ज्ञानी हो, जसलाई अनिश्चित भविष्यसित न त भय छ न त कुनै आशा, हामीलाई त्यसको के मतलब ? मानिसले हाम्रा बारेमा जे सुकै सोचुन्‌ । हाम्रो जीवनको साक्षी हामी आफैँ हौँ, न्यायाधीश पनि हामी आफैँ हौ । आफ्नै बुद्धि र विवेकमा भर पर्नुपर्छ पोन्टियस पाइलेट, आफू र आफ्ना साथीको व्यक्तिगत सम्मानप्रति सन्तुष्ट होऊ । राजकाज भन्ने कुरा असल मानिस भएर चलाउन सकिन्न । हामीजस्ता सर्वसाधारणले धर्म र दर्शनमा उल्लेख भएका मानवता र दयाको कुरा वास्तविक जीवनमा उतार्न सक्दैनौँ ।”

“भैगो लामिया, अब धेरै कुरा नगरौँ !” पोन्टियसले भन्यो ।

अस्ताउनै लागेको सूर्यको किरणले फ्लेग्रियाको मैदानमा उठ्ने गन्धकको बाफले बाथरोगलाई निकै फाइदा गर्छ त्यसैले म हतारमै छु फेरि भेटौँला । जे होस्‌ मैले पुरानो साथी फेरि भेट्टाएको छु । यो खुसीको मज्जा लिन चाहन्छु म । मलाई साथ देऊ, एलियस लामिया, भोलि बेलुका मेरो घरमा खाना खान आऊ । मेरो घर समुद्री किनारमा, सहरको पल्लो छेउमा मिसेनम छेउमा बाटैमा पर्छ । त्यहाँ एउटा द्वारमान्डपमा बाघ र सिंहले घेरिएको ओर्फियर चित्र बनाइएको छ। वीणा बजाएर पशुहरूलाई मोहित पार्दै गरेको चित्र छ ओर्फियसको । सजिलैसित मेरो घर ठम्याउन सक्ने छौ तिमीले । “ल लमिया भोलिसम्मका लागि बिदा पाऊँ। यति भन्दै पेन्टियस पाइलेट पाल्किमा चढ्यो । जुडियाका बारेमा भोलि कुरा गरौंला हुन्न ?”

भोलिपल्ट बेलुकाको खाना खान लामिया पोन्टियस पाइलेटको घरमा गयो । टेबुलमा बेकाफीको (इटारि चरा ) को मासु, महमा मिसाइएको सिसिलीको बाम माछा, सिपी किरा र मैना चराको मास राम्रोसित सजाइएको थियो । विगतका कुरा कोट्याउँदै जाँदा पोन्टियस र लामियाका बिच एकअर्काको रोग, त्यसका लक्षण र उपचारका लागि सुझाइएका सुझावहरूका बारेमा लामै गफगाफ भयो । त्यसपछि दुवै जनाले आफूहरूलाई सँगसँगै बाइमा जबरजस्ती पठाइएकामा एकापसमा बधाइ साटासाट गरे । सबैलाई मोहित पार्ने समुद्री तटको सुन्दरताको बयान जोडतोडले गरे । साथै न्यानो हावापानीको प्रशंसा गर्न पनि भुलेनन्‌ उनीहरूले ।

राम्रा राम्रा गहना र लुगामा सजिएका सुन्दर नर्तकीहरूका बारेमा कुरा गर्दा लामिया निकै उत्साहित देखियो । तर पाको प्रतिनिधि पोन्टियस पाइलेटले भने विदेशी कपडा र तुच्छ गहना लगाएर देखाइएको तडकभडकको खुब भर्त्सना गर्यो । साम्राज्यका शत्रुहरूले रोमनहरूलाई सुनका गहनामा भुलाएको आरोप पनि लगायो । नर्तकीहरूको महङ्गा फेसन विदेशबाट ल्याउँदा भएजति पैसा शत्रुका देशमा जान्थ्यो । त्यसपछि देशमा भइरहेका ठुला ठुला निर्माण कार्यहरूका वारेमा विषयान्तर भो । पुतौली र बायका बिचमा कायसद्वारा निर्मित भव्य पुल, समुद्रको पानी एभर्नस ताल र लुक्रिनतालमा पठाउनका लागि अगस्टसको नहर योजनाका वारेमा पनि कुराकानी भयो उनीहरूबिच ।

लामो सास तान्दै पोन्टियसले भन्यो “म पनि सामाजिक काममा हात हाल्न चाहन्थेँ । जुडियाको गभर्नर नियुक्त भएपछि पाइप बिछ्याएर जेरुसेलममा शब्द खानेपानी आपर्ति गर्ने योजना बताएँ । जमिन उठाउने काम, विभिन्न भागको समानपातिक क्षमता, पित्तलको ट्याङ्की राख्नका लागि भिरालो जमिन, जहाँ खानेपानीको वितरण पाइप जडान गरिन्थ्यो, यी आदि सबै विषयउपर मैले गहिरो अध्ययन गरेँ । मेकानिकल विशेषज्ञको सहयोगमा मैले निर्णय लिएँ । खानेपानीको अनाधिकृत चोरी वा चुहावट नियन्त्रण गर्ने उद्देश्यले निरीष्कहरूका लागि नियमावली नै तयार पारियो । कालिगड र कामदारहरूलाई आवश्यक निर्देशन दिइयो तत्काल काम सुरु गर्न मैले उनीहरूलाई आदेश दिएँ । पाइप बिछ्याएर खानेपानी उपलब्ध गराएकामा जस दिनु त परै जाओस्‌ जेरुसेलमका बासिन्दाहरूले उल्टै हल्लाखल्ला गर्न थाले । मेरो कामको खिल्ली उडाउन थाले । एकै ठाउँमा भेला भएर पवित्र कर्मको विरुद्ध उत्रे । मजदुरमाथि ढुङ्गामुढा गर्न थाले । योभन्दा ठुलो बर्बरता र जङ्गली पारा अरू के नै हुन सक्छ र ? तिमी नै भन त लामियाँ । यति हुँदाहुँदै पनि भिटेलियस उनीहरूकै पक्षमा लाग्यो अनि मलाई काम रोक्न आदेश दियो ।”

“मानिसहरूको इच्छाविरुद्ध उनीहरूको भलो चिताउनु कति ठिक, कति बेठिक भन्न साँच्चिकै गाह्रो छ” लामियाले भन्यो । पोन्टियस पाइलेटले आफ्नो कुरा जारी राख्यो, यस्तो लाग्थ्यो, उसले लामियाको कुरा सुनेकै थिएन ।

“पानी लिन अस्वीकार, कस्तो पागलपन हो यो। तर यहुदीका लागि रोमन चिजबीज एकदम अरुचिकर हुन्छ । उनीहरूको नजरमा त हामी म्लेच्छ हौं । उनीहरूका लागि त हाम्रो उपस्थिति पनि अनाचार हो । अशुद्ध होइन्छ भन्ने पिरले उनीहरू मेरो निवासमा आउनै डराउँथे । तिमीलाई त यादै होला दण्डाधिकारीको हैसियतले गर्नुपर्ने कामहरू कति चोटि खुला आकाशमुनि सडकपेटिमै सम्पादन गर्न बाध्य भएको थिएँ म । तिनीहरू हामीलाई डर देखाउँछन्‌, धम्क्याउँछन्‌ साथै घुणा पनि गर्छन्‌ । रोममा बस्ने जतिका सबै मान्छेको माता र संरक्षक होइन र राम ? झन्डा सँगसँगै संसारका हरेक कुनामा शान्ति र स्वतन्त्रताको लहर फैलिएको छ । हामीले जितेका भूभागका मानिसहरूलाई हामीले आफ्नो मित्र ठानेका छौँ, समान व्यवहार गरेका छौँ । उनीहरूको स्वतन्त्रता नियम कानुन, मूल्यमान्यता र परम्परालाई स्थायित्व प्रदान गरेका छौँ । सुरक्षाको प्रत्याभूति दिएका छौँ । पोम्पेइका सेनासामु घुँडा नटेकुन्जेल सिरियामा शान्ति र समृद्धि थियो त ? यसअघि राजा-रजौटाहरू एकापसमा लडिरहन्थे । यदि रोमनहरूले जितेका भए मन्दिर र पूजाघरको सारा सम्पत्ति लुटेर आफ्नै ढुकुटी भर्थे होलान्‌ तर हामीले त्यसो गरेनौँ । बरु उल्टै हामीले त अर्काको देवीदेवताको मूर्ति मन्दिर रक्षा गर्ने अभिभारा लिएका छौँ । पेसिनसकी देवीलाई कसैले छुँदा पनि छोएन । मोरिमेन र सिल्सियाको जुपिटरको मन्दिरको खजाना सुरक्षित छ। साथै जेरुसेलमका यहुदीहरूको देवता पनि सुरक्षित नै छन्‌ ।

अन्तिओक पल्मिरा र अपामिया पनि धनदौलतका बावजुद सुरक्षित छन्‌ । मरुभूमिका घुमन्ते, असभ्य अरबबाट डराउनुपर्ने केही छैन । उनीहरूले रोमन देवता र सिजरका समेत मन्दिर ठड्याएका हुन्‌ । हाम्रो बाटो छेक्ने र हामीलाई घृणा गर्ने यहुदीहरू मात्रै हुन्‌ । जबरजस्ती नगरुन्जेल त तिनीहरू कर पनि तिर्दैनन्‌ अनि सेनामा भर्ती पनि हुदैनन्‌ र सैनिक सेवावि गरिरहन्छन्‌ ।

लामियाले भन्यो- “यहुदीहरू आफ्नो प्राचीन परम्परा र रीतिरिवाजप्रति प्रतिबद्ध छन्‌ । मलाई थाहा छ उनीहरूले तिमीलाई शङ्काको दृष्ट्रिले हेरे । उनीहरूको मूल्यमान्यता, परम्परा, नियम कानुन हामी मेटाउन खोज्दैछौँ भन्ने बेकारमा शङ्का गरे उनीहरूले । रिसानी माफ गर पोन्टियस, मैले यति भन्नैपर्ने हुन्छ कि तिमीले उनीहरूको भ्रम वा शङ्का बढाउने काम गरेकै हो । यसले तिमीलाई आत्मसन्तुष्टि त दियो होला। उनीहरूको बेचैनी बढाउने काममा तिम्रै हात थियो । उनीहरूको रीतिरिवाज, परम्परा र धार्मिक विश्वासप्रति तिम्रो घृणा वा तिरस्कार लुकाउन असफल रह्यौ । त्यहाँका ठुलो पादरीको लुगा र आभूषण एन्टोनीको टावरमा राख्न लगाएर तिमीले त्यस मामिलालाई झनै उत्तेजित बनाइदियौ । हामीले एउटा कुरा स्विकार्नैपर्छ । दैवीशक्तिको प्रशंसा गर्ने सवालमा हाम्रोजित हैसियत नभए पनि यहुदीहरू आफ्नै प्राचीन संस्कृति र परम्परा मान्ने सवालमा हामीभन्दा अगाडि नै हुन्‌ ।” पोन्टियस पाइलेटले आफ्नो कुम हल्लाउँदै भन्यो “यहुदीहरूलाई देवताको प्रकृतिका बारेमा सही ज्ञान छैन । तिनीहरू जुपिटरको पूजा गर्छन्‌ तर नाम लिन डराउँछन्‌ । न त त्यसको मूर्ति बनाएर पूजा गर्छन्‌ न त ढुङ्गाकै देउता मानेर ढोग्छन्‌ जस्तो एसियालीहरू गर्छन्‌ । आपोलो, नेपच्युन र मार्क्सका वारेमा केही जान्दछन्‌, न त प्लुटो र अन्य देवीदेवताका वारेमा नै केही जान्दैनन्‌ । तथापि म के कुरामा विश्वस्त छु भने कुनै जमानामा यहुदीहरू भेनसको पूजा गर्थे । आज पसिन यहुदी महिलाहरू आफ्नो देवीदेवतालाई ढुक्र (परेवा)हरू बेच्ने व्यापारीहरूको हुन्‌ भने एकचोटि एउटा बौलाहा पूजा सामाग्री र परेवा-ढुक्र बेच्ने पसलमा जबरजस्ती पस्यो अनि पसलेहरूलाई समेत लखेट्यो । उसको त्यो कुकर्मको विरोधमा पुजारीहरू चिच्याए त्यसलाई पापको संज्ञा दिए । मेरो बिचारमा त चरा-चुरुङ्गीको बलि चढाउने परम्पराको थालनी भैनसको सम्मानार्थ संस्थागत गरिएको हुनुपर्छ ।”

“लामिया तिमी किन हाँसेको ?” लामियाले भन्यो “ममा एउटा अनौठो बिचार आयो, त्यसैले हाँसेको । म सोच्दै थिएँ, संयोगवश यहुदीका जुपिटर तिम्रो कुरा सुनेर तिमीसित बदला लिन रोमसम्म आइपुगे भने के हुन्छ ? किन नआउन्‌ त जुपिटर यहाँसम्म ? एसिया र अफ्रिकाले मनग्य देवीदेवता दिएर हामीलाई सम्यन्न तुल्याएका छन्‌ । हामीले देखेकै छौँ, रोममा कुकुरको अनुहार भएको देवता अनुविस र आइसिसकै मन्दिर ठड्याएका छन्‌ । सिरियाको बोना दिआको गधा सबारी रोमको चोक चोकमा निकालिन्छ । तिमीले सायद सुनेका छैनौ होला, तिबेरियसको शासन कालमा एक जना कुलीन केटाले जुपिटर एममानको नाउँमा देखापर्यो । उच्च घरानाकी एउटी महिलासित भोग गर्नका लागि मिश्रीहरूको सिङ भएको जुपिटरको भेष बदल्यो । ऊ हदैसम्मको धर्मात्मा भएकाले ईश्वरको नाममा जे गर्ने पनि तयार थियो । त्यस कारण होसियार ! पोन्टियस, केही गरी यहुदीहरूको अदृश्य जुपिटर कुनै दिन यहाँ ओल्तिया सम्म अवतरण गरे भने कसरी यहुदीहरूले आफ्नो पवित्र कानुन बाहिरियामाथि जबरजस्ती थोपर्न सक्छन्‌ जब कि उनी आफैँ कानुनको व्यवस्थालाई लिएर निरन्तर आन्तरिक द्वन्द्वमा फसेका छन्‌ ? लामिया, तिमीले त देखेकै छौ बिसौँ गुटमा विभक्त भएर उनीहरू चोकमा हिँड्छन्‌ । एकअर्कालाई गाली-गलौज गर्छन्‌ हातमा लाठी बोकेर एकापसमा मारपिट गर्छन्‌ । एकअर्काको दाह्री तान्न थाल्छन्‌ । विलापको प्रतिकको स्वरूप मन्दिरको सिँढीमा बसेर फोहोरी लुगा च्याताच्यात गरेको त तिमीले देखेकै छौ । गुरु बनेर उपदेश दिन तम्सन्छन्‌ । दैवीशक्तिका कुरा एकान्तमा गम्भीरतापूर्वक र शान्तिपूर्वक बहस र छलफल गर्न सकिन्छ भन्ने कुरा पनि उनीहरूलाई थाहा छैन । धर्म निन्दकबाट छिपेको छ र अचिच्छामा बेरिएको छ । अविनाशी ईश्वरको स्वभावै त्यस्तो छ कि, उनी हामीबाट लुकीछिपी हिँड्दैछन्‌ हामीलाई त्यसको ज्ञानै हुँदैन । तर जे भए पनि ईश्वर भनेका हाम्रा शुभचिन्तक हुन्‌, उनको कृपामाथि हामीले विश्वास गर्नैपर्छ । तर यहुदीहरूमा दर्शनशास्त्रको ज्ञान पटक्कै छैन भन्दा हुन्छ । विचारको विविधता उनीहरूलाई सह्य छैन । आफ्ना कानुनका विरुद्ध दैवीशक्तिका वारेमा वकालत गर्नेहरूलाई हदैसम्मको दण्ड दिन तयार हुन्छन्‌ । त्यस्तै दण्डसजायको पक्षमा फैसला सुनाउँछन्‌ । रोमन साम्राज्यको शक्तिशाली व्यक्तिका हैसियतले आफ्नो इजलासबाट मृत्यदण्डको फैसला सुनाउँदै छन्‌ । त्यसको कार्यान्वयनका लागि गभर्नर वा प्रतिनिधि चाहिने भएकाले आफ्नो अनिष्टकर फैसला कार्यान्वयन गर्न गराउन उनीहरू कुनै पनि बेला रोमन मेजिस्ट्रेटको हस्ताक्षर लिन हैरान पार्छन्‌ । “मृत्युदण्ड ! मृत्युदण्ड ” भन्दै चिच्याउनेहरूको भिड लागिरहन्छ न्यायाधीशको निवासमा । मैले त सयौँ चोटि देखे भोगेको छु । पुजारीको नेतृत्वमा के धनी, के गरिब सबै एकत्रित भएर मेरो कुर्सीमाथि भीषण आक्रमण गरेका छन्‌, समातेका छन्‌, चप्पलले हानेका छन्‌ । उनीहरूको माग भनेको कुनै अपाराधिहरूका विरुद्ध मैले मृत्यदण्डको फैसला सुनाओस्‌, जसको खास अपराध केही जान्न पनि पाउँदिनँ थिएँ । म त खालि यतिमात्र भनेर फैसला सुनाउन सक्थे कि त्यो बिचरो तथाकथित अपराधी उसलाई अभियोग लगाउनेजत्तिकै पागल छ ।

सय चोटि मात्र हैन, हरेक दिन आफ्नै जस्तो गरी उनीहरूको कानुनको पालना गर्न गराउन पर्थ्यो मैले किनकी म रोमनद्धारा नै नियुक्त प्रशासक थिएँ, न कि उनीहस्को कानुनको विनाश गर्न नै सक्थेँ म । उनीहरूको परम्परा र रीतिरिवाज मास्ने होइन, बरु त्यसको संरक्षण गर्ने काँधमाथि सुम्पिइएको थियो । तिनीहरूको मृत्यु र जिन्दगीको अधिकार अवश्य मेरो हातमा थियो तर त्यसको कार्यान्वयन म उनीहरूको कानुनअनुसार मात्रै गर्न सक्थेँ । मैले आफ्नो कार्यभार सम्हालेदेखि नै उनीहरूलाई विवेकको प्रयोग गर्न सुझाव दिएँ, मनाउने कोसिस गरेँ । बिचरा पीडितहरूलाई मृत्युदण्डबाट जोगाउने खुब प्रयास गरेँ मैले । निष्पक्ष छानबिन गरी न्याय गर्न कोसिस गर्दा उनीहरूको टाउको दुख्यो । गिद्धले जस्तो पखेटा र चुच्चोले ममाथि आक्रमण गर्न थाल्थे । उनीहरूको अपिल र कानुनको पुजारीले सिजरको नाममा पत्र लेखे । भिटेलियसको समथर्नमा ममाथि गालीगलौज भो । आरोप लगाउने र अभियोगी दुवै पक्षलाई काटेर कागको आहारा बनाउन चाहन्थे ।

लामिया तिमी यो नसम्झ कि पराजित हुनुपरेकोमा रिस पोख्दै छ पोन्टियसले भनेर । सेवानिवृत्त हुनुपरेकोमा म रोष प्रकट गरिराखेको छैन । रोमन र त्यहाँका शक्तिका विरुद्ध पनि म विष वमन गरिरहेको छैन व्यक्तिगत तवरमा । म के ठोकुवाका साथ भन्न सक्छु भने ढिलोचाँडो यहुदीहरूले हाम्रो अस्तित्व मेटाउने छन्‌ । हामीले उनीहरूमाथि शासन गर्न नसक्ने हुनाले उनीहरूलाई नष्ट गर्न हामी बाध्य हुने छौँ । यसमा शङ्कै नगरे हुन्छ, प्रायः सधैँ अनुशासनहीनतामा बसेका यहुदीहरूको प्रज्जवलनशील दिमागमा विद्रोह जाग्यो भने एक दिन तिनीहरू हामीमाथि नै खनिने छन्‌ । उनीहरूको रिसको अगाडि नोमादी र पार्थीहरूको रिस पनि फिका हुने छ । तिनीहरू गोप्य रूपमा हास्यास्पद आशालाई मलजल गरिरहेका छन्‌ । हाम्रो बर्बादीको योजना बुनिरहेका छन्‌। यही नै उनीहरूको ठुलो चाहना हो । योभन्दा बाहेक अरू के नै हुन सक्छ र ? उनीहरूको धार्मिक विश्वास छ, (देववाणीको बलमा) एक दिन आफ्नै जातको राजकुमारले सारा संसारमा राज गर्ने छ। यस्ता खालका मान्छेलाई अधकल्चो छाडनै हुँदैन, बेलैमा निमिट्यान्न पार्नुपर्छ, जेरुसेलमलाई जगैदेखि ध्वस्त पार्नुपर्छ । जेरुसेलमको पर्खाल ढलेको त्यहाँको प्रत्येक घरबाट आगोको ज्वाला निस्केको, अनि त्यहाँ सारा मान्छेहरू ज्यान बचाउन तरवारको धारमुनि हिँडेको बुढेसकालमा आफ्नै आँखाले हेर्ने ठुलो धोको छ मेरो । उनीहरूको मन्दिर भएको ठाउँमा जोतेर नुन छरेको देख्न पाए मेरो आत्माले शान्ति पाउने थियो । अनि मात्रै बल्ल मप्रति न्याय हुने छ ।”

लामियाले कुराकानीको विषयवस्तु अन्यत्रै मोड्न चाह्यो ।

लामियाले भन्यो “पोन्टियस, तिम्रो लामो समयदेखिको अनिष्ट आशङ्का र आक्रोश बुभन मलाई गाह्रो छैन । यहुदीहरूको चरित्रका वारेमा तिमीले जेजति बुझेका छौ, त्यो केही पनि होइन । तर म जेरुसेलममा तमासे भएर बसेको छु । अनि ती सोझा गाउँलेहरूको विशेष गुणहरू पहिल्याएको छु । जुन तिमीले देख्न र बुभन पाएका छैनौ, मैले देखे भेटेका यहुदीहरू सोझासिधा, विश्वासिला थिए, जसलाई म अहिले पनि सम्झन्छु । हाम्रा कविहरूले भन्ने गरेजस्तो उनीहरू स्पार्टाको न्यायदाता जस्ता लागे मलाई । पोन्टियस, तिमीले त देखेकै हौला, तिम्रा सिपाहीहरूले आफ्नो नाम लेख्न नजान्ने बिचरा ती सिधासादा, निमुखा यहुदीहरूलाई मारिदिएका थिए । घृणाका लायक पनि छैनन्‌ त्यस्ता मान्छेहरू । म यसो किन भनिरहेको छु भने हामीले आफ्नो मानसिक सन्तुलन गुमाउनु हुँदैन अनि आत्मसंयम पनि कायम राख्नुपर्छ । यहुदी पुरुषहरूसित मेरो कुनै त्यस्तो सहानुभूति छैन तर यहुदी महिलाहरू भने निकै राम्रा लागे मलाई । त्यति बेला म जवान थिएँ, सिरियाका महिलाहरूले ममा एउटा भावना जागृत गराइदिन्थे । तिनका गुलाबी ओठ, रसिला आँखा, निद्रालु हेराइले मभित्रको सुषुप्तावस्थाको आकाङक्षालाई समेत जगाइदिन्थ्यो । शरीरमा हुर्केको सुगन्ध र अनुहारमा प्रयोग गरेका श्रृङ्गारले उनीहरू झनै आकर्षक र सुन्दर देखिन्थे सबैलाई लठ्ठ पार्ने खालको ।

सुन्दरताको प्रशंसा पोन्टियसले बडो व्यग्रताका साथ सुन्यो । यहुदी महिलाहरूको प्रेमरूपी पासोमा पर्ने खालको मान्छे थिइनँ म, पेन्टियसले भन्यो, “ल्लामिया कुरो उप्काइहाल्यौ, मैले अहिलेसम्म तिमीलाई नसुनाएको कुरा म आज भन्छु । महिलाप्रतिको तिम्रो उच्छृङखल व्यवहार मलाई पटक्कै मन पर्दैन । रोममा छँदा एउटा कन्सुलरकी श्रीमतीसित अनुचित सम्बन्ध राखेको आशङ्कामा तिमी कठोर सजाय भोगिराखेका थियौ । विवाह एउटा पवित्र संस्था हो । यो एउटा यस्तो संस्था हो, जसमा रोमन साम्राज्य टिकेको छ। दासीवादी देशी महिलासित मात्रै अनुचित सम्बन्ध राख्ने हो भने त खासै फरक नपर्ला तर त्यसैको आदत बसाल्नु चाहिँ राम्रो होइन जसबाट बदनामी मात्रै होस्‌ । मैले भन्नैपर्छ, नराम्रो नठान नि, तिमीलाई प्रेमकी देवी भेनसको पूजाआराधना गर्ने खुब सोख छ । मेरो तिमीमाथि आरोप के छ भने विधिसम्म बिवाह गरेर तिमीले रोमन गणतन्त्रका लागि दिनुपर्ने असल नागरिक दिएनौ ।”

तर तिबेरियसको शासन कालमा निर्वासन बेहोरेको लामियाले प्रतिनिधि शासक पोन्टियसको कुरा सुनिरहेको थिएन ।

फालरनियन (रक्सी)को कप एकै घुड्कामा रित्याइसकेपछि कुनै तस्बिरतिर हेर्दै एक्लै मुस्कुराइरहेको थियो लामिया । केही बेरको मौनतापछि उसले आफ्नो भनाइ मसिनो स्वरमा जारी राख्यो । बिस्तारै उसको बोली चर्को हँदै गयो । “वाह ! कति सुकोमल ढड्गले नाच्ये ती सिरियाली महिलाहरू जेरुसेलमको एउटा सानो भट्टीमा नाच्ने एउटी यहुदी महिलालाई, चिनेको थिएँ। मैले धुवाँ फाल्ने सानो टुकी बत्तीको उज्यालोमा सिम्बल बजाउँदै छमछम नाच्थिन्‌ पाखुरा हल्लाउँदै । कम्मर मर्काउँदै टाउको पछाडि लग्थिन्‌ । नाच्दा यस्तो लाग्थ्यो, रातो कपालको बोझले उनको टाउको निहुरेको होस्‌ । उनका आँखामा जवानीको आगो सल्केजस्तो लाग्थ्यो । उनको नाच हेर्दा क्लियोपेट्रा पनि फिका लाग्थ्यो ईषष्याले जल्थिन्‌ होला स्वयम्‌ क्लियोपेट्रा पनि । उनको मातलाग्दो नाच देखेर म भुतुक्कै भएको थिएँ । उनको स्वर त्यत्तिकै सङ्गीतमय, सुगन्धित अगरबत्तीको जस्तो बासना छर्दै हिँड्थिन्‌ उनी । उनको यो सबै परिवेशले मलाई मोहित तुल्याएको थियो । उनी जता जान्थिन्‌ म पछि पछि लाग्थेँ । उनलाई प्रायः घेरिरहने मायावी व्यक्तिहरू, सिपाहीहरू र धुताहाहरूको खराब सङ्गतमा परेँ म । एक दिन उनी अचानक गायब भइन्‌ । कतै देखिनँ मैले उनलाई त्यसपछि । गल्लीगल्ली चहारेँ उनको खोजीमा तर कतै भेटिएन । उनको अनुपस्थितिमा त ग्रीक खसीको स्वाद पनि खल्लो भो मलाई । उनी हराएको केही महिनापछि संयोगवश मैले के सुनेँ भने उनी ग्यालेली बस्ने एक जना युवक जादुगरको महिलाहरूको सङ्गतमा परिन्‌ । त्यस जादुगरको नाम जिसस थियो, नजारथबाट आएको कुनै अपराध गरेबापत उसलाई झुन्डाएको थियो । ठचाक्कै के भएको हो म भन्न सक्दिनँ । पोन्टियस, के तिमीलाई केही थाहा छ त्यो मान्छेको बारेमा ?

पोन्टियस पाइलेटले आँखीभौँ खुम्च्यायो । कही सम्झने कोशिस गर्दै निधारमा हात पुर्यायो । अलि बेरको मौनतापछि उसले भन्यो “जिसस ? नजारथको जिसस ? अहँ, उसको वारेमा म केही भन्न
सक्दिनँ । पोन्टियस पाइलेट गुन्गुनाउन थाल्यो ।