
निर्मलको लिकर व्यावसाय थियो बुढानिलकण्ठमा । बुढानिलकण्ठ काठमाडौँको मन राख्न सकिने ठाउँ हो । अनि देखिन्छ भगवान् र मान्छेको सङ्गमस्थल । अथवा घर मन्दिर बन्दै थियो, मन्दिर घर । निर्मलले घरलाई मन्दिर सम्झिने प्रयास गरिरहन्थ्यो । र ठिङ्ग उभिएर बिहानै पारिको डाँडालाई नियाल्थ्यो । यहीं पहाडको फेदीबाट निर्मल जीवनका आयामहरू बनाइरहेको थियो । माथि पहाडको टुप्पाबाट झरेको कञ्चन पानीले निर्मलको जीवनलाई निर्मलकरण गरिरहेको थियो । अनि त्यही हरियो पहाडको सामुन्ने उभिएको निर्मलको घर त्यो पारिको सुन्दरता हेरेर लठ्ठ पर्थ्यो । भावुक देखिन्थ्यो उसको घर । घर अगाडि फाट्ट फुट्ट कुद्ने सावारी साधनहरूले त्यो सन्नाटालाई चिर्दैगर्थ्यो ।
तर पनि निर्मल मुस्कुराउन खोज्थ्यो ।
‘किन एक्लै मुस्कुराउन खोज्छस् आजकल, नानी ? बुहारी हेर्दैछस कि नानी ?’, आमाको प्रश्न हुन्थ्यो ।
‘केही होइन ।’ ऊ हतार हतार खाना खाएर हिँडथ्यो पसलतिर ।
अथवा भनौँ उसको जीवन एउटा शान्त परिवेशबाट उम्रिएर साँझ एउटा अशान्त परिवेशमा अन्त्य हुन्थ्यो । र त्यो भनेको उसको घर, घरबाट दोकान अनि दोकानबाट घर । अनि संयुक्त परिवारको जिम्मेवारी । आमा, मावली भाइ र आफू । त्यहीबीचमा आउने उसका समयहरू । ती सबै उसको जीवनका आरोह अवरोहहरू बनिरहेका थिए । उसले समयका ती रङ्गहरूलाई आफ्नो नजरले मात्रै हेर्यो । आफ्नो चेतनाले मात्रै नाप्यो । आफ्नो परिवेशले मात्रै जोख्यो ।
त्यही हो कारण, ऊ आफैँलाई हाँसो किन्न सकिरहेको थिएन । खुसी दोकानको माल होइन भन्ने उसलाई हेक्का थिएन । अर्थात् ऊ यो समयको दास थियो । ऊ यो समयको यन्त्र मानव थियो । ऊ यो समयको कठपुतली थियो ।
बाबुले सम्हाल्दै आएको लिकरको व्यवसाय उसले सम्हाल्नु पर्यो । चार वर्ष अघि दुर्घटनामा गुमाएको बाबुको घाउले उसलाई झनै निचोर्थ्यो उसको घाँटीमा । ऊ ऐँ ऐँ हुन्थ्यो । आफ्नो बिबिएसको पढाइ चौपट पारेर पनि एउटा सग्लो जीवनको आभासमा जिउन खोजिरहेको थियो ।
त्यसो त आमालाई शान्त पार्न उसलाई दुई वर्ष लाग्यो ।
अनि उसलाई लाग्थ्यो, कति तिक्तनापूर्ण हुँदो रहेछ जीवन ! तर भाग्न नमिल्ने जीवन । साटन र फेर्न नमिल्ने जीवन । जसरी पनि जिउनु पर्ने जीवन ।
त्यो तिक्तताबाट मूक्त हुन सजिलो पनि थिएन । विसङ्गत जीवन लाग्थ्यो उसलाई । त्यो समयलाई साथ दिने एउटा अर्को समयको खाँचो थियो उसलाई । त्यो खाँचो उसको सामाजिक सञ्जालले पूरा गर्थ्यो ।
खाली समय तिनै सामाजिक सञ्जाल हुन्थे उसलाई मुस्कान दिन खोज्ने । उसको अन्तर्सम्वादका माध्यम । अन्तर्मनको यात्रा गर्ने माध्यम । त्यही एउटा मोबाइल र घरको ल्यापटप ।
मोबाइल र त्यसको वाइफाइ नेटवर्क उसको जीवनको एउटा पाटो थियो । आनन्दको एउटा आभूषण थियो ।
यही ठान्यो निर्मलले ।
‘हाइ, निलम् ।’ सन्देश आयो । निर्मलले म्यासेन्जर खोल्यो । उही निशा थिई । उसको फेसबुके नाम निलम् थियो । ऊ निलम भएर चिनिएको थियो सामाजिक सञ्जालमा ।

बाँस्कोटा धनञ्जय
‘हाइ, निशा ।’ निलमले हतार हतार उत्तर लेख्यो ।
‘के गर्दै ? सन्चै ?’
‘दोकनमा । सन्चै छु । ’
‘कति बिक्छ दिनको ?’
‘व्यापार नै छैन । मन्दी छ । नाथे किरानाको पसलमा कति हुन्छ र ?’ उसले पसलबारे फरक कुरा बताउँथ्यो निशालाई ।
गज्जव चाहिँ के भने तिनले कहिले पनि भिडियोकल गरेर बोल्दैनथे । लिखित म्यासेज मात्रै ।
‘लगभग कति ?’
‘के भन्नु र, लाजमर्दो छ ।’
‘मलाई भन्न पनि नमिल्ने ?’
‘मेरो मतलव त्यस्तो होइन ।’
यतिकैमा ग्राहक आइपुगे । उनीहरूको संवाद अबरुद्ध भयो ।
यसरी सुरु भएको निर्मल र निशाको सम्बन्ध एउटा उत्कर्षमा पुग्यो । एउटा भावभङ्गीनिमा पुगेर अन्तर्घुलन हुन थाल्यो । मनमा राप र ताप उत्पन्न गर्न थाल्यो । हाँसो उत्सर्जन गर्न थाल्यो । मुस्कान उमार्न थाल्यो । जिन्दगीका सबै अँध्यारा गल्लीहरू अब उज्याला लाग्न थाले । प्रकाशले जग्मगाउन थाले । झिलिमिली हुन थाले मनका छायाँमा परेका खाल्डाखुल्डीहरू ।
निशा र निर्मलको म्यासेन्जर यात्रा जिन्दगीको यही नयाँ आयामको प्रतिरूप थियो । बिम्ब थियो । उसको जीवनमा निशाको यन्त्रमार्फत भएको उपस्थितिलाई उसले प्रेमका आयामहरू देख्न थाल्यो । मन भरिएर आउन थाल्यो । तर पनि एउटा प्रश्न उब्जियो उसको मनमा । किन उसले दोकानको, पैसाको कुरा गरिहन्छे ? फेसबुकमा फ्रेण्ड भएको तीन वर्षमा यस्ता प्रश्न धेरै गरिसकेकी छे ।
‘केटीहरू केटाको आम्दानी जान्न चाहन्छन् विवाह अगाडि, सायद । आफ्नो भविष्यको सुरक्षित जीवनका लागि यो प्रश्न जायज पनि हुन सक्छ ।’ ऊ मनमनै निशाका प्रश्नलाई वैधानिकता दिँदै थियो । र निशाका हर सवालहरू उसको जिन्दगीका अनिवार्य पाटा बनिरहेका थिए । अनिवार्य रेशाहरू बनिरहेका थिए ।
‘तिमीलाई दिनभरि दोकानमा मान्छे रुँघेर बस्दा बोर हुन सक्छ । माइण्ड फ्रेस गर ।’ उसले फेरि लेखी ।
‘कति झुर लाग्छ लाग्छ नि जिन्दगी ! कसरी प्रेस गर्नु ? प्रोफाइल पिक्चर चेन्ज गर्नु नि । सधैँ यही मात्रै देखिराखेको छु ।’
‘तिम्रो पनि त यही छ त । चेन्ज गर न ।’ उसले जिद्धि गरी । यसरी जिद्धि गरेको पनि वर्ष भयो ।
‘तिमीले पनि त चेन्ज गरेकी छैनौ नि त ! तिम्रो ताजा अनुहार हेरम् न । तिम्रो फूलको स्वाद मिठो । तिम्रो तस्वीरको वास्ना मिठो ।’
‘वा वा ! अनि तिम्रो स्वरको तस्वीर मिठो । मेरो मनको राजा मिठो । यो तस्वीर तिमीलाई । लु हेर मेरो आजको गेट अप ।’ निशाले उसकी साथीको रङ्गेली रोडको गहना पसलमा सुन टेस्ट गर्दै गरेको फोटो हाली । ऊ कुनै मोडल जस्ती देखिन्थी । हट थिई । अकल्पनीय सुन्दरता देखेर निर्मल स्तब्ध भयो ।
‘……..’ म्यसेन्जरमा निशाले फोटो पोष्ट गर्दा निर्मल जग्मगाएको थियो मनभरि ।
‘बोली किन अवरुद्ध तिम्रो ? म राम्री छैन, हो ?’ निशाले नखरा गरी ।
‘सत्ते होला, लाटी । तिम्रो गालाको खोपिल्टो…..तर अस्ति त तिम्रो गालामा खोपिल्टो थिएन जस्तो लाग्यो ।’ बोल्ने केही पनि शब्द नआएपछि यस्तो अप्ठेरो विषयमा पो बोल्न पुग्यो ऊ त ! फसाद पर्यो उसलाई ।
‘थियो नि । तिमीले ख्याल गरेनौ । बाइ द वे, तिम्रो चुम्मन पर्खिरहेको होला यो खोपिल्टाले …।’
‘धत्, के के सोच्न थाल्यौ तिमी त !’
‘के नराम्रो भने र मैले ? तर नि म अलिक उत्ताउली छु रे हो ? ममीले भन्नुभएको ।’
‘सही ।’
‘ममीलाई त म खराब लाग्छ जस्तो लाग्छ होला ।’
‘सही ।’
‘तिमीलाई पनि म खराब लाग्छु जस्तो लाग्छ ।’
‘सही । ए सरी । नसही ।’
‘तिमी झुट मान्छे । देखावटी छ तिम्रो व्यावहार ।’
‘सही । ए , सरी । नसही ।’
‘तिमी ठूलै जोकर हुने रैछौ अब ।’
‘तिमीसँग जोक गर्न मन लाग्छ ।’
‘जोक मात्र गर्ने मसँग चाहिँ ?’
‘के गर्नु त ?’
‘ग्वाँजे, पछि भनौँला । अनि तिम्रो गालाको खोपिल्टो छ होला नि ! देखाऊ त । मायाँ गर्ने श्रीमती पाउँछौ रेन्त ।’
‘हावा गफ ।’ उसले उत्तर दियो ।
‘गफ हावाबाट त तिम्रो मुखबाट मेरो मुखमा आइपुग्छ त, डियर ।’ ऊ मरुञ्जेल हाँस्न थाली ।
निर्मलले पनि दुईवटा दाँत देखाएको फोटो हाल्यो म्यासेन्जरमा । तर त्यो सौरभको फोटो थियो । निर्मलको साथी ।
‘वाउ, खत्रा हेण्डसम । दाँतको विज्ञापनमा तिम्रो माग हुन्छ, पक्का ।’
‘होइन होला । व्यङ्ग्य होला । उल्टो भनेकी होला ।’
‘कसम् । तिम्रो गाला अलिक पोटिलो छैन आजकल । किन ? अस्तिको फोटामा त थियो जस्तो लाग्छ । अनुहार पनि अलिक फरक छ जस्तो छ त !’
‘होइन होला । अनि त्यो खोपिल्टो किन चाहियो त तिमीलाई ?’
‘चाहिन्छ । चुम्बन गर्न । तर चुम्बन गर्दा पनि हड्डी ठोक्एिर घाइते बनाउला भन्ने पो पीर छ त । हाहाहा ।’ अलिक खुल्ला हुन खोजी निशा ।
‘तिमी आएपछि भरिलो होला नि त !’
‘तिम्रो मुखमा दूध र भात । म त भरिली छु नि ! नपत्याए हेर…..’ निशाले छाती खुल्ला भएको फोटो पोस्ट गरी । त्यो पोटिलो त थियो नै, रङ्ग पनि केही फरक थियो । त्यसमा उसको अनुहार थिएन । यस्तो नग्न आदर्शको उसले अपेक्षा गरेको थिएन ।
तर आदर्श क्षणिक हुँदो रहेछ । जब व्यवहार अगाडि आउँछ, आदर्श ओझेलमा पर्दोरहेछ । यही भयो निर्मलको जीवनमा । बरु ऊ निशाको यथार्थ दुनियाँसँग साक्षातकार हुन पुग्यो ऊ । समाहित हुन पुग्यो ऊ । अथवा उसका सबै आदर्श विनिर्माण भए । र ऊ आवेगात्मकताको दास भयो ।
‘तिम्रो पनि अप्रिसेट नगर्नु मैले ? अहिले के गर्दै छौ, देखाऊ त ।’ निशा निरन्तर लेखिरहेकी थिई ।
‘पसलमा के गर्नु र ? मान्छेलाई सामान दियो, पैसा लियो । त्यति त हो नि ।’
‘देखाऊ न त ।’
‘हवस्’ ।
‘तिमी खोई त देखिएका ? सेल्फी हान ।’
‘हवस्’ ।
निर्मलले यसको पछाडिबाट अनुहार छेलेर फोटो खिचेर पठायो । उसको अनुहारको उपस्थिति थिएन त्यहाँ ।
‘खोइ अनुहार ?’
‘अनुहार हेर्न लायक छैन । नदेखाम् ।’
‘हुन्न । अघि मैले देखाइ सकेँ । नो चिटिङ्ग । हाल्नै पर्छ फोटो । कति देख्न मन लाग्या छ ।’
‘के ?’
‘तिमी ।’
‘भेटमा मात्रै देख्ने अनुहार त !’
‘हुन्न ।’
‘ए बाबा । किन हुन्न ? सर्पाइज चाहिँदैन ?’
ऊ प्राय च्याटिङ्ग गर्दा आफ्नो वास्तविक अनुहारको फोटो देखाउने गर्दैनथ्यो ।
साइवर कानूनप्रति ऊ सजग थियो क्यार !
‘उसोभए अरू…. ।’
‘धत् ! हुन्न ।’
‘लु पाइन्टसँगै । भैगो ।’
‘हुन्न ।’
यतिकैमा तिनको संवाद अवरोध भयो ।
यस समयको कुरूप रेखामा उभिएको महसुस गर्न सकेन निर्मलले । उसका समाजिक र नैतिक सिमानाहरू उसलाई रोक्न कतै उभिएनन् जस्तो लाग्यो ।
ऊ निषेधित क्षेत्रमा प्रवेश गर्न थालेको थियो ।
ऊ निरन्तर बढिरर्यो अगाडि । र निशा पनि उसको यात्राको सारथी बनी । ऊ पनि निशाको यात्राको सारथी बन्यो ।
अनि यी दुवै दुवैका एक अर्काका सारथी बनेर बाँच्न थाले ।
अकल्पनीय सारथी ।
=======
‘हाइ, निर्मल । अब केही दिन हाम्रो भेट हुन्न होला ।’ तिहार आउन लाग्दा निशाले म्यासेन्जरमा लेखी निर्मललाई ।
‘कहाँ जान्छौ ?’
‘मर्न । हाहाहा । हैन हउ, काठमाडौँ जाँदैछु तिहार मान्न ।’
‘को छ काठमाडौँमा ?’
‘दाइ हुनुहुन्छ । उहाँको चेली मै हुँ, अरू छैनन् । तर दाइसँग डर लाग्छ ।’
‘बाघ हुन् कि क्या हो तिम्रा दाइ !’
‘छि !, के भनेको हो ? बरु हामी भेट हुन पाइने भयो भन्नु नि !’
‘जिस्केको क्या !!! के को डर ? भेटनु पर्छ । बरु दाइसँग चिनजान गराऊ अनि म उनको साथी भएर तिमीलाई भेटन् आउँछु । नो डाउट । विराटनगर र काठमाडौँको नाता जोडिन्छ । कति टाढा बसेर कुरा गर्नु ? यसपाली सँगै बसेर कुरा गर्ने ।’
‘कुरा मात्रै गर्ने ?’
‘के त ?’
‘यति मयाँ गर्ने साथी साथी लामो समयपछि भेट हुँदा पनि कुरा मात्रै गर्छन् त ? एकअर्कालाई अङ्कमाल गछन्. अनि………सबै मैले भन्नुपर्छ ?’
‘जून बाटो भुलेर यस धर्तीमा आएको छ । मेरी जून ।’ कुरा मोडन निलमले निशाको तारिफ गरेर बिट मार्न खोज्यो त्यस दिनको संवादलाई ।
यसरी तिनीहरू आफ्ना सिमानहरू छाडेर निकै पर पुगिसकेका थिए । तिनका संवादमा प्रेम थियो । कामुकता थियो । यौनिकता थियो । यतिकैमा तिनीहरूको संवाद अवरुद्ध भयो । तिनले यस्तै सोचे । तिनको प्रेमको परिभाषा यस्तै थियो ।
उनीहरू एकले अर्कालाई कहिले गाली गर्थे, कहिले तारिफ गर्थे । दिन र रात थियो तिनको प्रेम । आकास र धर्ती थियो तिनको कल्पना । कहिले जून बन्थे सुन्दरताका । कहिले जून बन्थे उत्पीडनका ।
यसरी तिहार आयो । काडमाडौँका गल्लीहरू पिङ्ग र रङ्गीन कागजका चङ्गाहरूले, लङ्गुरबुर्जा र अन्य खेलहरूले सिङ्गारिको थियो काठमाडौँ ।
यस प्रकारको सुन्दर समयमा विनिशा पाहुना आएकी थिई विराटनगरबाट । निर्मलको पाहुना । ठुलीआमाकी छोरी । विराटनगरकी एक सफल मोडल । उसका धेरै आयामहरू थिए ।
विनिशा र निर्मल तीन वर्षपछि भेट भएका थिए । समयको गतिले उनीहरूलाई पनि कुदाइरहेको थियो भिन्न भिन्न दिशातिर ।
‘दादा । दर्शन् । ममी, दर्शन ।’ विनिशाले शिष्टाचार व्यक्त गरी घर आइपुग्नासाथ ।
निर्मल, उसकी आमा र विनिशा बेलुका गफ गरे । खाना खाए । समय सङ्गीन भयो । रङ्गीन भयो ।
‘विनिषा, थकित भइस् होला । अब आराम गर । भोलि लक्ष्मी पूजा गर्नु पर्छ ।’ निर्मलकी आमाले विनिशालाई सुम्सुम्याउँदै भनिन् ।
त्यसपछि विनिशा कोठाभित्र प्रवेश गरी ।
‘हाइ निलम । म ठुलेमाको घरमा आइसकेँ । यहाँ लेखेर बोल्ने मिल्ने रहेछ । सन्देश लेख्नु है ।’ विनिशाले कोठामा प्रवेश गर्दागर्दै लेखी ।
तर उत्तर आएन ।
‘हेलो निलम ?’
उसले लेखिरही । तर उत्तर आएन ।
‘निलम बोल न । के भयो तिमीलाई ?’ ऊ ओछ्यानमा पल्टिएर लेखिरही म्यासेन्जरमा ।
‘…………………………….’
‘बोल न राजा । प्लीज ।’
‘……………………’
‘के भयो ? प्लीज । म तिम्रो जून । तिमीले सजाएको जून । सधैँ त्यसै भन्थ्यौ त ।’ विनिशाले फेरि लेखी ।
‘अनलाइनमै छ, तर बोल्दैन ।’ ऊ मुरमुरिन थाली ।
निर्मल पनि उसको कोठामा अघि नै गइसकेको थियो । निर्मलकी श्रीमती र छोरी तिहार मान्न माइत गएका थिए । घरमा आमा, छोरा, विनिशा र मावली भाइ थिए ।
निर्मलले मोबाइल खोल्यो । निशाका सन्देशहरू थिए म्यासेन्जरमा ।
‘तिमी कहाँ छौ ?’ निर्मलले उत्साहित भएर प्रश्न गर्यो ।
‘ठुलेमाको घरमा ।’
‘कहाँ ?’
‘काठमाडौँमा ।’
‘कुन ठाउँमा ?’
‘बुढानिलकण्ठ ।’
‘कहिले र किन गएकी ?’
‘आजै आइपुगेकी । दाइलाई टीका लगाइदिन ।’
‘को दाइ ?’
‘ठुलेमाको छोरा ।’
‘निलम ?’
‘निर्मल । लिकरको व्यापार छ बुढानिलकण्ठमा । तिम्रो नामसँग झण्डै झण्डै मिल्छ । बट नो कन्फुजन् ।’
यति सन्देस पढिसकेपछि निर्मलको छाती फुलेर आयो । स्वास रोकियो । चक्कर लाग्यो । भाउन्न भयो । वान्ता आउन खोज्यो । ऊ पश्चात्तापको रापमा खनियो ।
मोबाइल भुइँमा पछार्यो ‘झर्याम्म’ ।
‘के को आवाज, दादा ?’ विनिषा कुद्दै निर्मलको कोठातिर आई । र निर्मलको मोबाइल भुइँमा टुक्रा टुक्रा भएको थियो ।
‘हातबाट मोबाइल भुइँमा झरेको ………।’ निर्मलले भुइँतिर घोप्टे मुन्टो लगाएर भिजेको मुसोजस्तो भएर बोल्यो ।
उसलाई फेसबुकले भतभती पोल्न थाल्यो ।
र डढ्न थाल्यो उसको छाती; उसको मन र मस्तिष्क ।
अनि महसुस गरिरह्यो सामाजिक सञ्जालले लगाएको मनभित्रको डढेलो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

