चमलापाटे चुनाव स्थलको बाहिर बसिरहेका थिए । उनले एकातिर चुनावी चहलपहल हेरिरहेका थिए भने अर्कोतिर मनमनै अघिल्लो दिन र त्यस दिनको परिघटनाहरू स्मरण गरिरहेका थिए ।

अघिल्लो दिन साँझ मात्र एकजना उम्मेद्वार उनको घरमा पुगेका थिए । ती उम्मेद्वार आफ्नो भावी योजना र प्रतिद्वन्द्वीको उछितो काडी भोट मागेका थिए – मेरो चुनावी घोषणा पत्र अरूको भन्दा फरक छ । किसानको लागि मैले जस्तो कसले गर्ला ? अरूले सिञ्चाइको लागि कुलो र नहर बनाइदिन्छु भनेका छन् । तर मैले हेलिकप्टरबाट सिञ्चाइ गरिदिन्छु भनेको छु । मेरो प्रतिद्वन्द्वी प्रतिक्रियावादी हो । यसले सेनाको घेराउमा परी मारिएका हाम्रा साथीको मुखमा पिसाव गरेको थियो । यहाँभन्दा बढी अरू अहिले भन्न मिल्दैन किनभने यो मौन समय हो ।

शिवप्रसाद पाण्डे

ती उम्मेद्वारले चुनावको दिन बिहान चमलापाटेलाई बाटोमा भेटेर भने – “माक्र्सवाद जडसूत्र होइन । हाम्रा पुर्खा बाँदर थिए भनेर हामीहरूले पनि बाँदरले जस्तै गर्न भएन । राष्ट्रिय र अन्तराष्ट्रिय चल तत्त्वहरूले गर्दा मैले उम्मेद्वारी फिर्ता गरिसकेँ । हिजोका प्रतिगामी तर आजका अग्रगामी राजेशलाई मैले समर्थन गरिसकेको छु । अब मैले आफैँलाई भोट हाल्दिनँ । अब सबैले राजेशलाई भोट हाल्नु पर्छ ।”

चमलापटेले कुनै प्रतिक्रिया नदिई सोचे – “प्रेम, युद्ध र राजनीतिमा जे पनि हुन सक्छ । च्याउ त रातभरमा उम्री सक्दैन । बह्रै घण्टामा माक्र्सवादले रूप फेर्नु पर्ने के भएछ ?”

चुनाव स्थलमा सलबल र हल्का भनाभन भैरहेको थियो । चुनाव चिन्ह गालामा टाँसेका युवाहरूले यसो भनेको सुनिन्थ्यो – “बङ्गुर, खसी र राँगाको मासुको लागि डाडु छुट्टा छुट्टै बनाउनु है । अरूको जस्तो झासमिस होइन । खाना खानु अघि लेखेको कसम पढन लगाउनु पर्छ । पढन नजान्नेको लागि पढिदिनु है।” वृद्ध अशक्तहरूलाई बोकेर भित्र लैजाने र घुच्याउँदै बाहिर निकाल्ने क्रम चालिरहेको देखिन्थ्यो । एकजनाले एउटा झुण्डलाई सुनाइ रहेका थिए -” दिशामुक्त गाँउ घोषणा हुँदा सबैलाई देवी देवता सिमे भुमे कूल कूल्यानलाई सम्झेर कसम खान भने । चर्फीमा मात्र दिशा पिसाव गर्छु भनियो । तर कसम तोडन बाध्य भइयो । यसले गर्दा परिवारमा धेरै अनिष्ट भयो । त्यसैले यसपाली सबैलाई भोट दिन्छु भनेकाले मेसैसित सबैलाई छाप लगाएँ ।”

सधैँभरि दलित भनी छोइछिटो गर्नेलाई चमलापाटेले त्यो मौकामा एकदिन भए पनि घोडा बनाएर बदला लिने विचार गरे । उनले तत्‌कालै आँखा धमिलो साथै खुट्टा लुलो भएको कुरा सुनाए । उता चमलापाटेले आफूलाई भोट दिन्न भनेर राजेशलाई लगेका थिए । त्यसैले चमलापाटेलाई बोकेर लगी आफ्नो चिन्हमा छाप लगाउने राजेशले राम्रो अवसर मिलेको ठाने । राजेश चमलापटेलाई बोकेर भित्र पसे । त्यसपछि उनका जेठा बाले जनै कानमा हाली चमलापाटेलाई बोकेर मतपत्र दिने ठाँउमा पुर्‍याए ।

मतपत्र हात परेपछि चमलापाटेले भने- “मैले त एक्कासी पहिल्यैको जस्तो आँखा पनि देखेँ, खुट्टा पनि दरा भए । उनी मतपत्र लिएर एक्लै कागजले बारेको ठाँउतिर लागे ।