‘आ हजुर यो खप्परमा सौता नै लेख्या जस्तो छ… !’ मनमायाले एकाबिहानै लोग्नेसँग गुनासो पोखिन् ।

‘धत्तेरी ! किन एकाबिहानै यस्तो अलच्छिना शब्द बोल्छ्यौ ए बुढिया…।’ श्रीमती चाहिँले के भन्न खोज्दै थिइन्, बोल्नै नदिई बीचैमा बुझो लाइदियो हरिलालले ।

उनीहरूको विवाह भएको आजकै दिन त हो । मनमायाले भखरै चौध पार गरी पन्ध्र टेकेकी थिइन् । हरिलालले अझ दुई वर्ष बढी भोटो फटाइसकेको थियो । कलिलो मुनाबाट भखरै बसन्ततिर प्रवेश गरेका उनीहरूलाई घरगृहस्थी के हो र कसरी चलाउने केही थाहा थिएन । घरबारीको खेतीपाती, गाउँघरको मेलापात, गाईबस्तुको गोठालो र घाँस दाउरामै दैनिकी बितिरहेको थियो । उनीहरूलाई लाग्दथ्यो– जीवनको अनन्त लय नै यही हो । डाँडामाथिका जून भइसकेका आमा बाबुले मिल्ने कुटुम्बा खोजेर जोडी बाँधी दिए ।

दिन बितेको पत्तै भएन । पन्ध्र वर्ष बितिसके छ । पौरखी, उनीहरूले मेलापात, गाईबस्तु पालन स्याहार गरेरै गाउँमा भनेजस्तो खेतबारी जोडे ।

जिमिदारको जतिकै देख्न लायक घर, गोठ ठड्याए । उनीहरूको मेहनत देखेर गाउँलेहरू भन्थे, ‘छोरो बुहारी भनेको त हरिलालको बुढाबुढीजस्तो पो होस् ।’ ती दुई जोडी मिहेनती मात्र होइनन्, साह्रै मिल्तीको नमूना जोडी पनि थिए ।

‘हरिलाल दाइ तपाईंलाई जिमिदार साबले’ बोलाउनु भएको छ ।’ जिमिदार कहाँ हलिगोठालो बस्ने बिर्खे खबर लिएर आयो ।

‘यस्तो साँझपख जिमिदार बाले किन बोलाउनु भएको नि भाइ ?’ बस्तुभाउ थन्क्याएर भखरै घरभित्र पस्ने सुरसारमा थियो हरिलाल । श्रीमती चाहिँ भातभान्साको तयारीको लागि चुलोमा दाउरा जोडजाडको तयारी गर्दै थिइन् ।

‘जानुस् न जानुस् । केही जरुरी पो पर्यो कि ?’ हरिलाल अनकनाएको देखेर श्रीमती भित्रैबाट अनुमति दिइन् ।

हरिलाल भित्रै नछिरी त्यतैबाट बिर्खेलाई पछि लाएर जिमिदारको घरतिर हिँड्यो ।

पहाडको ठाउँ । भञ्ज्याङदेखि अलिमाथि उठेको थुम्कोको समथरभागमा थियो जिमिदारको घर । वरिपरि बाँसको बेराले कम्पाउण्ड लगाइएको, चारैतिर बरण्डा हालेको र दुईनाले घर, तीन तल्लाको थियो । दुईनाले जोडको बीचमा हावाघर बनाइएको थियो । जिमिदार यही हावाघर भएको दोस्रो तल्लामा बस्ने गर्थे र मानमनितो गर्नुपर्नेलाई यही हावाघरमा भेटघाट गर्थे । अरूलाई उनी तलै आँगनको फलैचामै भेट्थे ।

‘ए आइपुग्यौ हरिलाल ?’ हावाघरमा बसेर तमाखु तान्दै गरेका जिमिदार बुढाले उसलाई सङ्घारमा देख्ने बित्तिकै सम्बोधन गरे, ‘आऊ आऊ चाइन्जो यहीँ माथि नै ।’

हरिलाल भने जिमिदारको यो व्यवहारले असमञ्जसमा पर्यो । आजसम्म जिमिदारले उसलाई त्यो हावाघरमा उक्लन दिएका थिएनन् । केही काम परेर आयो भने तलकै फलैचाबाट छिनोफानो गरेर फर्कान्थ्यो ।

‘होइन हजुर ! म यहीँ तल नै….।’

हरिलालले कुरा टुङ्याउन नपाउँदै जिमिदारले आदेश गरे– ‘मैले चाइन्जो भने नि त । माथि नै आऊ ।’ ऊ माथि उक्लेर जिमिदार बसेको खाटको भुइँमा ओछ्याइएको राडीमा अप्ठ्यारो मानीमानी टुसुक्क बस्यो ।

‘कुरो चाइन्जो के भने नि, हरीलाल ! हाम्रा धर्मगुरुहरूले बताउनु भए अनुसार मान्छेलाई पिण्ड दिने कोही भएन भने नरक जान्छ भन्छन्… ।’ यति बोलेपछि जिमिदारले हरिलालको अनुहारमा गडेर हेरे र चुप लागे ।

यकिना अगाध

‘हजुर मैले पनि यस्तै सुनेको हुँ ।’ जिमिदारले कुरालाई बीचैमा छाडेर उसलाई घुरेर हेरेका कारण डराएको उसले स्वर कपाउँदै अपुरो वाक्याशंमा सही थाप्यो ।

‘अनि चाइन्जो तिम्रो बिहे भएको कति वर्ष भयो रे ?’ समय नै थाहा नभएको जस्तो गरेर जिमिदारले उसलाई सोधे ।

‘हजुर मात्र पन्ध्र वर्ष !’

‘हा हा हा’ हरीको कुरा सुनेर अघिसम्म गम्भीर देखिएका जिमिदार खित्का छाडेर हाँसे– ‘यति लामो वर्षलाई तिमी ‘मात्र…’ भन्छौ चाइन्जो ए हरिलाला….?’

हरिलालको अनुहार कालोनिलो भयो । केही बोल्न सकेन ।

‘मान्छेलाई चाइन्जो धर्म, गाउँ–समाज चाहिन्छ । हो कि होइन ?’ मान्छे नै निल्लान् जस्तो आँखा बनाएर जिमिदारले उसलाई हेर्दै भने– ‘तिम्रो चाइन्जो त्यो बैलीले अब पिण्ड तार्लीजस्ती छैन चाइन्जो हेर हरिलाल…। ल चाइन्जो कुरो बुझ्यौ होला, मलाई चाइन्जो भोलि उज्यालो हुँदा निधो चाहिन्छ ।’
उसलाई एक्कासी टाउकोमाथि बज्र बज्रिएझैँ भयो । जिब्रो लाटो भयो । आँखाले धमिलो देख्न थाल्यो । कान बन्द भयो । कतिखेर जिमिदारको घरबाट आफ्नो घरभित्र घुस्रिन पुग्यो, उसलाई थाहै भएन ।

‘जिमिदारले किन बोलाउनुभएको रहेछ बुढो ?’ मनमायाले सोधिन् । अगेना छेउमा मूर्तिजस्तै एकोहोरो टोलाइरहेको हरिलालले स्वास्नीको कुरा सुन्दै सुनेन ।

‘ए …ई … तपाईंलाई के भो ?’ लोग्नेले आफ्नो कुराप्रति ध्यान नदिएको जस्तो लागेर अगेनामा आगो ठोस्दै गरेकी उसले आगो ठोस्न छोडेर हरिलाललाई झकझक्याई । हरिलाल तन्द्रा भङ्ग भएझैँ गरी झस्कियो ।

जिमिदारको कान्छी सालीको घर हुन सकेन । दुई ठाउँमा बिहे भयो तर कतै घरजम गरेर खान सकिनन् । अहिले उनी दिदीभिनाजुको शरणमा छिन् । झण्डै हप्ता दिन हुन लाग्दा पनि माइत फर्केकी छैनन् । यतै हुनेखाने घरको मिल्दा कुटुम्बा भेट्टाए जिम्मा लगाउने घरसल्लाह भएका कारण जिमिदारको आँखामा हरिलाल पर्न गएको छ ।

‘यसको मुखाँ किरा पर्न नसकेको…।’ एक्कासी हरिलाल स्वास्नीसँग झोक्कियो र बच्चाजस्तो क्वाँक्वाँ रुन थाल्यो ।

‘हैन तपाईंलाई के भइरहेको छ ?’ बिहे भएदेखि लोग्नेको यस्तो रूप नदेखेकी मनमाया आफैँ अल्मल्लिइन्– ‘कि बहुलाउन आँट्नु भो ?’

‘मनमाया आज बिहान किन तिमीले त्यस्तो अपशब्द बोलेकी…?’ अघि आवेशमा आएको हरिलालको स्वर यतिखेर भने गलेको थियो, ‘अघि जिमिदारले….पिण्डाको कुरा….।’

‘बिहान तपाईंले मेरो कुरा नै सुन्न चाहनु भएन…।’ स्वास्नी पनि रुन लागिन् । लोग्ने स्वास्नी अङ्गालो कसेर अगेनामै धेरैबेर रोई रहे । भनिन्छ, पाकी सकेको भात, तरकारी एकगास भए पनि जुठो हाल्नु पर्छ । तर आज यी दुई दम्पतीले जुठो नै नहाली यतिकै थन्कियो भान्सा ।

हरिलालको बुबा दमको रोगी थिए । उनीहरूको बिबाहले दोस्रो सङ्घार पार गर्न नपाउँदै बुढा बिते । लोग्ने बितेको पीरमा आमा पनि छ महिना टिकिनन् । सम्पूर्ण घरव्यवहार, रितभात सबै अल्लारे जोवन टेक्दै गरेका उनीहरूको काँधमा आइपर्यो । गर्नुपर्ने धर्मकर्म, मान्नुपर्ने रीतिरिवाज, बाँधिनुपर्ने सामाजिक नियमहरूमा बाँधिदै उमेर पाको बन्यो ।

‘मेरी बुहारी ! अब त दुई दुई वर्ष पुग्न लाग्यो है ।’ सासू आमा मनमायासँग कहिलेकाहीँ हासिमजाक गर्थिन्– ‘मेरी नाती नातीनीलाई कता लुकाइ राखेकी छ्यौ हँ ?’

‘छिः आमा पनि ?’ रातो मुख लाएर मनमाया भन्ने गर्थिन् ।

‘कि ! लौ लौ यो केटीले त कत्रो कोसेली पो ल्याइछ्यौ भनेको त माइतबाट मादल पो बोकेर आइछ्यौ है’ भनेर भाउजू–सङ्गीले जिस्क्याउलान् भनेर हो ?’ बुहारीले मुख रातो पारेको देखेर अझ हौसिन्थिन् बुढिया । बुढाको निधनपछि सासू बुढीले नाति नातिनाको रहर गरेर यसरी कहिल्यै जिस्किनन् ।

आज बिहानै पँधेरी जाँदा बाटामै जिमिदारनीसँग मनमायाको भेट भएको थियो । जिमिदारनी आफ्ना नोकर्नीहरूसँग जीउ धोइपखाली फर्केकी थिइन् । मनमायाको अभिवादन सकारेपछि जिमिदारनीले भनिनन्– ‘मनमाया ! यतिको वर्ष भइसक्यो तिमीहरूको बिहे भएको पनि । बालबच्चा भएन क्यार । लोग्नेलाई धेरै आफूसँग मात्र कज्याएर राख्न नखोज है ।’

‘खोइ हजुर !’ मानमायाले बिनित भावमा दुखेसो पोखिन्– ‘भावीको लेखा नै यस्तो हुँदो रहेछ…।’

‘आफू त बाँझी भई भई लोग्नेलाई पनि पिण्डा खान नदिएर नरक पठाउली ।’ मनमायाको बिनित भाव सुनेर उल्टै जिमिदारनी कड्किइन्– ‘सौताको रेखा बोकेर आएपछि भावीको लेखा हजुर भनेर हुन्छ ? लोग्नेलाई सौता हाल्न दिनु पर्यो नि !’ यसपछि मनमायाले केही बोल्न सकिनन् । प्रतिकार गर्नु पनि त मृत्यु खोज्नु नै हुन्थ्यो । बिहान उसले लोग्नेलाई यो कुरा सुनाउन खोजेकी थिइन् तर लोग्ने चाहिँले कुरै नबुझी मुखमा बुझो लगाइदिएको थियो ।

आजको रात यसै बित्यो । रुँदा रुँदा अगेनाको आगो कतिखेर चिसो भयो, पत्तै भएन । बत्तीको तेल सकेर कतिखेर निभ्यो, कुनै सुइँको पाएन । तेस्रो प्रहारतिर भालेले फखेटा फटफटाएर उज्यालोको सङ्केत गर्दा पो दुवैजना झस्किए ।

‘आफ्नो भाग्य नै खोटी रहेछ…।’ मनमायाले फेरि रुँदै भनिन्, ‘अब म सबै तयारी गरिदिन्छु । तपाईं जिमिदारकोमा जानुहोला ।’

‘म यस्तो कुकर्म गर्न सक्दिनँ ।’ हरिलालले स्वास्नीको टाउको सुमसुम्याएर बोल्यो– ‘बरु जे पर्छ त्यही टर्छ ।’

‘मर्नुभन्दा बौलाउनु बेस भन्छन् ।’ मनमायाले लोग्नेलाई सम्झाउन खोजी– ‘तपाईं अटेर नगर्नुस् । कालको आँखा लागेपछि कसले टार्न सक्छ र ?’
सधैँ भालेको तेस्रो डाकसँगै आफ्नो मौलोमा आइपुग्ने घरमुली नदेखेर गाईको बाछा बाछीहरू ड्वाँड्वा र डुँडुँ गरी कराउन थाले । भैँसीका पाडा पाडीहरूको आइँआइँ र उइँ उइँ सुनेर बाख्राका पाठापाठीहरू पनि म्याम्या र म्युम्यु गर्दै छोपी राखेको डोको घिसार्न थाले । सबै बस्तुभाउले हल्ला खल्ला गर्न थालेकोले अघि प्रहर प्रहरमा मात्र बास्ने कुखुरा भालेहरू छिटोछिटो बास्न थाले ।

‘अब त उज्यालो नै भयो ।’ मनमायाले रुँदारुँदा थाकेको स्वरमा बोलिन्– ‘म वस्तुभाउलाई हेर्छु । तपाईँ जिमिदारकहाँ पुग्नु ।’

‘तिमीले नै त्यसो भन्छ्यौ भने जान्छु ।’ मनमाया कसै गर्दा पनि मान्दिनन् भन्ने लागेपछि लामो सुस्केरामा हरिलालले भन्यो– ‘लौ प्रिया ! म गएँ ।’

आफूतिर तानेर स्वास्नीको निधारमा कहिल्यै चुम्बन नखाने हरिलालले आज लामो चुम्बन खायो । ता तातो आँसु खसायो र जिमिदारको घरको बाटो समायो ।

लोग्ने हिँडेपछि मनमाया जिमिदारको साली आफ्नो सौता बनेर आएपछिको कहालीलाग्दो दृश्य सम्झिँदै वस्तुभाउलाई घाँसपानी गर्न थालिन् ।

त्यहीबेला आफ्नो नजिकै कोही लोग्नेमान्छे खोकेको आवाज सुनेर उनी तर्सिइन् ।

‘ए ठूले हजुर पो हुनुहुँदो रहेछ ।’ जिमिदारको ठूलो छोरो आफ्नै अगाडि देखेर आफ्नो भावभङ्गीमा ठिकपार्दै मनमाया बिनम्रपूर्वक बोलिन्, ‘बस्नुस् न हजुर ।’

‘तैँले लोग्ने भगाइस् होइन ?’ मनमायाको विनम्र बोलीलाई कुल्चदै जिमिदारको जेठो छोरोको अहंले भरिएको आवाज ध्वनिकृत भयो– ‘अब जिन्दगीभरि जोल्ठिएर बस्छेस् ।’

जिमिदारको छोरो फर्किएपछि मनमाया आफ्नै दैनिकीमा लागिन् । अघि कराइरहेका गाईबस्तुहरू घाँस पानी पाएर आफ्नै धुनमा उँघ्न थाले ।

‘लौ मनमाया सख्त घाइते छिन् रे !’ गाउँभरि हल्ला फिँजियो । सबै मान्छेहरू भेला हुँदासम्म उनी एकोहोरो मात्र बोल्ने भएकी थिइन् । जिमिदार र उसको आसेपासे पनि आइपुगे ।

‘बुढो… बुढो…।’ तिनी एकतर्फी सासमा कराइरहेकी थिइन् ।

‘तिम्रो घाँटीमा चाइन्जो कसले छुरी रोप्यो हँ मनमाया ?’ जिमिदारले सोध्यो ।

‘बुढो…बुढो…।’ फेरि तिनि एकतर्फी सासमा कराइन् र प्राण त्यागिन् ।

जिमिदारको रोहबरमा गाउँको भद्रभलाद्मीको कचहरी बस्यो । हरिलालले नै मनमायाको हत्या गरेको ठहर्यो ।

आफ्नो प्राणभन्दा प्यारी श्रीमतिमाथि जिमिदारको दबाबमा सौता हाल्नु पर्ने परिस्थिति सिर्जना भएर दिनभरि अनकन्टारमा लुकेर राती घर फर्केका हरिलालले न श्रीमती भेट्यो, न आफ्नो वस्तुभाउ नै देख्यो । घरको मूल ढोकामा जिमिदारको भकारीमा झुण्डिने यामनको भोटेताल्चा पिङ खेलिरहेको थियो । आफ्नो प्राणप्यारी मनमायाको खोजीमा दिनरात भौतारिँदा भौतारिँदा एकदिन हरिलालको प्राणपखेरु उड्यो । प्राण त्यागेपछि पनि उसले मनमायालाई खोज्न छाडेन । नेपालको मध्य पहाडी जिल्लातिर यो भनाइ छ कि चोखो मायाप्रेम गर्नेहरू आज पनि ‘हो हो’चरा बनेर गाउँबस्ती वनजङ्गल चहारिरहेका छन् ।