साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कमिसन

उनका अभिव्यक्ति अनि व्यवाहार मलाई सही नसक्नु भयो । रन्थनिँदै घर गएँ । रातभरि निद्रा लागेन । अनेकौँ प्रश्नोत्तरले गिजोलिरह्यो । बिहान उज्यालो हुनेबित्तिकै वाडाध्यक्षलाई फोन गरेँ । उनी काठमाडौँ गएका रहेछन् ।

‘करेसा जोडिएको छिमेकी भएर पनि भेटघाट नै हँदैन त सरू बहिनी ! के सारो व्यस्त हुनुभएको हो ?’ छिमेकी अशोक दाइले प्रश्न गरे ।

‘खोइ कस्तो जागिर खाइएछ दाइ ! यसो छरछिमेकसँग एकछिन बसेर गफगाफ गर्न नि पाइँदैन ।’ मैले उत्तर दिएँ ।

bahulako diary small and inside post

‘कति मरिहत्ते गर्नुहुन्छ, आमाछोरीलाई कति नै चाहिन्छ र ? छोरीको विवाह गरेपछि तपाईं एक्लै त हो नि !’ उनले व्यङ्ग्य गरे ।

‘भोकै बस्न सकिँदैन । एक्लै भए पनि दोक्लै भए पनि खानु परिहाल्यो । खानु परपछि काम त गर्नुपर्यो नि होइन र ?’ मैले प्रतिवाद गरेँ ।

‘ए साँची, म त तपाईंसँग अर्कै कुरा गर्न आएको थिएँ तर विषयान्तर पो भएछु ।’ भन्दै उनी विषयतिर उन्मुख हुन खोजे ।

‘के कुरा गर्नुथ्यो कुनि ?’ मैले बुझ्न खोजेँ ।

‘हाम्रो घरअगाडिको बाटो बनाउने सन्दर्भमा छलफल गर्न सबैलाई भेला गर्नुपर्छ भनेर जानकारी गराउन मलाई रावण दाइले पठाएको हो ।’, उनले उत्तर दिए ।

‘त्यो त राम्रो कुरा हो नि ! बाटो भनेको विकास हो । बाटो राम्रो भए गाडी घरघरमा आइपुग्छ र दुखबिमार हुँदा पनि सजिलो हुन्छ । तर कसरी बनाउने कुरा छ त दाइ ?’ मैले जिज्ञासा राखेँ ।

‘नगरपालिकाले एक लाख दिने भएको रहेछ । बाँकी रकमचाहिँ हामी आफैँले उठाएर ग्राबेलसम्म गर्ने कि भन्ने कुरा भएको छ । कति पैसा उठाउने, कसरी बनाउने भन्ने कुराचाहिँ छलफलबाट नै तय गर्नुपर्छ होला ।’, उनले भने ।

‘बाटो कति फुटको बनाउने कुरा भएको छ ?’ भन्दै पल्लाघरे राजन भाइ आइपुगे ।

‘कोही १४, कोही १६ फुटको भन्दै छन् । १६ फुटको बनाउँदा बाटाका मुखका घर र छेउको स्कूल पनि भत्किन्छ अरे त्यही भएर १४ फुटको बनाउनु पर्छ भन्ने आवाज उठेको छ ।’, अशोक दाइले जानकारी गराए ।

‘भत्के भत्किन्छन् नि ! कसैका घर, स्कूल, गेट भत्किन्छन् भनेर बाटो सानो बनाउनु हुँदैन । बाटो साँगुरो भयो भने हामीलाई नै अप्ठ्यारो हुन्छ ।’, राजनले प्रतिवाद गरे ।

संवाद लम्बिने ठानी मैले भनेँ, ‘ठिकै छ । बैठकमा सहभागी भएर नै यस विषयमा छलफल गरौँला नि हुन्न ?’

‘हुन्छ हुन्छ । सबै जम्मा भएर नै त्यस विषयको टुङ्गो लगाउनुपर्छ ।’, भन्दै अशोक दाइ पनि उठे । उनका पछिपछि राजन पनि हिँडे । मलाई पनि हतार भएकाले छिटोछिटो काम सकेर स्कूलतिर लागेँ ।

छैटौँ घण्टी पढाउँदापढाउँदै मुबाइलमा घण्टी बज्यो । बाहिर निस्केर फोन उठाएँ, ‘हेलो ! कसलाई खोज्नुभएको ?’

‘म रावण दाइ क्या ! मेमले चिन्नु भएनजस्तो छ ।’

‘ए नमस्कार दाइ ! हजुरको नम्बर सेभ रहेनछ त्यसैले अलि गाह्रो भएको मात्र हो । किन कष्ट गर्नुभयो कुन्नि ?’

‘बाटो नाप्न बेलुका चार बजे अमिन रक्षा बहिनी आउने अरे, अनि सबै भेला हुनुपर्छ भनेर कल गरेको हुँ ।’, उनले जानकारी गराए ।

सीता अञ्जान

सातौँ घण्टी नपढाइ हेड सरसँग बिदा मागेर घर आएँ । सबै छरछिमेक भेला भइसकेका रहेछन् । उनीहरू बाटो कत्रो बनाउने भन्ने विषयमा नै छलफल गर्दै थिए । कोही भौतिक संरचना नष्ट गरेर बाटो बढाउनु हुँदैन भन्दै थिए भने कोही ‘बाटो ठुलो बनाउनु पर्छ । हेर्दा पनि राम्रो देखिन्छ । फराकिलो बाटोमा ठुला गाडी पनि छिर्छन् । हिँड्न पनि सजिलो हुन्छ’ भन्दै प्रतिवाद गर्दै थिए । छलफल गर्दागर्दै अमिन रक्षा पनि आइपुगिन् र बाटो नाप्नतिर लागिन् । सबै त्यतैतिर व्यस्त भए । रक्षाले दुवैपटि्टको जग्गा नापेर बाटोको बीचमा किला ठोकिदिइन् । बाटो जत्रो बनाए पनि त्यही किलालाई आधार मानेर दुवैपट्टि बराबर छोड्नुपर्ने सर्तका साथ उनी गइन् । हामी पनि आआफ्ना घरतिर लाग्यौँ ।

भोलिपल्ट बिहानै म स्कूलतिर लागेँ । दश बजे घर फर्किँदा बाटोको बीचमा गाडेको किला सारिएको रहेछ । मैले पल्ला घरे भुपाल दाइलाई ‘यो किला कसले सार्यो ?’ भनेर सोधेँ । ‘अरुण सर, रावण दाइ अनि वरिपरिका जग्गाधनी पनि भेला भएर जग्गा नाप्दै थिए । रावण, अरुण सर र सचिव अलिक पर गएर कानेखुशी गर्दै थिए । एकछिनपछि आएर हिजो अमिनले नापेको त गलत रहेछ भनेर किला उखेलेर अर्का ठाउँ गाडेर गए ।’ भन्दै उनले मलाई जानकारी गराए ।

‘हिजो उनीहरूकै अगाडि अमिनले सबैको जग्गा नापेर किला गाडेको त फेरि आजै कसरी गलत भएछ ?’, मैले उनलाई पुनः प्रश्न गरेँ ।

‘खोइ, त्यसै भन्थे । सबै कुरा त मलाई पनि थाहा छैन । हाम्रो केटोलाई पनि बाटो बनाउने समितिभित्र राखेको रहेछ । बरु उसैलाई सोध्नुन ।’ भन्दै उनी पन्छे । त्यो दृश्य देखेर अनि उनको अभिव्यक्ति सुनेर म रिसले भुत्भुताएँ ।

सम्बन्धित पोस्टहरु

कर्तव्य

कथा : सजाय

‘के भयो मेडम ?’ भन्दै बिना बहिनी मेरो छेउमा आइन् । हिजोदेखि आजसम्मको सम्पूर्ण वृतान्त मैले उनलाई बताएँ ।

‘स्कूलको नाला बनाउने ठाउँ निकाल्न तपाईंको जग्गातिर किला सारेका होलान् नि ?’ बिनाले सङ्केत गरिन् ।

‘स्कूल जोगाउन मेरो गेट भत्काउनु पर्ने ?’, म कड्केँ ।

‘मेम रिसाएर समस्याको समाधान हुँदैन । अध्यक्षसँगै बसेर यस विषयमा छलफल गर्नुपर्छ ।’ उनले मलाई सम्झाइन् ।

एकछिन आराम गरेर म रावण दाइका घरतिर लागेँ । उनी खाना खान लागेका रहेछन् । खाना खाइसकेपछि उनलाई ‘अघिल्लो दिन अमिनले गाडेको किलो कसले उखेलेर अन्यत्र सारेको रावण दाइ ?’ मैले प्रश्न गरेँ । उनी मौन रहेँ । उनी नबोलेपछि ‘मैले अस्ति तपाईंकै अगाडि अमिन रक्षालाई मेरो जग्गा नपाको, उनले १४ फुटको बाटो बनाउँदा तपाईंको गेट भत्किँदैन भनेर गेटदेखि तल्तिर किलो ठोकेको तर अहिले त त्यो उखेलेर गेटदेखि मास्तिर ठोकेको छ त, त्यस्तो कसरी भयो ? तपाईं अध्यक्ष भएकाले यसको उत्तर दिनुपर्छ ।’ भन्दै मैले उनलाई पुनः प्रश्न गरेँ ।

‘अमिनले नापेको नै सही हुन्छ नि ! फेरि कसले त्यसरी किला सार्यो ?’ गौरा भाउजूले जिज्ञासा राखिन् ।

‘चुप लाग राँडी ! आइमाई बाठो हुने काम छैन ।’ रावणले बुढीलाई थर्काए ।

‘भाउजूले ठिकै त भन्नुभएको हो । यहाँ आइमाई र लोग्नेमान्छेको कुरा कसरी आयो ?’ मैले प्रश्न गरेँ ।

‘मेरै बुढीलाई भनेको हो, अरूलाई होइन ।’ भन्दै उनी बाहिर निस्के ।

उनका अभिव्यक्ति अनि व्यवाहार मलाई सही नसक्नु भयो । रन्थनिँदै घर गएँ । रातभरि निद्रा लागेन । अनेकौँ प्रश्नोत्तरले गिजोलिरह्यो । बिहान उज्यालो हुनेबित्तिकै वाडाध्यक्षलाई फोन गरेँ । उनी काठमाडौँ गएका रहेछन् । उपमेयरलाई भेट्न उनकै कार्यकक्षमा गएँ र सबै कुरा बताएँ । उनले त्यस विषयमा बुझ्न त्यहीँ आउँछु भनेर टारिन् । काम नभएपछि भारी मन लिएर फर्कँदै थिएँ । बाटामा कवितासँग भेट भयो । ‘मेडम तपाईंसँग एउटा कुरा भन्न मन लागेको छ तर अन्यथा नठान्नु ल । साथी भनेर मात्र भन्न खोजेकी हुँ ।’ कविताले मसँग अनुमति मागिन् ।

मैले ‘हुन्छ ।’ भनेँ ।

‘मेडम टिचरजस्तो मान्छे भएर पनि बाटोको लागि जग्गा नदिएको भन्दै तपाईंको कुरा काट्दै थिए ।’ उनले डराउँदै सुनाइन् ।

‘कसले त्यसो भन्यो, कहाँ नदिएको छ र ? दुवैपट्टिबाट बराबर हुनुपर्छ । एकपट्टि धेर र अर्कापट्टि थोर हुनुहुँदैन पो भनेको ।’ मैले उनको जिज्ञासा तृप्ति गर्ने कोसिस गरेँ ।

‘मेडमले जग्गा नदिएर बाटो बनाउन नसकिने भयो भन्दै अध्यक्ष गाउँमा डुल्दै थिए ।’ उनले फेरि सुनाइन् ।

‘हो त मेडम ! अघि हाम्रा बाबैसँग पनि त्यसै भन्दै थिए अनि त्यो सुमने पनि बाटामा हिँड्ने मान्छेलाई बोलाइ बोलाइ त्यही कुरा भन्छ अरे’ छिमेकी रमिलाले पनि थपिन् । ‘त्यो पनि अध्यक्षको चम्चा त हो नि ! कुन चाहिँ गतिलो छ र ! अस्ति आफ्ना घरअगाडि बाटो आइपुग्दा तल्लापट्टिको छिमेकी लाटोलाई पेलेर दुई फिट जग्गा निकालेछ । विचरा ! लाटो रुदैँ थियो । त्यस विषयलाई अध्यक्षले छामछुम पारेछ । त्यही भएर सुमने अध्यक्षको झिँगा धपाउँदै कुद्छ । सबै स्वार्थी मात्र छन् ।’ छिमेकी ताराले चिन्ता प्रकट गरिन् ।

यिनले र मैले एउटै मानिससँग जग्गा किनेको । हामी दुवैको जगाको लम्बाइ पनि बराबर (५१–५१ फिट) छ । १४ फिटको बाटो बनाउँदा दुवैपट्टिबाट सातसात फिट छोड्नुपर्छ । सात फिट छोड्दा ४४ फिट रहनु पर्नेमा मेरो जग्गाको लम्बाइ ४२ फिट मात्र छ । मैले चाहिँ ९ फिट किन छोड्नु, दुवैपट्टिबाट बराबर छोड्नु पर्ने होइन र ? मेरो भनाइ यति मात्र हो तर सत्य कुरालाई उल्टोपाल्टो पारेर सबैका नजरमा मलाई गलत सावित गर्न खोज्दै छन् । किन यसो गरेका हुन्, मलाई थाहा छैन । यिनीसँग मेरो कुनै व्यक्तिगत दुश्मनी पनि छैन ।’ मैले चिन्ता प्रकट गरेँ ।

‘आइमाई केटाकेटी भनेर हेपेको नि मेडम ! छिमेकी रनेले उसको दुई इन्च जग्गा मिचेको रहेछ । उसले त बिचरा ! रनेलाई तथानाम भनेर गाली गर्यो । त्यस विषयलाई लिएर दुई तीन घण्टा अवरोध भयो । अन्तिममा रनेले छोडेपछि मात्र बाटो अघि बढाउन दियो । तपाईं स्कूल जानुभएको बेला परेकोले थाहा पाउनु भएन ।’ ताराले उसको वृत्तान्त कहिन् ।

‘ए ! उसलाई चाहिँ दुई इन्च जग्गाको पनि त्यत्रो माया लाग्ने अनि मलाई चाहिँ दुई दुई फिट जग्गाको माया लाग्दैन ? फेरि जग्गा मात्र भए त हुन्थ्यो, जग्गासँगै गेट पनि त भत्किन्छ । त्यसको क्षतिपूर्ति चाहिँ मलाई कसले दिन्छ ?’ मैले आक्रोश पोखेँ ।

‘सरू मेम, कविता दिदी नमस्कार ! मेम हजुरलाई के भयो ? अनुहार मलिन देखिन्छ त !’ भन्दै नारद आइपुग्यो । ऊ मेरो असल छिमेकी अनि विद्यार्थी पनि भएकाले उसलाई सबै कुरा बताएँ ।

‘तपाईंको दुई फिट जग्गा मिचेर स्कूलको नाला बनाउने भाग निकाले बापत अरुण सरले रावण दाइलाई एक लाख कमिसन दिएको भन्ने हल्ला चलेको छ त बजारमा ।’ उसले सुनेको कुरा बतायो ।

‘तिमीलाई कसले भन्यो ?’ मैले प्रश्न गरेँ ।

‘यस्ता कुरा हामी छोरामान्छे थाहा पाइहाल्छौँ नि ! अस्ति गोल खेल्न जाँदा ज्योति दाइले भनेका । बाटो बनाउँदा ठेकदारले अध्यक्षलाई कमिसन पनि दिँदा रहेछन् । त्यही कमिसनलाई तह लगाउन अध्यक्षले होटलमा पाटी गरेका थिए अरे । त्यो पाटीमा ज्योति दाइ पनि सामेल भएका रहेछन् । रक्सीले मातेर बेसुर भएका बेला रावण दाइले सरूको दुई फिट जग्गा निकालेर बाटामा हालिदिएँ र अरुण सरको स्कूल जोगाएँ, त्यस बापत उनले मलाई एक लाख कमिसन दिएका छन् । अब यसको पनि तिमीहरूलाई पाटी दिन्छु ।’ भन्दै हाँसे अरे ।

लेखक परिचय
सअ
सीता अञ्जान
प्रतिक्रिया
Loading...