अध्याय दश
पानी छिटाउन लागिसकेको थियो । तबेलाको वातावरण उराठलाग्दो थियो, किन्तु मालिकको घरको कुरा अर्कै थियो । घरभित्र शानदार बैठकमा संध्याकालीन चियापान चलिरहेको थियो । सजाइएको टेबुलवरिपरि मालिक, मालिक्नी र आगन्तुक पाहुना बसिरहेका थिए ।
मालिक्नी सामोभार नजिकै सीधा तन्किएर बसेकी थिइन् । उनी बसेको तरीका, उनको मोटो जिउडाल र खासगरी उनका ठूल्ठूला आँखाबाट नै उनी गर्भवती छिन् भन्ने प्रष्ट भइरहेको थियो । उनका आँखामा विनम्रता र गम्भीरताको भाव झल्किरहेको थियो ।
मालिकको हातमा एउटा बट्टा थियो जसमा बढिया खालका दश वर्ष पुराना सिगारहरू भरिएका थिए । यस्तो सिगार अन्यत्र कतै पाउन सकिँदैन भनेर ऊ भन्दै थियो । मालिक ज्यादै सुन्दर देखिन्थ्यो । उसको उमेर पनि पच्चीस वर्षको लगभग हुँदो हो । उसको अनुहारमा ताजापन देखिन्थ्यो, कपाल पनि निकै मिलाइएका थिए र पहिरन पनि शानदार नै थियो । घरमा बस्ता उसले त्यो हवार्लाङ्गे पतलून लगाइराखेको हुन्थ्यो जुन लण्डनमा सिलाइएको थियो । घडीको सिक्रीमा मूल्यवान् लर्कनहरू झुण्डिरहेका थिए । बाहुलामा पनि सुनका नै ठूल्ठूला भालेपोथी टाँकहरू थिए जसमा यूँ जडिएको थियो । दाह्री चाहिँ नेपोलियन तृतीयको ढाँचाले पालिएको थियो भने जुँगाका दुवै टुप्पा मूसाको पुच्छर जस्तै ठिङ्ग उठेका थिए जसलाई पालिस राम्ररी लगाएर बटारिएको थियो । पेरिसमा नै त्यो तह लगाइएको होला भन्ने भान पर्थ्यो । मालिक्नीले मिहिन रेशमी जस्फर लगाइराखेकी थिइन् । त्यसमा रङ्गीचङ्गी फूलका गुच्छा बनाइएका थिए । उनको घना सुनौला केशमा सुनका ठूल्ठूला विशेष किलिपहरू लगाइएका थिए । केश निकै सुन्दर थियो, चाहे त्यो साराको सारा उनको आफ्नै केश चाहिं नहोला । नाडीमा बालाहरू र औंलाहरूमा चाहिँ औठीहरू लगाइएका थिए र ती सबै निकै दामी र महँगा थिए । सामोभार चाँदीको थियो भने रिकापी र प्यालाहरू चाहिँ बढिया खालका थिए । चिटिक्क परेको फ्रक-कोट, सेतो इष्टकोट र टाइ समेत लगाइराख्ने एक टहलुवा ढोकैनेर शालीक झैँ ठिङ्ग उभिइरहेको थियो र अह्रोट-पह्रोटको प्रतीक्षा गर्दै थियो । मेच-कुर्सी पनि दामी काठबाट बनाइएका थिए र त्यसमा बुट्टा पनि कुँदिएका थिए । भित्तामा गाढा रंगको फूलबुट्टे कागज टाँसिएको थियो । टेबुलनेरै असल जातको एउटा बेलायती कुकुर पनि पल्टिरहेको थियो जसको घाँटीमा चाँदीको सिक्री बज्थ्यो । मालिक्नीले कुकुरलाई एउटा अनौठो अंग्रेजी नाम दिइराखेकी थिइन् । त्यस नामको उच्चारण भने न मालिक गर्न सक्थे, न त मालिक्नी नै । ती दुवै अंग्रेजी पटक्कै जान्दैनथे । एक कुनामा फूलका गमलाहरूको बीचमा एउटा ठूलो पेनोबाजा खडा थियो जसमा Incruste मोलम्बा गरिएको थियो । कोठाको सारा सज्जा ज्यादै नौलो, विरल र भड्किलो थियो । सबै कुरा निकै भव्य थियो तर हरेक कुरामा विलास र आडम्बरको छाप परेको थियो । कुनै पनि चीजबाट सुरुचिको परिचय पाइँदैनथ्यो । मालिकलाई घोडदौडका घोडाहरूको सौख थियो । उ ज्यादै तगडा, स्वस्थ र उत्साही मान्छे थियो । उ त्यस्तो मान्छेहरूमध्ये एक थियो जो सेबलको भुवादार छालाबाट बनेको कोट लगाउँछन्, अभिनेत्रीहरूलाई अति मूल्यबान फूलका गुच्छाहरू उपहार दिन्छन्, सबभन्दा नामी होटलहरूमा सबभन्दा महँगा र नयाँभन्दा नयाँ मार्काका मदिराहरू प्युँछन्, आफ्नो नाउँबाट पुरस्कारहरू वितरण गर्छन् र सबभन्दा खर्चिला रखौटीहरू राख्छन् ।
आगन्तुक निकिता सेर्पुखोभ्स्कोइको उमेर चाहिँ चालीस नाघिसकेको हुँदो हो । अग्लो कद, मोटो जिउ, खुइलेको तालु, ठूल्ठूला गालेजुँगा र लामालामा जुँगा ! जवानीमा ऊ अवश्य पनि ज्यादै सुन्दर हुँदो हो । अहिले चाहिँ सम्भवत: के शारीरिक, के नैतिक र के आर्थिक तीनै प्रकारले उसको अवनती भैसकेको छ ।
उसमाथि ऋणको भार कतिसम्म बढिसकेको थियो भने झ्यालखानाको हावा खान नपरोस् भनेर उसले सरकारी जागिर खानुपरेको थियो । त्यतिखेर ऊ मोफसलको कुनै एउटा शहरतर्फ जाँदैथियो जहाँ उसलाई अश्वशालाको प्रबन्धको पदमा नियुक्त गरिएको थियो । उसका पहुँचवाला नातेदारहरूले कोशिश नगर्दा हुन् त उसले यो नोकरी पनि भेट्टाउन सक्ने थिएन उसले जंगी वर्दी र नीलो पतलून लगाइराखेको थियो । वर्दी र पतलून दुवै नै यस किसिमले सिलाइएका थिए जसरी कुनै धनाड्यले सिलाउनेगर्छ’ । भित्री लुगा र घडि पनि बेलायती नै थिए । बूटको तलुवा। बूटको तलुवा समेत एक इन्च बाक्लो थियो ।
निकिता सेर्पुखोभ्स्कोइले आफ्नो जीवनमा बीस लाखको श्रीसम्पति स्वाहा पारिसकेको थियो र अहिले आफ्नो थाप्लोमा उसले एक लाख बीस हजार रूबलको ऋण बोक्नुपरिरहेको थियो । यति ठूलो धनराशि जुन मान्छेले खेलाउन पाएको हुन्छ उसको आफ्नो बेग्लै स्थान हुन्छ । यसैको आधारमा ऊ जहाँबाट पनि आफूलाई चाहिएको बेला ऋण काढ्न सक्छ र यसरी कम्तीमा पनि अरु दस वर्षसम्म ऐशआरामसित जिन्दगी बिताउन सक्छ । परन्तु यी दस वर्षहरू पनि बितेर गैसकेका थिए र नामको पनि अब त कुनै महत्व रहन गएको थिएन । निकिताको निम्ति जिन्दगी नै भार बनिसकेको थियो । उसले रक्सी घुड्क्याउन थालिसकेको थियो । भनाइको मतलब, टन्न रक्सी खाएर ऊ मात्तिन थालेको थियो । यस्तो पहिले कहिल्यै पनि हुँदैनथ्यो । पिउनुको नै जहाँसम्म प्रश्न छ, त्यो त उसले न कहिल्यै शुरु गर्यो , न त अन्त्य नै । उसको दृष्टिको व्यग्रतामा (उसका आँखाहरू निकै चञ्चल थिए र पल्याकपुलुक यताउति दगुरेका देखिन्थे) तथा उसको स्वर र हावभावको अस्थिरतामा उसको पतन राम्रैसित झल्कन्थ्यो । यस किसिमको व्यग्रता पहिले कहिल्यै पनि उसमा देखिएको थिएन । तसर्थ नै त्यो अझ बढ्ता अनौठो लाग्थ्यो । जीवनमा ऊ पहिले कसैसँग र कुनै कुरासँग पनि कहिल्यै डराउनेगर्दैनथ्यो । किन्तु अहिले चाहिं दिनदशा बिग्रन गएको हुँदा हालसालै मात्र उसमा आफ्नो स्वभावसित अमिल्दो खालको व्यग्रता र हौडाहा देखा परेको थियो । मालिक र मालिक्नी दुवैले यसको भेउ पाइसकेका थिए । दुवैले एक अर्कालाई पुलुक्क हेरे । उनीहरूले एक अर्काको मनोभावना पनि बुझिहाले, तर अहिले यस विषयमा कुनै चर्चा नउठाउने मौन सहसतिमा पुगे । चर्चा गरिएला त पछि पलङमा गरिएला जब दुई जोईपोइ मात्र एकान्तमा रहनेछन् । अहिले त जसोतसो निकिताको छेउमै बस्नुपर्नेछ र अझ आतिथ्यभाव पनि देखाउनुपर्नेछ । युवा घरपतिको यस्तो खुशीको भाव देखेर निकिता केही तिरस्कार अनुभव गर्दै थियो । यसले गर्दा उसलाई आफ्नो विगतको सम्झना भइरहेको थियो जुन अब कहिल्यै पनि फर्केर आउन सक्तैनथ्यो । उसको मनमा ईर्ष्याको भावना जागृत भयो ।
“हामीले सिगार सल्कायौं भने तपाईंलाई कुनै आपत्ति त छैन, मारी ?”-उसले मालिक्नीसँग एक विशेष रहस्यपूर्ण स्वरमा सोध्यो । त्यस स्वरमा शिष्टता र मैत्रीभाव त झल्कन्थ्यो, तर आदर-भाव चाहिं एकदमै कम थियो । त्यस अनुभवले मात्र प्राप्त गर्न सकिने स्वरमा कुलीन समाजका मान्छेहरू आफ्ना मित्रहरूका रखौटीहरूलाई मात्र सम्बोधन गर्छन्, तर उनका पत्नीहरूलाई चाहिँ होइन । उसलाई चिढाउन चाहेको होला भन्ने यसको तात्पर्य होइन, बरु, यसको उल्टो, उ त उसको र मालिकको समेत कृपापात्र बन्न चाहन्थ्यो, यद्यपि मनमनै यो कुरा स्वीकार गर्न क राजी थिएन होला । परन्तु यस खालका आइमाईहरूसँग यस्तो स्वरमा कुरा गर्ने उसलाई बानी परिसकेको थियो । एक भद्र महिलालाई जसरी सम्बोधन गरिन्छ त्यसरी नै यदि उसलाई पनि सम्बोधन गर्ने भने उ स्वयं नै अचम्ममा पर्ली र अझ रिसाइहाल्न समेत बेर छैन भन्ने कुरा उसलाई थाहा थियो । यसको साथै आफ्नो शिष्टाचार पनि क जोगाएर राख्न चाहन्थ्यो र पछि आवश्क परेको बेला आफ्नो कुनै साथीको धर्मपत्नीको निम्ति त्यसको प्रयोग गर्न सकिनेछ भन्ने छ ठान्दथ्यो । यस्ता महिलाहरूलाई जहिलेसुकै पनि ऊ शिष्टतापूर्वक सम्बोधन गर्थ्यो । परन्तु यसको कारण के होइन भने उसको विचार पनि त्यस्तै न्न छ जस्तो पत्रिकाहरूमा छापिनेगर्छ- प्रत्येक मान्छेलाई उसको कदर गर्नुपर्छ, विवाह त देखावटी ढोंग मात्रै हो इत्यादि ( ऊ त यस्ता वाहियात कुराहरू पनि पढ्दैन) । बरु यसको कारण के हो भने सबै शिष्ट व्यक्तिहरू यस्तै व्यवहार गर्छन् ।
ऊ पनि शिष्ट व्यक्ति नै थियो, यद्यपि उसको पतन भैसकेको थियो ।
उसले एउटा सिगार टिप्यो । घरपतिले कुनै सोचविचार नै नगरीकन एक क्याँट सिगार झिकेर पाहुनाको सामुन्ने राखिदियो ।
लौ, खाएर त हेर, कति मीठो छ !”
निकिताले सिगार पल्तिर सारिदियो । उसका आँखामा अपमान र क्षोभको किञ्चित झल्को देखा पर्यो ।
“धन्यवाद !”-उसले आफ्नो सिगार-केस झिक्यो ।-“मेरो सिगार पनि खाई हेर ल !”
घरपट्टिनी बढी संवेदनशील थिई । परिस्थितिलाई बुझेर उसले झटपट भनी- “मलाई सिगार निकै मन पर्छ । घरमा सबका सब जहिले पनि सिगार मात्रै सल्काइरहन्छन्, त्यसैले म चाहिँ कदापि सिगार नखाने विचारमा छु ।”
अनि उसका ओंठहरूमा एक स्निग्ध र सुमधुर मुस्कान झल्कियो । उत्तरमा ऊ पनि मुसुक्क हाँस्यो । उसका दुई दाँत समेत झरिसकेका रहेछन् ।
“नाइँ ! यो चाहिं नै सल्काक !”-घरपति कर लगाउन थाल्यो ।-“अरु सिगार यति कडा छँदै छैनन् । फ्रिटज, bringen sie noch eine kasten, dort zewi (अर्को एक
बट्टा पनि ल्याऊ त, त्यहाँ दुई बट्टा छन् । (जर्मन अनु)
जर्मन टहलुवाले सिगारको एउटा नयाँ बट्टा झिकेर ल्यायो ।
“तिमी कुन चाहिँ बढी मन पराउँछौ? कडा सिगार ? यी ज्यादै बढिया छन् ।
लौ, सबै लेऊ !”-ऊ जोड लगाइरहेको थियो । सके उसलाई आफूसँग विरल र बढिया वस्तुहरू भएको कुरा जनाउनमा निकै मजा आइरहेको थियो । अरु कुनै कुराको उसलाई वास्ता थिएन ।
सेर्पुखोभ्स्कोइले एउटा सिगार सल्कायो र कुराकानीको टुटेको मेसो जोड्दै अगाडि भन्न शुरु गर्यो ।
अँ , आत्लास्नीको निम्ति तिमीले कति दाम दिनुपर्यो नि ?”-उसले सोध्यो ।
“चर्कै दाम दिनुपर्यो । कम्तीमा पनि पाँच हजार ! तर यस्तो घोडाको लागि त यो उति ठूलो रकम होइन । यसका बछेडाहरू पनि त कम कहाँ छन् र ?”
“तेज छन् ?”-सेर्पुखोभ्स्कोइले सोध्यो ।
“हो, निकै तेज छन् । यस साल उसको बछेडोले तीनवटा पुरस्कार जित्यो: तुला, मास्को र पिटर्सवर्गमा । भोयेइकोभको घोडा भोरोनोईसँग प्रतिस्पर्धा गर्दै दगुरेको थियो । पाजी घोड्चढीले एकपछि अर्को गरेर चार गल्तीहरू नगर्दो हो त त्यसलाई यस बछेडोले निकै पछाडि पो छोडिदिने थियो त !”
“अझैँ त्यो राम्रोसँग सधाइएको छैन । मेरो विचारमा यसको नसामा डच रगत बढ्ता छ ।” -सेर्पुखोभ्स्कोइले भन्यो ।
“अरु माऊ घोडीहरू कस्ता छन् नि ? भोलि म तिमीलाई ती घोडीहरू पनि देखाउँला । मैले ऊ रेल हजार र लास्कोभायाको निम्ति दुई हजार तिरेको थिएँ ।
घरपतिले फेरि आफ्नो सम्पन्नताको बखान शुरु गर्यो । यो कुराकानी सेर्पुखोभ्कोइको लागि असहय भैसकेको छ र ऊ अनिच्छापूर्वक यो कुरा सुन्दैछ भन्ने घरपट्टिनीले देखिरहेकी थिई ।
फेरि अलिकति चिया हालूँ कि ?”-उसले सोधी ।
“पुग्यो ।”-घरपतिले भन्यो र फेरि बताउन थाल्यो । घरपट्टिनी उठेर जानै आँटिसकेकी थिई, तर मालिकले उनलाई रोकिहाल्यो र बेस्सरी अँठ्याएर अंकमाल गर्दै म्वाई खायो ।
उनीहरूलाई देखर सेर्पुखोभ्स्कोइको मुखमा एक कृत्रिम मुस्कानको रेखा देखा पर्यो । मालिक उठ्यो र घरपट्टिनीको कम्मरमा हातले अंगालो हाल्दै दैलोसम्म पुर्याउन गयो । निकिताको अनुहारको भावभंगिता अचानक फेरियो । उसले एक लामो सुस्केरा हाल्यो र उसको हुप्प फुलेको मुखमा निरासाको भाव झल्कियो । कहाँसम्म भने उसको अनुहारमा क्रोधको समेत आभास देखा परिरहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।