साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

विश्वका उत्कृष्ट कथाहरू, धुप आघात

                                                        धुप आघात
                                             इभान अलेक्सेयेभिच बुनिन

 

इभान बुनिनको जन्म तत्कालीन सोभियत रुसको भोरोनेजमा २२ अक्टोबर १८७० मा भएको थियो । बुनिन्‌ रुसी साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति हुन्‌ । उनलाई यो पुरस्कार १९३३ मा प्रदान गरियो ।

bahulako diary small and inside post

उनका कथा र उपन्यासमा रुसी ग्रामीण जीवनको चित्रण गरिएको पाइन्छ । उनको मृत्यु ८ नोभन्बर १९५३ मा पेरिसमा भयो। द मिलेज (१९१०), द जेन्टलमेन फ्रम सान्‌ फ्रान्सिस्को (१९२२) द बेल अफ डेज (१९३३) आदि उनका प्रमुख कृतिहरू हुन्‌ । धुप आघातलाई समरसेट ममले एउटा उत्कृष्ट कथा मानेका छन्‌ ।

 

डिनर लिइसकेपछि झलमल्ल उज्यालो भोजन कक्ष छोडेर उनीहरू जहाजको छततिर लागे अनि रेलको छेउमा गएर उभिए । उनले आँखा बन्द गरिन्‌, हत्केला उल्टो पारेर फैलाइन्‌ । अनि हातले गाला मुसार्दै जोडले हाँस्न थालिन्‌ । उनको हाँसो मोहनी लगाउने खालको थियो । ती सानी महिलाको हरेक व्यवहार आकर्षक खालको थियो । उनले मुसुक्क हाँस्दै भनिन्‌- मलाई त नशा लागिसकेछ नत्र त म पूरै बौलाइसकेकी हुन्थेँ होला । कहाँबाट चढ्नुभो तपाईं ? तर तीन घन्टाअघिसम्म त तपाईं यहीँ हुनुहुन्छ भन्नै मैले थाहै नपाएकी । तपाई कहाँबाट चढ्नुभो त्यो पनि थाहा छैन मलाई त । सामाराबाट चढेको हो ? भैगो त्यसले केही फरक पार्दैन । प्रिय साँच्ची मेरो टाउको त फनफनी घुम्न पो थाल्यो त, कि डुङ्गा पल्टिन लाग्यो हँ ?

उनीहरूको अघिल्तिर चुक घोप्टयाएजस्तो अन्धकार थियो अनि मात्र उज्यालो । यसै अन्धकारबिच चिसो सिरेटोले उनीहरूको अनुहार सेक्थ्यो । यसैबिच उज्यालो उनीहरूबाट क्रमशः टाढिँदै गयो । सानो बन्दरगाहमा पुग्नासाथ भोल्गाको जीवन्तता जत्तिकै डुङ्गा फनक्क मोडियो ।

लेफ्टिनेन्टले उनको हात समात्यो, आफ्नो ओठसम्म पुर्यायो । उनका ती मजबुत एवम्‌ साना ती हातहरू घामले डढेजस्तो लाग्यो उसलाई, पातलो कपडाभित्रको उनको शरीरको कल्पना मात्रले ऊ निकै उत्तेजित भो । कामोत्तेजनाले लेप्टिनेन्टको शरीर काम्न थाल्यो । उसलाई के महसुस भो भने निःसन्देह नै दक्षिण समुद्री किनाराको तातो बालुवाले उनको शरीर डढेको हुनुपर्छ । उनले भनेकी थिइन्‌ कि उनी अनापुबाट आएकी हुन्‌ ।

लेफ्टिनेन्टले मसिनो स्वरमा भन्यो, “यतै ओर्लिऔं ….।”
कहाँ ? सानो बन्दरगाहमा ।
किन ?

लेफ्टिनेन्ट चुप लाग्यो । उनले आफ्नो उल्टो हत्केलाले गाला छामिन्‌। बौलाउनुभो कि क्या हो तपाईं ? बिन्ती छ छिटो ओर्लिहालौँ न उसले नीरस स्वरमा दोहोर्यायो । “लौ, भैगो जे मन लाग्छ त्यही गर्नुस्‌ ।” यति भन्दै उनी अर्कोतिर फर्किन्‌ ।

स्टिमर मधुरो प्रकाशबिच बन्दरगाहमा जोडले ठोक्किन पुग्यो। ती दुबैजना झन्डै एकअर्कामाथि घोप्टिन पुगे अनि जहाज घुम्न थाल्यो र पानिको सतह कम्पित भयो, छालहरू उठे, जहाजको भर्याङ अनियन्त्रित भयो … लेफिटनेन्ट आफ्नो सामान लिन हतार हतार दौडयो ।

यति बेला उनीहरू त्यो सानो बन्दरगाह हुँदै अघि बढ्दै थिए। यसरी अघि बढ्दै जाँदा उनीहरूका गोलीगाँठा पूरै बालुवामा भासिए, तैपनि अघि बढ्दै थिए र अन्ततः उनीहरू चुपचाप धुलोमैलोयुक्त टाँगामा चढे । ठाडो उकालो धुलाम्य सडककको उक्लाइ, टुटे फुटेका अनियमित ल्याम्पपोस्टहरू एउटा अन्त्यहीन क्रमजस्तै लाग्थ्यो । अन्ततः उनीहरू चढेको टाँगा टुप्पोमा पुग्यो । टाँगा ढुङ्गा बिछ्याएको बाटामा खद्खट्‌ गर्दै अघि बढ्यो । त्यहाँ एउटा चोक थियो । केही प्रशासकीय भवनहरू अनि एउटा घन्टाघर पनि थियो । त्यस प्रादेशिक सहरमा ती दुवैले ग्रीष्मकालीन रातको उष्णता र गन्ध महसुस गरे…. । उज्यालो प्रवेशद्वार अगाडि पुगेर टाँगा रोकियो । खुला ढोकाबाट भित्र हेर्दा एउटा काठको ठाडो भर्याङ देखियो ।

झुस्स दाह्री पालेको बैजनी रङको कमिज र फ्राक कोट लगाएको एउटा बुढो नोकरले मन नलागि नलागि उनीहरूको झोला बोक्यो अनि थकित पाइला चाल्दै अघि बढ्यो । दिउँसोको चर्को घामले तातेको गुम्म परेको एउटा ठुलो कोठाभित्र पसे उनीहरू । झ्यालमा सेतो पर्दा लगाइएकोथियो। अगेमाथिको तख्तामा नबालेको दुईओटा मैनबत्तीहरू राखिएका थिए । कोठाभित्र पसेर नोकरले ढोका बन्द गर्न नपाउँदै लेपिटनेन्टले आवेशमा आएर उनलाई अँगालो हाल्यो अनि आनन्दविभोर भएर उनीहरूले एकअर्कालाई यसरी चुम्बन गरे कि त्यो घटना जिन्दगीभरका लागि अविस्मरणीय क्षण रहन गयो । उनीहरू दुबै जनामध्ये कसैले पनि त्यस्तो मज्जा यसअघि कहिल्यै अनुभूत गरेका थिएनन्‌ ।

भोलिपल्ट दश बजेतिरको बिहानी वातावरण एकदम उष्ण र घमाइलो भो। चर्चका घन्टीहरू बजिरहेका थिए । होटल अगाडिका बजार वरपर मधुर आवाज सुनिन्थ्यो । पराल र अलकत्राको मिश्रित गन्धले रुसी सहरको विशेषता झल्काउँथ्यो । आफ्नो नाम खुलाउन नचाहने ती केटी जो आफूलाई ठट्टापूर्वक परदेशी भन्न रुचाउँथिन्‌, उनले लेफ्टिनेन्टलाई छाडिन्‌ अनि आफ्नो यात्रा सुचारु गर्न लगिन्‌ । उनीहरू धेरै बेर सुतेनन्‌ तर ओछ्यानछेउको पर्दा पछाडिबाट बाहिर निस्केर लगभग पाँच मिनेटमै नुहाइधुवाई सकिन्‌ र लुगा लगाइन्‌ । सत्र वर्षकी तरुनी देखिइन्‌ उनी त्यति बेला ।

लज्जित देखिन्थिन्‌ त उनी ? अहँ, एकदमै त पहिले जस्तै सरल हाँसीखुसी एवम्‌ बिलकुलै समझदार देखिन्थिन्‌ । हुँदैन प्रिय हुँदैन सँगसँगै यात्रा जारी राखौँ भन्ने लेफ्टिनेन्टको प्रस्तावउपर जबाफ दिँदै उनले भनिन्‌ “हुँदैन अर्को डुङ्गा नआइपुगुन्जेल तपाईं यहीँ बस्नुस्‌ । यदि हामी सँगसँगै हिडयौँ भनेँ त सबै बर्बाद हुने छ, म त्यस्तो चाहन्नँ । कृपया ममाथि विश्वास गर्नुस्‌, म त्यस्तो उस्तो आइमाई होइन जसले तपाईंलाई सोच्न बाध्य बनाओस्‌ । यहाँ जेजस्ता घटनाहरू घटे त्यस्तो पहिले पनि घटेको थिएन र भविष्यमा पनि घट्ने छैन । यस्तो लाग्छ कि जसरी घाम र जूनलाई ग्रहणले ढाक्छ त्यसै गरी मेरो बुद्धिमा पनि ग्रहण लाग्यो … अर्थात्‌ अझै छोटकरीमा भन्ने हो भने धुपको आघात जस्तै केही महसुस गर्यौँ हामी दुवैले ।

लेफ्टिनेन्ट उनको कुरामा हल्का सहमत भो । प्रफुल्ल एवम् उत्साहित मुद्रामा उसले टाँगामा हालेर उनलाई बन्दरगाहसम्म पुर्याइदियो । उनीहरू बन्दरगाहमा पुग्दा गुलाबी रङको डुङ्गा छुटनै लागेको रहेछ, अनि स्टिमरको छतमा अरू यात्रुको सामु उसले तिनलाई चुम्बन गर्यो र छुट्नै लागेको डुङ्गाको भर्याङबाट बडो मुस्किलले हाम फाल्यो ।

पहिलेको उत्साह उमङ्ग बोकेर लेफ्टिनेन्ट होटेल फर्क्यो, यद्यपि धेरथोर परिवर्तन चाहिँ भएकै थियो । उनीबिनाको कोठा बिलकुलै फरक देखियो। कोठामा जताततै उनै छिन्‌ जस्तो लाग्न थाल्यो लेफ्टिनेन्टलाई । पूरै कोठा उनकै स्मृतिले भरिएजस्तो र पनि कोठा त वास्तवमा रित्तो थियो। कस्तो अचम्म लाग्दो अझै उनले प्रयोग गर्ने गरेको अङ्ग्रेजी अत्तरको सुगन्ध फैलिरहेको थियो कोठामा । उनले चिया पिउँदा पिउँदै छोडेको कप अझै किस्तीमै थियो तर उनी त्यहाँ थिइनन्‌ … अनि लेफ्टिनेन्टको मुटुको धड्कन एक्कासि बढ्न थाल्यो, जसले गर्दा उसलाई चुरोट पिउन मन लाग्यो । जुत्तालाई कोर्राले हान्दै र कोठामा घरी यता घरी उता गर्न थाल्यो । “कस्तो अचम्म भो,” हाँस्दै ठूलो स्वरमा उसले भन्यो । यद्यपि उसका आँखामा आँसु छचल्केको उसलाई महसुस भो । “कृपया ममाथि विश्वास गर । तिमीलाई सोच्न बाध्य पार्ने खालकी आइमाई होइन म …।” ती केटीको यो भनाइ उसका कानमा अझै गुन्जिरहेको थियो ।

कस्तो अचम्म खालकी आइमाई होली ।

एकापदि्‌टको पर्दा तानिएको थियो भने ओछ्यान अझै मिलाइएको थिएन, अस्तव्यस्त थियो । ओछ्यानतिर फर्केर हेर्ने आँट आएन उसलाई। बजारको हल्लाखल्ला र गाडाको चुइँचुइँ आवाज सुन्न नपरोस्‌ भनेर उसले पर्दा मिलायो अनि झ्याल पनि बन्द गर्यो, सेतो पर्दा तानेपछि सोफामा बस्यो।

ठिकै छ संजोगले भएको भेट आजदेखि यहीँ अन्त भो हैन त ? आखिर मलाई छोडेर गई, धेरै टाढा छे ऊ । निःसन्देह यति बेला ऊ सिसाको बैठक कोठामा आराम गरिरहेकी होली या त जहाजको छतमा होली । घाममा टल्केको विशाल नदीतिर हेर्दै होली, यताउती गरिरहेका डुङ्गाहरू बलौटे बगरहरू, टाढा कतै क्षितिजमा चम्केको आकाश र पानीको भोल्गा नदीको विस्तृत फैलावट ..।

अब कसरी फेरि भेट होला र उनीहरूको ?

उसले सोच्यो, अब म कुनै पनि हालतमा उसको लोग्ने बस्ने गरेको सहर जहाँ उसकी तीन वर्षकी छोरी र उसका अरू परिवारजन बस्छन्‌ अनि स्वयम्‌ ऊ आफ्नो दैनिक जीवन बिताउँछे, त्यहाँ जान सक्दिनँ ।

अकस्मात्‌ त्यो सहर उसको अगाडि असामान्य रूपमा देखा पर्यो, एउटा निषेधित सहर, अनि उसले सोच्न थाल्यो कि त्यही सहरमा ऊ एक्लो जीवन बिताउँदै होली । सायद वारम्वार उसैलाई सम्झिँदै होली अर्थात्‌ त्यही संयोगले जुराएको क्षणिक भेट सम्भिरहेकी होली, जोसित कहिल्यै भेट हुने छैन । यस्तो सोचाइले उसलाई मर्माहत र निरुत्साहित तुल्यायो । अहँ, यस्तो हुनै सक्दैन । यो बिलकुल वाहियात, अप्राकृतिक र अविश्वसनीय छ । उसलाई आफ्नो बाँकी जिन्दगी अस्तित्वहीन र अर्थहीन लाग्न थाल्यो, भय र निराशाले छ्याप्पै छोप्यो उसलाई ।

छि कस्तो वाहियात कुरा, यस्तो सोच्दै ऊ जुरुक्क उठ्यो अनि कोठामा ओहोरदोहोर गर्न थाल्यो । पर्दा पछाडिको ओछ्यान हेर्नै मन लागिराखेको थिएन उसलाई । “हैन यो के हुन लागेको हो मलाई ? पहिलो भेटमै त्यस्तो होला भनेर कसले सोच्न सक्ला र । के गर्दै होली ऊ यतिखेर ? कस्तो महसुस गरिरहेकी होली त्यसले ? साँच्चिकै एक खालको धुपको आघात भन्दा पनि हुन्छ यसलाई । तर मुख्य कुरो के हो भने यस्तो डरलाग्दो, अनकन्टार ठाउँमा उनीबिना कसरी दिन बिताउने होला र खै ?”

उसले तिनलाई तिनी जस्तो थिइन्‌ त्यस्तै रूपमा ताजा ढङ्गले सम्झ्यो । सम्झिने क्रममा उनको अन्तरङ्ग विशिष्ट गुण पनि सम्झन पुग्यो उसले । घामले डढ्दा उत्पन्न भएको उनको गन्ध एवम्‌ तिनको सनपाटबाट बनेको लुगाको बास्ना, उनको हृष्टपुष्ट शरीर, जीवन्त सरल एवस्‌ उत्साही स्वर… । भर्खरै उसले भोगेको नारीजन्य सुन्दरताबाट प्राप्त हुने सुखानुभूतिले उसलाई अझै प्रभावित पारिरहेको थियो । अर्को मुख्य कुरो चाहिँ के थियो भने उसले अनुभव गरेको बिलकूलै नयाँ मनोदशा त्यो अनौठो अगम्य मनोदशा सँगै हुँदा अनुभूत नगरेको मनोदशा । यस्तो मनोदशा, उसले अघिल्लो दिन कल्पनासमेत नगरेको जुन अरू कसैलाई भन्न वा सुनाउन पनि चाहँदैन हो त्यही मुख्य कुरो हो । उसले अगाडि सोच्दै गयो, यस्तो कुरो अरूलाई सुनाउन सक्ला र, अब म के गरौँ ? यस्तो सम्झना बोकेर कहिल्यै नबित्ने दिन कसरी काट्न सकिएला र खै, असह्य पीडा सहेर डरलाग्दो यो सानो सहर भोल्गा नदीको उही चम्किलो सतह हुँदै गुलाबी रङको स्टिमरमा उनी म बाट बिदा भएकी थिइन्‌ ।

यस्तो असह्य पीडाबाट मुक्त हुन र मन बहलाउन अन्यत्र कतै जानु आवश्यक भैसकेको थियो लेपिटनेन्टलाई । कुनै न कुनै कुरामा व्यस्त राख्न सक्दा मात्रै ऊ आफू सुरक्षित रहन सक्थ्यो । बडो उमङ्गका साथ उसले टोपी लगायो, छन्द्रङ्‌ छन्द्रङ् आवाज निकाल्दै सुनसान करिडोरतिर फुर्तीसाथ लम्क्यो । त्यसपछि ठाडो सिँढी ओर्लेर मूल गेटमा निस्क्यो । …- कता जाने, कता जाने ऊ एकछिन अलमल्ल पर्यो ठिटो ट्याक्सी ड्राइभर चुपचाप चुरोट पिउँदै यात्रुको प्रतीक्षामा बसेको थियो । अचम्मित हुँदै लेफ्टिनेन्टले त्यस ड्राइभरतिर हेरिरह्यो । मस्तसित चुरोट तान्दै बेफिक्री कसरी यस्तै सोच्न थाल्यो ड्राइभरका बारेमा । साँच्चै भन्नुपर्दा यो पूरै सहरमा एक्लो र दुःखी त मै मात्र पो रहेछु कि क्याहो ? बजारतर्फ लाग्दै गर्दा उसले सोच्यो । बजार पूरै अस्तव्यस्त थियो । मान्छेहरू तितरबितर भएका थिए । मन नलागी नलागी मलका गाडा कुल्चिँदै, काँक्रा लादेको गाडा माझ नयाँ नयाँ भाडामाझ वास्तै नगरी ऊ अघि बढ्दै थियो । हातमा भाँडा लिएका महिलाहरू भुइँमा बसेका थिए, उसको ध्यानाकृष्ट गर्न तँछाड-मछाड गर्दै थिए । आ-आफ्नो सामान प्रदर्शन गर्दै थिए उनीहरू । यसै बिच एक जना किसानले त उसको कानैमा आएर जोइले चिच्यायो- “यो काँक्रो गज्जबको छ, लिनुस्‌ हजुर ।” उसलाई, यी सब बेकार लागिराखेको थियो, उ त्यहाँबाट अन्यत्रै लाग्यो । त्यसपछि लेफ्टिनेन्ट चर्चभित्र पस्यो जहाँ चर्को स्वरमा भजन गुन्जिरहेको थियो । श्रद्धालुहरू मस्त र दृढ देखिन्थे, यस्तो लाग्थ्यो मानौँ उनीहरू आ-आफ्नो कर्तव्यपालन गरिरहेका छन् । त्यसपछि ऊ गल्लीभित्र छिर्यो । चर्को घाममा खलखली पसिना काढ्दै डाँडामा अवस्थित एउटा उपेक्षित सानो बगैँचातिर लाग्यो त्यहाँबाट हेर्दा एउटा चमकदार स्टिल जस्तै एउटा फराकिलो नदी देखिन्थ्यो ।

काँधको छालाको फिता र गर्मीयाममा लगाउने लुगाका टाँकहरू घामले गर्दा यति जोडले तातेका थिए कि छुनसम्म सकिन्नथ्यो । पसिनाले गर्दा टोपीको भित्री भाग पनि छयाप्पै भिजेको थियो, अनुहार पनि धपक्कै बल्लाजस्तो भएको थियो गर्मीले …।

होटल फर्केपछि ठुलो शान्त र रित्तो भोजन कक्षमा पस्दा उसले ठूलै राहत महसुस गर्यो, टोपी फुकाल्यो अनि खुला झ्यालसामु राखेको टेबुलमा थ्याच्च बस्यो, जहाँबाट तातो हावा भित्र छिर्थ्यो भने चिसो चिसो बतास पनि चिलरहेको थियो । उसले वनस्पतिको एक कप चिसो सुप मगायो । सबै ठिकठाक थियो । त्यहाँको हरेक चिज सुन्दर लागिरहेको थियो । अपरिमेय सुखानुभूति भइरहेको थियो, उसलाई बजारको त्यो दुर्गन्ध उखरमाउलो गर्मीका बिचपनि । पुरानो होटल र नौलो ठाउँमा उसलाई फरक खालको आनन्दको अनुभव भयो । यही ठाउँमा कोही बेला उसको हृदय छियाछिया भएको थियो । काँक्रामा अचारसित थुप्रै गिलास पियो । ऊ सोच्न थाल्यो, कुनै चमत्कार भइदिएर उनीसित एक दिन मात्रै यही ठाउँमा फर्केर बिताउन पाए पनि भोलि नै ऊ बिना हिचकिचाहट मर्न पनि पछि पर्ने छैन । केही गरी भेट भैहाल्यो भने कति गहिरो र अदभुत प्रेम गर्छु भनेर विश्वास दिलाउने थिएँ त्यति मात्रै होइन, प्रमाणितै गरिदिन्थेँ म …. ।

तर किन प्रमाणित गरेर देखाउनु मैले ? किन विश्वास दिलाउनु ? किन को जबाफ थिएन उसित । यद्यपि त्यसमा जीवनमरणको सवाल थियो ।

“मेरा स्नायुहरूले किन मेरो मजाक उडाइराखेका छन्‌ हँ ?” पाँचौँ गिलास भोड्का खन्याउँदै गर्दा उसले मनमनै सोच्यो । मातेको सुरमा दुःख र उन्माद सबै बिर्सने आशामा उसले पूरै बोतल रित्यायो । तर त्यो सब व्यर्थ भो। त्यसले त उसको झन्‌ उत्तेजना मात्रै बढायो ।

चिसो सुप पन्छाएर उसले कालो कफी मगायो । चुरोट सल्काउँदै मन बलियो बनाएर अनपेक्षित र अचानक प्रेम प्रसङ्गबाट कसरी मुक्ति पाइएला अर्थात्‌ कसरी भुल्न सकिएला, त्यसउपर सोचविचार गर्न थाल्यो । उसलाई लाग्यो प्रेमप्रसङ्ग भुल्न असम्भव प्राय: छ । क जुरुक्क उठ्यो अनि हतार हतार टोपी र कोर्रा टिप्यो र कसैलाई हुलाक कता पर्ला भनेर सोध्यो, छिटो छिटो निर्देशित दिशातिर लम्क्यो । के टेलिग्राम पठाउने भनेर उसले पहिल्यै सोचिसकेको थियो- “अबउप्रान्त मेरो जीवन तिम्रै हो नमरुन्जेल तिम्रै इच्छानुसार चल्छु जे गर्नुपर्छ गर ।” ठुलो पर्खालले घेरेको घरमा पुग्यो, त्यही पर्खालभित्र थियो हुलाक र टेलिग्राफ अफिस । भयभित भएर ऊ टक्क अडियो- उनी कुन सहरमा बस्छिन्‌ उनको लोग्ने र एउटी तीन वर्षकी छोरी पनि छे भन्ने कुरा लेफ्टनेन्टलाई थाहा थियो तर उसलाई उनको न त नाम थाहा थियो न त थर नै । त्यतिखेरको साँझमा उसले धेरै चोटि उनको नाम थर नसोधेको पनि हैन हुन त।

“म जो भए पनि के फरक पर्छ र तपाईंलाई ? म को हुँ तपाईलाई जान्नै पर्छ र ? म मारिया ग्रिन हुँ, अर्थात्‌ परी … अर्थात्‌ सामान्य अर्थमा भन्ने हो भने अपरिचित सुन्दरी …यति नै तपाईंलाई पर्याप्त छैन र ?

हुलाक नजिक एउटा कुनामा फोटैफोटोको शोकेस राखिएको थियो । काँधमा व्याज लगाएको एउटा सैनिकको ठुलो तस्बिरतिर उसले खुब नियालेर हेर्यो। झट्ट हेर्दा सैनिकको आँखा बल्डयाङग्रे र निधार झुकेको देखिन्थ्यो । उसका दाह्री एकदमै आकर्षक र छाती फराकिलो देखिन्थ्यो । फोटोमा उसका छाती तक्मैतक्माले सजिएको थियो । … ती परिदृश्यहरू उसका लागि एकदमै सामान्य र हास्यास्पद लागे किनभने ऊ मनमनै परास्त भैसकेको थियो, जुन कुरो उसले यतिखेर आएर बुझेको थियो त्यसो हुनुमा तीव्र प्रेम, तीव्र खुसी र प्रचन्ड गर्मी नै मुख्य कारक थिए । एक जोडी दुलाहा दुलहीको फोटो नियाल्यो उसले । दुलाहा लामो फ्रक कोट र सेतो नेक टाइमा सजिएको थियो । दुम्सी काँडे शैलीमा कपाल काटेको, एउटा हात बेहुलीको घुम्टोमाथि राखेको देखिन्थ्यो । त्यसपछि उसको ध्यान विद्यार्थीको छड्के टोपीमा सजिएकी एउटी सुन्दरीतिर खिचियो । ती सबै अपरिचितलाई उसले इर्ष्याको नजरले हेर्यो, दुःख र पीडामुक्त ती मानिसहरूलाई देख्दा उसलाई झनै पीडाबोध भयो, ऊ एकटकले तल सडकतिर हेर्न थाल्यो ।

“म कहाँ जाउँ ? के गरौँ म ?” एउटा जटिल र समाधानविहीन प्रश्नले उसको दिमाग र आत्मालाई चिमोटिरह्यो।

सडक पुरै निर्जन थियो । प्रायः सबै घरहरू एकैनासका, मध्यम स्तरका सेता दुई तले, ठूला ठूला बगैँचा भएका । यस्तो लाग्थ्यो, कुनै पनि घरमा मानिसहरूको बसोबास छैन । बाक्लो सेतो धुलो दारोले सडक छोपिएको थियो । सम्पूर्ण चिज प्रचन्ड गर्मीले गर्दा आँखै तिरमिराउने खालका थिए । धप्प बल्लाजस्तो रापिलो आनन्दमय र प्रयोजनहीन घामले सबैथोक छय्याप्पै भिजेका देखिन्थे । पर कतै टाढा गोरुको जुरो जस्तो देखिने ठाडो बाटो सफा, बनदलहीन खैरो रङको क्षितिजसित जोडिएको थियो हल्का गुलाबी रङमा परावर्तित हुँदै ।

त्यो दृश्यले उसलाई सेबास्तोपोल कर्च अनापु जस्ता दक्षिणी भेगको स्मरण गरायो । पछिल्लो स्थान अर्थात्‌ अनापुको सम्झनाले उसलाई असह्य पीडा दियो । उसले प्रचन्ड गर्मीमा घोसेमुन्टो लगाउँदै, आँखा झिमभिम पार्दै एकटकले भुइँमा हेर्यो ।

यताउति घुम्यो, अनि पुनः पहिलेकै ठाउँमा फर्क्यो ।

थकाइले लखतरान भएर ऊ होटल फर्क्यो । यस्तो लाग्थ्यो मानौं तुर्किस्तान वा साहाराको लामो यात्रा तय गरेको होस्‌ । बचेखुचेको ताकत जुटाउदै ऊ आफ्नो ठूलो निर्जन कोठामा पस्यो । कोठा पहिल्यै सफा गरिसकिएको बिर्सेर गएको एउटा हेयरपिन थियो । ज्याकेट फुकालेर आफ्नो अनुहार ऐनामा हेर्यो । ऐनामा उसले घामले डढेर कालो भएकी एउटा अधिकृतको सामान्य अनुहार देख्यो । निला निला फुस्रा आँखा, फुङग उडेको जुँगा ऐनामा देखिएको उसको अनुहारमा एक प्रकारको पागलपन र अवसाद झल्किन्थ्यो र पातलो सेतो सर्टको उठेकाो कलरमा उसले असिमित करूणाभाव र युवा जोस देख्यो । ऊ ओछ्यानमा उत्तानो परेर पल्ट्यो । धुलो र छारो लागेको जुत्ता फुट्बोर्डमा अड्यायो । भयालहरू खुलै थिए, पर्दा तानिएको थियो । बेला बेलामा हावाले हल्लाउँथ्यो । तातेको छानाले गन्ध आएको बाफ उखरमाउलो गर्मी, बिलकुल निर्जन शान्त उदास, जनशून्य र चम्किलो भोल्गा नदीको वातावरण समेत हावाको झोक्कासितै कोठाभित्र छिर्थ्यो । हातमाथि टाउको अड्याएर एकोहोरो आकाशतर्फ हेर्न थाल्यो । सुदूर दक्षिणी भेगको एउटा धमिलो चित्र उसको दिमागमा आयो । त्यहाँको सूर्य, समुद्र, अनापु, ती सबै वास्तवमै साह्रै सुन्दर र मनमोहक थिए । यस्तो लाग्थ्यो कि मानौँ उनी त्यही सहरमा गएकी छिन्‌ र फेरि फर्केर त्यही सहरमा आएकी छिन्‌ । अरू सहरभन्दा बिलकुल फरक लाग्यो त्यो सहर । ती सबै कुरा सम्झेर ल्याउँदा उसका आँखामा आँसु छचल्कियो । अन्ततः ऊ भुसुक्कै निदायो । आँखा खोली हेर्दा पर्दाको चेपबाट साँझपखको डुब्न लागेको रातो घाम देख्यो उसले । हावा चल्न छोडिसकेको थियो । कोठा सुक्खा र गुम्म थियो, हावाले चल्ने भट्टीजस्तै तातो । …. अनि सुक्ष्म रूपले हिजो र आज बिहानका घटना सम्झँदा दश वर्षअघिको जस्तो लाग्न थाल्यो उसलाई ।

ऊ नहतारिईकन उठ्यो मुख धोयो, त्यसपछि अलिकति पर्दा सार्यो, घन्टी थिचेर नोकरलाई बोलायो अनि सामोभारलाई बिल ल्याउन भन्यो, निकै बेरसम्म कागती हालेको चिया पिइबस्यो ।

त्यसपछि उसले एउटा ट्याक्सी बोलायो । आफ्ना सारा सामान बाहिर निकाल्यो, डढेको थोत्रो रातो सिटमा बस्दै गर्दा उसले नोकरलाई पूरै पाँच रूपैयाँ बकस दियो ।

“हिजो मैले नै तपाईंलाई यहाँ ल्याएर छोडेजस्तो लाग्छ साहेब” ड्राइभरले प्रसन्न हुँदै भन्यो ।

उनीहरू बन्दरगाहमा पुग्दा भोल्गा नदीमाथिको ग्रीष्मकालीन साँझ निकै छिप्पिसकेको थियो । बहुरडी प्रकाश छरिएको देखिन्थ्यो नदीमा । कतैबाट आउँदै गरेको जहाजको मस्तुल उज्यालोमा ढाकेको देखिन्थ्यो ।

ड्राइभरले उसको मन जिल्ल खोज्दै भन्यो “बेलैमा ल्याइदिएको छु मैले यहाँ तपाईंलाई ।”

लेफ्टिनेन्टले उसलाई पनि पाँच रूपैयाँ हातमा राखिदियो अनि हातमा टिकट लिएर बन्दरगाहतिर लाग्यो …. हिजो जस्तै उसले आज पनि पानीजहाज बाँध्ने डोरीको मधुरो आवाज सुन्यो । पैतालामुनिको जमिन हस्लिएजस्तो भयो उसलाई । त्यसपछि लठ्ठा र जहाजको पाङ्ग्रामुनि पानीको तेज कम हुदै गएको महसुस भो उसलाई । यात्रुले खचाखच भरिएको झलमल्ल उज्यालो देखिने स्टिमर र भान्साबाट आएको मिठो बास्नाले उसलाई नै स्वागत गरेझै भान हुन्थ्यो ।

अलि बेरपछि स्टिमर जुन नदी हुँदै तैरिँदै थियो, आज बिहान तिनलाई पनि त्यही दिशातर्फ लिएर गएको थियो स्टिमरले ।

केही बेरअघि ग्रीष्मकालीन सूर्यास्त तीव्र गतिमा ढल्दै थियो । निराशायुक्त फिका परिवर्तनशील उक्त सूर्यास्त नदीमा परावर्तित हुँदै थियो । सूर्यास्त हुँदै गर्दा अलि पर मधुरो प्रकाशमा हल्का तरङ्गहरू पैदा भैरहेका थिए । स्टिमर वरिपरिको उज्यालो चाहिँ क्रमशः घट्दै गइरहेको थियो ।

लेफ्टिनेन्टलाई पालमुनिको िसटमा बस्दै गर्दा एकै दिनमा दशवर्ष बितेको महसुस भयो ।

 

लेखक परिचय

बद्रीप्रसाद घिमिरे नेपालका राम्रा अनुवादकहरूमध्ये एक हुनुहुन्छ । उहाँले मार्क ट्वेनको राजकुमार र भिखारी लगायत अन्य दर्जनौँ पुस्तकहरू अनुवाद गर्नुभएको छ ।

प्रतिक्रिया
Loading...