उसले जसरी हेऱ्यो, जुन प्रकारले ऊ हुइँहुइँती हिँड्यो …। मलाई त त्यसबेला नै शङ्का लागेको थियो, त्यो मानिस निकै घमण्डी र अट्टेरी छ भन्ने ।

हामी सबै कार्यकारीणी प्रेस क्लबको कोठामा थियौँ । अध्यक्षमा निर्वाचित भएपछि मेरो जिम्मा निकै बढेर गयो । यो नयाँ प्रेस क्लब भवनको मरम्मती, सरसफाइ अनि यसलाई चुस्तदुरुस्त राख्नुपर्ने ।

‘अब प्रेस क्लबको जति पनि मिटिङहरू यहीँ नै गरिनुपर्दछ । माथि बजारमा गर्नु हुँदैन । बिस्तारै बिस्तारै सबै यतै आउने बानी बसिहाल्छ नि ।’, एक कार्यकारीले मिटिङमा निकै कडाइको साथ बोले ।

अर्को स्वरले पनि यसमा सही थप्यो । म अरकच्च परेँ । मलाई त्यही मानिसको घोप्टो परेको अनुहार मेरो सामुन्ने घरी-घरी आइरहेको थियो ।

यसो खिड्कीबाट बाहिर हेरेँ । एउटा बोलेरो गाडी क्लबको अघि नै ठिङ्ग उभिरहेको थियो, सबै बाटो छेकेर ।

अर्को स्वर आयो, ‘यो गाडी अब यहाँ राख्नुदिनु हुँदैन । कहिलेदेखि यो गाडी ढुक्कै हाम्रो क्लबको अघि राख्ने गर्दैछ ।’

मलाई यही कुराको डर थियो । अब यो गाडीलाई लिएर नै विवाद हुन्छ । अनि मेरो ठूलो चुनौती पनि यही गाडी हटाउनेलाई लिएर थियो । कसरी यो गाडीलाई हटाउनु ? मेरो अध्यक्षतामा जुन दिन निर्वाचन भयो, त्यही दिनदेखि मलाई यसको टेन्सन सुरु भएको थियो । अब यो गाडीलाई क्लबको आँगनबाट त हटाउनु नै पर्छ । तर हटाउँदा अवश्य पनि यस गाडी मालिकले निहुँ खोज्नेछन् । किनभने यो गाडीको मालिकले वर्षौंदेखि यहाँ गाडी राख्ने गरेको छ । उसको पार्किङ गर्ने अब अरू जग्गा पनि छैन । त्यसमाथि यो गाडी मालिक यति घमण्डी रहेछ कि त्यसले मलाई एक नजर पनि उठाएर हेरेन ।

डीबी राई

त्यो हाइकोर्टको वकिल अरे । हाइकोर्टको वकिल भए त के भयो । मनपरी गर्न कहाँ पाउँछ ? एकजना कार्यकारीले आफैँ प्रश्न आफैँ उत्तर दिँदै गर्दै थिएँ ।

मैले ‘हाँ’ पनि भनिनँ, ‘नाँ’ पनि भनिनँ । चुपचाप त्यही मानिसको अनुहारलाई नै घरी-घरी आफू सामु ल्याइरहेँ ।

सारै घमण्डी रहेछ । आफ्नो वकालतीको घमण्ड देखाएको होला । त्यसमाथि भोटे । निकै मै हूँ ठान्दो हो, छेउबाट अर्को स्वर थपियो ।

सबको कुरा सुन्दा सुन्दा मेरो कान पाकिसक्यो । म कुन दिनचाहिँ अध्यक्षमा निर्वाचित भएँछु भन्ने लाग्यो । अब यो गाडी मेरो सामुन्ने ठूलो चुनौती भएर देखा पऱ्यो । यसले मलाई नै ललकारेर ठिङ्ग उभिरहेको छ जस्तो लाग्यो । मैले त्यो गाडीबाट आफ्नो नजर जति हटाउने चेष्टा गर्छु, त्यसको छायाँ त्यति नै तीन चारवटा भएर मेरो सामुन्ने देखापर्छ ।

मिटिङमा यो गाडी हटाउनुपर्ने एउटा पछि अर्को कुरा सुनेर मलाई पनि उकुसमुकुस भएर आयो । यस्तो परिस्थिति आयो कि अब मैले केही बोल्नै पर्ने भयो । तर के बोल्ने त ? म अरकच्च परेँ । बोलौँ त यहाँ अब झगडा हुने अवश्यम्भावी छ । त्यस वकिललाई फोन गरेर भन्नेबित्तिकै त्यसले अवश्य पनि झर्केर गाडी नहटाउने जवाफ दिनेछ । यस कुरामा म निश्चित थिएँ । तर उसले यस्तो अब्डेरो कुरा गऱ्यो भने म पनि कहाँ पछि हट्नेछु त । म पनि त्यसलाई सजिलै छोड्नेवाला छुइनँ । त्यसलाई कानूनी कारवाहीसमेत गर्नेछु । वकिल भयो भन्दैमा, या त त्यसको घर छेउको जग्गा हो भन्दैमा यसरी मनपरी अर्काको जग्गामा पार्किङ गर्नसक्छ त ?

फेरि मन मनै भन्छु – हो हिजोसम्म यो प्रेस क्लब बन्द अवस्थामा थियो । यहाँ कुनै क्रियाकलाप हुन्थेन । उसले यस्तो खाली स्थानमा आफ्नो गाडी पार्किङ गर्नसक्छ । तर अब त यहाँ हाम्रो गाडीहरू राख्नुपर्ने हुन्छ । अरू मानिसहरू जो यस प्रेस क्लबमा आउनेछन्, तिनीहरूको पनि गाडी पार्किङ गर्नुपर्ने हुन्छ । अनि कसरी उसले ढुक्कैले यसरी गाडी पार्किङ गरेर घर हिँड्ने गरेको ।

अब त्यसले अर्को पार्किङ खोज्नुपर्छ । यहाँ राख्ने ठाउँ होइन । मेरो मनले भन्छ ।

तर मैले फेरि उसलाई मन मनै केही राहत पनि दिने गर्छु । ठिकै छ, जबसम्म अर्को पार्किङ पाउनेवाला छैन, त्यसबेलासम्म यहाँ क्लबको अघि पार्किङ गर्नसक्नेछ । तर यो होइन कि उसले पार्किङ पाएन भनेर वर्षौंसम्म यतै राखोस् । उसले केही महिनामा नै पार्किङ खोजेर उसको गाडी यहाँ पार्किङ गर्नदेखि हटाउनुपर्नेछ, मैले आफू-आफैँमा सम्झौतापत्र बनाएँ ।

९४७४४५६८४५.., कसैले यो नम्बर फरवर्ड गरिदियो । ‘यो नम्बर हो । तुरन्तै कल गरेर भन्दिनुहोस् त्यस मानिसलाई कि अबदेखि उसले गाडी अर्कै जग्गामा पार्किङ गरोस् भनेर । यसरी त कसरी हाम्रो प्रेस क्लबको काम गर्नु ?’ मेरो अघि ६ फूट अग्लो ऋषिकेश शर्मा उभिरहेको छ उसले आफ्नो पुरै टाउको सारसले तल खोलामा माछा हेरे जस्तै निहुराएर । मैले आकाशमा तारा हेरे जस्तै उसलाई मास्तिर हेंरेँ ।

‘ठिकै छ ।’ मनमनै भनेँ । चुपचाप उसले दिएको नम्बर डायल गर्न मेरा औँला चल्न थाल्छन् । तर औँलाहरू चल्न नै मान्दैनन् । जुन नम्बर थिच्न खोज्छु, त्यहाँ जान मान्दैन ।

त्यो खैरो रङ्गको बोलेर त्यसरी नै प्रेस क्लबको आँगनमा उभिरहेको छ ठिङ्ग । त्यसरी नै अजङ्ग भएर मसित सिङ्गौरी खेल्न चाहँदैछ । तर आज त मैले वार कि पार गर्नुछ । आज या भोलि, त्यस घमण्डीसित त अवश्य नै मैले सामना गर्नुपर्ने हुन्छ । मैले मन मनै गमेँ ।

निकैबेरको सोचाइपछि मैले बल पुऱ्याएर त्यस नम्बर थिच्ने तयारी गरेँ । वरिपरि सबैलाई हेरेँ । सबैले मलाई नै ताकिरहेका थिए । अनि मेरा औँला जहाँ जहाँ चल्छनन्, त्यतैतिर आँखा दौडाउँदै थिए ।

यस्तो लाग्दैछ, मैले त्यो मोबाइलको नम्बर डायल गर्दै छुइनँ, टाइमबम फटाउन रिमोट थिच्न तयार छु । सबै चकमन्न छन् । सबैलाई पूर्वाभास भइसकेको छ, त्यस घमण्डी मानिसको जवाफ कस्तो आउनेछ भन्ने । कोठामा भएको हो-हल्ला पनि चकमन्न भइसकेको छ । बाटोमा केवल गाडीहरूको आवातजावत सुनिन्दै थियो ।

९४७४५… मैले बिस्तारै यी नम्बरहरू थिच्न थालेँ । अनि जसै सबै नम्बर थिचियो । रिङ् हुन सुरु भयो । त्यो खैरौ बोलेर गाडी त्यहीँ नै ठिङ्ग उभिरहेको छ ।

‘हेल्लो !’, मैले उताको स्वरलाई बोलाएँ ।

‘हेल्लो ! को हो ?’ खुब खस्रो बोलीको जवाफ मेरो कनसिरीमा नै पऱ्यो । सानोमा लात्तेभकुण्डो खेल्दा, छेउको साथीले जम्माएर गोली हिर्काएर जसरी कनसिरीमा पार्थ्यो, त्यस्तै जोडले मलाई लाग्यो । तर जवाफ मेरो मुखमा तयार थियो ।

‘हजुर, म यो प्रेस क्लबबाट बोल्दै छु ।’ मैले नरम स्वरमा नै भनेँ ।

‘भन्नुहोस्’, उताबाट जवाफ आयो ।

‘के भने, अबदेखि यहाँ प्रेस क्लब चालु हुनेभएको छ । त्यसैले गाडीको पार्किङ अर्कै जग्गामा गर्नुहोला भनेर कल गरेको नि ।’

‘ए हजुर हुन्छ नि । एकक्षण पर्खनोस् है । म अहिले ड्राइभरलाई भनेर गाडी निकालिदिन्छु है । …..’

अहिले पनि कोठा हल न चल थियो । सबै चुपचाप । सबैले एकार्कालाई हेराहेर गर्दै थिए । त्यतिन्जेल मेरो अगाडिको त्यो ठिङ्ग उभिएको खैरो बोलेर हाम्रो सामुबाट हटिसकेको थियो ।