घले बूढो तमाखु खाइरहेछ। नजिकै उसको सात वर्षको नाति गोपाल एउटा सानो नर्कटको छेस्कोले माटोको डल्लामा हान्दै खेलिरहेछ। घले बुढोको सानो पिढीमा बिहानको कमलो घाम क्रमशः पोतिँदै गइरहेछ ।

‘तमाखु खाँदा-खाँदै घले नातिलाई भन्छ- “ए बाबु नचल्न……हातमा लाग्यो भने…..खालास्‌ अनि…..आ, यता आएर थुपुक्क बस्‌ ।

गोपाल उसको कुरा नसुने झैँ गरी एकनासले ‘डल्लामा छ्याक छ्याक हान्दै गइरहेछ। घले एकछिन चुप लाग्छ र तमाखुको सर्को कहिले ओठको दाहिने कुनाबाट कहिले देब्रे कुनाबाट तान्दै गइरहन्छ ।

घाम पनि पिढीको भित्तामाथिमाथि सर्दै जान्छ ।

‘होइन ए गोपाल, भन्या मान्दैनस्‌ हँ……. थुपुक्क यता आएर बस भन्छु त…..’

यस पटकको भनाइमा गोपाल पिढीमा आएर बस्छ र घलेको सेतो दाह्रीमा हातमुख सुमसुम्याउँदै भन्छ- “ल आइहालेँ नि……”

‘हो….अब बस्‌ ह्याँनिर थुपुक्क……’

पोषण पाण्डे

गोपाल सुकुलमा बस्छ। उसको मनभित्र कुरा खेल्न थाल्छ। उ एउटा यस्तो ताकको खोजीमा छ जसमा उसका तमाम ज्ञानेन्द्रियको शक्ति लागिरहेछ । उ छिनछिनमा पुलुक्क-पुलुक्क बूढाको मुखतिर हेर्ने गर्छ र एक पटक त साँच्ची नै बुढाको आँखा छलेर खुर्र दगुर्छ र जहाँको तहीं गएर पुनः उसै गरी नर्कटको छेस्कोले माटोको डल्लामा छ्याक-छ्याक हान्न थाल्छ ।

घले बूढो एक सुरमा तमाखु खाइरहेकै हुन्छ । उसको आँखाको गहिरो नानीमा घामले टक मार्छ र त्यो हिम-कुण्डभित्रको निर्मल पानीतुल्य चलमलाउँछ । उसको मुखाक्नति सर्दै जान्छ ।

घले बूढा गएको रातको सपनामा डुब्छ- “यो के हो, एक्कासि घले बूढा सत्र वर्षेको जवान ठिटो भइरहेछ, उसको हातमा पाखुरामा प्रचुर शक्ति भरिएर आउँछ। उ माटोको ठूलठूलो डल्ला फोरिरहेछ……

………यो के फेरि……?

घलेको खेतभरि एक्कासि घानको बाला लहलहाउँछ, पानीको लहर सरे जस्तो टाढा टाढासम्म लहराउँदै जान्छ । उन्मुक्त अनुहारले घले हावामा हाँस्छ । उसको मन आकाश जस्तै फराकिलिदै जान्छ । घले आफ्नो गाउँघरको मेघुर लोकलहरीमा झुम्न थाल्छ उ बतासमा झुल्छ, आकाशमा झुल्त थाल्छ। उसका आँखाभरि बालै बाला झुल्न थाल्छन् ।

….. लौ यो फेरि कहाँबाट… घले त धानको भकारीमाथि बसेको हुन्छ । उसले हेर्दा हेर्दै एउटा भकारीबाट दुईवटा, त्यसपछि तीनवटा र हुँदा-हुँदै चोटाभरि धानको भकारी नै भकारी भरिन्छ। उफ यो के, घलेलाई केले टोक्छ अचानक, किटिक्क……उसको खुट्टाको बृढीऔंला झरेर तर्लङ्ग झुण्डिन्छ । औंला रगताम्य हुन्छ । झुण्डिएको औंलाबाट त तपतप चुहिन्छ । घले देख्छ-एउटा डुँग्रे मुसो धानभित्र गुँडुल्किदै जान्छ । उसको मुखको चोसो रातो: रातो र कुनै स्वादिष्ट वस्तुको चपाइमा लुटपुटिएको झैं देखिन्छ ।

…. ल, ल, ल….यो त अचम्मै….भकारीको धान त भाविएर पो जान्छ घले ढ्याम्म खस्छ”

घले बूढा तमाखुको सर्को तान्छ। तमाखु सिद्धिसकेकोले घुवाँ पटक्कै आउँदैन, तैपनि उ तान्दै गइरहेछ । उसको निधारमा परेका डोराहरूले बताउँछन्‌ कि उ कुनै अप्ठ्यारो खालको कुरो सोचिरहेछ। उ सोचिरहेछ-सपनामा देखेको त्यो डुंग्रे मुसो के हो जसले टोकेर उसको बुढीऔंला तर्लङ्ग झुण्डिएको थियो । अनायास घले आफ्नो खुट्टाका औंलाहरू सुमसुम्याउँछ ।

ऊ सपनाको त्यो मुसा के हो भन्ने कुरो बुझ्न सक्तैन । हुक्का ठड्याएर बिस्तारे उठ्न खोज्दा घले एक्कासि झस्किन्छ-गोपाललाई सम्झेर ।

गोपाल न उसको नगीचै हुन्छ, न त अघि खेलिरहेको ठाउँमै देखिन्छ । उ कतै पनि देखा पर्दैन । घले बूढा जोडसित कराउँछ-आखिरमा घले बुढा सकी-नसकी कम्मरमा हात टेकाउँदै उठ्छ र दुई चार पाइला अगाडि सार्छ गोपाललाई खोज्न ।

अचानक घले बुढाको कानमा खिलिलिलि हाँसेको आवाज आउँछ | त्यो आवाज गोपालकै हो भन्ने उ ठम्याउँछ, तर गोपाललाई देख्तैन ।

ऊ फेरि कराउँछ- “गोपाल…..ए गोपाल…… ”

पुनः हाँसो उसै गरी आउँछ । बुढो घले एकछिन अन्योलमा पर्छ र पछिल्तिर फर्केर हेर्छ र गोपाल त एउटा कोराको थाममा सुरेली खेल्दै माथि चढिरहेको देखिन्छ । दुवै हात-खुट्टाले थामलाई चपक्क समाती उ माथिमाथि सरिरहेको हुन्छ। उ हाँस्तैछ र साथै छिनछिनमा देब्रे हात उचाली झुण्डिएको केराको काँगियो टिप्न खोज्छ। केराको काँगियोलाई छुन-छुन खोज्छ । तर यत्तिकैमा उसको खुट्टाको पैताला चिप्लिएर सुल्ल तल सस्छ । गोपाल फेरि सुरेली खेल्दै माथि पुग्छ। उसै गरी काँगियो छुन-छुन खोज्छ ।”

उदासीको थप्पडले जीणँ भएको घले बुढाको अनुहारमा कता कताबाट खुसी खितखिताउँछ। उ आफ्नो नाति गोपालको चकचके स्वभाव र उरंठ्याउला: खेलहरू देखेर मनमनै रमाउँछ । तर उसलाई यो डर पनि छ कि कहीं,गोपाल ढ्याम्म एक्कै बाजि भूइँमा नलोटोस्‌ । बूढालाई कता-कताबाट सपनामा भकारीबाट आफू लडेको याद झ्वाट्ट आउँछ ।

‘ए बाबु ! नचढ्‌ भन्या, लोटिन्छ-अहिले हात, खुट्टा भाँच्नलाई फेरि….’

घले सकी नसकी गोपालतिर लम्किदै जान्छ । गोपाल खितखित हाँस्तै छिटो छिटो केराको थाममाथि सुरेली खेल्दै जान्छ र हतार हतारमा केराको काँगियोतिर हात बढाउँदा उसको शरीरको संतुलन बिग्रिन्छ । फलत: उ एक्कै बाजि भूइँमा खुर्मरिन्छ |

‘ल, ल….ल भन्दैथेँ म, तलाई पाजी, पख अब…..’ बूढा सानो नर्कटको छेस्का लिएर हस्याङफस्याङ गर्दै पाइला बढाउँछ ।

धुलोमा लुटपुटिएको जीउ उठाएर गोपाल हाँस्तै दगुर्छ । माटाका डल्लाहरूमा कुल्चिदै गोपाल अघिअघि दगुर्दै जान्छ र घले बुढो शरीर कँपाउँदै पछिपछि लाग्छ- ‘आइज भन्या…..अझ हेर न……हात खुट्टा नधोएर……. हेर न दगुर्या……’

दिन ढल्दै ढल्दै धेरै पर पुग्छ ।

गोपाल बाजेसँग ज्ञानी भएर बसिरहेको हुन्छ । चक चक कत्ति गर्दैन । उ आफ्नो बाजेबाट हिजो बाँकी रहेको हात्तीको कथा सुनिरहेँछ । त्यस हात्तीको सूँड, कान, जीउ र खुट्टाका वर्णनहरू सुन्दा उसलाई अचम्म लाग्छ । त्यसले मान्छेहरूलाई ज्यास्ती दुःख दिएर मार्न थालेको सुन्दा उसको जीउ, मुटु रोमन्चित हुन्छ । अनि एक्कासि बाजेको मुखलाई हातले आफूतिर फर्काउँदै भन्छ ।

“म त्यो हात्तीलाई मर्न सक्तिनँ बा ?……. सक्छु हगि !……..म त्यो हात्तीलाई मार्न सक्छु……त्यसको सूँड समातेर पछारिदिन्छु……अनि त्यसको आङमा चढेर त्यसलाई घुस्सीका घुस्सी दिन्छु……”

“पहिले मूसा त मार्”…… घलेको मुखबाट अचानक आवाज आउँछ ।

बूढाको मनमा पुन: गत रातको सपना जागृत हुन्छ । घले बूढालाई त्यस सपनाको प्रभावले यति साह्रो छोएको छ कि उसले नचाही नचाहीकन पनि त्यसको सम्झनानाले उसको भित्री मनलाई अनायास कोतर्छ; मानो सपना स्वयं नै मूसा हो । घलेलाई यस्तो लाग्छ मानो उसले आजन्म बटुलेको सार-अनुभवको जगमा सपनाको त्यो मूसाको दुलो छ, मानो उसको स्थायी गुँड नै छ त्यहाँ । घले बुढाको आँखा अगाडि हारियो पहाड, खेतको कान्ला र कलकलाउँदो कुलो-सब हराए जस्तो…… बादलले बनेका आकृतिहरू जस्ता -क्रमश: रूपहीन हुँदै जाने……स्वप्न जस्तै एकदम स्वप्न जस्तै लाग्ने……..।

गोपाल उसको नगीचै छ। गोपाल उसको एना, उसको एकमात्र ऐना घले बुढा हेरिरहन्छ, हेरिरहन्छ र हेर्दा हेर्दै आफ्नो नाति गोपाललाई झ्वाम्म अँगालो मारेर भन्छ- “बाबु, तँ त्यो मूसा मार्न सक्छस्‌, अवश्य सक्छस्‌…..तँ हात्ती पनि मार्न सक्छस्‌…… जा, तँ अब खुब चकचक गर्‌, उफ्री-उफ्रीकन खेल्‌………म छेक्दिनँ……….म केही भन्दिन…….तँ जतिसुकै रूखमाथि चढे पनि म केही भन्दिनँ……… बाबु……गोपाल, गोपाल…….।

गोपाल बाजेको मुखलाई एकटकले हेरिरहन्छ। घले बूढाको आँखाबाट निख्रेका आँसुका थोपाहरूले उसको मुख, आङ सबै देह भिज्छ ।

ऊ आफ्नो बाजेको अनुहारमा चढ्दै जान्छ, चढ्दै जान्छ, कुनै साहसी पर्वतारोही जस्तो चढ्दै जान्छ…….।