
सदाझैं अफिस जाने समयमा डेराबाट निस्किएर बाटो लागेपछि मैले उसको कोठाको झ्यालतिर हेरें । उसले आँसु पुछ्दै मैलाई हेरिरहेकी थिई । त्यो हेराइ मेरो लागि अन्तिम थियो उसको । मैले पनि उसलाई अन्तिम चोटि हेरें । उसले बिदाइको हात हल्लाई । मैले पनि मुटु छिया–छिया पार्दै उसै गरी हात हल्लाएँ र बाटो लागेँ ।
उसको र मेरो भेट आकस्मिक थियो । एउटै देशको दुई विपरित दिशामा जन्मिएका हामी जीवनको यात्रा गर्ने क्रममा एउटा चौतारीमा भेट भयो । चौतारीको सिरसिर बताससँगै हामी केही बेर सुस्तायौं । प्रेमको स्निग्ध आकाशमा केही बेर चहार्यौं ।
ऊ अर्कैकी भइसकेकी थिई । म अर्कैको थिएँ ।
मायाको कुनै साँध सिमाना हुँदो रहेनछ । कहिलेकाहीं हाँसखेल, ख्याल–ठट्टा गर्दै जाँदा हामी एक आपसमा नजिकिँदै गयौँ । मायाको नजानिँदो मोहिनीले हामीलाई तान्दै ल्यायो । हामी घरि–घरि नीलो आकाशतिर हेरेर टोल्हाउन लाग्यौं । यताउति कुदिरहेका बादलका टुक्राहरूसँगै हाम्रो मन पनि घरि–घरि बेचैन हुन थाल्यो ।
कतै एकान्तमा ऊ र म मात्र भएको बेला उसले मतिर हात बढाई । कोमल थिए उसका हातहरू । उसले मेरो छातीमा टाउको अड्याई । मुलायम थिए उसका केशहरू । हावाको झोँक्कासँगै फरफराएका उसका काला केशहरूलाई मैले सम्हाली दिएँ मायालु स्पर्शले ।
दिनहरू चल्दै थिए । ऋतुहरू फेरिँदै थिए ।
अब हामी एक–अर्काको मुटुको भित्री पत्रमा पस्दै गयौँ । यति गहिराइसम्म पुगिसकेछौँ कि हामीलाई निस्कन गाह्रो पर्ने भयो ।
वसन्त वागमा जस्तै हाम्रा हृदयमा पनि मायाका रहरिला फूलहरू फुले । यी फूलहरू नओइलाऊन् – हामीले यही कामना गर्यौँ ।

टङ्क भट्टराई
ऊ मेरा कोठामा सुस्तरी आउँथी । ताता चुम्बनहरू मेरा गालामा बर्साउँथी । उसका कोमल हातहरूले मलाई सुम्सुम्याउँथी । हामी चुम्बन साटासाट गथ्र्यौं । न्यानो अङ्गालोमा निकै बेरसम्म हराउँथ्यौ । अनि, मनले नमानी–नमानी बाध्य भएर छुट्टिन्थ्यौँ ।
हामी एक–अर्काको बाटो भत्काउन चाहँदैनथ्यौँ । अल्लारे भावुकताभन्दा जीवनको गहिरो कर्तव्य बोध थियो हामीमा । यति मात्र हो, हामी आफूले रोपेको मायाको फूलबारीमा मन खोलेर विचरण गर्न चाहन्थ्यौँ । रङ्गीचङ्गी फूलहरूबाट प्रेमको मीठो सुवास लिन चाहन्थ्यौँ ।
हातमा राता चुराहरू, गलामा शौभाग्यको चिनो र सिउँदोमा रातो सिन्दुर अर्कैले सजाइदिएको । मैले त्यो सौन्दर्यलाई लुट्ने दुस्साहस गरिनँ । त्यो मेरो ऊप्रतिको सम्मान थियो । उसले पनि अर्काको एकलौटी खुसी लुट्न चाहिन । अर्काको विश्वासको घर भत्काउन चाहिन । त्यो उसको नारीले नारीलाई गर्ने इर्ष्या नभई सम्मानको भाव थियो ।
तर पनि हामी प्रेमको स्निग्ध डोरीले एकअर्कामा बाँधिंदै गयौँ । कहिल्यै नछिन्ने गरी । कहिल्यै नफुत्किने गरी ।
यो कस्तो अनौठो माया ? कस्तो अनौठो प्रेम ? हिउँखोलाबाट झरेको कञ्चन पानीजस्तो थियो हाम्रो प्रेम ।
कति मीठो लाग्थ्यो मलाई उसले हाँसेको । लोभलाग्दो हिमाली मुस्कानजस्तो । कति सुन्दर लाग्थ्यो मलाई उसले बोलेको । वासन्ती उपवनमा चराहरू चिरबिराएजस्तो ।
घृणा गर्नुभन्दा प्रेम गर्नु कति जाती । के बिरायौँ हामीले एक–आपसमा प्रेम गरेर । प्रेम कुनै एउटा सीमामा बाँधिन चाहँदैन । प्रेम त अनन्त आकाशमा उन्मुक्त उड्न चाहन्छ । पखेँटा फर्फराएर चराझैँ निर्बिघ्न फैलिन चाहन्छ ।
हाम्रो प्रेम नियोजित थिएन । यो त आकस्मिक थियो । हिंड्दा–हिंड्दै बाटोमा कुनै अमूल्य रत्न भेटिएजस्तो । हराएको केही चिज सपनामा पाएजस्तो ।
नभन्दै उसको जाने दिन आयो । उसले जानै पर्ने थियो आफ्नै घर । उसले मसँग बिदावारी हुनै पर्ने थियो ।
जीवन नियतिको खेल रहेछ । अनौठो रूपमा हाम्रो संयोग भयो । नचाहँदा नचाहँदै हाम्रो प्रेम बस्यो । हामी विपरित दुई दिशाका मान्छे । भविष्यमा भेट हुन पनि सक्थ्यो, नहुन पनि सक्थ्यो । मनको अचेतन तहबाट हामी छुट्टिन चाहँदैनथ्यौँ । तर पनि छियाछिया परेको मुटुमाथि ढुङ्गा राखेर हामीले अन्तिम बिदाइको हात हल्लाउनै पर्ने थियो । एउटा निष्ठुर नियतिलाई भोग्नै पर्ने थियो ।
बसन्तको बेला थियो । बिदाइ हुने अघिल्लो दिन प्रकृतिको वासन्ती वाटिकामा हामी घुम्न निस्कियौं । वनमा राता फूल फुलेका । चिरबिर–चिरबिर चराहरू चिर्बिराइरहेका । रूखको डालीमा बसेर कोइली कुहु–कुहु गाइरहेको । सायद हाम्रो वियोगको विरही गीत होला त्यो ।
वनका राता फूलहरू टिपेर मैले उसको केशमा सजाइदिएँ । उसले पनि सम्झना स्वरूप त्यही रातो फूल टिपेर मलाई उपहार दिई । घाम बिस्तारै पश्चिमतिरको पहाडी थुम्कोबाट उँधो ओर्लिन खोजिरहेको थियो । हामी बोल्न सकेका थिएनौँ । सायद, हाम्रो भौतिक मिलनमा पनि रात पर्न आँटेकोले होला । हाम्रा चार आँखामा आँसु टिल्पिलाइरहेका थिए । हामीले जुनीभर नर्बिसिने कसम खायौँ । हरिया रूखहरू, राता फूलहरू र नीलो आकाशलाई साक्षी राखेर ।
…..
ऊ गई ।
बिछोडको घडी कति नमीठो ! मैले पहिलो चोटि थाहा पाएँ । जिन्दगीमा यस्ता दिन पनि आउँदा रहेछन् जो मैले सोचेको थिइनँ र म आफूले निम्त्याएको पनि होइन । नियतिले नै यस्तो गराइदियो । एक दिन वियोग त अवश्यम्भावी थियो । त्यो भएरै छोड्यो । तर, जे होस् छोटो अवधिको भए पनि हाम्रो मिलन अत्यन्त मीठो, न्यानो र सुखद् रह्यो, जो भुल्न चाहेर पनि भुल्न सकिन्न । जुनीभरि सँगै बसेको भन्दा मीठो र अविस्मरणीय दुनिया हामीले सिर्जना गर्यौँ । एउटा सुन्दर बगैँचामा रङ्गी–बिरङ्गी मायाका फूलहरू रोप्यौँ । हाम्रो बिछोड भए पनि ती मायाका फूलहरू हाम्रो हृदयतलमा सधैँभरि फुलिरहनेछन् । मुस्कुराइरहनेछन् ।
उसका कोमल पदचापहरू मेरो कोठामा बिस्तारो ढोका उघार्दै आएजस्तो । उसको कोमल र मायालु मुस्कान कोठाभरि छरिएजस्तो । उसका प्रेमिल आँसुहरू कोठाका भुइँभरि पोखिएजस्तो । उसको मायालु तस्वीर भित्ताभरि जताततै हाँसिरहेजस्तो । ऊ गए पनि यस्तै–यस्तै झझल्काहरूले मलाई केही दिनसम्मै सताइरहे ।
हाम्रो पवित्र मायाका साक्षी छन्, कोठाबाट देखिने पारितिरका ती सल्लेरी डाँडाहरू । बिदाइ हुने अघिल्ला दिन घुमेका जङ्गलका राता फूलहरू । सुसाएका सल्लाहरू । हामी घण्टौँसम्म बसेर प्रीतका कुरा गरेका हरिया चहुरहरू र चराचुरुङ्गीका चिरबिर–चिरबिर गानाहरू ।
पानीको थोपाजस्तो बिलाउने मायाभन्दा नदीजस्तो सधैँ बगिरहने कञ्चन माया राम्रो । शिशिरको तुफानी हुर्हुरे बतासभन्दा वसन्तको मन्द पवनजस्तो सदाबहार माया राम्रो । शारीरिक आकर्षणले उत्तेजित मायाभन्दा मनको गहिराइबाट उत्सर्जित पवित्र माया राम्रो । हो, त्यही राम्रो, चोखो र निःस्वार्थ थियो हाम्रो माया । हामीले जङ्गलमा उपहार स्वरूप साटासाट गरेको रातो फूल भौतिक रूपमा त चाँडै ओइलिएर जाला । तर, हृदयको भित्री कुनामा फुलेको प्रेमको रातो सुनगाभा कहिल्यै ओइलाउने छैन । मनभरि, मुटुभरि फुलिरहनेछ ।
……..
ऊ गई ।
एउटा मीठो अतीत छोडेर गई । जीवनका स्वप्निल पानाहरूमा सम्झनाका तरङ्गहरू छोडेर गई । मेरा मुटुका पत्र–पत्रहरूमा स्मृतिका कथाहरू कोरेर गई ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

