‘ला तँलाई सुन्तला !’ माइली लुङगेलीले सुन्तला खान मागेर, हैरान पारेको छोराका गालामा एक चड्कन लगाइन् र बरबराइन्– ‘चाखिस् सुन्तलाको स्वाद ?’

छोराको गालामा हानेको तिनको हात भुइँमा बेस्सरी बज्रिँदा तिनी बेहोसी तन्द्राबाट ब्युँझिइन् । हिजो बेलुकी छोरी कर्निमाया र छोरो सहनलाई सम्झेर रुँदारुँदै तिनी त्यही बेहोस भएर ढलेकी थिइन् । अहिले होस खुल्दा बिहानीको गाउँभरि सूर्यले लालिमा छाइसकेको थियो । म्याम्या गर्दै बाख्रा र पाठापाठीहरू कराइरहेका थिए । कुकुराका भाले कुखुरी काँ, कुखुरी काँ गरी बास्दै थियो । कुखुरा माउ क्लक क्लक आवाज निकालेर चल्लाहरूलाई फाकाउँदै थियो सायद । अलिपर गोठमा आँइआँइ गर्दै भैँसीले कुँडोको प्रतीक्षा गरिरहेको थियो । अरूबेला चारैबजेदेखि चुरा छनछन छुनछुन बजाउँदै यी बस्तुभाउको सेवामा समर्पित घरमूली आज अबेरसम्म पनि चालचुल नगरेको देखेर सायद बस्तुभाउहरुले कोकोहोलो मच्चाएका हुँदा हुन् ।

माइली सदाझैँ न अगेनामा आगो फुक्न छिरिन्, न कुँडो पकाउन । पँधेरामा पानी लिन पनि गइनन् । रुँदारुँदा सुन्निएका आँखालाई न एक आम्खोरा पानीले चिस्याउने कोसिस नै गरिन् । असरल्ल छरिएको कपालको झाँक्रो फिजाएर आक्रोशको ज्वालाले राता भएका आँखा पल्टाउँदै कुखुरा छोपी राखेको डोको उघारिन् । कुखुराहरू पखेटा फटफटाउँदै अँगेनाभरि कुदे । बाख्रा र भैँसीको डोरी खोली दिइन् । बाख्रा त म्याम्या र म्युम्यु गर्दै चरनतिर कुदिहाले, भैँसी भने अलमलमा पर्यो । यस अघि उसको दाम्लो कहिल्यै खोल्ने गरेको थिएन, जसरी आज खोलिएको छ । आँइआँइ एकछिन अलमलिएर करायो, यसो सिङजुरो हल्लाएर हेर्यो । आफूलाई फुक्काफाल देखेपछि पुच्छर ठाडो पारेर भैँसी गुटुटु कुद्न थाल्यो । माइलीले आँगनमा उभेर लामो सास फेरिन् ।

आज मरिणठाकुरको भाकाल बुझाउनलाई तिनले अस्तिको दिन ल्याएको रातो ध्वजापतका दलिनबाट झिकिन् । त्यो रातो ध्वजाको पतका टाउकोमा फेटा बनाएर बाँधिन् । दाहिने हातले खुर्पालाई बेस्सरी पक्डिन् । पुलुक्क आँगनतिर हेरिन् । भाले कक कक गर्दै माउलाई छेकिरहेको थियो । माउ क्लक क्लक गर्दै चल्लाहरूलाई ओताउँदै आहरा पो दिन लाग्यो कि भन्ने सम्झेर होला माइलीको मुख ताक्दै थियो । बाख्रा पर बारीतिर मस्त चर्दै थिए । बँधुवा भैँसी फुक्न पाएकोमा चर्नुको सट्टा आँइआँइ उँइउँइ गर्दै बाँदरे जाने तेर्सोमा खुब मच्चि मच्चि उफ्रँदै थियो ।

यकिना अगाध

घाम आँगनमा आइसकेको थिएन । अलिपर स्कूलमा भने भखरै कलिलो घामले रातो अनुहार देखाउँदै थियो । पारिपट्टि हेरिन्, बुचुमचुली डाँडा रातै भइसकेको थियो । मास्तिर मधुवनी डाँडा भने खलङ्गा भेगमा उदाउने घामको ज्योतीलाई छेकेर ढसमस्स फुलिरहेको थियो । दक्षिणतिर तल मरिणखोला हुस्सुले ड्याम्मा छोपिएको थियो । हेर्दा लाग्थ्यो– सेतो भुवा नै भुवाले छोपी राखेको छ । हुस्सुले छेकेर निस्पष्ट रुवाजस्तो आकृति तेर्सिरहेको मरिणलाई तिनले दुई हात जोडेर नमस्कार गरिन् । खै मनमा के कुरा खेलाउँदै थिइन् कुन्नि, एक्कासी पहलमानले लाठी हल्लाएझैँ दाहिने हातले पक्डिरहेको खुर्पालाई हावामा बेस्सरी फनफनी नच्चाइन् । देब्रेहातलाई बेस्सरी मुठ्ठी कसेर आकाशतिर उठाइन् र गगनभेदी स्वरमा चिच्याइन्– ‘म यो अन्याय सहन सक्तिनँ । म यस्तो अन्धकार युगमा बाँच्न सक्तिनँ । मलाई न्याय निशाफ चाहिन्छ । म न्याय लिएर आउँछु !’

माइलीको यो उग्रचण्डी स्वरूप देखेर चारोको पखाईमा मुख ताकिरहेको कुखुरा माउको सातोपुत्लो उड्यो र कोतेक तेक गर्दै घुर्यानतिर भुर्र उड्यो । हिजोसम्म यो घर, यो बारी, यो बस्तुभाउ, यी छरछिमेकी आफ्नो सम्पूर्ण जीवन ठान्ने माइली आज चटक्कै छाडेर न्याय लिन राजा बस्ने देश काठमाडौँको बाटो पक्डन मरिणखोलातिर गुटुटु कुदिन् । मानौँ, तिनको बधुवा भैँसीझैँ तिनी पनि फुक्काफाल भइरहेकी थिइन् ।

कातिके डाँडा पर्यटकीय दृष्टिले अति नै रमणीय स्थल हो । दक्षिणमा मरिणफाँट र चुरेडाँडा, उत्तरमा आफ्नो काखमा कोखाजोर खोलालाई सलल बगाइरहेको महाभारत डाँडा, पूर्वमा खलङ्गा र मधुवनी डाँडा, पश्चिममा बन्खु गाउँलाई दृष्यावलोकन गर्ने संगमस्थल हो, यो । गर्मीयाममा न गर्मी नै हुन्छ, जाडोयाममा न त अचाक्ली जाडो नै हुन्छ । उहिले उहिले मरिणतिर औलो प्रकोप हुँदा सबैजना यता नै बसोबास गर्थे । अति नै मलिलो माटो र बालीबिरुवा हुने भए पनि खानेपानी आधाकोस तल कोखाजोर छेऊबाट ओसार्नु पर्दथ्यो । खानेपानी अभावका कारण औलो उन्मुलनपछि यहाँका हुनेखाने प्रसाईं, मैनाली, उप्रेती परिवारहरू कोही हरिऔन बसाईं सरे, कोही बयलबासतिर । माइलीको आजको यो ठूलो बुर्जावाला घर तिनै उप्रेती बाजेको थियो कुनै बेला । उप्रेती बाजे यो गाउँको चल्ता पुजारी मात्र नभएर, गाउँमूली नै थिए । तीन दोबाटोको बीचमा पर्ने यो घर सबैको आकर्षणविन्दु थियो । भदौरे हुँदै बन्खु जाने हो या काभ्रेबाट बेतपानी, मधुवने हुँदै मरिणछाप, सिन्धुलीमाडीतिर झर्ने बटुवाहरू यहाँको बिसौनीमा सुस्ताउँथे । टाढाको यात्रा त्यो पनि उकालो, यो भञ्ज्याङमा चल्ने चिसो हावाको सियालमा पानी पिएर बिसाउन पाउँदा कुन बटुवाको मन आभारी हुँदैन्थ्यो र ? उप्रेती बाजेले बेचेर गएपछि यो बिंडो लुङगेलीको परिवारले धानेको थियो । त्योबेला आजको जस्तो जातीय स्वतन्त्रता थिएन वा भए पनि गाउँलेलाई पत्तो थिएन । उप्रेती बाजे होइन्जेल डरले क्षेत्रीबाहुन बाहेक अरू बटुवाले यस घरमा पानी मागेर खाने आँट समेत गर्दैनथे । छोइछिटो प्रचलन यथावत थियो तर लुङगेली परिवारले यो घर किनेपछि भने सबै बटुवाको साझा चौतारोजस्तो थियो पानीको लागि ।

चिम्सा चिम्सा बाटुली आँखा, गोलो अनुहार, थेप्चो डल्लो डल्लो नाक, सधैँ माइलीको मुस्कानयुक्त हाँसिलो अनुहार, हाँस्दा देखिने टम्म मिलेका सेता दाँत र रातो गालाको डिम्पल देखेर ठट्टा मजाक गर्न उक्सन्थे बटुवाहरू । गाउँले, सोझी माइली पनि के कम र ? मस्केर हाँस्दै उनीहरूसँग ठट्टा खेली दिँदा अघिको त्यत्रो कोस अग्लो डाँडा उक्लनु पर्दाको दुखेसो चटक्क बिर्सन्थे बटुवाहरू । भन्थे– ‘ए माइला हाउ ! तिमीले बुढी चाहिँ साक्षत देवी नै पाएछौ है ।’ माइला पनि हाहा हाँस्दै हौस्याइ दिन्थे । गाउँको मनोरञ्जन भन्नु यति नै त हो । मेला जात्रा बाहेक अरूबेला हाँस्ने फुर्सद नै यिनीहरूको निधारमा कहाँ लेखेको हुन्छ र ? लुङगेली माइलाले यो घर किनेदेखि बटुवालाई खानको लागि आधाकोस तलबाट ल्याएको पानी, आँगनमा एउटा ठूलो घ्याम्पो भरेर राख्ने गर्थे । उनीहरूको यो सेवाकारी कामको जताततै प्रशंसा थियो ।

०५२ फागुन दोस्रो हप्तातिर गाउँमा गाइँगुइँ हल्ला फिजियो– ‘माओवादीले युद्ध सुरु गर्यो अरे !’

‘गडीडाँडा चौकी त ध्वस्त पारे छन् रे !’ बटुवाहरू तुक मिलाइ मिलाइ कुरा सुनाउँथे ।

‘सुन्यौ माइला यिनीहरूले जित्यो भने त हामीजस्तो गरीबको दिन फिर्छ रे । काम जाबो त आठ घण्टा गरे पुग्ने…’ बटुवाको कुरा बीचैमा काटेर माइलो बोल्थ्यो– ‘ए त्यसो भए मैले तपाईंहरूलाई पानी खुवाएर सेवा गर्ने दिन पनि गएछ ।’ ठट्टा मेसोसँगै हासोको हाहाहाको फोहरा छुट्थ्यो ।

केही दिनमा फेरि बटुवाहरूले अर्को सनसनीपूर्ण खबर ल्याए– ‘ए माइला हौ ! माओवादी भन्या कस्तो न होला भन्ठानेको त बेतपानीको सुब्बासिं घोले, सखौरीको तेजु लुङगेली, भुताहाको अर्जुन थापाहरू पो रहेछन् । यिनीहरूले नै पो जलाएका रहेछन् गडीचौकी ।’

‘होइन, होइन । अर्जुन त हाम्रो यहीँको हवल्दार बाजेको नाति पो हो त । अहिले भुताहातिर बस्छ । सुब्बासिं र तेजु अरे ? अहो ! यस्तो बकुम्फुसे कुरा तपाईंहरूलाई कसले सुनायौ हो हजुर ?’

माइलोले नपत्यकाएको देखेर बटुवा बोल्थ्यो– ‘आजै त उनीहरूलाई छापको चौकीले पक्डेर जिल्लातिर लगेका छन् ।’

‘सोझोसाझालाई बित्थामा फत्तुर लाएर दुःख दिएका…।’ यो सुनेर माइलो फुसफुसायो । केहीबेरमा बटुवा बाटो लाग्यो ।

उनको कान्छा भाइ बिमल पुलिसमा जागिरे थियो । ऊ वर्षमा कहिलेकाहीँ छुट्टी मिलाएर घरपरिवार भेट्न आउँथ्यो । छुट्टीमा खुब रमाइलो गर्नुपर्थ्यो केटोलाई । गाउँका उसका दौतरीहरू ऊ भनेपछि भुतुक्कै हुन्थे । ऊ आएपछि लोकल कुखुरा, कोदोको लोकल रक्सी आहा ! मासु खान चाडबाड नै आउनुपर्ने दौतरीहरूको लागि कान्छो दशैँ नै बन्थ्यो । बढुवा हुँदै ऊ सइसाब भइसकेको थियो तर उसको सरल बानी ब्योहोरा दौतरीका लागि उही हिजोको कान्छा नै थियो । फागुनको तेस्रो हप्ता ऊ घर आइपुग्यो । केही दिन बस्यो । गाउँ डुल्यो पहिलाजस्तै रमाइलो गर्यो र फर्कियो ।

‘साथी हो बाँचे आइन्छ, मरे राइफल सिरानीमा’ सधैँ छुट्टिने बेलामा ठट्टा गर्दै ऊ भन्ने गर्थ्यो । यसपटक पनि यसरी नै ठट्टा गरेर छुटिए । उनको घर पर पिपल भञ्ज्याङमा थियो । माइलो दाइको घर आइपुग्न आधाघन्टा जति हिँड्नुपर्ने भए तापनि यसपटक ऊ त्यता पसेन ।

भाइ फर्केको केही दिनपछि चार जनाको हुल आएर माइलालाई केरकार गर्न थाले । उसको भाइले के के भन्यो, के के गर्ने भयो जस्ता अनेक शब्दहरू सोधिए । आफूसँग भाइको भेट नै नभएको बताएपछि फर्केर गएका ती केटाहरू फेरि भोलिपल्ट बेलुकी आएर ‘कुरा गर्नु छ’ भनेर माइलालाई लिएर गए । माईलीले बाटो छेकेर बिन्ती हाल्दा केटाहरूले केही घण्टामा नै पठाइदिने वाचा गरेका थिए तर माइलो फर्केर कहिल्यै आएन, न ती केटाहरू नै फर्किए । माइलो आउने आशामा माइली र उनका छोराछोरी बाटोभरि आँखा बिछ्याई रहन्थे ।

कहिलेकाहीँ बाटो हिँड्ने बटुवाहरूले हल्ला गरेको सुनिन्थ्यो, ‘माइलालाई त माओवादीहरूले जिउँदै गाड्यो रे !’ माइलीलाई भने आफ्नो श्रीमानलाई कसले किन लग्यो र के गर्दै छ केही थाहा पत्तो भएन ।

कार्त्तिकको मौसम थियो । जाडोले बस्तीलाई आफ्नो अङ्गालोमा कस्न खोज्दैथ्यो । माइली बिहानको धन्दा सकेर आँगन छेउको ठूलो ढुङ्गामा टुसुक्क बसेर घाम ताप्दै बाख्रो चरेको हेर्दै थिई । स्कूल जान छोरा छोरी तयारी हुँदै थियो । झोला बोकेर छोरा उसको छेउमै आयो र भन्यो, ‘आमा म एउटा सुन्तला खान्छु नि ।’

‘हुँदैन बाबु ।’ माइलीले निषेध जारी गरिन् । छोरो ढिपी गर्ने र माइलीले अवरोध गर्ने क्रम लामै चल्यो ।

‘पूजा नगरी खानु हुँदैन छोरा ! मरिण ठाकुरलाई भाकाल बुझाउनु पर्छ । भोली भाकाल बुझाउनलाई पूजाको सामानहरू ल्याइसकेकी छु । पूजा गरेपछि खाना पाउलस् है बाबु ।’ तिनले छोरोलाई फेरि फकाउन खोजिन् ।

बालहठ न हो छोरो मान्दै मानेनन् ।

‘आज सुन्तला नखाई म स्कूलै जान्न ।’ छोरोले घुर्की देखायो ।

जति फकाए पनि नभएपछि क्रुद्ध भई आवेगमा माइलीले गालामा एकथप्पड लगाउँदै भनी–‘ला तँलाई सुन्तला ! खाइस् कि ?’

कहिल्यै आमाको हातको चड्कन नखाएको केटो एक्कासी आमाले चड्कन लाएपछि अलमलियो । पर्पराएको गाला सुमसुम्यायो । ‘आमा साँच्चिकै रिसाएकी छिन्’ भन्ने लागेपछि आमातिर फर्केर हेर्दै नहेरी दिदीचाहिँको फ्रकको फेर समाएर रुँदै स्कूलतिर गयो ।

पहिला पहिला यो गाउँमा सुन्तला, आँप, ज्यामीरजस्ता बिरुवा रोप्ने चलन थिएन । जसले यी बिरुवा रोप्यो त्यो मान्छे फल फल्ने बेला मर्छ भन्ने किंवदन्ती थियो । नेपाल सरकारले कृषि कार्यक्रमअन्तर्गत यहाँको माटो परिक्षण गर्यो । यहाँ सुन्तलाको लागि उचित वातावरण रहेको पत्ता लाएपछि सरकारले कृषि ऋण अनुदान दिई सुन्तला रोप्न उत्प्रेरित गर्यो ।

माइलाले पनि त्यहीबेला तालिम लिएर यी सुन्तलाका बिरुवाहरू ल्याई रोपेको थियो । केही वर्षपछि नै सुन्तला गज्जबले फल्न थाले । सुन्तला फल्न थालेपछि सुन्तला खेतीमा हात हाल्नेहरूको मुटुमा ढ्याङ्ग्रो बज्यो । ‘भरे भतक्कै मरे भने के गर्ने ? यसै त मर्छ भनेनन् होला अघिकाहरूले’ उनीहरूको निद हराम भयो । अन्तमा यस विपतबाट बच्ने एउटा उपायो निकालियो– ‘मरिण ठाकुरलाई भाकाल बुझाउने ।’ त्यस बेलादेखि यस गाउँमा भाकाल बुझाएपछि मात्र सुन्तला खाने प्रचलन बस्यो । सुन्तला रोप्ने मान्छे नै बेपत्ता भइरहेको अवस्थामा उसले आफ्नो मनलाई ढुङ्गा बनाउन परेको थियो ।

छोरी चौध वर्ष पार गर्दै थिई। छोरो नौ वर्ष । पढाइमा दुवै जना तेज थिए । दिदी र भाइलाई शिक्षकहरूले आ–आफ्ना कक्षा कोठाको मुनिटर बनाएका थिए । अन्त्यमा सरल, मिलनसार र सहृदयी यी दिदी भाइको मुनिटरलाई लिएर आजसम्म सहकर्मीहरूले कही कतै गुनासो पोखेका छैनन् ।

सधैँ उज्याला हंसमुखी अनुहार लिएर उपस्थित हुने गरेको सहनको अँध्यारो मुख देखेर त्यसदिन सहकर्मीहरू छक्क परे । अरू बेलामा झैँ आज उसले साथीभाइसँग खेल्न पनि रुचि देखाएनन् । धुमधुम्ती स्कूलको पिरियड गुजार्यो । घर फर्केपछि सन्चो नभएको भन्दै ओछ्यानमा पल्टेको ऊ, खाना खाने बेलासम्ममा निदाइसकेको थियो ।

कुखुराले तेस्रो प्रहरको सङ्केत गर्दै बासेपछि आमासँगै दिदीभाइ पनि उठे । आमा बस्तुभाउलाई कुँडो पकाउन आगो फुक्न थालिन्, दिदीभाइ सधैँझैँ पानी लिन कुवातिर हिँडे । पल्लो घरकी थापा कान्छी र बारीको पुच्छरतिर पुग्दा पिठागोटेकी छोरी पनि मिसिए । उनीहरू टर्चको ब्याट्री जोहो गर्न, अप्ठ्यारो बाटोमा बाल्ने र सजिलो बाटोमा निभाएर हिँडिरहेका थिए ।

‘ठ्याङ ठ्याङ ठ्याङ’ लगातार केही पड्किएको आवाज आयो । सरकारले माओवादी विद्रोह विरुद्धको किलोसेरा टु अप्रेशन सुरु गरेको थियो । अरू गाउँघरजस्तै कातिके गाउँ पनि यो खबरदेखि टाढा थियो । जुन खबरको अनभिज्ञ लुङगेली माइलीको छोरा, छोरी, थापा कान्छी र पिठागोटेकी छोरीमाथि माओवादीको नाममा सुरक्षाकर्मीले निशाना दाग्यो । आफ्नो कमजोरी र दुष्कार्य लुकाउन उनीहरुले भोलिपल्ट आफ्नो सञ्चारहरूमा दोहोरो भिडन्तमा आतङ्कवादी मारेको फर्जी समाचार सरकारलाई फुक्न लगायो । आतङ्कवादी दबाउने नाममा सुरक्षाकर्मीले गरेका यी कर्तुतपूर्ण ज्यादती लुकाएर सरकारले पनि आतङ्कवादी मारेको खुशीयालीमा देशभरि गोयबल्स डान्स गर्यो ।

न्याय लिनको लागि राजाको देश काठमाडौँ जाने बाटो खोज्न मरिण झर्ने ओरालीहुँदै दौडेकी माइली लुङगेली त्यस दिनदेखि आजसम्म फर्केर आएकी छैनन् । उनको आफ्नो नामको केही थियो त उनकै बाटो कुरेर बसेको त्यही ठूलो बुर्जावाला घर थियो । त्यो पनि उनको सुसार नपाएर बिस्तारै खण्डहरमा परिणत भयो र भत्किएर नामनिशाना नै रहेन ।

माओवादी द्वन्द्व मात्र टुङ्गिएन, राजतन्त्रको समेत अन्त्य भएर गणतान्त्रिक मुलुकमा परिणत भएको यो देशले न्याय लिएर फर्कने आशामा माइली लुङगेलीलाई कुरिरहेको तिनको खण्डहर घरमाथि अहिले डोजर कुदाएको छ । सिन्धुलीको कातिके हुँदै काभ्रेको बन्खुबाट यो बाटोको कोरिडोर काठमाडौँसम्म खुलेको छ । यात्रुहरू गाडीमाथि चढेर न्यायका लागि चियाइरहेको खण्डहर घरको आँखालाई कुल्चँदै सिन्धुली, काभ्रे, काठमाडौँ हुइँकिरहेका छन् । आज यो ठाउँमा न त कोही बटुवाले पानी माग्छ न त विश्रामको सुसेली नै सुसेल्छ ।