निको हुने कुनै छेकछन्द छैन गजगजी पाकिरहेछ घाउ । निको होस् पनि कसरी ? करङको भित्री भागमा गएर गोलीको छर्रा अड्किएको छ । जसलाई निकाल्न निकै जोखिमपूर्ण शल्यक्रियाको जरुरत छ भन्छन् डाक्टरहरू । फेरि आवश्यक खर्चपानीकै अभावमा गोलीका ती टुक्राहरू निकाल्न सकेको छैन । पटकपटक अस्पताल धाउँछ अगमसिंह । डाक्टरले पनि घाउ फैलिन नदिनको लागि अस्थायी उपाय मात्र गर्छ । एन्टिवायोटिक्सका चक्कीहरू लेखिदिन्छ । दुखाइ बिर्सिन पेनकिलरका चक्कीहरू दिन्छ ।

केहीदिन औषधिको प्रभावले होला, घाउको मुख निको हुनलाई सुके जस्तो हुन्छ । केही समयपछि फेरि गजगजी पाकेर आउँछ । हेर्दाखेरि बाहिरी घाउ त्यति ठूलो छैन । सानो प्वालमात्र छ । देब्रे काखीदेखि ठिक सात इन्चमुनि लागेको यस घाउको आफ्नै कथा छ । अर्थात् रुम्जाटार मोर्चा शर गर्न जाँदाको अचुक निशानी हो यो घाउ ।

घाउ करङमा मात्र खोपिएको छैन । अनगिन्ती घाउ मुटुका कुनाकुनामा खोपिएका छन् । अगमसिंहलाई देखिने घाउभन्दा नदेखिने घाउको पीडा चर्को भएर दुख्छ । हृदयमा दुर्दान्त पीडा साँचेर बाँचिरहेको छ । उससँगका कयौँ लडाकु साथीहरू रुम्जाटारको पाखैभरि सोत्तर भएथे । धन्न उसको मानो सकिएको रहेनछ, एउटा घाउ लिएर बाँच्यो । मनका पीडाहरू अस्फूट आवाजमा घरी घरी बाहिर पोखिन्छन् ।

शान्तिवार्ता अघिका विगत बाह्रवर्षका आँधीमय समयलाई सम्झिन्छ । कयौँ मोर्चाहरू सफलतापूर्वक लडेको याद उसका आँखामा झलभली नाच्छ । दुनै, सतबरिया र अर्घाखाँचीको लडाइँमा अलिकति पनि छाला खोस्रिएन । तर, रुम्जाटारको आक्रमणमा भने विपरीत कित्ताबाट आएको गोलीको सानो छर्रा करङभित्र घुस्यो ।

मर्न त मरेन ऊ घाइते भएर बाँच्यो । घाइते पनि त्यस्तो अशक्त घाइते होइन, अर्धघाइते भएर बाँच्यो । बाहिरबाट हेर्दा मान्छे सही सलामत छ । तर बायाँ काखीमुनि गोलीले छेडेको सानो घाउ छ । हुन त घटनापछि उसलाई तुरुन्तै स्ट्रेचरमा बोकेर अस्थायी उपचार क्याम्पमा नपुर्याइएको होइन । समयमै पुर्याइएको थियो । तर, आवश्यक उपकरण र विशेषज्ञ सेवाको अभावले तुरुन्तै छर्रा निकाल्न सकिएन ।

पुण्य कार्की

त्यहाँ उपचाररत डाक्टरहरूले भने– “अहिले त्यस्तो कुनै खतरा छैन । पछि चाहिँ अपरेशन गरेर करङमा अड्किएको गोलीको छर्रा निकाल्नु पर्छ । हाल त्यो सुविधा र उपकरण यहाँ छैन । त्यसको लागि सुविधासम्पन्न अस्पतालमा जानु जरुरत छ । अहिले हामी दुखाइ कम गर्ने र हल्का घाउ सुकाउने एन्टिवायोटिक्स दिन्छौँ । अनुकूल समयमा अपरेशन गर्नुहोला । सबै ठिक हुन्छ ।”

समयको पैयाँ आफ्नै गतिमा घुमिरह्यो, घुमिरह्यो । डाक्टरले खतरामुक्त छौ भनेपछि एकमनले ऊ ढुक्क पनि भयो । त्यसको एकाध वर्षमा देशमा जनआन्दोलन भाग दुई सम्पन्न भयो । विस्तृत शान्ति सम्झौता सम्पन्न भयो । सबै लडाकुहरू, भूमिगत नेता र कार्यकर्ताहरू सुरक्षित रूपमा खुला संसारमा अवतरित भए ।

कठिन भूमिगत जीवन परित्याग गरेर बाहिर आउँदा उनीहरूलाई तिलश्मी पात्रका रूपमा हेरे मानिसहरूले । केही समय त उनीहरूको हाईहाई र प्रसिद्धिमा छापाहरू रङ्गिए । उनीहरूको वीरगाथा र अपूर्व शौर्यताको कथाले अखबारका पानाहरू पुरिए । साँच्चै स्वर्गीय जीवन धर्तीमा उतार्न मृत्यु वा मुक्तिको कसम खाएर होमिएका थिए त्यो जनसमरमा । त्यसको नेतृत्व गणले अगमसिंहजस्ता अदना अकिञ्चन प्राणीको चित्तमा शोषणरहित विभेदरहित समाजको सपना भरिदिएका थिए ।

तमाम खालका अन्याय र उत्पीडनलाई समूल नास गर्न ऊ मोर्चामा लामबद्ध भएको थियो । अनेकन खालका दुर्दशा र दुर्भिक्षबाट राष्ट्रलाई मुक्त गर्न उसले बन्दुक बोकेको थियो । यसका अभियन्ताहरूले ऊ र ऊजस्ता हजारौँ युवाहरूको मथिङ्गलमा त्यही लालसा भरी दिएका थिए ।

आँखामा सपनाको हाट लगाएर ऊ तीन बीस नाघेका बूढा आमाबाबु घरमा छोडेर जङ्गल पसेथ्यो । घरको अभाव, अनिकाल र बेरोजगारीको सीमान्त पीडामा अल्लल्लिएर उसले त्यो बाटो रोजेथ्यो ।

स्वस्थ, सद्दे अनि सारसौँदो शरीरमा गोलीका छर्रा बोकेर केही समय क्यान्टानमेन्टका टहरामा जीवन गुजार्यो । काखीमुनिको सानो घाउको कारण उसलाई घाइते अपाङ्गको कोटिमा वर्गीकरण गरियो । त्यही घाउको कारणले सैन्य समायोजन रोज्न पनि पाएन । घरबाट युद्धमा निस्किँदा रित्तो झोला बोकेर निस्केको थियो । झोलामा थियो भने एकजोर अर्धना कपडा सिवाय केही थिएन । दसवर्षपछि घर फर्किँदा रित्तो झोला बोकेरै घर फक्र्यो ।
समय शनैः शनैः आफ्नै गतिमा चिप्लिरह्यो । आफ्ना आँखै अगाडि विसङ्गतिका अनेकन दृश्यहरू हेर्यो । हिजो जाँडरक्सी खाने मनुवालाई भाटो तताई तताई भाटे कारवाही गर्ने आफ्नै सखा कामरेड अग्निधर आफैँ विहानदेखि जाँड धोक्ने घैलाधर भैसकेको थियो ।

केही साथीहरू कब्जा गरिएका जिम्दार मुखियाका जग्गामा घरेडी प्लटिङको नयाँ व्यवसायमा लागेका थिए । सुकुम्बासी वितराजनलाई घरबास दिलाउन झण्डा गाडिएका जग्गा धमाधम बिक्री गर्दैथे । एकजना चिनेको कामरेडले लाहान बैंक कब्जा गर्दाको पैसा मज्जाले नै लुकाउन भ्याएछन् । खुल्ला समाजमा आउने बित्तिकै चारतले महल ठड्याउन भ्याइहाले । कालो सिङ्गमरमर बिच्छ्याएर बनेको त्यस महललाई मान्छेहरू ‘रातामान्छेको कालो महल’ नामले पुकार्दछन् ।

उसका आँखामा अटाइ नसक्नु विसङ्गतिका दृश्यहरू छन् । ऊ दिनदिनै मलिन हुँदै गाएको छ । विपर्यास स्थितिले शिथिल र क्लान्त बन्दै गाएको छ । अक्सर दिनभरि नै घरमा झोक्राइ बस्छ ।

एकदिन उसको अवस्था देखेर बूढी आमाले भनिन् –“नानी ! तँसँगै हिँडेका मान्छे खुल्ला भएपछि कत्रोकत्रो उन्नति गरिसके । तँ चाहिँ घर मै झोक्री बस्छस् ।”

पर्णकुटीजस्तो घर देखाउँदै आमाले थपिन् –“यो घरको चुहुने छानो कहिले टाल्ने नानी ? म दमले सास फुलेर कही गर्न सक्तिनँ । बाउलाई बूढेसकालमा पनि हलोजुवाले छोडेन । आफैँ गानोका बिमारी छन् । ठाउँमा गएर उपचार गरूँ न त भन्दा पनि पैसा छैन …”

आमाका कुराले ऊ अक्क न बक्क भयो । उसको हृदयमा सपनाहरू धुलिसात हुँदै गएका दृश्यहरू आए । आफ्ना केही सहकर्मी साथीहरूका सपना भने लहलह फुलिरहेको पायो । आमाले तिनै साथीको उन्नति देखेकी थिइन् ।

मनमा एक संलाप उठ्यो –“जीवनका ऊर्वर आयूहरू बेक्काममा खेर फालेछु । बरु घरकै हलो जोतेर बूढा बाउलाई सुविस्ताका साथ बूढेस कालको जीवन आरामदायी राख्न सकेको भए जाति हुनेरहेछ । आमालाई रातदिनको घाँसदाउरा र ढिकीजाँतोमा सघाएको भए जाती हुनेरहेछ …”

यस्तै यस्तै केके सोच्यो, सोच्यो । ऊ दिन दिनै दिग्भ्रान्त बन्दै गएको छ । उसका सपनाहरू दिन परदिन भष्मिभूत हुँदाछन् । के सोच्यो पहिले के भयो अहिलेको, सङ्गीन स्थितिमा रिङ्गिरहेको छ । आज त्यही सपना जलेको खरानीको खण्डहरमाथि उभिएको छ । अझै पनि मेघदाजैसित चातक बनेर एकथोपो पानी बर्सिएला कि मनमनै याचना गरिरहेछ ।

शान्तिवार्ता पछि ऊ काखीमुनि घाउ बोकेर घर त फर्क्यो । तर, त्यसपछि उसको खोजीनीति कसैले गरेन । आफूले भूमिगतकालमा सुरक्षा दिएका, सेन्ट्री बसेका अनि रिपुदलको सङ्गीन आक्रमणबाट जोगाएका एकथरी नेताहरू निरन्तर सत्तामा छन् । पटकपटक मन्त्रीको पदमा आसीन छन् । एकादुईपटक कहीँ केही होला कि झिनो आशा बोकेर तिनीहरू कहाँ पनि पुग्यो । काम छउन्जेल भाँडो सक्किएपछि आफल तेरो ठाँडो भनेझैँ उसको दर्द र बेदनालाई कसैले सुनुवाई गरेनन् ।

उसले अरू धेरै कुरा आशा नराखे पनि शरीरमा गाडिएका गोलीका छर्रा निकाल्ने कुनै व्यवस्था मिल्थ्यो कि ? त्यसको लागि अलिबार दौडधुप गर्यो राजधानीमा । अहँ उसको पीडामा कसैले चासो दिएनन् । कसैले तत्परता देखाएनन् । राजधानी आएर उसले देख्यो, उनीहरू अब हिजोको दुःखमा छैनन् । आलिशान अटालीहरूमा छन् । महँगा मदिरालयमा छिरेका छन् । सुस्वादु भोजनालयमा भुजा ज्यूनार गर्न थालेका छन् । उनीहरू सुकुम्बासी होइन, हुकुमबासीको ओहोदा उक्लिएका छन् । महँगा गाडीमा हुइँकिएकाछन् । हेलीकप्टर र प्लेनमा देशविदेश शयर गरेका छन् ।

एकदिन सानो आशाको त्यान्द्रो समातेर कामरेड मन्त्रीकोमा पुग्यो । भूमिगत कालमा जसको केही समय ऊ अङ्गरक्षक पनि बनेको थियो । कैँयन मोर्चाहरू उसकै निर्देशनमा लडेको थियो । ऊ सामु गएर बिन्ती बिसायो –“दाङ लडेँ ! दुनई लडेँ ! सतबरिया लडेँ ! अर्घाखाँची लडे ! अरू ठाउँ लड्दा शरीरमा एउटा चोट पनि लागेन । तर रुम्जाटार लड्दा काखीमुनि गोलीले छेड्यो । गोलीका छर्रा करङमा गाडिएका छन् अझै । मेरो घाउको उपचार होस् हजुर ! यदि सकिन्छ भने राजीरोटीको सानो प्रबन्ध पनि होस् हजुर ! म काम गर्ने मान्छे सानोतिनो काममा पनि लगाइदिनुस् । घरमा रोगी बाआमा …”

उसले आफ्नो बह पोखी नसक्तै मन्त्री कामरेड टक्टकिँदै हिँड्न हतार गर्छन् र भन्छन् –“बुझेँ ! बुझेँ !! तिम्रा कुरा बुझेँ !!! पछि म तिमीलाई खबर गरूँला । अहिलेलाई जाऊ । अहिले उद्योगपति र निर्माण व्यवसायीको जरुरी मिटिङमा जानुछ मैले ।” यति भनेर ऊ कारमा चढ्यो ।

ऊ भने कामरेड मन्त्रीलाई हेरेको हेर्यै भयो ।

ऊसितै मोर्चामा लडेका छापामार साथीहरू जो सैन्य समायोजनमा योग्य भएनन् । उनीहरू धमाधम विदेश उड्दैछन् । पूर्णमान र लालबहादुर कतार उडे । रनकेशर र दिलीप मलेसिया उडे । अग्निज्वाला, बसन्त र तिलकबहादुर साउदी उडे । मेखे, रामे र गमबहादुर बहराइन उडे । घरको अति दयनीय अवस्था हेर्यो । आमाको सहस्र चाउरी परेको मुहार सम्झ्यो र बाउको भारी बोक्ताबोक्ता धनुझैँ कुप्रिएको ढाड सम्झ्यो । उसका आँखा अनयास निचोरिए ।

हृदयमा एक सङ्कल्पको धुन बज्यो –“आ केटा, यसै भएन उसै भएन जा विदेश । कम्तीमा केही कमाइ त हुन्छ । घरमा बसेर त झन् ऋणमाथि ऋण बढाउनुमात्र छ । कम्तिमा तीनचार वर्षमा आठदस लाख कमाएर ल्याउन सकियो भने त्यो पूँजीले सानोतिनो व्यापार व्यवसाय गर्न सकिन्छ । बूढा बाउआमाका आँसु पुछ्न सकिन्छ । त्यसपछि बिहे पनि गर्नुछ । घरबार पनि बसाउनुछ ।”

यही धुनबाट निर्देशित भएर पासपोर्ट बनाउन एकडेढ महिना जिल्ला सदरमुकाम धायो । भीसाको लागि आवेदन गर्न एकाध महिना म्यानपावर कम्पनीमा धायो । वैदेसिक रोजगारीमा जानको लागि पनि स्वास्थ्य जाँच र निरोगिताको प्रमाणपत्र बनाउनुपर्ने रहेछ, सो विषयमा उसलाई त्यति धेरै जानकारी थिएन । चिकित्सककोमा गएर स्वास्थ्य रिपोर्ट बनाउनुपर्दोरहेछ । उसलाई मनमा झस्का परिहाल्यो–शरीरभरि गोलीको छर्रा छ । काखीमुनि सानो घाउ छ । घाउमा रुवाको सानो पट्टी टेप लाएर टाँसी आएको छ विगत केही वर्षदेखि नै । दुखाइ बढ्दा पेनकिलर खाइआएको छ । घाउ धेरै पाक्न खोज्यो भने एन्टिवायोटिक्सको डोज लिँदै आएको छ ।

यस अवस्थामा कतै वैदेशिक रोजगारीको लागि अयोग्य हुइँने त होइन । मनमा शङ्का उठ्छ । विचलित बन्छ । उसले आफ्नो मर्का म्यानपावरको दलाललाई सुनाउँछ । उसले थप पैसा माग गर्यो । डाक्टरलाई थप पैसा दियो भने सबै रिपोर्ट मिलाइहाल्छ, चिन्ता लिनुपर्दैन भनेपछि ऊ ढुक्क भयो । नभन्दै मेडिकल रिपोर्ट राम्रै बन्यो । उसले थप पैसा पनि राम्रैसति बुझायो ।

बाआमाको मुहारमा खुशी ल्याउने सपना बोकेर ऊ एकदिन खाडी मुलुकतिर उड्यो । विदेश नजानुको अर्को विकल्प पनि थिएन ऊसित । घरमा जति लामो बसाइ भयो, त्यति नै सीमान्त निराशाको दलदलमा भासिएर डिप्रेशनको शिकार हुने सम्भावना बढ्दै गएको थियो । घरबारी साहुकोमा राखेर सयकडा पाँचको कपाली तमसुक बनाएर ऊ अरब उड्यो ।

ऊ अहिले जमेलियाको मरुभूमिमा भेडा चराउँदैछ । हुन त उसलाई म्यानपावरको एजेन्टले मजरामा सजिलो काम छ भनेको थियो । मजरा अर्थात् बगैँचामा फूल रोप्ने, फूल गोड्ने, फूलमा पानी लगाउने काममा आएको हो । तर जब ऊ दोहाको विमास्थलमा उत्र्यो । सिधै सेखको एजेन्टले उसलाई जमेलियाको मरुभूमिमा पुर्यायो । के को मजरामा काम पाउनु ? तप्त बालुवैबालुवाले भरिएको रेगिस्तानमा भेडिगोठालो बनेको छ । ऊ मात्र होइन, ऊजस्ता लाखौँ नेपाली दाजुभाइहरू त्यो तप्त रेगिस्तानमा बाल्टिनका बाल्टिन पसिना पोखिरहेका छन् ।

आफूसँगै युद्धमा हिँडेको एक छापामार साथी यही मरुभूमिमा सुत्केरी ऊँटको स्याहार गरिरहेछ । अरू चार जना साथी सेखको घाँसे बगैँचामा घाँस काटिरहेका छन् । उनीहरूले दिनको चार पाँच ट्र्याक्टर घाँस काट्नुपर्छ । उनीहरूको मनमा औडाहा खेल्छ –“नाथे यो घाँसै काट्नु थियो भने त आफ्नै देशमा काटेको भए पनि हुन्थ्यो । पचास डिग्री तातो गर्मीमा उसिनिएर काम गर्दा पनि मासिक सातसय रियाल तलव हँदैन । वर्मा गयो कर्मसँगै भनेझैँ दुखियालाई जहाँ गए पनि दुःखै लेखिएको हुँदोरहेछ । यति दुःख गरे अनुसार त्यही अनुसार पारिश्रमिक रकम पाए त ठिकै थियो । सालभरिको जोरजम्मा गर्दा पनि लाख पुग्दैन ।”

गर्मीले हपहपी पाकेर ऊँटको बथानमा गोबर सोहोरिरहेको हर्कसेरलाई उसले भन्यो –“घरै पिँडालु बनै पिँडानु ससुराली गयो बाह्र हातको पिँडालु भयो रेगिस्तानको जिन्दगी !”

हर्कशेरले सही थाप्यो –“हो नि, गाउँमा कति घाँसदाउरा गर्नु, कति गोबर घसेटो गर्नु, सुखकै काम पाइएला भनेर यता आइयो । केही न केही । न सुविस्ताको काम पाइयो, न त राम्रो तनखा नै पाइयो । तावाबाट खसेको माछा भुङ्ग्रोमा परेजस्तो भैयो ।”

यिनीहरू गफ गरेको दृश्य उताबाट मुदिर (मालिक) ले आँखा तरेर हेर्छ । यो विरानो मुलुकमा न भाषा जानेको छ, न नियम कानुन जानेको छ । हरिमुस्ले मुदिर देख्ने बित्तिकै सातोपुत्लो उड्छ । एक किसिमको भय र आतङ्कबीच समय गुजार्नु परेको छ ।

मरुभूमिको दुर्दान्त स्थिति वर्णन गरी साध्यै छैन । भित्र करङभित्र घाउ टनटन दुखिरहन्छ । दुनियाँ सामु त्यो घाउ लुकाएको छ । भित्र घाउ बोकेको छ तर पनि बाहिरी दुनियाँमा सही सलामत रहेको अभिनय गरिरहेको छ । घाउ पाकिरहन्छ गजगजी । रुवाले घाउको मुख टालेको छ । यता घाउ टन्किन्छ । उता वृद्ध मातापिताको मुहार सम्झिँदा भित्रभित्र मुटु टन्किन्छ । उसका सपनाहरू घाइते छन् । विपनाहरू घाइते छन् । करङमा मात्र होइन मनमा पनि कहिल्यै निको नहुने घाउ खोपिएको छ ।

रेगिस्तानी भेडीगोठालो न हो । प्रत्येक दिन भेडा चराउन लैजानुपर्छ । प्रचण्ड अग्निज्वाला ओकलेर घाम लाग्छ । मुदिर (मालिक) ले प्रत्येक दिन एउटा छाता दिन्छ । दिनभरिको राप र तापले बेलुका त्यो छाता डढेर खरानी हुन्छ । आफ्नो देशमा त एउटा छाता चारपाँच वर्ष ओढेको याद आउँछ । दिनमा एउटा छाता घामको रापले खरानी मात्र हुन्न । उसको त्यति बाक्लो केस, तालु आधीउधी खुइली सकेको छ ।

मरुभूमिमा काहीँ काहीँ पोथ्रापोथ्रीयुक्त सानो सानो जङ्गलजस्तो झाडी हुँदोरहेछ । त्यस्ता झाडीलाई एज्वा (जङ्गल) भनिँदोरहेछ । हरेक दिन भेडाको बथान त्यही एज्वामा लानुपर्छ । बेलुका भेडीगोठमै बास हुन्छ । भेडीगोठलाई त्यहाँको भाषामा खेमा (गोठ) भनिँदो रहेछ । टुकीको मलिन उज्यालोमा खाना खाएर सुस्ताउँछन् । कहिलेकाहीँ खेमा (गोठ)मा मुदिर (मालिक) आउँछ । उनीहरूलाई राशनपानी ल्याइदिन्छ । कामको रेखदेख गर्न आउँछ । कुनै बेला त एकदुई दिन खेमामा बस्छ ।

ऊ आउँदा बस्ने खाने छुट्टै तम्बू छ । मालिकको तम्बूमा जेनेटर छ । त्यो चलाएर रातभरि उज्यालो छर्छ । पङ्खा चलाउँछ । उनीहरूको तम्बूमा भने सानो टुकी र फुटेको लालटिन मात्र छ । मालिक पङ्खाको हावा खाएर मसमसी सुतिरहेको बखत उनीहरू गर्मीले हपहपी पाकिरहेका हुन्छन् ।

रात्रिको उखरमाउलो गर्मीको पीडा सहन नसकेर गोठको अर्को साथी मगर कान्छाले रोषमिश्रित व्यङ्ग्य पोख्छ – “कोही त भने जहाजमा हरर कोही त भने पसिना तरर भनेको यही होला नि दाइ !”

“ठीक भन्यौ कान्छा ! हाम्रै हविगत देखाउन त्यो गीत रचना भएको हो । आफ्नो देशको चीसो हावापानी सम्झिँदा पनि रुन मन लाग्छ ।” ऊ मगर कान्छाको कुरामा सही थाप्छ ।

“तपाई त लडाकु योद्धा ! बेकारमा यो पापी च्यानमा आउनु भा’को । यस्तो तल्लो दर्जाको काम गर्न ।”

मगर कान्छाको कुराले मुटुमै शूल उठ्छ । अनि मनको तितो पोख्छ–“हो नि भाइ । थोरै रहरले आएको हुँ र बाध्यताले आएको हुँ । मजस्ता हजारौँ योद्धाको पसिनाले आज यो रेगिस्तानमा मरुद्यान फुलिरहेको छ । सिमित नेता र टाठाबाठा भने देशमै विलासको जिन्दगी बाँचिरहेका छन् । हाम्रा सपनाहरू काँच्चै चबाए कान्छा ! काँच्चै चबाए !!”

“हो दाइ ! कसैलाई सत्तासुखको स्वर्गमा पुर्याउने भर्याङ मात्र बन्नु भो तपाईहरू । केवल भर्याङ बन्नु भो ।”

“खोलो तर्यो, लौरो बिर्सियो गरी हाले, के गर्नु त ?” कुरा गर्दा गर्दै कतिखेर निदाए थाहा पाएनन् ।

दशैँ आउन दुई महिना बाँकी छ । ऊ देश छोडेर त्यस मरुभूमिमा आएको पनि दुई वर्षै हुन लागेको छ ।

एकाबिहानै आमाको फोन आयो । आमासँग बोल्दाबोल्दै भित्रबाट भक्कानो छुट्छ ।

“सन्चै त छस् नानी तँ !”

“ठीक छ आमा ठीक छ । आमा !! धेरै चिन्ता नलिनू म दशैँसम्म निस्किन्छु ।”

ऊ धेरै बोल्नै सक्तैन । आमाले काम कस्तो छ भनेर सोध्नु भएकोथ्यो । उसले केही जवाफ दिनै सकेन । मजरा (बगैँचा) मा फूल गोड्ने माली काममा आएको ऊ एज्वामा भेडी चराइरहेको छ । यस कामको बारेमा आमालाई बतायो भने उहाँ कति दुःखी हुनुहोला भन्ने सम्झेर आमालाई आखिरमा राम्रो काम छ भनेर ढाँट्यो ।

म्यानपावर कम्पनीलाई मोटो रकम बुझाएर आएकोमा पश्चाताप र ग्लानी नभएको पनि होइन । तर ऊ विवशताको चङ्गुलमा यसरी फँसेको छ । हाललाई चुपचाप स्वीकार्नु सिवाय कुनै अर्को उपाय देख्तैन । यता आउँदा आठ घण्टाको ड्यूटी गर्नुपर्छ भनिएको थियो । तर चौधदेखि सोह्र घण्टा काममा पेलिनुपर्छ । तलव चाहिँ सातसय रियालभन्दा एकसुको बढी पाउँदैन । त्यसैबाट खानु, लाउनु, कर तिर्नु परेको छ । मुस्किलले साहुको ऋण तिर्न चाहिँ साथीहरूसँग ऋणपान गरेर पठायो ।

ऊ सामु फेरि अनिश्चित भविष्यको तस्वीर ठिङ्ग उभिन थालेको छ । आफ्नो ऊर्वर जवानी कसैलाई सत्ताको हवेलीमा चढाउन खर्च गरेकोमा गहन ग्लानिबोध छ । आखिर साथीहरूले केको लागि त्यत्रो त्याग बलिदान गरेछन् त ? मृतक साथीहरूको यादमा तड्पिन्छ ।

आज शेख र मुदिरका मजरामा, खेमामा, एज्वामा ऊजस्ता लडाकु योद्धाका सपनाहरू कैदी बनेको दृश्यले भित्रबाटै छट्पटाउँछ । गरूँ के गरूँ, जाऊँ कहाँ जाऊँ, भनूँ कसलाई भनूँ, सुनाऊँ कसलाई सुनाऊँ । हृदयभित्र अनन्त बहका तरेलीहरू खातमाथि खात लागेका छन् ।

दुई वर्ष बितिसक्ता देश फर्किनलाई अलिअलि घरखर्च पनि जोरजम्मा हुन नसकेपछि उसले एकवर्ष म्याद थप्ने सोच बनायो । त्यसको लागि वैधानिक तवरबाट कागजी प्रक्रिया पूरा गर्नुपर्ने भयो । पुनः मेडिकल जाँच गर्नुपर्ने भयो ।

यता उड्दाखेरि चिकित्सकलाई थप पैसा दिएर जसरी आफू अनुकूल मेडिकल रिपोर्ट तयार गराएको थियो । यहाँ भने तोकिएको अस्पतालमा गएर शरीरको चेकजाँच गराउनुपर्ने भयो । ऊ भित्रभित्रै डराएको छ । उसले लुकाउँदै आएको घाउको कारण मनमा अनेकन शङ्काहरू उब्जिएका छन् । उसको शरीरलाई सिङ्गो एमआरआई मेसिनमा हालेर होलबडी चेकअप गरियो । रिपोर्टमा काखीमुनिको घाउको चित्र प्रष्ट देखियो । करङमा गाडिएका गोलीका छर्राहरू देखिए । मेडिकल रिपोर्टमा फेल भएकोले तुरुन्तै उसलाई नेपाल फिर्ता पठाइने भयो । आखिर मनमा जुन आशङ्काको बादल उठेको थियो, त्यही कुरा भयो । परिस्थितिको काबु बाहिर छ ऊ । उसको अनुकूलमा छैन समय । अब समयको तेजप्रवाहले जता बगाउँछ त्यतै बग्नु सिवाय अर्को गतिलो उपाय पनि छैन ऊसित । आखिर घाउ त थियो नै । जति लुकाए पनि, जति छोपे पनि घाउ त भित्रभित्रै गजगजी पाकिरहेको थियो । बाहिरबाट पट्टी र टेपले छेके पनि घाउ नै एक सत्य थियो । त्यही सत्यलाई मेडिकल रिपोर्टले आज बाहिर उजागर गराइदियो ।

एक मनले त यस अत्यास लाग्दो रेगिस्तानबाट मुक्त भएकोमा ठीक पनि लागेको छ । फेरि बूढा बाउआमाको सहस्र चाउरी खोपिएको अनुहार सम्झिन्छ । पीडा र बेदनाले छिनभरमै व्याकुल बन्छ ।

आफ्नो भयभरको झोलीतुम्बा पोको पारेर ऊ यतिखेर विमानस्थलको लगेज चेकिङ गर्ने लवीमा उभिएको छ । आफ्ना थोत्रामोत्रा कपडा कोचेको झोला छ एउटा । अनि आफूले ओड्न प्रयोग गरेको कम्बलको पोको छ एउटा । सँगै फर्किने नेपाली साथीहरूका डोरीले कसेका सुटकेसहरू छन् । बाक्साहरू छन् । ठूलठूला झोलाहरू छन् । कसैले कम्प्युटर, कसैले टेलिभिजन सेटसमेत किन्न भ्याएका छन् । कसैको लत्ताकपडा र गुन्टाको समेत भारी छ ।

ऊ भने निख्लाम नाङ्गो रूपमा देश फर्किंदै छ । छ भने ऊ भित्र एक नयाँ अनुभव र अनुभूतिको पहाड बोकेर देश फर्किंदै छ ।

“कुनै न कुनै उपाय गरेर सर्वप्रथम करङमा भासिएका गोलीका छर्राहरू निकाल्नु छ । त्यसपछि मात्र अगाडिको यात्रा तय गर्ने हो ।” एक अठोट उसको मनमा अनुगुञ्जित छ ।

आकाशमा उड्दाउड्दै मनको अर्को पाटोले हमला बोल्छ –“मेरी बूढीआमा ! मेरो बूढाबाउ ! छोराले विदेशबाट के ल्यायो भनी झोला खोल्लान् ? त्यसघडी यो कालो मुख कसरी देखाउने होला ?” मनमा घरी घरी तैरिने यस प्रश्नले उसलाई विचलित बनाउँछ ।

फेरि मनलाई समाल्छ –“आऽऽऽ !! आफ्नी आमा हुन् ! आफ्ना बाबु हुन् !! उनीहरू कुनै अज्ञानी मूर्ख प्राणी होइनन् । जे हाल भोगेँ, त्यो जस्ताको तस्तै बताइदिन्छु ।”

कतार एअरवेजको विमानबाट जुन समय ऊ आफ्नो देशको राजधानीमा अवतरण गर्यो; ठिक त्यही घडी युद्धकालमा उसले पालोपहरा र सुरक्षा प्रदान गरेको एक नेता श्रीमतीलाई सामान्य खोकीको उपचार गर्न सिङ्गापुर उडिरहेथ्यो । अर्को नेता पेट जचाउन प्लेन गढेर पेरिस हुइँकिँदै थियो ।

देशको माटो टेक्ने बित्तिकै मुटुको घाउ पनि दुख्यो । काखीमुनीको घाउ पनि टन्केर दुख्यो । आँखाबाट अनयास आँसुका बलिन्द्र धाराहरू चुहे । मातृभूमिको पाउमा शिर टेकायो । आँसु अर्पण गर्यो र भन्यो –“आमा !!! म अब तिम्रै चरणमा रहेर सङ्घर्ष गर्नेछु र तिम्रा आँसु पुछ्ने छु ।”