अध्याय नौ

अर्को दिन साँझ घोडाको बथान घरतिर फर्काइँदै थियो । घोडाहरूले आफ्नो मालिकलाई देखे । उसको साथमा कुनै पाहुना पनि थियो । झुल्दिबाले नै सबभन्दा पहिले उनीहरूलाई देखेकी थिई । त्यहाँ दुई जना उभिएका थिए । एक जना, जसले चोयाको टोप लगाइराखेको थियो, तन्नेरी मालिक थियो । अर्को अग्लो कदको मोटो चाहिँ मोन्ले फौजी वर्दी लगाइराखेको थियो । बुढी घोडी झुल्दीबाले उत्सुकतापूर्वक उनीहरूतर्फ आँखा तरेर हेरी र नजिकैबाट तर्केर हिँडी । अझै हुर्किनसकेका अरु बछेडाहरू लज्जाइरहेका थिए र धक मान्दै थिए । त्यतिखेर त उनीहरूलाई विशेष गरी लाज लाग्यो जब आफ्नो पाहुनाको साथमा उनीहरूको युवा मालिक सोझै उनीहरूको बीचमा आइपुग्यो र ती दुवै जना उनीहरूकै विषयमा समेत आपसमा कुरा गर्न लागे ।

“देख्नुहुन्छ यो घोडी ? यो कैलो रंगकी टाटेपाटे घोडीलाई मैले भोउइकोबाट किनेर ल्याएको हुँ !”-मालिकले भन्यो ।
“अँ, यो काली घोडी कहाँ किन्नुभएको नि ? त्यो क्या, जसको खुट्टा चाहीं घुँडामुन्तिर सेतो रङ्गको छ ? ज्यादै चिटिक्क परेकी छे !”-पाहुनाले भन्यो ।
उनीहरूले कैयौं घोडीहरूको जाँच गरे । घोडीहरूलाई दौडाइन्थ्यो र फेरि तुरुन्त टक्क रोकिन्थ्यो । आखिर उनीहरूको नजर खैरो घोडीमाथि पर्यो ।
“यो खेनोभो जातको सवारी घोडी हो !”-मालिकले भन्यो

उनीहरू सबै घोडाहरूको बेग्लाबेग्लै जाँच त गर्न सक्तैनथे । मालिकले नेस्तेरलाई डाक्यो । बूढाले हतारिंदै टाटेपाङरे हिजडा घोडाको जिउको पटोमा एैडीले जोडले हिर्कायो र दुलकी चालमा उसलाई उनीहरूको सामुन्ने ल्याइपुर्यायो । टाटेपाङ्ग्रे घोडाले दगुर्ने पूरापूर कोशिश गर्यो, यद्यपि उसको एक टाँग लडखडाइरहेको थियो । परन्तु उसको दगुराइबाट के स्पष्ट भइरहेको थियो भने उसलाई सकभर छिटो चालले संसारको अर्को छेउसम्म दगुर्ने आदेश दिइएको खण्डमा पनि उसले कुनै नाइँनास्ती गर्ने छैन । ऊ बडो शानसित टक-टक दगुर्न लालायित थियो र आफ्नो तन्दुरुस्त दायाँ टाँगको बलले यसरी दगुर्ने जमर्को पनि गर्दै थियो ।

“यसभन्दा उम्दा घोडी त तपाईंले रुसभरी कतै पनि भेट्टाउनुहुनेछैन । म खसोखास कुरा गर्दैछु है !”-एउटी घोडीतर्फ संकेत गर्दै मालिकले भन्यो ।” पाहुनाले पनि उसको प्रशंसामा एक-दुई शब्द भन्यो । मालिक कहिले यता त कहिले उता दगुर्दै निकै जाँगर लगाएर आफ्ना घोडाहरू देखाउँदै थियो र एक एक घोडाको वंशावली र इतिहास पनि बताउँदै थियो । सके पाहुनालाई यो सब कुरा वाक्क समेत लागिसकेको थियो । तर यस विषयमा आफ्नो ठूलो अभिरूचि भएको जस्तो भान परोस्‌ भनेर नयाँ नयाँ प्रश्न अजमाएर सोध्दै पनि थियो ।
“हँ हो र ?” ऊ अकमक्क परेर सोध्यो ।

पाहुनालाई वाक्कै लागिसक्यो भन्ने समेत मालिक चाहिंलाई कत्ति पनि होश थिएन । ऊ त आफ्नै सुरमा भन्दैगइरहेको थियो-“यतातिर त एक नजर दिनोस्‌ ! अँ, उसको टाँग त हेर्नोस ! यसको लागि त मोटै रकम तिर्नुपरेथ्यो । यसैको तेस्रो बेतको बछेडा त अहिले दगुर्दैछ !”
“राम्रो दगुर्छ के ?”-पाहुनाले भन्यो ।

यसरी नै एकपछि अर्को घोडाको चर्चा हुँदैगयो । कहाँसम्म भने उनीहरूले सबका सब घोडाहरूको बखान गरिसिध्याए । अब बताउने र देखाउने कुनै कुरा बाँकी रहँन गएन । केही बेरको लागि दुवै जना चुप लागे ।
“लौ त, गइहालौं ?”
“हो, जाऔं !”

दुवै जना ढोकाबाट बाहिर निस्किए । यो प्रदर्शनी समाप्त भएकोमा पाहुनाले हाइसन्चो मान्यो । अब उनीहरू घरभित्र पस्नेछन्‌, त्यहाँ बसेर केही खानपिन गर्नेछन्‌ र चुरोटको सर्को तान्नेछन्‌ । तसर्थ ऊ केही प्रसन्न समेत देखियो । उनीहरू अगाडि लम्कँदै टाटेपाङरे घोडाको बगलमा पुगे । नेस्तेर कुनै अरु अह्रोट-पह्रोटको प्रतीक्षा गर्दै त्यसैमाथि चढेर बसिरहेको थियो । त्यतिखेर पाहुनाले आफ्नो थसुल्लो हत्केलाले टाटेपाङरे घोडाको पुट्ठामा थपथपायो ।

“अहो, कस्तो रङ्गीचङ्गी घोडा रहेछ !”-उसले भन्यो ।-“कुनै जमानामा मसँग पनि एउटा टाटेपाङरे घोडा थियो । मैले तिमीलाई त्यसको बारेमा बताएको पनि थिएँ । सम्झना त छ होला नि?”

आफ्नो घोडाहरूको बारेमा कुरा चलिरहेको नहुँदा मालिकले यस टिप्पणीतर्फ ध्यानै दिएन । ऊ त फर्कीफर्की आफ्नै घोडाहरूको बथानतर्फ हेर्दै थियो ।

एकाएक ऊ झसङ्ग भयो । एक कमजोर, भद्दा र कर्कश आवाज उसको कानमा पर्यो, मानौं कुनै घोडाले हिनहिनाउने प्रयास गरिरहेको होस्‌ ! हिजडा टाटेपाङरे घोडाले हिनहिनाउन शुरु गरेको थियो तर ऊ अकमक्क परेर बीचैमा चूप लाग्यो । न पाहुनाले न त मालिकले नै उसतर्फ कुनै ध्यान दियो । ती दुवै जना घरभित्र पसिहाले । खोल्स्तोमेरले त्यो मोटो मान्छेलाई चिनिहाल्यो । त्यो वृद्ध थियो- उसको त्यही पुरानो मालिक सेर्पुखोभ्स्की कुनै जमानामा धनी र सुन्दर पनि थियो ।