“धत् लाटा ! छोरा मान्छे भएर पनि यसरी आँसु तुरुक्कै चुहाउनु हुन्छ त ? न रो । चुप् चुप् ।”
दायाँ हातका औँलाले ल्वाप्पाको सङ्केत गर्दै सर्वजित प्रधानले गिज्याएपछि ओमले टिलपिल गर्दै आँखाका डिलबाट झर्नै लागेका आँसुलाई कमिजका बाहुलाले सरक्क पुछ्यो ।
“हुन पनि यति धेरै मान्छेका अगाडि आँसु खसाल्नु त भएन नि मैले ?” उसले मन दरो बनाउने प्रयास गर्दै रुन्चे हाँसो निकाल्न खोज्यो, तर सकेन । आफ्नो आँगनमा जम्मा भएर खलबल गरिरहेका प्रत्येक मानिसका अनुहारहरू नियाल्यो । आफ्नो कान्छो भाइ रमेश, जो छ वर्षमा उक्लँदै गरे पनि तोतेबोलीमै संवाद गर्थ्यो, उसको अनुहारमा पुलुक्क हेर्यो । रमेश जिल्ल परेर उभिइरहेको थियो । घरी पिँढीमा गएर थचक्क बस्थ्यो घरी उठेर यताउता गर्थ्यो । उसले कमिजका टाक दाँतले टोकेर एकोहोरो छिनालिरहेको थियो ।
उसले एकाएक परिवर्तन भएको आफ्नो घरको परिस्थितिको बारेमा छेउटुप्पो बुझेको थिएन ।
“यति धेलै मान्छे हाम्मो घलमा किन जम्मा भएका दाइ ? यी मान्छेहलु हामीलाई हेलेल किन लोएका होलान् ?” ओमलाई अबोध आँखाले प्रश्न गरिरहेको थियो उसले ।
यशोधा ओम र रमेशकी एक मात्र बहिनी । उसले भर्खरै तोतेबोलीमा संवाद गर्न सिक्दै छे ।
“कठै यी चिचिला ! त्यो फुच्ची यशोधा चाहिँ फाल्गुनमा चार मात्र पुगी । ठूलो चाँहि आउँदो मङ्सिर १२ गते १३ वर्षको हुन्छ । कान्छो छ वर्षको पुग्दै छ । यति कलिला केटाकेटी के गर्लान् अब ?”पल्लो गाउँबाट आएका महिलाहरूसँग कुरा गर्दै थिइन् कमला । कमला ओमकी सानीआमा हुन् । बाले एकै वर्षमा दुई श्रीमती भित्र्याएको कथा सुनेको थियो ओमले । सानीआमाको घर अलिक माथि डाँडोमा थियो । उनका चार सन्तान छन् । ओम आमाको पहिलो सन्तान र बाबुको दोस्रो सन्तान हो । सुबोधले घरमा दुइटी श्रीमती भित्र्याएपछि बाबुले नै दुवै बुहारीलाई अंशबण्डा गरिदिएका थिए । सुबोध ओमका बाबु एक महिना जेठीसँग एक महिना कान्छीसँग बस्थे । ओमका बाबु सुबोध प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । उनी एक हप्ता अगाडि कामको सिलसिलामा काठमाडौँ गएका थिए ।
रातीभरि पानी पर्यो अहिले पनि हावा लाग्न छोडेको छैन । मध्यपश्चिमको एउटा सानो गाउँ जहाँ क्षेत्री ब्राम्हणको बाहुल्यता छ । अधिकांश मानिसहरूको पेशा भनेको खेती किसानी नै हो । यहाँका मानिसहरू दयालु छन्, सहयोगी छन्, मर्दापर्दा सबै गाउँले एक ठाउँमा हुन्छन् । एक अर्कालाई सरसहयोग गर्छन् । आज सुवोधको घरमा सबै जम्मा भएका छन् । गाउँलेहरूले सुबोधलाई मास्टरसाव भनेर सम्बोधन गर्छन् । रातभरि परेको पानीले बाटो बिग्रिएको छ । जिल्लाको सदरमुकामसम्म पनि बाटो पुगेको छैन । मान्छेहरू बाहिर जानुपर्ने भयो भने सल्यान जिल्लामा पुग्नुपर्ने बाध्यता छ । आकाशमा उड्ने हवार्इ जहाजको पनि कुनै टुङ्गो हुँदैन । पानी पर्यो हावा चलेको हप्तादिनसम्म हवार्इ जहाज आकाशमा देखिँदैन । हप्तामा एकपल्ट झर्ने हवार्इ जहाज आउने आज पालो त हो तर खोइ आउँछ आउँदैन पत्तो छैन । मास्टरसाबलाई चिठी पठाएर कहिले पुग्ला ? सदरमुकाम गएर आवा गरिदेऊ गाउँलेहरू एकआपसमा कुरा गर्दै थिए । यशोधालाई यहाँ नराख दुर्इ तीनटी मिलेर उसलाई कतै लिएर जाऊ । यहाँको दृश्य उसले नदेखोस् विचरी सानै छे ऊ यस्तो कुरा बुझ्न सक्ने भएकी छैन, मन डोलाउँछे जिपाल्नी बज्यैको कान्छी र मैनालाई आदेश थियो यो ।
कान्छी र मैना यशोधालाई बोकेर पल्लो गाउँतिर लागे । “ओर्इ कान्छी हेर त हवार्इ जहाज आयो क्या हो ?” हातले सूर्यको प्रकाश छेक्दै मैनाले भनी । हो त हवाइजहाज नै हो मास्टरबाजे आउनु भो कि ? “आएको भए त हुन्थ्यो नि घरमा बलियो मान्छे कोही छैन ससाना केटाकेटी मात्र घरमा छन् । दैव पनि कति निष्ठुरी हुन सकेका है जो राम्रो उसैलाई लिदो रहेछ । अब यी केटाकेटीले के गर्लान् कसरी खालान् ? जिन्दगी के रहेछ र मैना” लामो सास फेर्दै कान्छीले भनी । “हाम्ली आमा खैत कान्छी दी ?” पिठ्युमा बुई चढेकी यशोधाले तोते बोलीमा सोधी । “तिम्री आमा बिरामी हुनुहुन्छ त्यसैले अस्पताल औषधी ल्याउन जाने रे । हेर त आमालाई लिन ऊ त्यो हवार्इ जहाज आएको छ” कान्छीले आकाशमा उडेको हजार्इ जहाजतिर औँलाले देखाउदै भनी । “त्यतो भए आमा कैल आउछिन् त ?”
” यही हवार्इ जहाजले भोलि ल्याइदिहाल्छ नि किन पीर गरेकी ? बरु तिमी नुनु गर ।” मैनाले यशोधाको टोपी मिलाइदिँदै भनी ।
वरपरको तीन गाउँ सुनिने गरी दमाहा बज्यो । बाटोमा दमाहा बोकेका मान्छे देखेपछि यशोधाले सोधी “मैना दिदी यो के गरेको ?” आँखाका डिलमा पुगेका आँसु पुछ्दै मैनाले भनी “गाउँमा चोर आएका छन् रे चोर धपाउन दमाहा बजाका हुन् तिमी आँखा चिम्म गर” । “नार्इँ के अघि भर्खर त म आमासँग नुनु गरेको अब गर्दिनँ ।” (हिजो आमासँग सुतेकी यशोधालाई के थाहा कि अब ऊ कहिल्यै आमासँग सुत्न पाउने छैन)
निकै लामो समयदेखि बिरामी परिरहेकी बिमला आफैँले धामी झाक्री बैद्य डाक्टर अस्पताल धाएकी थिइन् उनलाई के भएको हो कसैले पत्ता लगाउन सकेको थिएन । जिउ सुक्दै गएको थियो । एक महिना अघि श्रीमानका साथ काठमाडौँ गइन् र उनलाई ब्लड क्यान्सर भएको डाक्टरले पत्ता लगाएछन् । यो कुरा उनी आफैँलाई पनि थाहा थिएन । एक हप्ता अघि मात्र अब म सञ्चो भइसकेँ भन्दै काठमाडौँबाट घर आएकी बिमला अस्ति रातीदेखि फेरि बिरामी परिन् हिजो राती छोरी यशोधालाई काखी च्यापेर सुतेकी थिइन् र आज बिहानै उनले यो धर्ती छोडिन् । अत्यन्त दयालु मिलनसार बिमलाको निधनले सम्पूर्ण गाउँलेहरू शोकमा थिए । उनको निधनको खबर सुनेर बिहानै तीन गाउँका मान्छे जम्मा भएका थिए ।
यता घरमा लासलाई घाटमा लैजाने तयारी गाउँलेहरूले गरे, ओम र रमेशको कपाल खौरिदिए । रमेशले आफ्नो टाउको छाम्दै भन्यो “मेरो यति राम्रो कपाल किन काटिदिएका दाइ ?” तोरीको तेल लगाएर आमाले लरक्क लर्कने बनाइदिएकी छन्, काट्दिन भन्दा भन्दै जबरजस्ती काटिदिए यी माइलाबाले । “रमेश ! आमाले बनाइदिएको कपाल आमालाई नै हामीले दिएका हौँ पीर नगर कपाल फेरि आइहाल्छ नि” रमेशलाई सम्झायो ओमले ।
घरमा यत्रो दुख परेको बेला काध थाप्ने बलियो खम्बा पनि छैन । काका बिरामी परेर सल्ले अस्पतालमा भर्ना हुनुभएको छ । बा कहिले आउनुहुन्छ होला ? आजै आए त हुन्थ्यो नि । किन ढिला गरेको होला बाले थाहा पाउनु भएको होला कि छैन होला । ओमलाई आफ्ना बाप्रति पनि रिस उठयो । आमालाई एक्लै काठमाडौँबाट नपठाइदिएको भए पनि त हुन्थ्यो । आमा घर नआएको भए यस्तो हुँदैनथ्यो कि ? बा आफू पनि सँगै आउनुपर्छ नि ।
आँगनमा चिरनिद्रामा सुतेकी आमातिर हेर्यो “के हाम्रो बत्ती निभेकै हो त? ममताको द्वार सुकेकै हो त ? आशा भरोसाको केन्द्र टुटेकै हो त ? हाम्रो धर्ती भासिएकै हो त ? हाम्री आमा अब नउठ्ने गरी निदाएकै हुन् त ?” ओमले आमाको अनुहार हेरिरह्यो । निधार छाम्यो मुटुको स्पन्दन सुन्यो । अहँ चलेका थिएनन् हातगोडा बन्द थियो, मुख खुलेन,, आँखा खुलेनन् । आमा हिजो मात्र यो कपाल छोएर सुम्सुमाएकी थियौँ अब रहेन मेरो कपाल उठेर हेर न, एकपल्ट मेरो टाउकोमा हात राख न, उसले आमाका हात चलाउन थाल्यो । एकपल्ट उठ न आमा उसले मनमनै चिच्यायो । रोक्न सकेन आँसु र दौडेर शौचालयमा छिर्यो र रुन थाल्यो । आमा कसरी जान सक्यौ तिमी एक्लै हामीलाई छोडेर दुध खाँदै गरेकी यशोधालाई के भनेर सम्झाऊँ मैले तिमी नभै नसुत्ने रमेशलाई कसरी सुताऊँ मैले । यो घर व्यवहार कसरी चलाऊँ मैले । हाम्रो धर्ती, आकाश, घरको छानो, मियो सबै सबै तिमी नै त हौ आमा अब हामी कसरी बाँच्ने । सानीआमाले तिमी हुँदा त हामीलाई हेला गर्थिन् अब झन् के होला ? हाम्रा बाले हामीलाई कहिल्यै माया गर्दैनन् । हामीसँग बस्दैनन् अब झन् के गर्लान् तिनले । छाती पिटी पिटी ओम रुन थाल्यो कसैले नदेख्ने शौचालयमा गएर । जहाँ उसले झरेका आँसुलाई बगाउन सक्थ्यो । छोरा मान्छे भएर रुन्छन् भन्नेहरू थिएनन् त्यहाँ । आफूले नखाएर भोकै बसेर, छोराछोरीलाई खुवाएर सुतेकी आमा आँखा अगाडि आइरहिन् । बाहिरबाट कसैले बोलाएको जस्तो लाग्यो र छिटोछिटो आँसु पुछ्यो ।
आमाको अन्तिम दाहसंस्कार गर्न मुग्लु खोला लगियो । गाउँलेहरूले ठूलो सहयोग गरे । ओमका बाबु आइपुगेका थिएनन् । दागबत्ती दिने बेला भयो । रमेशले बल्ल थाहा पायो । उसले आमाको शरीरमा आगो लगाउन दिएन । आमालाई पोल्छ दाइ आगो किन लगाइस् भनेर रुन कराउन थाल्यो। गाउँलेहरूले उसलाई फकाए । अब आमा फर्केर आउदिनन् मरेका लाशलाई नडढाइ हुँदैन, बाबु यो त प्रकृतिको नियम नै हो । यो कुरा तिमी ठूलो भएपछि बुझ्छौ भागवत सरले सम्झाए । उसले भागवत सरलाई चिन्दथ्यो उनले भनेको मान्थ्यो पनि ।
आमाको दाहसंस्कार सकेर घर पुग्दा ओमका बाबु आइपुगेका थिए । ऊ बालाई देखेर झन् रोयो । सुबोध पनि छोराहरूको त्यो अवस्था देखेर आफूलाई सम्भाल्न सकेनन् र डाको छोडेर रोए । १३ दिनपछि काजक्रियाको काम सकियो । सुबोधले सबै परिवार एकै ठाउँमा राख्न खोजे । ओमले भन्यो “हुँदैन बा हामी सधैँ एक्लै बस्यौँ । आमाले जति दुख कष्ट गरेर यो घर सम्भालिन, हामी यो घर टुट्न दिन्नौँ । यो घरमा बस्दा आमा हामीसँगै छिन् भन्ने लाग्छ त्यसैले हामी एक्लै बस्छौँ” भनेर अड्डी कस्यो । सुबोधले जति नै सम्झाए पनि उसले मानेन । गाउँलेहरूले सम्झाउँदा पनि नमानेपछि ठिकै छ ओमले जे गर्छ गर्छ भनेर छोडिदिए ।
ससाना भाइ बहिनीको जिम्मेवारी आफ्नो काधमा बोकेर पढ्दै थियो ओम । दुख सुख गरेर दुई वर्ष बित्यो । एकदिन पिँढीमा बसेर ओम र रमेश गृहकार्य गर्दै थिए । यशोधा बाटोतिर तन्केर हेर्दै थिई उसले बटुवालाई मुन्टो तानी तानी तन्केर हेरेको ओमले देख्यो र सोध्यो “यशोधा आँखा झिम्म पनि नगरी के हेरेकी त्यसरी ?” बाटोतिर दौडिरहेका आँखालाई दाइतिर फर्काएर यशोधाले भनी “हेर न दाई हवार्इ जहाजले आमालाई लगेर गएको धेरै भयो अहिलेसम्म ल्याइदिएन । कान्छी दिदीले भोली ल्याइदिन्छ भन्थिन् तर कतिओटा भोलि भैसके आमा खोइ त ? बाटोमा आमा आउछिन् कि भनेर सधैँ हेर्छु तर आमा आइनन् ।”
यशोधा …..बोल्दा बोल्दै ओमको गला अवरुद्ध भयो र कापेको स्वरमा भन्यो हाम्री आमा त अब कहिल्यै नफर्कने बाटोबाट गएकी हुन् यशोधा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।