Chovar Blues Mobile Size

कुन देश कस्तो छ भन्ने कुरा बुझ्न मात्र त्यहाँको आर्थिक, सामाजिक र प्राकृतिक पक्ष मात्र गहन रूपले अध्ययन गरे समग्र विषयहरू पत्ता लगाउन सजिलै सकिन्छ । यस्तै अनियन्त्रित बोली र गतिजस्तै नेपालको बिग्रेको नीतिले दर्दमा देह त्याग गरेका एक युवको कथा सुनौँ ।

देशको नीति नियम र मान्नेहरू सबै मिल्दोजुल्दा थिए। यो कमजोर राज्य व्यवस्थाले देश विकास, राष्ट्र र राष्ट्रियता, धर्म निरपेक्षता र मानवताजस्ता पक्षहरू खोक्राउँदै थिए । बोल्नको लागि स्वतन्त्रता अनि लुट्नेदेखि मार्नसम्मको अवस्था, जहाँको देश सञ्चालक व्यक्तिहरू राणाहरूको अवशेषजस्तै थिए। एक्काइसौँ शताब्दीतिर जन्मेको म जस्तो अधिकार चाहन्थेँ, स्वतन्त्रता चाहन्थेँ, अनिवार्य आवश्यकताहरू चाहन्थेँ । देशको एक परिपक्व जनशक्ति भएर काम गर्न चाहन्थेँ, सम्पूर्णमा खुसी छर्न, स्वस्थ्य सुविधासाथै देशप्रतिको जिम्मेवारी बोक्न चाहन्थेँ तर यहाँको अवस्था देख्दा सबै भोका, नाङ्गा, जिम्मेवारीबाट भाग्ने खालको मात्र देखिन्थ्यो। यसको मूल कारण व्यवस्था र अवस्था खराब थियो । माथिल्लो निकायमा हुनेहरूको चरित्र खराब थिए । आहा ! स्वर्गको एक टुक्रा नेपाल जहाँ मजस्ता करोडौँको जन्म भयो । कुनै विदेशीले आउनसाथ कसैले सोध्नसाथ भन्छौ, हाम्रा ती हिमाल, हाम्रा ती प्राकृति सौन्दर्य, हाम्रा ती ऎतिहासिक कथा, प्राकृतिक सौन्दर्यसाथै मानव निर्मित सम्पदाहरू, बहुभाषा, बहुधर्म, बहु जातीय के के हो ? के के ? अनि उनीहरू लोभिन्छन् ।

यदि म पनि यस्ता स्वर्गजस्तो देशमा जन्मेको भए, कति आनन्द हुन्थ्यो ? तर ती विचरहरूलाई के थाहा ? हाम्रा दु:ख वेदना जसले एक छाक राम्ररी खान नपाएरै मर्नु पर्ने कुरा, उनीहरूलाई के थाहा ती जातीय विभेद, वर्गीय असमानता, कुसंस्कार, कुरिती, अन्धविश्वास र ती जगेर्ना गर्न नसकेको ती जनावर, पशुपन्छी, प्राकृतिक सम्पदाको बिचल्ली, सबैभन्दा लाजमर्दो कुरा त कुनै व्यक्तिको जन्मसँगै उसको पारिवारिक ऋण त कति हो कति । ऊ पृथ्वीमा टेक्नसाथ, चालीस पचास हजार सरकारको ऋण बोकेर जन्मिनुको पीडा, जुन कुरा एकादेशको काल्पनिक तथा पौराणिक कथाभन्दा कम हुने छैन ।

एक निम्न वर्गीय परिवारमा जन्मेको मङ्गले, नेपालको राजधानी नजिकैको, एक दुर्गम गाउँमा जन्मेको थियो। जसोतसो विभिन्न छात्रवृत्ति र संघसस्थाको सहयोगमा उसले माध्यमिक शिक्षा पूरा गरेको थियो । सामान्य परिवारमा जन्मेको, उसको लागि त्यति गर्नु भनेको सगरमाथाको टुप्पमा पुग्नु जत्तिकै कठिन थियो । आर्थिक स्तर कमजोर, पारिवारिक चेतना कमजोर, पढेर भएभरको पैसा सिध्दिने डर, पढेर कुनै जागिर नपाउने डर, पढेर कुनै उपलब्धि नहुनेजस्ता अनेक भयले उसको शिक्षामा पूर्णबिराम लाग्यो । समाजले त्यस्तै भय देखाउँथ्यो । काठमाडौँदेखि यति नजिकैको समाज किन यति पछाडि छ भन्नेमा प्रश्न उठ्थ्यो, अचम्म लाग्थ्यो । जे भए नि शिक्षा बिना जीवन अधुरो हुन्छ अन्धकार हुन्छ भन्ने परिभाषालाई सार्थक मानेर, उच्च शिक्षा पढ्ने रहर मङ्गलेको थियो तर रहर गरेर मात्र सबथोक हुँदैन रहेछ । त्यसको लागि पैसा चाहिँदो रहेछ, पैसा हुन धनीको कोखमा जन्म लिनुपर्दो रहेछ ।

सुमन घिसिङ

त्यसैले परिवारलाई खुसी पार्ने र आफ्ना केही आवश्यकताहरू नेपालमै बसेर पूरा गर्ने अवस्था नदेखेर खाडी जाने निर्णय लियो । खाडी जानको लागि पनि कहाँ सजिलो थियो र नेपालको सरकारी प्रक्रियाहरू पूरा गर्न पाइलै पिच्छे पैसा तिर्नुपर्थ्यो । अनि म सोच्थेँ सरकारले युवालाई यसरी विदेशमा बेच्दै आएको छ । सरकार मात्र होइन आफन्त पनि उस्तै हुँदा रहेछन् । हिजोसम्म एउटा किताब, कपी र कलम किन्न पैसा नपत्याउने आफन्तहरू विदेश जाने भनेपछि पचास साठी हजार पत्याउन थाल्छन् । यो देखेर लाग्थ्यो, विदेशमा पक्कै पैसाको रुख हुन्छ होला नत्र यति धेरै विश्वास किन गर्छन् ? फेरि सोच्थेँ । कहाँ त्यतिकै दिएको हो र सेकेन्ड सेकेन्डको ब्याज लिइरहेका हुन्छन् । अनि फेरि सोच्थेँ सबैले सबै ठाउँमा व्यापार गरिरहेका छन् । कसैले खुल्ला बजारमा,कसैले अँध्यारो कोठामा, कसैले मिठो कुरा र भावनामा। जसोतसो विदेश गएर पैसा कमाउँछु र सबै राम्रो बनाउँछु भन्ने मेरो सपना बीचैमा तुइयो । मलाई नेपाल सरकारको श्रम मन्त्रालयले श्रम स्वीकृति दिएन । मेरो उमेर कम भयो रे। बेकार बीस पच्चीस हजार खोलामा फालेछु पछुतो लाग्यो। घर,छिमेक र आफन्तले फेरि भन्न थाले उमेर बढाएर अर्को नागरिकता बनाऊ। मान्छेपिच्छे कुरा सुनेर मलाई दिक्क लागेको थियो । एक मनले सोच्थेँ उमेर बढाएर अर्को नागरिकता बनाऊँ अनि अर्को मनले भन्थ्यो नागरिकताको लागि जन्मदर्ता पनि नयाँ बनाउनुपर्छ विदेश जान पासपोर्ट पनि अर्कै बनाउनुपर्छ । यस्तै अनेक समस्या सम्झेर विदेश जाने सपना त्यागेँ । विदेश जान भनी लिएको केही आफन्तको ऋण फिर्ता गरेँ । घरमा बुबाआमा सबैलाई मनाएर, अब म आफैँ काम गरेर पढ्छु भनी दस हजार रुपैयाँ ऋण लिएर काठमाडौँ प्रवेश गरेँ।

काठमाडौँ आउँदा मलाई रमाइलो लाग्यो। ओहो ! कति धेरै मानिस, यहाँ त सधैँ मेला लागिरहन्छ होला । यहाँका मानिसहरू त सबै सुखी र खुसी होलान् भनेर कल्पना गर्थें। म काठमाडौँ गाउँको एक जना चिनेको दाइसँग आएका थिएँ । उहाँले नै मलाई काठमाडौँको कलङ्की भन्ने ठाउँमा कोठा मिलाइदिनु भएको थियो। प्रति महिना तीन हजार रुपैयाँ तिर्नुपर्ने रे । कोठाभाडा त्यसमा बत्ती, पानी, अरू थोकको चार्ज छुट्टै तिर्नुपर्ने । सबै कुरा जोडेर घर धनीलाई चार हजार जति तिर्नुपर्ने भयो । त्यो देखेर मलाई अचम्म लाग्यो कसरी तिर्ने गाउँमा एक महिना काम गर्दा हजार रुपैयाँ देख्न धौ धौ हुन्छ । अचम्म लाग्यो धेरै ठूलो लाग्यो त्यो पैसा कसरी तिर्न सक्छु म ? सपनाजस्तै लाग्यो।

मैले कोठा मिलाइदिने दाइलाई सोधेँ यति धेरै पैसा हामीजस्तो गरीबले कसरी तिर्ने ? कलेजको फि तिर्न बाँकी नै छ । कलेज भर्ना, ड्रेस कसरी पुर्याउने कहाँबाट ल्याउने ? बरु म काठमाडौँमै बस्दिनँ, पढ्दिनँ भन्दा, उहाँले मलाई सम्झाउँदै भन्नुभयो “त्यसरी कहाँ हुन्छ ? तिमी पढ्न आएको मान्छे जसरी नि पढ्नुपर्छ नत्र तिम्रो जीवन के हुन्छ ? के गरेर खान्छौ ? तिमीलाई थाहा छ?” भनी उल्टै प्रश्न तेर्साउनुभयो । फेरि सोचेँ, यदि म यहाँ नबसे गाउँमा गएर कुटो,कोदालो खन्नुको विकल्प छैन, मेरा पुर्खाहरूले खेत खनेर के पाएँ । सधैँ गरिबी, कम उमेरमै गाला चाउरिएर आवश्यक पोषण नपाएर रोग,भोगमा जीवन निर्वाह गर्नु पर्यो ।

उफ ! होइन म यहीँ दुख सुख गरेर पढ्नु पर्छ । पढाइ बिनाको जीवन अँध्यारोमा बाँचेजस्तै हो । मेरो चेत खुल्यो । मैले फेरि सोधेँ, “त्यसो भए हामीले यो सहरमा कसरी जीवन निर्वाह गर्न सक्छौँ त ?” उहाँले भन्नुभयो “तिम्रो लागि म छु, चिन्ता नगर। तिमीलाई सामान्य खान, लाउन, कोठाभाडा तिर्न कलेजमा फि तिर्न पुग्ने गरी, तलब आउने ठाउँमा काम लगाइदिन्छु।” उहाँको कुरा सुनेर, उहाँ त मेरो ईश्वरै हो भनूँजस्तै भयो । यदि उहाँ नभैदिएको भए मेरो के गति हुन्थ्यो होला ? उहाँको वचनमालाई मानेर म आशावादी भएँ । अनि त्यसै दिनदेखि मैले काठमाडौँ बस्ने निधो गरेँ । उहाँ मेरो कोठा नजिकैको घरमा बस्नुहुन्थ्यो । भोलिपल्ट उहाँको कोठामा जाँदा त उहाँ कतै गइसक्नु भएछ तर उहाँको साथीले मलाई एउटा हार्डवयर पसलमा सिमेन्ट बोक्ने काममा लगाइदिनु भयो र भन्नुभयो, “केही दिनको लागि मात्र हो कलेज भर्न भएपछि अर्कै काममा लगाइदिन्छु भन्नुभएको छ दाइले ।”

दिनभर सिमेन्ट बोक्ने काम गर्थेँ, शरीर सिमेन्टको तातोले मरुभूमिको बालुवाझैँ लाग्थ्यो । सिमेन्टको धुलोले कहिलेकाहीँ घाँटी समाउथ्यो, सर्केर मर्लाजस्तै हुन्थ्यो। तैपनि गरीबको जीवन त हो, काम त गर्नु नै पर्थ्यो । भोक र उद्देश्यको निम्ति । काम जतिसुकै गाह्रो भए पनि कमाइ राम्रै हुन्थ्यो । दिनको एक हजारदेखि पन्ध्र सयसम्म त्यसैले सन्तोष मान्थेँ । दस दिनजति उक्त पसलमा काम गर्दा मैले सोह्र सत्र हजार कमाएँ तर शरीर गलेर चुसेर फालेको उखुजस्तै भएको थियो । कलेज भर्ना गर्ने र आवश्यक सामग्री किन्न पैसा पुगेपछि मैले उक्त हार्डवयरको काम छोडेँ र त्यहीँ दाइले एउटा सार्वजनिक गाडीमा पैसा उठाउने खलासीको रूपमा काम मिलाइदिनु भयो, म खुसी भएँ ।

खलासीको जिम्मेवारी पाएको भोलिपल्ट म एउटा कलेजमा गएँ भर्नको लागि । पहिले मैले सम्पूर्ण कुरा बुझेँ । महिनाको तीन हजार पर्ने रहेछ तसर्थ मैले त्यही कलेजमा अध्ययन गर्ने निर्णय गरेँ । मनमनै खुसी भएँ । लाग्थ्यो, यो सहरमा जे गर्छु भनेर दिनरात खटिरहेका छन्, तिनीहरूको लागि यो सहर सम्भावनाको खेती गर्ने ठाउँ हो । दाइको मप्रतिको सहयोग,सद्भाव देखेर सोच्थेँ यो सहर दुखीहरूको पनि एक प्रमुख सुन्दर गन्तव्य रहेछ। त्यसैले त हरेक व्यक्तिहरू यहाँ आउन रुचाउने रहेछन् । यस्तै कुराहरू भएकै कारण यसलाई देशको राजधानी भनेको रहेछ। यहाँको ठुला ठुला घरहरू मात्र होइनन् यहाँका मान्छेहरू मात्र सुकिला होइनन् मन पनि सुकिला हुँदारहेछ्न् भन्ने सोच्थेँ । मन प्रफुल्ल हुन्थ्यो । यहाँ विभिन्न वर्गको लागि विभिन्न ठाउँ राखिएको हुँदा रहेछ गरीब, दलित, अपाङ्ग,अनाथ । त्यहीँ गरिबीको ठाउँमा आफ्नो ठाउँ स्थापित गर्न सक्नुमा म गर्व सम्झन्थेँ तर गरीब भएर जन्मिएकोमा प्रश्न नउब्जेको भने होइन। गरीब हुनुमा मन खिन्न नभएको पनि होइन । तैपनि यहाँको व्यवस्थाप्रति खुसी थिएँ। सन्तुष्ट थिएँ। कलेजमा पैसा तिर्नुनपर्ने हुन्थ्यो, विभिन्न क्रियाकलापमा सहभागी भए बापत तिर्नु पर्थ्यो । आफ्न लागि आवश्यक चिजहरू परिपूर्ति गर्न आफैँले कमाएको पैसाले पुग्थ्यो । त्यसैले ढुक्क थिएँ । हरेक दिन काममा जानुपर्थ्यो, काम मात्र थिएन । खलासी भन्नेबित्तिकै कसैले दोस्रो दर्जाको मान्छे सम्झन्थेँ यिनीहरू छाडा हुन्छन् यिनीहरूको भर हुँदैन भनेर कतिपयले तथानाम गाली गर्थे भने कतिपयले हाम्रो पनि दुख बुझ्थेँ।

दिनभरि कराउने गरेको काठमाडौँको चोक चोक थाहा थियो । जसरी हुन्छ पेसेन्जरहरू तानेर भाडा जम्मा गर्थेँ । विभिन्न ठाउँहरू घुम्न पाउँदा खुसी लाग्थ्यो। तर कहिलेकाहीँको हुरीबतास र निरन्तर झरीहरूमा विरक्त हुन्थेँ । शरीर सबै भिज्थ्यो। धुलोधुवाँले मान्छे नचिनिने हुन्थ्यो। कहिलेकाहीँ बढी कराएर बोल्नै नसक्ने गरी घाँटी दुख्थ्यो। बाटो नदेखेकाहरूलाई बाटो देखाउँदा, थरीथरीका मान्छेहरूका कुराहरू सुनेर कहिलेकाहीँ झर्को र कहिलेकाहीँ विभिन्न मान्छेहरूको विश्लेषण गर्न पाउँदा खुसी पनि लाग्थ्यो । फेरि आफैँलाई लाग्थ्यो दुनियाँको विश्लेषण गरेर बस्ने म को हुँ ? न म कुनै विषयको विद्वान हुँ न त कसैको विश्लेषण गर्ने जागिर थियो । त्यसैले कहिलेकाहीँ आफैँलाई झर्को लाग्थ्यो । यसरी दिनहरू ढल्किँदै थिए ।

नेपालीको महान पर्व तिहार सकेको केही दिनमै हाम्रो कलेज खोल्ने कुरा मैले फोनमार्फत् थाहा पाएँ। केही दिनमै मैले एक दिनको लागि छुट्टी मागेर बिना किताब, बिना झोला पहिलो दिन रित्तै कलेज गएँ । त्यो दिन मात्र कलेजको परिचय, शिक्षक, शिक्षिका, विद्यार्थीहरूको परिचयसाथै विधालयको नियम विधानबाट सचेत र सजाक बनेँ । यसरी नै सामान्य दिनहरू चल्दै थिए । कक्षाका साथीहरूसँग नजिकिँदै गएँ। साथीहरू बनाउन पनि केही न केही त अवश्य हुनुपर्ने रहेछ, कि पढाइमा अब्बल, कि शारीरिक सुन्दरता कि सोझोपन, कि त आर्थिक हैसियत । सायद सोझोपनले गर्दा नै म सबैसँग समायोजित हुन सकेँ । जति नजिक हुँदै गयो त्यति नै आफ्नोपनको महसुस हुन्थ्यो । सबै जना आ-आफ्नो कथा, आ- आफ्नो बेथा, जे होस् निकै रमाइलो हुन्थ्यो भावना साट्न पाउँदा । फरकफरक परिवेशबाट आएका मान्छेहरूको फरकफरक विचार, आदानप्रदान गर्न पाउँदा अनि आफ्नो गाउँठाउँको कुरा वर्णन गर्न पाउँदा आनन्द आउँथ्यो । मज्जा आउँथ्यो।

दिनचर्या हेर्दा सामान्य देखिन्थ्यो तर भित्रभित्र निकै गर्हौं हुन्थ्यो । बिहानको शीतसँगै सुरु भएको यात्रा रातिको शीतसँगै रोकिन्थ्यो । बिहान् उठ्थेँ कलेज जान्थेँ छुट्टी हुन नपाउँदै काममा जानुपर्थ्यो । कलेज छुट्टी भएको बेला मात्र राम्रोरी खान पाइन्थ्यो । भोक र निद्रा केही नभनी राति सात,आठ बजेसम्म घोटिनु पर्थ्यो । ती चिसा दिनहरूमा कहिले गाडी बिग्रेर तनाव हुन्थ्यो भने कहिले गाडी सफा गर्दा हात खुट्टा कठ्याङ्ग्रिएर निकै पीडा बोध हुन्थ्यो।
मलाई कहिले आफ्नै जिन्दगी देखेर वितृष्णा जागेर आउथ्यो र रुन्थेँ। त्यहीँ समय आफू जन्मिनुमा आफैँमाथि प्रश्न गर्थेँ । “काम ठुलो सानो हुँदैनआफूले सकेको जे गर्दा नि हुन्छ । जीवन सङ्घर्ष हो, सब कुरालाई सकारात्मक दृष्टिले सोच्न सक्नुपर्छ” उही सोच्थेँ । जति दुखी भए नि बाहिर निकै सुखी खुसी भएर हिँड्थेँ । सबैले राम्रै मान्थे, राम्रै गन्थे, त्यसैले मुटुमाथि ढुङ्गा राखेर जिउन सिक्दै थिएँ म । जीवन स्थिर छैन,गतिशील छ,जो जस्तोसुकै भए पनि भोलिको दिन कसैले देखेको हुँदैन। यदि कसैले भोलि देख्ने भए मान्छेहरू के गर्थे होलान् ? कल्पनासम्म गर्न सकिन्न ।

समय ठ्याक्कै ठम्याउन सकिएन । एक्काइसौँ शताब्दीको, सात दशकतिरको कुरा हो। विकसित देशहरूको विकास रेलको गतिभन्दा छिटो थियो भने नेपालजस्ता विकासशील देशहरू कछुवाको गतिमा देखिन्थे । हरेक कार्यमा अरूको मुख तक्ने प्रवृत्ति देखिन्थ्यो । यस्तैमा कोही देशहरू द्वन्द्वको चपेटामा थिए । हरेक शक्तिशाली देशहरू को ठूलो ? को धनी ? को शक्तिशाली ? कोसँग बढी पृथ्वी बचाउने, नष्ट गर्न सक्ने क्षमता छ भन्नेमा होडबाजी थियो । कोही जातीयताको नाममा लड्दै थिए, कोही भूमि अतिक्रमणको नाममा लड्दै थिए त कोही विभिन्न विषयका नामसँग लड्दै थिए । यहि समयमा विश्व अर्थतन्त्रमा दोस्रो स्थान प्राप्त गर्न सफल, एसिया महादेशभित्र पर्ने नेपालको छिमेकी देश चीन महामारीको डढेलेलो आक्रान्त भएको छ भन्ने थोरै थोरै सुनिन थालियो । साथमा हरेक विद्वान विशेषज्ञ, विश्लेषकहरूले भविष्यमा आउने समस्यप्रति सरकारी तथा गैरसरकारी संघ सस्थाहरूलाई सचेत गराउन थालेको समाचार पत्रपत्रिकामा आउन थाले ।

जाडो महिनामा गाडी चढेर कलेज जानू दिनचर्याजस्तै थियो। सधैँ कलेज जान्थेँ । पढाइप्रतिको मोह बढ्दो थियो । जति मान्छे व्यस्त हुन्छ त्यत्ति नै मान्छेको शरीरमा जाँगर र मस्तिष्क निकै परिष्कृत हुन्छ भन्ने कुरा अनुभव गरेका थिएँ । मात्र चार पाँच घण्टा सुत्थेँ, तैपनि निद्रा पुग्थ्यो, पढ्न लेख्न, समय मिलाएकै हुन्थ्येँ ।

कलेजमा पनि पढाइको कुरा बाहेक त्यही महामारीको कुरा हुन थाल्यो । धेरै खतरनाक भाइरस रे! यसले सिधै ज्यान लिन्छ रे! यो श्वासप्रश्वाससम्बन्धी रोग हो रे, हावाबाट सर्छ रे ! नयाँ रोग भएकाले यसको औसधि पत्ता लागेको छैन रे। यो लागेपछि मर्नु बाहेकको विकल्प छैन रे! यस्तै यस्तै सुनेर शरीरमा काँडा उम्रन्थ्यो । शरीर पुरै गलेर आउथ्यो । मनमनै सोच्थेँ यदि साच्चिकै यो नेपालमा आए भने ? गरिबले पिल्सिएको देशमा जनताहरू अवस्था कस्तो होला ? सब सोत्तर हुनेछन् ! कोही बाँच्ने छैनन् ।

त्यसपछिका दिनमा त एउटै पनि विषयको पढाइ हुन छोड्यो । व्यर्थै गएजस्तो लाग्थ्यो । काममा गएँ, खान पनि मन लागेन । त्यहीँ सोचेर बसेँ । मन खिन्न भयो, घरको धेरै याद आउन थाल्यो । जीवनमा सधै खुसी कहाँ पाइन्छ र ?कहिले दुख पनि चाहिन्छ, सधैँको बाटो ओरालो र समतल मात्र कहाँ हुन्छ ? कहिलेकाहीँ उकालो भीर पनि चढ्नुपर्छ, जीवनमा सधैँ पानीले मात्र कहाँ भिझिन्छ? कहिलेकाहीँ पसिना र आँसुले पनि बिझ्नुपर्छ। यो कल्पन होइन यथार्थ हो । यो बनाइएको होइन यो आफैँ बनेको हुन्छ । यस्तै दार्शनिक कुरा कल्पिन्थेँ र यसले मलाई उर्जा भर्ने काम गर्थ्यो।

त्यहीँ वर्षको अन्त्यतिर सधैँझैँ कलेज पुगेका थिएँ। प्रथम पिरिएडको सर आउनु भयो र भन्नू भयो, “भोलिदेखि तिमीहरूको कलेज बन्द हुन्छ होला । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिने सम्भावना बढी भएको हुँदा बन्द हुने सम्भावना छ ।”

त्यो दिन कुनै विषयको कक्षा भएन । सबै जना कहिले घर जाने, के गर्ने ? भन्ने कुराहरू एकाअर्कालाई सोध्न थाले । जे नहुनु थियो त्यही भयो वि.सं.२०७६ चैत्र ६ गते नेपाल सरकारले एउटा सूचना प्रकाशन गर्दै चैत ११ गते देखि अर्को सूचना नआउन्जेल देशभर लकडाउन हुने छ । स्कूल, कलेजलगायत सम्पूर्ण संघ संस्था, व्यवसायिक क्षेत्रहरू बन्द गर्ने घोषणा सरकारले गर्यो । साथै एक क्षेत्रबाट अर्को क्षेत्रमा मान्छेको आवातजावत नहोस् भन्ने उद्देश्यले लकडाउन गर्ने र टाढाको गाउँठाउँ जान ३ तीनको समय दिएको भन्ने समाचार सुन्नमा आयो । त्यसपछि त म लाटोजस्तै भएँ। यो लकडाउन भनेको के हो ? सरकारलाई सोध्ने मन थियो तर प्रश्न गर्ने त के,सम्बन्धित निकायसम्म पुग्ने हैसियतको मान्छेसम्म म थिइनँ । अब के गर्ने भन्ने प्रश्नले थालिएको थिएँ । काममा जाऊँ सबै सवारीसाधन ठप्प भए । घरमा जाऊँ घर धेरै टाढा छ, जसको निम्ति मसँग पर्याप्त पैसा थिएन । मैले कमाएको पैसा खान,लाउन र कलेजमा बुझाउन ठिक्क भयो । कुनै बचत थिएन । त्यसपछि सुरु भए मेरा कहालीलाग्दा दिनहरू:

कोठामै थिएँ म । मन पूरै तातिएको थियो, एक गिलास चिसो पानी खाएँ अनि सोच्न थालेँ अब के गर्ने ? कसरी खाने ? के लगाउने, कोठाभाँडा केले तिर्ने ? झन् झन् चिसो पस्दै गयो फेरि अर्को मनले सोच्थेँ सरकारले केही गर्ला नि, त्यस्तै सोच्दै थिएँ, कामबाट फोन आयो अब त गाडी पनि चल्दैन रे । अबदेखि काममा आउनु पर्दैन । यहीँबाट थाहा पाएँ कि अब मैले एक गाँस खान पाउने ठाउँ पनि बन्द भयो । मलाई निकै समस्या छु केही पैसा दिनु न भनेर बिन्ती चढाएपछि ड्राइभर दाइले तीन हजार रुपैयाँ दिनुभयो । त्यसैले भान्सालाई चाहिने केही खाद्यान्न किनेँ र केही दिन त टार्ने भयो । झिनो आशामा बाँच्दै गएँ । समय तालिका अनुसार चलेँ बिहान यो खाने दिउँसो यो खाने भनी खानेकुराको जोहो गर्दागर्दै बीस दिन बितिसकेछ । दिनसँगै खाद्यान्न पनि सकिँदै गयो । फेरि अर्को योजना बनाएँ । दिनको एक छाक मात्र खान खाने अरू बेला पानी र नुन खाने र नुन बढी खाएपछि तिर्खा लाग्छ अनि पानी खाएर भोक मेटाउँछु भन्ने उद्देश्यले नुन धेरै खाँदा, मुखको स्वाद दिने अङ्गले पनि काम नगरेजस्तो महसुस भयो । मुख खल्लो हुँदै गयो अनि कल्पनामा मिठो मिठो खाएको सोच्न थालेँ । मुखको स्वादको लागि मसँग बाँकी के नै थियो र ?

दिनपछि हप्ता, हप्तापछि महिना झन् झन् कष्टकर हुँदै गयो । लिने ठाउँ कहीँ छैन, मागौँ भने पनि कसले दिन्छ र ? एउटा अपराधले अर्को अपराध जन्माउछ भनेझैँ, यहाँ एउटा समस्याले अर्को समस्या जन्माइरहेको थियो । चौतीस पैँतीस दिनसम्म चुप लागेर बसेको थिएँ । घरबेटीले भाडा माग्न थालेको छ । दिनप्रतिदिन घरबेटीको किचकिच, पैसा कहाँबाट दिऊँ ? म आफैँ दिनरात भोकै बसेको छु । म कहाँबाट के ल्याऊँ ? भोको पेट, अनेक अभाव र चिन्ताले म गल्दै गएँ । मैले त्यही बेला सम्झेँ भगवान् । त्यही बेला जाग्यो नेपाली भएर जन्मिनुको पछुतो, घृणा । कुनै बेला यो सहरलाई एक सुख दुख बाड्ने, एकाअर्काको परिपूरक, संघर्ष गर्ने ठाउँको रूपमा हेर्थेँ ।
त्यही दिनदेखि मलाई यो सहर मानवताहीन मानव बस्ने थलो, राक्षसहरूको थलो लाग्न थाल्यो । घरबेटीलाई केही सहज भएपछि काम गरेर भाडा दिन्छु भनेर खुट्टा ढोगेँ, लाख बिन्ती चढाएँ तर घरबेटीको मन पग्लिएन रातभरि रोएँ। भगवान्लाई गुनासो गरेँ किन दुख दियौ भनेर आफ्नै मातृभूमिप्रति गुनासो गेरेँ किन जन्म दियौ भनी आफैँलाई धिक्कारेँ । किन सहर आएछु भनी पश्चात्ताप गर्न लागेँ । घरमा सम्पर्क गरौँ भने कसरी गरौँ ? भएको त्यही मोबाइल पनि घरबेटीले लिएर गयो ।

विकल्प कहीँ नभेटिएपछि मनमा अनेक दुर्भावना आउन थाल्यो । सोच्दा सोच्दै कहिले त त्यहीँ कोठामा पासो लाएर मर्ने सोच आउन थाल्यो । त्यसको लागि पनि केही सामग्री त चाहिन्छ, कहाँबाट ल्याउने ? कहिले विष पिएर मरौँजस्तो लाग्थ्यो तर कहाँबाट ल्याउने ? यसरी म जिउँदै मरेतुल्य बाँच्न हुन थालेँ ।

बिस्तारै दिन बित्दै गयो । अनियोजित लकडाउन दिनबाट हप्ता,हप्ताबाट महिना र महिनाबाट वर्षमा बिस्तार हुँदै थियो । भित्रैदेखि समय कष्टकर बन्दै गयो। तैपनि कोठाभाडा माग्न छाडेका थिएनन् । जति मागे पनि रुनु बाहेकको विकल्प थिएन । यसरी दिन बित्दै जाँदा बिस्तारै घरबेटीले मेरो लागिआवश्यक नभई नहुने बत्ती पानीदेखि सौचाल जान पनि रोक लगाए । यो जीवन मरुभूमिजस्तो लाग्न थाल्यो । कहिलेकाहीँ प्यासले प्याक प्याक भएर मर्नु र बाँच्नु हुन्थ्यो त कहिलेकाहीँ अन्धो मान्छेझैँ भित्तामा ठोकिँदै हिँड्थेँ । ठोक्किएर घाउ बन्थ्यो तैपनि एउटा जनावरभन्दा तल भएर एक मुठी सास लिएर बाँचिरहेको थिएँ । सबै कुरा बन्द हुन थालेपछि त्यो मरुभूमिजस्तो कोठा र राक्षसजस्तो मान्छेको घर छाडेर समयले जता पुर्याउँछ उतै जाने निर्णय गरेँ।

भएको लुगा बोकेर हिँडेँ । अरू त के नै थियो ? डेरा छोडेपछि मेरो गन्तव्य जहाँ माग्नेहरू जम्मा हुन्थेँ, त्यहीँ जान्थेँ । मानवता बाँकी रहेका कसैले पेट भर्दिन्छन् कि भनेर भौँतारिन थालेँ । बाटोमा हिँड्दा समेत सुरक्षामा खटिएका प्रहरीले कुट्थे, अश्लील शब्दले बोलाइन्थ्यो, किन यस्तो महामारीमा निस्केको मर्ने मन छ कि के हो ? भनेर हकार्थे तर तिनीहरूलाई के थाहा हामी एक मुठी सास बचाउन हिँडेका थियौँ भनेर । कहिले रत्नपार्क, कहिले आर्यघाट, कहिले विभिन्न फोहोरको डङ्गुरमा कसैले फलेको खानेकुरा भेट्टिन्छ कि भनेर पुग्थेँ । मजस्तै हजारौँ माग्नेहरू, अनाथहरू हुन्थे । फोहोरमा भेटेको टिपेर खान्थ्यौँ । रत्नपार्क छेउछाउमा, सरकारमा रहेका मान्छेहरूका भाषण सुन्थेँ । उनीहरू भन्दै हुन्थे, काठमाडौँमा कोही भोक छैन, सरकारले विभिन्न माध्यमबाट विभिन्न राहतको व्यवस्था गरेको छ । भन्ने मन थियो, त्यो राहत होइन व्यापार हो,राहतको नाममा बेचेर खाने व्यापार । तर त्यसो भनिनँ । कसलाई भन्ने ? आफैँ खिन्न हुन्थेँ । देशका जनतालाई भोकभोकै राख्ने छैन भन्नेहरू, दुखीलाई मलम पट्टी लगाउनुको साट्टो कमाउनुमा लिप्त थिए। सरकारका मान्छेहरूको मनस्थिति यति तुच्छ भइसकेको थियो कि, उनीहरू मानवता बिर्सेर समाजसेवी अगुवाहरूले राहत बाँडेको ठाउँमा समेत हस्तक्षेप गर्न पछि पर्दैनथे।

त्यस्तै थियो सरकारको नीति र शासनपद्धति । सरकार केवल मरेको मान्छे गन्ने र भ्रष्टचारीलाई पुज्ने काम व्यस्त देखिन्थ्यो । काठमाडौँ एउटा मसानघाटजस्तै सुन्य देखिन्थ्यो । चोक चोकमा मजस्तै मगन्तेहरूको लस्कर थियो । कसैले केही दिन्छ कि भनेर, कोरोनाको सङ्क्रमन दर बढ्दो छ भन्ने सुनिन्थ्यो भात बाड्न आउनेहरूको मुखबाट । अब त घटे पनि बढे पनि मेरो जिन्दगीमा कुनै सकारात्मक प्रभाव पर्ने आशा भेट्दैनथेँ म । कष्टपूर्ण यो देह पूरै गनाएको थियो । शरीरमा भएको वस्त्र छि!छि! गर्ने देखिन लाग्यो । शरीरभरि खटेरा जूम्राले अधिराज्य जमाउँदै गयो । कहिले घाम कहिले पानीले गलाउँदै लग्यो । पागलसरी हुन थालेँ ।

शरीरको बनावट सुकेको झाडीझैँ भैसकेको थियो । हरेक दिन त्यसरी नै हिँड्थेँ, कसैले चिन्दैनथ्यो। जीवनलाई नै पूर्णबिराम लगाउँछु भनेर कहिलेकाहीँ त अक्करिला ठाउँको खोजी गर्न लागेँ, भीर पूल यस्तै यस्तै ठाउँहरू । बन्दै गरेका भवनतिर पनि जान्थेँ पासो लगाउन मिल्ने ठाउँ मिल्छ कि भनेर । तर हाम्फाल्न मर्न सकिनँ । बिस्तारै बिस्तारै यो शरीर एक ठाउँबाट अर्को ठाउँ आवातजावत गर्न नसक्ने गरी सामर्थ्य हुँदै गयो ।

अब त फोहोरको डङगुरमै थला पर्न थालेँ । देख्नेले जड्याहा छि! छि! भन्थे । भन्नेले पनि किन नभनून फोहोर मान्छे छुट्याउन नसकिने भएको थिएँ । बुझ्ने भाषामा भन्नुपर्दा किरा भैसकेको थिएँ म । फोहोर दुर्गन्ध होइन सुगन्ध लाग्थ्यो । धार्मिक विद्वानहरूले देखेको होइन लेखेको पाइन्छ भन्ने गरेको सुन्दै आएको थिएँ । यो संसारमा म कहाँबाट कहाँ आएँ ? जसरी यो ब्रह्माण्डमा रहेको कुनै पनि चिज टुक्रिँदै,सकिँदै,खुइलिँदै गएर एकदिन यो लोकबाट समाप्त हुन्छ ।

असार महिनाको त्यस रात मुसलधारे पानीसँगै एउटा फोहोरको गाडी आयो र सम्पूर्ण फोहोर ममाथि खनिए मैले त्यहीँ देह त्यागेँ । भोलिपल्ट फोहोर सारेर अर्को ठाउँमा लाने क्रममा मेरो लास फोहोर व्यवस्थापन गर्ने निकायले देख्यो र तुरुन्तै पुलिसलाई खबर गर्यो। पुलिस आयो र लासलाई हस्पिटल पुर्यो, मेरो आत्माले भनिरहेको थियो, यदि मेरो लासलाई अस्पताल लुर्याउन लागेको पैसा जिउँदो हुँदा दिएको भए आज पनि म जीवितै हुनै थिएँ । हस्पिटलमा लग्यो कोरोना परिक्षण गर्‍यो, नेगेटिभ देखायो रे, मृतकको अनुहार कुहिएर नचिने भएको थियो । मृतकसँग परिचय खुलाउने केही थिएन । आफन्त पत्ता लगाउन सकेन । नेपाली सेनालाई दाहसंस्कार गर्न जिम्मा दिइयो । मेरो आत्मा खुसी हुँदै थियो, जीवितछँदा बाँच्न नदिएको यो सरकारले मरेपछि चाहिँ सहयोग गर्दै छ भनेर । भोलिपल्ट पत्रपत्रिका,रेडियो!टेलिभिजन र फेसबुकमा समाचारको हेडलाइन बन्यो। फलानो ठाउँमा अपरिचित व्यक्तिको लास भेट्टियो । सबैले श्रद्धाञ्जली सहित दुख व्यक्त गरिरहेका थिए एउटा अपरिचितको शोकमा ।

माथि लोकमा मेरो आत्मा रुँदै थियो । मर्दा म परिचय विहीन भएँ । त्यस दिन मेरो अधुरो उमेरले शरीर छोड्नुपर्दा, अतृप्त सपना र गुनासोका साथ जलाइएको खरानीदेखि, परिवारदेखि, देशदेखि र यो युगदेखि सबै सबै उद्देश्य बिचल्लीमा परे ।