साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पोषण पाण्डेको कथा : एउटा सिपाहीको मृत्यु शय्यामा सलामी

बहादुर त म पनि थिएँ । तर यसको ढेब्रे-बहादुरीको सीमालाई म छुन सक्तिनथेँ । मेरो मनमा अज्ञात ईर्ष्याले बीज रोप्यो जुन क्रमशः फल्दै फुल्दै र झाङ्गिदै बढ्न थाल्यो । यसको त कुरै छोडिदिऊँ- यो त एउटा अनौठो खालको महात्मा हो।

Chovar Blues Mobile Size

हामी ठिटै थियौँ त्यति बेला । खानु खेल्नु, खेल्नु खानु यो बाहेक केही काम थिएन । यो र म प्रायः जङ्गलभित्र पस्थ्यौँ, त्यहाँ झाडी जङ्गलमा हाम्रा अनेक थरीका खेलहरू हुन्थे । खेल खेलमै सानातिना जनावरहरूलाई हामी हातैले समाउँथ्यौँ, अठ्याउँथ्यौँ र मार्थ्यौं। यी मध्ये खान हुने चाहिँलाई त्यहीँ जङ्गलमा स्याउला बालारे पोलीवरी खान्थ्यौँ पनि……. ।

फौजी पोशाकले लैस भएको एउटा मान्छे ढुङ्खामाथि बसेर कुरा गरिरहेछ–सायद आफैँसँग अथवा यो पनि हुन सक्छ कि ऊ कुनै व्यतीत घटनाको संस्मरणले आफूलाई ताछ्न लागिरहेछ । फेरि बरबराउन थाल्छ : पछि पछि हाम्रो उमेर बढ्दै गयो, हामी पूरा जवान भयौँ । तर जङ्गलमा उपद्रो गर्ने बानी घटेन, झन् पो बढ्दै गयो । अरू कुरोमा त हामी दुई बराबरैजस्ता थियौँ, तर रूख चढ्नमा भने यो मभन्दा सिपालु थियो । रूखको टुप्पोसम्म पुग्न सक्थ्यो-त्यहाँका हाँगाहरू समाएर झुण्डिन्थ्यो । यति मात्र हो र त्यहाँबाट रूखका तमाम हाँगाहरूलाई एक्कै बाजी हल्लाउँथ्यो, बाँदरजस्तो…… एकदम बाँदरको जस्तो…….लङ्कामा उपद्रो गर्ने हनुमानजस्तो । मलाई लाग्थ्यो सायद ऊ हावामा आफ्नो जीउ तिखारिरहेछ ।

‘ए……खसेर मर्लास्‌ भन्दा ऊ के भन्थ्यो थाहा छ ?’ चिता बनाउने तरखरमा लागेका दुई जना मान्छे एकाएक टक्क रुक्छन्‌ र त्यो फौजी पोशाक लगाएको मानिसको मुखतिर हेर्छन्‌ । त्यहाँ जम्मा भएका दुई चार अरू मानिसहरू पनि वाल्ल पर्छन्‌ ।

‘ऊ कड्केर भन्थ्यो-‘तिमीलाई के थाहा छ, जेठदाइ……’

हावाको फिरफिरले लाशमाथिको कात्रो हल्लन्छ । दायाँ बायाँ गिद्ध कुकुर धपाउन बसेका मानिसहरूको मनलाई चिसो औँलाले छुन्छ । उनीहरूको मुख, मोहडामा एकतमासको छाया ओहोरदोहोर गर्न थाल्छ ।

sagarmani mobile size

लाशलाई औँल्याउँदै त्यो फौजी पोशाक लगाएको मान्छे भन्दै जान्छ ।

त…….. ऊ मलाई जेठदाइ भन्ने गर्थ्यो । हुन त उसको र मेरोबीच कुनै नाता गोता थिएन । म चाहिँ उसलाई खाली ढेब्रे भन्ने गर्थेँ …… तेरो जेठदाइले भन्या भनेपछि उसलाई पुग्थ्यो ।

पोषण पाण्डे

एकबाजी जङ्गलमा हामी सधैँको झैँ उपद्रो गर्दे थियौँ, अचानक बाघ आइपुग्यो कता कताबाट | हामी दुवैले ऊसँग लड्यौँ । म घाइते भएर भुइँमा लडेँ नराम्रोसँग, उठ्नै सकिनँ । आखिर ढेब्रे एक्लैले कुस्ती खेलेर बाघ मार्यो,……. नपत्याए हेर, उसको आङमा नङ्‌ग्राका खतै खतहरू अझै होलान्‌…..नाडीमा जुन लामा लामा गाडिएका खतहरू छन्‌-ती उसले बाघको मुखमा हात हाल्दा परेका हुन्‌ । हुन पनि एउटा सिङ्गै हात बाघको मुखमा हुलेको थियो । उसको सुर थियो बाघको घाँटीको किलकिली चुडालेर बाहिर निकाल्ते र आखिर उसले निकाल्यो पनि………।

ऊ बेला राणाजीको दबदबा कसले हेरोस्‌…….दरबार थियो जताततै…..इनाम बक्सिस बाँडिन्थ्यो…….मारेको बाघ लिएर हामीले पनि जर्साहेब कहाँ जाने विचार गर्यौं तर यो गएन……ढेब्रे स्वभाव, उसमाथि एकोहोरो…..आफ्नो बहादुरी पौरुषको जस कमाऊँ भन्ने कत्ति नलिने । जे होस्‌, आखिर खिल्लत मिल्यो जर्साहेबबाट हामीलाई हाम्रो बहादुरीको…….

तर…………..
जेठदाइ बोल्दाबोल्दै रुक्छन् । एकछिन पछि त घ्वाँ, घ्वाँ डाँको छोडेर रुन पो थाल्छन् । सूर्यास्तको क्षीण उज्यालोमा कालीगण्डकीको तीर एकदम नरमाइलो लाग्छ, मन चुडाल्ने खालको नरमाइलो लाग्छ । जेठदाइ आफ्नो फौजी ह्याटलाई दुवै हातका औँलाहरूले कोतर्न थाल्छ।

‘हैन किन यसरी पीर गर्नुभा दाइले-हुनु भैसक्यो-काललाई पनि कसैले रोकुँ भन्दैमा हुन्छ र-उसको यत्ति रैछ भन्ने सम्झनु पर्यो अब-गाउँलेमध्येको अर्कोले भन्छ-फेरि उसमाथि पनि उसको हकमा भन्ने हो भने त ज्यादै राम्रो मरण-उसले त वीरगति प्राप्त गर्यो -अरू बेला मर्या भए’ यो ढेब्रेको के भाउ हुन्थ्यो र ?’

‘त्यो त हो-‘ जेठदाइ हिक्का छोड्दै भन्छन्-तर मैले उसलाई खिल्लतको भाग दिइनँ नि ! बाघ केवल मैले नै मारेको भन्ने जस गोजीमा हाले-उफ्‌, यो पापले कमाएको खिल्लत-अनि यो मेरो पापको गोजी-मेरो के पो होला !’

चिता तयार हुन्छ । दाउराको आँख्ले चितामा मृत्यु ब्युँझिन्छ । दुई जना मानिसले लाशलाई उठाइ चितामा तेर्स्याउँछन्‌ । साँझ खस्छ । कालीगण्डकीको तीरमा झमक्क रात पर्छ । चिताबाट आगोको पहिलो लहर उक्लिन्छ, सङ्गीतको प्रारम्भिक लयजस्तो भएर-गण्डकीको पानीमा कल्याङ कुलुङ आवाज आउँछ- सुस्तरी, हरेक चीज सुस्तरी भैरहेछ-माथि आकाशमा ताराहरू पनि सुस्तरी चम्किरहेछन्‌ । पहाडहरू परस्पर निकट हुँदै छन्‌ मुन्टो लुकाएर सुस्तरी, सुस्तरी-। चिताको कमलो ज्वाला फस्टाउँदै जान्छ, हुर्कदै जान्छ-क्रमशः बाल्यकालबाट जवानीतिर । यस्तो लाग्छ-चिताबाट अर्कै जीवन उक्लिरहछ, खुड्किला टेक्तै- ।

जेठदाइको आँखामा आँसु सुकिसकेको छ । गाला र कान राता राता हुँदै आउँछन्‌ । ऊ एकटकसित चितामा हेरिरहेछ । उसको मुखमा अर्के किसिमको उज्यालो आउँछ ।

अहिले मलाई याद छ-मेरो मनमा कता कता योप्रति ईर्ष्या र डाहको भावना पलाइसकेको थियो । तर त्यो यसको र मेरो दोस्तीको नदेखिने भागमा गुप्त रूपले बसेको थियो ।

बहादुर त म पनि थिएँ । तर यसको ढेब्रे-बहादुरीको सीमालाई म छुन सक्तिनथेँ । मेरो मनमा अज्ञात ईर्ष्याले बीज रोप्यो जुन क्रमशः फल्दै फुल्दै र झाङ्गिदै बढ्न थाल्यो । यसको त कुरै छोडिदिऊँ- यो त एउटा अनौठो खालको महात्मा हो।

एकदिन मेरो ईर्ष्या र डाहाको फौज गुजगुजाएर बाहिर निस्क्यो । मैले भनेँ-लडाइँमा बहादुरी देखाएर तकमा लिनु पो बहादुरी… यस्ता नाथे रूख चढ्ने, बाघ मार्ने के- ! तर यसले मलाई कहिल्यै पनि ललकारेन, आफ्नो बहादुरीको घमण्ड कहिल्यै पनि देखाएन । यसको विचार व्यवहारले मात्र होइन, साँच्ची नै पनि यो मलाई आफूभन्दा बहादुर सम्झन्थ्यो । हरेक कुरोमा जेठो सम्झन्थ्यो । तर गजब लाग्छ मलाई चाहिँ यसप्रति किन ईर्ष्या उम्नेको….। जे होस्‌, त्यसको केही दिनमै यो र म अचानक घरबाट भागेर निस्क्यौँ र गएर ब्रिटिश भर्ती केन्द्रमा भर्ना भयौँ । त्यति बेला हामीलाई बहादुरी देखाउने उग्र प्यास थियो ।

हाम्रो साहेब हामी दुई जनासित खुब खुसी थियो । नहोस्‌ पनि किन, हामी उसको कमानलाई बिजुली दौडसरि पूरा गर्थ्यौं । बटालियनका जवानहरूका अगाडि ऊ हाम्रो खुला प्रशंसा गर्थ्यो जसबाट हाम्रो बटालियनमा धाक जमेको थियो । ढेब्रे चाप्लुसी गर्न जान्दैनथ्यो । साहेबलाई कुराकानीमा रिझाउन जान्दैनथ्यो । तर म भने कुरोमा रिझाउँथेँ ।

एकदिन साहेबले मलाई एकान्तमा बोलाई भन्यो-फौजभित्रका गुप्ती कुराहरू उसलाई बराबर भन्ने गर्नु, इनाम दिन्छु रे। र म त्यस दिनदेखि जवानहरूका गुप्ती कुरा धुत्ने काममा लहसिएँ। एक किसिमले म साहेबको जासूसी काम गर्थे भने पनि हुन्थ्यो । सुरु सुरुमा त जवानभित्रका साँचो साँचो भएका कुराहरू मात्र पुर्याउँथेँ तर पछि पछि बक्सिसको लोभले भए नभएका अर्थात्‌ झुट्टा कुराहरू पनि लगाउन थालेँ । किनभने मलाई हरेक कुरोपिच्छे साहेबबाट कम्पनी बक्सिस मिल्थ्यो । मलाई यो बक्सिसको लोभले यतिसम्म पुर्यायो कि एकदिन मैले साहेबलाई ढेब्रेको बारेमा पनि कुरा लगाएँ । तर साहेबले पत्याएन । सायद उसलाई पनि थाहा थियो- ढेब्रे अरू कुरोमा जे होस् भित्र इमान्दार छ, बहादुर छ, साहेबको कमानलाई देउताको हुकूमजस्तै सम्झन्छ । मेरो मनलाई ढेब्रेप्रतिको ईष्यले झन्‌ झन् खोप्न थाल्यो । मलाई बराबर सम्झना हुन थाल्यो, आफूले भनेको कुरा बहादुरी देखाउनु छ भने लडाइँमा पो देखाउने…… ।

जेठादाइको आँखा, कान, मुख धप्प बलेजस्तो हुन्छ । दुई जनाले उनको पाखुरा समाइरहेछन्‌ । छिन छिनमा सती जान खोजेजस्तो गरी जेठादाइ चितामा लम्किन खोज्छन् ।

उनको ज्यू फुलेर दोब्बर हुन्छ । सायद उनी फुत्केर बाहिर निस्कन चाहन्छन् । उता चिताको ज्वाला एउटा पूर्ण जवान मानिसको मस्ती लहराएजस्तो लहराइरहेछ । हावामा मानिसको गन्ध, नशाको उद्वेग छ । चिताबाट चर्रर्रर्र-चिटिक्क-पट्ट-किसिम किसिमको आवाज आइरहेछ ।

जेठादाइको आँखा लागू खाएजस्तै देखिन्छ । उनी एकटक चितालाई हेरिरहेछन् । यस्तैमा एक रात अचानक लडाइँको सूचना मिल्यो । आधा रातमै हामी खटियौँ । संयोगले ढेब्रे र म एउटै मोर्चामा पर्यौं । सात दिन सात रात अविच्छिन्न लडाइँ चल्यो । हाम्रो दुश्मन पनि कम्ती थिएन । हामीलाई पुड्के जापानीहरूसँग लड्नुपरेको थियो । सीमाना जोगाउँदै लड्दै थियौँ । अहोरात्र तोप बारूद र बन्दूकका आवाज बाहेक क्यै सुनिदैनथ्यो । सात दिनसम्मै सङलो आकाश भनेको हामीले देखेनौँ ।

एउटा टापुको सीमानामा ढेब्रेले दिलोज्यान दिएर दुश्मनतँग लड्यो । ऊ जति सुरो भएर दुश्मनको अगाडि पर्न सक्थ्यो उति म सक्तिनथेँ । उसलाई ज्यानको कात्ति माया थिएन । म उसलाई अघि लगाउँदै आफू पछि पछि थिएँ । आखिर सीमानाबाट ढेब्रेले ढुशमनलाई भगाइछाड्यो, दुश्मन हार्यो । तर-फर्किँदा ढेब्रे खोच्याङखोच्याङ गर्दै आएको मैले देखेँ र थाह पाएँ उसको दाहिने खुट्टामा गोली लागेको रहेछ । गौली खुट्टामा नलीहाडभित्र छिरिसकेको रहेछ । ढेब्रे पीडाले करायो । ‘जेठादाइ’ भन्दै भुइँमा लड्यो । मैलै उसलाई आफ्नो पिठ्यूँमा बोकेर पानी पिउन दिएँ, आँखामा लगाइदिएँ । ढेब्रे ब्युँझ्यो, ऊ सापद मूर्छा परेको थियो । स्ट्रेचर तथा प्राथमिक उपचारार्थ सामानहरूले लैस भएका ट्रकहरू टाढाबाट आइरहेका भान पर्यो मलाई…..यो घना जङ्गलको बीच त्यति बेला यो र म बाहेक कोही थिएन । मलाई लाग्यो, अब ढेब्रे बाँच्छ । जरुर बाँच्न सक्छ ऊ…… उसको खुट्टा एउटा काट्नु पर्ला, तर ऊ बाँच्छ…..उफ्‌, ऊ बाँच्न चाहन्थ्यो पनि…….

जेठदाइलाई फेरि छोप्छ । ऊ फेरि चितामा हुत्तिन पुग्छ । उसका पाखुरालाई दायाँ बायाँका मानिसले बेसरी थिच्छन्‌ । ऊ एकदमसित चिच्याउँछ…. ।

ढेब्रे एकबाजी मेरो अगाडि उभिदे…..म आफ्नो पापको गोजी फुकाउँछु……केवल एकबाजी……अनि म तँलाई कैल्यै भन्नेछैन…….।

‘होइन, के भन्नुभा’ यो… ऊ त गैसक्यो., ,पुण्यलोकमा पुगिसक्यो…उसको शरीर पनि त अब खरानी हुँदैछ ऊ…….’

काली गण्डकीको तीरमा उज्यालो भैरहेछ । त्यहाँ युद्ध-क्षेत्रमा मरेको एउटा सिपाहीको दाह-संस्कार हुँदैछ । त्यो निश्छल, निर्लिप्त चिताको ज्वाला जो हरेक सीमानाको जाडोलाई न्यानो दिन्छ, अहिले पनि माघको त्यो चिसो रातमा काली गण्डकीको तीरमा बसेका मानिसहरूलाई आफूतिर वरवर सोहोर्दै न्यानो दिइरहेछ-काली गण्डकीको तीर पनि न्यानो मानिरहेछ ।

चिताबाट अचानक बन्दूक पड्केजस्तो आवाज आउँछ । झिल्काहरू वेगले हावामा इतरिन्छन्‌ । लाशको खप्पर फुट्छ । आगोको लप्का हावामा चिप्लिँदै जान्छ…….

जेठादाइ स्वाँ स्वाँ सास फेर्छन्। सायद उनलाई सास फेर्न गाह्रो भैरहेछ । उनी भन्छन्, ‘मलाई त्यो जङ्गलको बीच त्यति बेला यसै यसै पिङमा मच्चिएजस्तो हुन्छ, मलाई रिङटा लाग्न थाल्छ र यसको अर्को क्षणमै त्यो जङ्गलको सन्नाटालाई छेडेर ‘ढ्याङ्ग’ आवाज आउँछ, यस्तै-ठीक यस्तै, अहिले भर्खर चिताबाट निस्केको आवाजजस्तै । ढेब्रेको छातीमा गोली लाग्छ । ऊ त्यहीँ ठहरै हुन्छ । यता मेरो हातको राइफल भुइँमा खस्छ ।’

‘…र यसरी ढेब्रेले प्राण हत्केलामा राखेर लडेको बहादुरीकी तक्मा मैले पाएँ !’

जेठादाइ आफ्नो फौजी पोशाक लगाएको तक्मा थुतेर दायाँ बायाँ उभिएका मातिसहरूलाई देखाउँदै भन्छन्-यी…..यी……यी…..

जेठादाइलाई समात्ने दुवैतिरका मान्छे झस्केर पछि हट्छन् । जेठादाइ फुक्का हुन्छन्, हातको तक्मा चितामा फ्याँक्छन्, त्यसपछि ह्याट र एक एक गरेर लगाएका तमाम फौजी पोसाकहरू पनि फ्याक्तै जान्छन्…..

वरिपरि उभिएका मानिसहरू जिल्लाराम पर्छन्… यो के उदेक…..

यत्तिमै कुनै पीडाबाजले पोखरीमा हामफाले सरह जेठादाइ हुत्तिएर चितामा हामफाल्छन् । युद्ध-क्षेत्रमा मरेको एउटा सिपाहीको चितामा सलामी बज्छ । सलाम !

लेखक परिचय

१९८९ माघ १ मा काठमाडौँको इन्द्रचोकमा जन्मनु भएका पोषण पाण्डेको पहिलो कविता २००६ सालमा प्रकाशन भएपछि साहित्य जगतमा पाइला चाल्नु भएको थियो । २०१३ सालमा पहिलो पटक कथा प्रकाशित भयो । उहाँको २०२३ सालमा आँखिझ्याल, मानस (२०२३), हिउँमा परेका डोबहरू (२०३३) कथासङ्ग्रह तथा २०२५ सालमा कविता सङ्ग्रह वटवृक्ष प्रकाशित भए ।

उहाँ २०१३ सालमा आयोजित कथा प्रतियोगितामा पुरस्कृत हुनुभयो भने २०२० सालमा कविता विधातर्फ नेपाल एकेडेमी पदक प्राप्त गर्नुभयो । यस्तै २०३४ सालमा रत्नश्री स्वर्ण पदक, प्रवल गोरखा दक्षिण बाहु (२०२६), २०४८ मा सिद्धिचरण पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कार प्राप्त पाण्डेको २०४९ साल वैशाख ७ गते ५९ वर्षको उमेरमा निधन भएको थियो ।

उहाँको परिवारले २०७७ सालमा 'पोषण पाण्डे- तीर्थ सदन' नामक सामाजिक संस्था स्थापना गरी उहाँका अप्रकाशित कविता संग्रह "मेरी नैनी" प्रकाशनमा ल्याएको छ ।

प्रतिक्रिया
Loading...