दिनहरू असाध्यै रमाइलो थियो । जाडो सकेर फागुनले आफ्नो तातो अनुहार फैलाएको हप्तादिन पुग्दै थियो । प्राणी र मान्छेहरूमा न्यानोपन बढ्दै थियो । माइगेन पनि फुर्सदमा थिइन् । भखरै एसएलसी सकेर घरमा आएकी थिइन् । वस्तुभाउ लिएर मरिण खोलाको काँसे बगरे मैदानमा आफूभन्दा साना उमेरका भाइ बहिनीहरू सँगसँगै गोठालो जन्थिन् ।
यस्तै रमाइलो गरी केही दिन बित्दै थियो । गोठालोको सूचीमा टुपुलुक्क अर्को नयाँ अनुहार झुल्कियो, माथिल्लो घरको च्याङबा ज्योज्यो । गोठालाको हुलमा च्याङबा ज्योज्यो अरू दौतरीभन्दा एकाध वर्षको दाइ थियो । उसले झन् रौनक थप्यो । ऊ मिठो बाँसुरी बजाउँथ्यो अनि नयाँ नयाँ कथा सुनाउन सिपालु थियो । किताब पढ्न खुब मन पराउँथ्यो ।
भलै ती किताबहरू ज्ञान गुणले भन्दा प्रेमकहानीले भरिपूर्ण हुन्थे । ऊ अघिल्लो वर्ष एसएलसी सकेर अहेब पढ्न वीरगञ्जतिर गएथ्यो । अहेब पढ्ने ग्रुपकै एक साथीले उसलाई यस्तो किताबमा बानी बसाएको रहेछ ।
ऊ किताब पढ्दा कहिले मुसुमुसु हाँस्थ्यो, रातो अनुहार बनाउँथ्यो । कहिले दुखी भएर आँसु झार्थ्यो । उसले आँसु झारेको देखेर कति पटक आफूसँगको साना सानी गोठाला गोठाल्नी भाइबहिनीहरूले उसलाई सोध्ने गर्थे, ‘होइन दाइ ! तपाईं किताब पढेर किन रुनुहुन्छ ?’
‘किताब पढ्दा मेरो आँसु आउने बानी छ ।’ऊ कुरा टारिदिन्थ्यो । माइगेन उनको मायालाग्दो अनुहार देखेर मुसुमुसु मात्र हास्थिन् । च्याङबा ज्योज्यो पछिको ठूली उनै थिइन् । अरू स–साना नै भइगए ।
यस्तैमा आज शनिबारको दिन थियो । माइगेन ढिलो गरी गोठालोमा मिसिन आइपुगिन् । छापको हाटबजार भरेर फर्किँदा उनी ढिलो भएकी थिइन् । आफ्नो वस्तुभाउ अरू सङ्गीहरूकोमा मिसाएर उनी पनि खोला छेउको ठूलो ढुङ्गातिर गइन् । त्यहाँ गोठालामा आएका साना भाइ बहिनी अथवा भनौँ साथी सङ्गीहरू कोही बालुवाको घर बनाएर खेल्दै थिए, कोही पौडी खेल्दै थिए त कोही लाठीकासा । उमेर अनुसारको आ–आफ्नै हुल थियो त्यहाँ । कागको बीच बकुल्लाजस्तो च्याङबा ज्योज्यो भने आज नयाँ उपन्यासको किताब ल्याएर दोस्रो च्याप्टार सुरु गर्दै रहेछन् ।
‘कृपया दाइ रिसानी माफ भए, म पनि तपाईंले पढेको किताब पढ्न सक्छु होला कि ।’ माइगेनले च्याङबा ज्योज्योको कानैमा गएर भनिन्, ‘मलाई पनि तपाईंलाई जस्तै किताबहरू असाध्यै मन पर्छ । तपाईंलाई थाहा नै छ, हाम्रो गाउँमा मन भुलाउने अरू कुनै मनोरञ्जनको उपाय पनि त छैन ।’
‘हुन्छ, हुन्छ…।’ माइगेनको यस्तो अचानक प्रस्तावले च्याङबा हड्बडायो । तैपनि सम्हालिँदै उसले भन्यो, ‘अहो माइगेन ! आज म पढी सिध्याउँछु र तिमीलाई भोलि दिन्छु हुन्न ? आजलाई.. मात्र आजलाई… दुख नमान है !’
‘के गर्नु पढ्न थालेपछि बीचमा छोड्नै सकिँदैन…।’ च्याङबा ज्योज्योले अझ बढी जोड दिएर भन्यो, ‘खै यस्तो के नसा बस्यो, बस्यो….।’
उसको कुरा सुनेर माइगेनले केही उत्तर दिइन । फिस्सा हाँसी र भोलि किताब पढ्न पाउने आशा राखी ।
रातभरमा किताब पढी सकायो । भोलिपल्ट गोठोलो जाँदा सँगै लिएर गयो । च्याङबा ज्योज्योको हातमा किताब देखेर माइगेन खुशी भइन् ।
‘आहो मेरी प्यारो….’ माइगेनले ठट्टा गरिन्, ‘बाचा त भुल्नु हुँदो रहेनछ नि ? माइगेनले किताब पढ्न पाउने लोभमा चिल्लो घसी, ‘बाचाको पक्का मान्छे मलाई मन पर्छ …।’
तर आश्चर्य च्याङबा ज्योज्योले त्यो किताब तिनलाई दिँदै दिएनन् । दिनभरि त्यो किताब आफैँले चेपेर राख्यो । जसरी चल्ला कोरल्न बसेको माउ बाज आउँदा पनि हलचल गर्दैन, ठिक च्याङबा ज्योज्योले पनि किताबलाई त्यसरी नै कोरलेर बस्यो ।
साँझ गोठालो फर्कँदा पनि किताब उसैले खोकिलोमा चेपी राख्यो । जब छुट्टिने दोबाटो आयो, तब मात्र माइगेनलाई त्यो किताब दिएर पठायो । अघि किताब पाउँदिन कि भनेर दुखी भएकी माइगेन पनि किताब पाएर फुर्किन् ।
किताब दिइसकेपछि च्याङबा ज्योज्योले लामो सास फेर्यो र भन्यो, ‘नराम्रो नमान है !’
‘नराम्रो… ल.. तपाईंलाई एक्कासी के भो ?’ माइगेनले सोधिन्, ‘मैले किताब मागेर तपाईंलाई दुःख दिएँ, उल्टै मैले नराम्रो मान्नु पर्ने कुरा नै यसमा के छ र ! होइन त… ?’
‘जे भए पनि…।’ च्याङबा ज्योज्योले राम्ररी कुरा राख्नै सकेन ।
घरधन्दा सकेर माइगेन सुत्नलाई आफ्नो ओछ्यानमा छिरिन् । अघि ल्याएर फ्याली राखेको उपन्यास टिपिन् र उतानो परेर पहिलो च्याप्टर पढ्न थालिन् । उपन्यासले तिनलाई झन् झन् कस्दै लान थाल्यो । उपन्यासका पात्रहरूको प्रेमकहानीमा डुब्दै गइन् । कहिले दुखी त कहिले सुखी हुँदै थिइन् । अर्को पन्ना पल्टाउँदै गर्दा त्यही पेजमा चेपिराखेको एउटा कागजको चिर्पेटो फ्यासलक्क खस्यो । उनी झस्किइन्, कतै महत्त्वपूर्ण नोट पो हो कि भनेर जतनले उठाएर हेरिन् ।
अनि त उनको होस हवास गुम्यो । एक्कासी कानमा सिठी बज्यो, मुटुको चाल यति बढ्यो कि झण्डै मुटु नै फुटेन । बल्ल तल्ल सम्हालिन् ।
लेखिएको थियो, बस् यति मात्र शब्द, ‘आई लभ यु…।’
उज्यालो भयो । उनी उठिनन् । आमाले बोलाइन्, “आज तिमीलाई सन्चो छैन ?” दिनभरिजसो उनले सुतेरै बिताइन् । भोलिपल्ट पनि यसरी नै समय बित्यो ।
एकै गाउँको भए पनि च्याङबा ज्योज्यो र माइगेनको जातभात मिल्दो नै थियो । दुवै परिवार मध्यमवर्गीय थिए । खान लाउनको दुःख थिएन । पढे लेखेकै परिवार थिए । विवाह बन्धनको लागि सामाजिक रोकतोक हुने कुनै कसुर थिएन । तर आज जे घटना भयो, यो भने अकस्मात र अकल्पनीय थियो, जो सपनामा पनि सोचिएको थिएन । माइगेनले त्यो सानो चिर्पेटोमा लेखेको विशाल पृथ्वी जत्रो भारीलाई कसरी व्यवस्थापन गर्ने ? भेउ छुट्याउन उनले सकिनन् । तीन दिनपछि बल्ल आज उनी केही निष्कर्षमा पुगिन् र गोठालो जाने भइन् । गोठालो जाँदा सँगै च्यापेर लगेकी थिइन्, उसले दिएको उपन्यास ।
चरनमा पुगेपछि थाहा पाइन्, च्याङबा ज्योज्यो नआएको पनि तीन दिन बितिसकेछ । गोठाला भाइबहिनीहरू भन्दै थिए कि भोलिदेखि मात्र च्याङबा ज्योज्यो आउनेवाला छ । जरुरी कामले ऊ सिन्धुलीमाडीतिर गएको छ ।
‘भोलिदेखि….’ उनले लामो सास फेरिन् । सदा केटाकेटीहरूसँगै गीत गाउने, नाच्ने, उफ्रने उनी मुर्झाएर बसेकी छिन् । कुनै उमङ्ग छैन शरीरमा ।
आज अरू बेलाभन्दा अलि ढिला आइपुग्यो च्याङबा ज्योज्यो वस्तुभाउ लिएर । सदा माइगेनलाई देख्ने बित्तिकै उज्यालो अनुहार बनाएर फुर्तिलो रवाफ देखाउने केटो सकेसम्म माइगेनदेखि छल्न खोज्दै थियो । माइगेन चाहिँ छेउ पर्न खोज्दै थिइन्, केटाकेटीहरूको आँखा छलेर । अरू बेला सँगै हुनलाई यस्तो सकस हुन्नथ्यो । केटाकेटीहरूको आँखा पनि छल्न पर्दैनथ्यो । यो दुईचार दिनदेखि खै किन हो उनीहरू दुवैलाई यस्तो सकस भइरहेको छ ।
‘कृपया तपाईंको किताब लिनु होला… ।‘ माइगेनले सधैँ जुधाउने आँखालाई भुइँतिर घोप्ट्याएरै उपन्यास फिर्ता गरिन् ।
‘धन्यवाद !’ च्याङबा ज्योज्योले पनि आँखा जुधाउने हिम्मत गर्न सकेन र कम्पित स्वरमा भन्यो, ‘माफ पाऊँ ! दुखी बनाएकोमा…।’
‘ईश्वर जानून…।’ माइगेनले यति मात्र भनिन् । आज दिनभरि उनीहरूबीच कुनै बातचित भएन ।
च्याङबाले बेलुकी माइगेनले फिर्ता ल्याइदिएकी उपन्यास लगेर ओन्छ्यानमा मिल्कायो । उसले अपराध बोध गर्दै थियो । मनमनै भगवान्लाई धन्यवाद दिइरहेको थियो, यसकारण कि माइगेनले उसलाई यो उटपट्याङ काम गरेबापत धन्न साजय दिइनन् । ‘कतै हल्ला फिजिएर समाजले थाहा पाएको भए….!’ उसको मुटुमा ढ्याङग्रो बज्न थाल्यो, ‘कसैको अगाडि मुख देखाउन लायकको हुने थिएन…।’
ओल्टोकोल्टो गर्दा गर्दै करङ दुख्न थाल्यो तर आँखामा निद्राको पीरो समेत परेको छैन । फेरि टुकी बाल्यो र त्यही किताब दोहोर्याउन खोज्यो । किताब पल्टाउँदै थियो अकस्मात एउटा चिर्पेटो देख्यो ।
‘पक्कै उनले मलाई गाली गरेकी हुनुपर्छ…।’ उसले सोच्यो, ‘नत्र… त दिउँसो केही बोल्ने थिइन् नि…!’
चिर्पेटोमा लेखिएको थियो, ‘मेरो प्राणप्यारो … ! तिम्रो अचानक यस्तो प्रस्तावले झण्डै मेरो मुटु फुटेन । छिः एक्कासी कसरी तर्साउन सकेको प्रेममा पनि ब्वाँसोलेजस्तो…। म हजुरको प्रस्तावलाई शिरोधार्य गर्छु…।’
च्याङबाको दिमागमा अकस्मात बिजुली चम्क्यो । अघि मरिचजस्तो खुम्चेको ऊ फुलेर बेलुन बन्यो । उसलाई मध्यरात चल्दै छ भन्ने होससम्म भएन । ‘आइ लभ यु मेरी प्रितमा…।’ ऊ बेजोडले चिच्यायो ।
‘के भयो हँ, च्याङबा तँलाई ?’ निद्रा खलबलिएर आमा कराइन् । तन्द्रामै बाउ दगुरेर ऊ सुतेको कोठामा आइपुगे ।
आफ्नो हरकत थाहा पाउने डरले फेरि ऊ खुम्चियो र काप्दै भन्यो, ‘बुबा हो माफ गर्नुस्, अहो कति नराम्रो सपना देखेछु र ऐँठन परेछ ।’ उसले सरासर ढाँट्यो ।
भोलिपल्ट गोठालोमा दुवै जनाको भेट भयो । एकअर्काले सिधा सिधा आँखा जुधाउन सकेनन् ।
‘तपाईंहरूको झगडा परेको छ, हो ?’ सदा भेट भयो कि ठट्टा गरेर रमाइलो गर्ने गरेका, उनीहरूको व्यवहार बदलिएको देखेर भाइ बहिनीहरूले सोधे, ‘किन तपाईंहरू बोल्नु हुन्न ?’
दिन यतिकै बित्यो । साँझ छुटिने बेला च्याङबा ज्योज्योले माइगेनको हातमा कागजको सानो टुक्रा थमाइ दियो । माइगेनले जतनसँग लुकाइन् र घर पुगेपछि एकान्तमा हेरिन् ।
‘प्रियतमा ! आज राति नौ बजे । हो, ठ्याक्कै नौ बजे… । घरमाथिको भञ्ज्याङमा भेटौँन । तिमीसँग मनको केही कुरा गर्नु छ । रिसानी नभए…माया भए… म बाटो कुरिरहेको हुनेछु ।’
‘आम्मामा यस्तो राति…..!’ पत्र पढेपछि माइगेन डराइन्, ‘कतै नराम्रो त हुने होइन… ।’ माया अन्धो हुन्छ भन्छन् सायद अन्धो भएरै बहादुर हुँदो हो । अघि डरले काँपेको माइगेनको मन फेरि कस्सियो, ‘आखिर अब यो जीवन नै त उसैको हो….।’
मायाको विश्वास धेरै, केही नराम्रो पो होला कि भन्ने आशंका थोरै, अन्तर्द्वन्द्वबीच राति घर बाहिर जाने मन नहुँदा नहुँदै पनि खै केले हो ? उनका गोडा च्याङबा ज्योज्योले भनेकै ठाउँतिर घिर्सिँदै अघि बढ्यो । ठिक समयमा उनी त्यहाँ पुग्दा च्याङबा उभिइरहेको थियो र तिनलाई देख्ने बित्तिकै अलिक निहुरेर सुस्तरी सम्बोधन गर्यो ।
च्याङबाको हात उनको गलातिर उचालिँदै थियो, परर…परर…आवाज आयो ।
च्याङबा ज्योज्यो एकातिर ढल्यो र माइगेन अर्कोतिर पछारिइन् । त्यो स्वागतको नभई गोलीको आवाज थियो । देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो ।
भोलिपल्ट सरकारी र राष्ट्रिय मिडियामा मूल खबर बनेर आयो, ‘सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा दुई आतङ्ककारीको मृत्यु ।’
उनीहरूको तस्बीर पनि छापिएको थियो । आतङ्ककारी च्याङबाको दुई हातले खादा पक्रिरहेको थियो । त्यस्तै ‘केही दस्ताबेजसहित’ भनिएकी माइगेनको हातमा च्याङबाले दिएको तिनै चिर्पेटोको अक्षर … ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।