पाँचौँ रात

मौसम बदलिँदै थियो । बिहानदेखि नै आकाश धुम्म थियो र शीत पनि परेको थिएन । हावा रापिलो थियो र लाग्खुट्टले पनि साताउँदै थियो । घोडाको बथान तबेलामा फर्काइने बित्तिकै टाटेपाङरे घोडाको वरिपरि सबै घोडाहरू झुम्मिइहाले र उसले पनि कथा टुंग्याउँदै भन्यो-

छिट्टै नै मेरो सुखी जीवनको पनि अन्त्य भयो । खालि दुई वर्ष मात्रै मैले यस्तो बिताउन पाएँ । दोस्रो हिउँदको अन्त्यमा मैले अपार सुखको अनुभव गरेँ र त्यसपछि तुरुन्त नै मेरा दुर्दिनहरू शुरु भैहाले । एकपल्ट मैले राजासाहेबलाई घोडदौडमा लिएर गएँ । त्यतिखेर मात्सेनित्साको पर्व मनाइदै थियो । अत्लास्नी र बिचोक दौड लगाउँदै थिए । मन्चमा मालिकले के गर्यो, के गरेन, त्यो त मलाई थाहा हुन सकेन, तर बाहिर निस्कनेबित्तिकै उसले मलाई पनी घोडदौडको मैदानमा लिएर जाने आज्ञा दियो । मलाई अझैं सम्झना छ, त्यहाँ अत्लास्नीको विरुद्ध मलाई दौडाइने भएको थियो । अत्लास्नी सानो गाडी तान्दैथियो, म चाहिँ स्लेजगाडीमा नारिएको थिएँ । घुम्तिनेर मैले उसलाई उछिनिहालें । अनि त मान्छेहरूले खूब हाँसेर हल्ला मच्चाउँदै ताली बजाउन थाले ।

जब मलाई लैजान खोजिँदै थियो, त्यतिखेर त मान्छेहरूको एक हुल मेरो पछि लाग्यो । कम्तीमा पाँच जनाले मलाई किन्न भनेर राजासाहेबलाई र हजारौं रूवल दिने कुरा झिके । परन्तु ऊ चाहीं हाँसि मात्रै रह्यो र उसका सेता दाँतहरू झलल्ल टल्किरहे ।

“नाइँ !”-उसले भन्यो । “यो घोडा होइन, मेरो साथी हो । कसैले सुनको पहाडै दिन्छु भने पनि यसलाई म बेच्ने छैन । सलाम, महानुभाव हो !”-स्लेजगाडीको ढोका खोलेर ऊ भित्र बस्यो ।

“स्तोझिल्का सडकमा लिएर जा !”-त्यहाँ नै उसकी रखौटीको घर थियो । हामी त्यतैनिर हाँकियौं । त्यो नै हाम्रो सुखको अन्तिम दिन भयो ।

हामी उसको घरमा पुग्यौं । उसलाई राजासाहेब ‘मेरी’ भन्थ्यो । तर ऊ चाहीं कुनै अर्कोलाई प्रेम गर्थी र उसैसँग कतै डुल्न निस्केकी थिई । यो खबर मालिकले त्यतिखेर पायो जब हामी उसको घरमा पुग्यौं । त्यसबेला पाँच बजेको हुँदो हो । मेरो साजबाज निकाल्दै ननिकालेर उसको खोजमा मालिक हिंडिहाल्यो । त्यसै दिन मसित यस्तो व्यवहार गरियो जस्तो पहिले कहिल्यै भएको थिएन । मेरो जिउमा कोर्रा बर्षन थाल्यो र मलाई जबर्जस्ती बेतोडसित दगुराउन थालियो । पहिलेबाजि मेरा खुट्टा फतक्क गले । म लज्जित भएँ र आफ्नो मर्यादा कायम राख्न मैले तन्किने कोशिश गरेँ । परन्तु एकाएक राजासाहेबको चित्कार सुनियो: “दौड्‌, पाजी !” कोर्रा सुइँयय हावामा सुसाउँदै मेरो ढाडमा बज्जियो । म छार्तोस कसेर दगुर्न लागें । मेरा उफ्रिरहेका खुट्टा स्लेजगाडीको फलामे पटरीमा ठक्कर खान पुग्थे । करीब पच्चीस भेर्स्ता पार गरेपछि हामीले उसलाई भेट्वायौं । मैले राजासाहेबलाई घरमा फिर्ता ल्याएँ, तर रातभरि मेरो जिउमा कम्प छुटिरहयो र खाने पनि कत्ति रूचि भएन । बिहान मलाई पानी खान दिइयो । मैले टन्न पानी खाएँ । त्यसै समयदेखि म पहिलेको जस्तो घोडा रहन गइनँ । म बिरामी परेँ । मलाई खूब सताइयो, तर मानिसहरू भने यसैलाई नाना उपायले उपचार गरेको भन्ने नाउँ दिंदा रहेछन्‌ । मेरो खुर फुक्लियो, सारा आङभरि खटेराहरू उठे, खुट्टाहरू बाङिए, छाती पनि स्याप्प सुकेर गयो । मेरो तनमन सारा नै शिथिल र लस्त भैसकेको थियो । मलाई एक जना घोडा-व्यापारीको हात बेचेर पठाइदिए । व्यापारीले मलाई गाँजर र यस्तै-उस्तै केही चीजबीजहरू खूब खुवायो । अनजान मानिसहरूलाई ठग्न नै मलाई उसले यसरी तैयार पार्यो जसले गर्दा म स्वस्थ र हट्टाकट्टा देखिएँ। तर न मेरो जिउमा शक्ति थियो , न त चालमा फूर्ति नै । घोडा-व्यापारीले मलाई पिर्नसम्म पिर्यो । जब कोही ग्राहक आउँथ्यो त्यतिखेर ऊ मेरो कठघरमा पस्थ्यो र मलाई चाबुकले बेसरी चुट्थ्यो । म डरले बौलाइसकेको हुन्थेँ । अनि उ मेरो पिठ्यूँमा कोर्राको डाम पुछपाछ गरेर मलाई बाहिर निकाल्थ्यो। आखिर एउटी बुढियाले मलाई किनेर लगी । ऊ मलाई गाडाम नारेर निकोलाई याभ्लेन्नी गिर्जाघरसम्म जोताउँथी । त्यो बुढिया आफ्नो कोचवानलाई मारसित कोर्राले हिर्काउँथी । बिचरो कोचवान मेरो कठघरामा पसेर धुरुधुरु रुन्थ्यो । आँसुको स्वाद नुनिलो नुनिलो र प्रिय हुँदो रहेछ भन्ने मलाई त्यति बेला नै थाहा भयो । एक दिन त्यस बुढियाले पनि कहिल्यै नफर्कने बाटो तताई । उसको कारिन्दाले मलाई गाउँमा लग्यो र एक जना पसलेको हातमा बेचिदियो । त्यस पसलेले मलाई खूब गहुँ खान दियो र यसले गर्दा मेरो रोग अझ चर्कियो । अनि एक किसानको हातमा उसले बेचिदियो । म उसको हलो जोत्थेँ । त्यहाँ खान त म उतिसारो केही पनि पाउदिनथेँ र फालीले काटेर मेरो खुट्टा समेत जखमी हुन गयो । म फेरि बिरामी भएँ । त्यहाँ बाट म सट्टा पट्टामा एउटा जिप्सिको हातमा परेँ । उसले पनि हुन सम्म मलाई सतायो र आखिर यहाँको कारिन्दाको हातमा बेचिदियो । त्यसैले अहिले म यहाँ छु ।

कसैले पनि एक लवज बोलेन । सिमसिम पानी पर्न लागिरहेको थियो ।