हराएको जङ्गल
योहानेस विल्हेल्म जेन्सेन
योहानेस बिल्हेल्म जेन्सेनको जन्म डेनमार्कको फोर्सोमा २० जनवरी १८७३ मा एउटा कृषक परिवारमा भएको हो । उनी सर्जक मात्र नभएर कुशल अनुवादक पनि थिए । हेमिङ र ल्विटम्यानको कृतिलाई डेनिस भाषामा अनुवाद गरेका छन् उनले । उनको अद्भुत काव्यिक कल्पनाशीलता र नबीन शैलीका लागि सन् १९४४ को नोबेल पुरस्कार प्रदान गरियो । नोभेम्बर २१, १९५० मा कोपेनहेगनमा उनको निधन भयो । जेन्सेनका नाटक, कथा, उपन्यास कविता एवम् यात्रासाहित्य गरी लगभग ६० वटा कृति प्रकाशित छन् । न्यु टेल्स फ्रम हिमरल्यान्ड (१८९६), कोगेन्स फाल्ड, द लङ जर्नी (१९१९- २१), डेन्न (१५९६) आदि उनका महत्त्वपूर्ण कृतिहरू छन् ।
खेती किसानी गर्ने ती मान्छेको नाम थियो कोरा । अलिकति पैसा जम्मा भएपछि उनी दासको खोजीमा सहरतिर लागे । दासको थोक व्यापारीले उनलाई थरीथरीका दास देखाए पनि कोरालाई चित्त बझेन । “सबैलाई एक एक गरेर बाहिर लाइन लगाइ दिनपर्यो मैले ?” व्यापारी झोक्कियो । मध्य दिउँसो दासहरू सबै मस्त निद्रामा थिए ।
“यहाँ मात्रै छ र ? अन्त पनि जान सक्छु म,” कोराले सरल भाषामा जवाफ दिए ।
“भैगो, भैगो, पख्नुस्,” यति भन्दै व्यापारीले सिक्री तानिदियो दासहरू निद्राबाट बिउँझे आँखा मिच्दै। कोराले सबैलाई एक एक गरेर हेरे बडो सुक्ष्म तरिकाले ।
“ल, यसलाई हेर्नुस् त, निकै मोटोघाटो छ” यति भन्दै व्यापारीले दासमध्येको एक जनालाई अगाडि सारिदियो । कस्तो लाग्यो तपाईंलाई यो दास ? छाती पनि पुष्ट छ, एक चोटि हानी हेर्नू त छातिमा, पाखुरा हेर्नुस्, नशा हेर्नुस् त भ्वाइलिनको तारजस्तो छ, ल मुख खोलेर देखा त”
व्यापारीले दासको मुखमा औँला घुसार्यो अनि उज्यालो भएतिर उसलाई फर्कायो । अब यसको दाँत हेर्नुस् । उसले फाँइफुट्टी लगायो, उसले पछाडिको भागले दासको दाँतमा छुवाउँदै भन्यो, “ल हेर्नुस् यी दाँतहरू स्टीलजस्ता देखिन्छन् । यति बलिया छन् कि फलामका किलासमेत चपाउन सक्छन् ।
कोरा अलि बेर सोचमग्न भए । उनका हातहरू दासको शरिरको जाँचपड्ताल गर्न सलबलाउन थाले । मांशपेशी कत्तिको बलियो रहेछ औंलाको टुप्पोले छाम्न थाले । अन्ततः उनी त्यही दास किन्न पुगे । त्यसको मूल्य तिरे अनि हतकडी लगाएर घरतिर लिएर हिँडे ।
अलि दिन बित्न नपाउँदै दास बिरामी पर्यो र क्रमशः दुब्लाउँदै गयो । बजारतिर पनि देखापर्न छाडयो किनकि उसले स्थायी रूपमा बसोबास थालिसकेको थियो त्यहाँ । क जङ्गलतिरै फर्किन लालायित थियो, जहाँबाट आएको थियो । यो राम्रै सङ्केत थियो । कोराले लक्षण थाहा पाइसकेका थिए, एक दिन उनी दासको छेउमा बसे । दास उत्तानो परेर पल्टेको थियो । जीवनप्रति उसको मोहभङ्ग भएको थियो । उनी दाससित बडो तार्किक गफ गर्न थाले । तिमी आफ्नो जङ्गलतिर फर्किन पाउने छौ, पिर नमान, तिमीलाई बचन दिन्छु, विश्वास गर ममाथि । तिमी अझै काँचै छौ, तिमीलाई याहाँ छ पाँच वर्षसम्म मन लगाएर मेरो खेत जोत्यौ भने म तिमीलाई मुक्ति दिनेछु । मैले तिमीलाई खरिद गरेकै किन नहोस्, पाँच वर्ष मात्रै हो मन्जुर छ तिमीलाई मेरो सर्त ?”
दास मरी मरी काममा खट्न थाल्यो । राक्षसै थियो ऊ काम गर्न भनेपछि । ढोकामा बसेर उसको शरीरको तन्काइ र मांसपेशीको गाँठो देख्दा उनलाई आनन्द लाग्न थाल्यो । अरू काम नभएपछि कोराले अरू गरून पनि के, घन्टौँसम्म हेरेर बसिरहन्थे । उनले के महसुस गर्न थाले भने दासको शरीर साँच्चिकै सुन्दर छ र आँखालाई आनन्द दिने खालको छ ।
पाँच वर्ष बित्यो, यस बिचमा औँलाकै सङ्ख्यामा थुप्रै वसन्तहरू आए र गए । हरेक दिन साँझ दास सूर्यास्तको दृश्य हेर्थ्यो । भुइँमा ढुङ्गाले कोरेर कति चोटि घाम झुल्क्यो र कति चोटि डुब्यो, चिनो लगाएर रेकर्ड राख्न थाल्यो उसले । घाम झुल्किनासाथ ऊ दाहिने हातको बुढी औँला भाँचेर गन्थ्यो । केही समयको अन्तरालपछि त्यो प्रक्रियामा अनन्तता देखियो, त्यति बेला उसले चोर औंलाको उपयोग गर्न थाल्यो, अरू औँलाको तुलनामा बुढी औँला र चोर औँलालाई बढी माया गर्थ्यो जसले उसको दासत्वको मापन गर्न अझै सहयोग गर्दै थिए ।
यसरी दिनगन्ती गर्नु र समयको हिसाब राख्नु दासको दिनचर्या नै भएको थियो, उसको आन्तरिक र आध्यात्मिक सम्पत्ति न कसैले ऊबाट छिनेर लान सक्थ्यो न त विवाद गर्नै सक्थ्यो ।
जति जति समय बित्दै गयो, उति उति उसका अनुमान वा विचारहरू गहिरा र फराकिला हुँदै गए, विस्तृत हुँदै गए । असीमित परिधिमाझ वर्षहरू यसरी बित्दै गए, जसलाई उसले आफ्नो पकडमा लिन सकेन तर हरेक दिनको सूर्यास्तपछि दासको अस्ताएको विश्वास बढ्दै गयो र पुनः स्थापित हुँदै गयो । वर्तमान समय जुन क्षणभङ्गुर थियो त्यो अन्त्यहीन देखा पर्यो । समय भूतमा परिणत हुँदै जाँदा भविष्यचाहिँ असीमित रूपमा ऊबाट टाढिँदै जान्थ्यो ।
यति ज्ञान प्राप्त गरिसक्दा दासको आत्मबल निकै बलियो हुँदै गयो । समयक्रममा उसका आकाङ्क्षा चुलिँदै जाँदा उसको संसार पनि फैलिँदै गयो साथै विचार पनि असीमित हुँदै गयो ।
हरेक साँझ दास बडो सोचमग्न भएर टाढा पश्चिमतिर हेर्थ्यो अनि प्रत्येक सूर्यास्तसँगै उसको आत्माभित्र अरू गहिराई थपिएको महसुस हुन्थ्यो ।
अन्तत: जब पाँच वर्ष बित्यो, अब त आफ्नो कुरा राख्न दासलाई कुनै अप्ठ्यारो परेन । ऊ आफ्नो मालिककहाँ गयो अनि आफ्नो मुक्तिका लागि आग्रह गर्यो । ऊ आफ्नो वासस्थान जङ्गलतिर जान चाहन्थ्यो ।
“निकै विश्वासिलो र इमान्दार सेवकका रूपमा काम गर्यौ तिमीले” कोराले खुब सोचेर भने, “कहाँ हो तिम्रो घर ? भन मलाई, पश्चिमपट्टि हो त ?
प्राय : तिमीलाई त्यही दिशातिर एकटकले हेरिराखेको देख्छु ।
हो, उसको घर पश्चिमपट्ट नै थियो ।
“त्यसो भए त निकै टाढा होला हगि तिम्रो घर ?” कोराले भने । दासलै स्वीकृतिसूचक टाउको हल्लायो “निकै टाढा छ ।”
“अनि पैसा छ त तिमीसित ?”
दास मौन थियो साथै निराशा र भयभीत पनि। हो त नि ! ऊसित कहाँबाट होस पैसा ।
“हेर, बिनापैसा तिमी कहीँ जान सक्दैनौ मकहाँ अरू थप तीन बर्ष काम गर्यौ भने तिमीलाई घर जान पुग्दो पैसा दिउँला म । तीन बर्ष बस्न मन नलागे दुई वर्ष मात्रै बसे पनि हुन्छ नभए ।”
दासले टाउको निहुरायो, पूर्ववत् काममा लाग्यो, काममा लागेपछि उसले पहिलाको जस्तो दिनगन्ती गर्न छाड्यो । बरु त्यसको साटो ऊ सपना देख्न थाल्यो । ऊ निद्रामा रुने र बर्बराउने गर्न थाल्यो । कोराले सबै सुने । केही समयपछि उ फेरि बिरामी पर्यो ।
त्यसपछि दासको छेउमा बसेर कोराले गम्भीरतापूर्वक ऊसित कुरा गरे । उनको बोलीमा निकै समझदारी झल्किन्थ्यो, ज्ञानगुनले भरिपूर्ण यस्तो लाग्थ्यो मानौँ उनी अनुभवले खारिएका मान्छे हुन् ।
उनले भने- “म पाको मान्छे हुँ, जवानीमा म पनि पश्चिमतर्फ लालयित थिएँ घना जङ्गलले मलाई इसारा नगरेको होइन । तर यात्राका लागि मसित कहिल्यै पुग्दो पैसा भएन । अब म कहिल्यै चाहेर पनि जान सक्दिनँ । सायद मरेपछि मेरो आत्मा त्यता गएछ भने बेग्लै कुरा हो । तिमी ठिटै छौ, काम जति भने पनि गर्न सक्छौ । म आफू जवानीमा भन्दा तिमीलाई बढी नै बलियो देख्छु । यी सबै कुरामाथि विचार गर त । यो बुढोको सुझावलाई ध्यान दिएर सुन अनि तिमीलाई चाँडै निको हुन्छ, पीर मान्नु पर्दैन ।”
निको भएर काम समाते पनि उसमा पहिलाको जस्तो जोस थिएन । कहिलेकाहीँ त काम गर्दागर्दै उसका हातगोडा लल्याकलुलुक हुन्थ्यो । सारा इच्छा आकाङ्क्षा मरिसकेका थिए उसका । उसलाई काम गर्दा गर्दै प्याक्लाक्क पल्टिन मन लाग्थ्यो । हेर्दै गएपछि एक दिन कोराले उसलाई कोर्रा लगाए, ऊ नराम्रोसित रोयो ।
यसै गरी दुई वर्ष बितेको पत्तै भएन, त्यसपछि बल्ल पो कोराले दासलाई साँच्चिकै मुक्ति दिए । ऊ पश्चिमतर्फ लाग्यो । केही महिनापछि ऊ अत्यन्त दयनिय अवस्थामा दुःखित भएर फर्क्यो । उसले आफ्नो जङ्गल कतै पनि फेला पार्न सकेको थिएन ।
“देख्यौ नि ! अब त, मैले पहिल्यै भनेको थिएँ कि थिइनँ ?” कोराले भने “कसैले आरोप लगाउन पनि सक्छ कि मैले तिमीलाई राम्रो व्यवहार गरिनँ भनेर । फेरि कोसिस गरिहेर यो चोटि पूर्वतर्फ जाऊ, हुन सक्छ तिम्रो जङ्गल त्यतै पो छ कि न।
एक चोटि फेरि दास आफ्नो गन्तव्यतिर अगाडि बढ्यो । यो चोटि ऊ घाम झुल्किने दिशातिर मोडियो । अन्ततः लामो समयसम्म भौँतारिएपछि आफ्नो जङ्गलमा आइपुग्यो । तर उसले राम्रोसित चिन्न सकेन त्यो जङ्गललाई । थकाइले लखतरान भएर लगभग हार खाएपछि ऊ पश्चिमतर्फै फर्क्यो अनि आफ्नो मालिककहाँ आएर भन्यो- “साना ठुला जङ्गल त फेला पारेँ तर ती जङ्गल मेरा होइन रहेछन् ।”
“हँ ?” कोरा जोड्ले खोक्न थाले ।
“के भो त, मैसँग बस ।” त्यसपछि उनले बडो मिठो स्वरमा भने म जिउँदो छउन्जेल तिमीले यो धर्तीमा मेरो घर छैन भन्ठान्नु पर्दैन । म मरेपछि पनि मेरा छोराहरूले तिम्रो हेरचाह गर्ने छन्, पिर मान्नु पर्दैन । त्यसपछि दास त्यहीँ बस्न थाल्यो सदाका लागि । कोरा वृद्ध हुँदै गए तर उनको दास मस्त जवानीमा हिँड्दै थियो । लामो समय बाँचोस् भनेर कोराले उसलाई मिठो मसिनो खान दिए । स्वास्थ्य राम्रो होस् भनेर सफा, सुन्दर राखे, अनि भद्र र आज्ञाकारी बनोस् भनेर बेला बेलामा कोर्रा पनि लगाए । न त उसलाई थकाइ मार्न दिइन्थ्यो । हरेक आइतबार भने उसलाई डाँडामा गएर पश्चिमतर्फ हेर्ने छुट दिइएको थियो ।
कोराको खेतमा प्रशस्त अन्न उब्जनी भो । उनले जङ्गल किनेर फँडानी गर्न लगाए ताकि उनको दासलाई कामको खाँचो नहोस् । रुखहरू भटाभट ढालिए । कोरा आर्थिक रूपले सम्पन्न भैसकेका थिए । अनि एक दिन उनले एउटी महिला दास घरमा ल्याइदिए ।
वर्षहरू बित्दै जाँदा कोराको घरमा छ-छ जना दास केटाहरू जन्मे, हुर्के । बाबुजस्तै बडो मिहिनेती थिए उनीहरू पनि । बाबुचाहिँ छोराहरूलाई भन्ने गर्थ्यो, “काम गरे मात्रै समय बितेको पत्तो हुँदैन ।” समय बित्दै जाँदा अनन्त जङ्गलमा जो कोही पनि वाक्कदिक्क हुन्छ । प्रत्येक छुट्टीका दिनमा दास आफ्ना छोरालाई ढिस्कोमा लिएर जान्थ्यो, जहाँबाट उनीहरू सूर्य हेर्थे अनि ऊ छोरालाई कसरी तृष्णा पाल्ने, प्रतीक्षा कसरी गर्ने भनेर सिकाउँथ्यो ।
कोरा बुढो र जीर्ण हुँदै गए, हुन त उनी सधैँ बुढै जस्ता देखिन्थे तर यतिखेर उनीसित आफ्नो बुढ्यौलीबाहेक अरू केही थिएन भन्दा हुन्छ । उनका छोराहरू कहिल्यै हट्टाकट्टा भएनन्, यद्यपि आत्तिइहाल्नुपर्ने स्थिति भने थिएन किनभने ती दास केटाहरू एकै मुड्कीमा जो कोहीलाई पनि ढालिहाल्ने क्षमता राख्थे । केटाहरू गज्जबका थिए । मांसपेसी त्यत्तिकै कसिलो, दाँतहरू बाघका जस्तै बलिया । समय अति अनुकूल थियो । दासहरू बन्चरो उध्याएर रुख ढाल्थे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।