
उसको नाम शीतल । शीतल तामाङ । उसको उमेर अहिले २७ वर्ष । औसत नेपाली महिलाको उचाइ, पातलो शरीर, साँवलो वर्ष, छरिती छे शीतल । राम्री देखिन्छे । उसको अनुहारमा धेरैजसो समय मुस्कान खिलिरहेको हुन्छ । त्यस मुस्कानले उसको अनुहारको साँवलोपन छोपिन्छ र उसमा कान्ति झनै खुलेर आउँछ । उसले उसकोभन्दा माथिल्लो जात अर्थात् क्षेत्रीसँग बिहे गरेकी छे । ऊ आफैँले रोजेर आफ्नै खुशीले बिहे गरेकी । बिहे गरेको छ वर्ष भयो । उसकी पाँच वर्षकी छोरी छे । छोरी असाध्यै बाठी छे । बाठी मात्र होइन, एकदमै बोलक्कड पनि छे ।
शीतलको घर नुवाकोट जिल्लामा पर्छ । ठाउँको नाम अहिले बिर्सेँ । उसको माइती पनि त्यतै हो । माइती र घरको दूरी धेरे टाढा छैन भन्थी एकदिन । अहिले ऊ लोग्ने, सासूसँगै काठमाडौँको डेरामा बस्छे । उसको ससुरा छैनन् । शीतलले बिहे गरेर यस घरमा आउनुभन्दा अघि नै उनको मृत्यु भइसकेको थियो । उसको लोग्ने एउटा फर्निचर कारखानामा फर्निचर बनाउने काम गर्छ । शीतल भने मेरी श्रीमती सुधाको माइतीघरमा घरायसी काममा सघाउँछे । त्यसैले मलाई भेट्दा ऊ भिनाजु भन्छे । उसले भिनाजु भनेको सुनेर उसकी सानी छोरीले पनि मलाई भिनाजु नै भन्छे । शीतलकी छोरीले बडो सानो बोलीमा एकदमै सुन्दर किसिमले भिनाजु भन्छे । मलाई उसले त्यसो भनेको मन पर्छ ।
शीतल कफी मिठो बनाउँछे । त्यसैले म कहिलेकाहीँ त्यहाँ जाँदा भन्छु– “शीतलले पकाएको कफी पिउन मन लागेर आएको ।”

भीष्म उप्रेती
ऊ खुशीले फुरुक्क पर्छे, मुस्कुराउँछे र मीठो कफी बनाएर ल्याउँछे । त्यसो त उसँग धेरै गहिरा कुराहरू हुँदैन मेरो । गर्ने काम पनि केही पर्दैन । हामीबीचमा विषयवस्तुको ज्ञानको तादात्म्य पनि मिल्दैन । फेरि जतिसुकै खुला जीवन बाँचे पनि, जतिसुकै हार्दिक भए पनि हामीबीचमा एक किसिमको सिमा बनेकै हुन्छ ।
एकदिन म सुधासँगै उनको माइतीघर जाँदा शीतल सधैँजस्तो उज्याली थिइन, हसिली र फुर्तिली पनि देखिनँ मैले उसलाई । तैपनि मलाई देखेपछि उसले भनी– “म भिनाजुलाई कफी ल्याइदिन्छु है । ऊ भान्छाकोठातिर लागेपछि मैले भनेँ– “आज शीतललाई सन्चो नभएजस्तो छ नि, अलि आलस्य देख्छु उसमा ।”
ससुराबुबाले भन्नुभयो– “आज अलि न्यास्रिएकी जस्ती छ । तर मैले सोधेको छैन ।”
हामीले एकछिन पछि सन्चोसुबिस्ताकै बारेमा कुरा गर्यौँ । घरमा सासूआमा हुनुहुन्न । केही महिनाअघि बित्नुभयो । ससुराबुबासँग कुरा गर्न र उहाँलाई एक्लो अनुभव नहोस् भनेर पनि हामी गइरहँदा राम्रो हुन्छ । यसो हुनाले अलिकति समय भयो भने हामी खुरुर्र गइहाल्छौँ उहाँसँग एकछिन समय बिताउन ।
शीतल दुइटा कफी लिएर आई, एउटा मलाई र एउटा ससुरा बुबालाई । सुधा भने चिया, कफी पिउँदिनन् ।
शीतलले टेबुलमा कफी राखेपछि सुधाले सोधिन्– “शीतल तिमीलाई सन्चो छैन ?”
“होइन दिदी, सन्चै छ ।” उसले भनी ।
“तर तिमी सधैँजस्ती फुर्तिली छैनौ त आज ? केही भएको भए भन । सरसल्लाह गर्दा राम्रै हुन्छ ।”
शीतल छेउको अर्को कुर्सीमा बसी । उसले बिस्तारै भनी– “हेर्नुस् न दिदी, मेरो नागरिकता छैन । बच्चाको जन्मदर्ता गरेको छैन । स्कूलले जन्मदर्ताको प्रमाणपत्र ल्याऊ भन्छ । त्यो नभई स्कुलमा हुँदैन भन्छ । त्यसको लागि मेरो पनि नागरिकता चाहिन्छ । बूढालाई बनाइदेऊ भनेर कति पटक भनिसकेँ, बनाइदिँदैन । त्यसैले अलिअलि दिक्क लागिरहेको छ ।”
“किन बनाइदिँदैन ? के भन्छ तिम्रो बूढाले ?” सुधाले उत्सुकतासाथ सोधिन् । सुधा महिला अधिकार र कानुनी क्षेत्रमा काम गर्छिन् । महिलाको नागरिकताको सवाल पनि उनको काम गर्ने क्षेत्रमध्येकै हो ।
शीतल एकछिन बोलिन । भुइँतिर हेरेर बसिरही ।
“भन न भन, तिमीले नभने तिम्रो समस्या हामीलाई थाहा हुँदैन । अनि हामीले पनि तिमीलाई सल्लाह दिन सक्दैनौँ ।” सुधाले फेरि भनिन् ।
“बूढा त सोझै छ, बनाइदिन्छु पनि भन्छ । तर सासूले मेरो बूढालाई मेरो नागरिकता बनाइदिनु नै हुन्न । मेरो बूढाले मेरी सासूले भनेको कुरालाई नाघेर हिँड्न नै सक्दैन ।” शीतलले भनी ।
शीतल र सुधाको वार्ता सुनिरहेको मैले अनायास सोधेँ– “सासूले चाहिँ नागरिकता बनाइदिन किन नदिएकी नि ?”
शीतल अलिअलि लजाई । उसको अनुहारमा लाजको पर्दा प्रष्टै देखिन्थ्यो । उसले बिस्तारै भनी– “नागरिकता बनाइदियो भने मैले अंश माग्न पाउँछु रे । अनि म राम्री छु रे । त्यसैले नागरिकता भएपछि उनीहरूको सम्पत्ति लिएर अर्कै केटासँग पोइला जान्छु रे । त्यसो भन्नुहुन्छ सासूले ।”
शीतलको कुराले मलाई आश्चर्य लाग्यो । मान्छेको दुःख, मान्छेको समस्या, पीर र शङ्का पनि कति हो कति । शुरुमा त हामी हाँस्यौँ गलल्ल । तर हाम्रो हाँसोले शीतलको नागरिकता बन्दैनथ्यो, उसको मनको पीर पनि घटेर कम हुँदैनथ्यो । मैले गहिरिएर शीतललाई हेरेँ । उसको अनुहारमा यतिबेला विषादको लेपन लागेको निर्दोषिता थियो । उसलाई केही न केही उपाय सुझाउन आवश्यक थियो ।
“साँच्चै, त्यसै भन्छिन् त तिम्री सासूले ?” मैले सोधेँ ।
“हो नि भिनाजु । म राम्री नै भएकी भए पनि उनीहरूको अलिकति भएको सम्पत्ति पनि अंश गरेर लिएर अर्को केटासँग हिँडिहाल्छु होला त ? मैले पनि त कति धेरै मन पराएर जातभन्दा बाहिरको केटासँग आएको हुँ नि । मलाई कति धेरै माया लाग्छ उसको । दुई दिन उसलाई नदेख्दा कति गाह्रो हुन्छ । एक्लै त बस्नै मन लाग्दैन ।” उसले भनी ।
यसैबेला ससुराबुबालाई भेट्न कोही आयो । उहाँ उठेर घर बाहिर आँगनमा जानुभयो ।
“तिमी सासूलाई केही नभन । तर बूढालाई सम्झाऊ । फकाऊ । हेर नागरिकता त नभई हुँदैन । नागरिकता भएन भने छोरीले पढ्न पाउँदिन । नपढेपछि हामीजस्तै अर्काको घरमा काम गर्नुपर्छ । नागरिकता नभएको मान्छेलाई देशले चिन्दैन । नचिनेपछि देशले सुरक्षा र सुविधा केही पनि दिँदैन । पछि झनै ठूलो समस्या आउँछ । बनाइदेऊ भन ।” सुधाले सम्झाइन् ।
“भन्न त भनिरहेकी छु । अब दिदीले सम्झाए जसरी नै भन्छु ।” उसले भनी ।
“बरू कति काम मात्र गर्ने, यसो घुम्न जाऔँ भन र नुवाकोट घर लिएर जाऊ । वडा कार्यालयबाट सिफारिस बनाएर सदरमुकाम जाऊ र सुटुक्क नागरिकता बनाएर आऊ । मान्दैन भने घुर्की लगाऊ । राति ओछ्यानमा पनि नागरिकता नबनाउन्जेल नाइँ, हुन्न भन । उसलाई तिम्रो शरीर छुन नदेऊ । अनि बनाइदिइहाल्छ नि । सुधाले सम्झाइन् ।
उसले “हुन्छ” भनी ।
साँझ परिसकेको थियो । शीतल बस्न त पल्लो छिमेकीकै घरमा डेरा गरी बस्ने भए तापनि गएर बेलुकाको खाना बनाउनुपर्ने होला उसले । उसले ढिलो भएकोजस्तो गरी ।
“ल अब जाऊ । मैले भनेजस्तै गर्नू । त्यति गर्दा पनि नागरिकता बनाइदिएन भने मलाई भन्नू । म सम्झाउँछु ।” सुधाले भनिन् ।
शीतल गई ।
“सोझो औँलाले घ्यू निकाल्न सकिएन भने बाङ्गो औँलाको पनि प्रयोग गर्नुपर्छ नि होइन ?” सुधाले मतिर फर्केर भनिन् ।
मैले सहमतिमा टाउको हल्लाएँ ।
सोचेँ– सोझी तामाङकी छोरी, बाठी क्षेत्रिनीकी फेला परेकी छे । राम्री छे, सम्पत्ति लिएर पोइला जान्छे, नागरिकता बनाइदिनु हुन्न रे । यस्तो खुराफाती सोच कसरी आएको होला शीतलकी सासूआमाको दिमागमा ।
त्यसको केही महिना शीतलसँग भेट भएन हाम्रो । कोरोना भाइरसले उत्पन्न गराएको त्रासदीपूर्ण परिस्थितिले देशमा लकडाउन भयो । घरबाहिर जाने, हिँडडुल गर्ने, समूहमा गरिने कार्यहरू तथा भोजभतेर सबै बन्द भयो । जीवन खुला आकाशमुनि चराजसरी उड्न छोडेर घरको चौघेराभित्र पिँजडाको पंक्षीजस्तो साँघुरियो । शुरुमा उकुसमुकुस, तर बिस्तारै फेरि आदत भयो यही अवस्था पनि । हामी सामान्यतया घरभित्रै बस्यौँ लकडाउनभरि । गाडी चलाउन पाउने पास त थियो, तर कहाँ जाने ? जोखिम जताततै थियो ।
झण्डै तीन महिनापछि लकडाउन खुल्यो । हामी भेटघाटको लागि सुधाको माइत गयौँ । अपराह्नतिर पुगेका थियौँ । घरका भाइ र बुहारी अफिस गएका भए पनि बुबा, शीतल र केटाकेटी होलान् भन्ने लागेको थियो । तर बुहारी घरमै थिइन्, केटाकेटी थिए । बुबा नजिकैको उहाँहरूको स्कूलतिर जानुभएको रहेछ । बुहारीले नै कफी र बिस्कुट ल्याइन् । मैले उनलाई सोधेँ– “शीतल खोइ त आज ?”
“शीतल त गाउँ गाएकी छे । हिजो गएकी । अब दुई दिनपछि आउँछे होला ।”
त्यसको एक हप्तापछि सुधाको भाइकी छोरीको जन्मदिन मनाउन साँझतिर गयौँ । कोभिडको प्रभाव र डर बाँकी नै थियो । त्यसैले घरमा धेरै ठूलो जमघट र भीडभाड थिएन, परिवारका सदस्यहरू मात्र थियौँ । उत्सवको होहल्ला र रमाइलो थियो । साना केटाकेटीहरू गीत गाउने, नाच्ने र मोबाइलमा के के गेम खेल्ने गर्दैथिए ।
शीतलले कफी ल्याई ।
“तिमीलाई घर जान ढिलो भएन ?” सुधाले सोधिन् ।
“आज नानुको बर्थडे भएकोले अलि ढिलो आउँछु भनेर आएकी छु ।” उसले भनी । उसको अनुहारमा स्वाभाविक खुशी र उज्यालोपन थियो । ऊ सधैँजस्तै उदाउँदै गरेकी जूनजस्ती थिई ।
“दिदी, मैले नागरिकता बनाएँ नि ।” उसले खुशीको खबर छचल्किँदै कतैकतै पोखिँदै भनी । शायद उसलाई सुधासँग कहिले भेट हुन्छ होला र यो खबर सुनाऊँ भन्ने छटपटी थियो होला ।
“हो ? कहिले ?” सुधाले सोधिन् ।
“अस्ति । हामी बूढाबूढी गाउँ गएका थियौँ ।” शीतलले भनी ।
“कसरी माने त तिम्रो बूढाले नागरिकता बनाइदिन ?” सुधाले फेरि सोधिन् ।
“तपाईंले त्यो दिन नागरिकता नभए देश हुँदैन, देशले चिन्दैन भन्नुभयो । त्यसपछि म मलाई एकदमै छटपटी भयो । कति दिन राति निद्रा पनि लागेन । म मेरी छोरीलाई बेसाहारा बनाउन चाहन्नँ । मैले यही कुरा बूढालाई भनेँ । तर मेरो बूढासँग न नागरिकता छ । उसलाई देशले चिन्छ, उसले राज्यको सुविधा सजिलैसँग लिन्छ । मेरो समस्या उसले गहिरोसँग बुभ्दै बुझेन । बुझेन मात्र होइन, मेरो कुरा पत्याएन मेरो बूढाले । आफूले नभोगेसम्म अरूको समस्याले छुँदैन रहेछ मान्छेलाई ।”
“अनि त्यसपछि ?”
“मेरो पिर र छटपटी त त्यस्तै नै थियो । मलाई तनाव भइरहेको थियो । अनि मैले तपाईंले भन्नुभएजस्तै गरी मैले उसलाई फकाएँ । घुर्की पनि लगाएँ । केही नबोली बसेको थियो । नागरिकता नबनाउन्जेल त हुँदै हुन्न भनेर मेरो नजिक आउन नै दिइनँ, मलाई छुन पनि दिइनँ । अनि त एकदिन सासूआमालाई ढाँटेर उसले मलाई गाउँ लिएर गयो । नागरिकता बनाइदियो ।”
“अब राम्रो भयो । नागरिकता भएन भने त तिमी यो देशको नै हुन्न थियौ । अब बल्ल तिमी नेपाली नागरिक भयौ । अब बैंकमा खाता खोल्न पाउँछ्यौ, गाडी चलाउने लाइसेन्स लिन पाउँछ्यौ, घरजग्गा किन्न पाउँछ्यौ, अफिसमा जागिर खान पाउँछ्यौ, आफ्नै काम गर्न कम्पनी खोल्न पाउँछ्यौ । देशले दिने सबै सुविधा लिन पाउँछ्यौ । त्यसैले नागरिकता त नभई हुन्न । तिमीलाई बधाइ छ ।” मैले भनेँ । तर मनमनै सोचेँ, शीतलले उसको लोग्नेको सबैभन्दा कमजोर कुरालाई समातिछे । स्त्रीहरूले यस्तै कमजोर ठाउँमा समाते भने पुरुषहरूबाट जस्तोसुकै काम पनि गराउन सक्छन् ।
ऊ झनै खुशी भई । भनी– “मैले छोरीको जन्मदर्ता पनि गरेँ । त्यो कागज स्कूलमा पनि पठाइदिएँ ।”
मैले शीतललाई हेरेँ । सोझोपनले पनि दुःख दिन्छ मानिसलाई । समाजमा धूर्त्याइँको कमी छैन । धन्न शीतललाई उसको सोझोपनले धेरै ठगेन ।
“सासूले थाहा पाइन् त तिमीले नागरिकता बनाएको ?” मैले सोधेँ ।
“छैन । हामी उहाँलाई भन्दैनौँ ।” उसले भनी ।
“लुकाएर राख्नू नागरिकतालाई । फेरि उनले भेटिन् भने लगेर तिमीलाई दिन्नन् ।” सुधाले भनिन् ।
उसले हुन्छ भन्ने इशाराले टाउको हल्लाई ।
मैले भनेँ– “नागरिकता भइहाल्यो । तिमी अब अर्कैसँग त जान्नौ नि ?”
हामी सबै हाँस्यौँ गलल्ल । यो हाँसोले शीतललाई पनि छोयो । शीतल झनै लजाई र अनुहारभरि गुलाफ फुलाई । यो शरमको रङले शीतललाई झनै सुन्दरी बनाएको थियो ।
मैले शीतलको अनुहारको सन्तुष्टिलाई हेर्दै सोचेँ– शीतलले त नागरिकता बनाई, तर यो देशमा नागरिकता बनाउन नसकेका शीतलहरू कति होलान् ? तिनको दुःखको भारी कति गह्रौँ होला ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

