साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जीजिविषा

भर्खर बादलको घुम्टो च्यातेर निस्केको जूनको टहकमा बढ्दै गएको उनको तल्लोपेट मायालु हातले बिस्तारै सुम्सुम्याउँछ । उनलाई पनि गर्भमा हुर्किँदै गरेको नानीको मायाले जित्दै जित्दै लगेको छ आजभोलि ।

Chovar Blues Mobile Size

आँखा ओभाएका छैनन् नरमान र जमुनीका ।

उनीहरूको काख र कोखको पहिलो मुस्कान तीन वर्षको छोराले सधैँको लागि आँखा चिम्लिसकेको छ । भुइँचालो आएको बेला त्यो नानी घरको मूल ओछ्यानमा मस्त निद्रामा थियो । नरमान र जमुनी मकै गोड्न बारीमा पसेको थिए । प्रकृति माताको गर्भमा के गडबढी भो कुन्नि ? धर्ती डगडग काम्न थाल्यो । नजिकैका रुखपात सइसेला खेल्न थाले । गैरीबारीमा मकै गोड्दाका ती जोडी झोलुङ्गोका नानीझैँ झुल्न थाले ।

कान्लाको बुटो समातेर थिग्रिन खोजे । त्यही बेला उनीहरूका आँखा अनायास माथ्लो डिलको घरतिर सोझिए । हेर्दाहेर्दै निमेषभरमा घरको गाह्रो बङ्ल्याङबुङलुङ्ग लड्यो । दुवैको चीत्कार आकाश चिरा पार्नेगरी हावामा गुञ्जियो ।

पुण्य कार्की

‘हा ! मेरो नानी !’ भन्दै बीभत्स चित्कार गर्दै घरमा निस्केर ढुङ्गामाटो र काठको अनन्त डङ्गुरबीच नानी अलप थिइन् । रोइकराइ गर्दै ढुङ्गा पन्छाउँदै गए । गाउँले आए । आफन्त आए ।

sagarmani mobile size

केही घण्टामा पुलिस चौकीबाट सुरक्षाकर्मीको टिम आयो । सबै लागिमेली गर्दा राति आठबजे बल्ल नानीको मृत शरीर हाता लाग्यो ।

त्यसपछि नरमान र जमुनिको समिपबाट समयले कसरी यात्रा गर्यो, उनीहरूलाई केही सुधबुध रहेन । रुनु, मूर्छा पर्नु,  अर्धहोसमा ब्यूँझिनु, पुनः रुनु, मूर्छा खानु……..यसै क्रमबाट उनीहरू गुज्रिएका छन् ।

सम्झाउने मानिसको कुनै कमी छैन । अर्ति उपदेश दिने मानिसको कुनै खाँचो छैन । उनीहरूलाई कसैका वचनले छुन सकेको छैन । पाँच दिनदेखि खानुपिउनु बन्द छ । रुँदारुँदा ओठ कलेटी परेका छन् । शरीरबाट पानीको मात्रा निख्रेर होला आँखामा पहिलेजस्तो आँसुको भल बग्दैन । उनीहरूको स्मृतिमा तीन वर्षको फुचुमुने नानीको बोली, व्यवहार, हाँसो, रोदन मडारिएको छ । कसै गर्दा पनि चित्तलाई समाल्न सकिराखेका छैनन् ।

  ++++++

भूकम्पमा परेर नानीको प्राणपखेरु उडेको आज बाइस दिन भयो । नरमान र जमुनीको जीवनको लय फेरिएको छ, केही दिनदेखि ।

नरमान माटोढुङ्गाको अथाह भग्नावशेषमुनि पुरिएको अन्नपातको भकारी खोतल्न बेल्चा, कोदोलो, खन्ती चलाइरहेको छ । घरीघरी यी औजार एकातिर पन्छाएर हात र नङ्ग्राले जमिन उधिनिराखेको छ ।

घरी  घरी जमुनिको पाँच महिनाको पेटतिर नयन फाल्छ । एउटा कलिलो मुना असमयमै माटोमा मिले पनि अर्को बीजको अङ्कुरण उनको गर्भमा पल्लवित हुँदो छ । रुँदारुँदा थाकेका आँखामा त्यही वीजले अर्को सपना भरेको छ मनमुटुभरि ।

उनीहरू दुवैले गर्भमा टुसाउँदो बीजजको पुकार सुने । आँसु पुछे । धुलो टक्टक्याए । सुकेको घाँटीमा पानीको घुट्को रसाए । भग्नावशेषमा अन्न उत्खनन गर्न जुटे ।

“न रोएर जाँदोरहेछ दुःख, न धोएर जाँदोरहेछ पीडा । आखिर मर्ने मरेर गए पनि बाँच्नेले सहनै पर्नेरहेछ । खेप्नै पर्नेरहेछ । खानैपर्ने रहेछ । लाउनै पर्नेरहेछ । असमयमै लत्तो छाडेर नहुँदोरहेछ । समय अघि नै खुट्टा पसारेर पनि नहुने रहेछ ।”

भुइँचालोमा परेकी नानी सम्झेर रुनरुन खोजेकी जमनुीलाई सान्त्वना दिन्छ नरमान ।

भर्खर बादलको घुम्टो च्यातेर निस्केको जूनको टहकमा बढ्दै गएको उनको तल्लोपेट मायालु हातले बिस्तारै सुम्सुम्याउँछ । उनलाई पनि गर्भमा हुर्किँदै गरेको नानीको मायाले जित्दै जित्दै लगेको छ आजभोलि ।

लेखक परिचय
पक
पुण्य कार्की
प्रतिक्रिया
Loading...