मेरो मुखबाट अचानक आवाज निस्क्यो– इरोम…इरोम !

झण्डै सात महिनापछि अचानक इरोमलाई मैले देख्न पाएको थिएँ ।

अकल्पनीय रुपमा, नसोचिएको स्थानमा र अनौठो पहिरनमा उनलाई देखेर म अचम्मित थिएँ ।

असल तथा सदाचारी राजनीति, भौतिक उन्नति, मान्छेको प्रगति र किनारीकृतका दुःखलाई महत्व दिने इरोममा कसरी त्यो अकल्पनीय परिवर्तन आयो, म छक्क परिरहेको थिएँ । समग्रमा भौतिकवादी थिइन् उनी । तर, मैले अहिले जे देखिरहेको थिएँ, त्यसले उनलाई बिलकुलै अलग दुनियाँतिर लगिरहेको थियो ।

उनले मेरो आवाज पहिचान गरिन् या गरिनन्, त्यो थाहा भएन । तर, उनले मलाई यस्सो फर्केर पनि हेरिनन् । मेरो ठूलो आवाजका कारण उनीसँगै रहेका कतिपय आनी र बुद्ध जन्मस्थल लुम्बिनी पुगेका अन्य धार्मिक पर्यटकले भने मतर्फ हेरेका थिए ।

आनीको पहिरनमा रहेकी उनलाई ढोकैमा भेटेका कारण मैले पहिलो देखाइमै चिनेको थिएँ । उनी सबैभन्दा अगाडि बसिरहेकी थिइन्, आँखा चिम्लेर ।

त्यति लामो समय सङ्गत गरेको मलाई उनले नचिन्नु पर्ने कारण भने केही पनि थिएन । मेरो आवाजसँग उनी भलिभाँती परिचित हुनु पर्ने हो ! तर, उनले कुनै प्रतिक्रिया दिइरहेकी थिइनन् । यस्तो अवस्थाले म बडो असमन्जसमा परेको थिएँ । मैले उनलाई त्यसरी बोलाउनु हुन्थ्यो कि हुन्थेन भन्ने प्रश्न पनि मभित्र हुँडलिइरहेको थियो । आनीहरु र बुद्ध जन्मस्थलको दर्शनका निम्ति त्यहाँ पुगेका शान्तिकामी मान्छेहरुको एकाग्रता खलबलिएको आरोप आफूमाथि लाग्ला भन्ने मलाई हेक्का हुन सकेको थिएन ।

केहीबेरमा थुप्रै गेरु वस्त्रधारी आनीहरुसँग लाइनबद्ध भएर इरोम कतै प्रस्थान गरिन् । मैले उनलाई केही परसम्म पुगेर अपलक हेरिरहेँ । आकाश खुल्ला थियो । म कहिले पङ्क्तिबद्ध आनीहरुतिर त कहिले आकाशतिर हेर्न थालेँ ।

इरोमको पार्टी र विचारको म डाइहार्ट समर्थक थिएँ । उनको हजार दिन लामो अनशनमा कुनै पनि दिन मैले उनलाई एक्लै छाडिनँ । देशमा झाँगिदो विकृति–विसंगति, विभेद, थिचोमिचो, भ्रष्टाचार, व्यभिचारविरुद्ध उनले उठाएको आवाज जायज थियो । त्यो आवाज सबै भुइँमान्छेका पक्षमा थियो । महिला तथा दलितका पक्षमा उनका अभियान सैद्धान्तिक मात्र नभएर व्यावहारिक समेत थिए । राज्यले प्रशासन तथा सुरक्षा संयन्त्रलाई दिएको असीमित अधिकारका कारण तिनको थिचोमिचो उत्कर्षमा पुगेका बेला उनले निडर ढंगमा प्रतिवाद गरेकी थिइन् । राज्यविरुद्ध बोलेका कारण उनी पटकपटक जेल परेकी थिइन् ।

राजेन्द्र पराजुली

अनशनकै क्रममा उनलाई विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थाहरुले सम्मान तथा विभूषित गरेका थिए । उनको घरको कोठामा ती सम्मानपत्रहरु लहरै टाँगिएका थिए । मानव अधिकारवादी, नागरिक समाजजस्ता संस्था त उनको पछि नै लागेका थिए । अन्तर्राष्ट्रिय नारी दिवसका कार्यक्रम इरोमलाई सम्मान नगरी वा उनको सम्भाषण नसुनी आयोजना नै हुन नसक्ने भएको थियो । कुनै एउटा समाजमात्र होइन परिवर्तनका पक्षधर सबैजसो उनीप्रति सहानुभूति राख्थे ।

सरकारका बुझाइमा ब्रह्मपुर जिल्ला क्रान्तिकारीहरुको थलो थियो । सोही बुझाइका कारण त्यस इलाकामा सैनिकलाई सक्रिय राख्ने मनसाय सरकारको थियो । नजानिँदो ढङ्गमा सैनिक त्यहाँ उपस्थित थिए । राति गस्ती गर्ने, बाटोमा हिँडिरहेका बटुवालाई अनावश्यक प्रश्न सोधेर हैरान पार्ने र जथाभावी खानतलासी लिने काम भइरहेको थियो । कतिपय सेना त एक्लै हिँडेकी महिलालाई एकोहोरो हेर्थे । तिनका आँखामा खराब भाव तथा आशय झल्कन्थ्यो । सेना र प्रहरी देख्नासाथ महिलाहरु तर्किन्थे । तिनको उपस्थितिले सर्वसाधारण थप असुरक्षित महसुस गरिरहेका थिए ।

यस्तै क्रम चलिरहँदा स्थानीय सचेत वर्ग झनै आक्रोशित हुन पुगेका थिए । देशका अन्य भेगमा यस्तो अवस्था नदेख्ने सरकारले आफ्नो जिल्लामा मात्र सैनिक सक्रिय बनाएकाले युवाहरु चिन्तित भएका थिए । तर, कुनै पनि राजनीतिक पार्टीले यस विषयमा मुख खोल्न सकिरहेका थिएनन् । जतिसुकै पटक सरकार परिवर्तन भए पनि वा निर्वाचन भए पनि ब्रह्मपुरको अवस्थामा सुधार आउन सकेको थिएन । बिनाकारण एक पटक त्यहाँ सैनिक अप्रेसन चलायो सरकारले । र, निर्दोष–निहत्था पाँच सय जनाको ज्यान लियो । घरभित्रै पसेर कतिपय युवाको हत्या गरिएको थियो । केही महिला बलात्कृत पनि भएका थिए । सोही घटनापछि नै इरोमले सैनिक ज्यादतिविरुद्ध अनशन सुरु गरेकी थिइन् । उनी हजार दिनसम्म झोल पदार्थमात्र खाने–ठोस केही पनि नखाने, कपाल नकोर्ने, मुख नधुने प्रतिज्ञामा अटल रहिन् ।

उनको अनशनले राज्य थर्किएको थियो । अनशन तोडाउन उनलाई नानाथरि आश्वासन दिइन्थ्यो । प्रहरी तथा प्रशासन लगाएर धम्की पनि पटकपटक दिइएको थियो । तर, यी सारा कुराबाट उनी रत्तिभर विचलित थिइनन् । अनशन चरमोत्कर्षमा पुगेको थियो । उनको अभिायनलाई समर्थन गर्दै त्यहाँ राखिएको पुस्तिकामा हस्ताक्षर गर्थे । यसरी हस्ताक्षर गर्नेको संख्या झन्डै लाख पुगिसकेको थियो ।

इरोम सोचिरहेकी थिइन्– अब अनशन र एकान्तवास होइन, पार्टी खोलेर तमाम विकृतिवरुद्ध आवाज मुखरित गर्नुपर्छ । लामो अनशनपछि उनले राज्यआतंक तथा कतिपय कुरीति, विसंगतिविरुद्ध आवाज सशक्त पार्न ‘आधा आकाश’ नामक पार्टी खोलेकी थिइन् । इरोमको पार्टीको लोकप्रियता छोटो समयमै चुलिन पुग्दा यथास्थितिवादी दलहरु चिन्तित थिए ।

प्रत्यक्ष राजनीति र जनमतबिना परिवर्तन ल्याउन असम्भव हुने उनको अन्तर्मनले ठोकुवा गरेको थियो । राजनीतिक सफलताबिना जनपक्षीय काम गर्न कठिन हुने कुरा उनले बुझेकी थिइन् । उनको यही सोचले मूर्त रुप लिएपछि नै उनी निर्वाचनमा होमिएकी थिइन्, आधा आकाश पार्टीका तर्फबाट ।

उनका हरेक सभामा कम्तीमा हजार जना मान्छे उपस्थित हुन्थे । चन्दा बाकसमा हालिएको पैसामात्रै १० लाख रुपैयाँभन्दा बढी भइसकेको थियो ।

उनले विसंगतिविरुद्ध लड्न थालेदेखि नै म उनलाई नजिकबाट नियालिरहेको थिएँ । उनको अभियान सुरु हुन लाग्दा म देशको एउटा ठूलो प्रजातान्त्रिक पार्टीको केन्द्रीय सदस्य थिएँ । म संलग्न पार्टी सत्तामा जाँदा कुनै पनि बेला मन्त्री बन्न सक्ने अवस्थामा थियो मेरो राजनीतिक पहुँच । सभासद् त म थिएँ नै, समानुपातिकबाट । मेरो गृहजिल्ला ब्रह्मपुरमा म लोकप्रिय पनि थिएँ । अनाहकमा जेलमा थुनिएका युवा, जागिर खोज्नेहरु, सानोतिनो आर्थिक सहयोग माग्नेहरु वा भनसुनका काम गर्नु मेरो नित्य कर्म बनेको थियो । यस्तै कामका कारण पनि म जिल्लामा चिनिएको थिएँ ।

लामो समयदेखि राजनीतिमा लागे पनि मलाई प्रत्यक्ष निर्वाचनसँग सधैँ अविश्वास थियो अथवा यसलाई एक प्रकारको डर नै भन्दा पनि हुन्छ । सर्वसाधारणको मनभित्र पसेर हेर्न र कसलाई मत दिन्छन् भनी बुझ्न निकै कठिन लाग्थ्यो मलाई । म संलग्न पार्टीमै जनमत ल्याएर जित्ने अधिकांश नेता ‘छली’ चरित्रका थिए । निर्वाचन जित्न ती अनेकखालका उपाय अपनाउँथे । त्यसैले मैले समानुपातिकतर्फकै बाटो रोजेँ र दुई पटक सभासद् पनि बनेँ ।

इरोम निर्वाचनमा होमिने निर्णयमा पुगिन् । मेरै जिल्ला ब्रह्मपुरको क्षेत्र नम्बर एकबाट । ब्रह्मपुर राज्यद्वारा किनारमा पारिएको जिल्ला थियो । राज्यको ज्यादा निगरानीले यस जिल्लामा चरम नकारात्मक असर परेको थियो । मैले आफ्नै पहलमा केही विद्यालय, सडक, स्वास्थ्यचौकी खोल्न सरकारलाई बाध्य पारेको थिएँ । त्यसका निम्ति हरेक आर्थिक वर्षमा बजेट छुट्याउन लगाएको थिएँ । तर, ती सबै अपुग थिए । लोकतान्त्रिक विचारको खोल ओढेको मेरो पार्टी राजधानी र केही सुगम भेगमा मात्र रमाइरहेको थियो । मोफसल तथा सुदूर क्षेत्र उसको प्राथमिकतामा कहिल्यै परेको थिएन । पार्टीलाई देशको समावेशी विकाससँग कुनै चासो थिएन । लोकतान्त्रिक भनिएको र सारा संसारले पत्याएको मेरो पार्टीको आन्तरिक लोकतन्त्र निकै कमजोर थियो । पार्टी क्रमशः व्यक्तिवादी र नातावादी बन्दै गएको थियो । आवधिक निर्वाचन उसको प्राथमिकतामा कहिल्यै परेन । यसकारण पनि म उक्त पार्टीका कतिपय बैठकमा कि त भागै लिन्नथेँ कि त बैठकमा फरक मत राख्थेँ ।

कतिपय युवा नेता मेरो कुरामा सहमत हुन्थे, तर ती पार्टीका शीर्ष नेतासामु चुँक्क पनि बोल्न सक्दैनथे । सार्वजनिक सभामा केही युवा नेता आकर्षक कुरा गर्थे, तर पार्टी बैठकमा ठूला नेतासामु आफ्नै कुराको बचावट गर्न पनि सक्दैनथे । त्यो पार्टीका अधिकांश नेता ‘राजनीति जोगी बन्न गरेको होइन’ भन्ने मान्यता राख्थे । त्यसपछि मलाई उक्त पार्टीमा बसेर काम गर्न पटक्कै मन लागेन र पार्टीको सबै जिम्मेवारीबाट मुक्त भएको घोषणा गरिदिएँ ।

इरोम र म कलेजका सहपाठीका साथै एउटै जिल्लाका वासिन्दा पनि भएकाले हाम्रो परिचय पुरानो त थियो नै साथमा एकअर्काप्रति विश्वास पनि गथ्र्यौं । उनी प्रवीणता प्रमाणपत्र तह पढ्दादेखि नै विद्रोही स्वभावकी थिइन् । पढाइमा पनि अब्बल । वाक्कलामा खुबै दख्खल भएकी । एक पटक देशव्यापी कविता प्रतियोगिता आयोजना गरेको थियो हामी पढ्ने कलेजले । त्यसबेला म दोस्रो भएको थिएँ, इरोमले पहिलो पुरस्कार हात पारेकी थिइन् । उनले आफ्नो कवितामा देशलाई धुवाँको बिम्ब दिएकी थिइन् । त्यो धुवाँ बेलाबेलामा आकार परिवर्तन गरिरहन्थ्यो । धुवाँ बिम्बमा उनले कतै देशको अस्तित्व नै नामेट हुने त हैन, देशै नरहने त होइन भन्ने आशय कलात्मक ढङ्गमा उतारेकी थिइन् । कविता वाचन पनि प्रभावकारी थियो उनको । उनको कविताको सर्वत्र प्रशंसा भएको थियो । म दोस्रो भए पनि ओझेल परेको थिएँ । कविता त मैले पनि राजनीतिक विषयमै लेखेको थिएँ । सायद मेरो कविता उनको भन्दा कलाका दृष्टिमा केही कमजोर थियो । मूल्याङ्कनकर्ताको निर्णयप्रति मेरो शतप्रतिशत समर्थन थियो, इरोमको प्रथम भएको कविता निश्चित रुपमा मेरो भन्दा उत्कृष्ट थियो नै ।

त्यसबखत विद्यार्थी युनियनमा पनि मेरो पहुँच बलियो थियो । कारण म संलग्न युनियन नै त्यहाँ निर्वाचनबाट विजयी भएर कार्यरत थियो ।

म औसत स्तरको पढाइमै रमाइरहेको थिएँ । राजनीति त गर्थें नै म पनि, लोकतान्त्रिक दलको भातृ संगठनमा आवद्ध रहेर । इरोम स्वतन्त्र थिइन्, कुनै दलमा आवद्ध नभइकन कलेजमा उनको प्रभाव गज्जबको थियो । उनलाई हरेक विद्यार्थी युनियनले तान्ने प्रयास गर्थे, तर उनी कुनै पनि नामको युनियनको सदस्य भइनन् । र, कहिल्यै विद्यार्थी चुनावमा भाग पनि लिइनन् ।

सरकारले प्रतिनिधिसभा निर्वाचनको तिथि तोकेपछि म इरोमसँग चौबीसै घन्टाजस्तो रहन थालेँ । उनले सम्बोधन गर्ने हरेक कार्यक्रममा मेरो सहभागिता हुन्थ्यो । कार्यक्रमको सञ्चालन अधिकांश म नै गर्थें ।

उनलाई भेट्न आनन्द कुमार नामका एक जना भारतीय प्राध्यापक बेलाबखत घरमै आउने गरेको म देख्थेँ । ती प्राध्यापकसँग इरोमले मेरो सामान्य परिचय गराइदिएकी थिइन् । जब ती इरोमको घरमा आउँथे तब म त्यहाँबाट बाहिरिन्थेँ । मलाई लाग्थ्यो, प्राध्यापक आएपछि इरोम पनि म बाहिरिए हुन्थ्यो भन्ने सोच्थिन् । उनीहरु घन्टौँ बसेर गफ गर्थे । आनन्द कुमार भारतको प्रख्यात विश्वविद्यालयमा राजनीति शास्त्र पढाउँथे । भारतीय कम्युनिस्ट पार्टीमा उनको राम्रै पहुँच रहेको चर्चा चल्थ्यो । यता, नेपालमा भने उनलाई ‘रअ’को एजेन्ट, गुप्तचर संस्थाको कर्मचारी आदि भन्दै आशंका गरिन्थ्यो । काठमाडौँबाट निस्कने ठूला आकारका केही अखबारमा उनीविरुद्धका समाचार मैले पढेको थिएँ । यसबाहेक मैले आनन्द कुमारसँग दोहोरो कुराकानी पनि गरेको थिइनँ । मलाई आनन्द कुमारका बारेमा यतिचाहिँ थाहा थियो, जसरी इरोम एकल थिइन् उसैगरी त्यो प्राध्यापक पनि अविवाहित नै थियो । म पनि सोही पङ्क्तिमा कहाँ थिइनँ र !

मलाई विवाह गर्नु र प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्नु उस्तैउस्तै लाग्थ्यो । अरुमा आश्रित हुनुपर्ने अवस्था ! झूट बोल्नु पर्ने बाध्यता । त्यसैले विवाह र निर्वाचनमा उम्मेदवारी मेरो प्राथमिकतामा कहिल्यै परेनन् ।

निर्वाचनको प्रचार गर्न पाउने दिनको अघिल्लो बिहान आनन्द कुमार टुप्लुक्क इरोमको कोठामा देखापरेको थियो । त्यस समय इरोम र म निर्वाचन रणनीतिबारे गम्भीर कुराकानीमा जुटेका थियौँ । तर, प्राध्यापक टुपुल्किएपछि म सदा झैँ लुसुक्क बाहिरिएँ । बेलाकुबेला आइरहने त्यो प्राध्यापकसँग मलाई कहिलेकाहीँ त रिस पनि उठ्थ्यो । मुखै खोलेर भनिदिऊँ, समय लिएर मात्र आऊ प्राध्यापक महोदय ! तर, म त्यसो भन्न सकिरहेको थिइनँ अर्थात् त्यसो भनिदिने हिम्मत जुटाउन मैले सकिरहेको थिइनँ । किनकि, ऊ इरोमको निकै नजिक थियो । सायद म भन्दा धेरै नजिक ! हुन सक्छ इरोमको नजरमा म उनको दोस्रो विश्वास पात्र थिएँ, आनन्द कुमारचाहिँ पहिलो ।

निर्वाचनको पूर्वसन्ध्यामा आनन्द कुमारको आगमनले विपक्षी अर्थात् प्रतिस्पर्धी उम्मेदवारहरुलाई मसला मिलिहाल्यो । तिनले अन्तिम दिनको सभा–समारोहमा इरोमलाई भारतीय दलाल, जासुससमेतको आरोप लगाउन भ्याइहाले । आनन्द कुमारसँग इरोमको यौन सम्पर्क रहँदै आएको पनि तिनको आरोप रह्यो । त्यतिमात्र कहाँ हो र ! इरोमले हिन्दु संस्कृतिविपरीत महिनावारीसमेत नबार्ने गरेको आरोप पनि लगाइएको थियो । विपक्षीले अर्को आरोप पनि लगाइरहेका थिए । त्यो आरोप नितान्त मेरो आचरणसँग जोडिएको थियो । लामो समयदेखि मेरो र इरोमको यौन सम्बन्ध रहँदै आएको तिनले आरोप लगाएका थिए । त्यही कारण मैले आफ्नो पुरानो पार्टी छाडेको तिनको भनाइ थियो । आफूसँग जोडिएको आरोपले भने म रन्थनिएको थिएँ ।

आनन्द कुमारको नामसँग जोडिएर आएको आरोपको खण्डन मैले गर्न नसकुँला, तर मसँग जोडिएको आरोप भने शतप्रतिशत मिथ्या थियो । कुनै पनि दिन मैले इरोमलाई त्यसखालको दृष्टिले हेरिनँ । म उनको सिद्धान्त र उनले निर्माण गरेको अभियानको पक्षपाति मात्रै थिएँ । म उनलाई एउटा असल साथी मान्थेँ । उनको विचारले मेरो मथिङ्गल बेस्सरी हल्लाइदिएको थियो, यही कारण नै म लोकतन्त्रको खोल ओढेको दलको सुरक्षित राजनीति छाडेर इरोमको पछि लागेको थिएँ ।

आफूमाथि लागेको आरोपको खण्डन गरिरहनु जरुरी लागेन मलाई । इरोमको निर्वाचनको अन्तिम दिनको सभा पनि मैले नै सञ्चालन गरेको थिएँ । त्यस सभामा दसौँ हजार मान्छे उपस्थित थिए, त्यहाँ मैले आफूलाई चोख्याउन सक्थेँ । तर, मैले सोचेँ – म जब बिटुलिएकै छैन भने चोख्याउनु पर्ने आवश्यकता नै किन ? यही कारण मैले कार्यक्रम सञ्चालनका क्रममा इरोमका भावी योजना र उनले बोेकेको सिद्धान्त बुझाउने प्रयत्न मात्रै गरेँ ।

इरोम भने आफूमाथि लागेका आरोपको खण्डन गर्दै आफ्ना अभियानमा दिनरात खटिइरहिन्, साथमा आफ्ना योजनाका कुरा पनि गर्दै रहिन् । म उनको पछिपछि लागिरहेँ । उनको जितले कम्तीमा आफ्नो जिल्लाको अनुहार फेरिनेमा म विश्वस्त थिएँ । राज्यको कुदृष्टि हट्ने आशा मभित्र पलाएको थियो ।

निर्वाचन भयो । ब्रह्मपुरमा देशको सबै निर्वाचन क्षेत्रभन्दा बढी मत खसेको अनुमान सरकारी सञ्चारमाध्यमले लगाए । ८० प्रतिशतभन्दा बढी मत त्यहाँ खसेको तिनको भनाइ थियो ।

पर्सिपल्ट मत गणनाको नतिजा आयो ।

नतिजा सुनेर मलाई भाउन्न भयो । रिङटा लागेर त्यहीँ ढलिएला जस्तो भयो । आफूले हेरिरहेको टेलिभिजन फुटाइदिऊँ झैँ लाग्यो ।

इरोमले जम्मा ९० भोट पाइन् ! उनको प्रतिद्वन्द्वीले १० हजारभन्दा बढी भोटसहित सानदार विजय हासिल ग¥यो । इरोमको जमानत जफत भयो । उक्त जिल्लाका निम्ति प्रतिनिधिसभामा पाँच सिट छुट्याइएको थियो । इरोमको पार्टीबाट पाँचै जना उम्मेदवार उठेका थिए । पहिलो पटक ब्रह्मपुरबाट मात्र आफ्नो पार्टीको उम्मेदवारी रहने, त्यसपछि क्रमशः अन्य जिल्लामा पनि पार्टी सञ्जाल फैलाउने र राष्ट्रिय स्वरुपमा जाने सोचमा इरोम थिइन् । उनले आफ्नो सोचलाई मूर्तरुप दिने बखत केही सल्लाह मसँग पनि गरेकी थिइन् । लामो समयको सोचविचारपछि नै इरोम आफ्नो एकान्तवास त्यागेर प्रत्यक्ष निर्वाचनमा उभिन पुगेकी थिइन् । तर, निर्वाचनमा इरोम मात्र होइन उनको पार्टीका सबै उम्मेदवारको जमानत जफत भयो ।

म कुद्दै इरोमको घरतिर लागेँ ।

तर, घरमा ताल्चा ठोकिएको थियो ।

जिन्दगीको हजार दिन देश र जनताका लागि अनशन बसेकी इरोम । जिन्दगीको उच्चतम सुन्दर उमेर २४ वर्षको छँदा उनले आफ्नो जिन्दगी जनताका निम्ति भन्दै समर्पित गरेकी थिइन् । उनलाई जनताले दिएको भोट जम्माजम्मी ९० !

म विश्वासै गर्न सकिरहेको थिइनँ ।

निर्वाचन सकिएको महिना दिन पनि बित्न नपाउँदै इरोमका पार्टीका चार उम्मेदवारले पार्टी परिवर्तनको घोषणा गरे र म पहिला आवद्ध पार्टीमा प्रवेश गरे । पार्टी प्रवेशका क्रममा तिनले पनि इरोमलाई सोही आरोप लगाए जुन आरोप निर्वाचनअघि प्रतिद्वन्द्वीले लगाएका थिए । ती चारै जना पार्टी प्रवेश गरेको समाचार देशका अधिकांश दृश्य सञ्चारमाध्यमले निकै प्राथमिकता साथ प्रशारण गरेका थिए ।

निर्वाचनपछि इरोम कसैसँग पनि भेटघाट गर्न चाहिरहेकी थिइनन् । एक प्रकारले उनी बेपत्ता थिइन् । सञ्चारमाध्यमले उनलाई निकै पछ्याइरहेका थिए । पत्रकारहरु उनीसँग सोध्न चाहन्थे, उनको लज्जाजनक हारको कारण । तर, उनलाई कसैले भेट्न सकेन । कतिपय पत्रकारले मलाई इरोमसँग समय लिइदिन अनुरोध पनि गरेका थिए । कहाँ छिन् इरोम भनी मसँग थुप्रै सम्पादकले सोधेका थिए । तर, तिनलाई के पत्तो इरोम मसँग पनि सम्पर्कविहीन छिन् भन्ने ! मैले ती पत्रकारहरुलाई ‘मेरो भेट भयो भने तपाईंहरुलाई पनि भेट गराइदिउँला’ भन्दै पन्छाउँदै गर्नु परेको थियो ।

उनको मोबाइलमा मैले सयौँ पटक सम्पर्क गर्न खोजेँ, तर त्यो स्विचअफ थियो ।

इरोम अचानक बेपत्ता भइन् !

पुनः कुनै अर्कै रुपको एकान्तवासको खोजमा त लागिन् उनी ?

समाज परिवर्तन गर्न भनी आन्दोलनको आँधी चलाउन सक्ने मान्छे, एक पटक निर्वाचनमा पराजय हुँदैमा यसरी हराउनु किन परेको होला ? मेरो मानसपटलमा प्रश्नहरु एकपछि अर्को गर्दै साइकलको पांग्राजस्तै घुमिरहेका थिए ।

यति लामो समयदेखि सँगै रहेको शुभचिन्तक मसँग एक वचन पनि नसोधी वा सामान्य जानकारी पनि नदिई कसरी हराउन सकेकी होलिन् उनले ?

प्रश्नहरु मेरो मनमा हुरीजसरी चलिरहेका थिए । उनी एकाएक हराउनुले मभित्र अनेक तर्कनाका ज्वारभाटा उत्पन्न भइरहेका थिए ।

म संलग्न पुरानो दलका कतिपय शुभेच्छुक आएर मलाई पार्टीमा फर्कन अनुरोध र सल्लाह दिइरहेका थिए । म भने राजनीतिबाट अलग कसरी हुन सकिन्छ भन्नेबारे सोचिरहेको थिएँ । इरोमजस्तो असल राजनीतिका निम्ति जीवन उत्सर्ग गर्ने व्यक्तिलाई त यति असहज अवस्था छ भने मैले पुनः राजनीतिमा लागेर के नै पाउनु छ र !
किशोरवयमा पढेको आचार्य रजनिसको एउटा पुस्तकको अंश याद आयो मलाई निर्वाचन परिणामलाई देखेपछि । उनले भनेका थिए– निर्वाचन भनेको खराबहरुबीचको प्रतिस्पर्धा हो, जो बढी खराब छ उसैले निर्वाचन जित्छ । पचास वर्षभन्दा पनि अझै अघिको समयको भारतको अवस्थालाई देखेर उनले भनेको वाक्य आज आफ्नो मुलुकमा पनि साकार भएको पाउँदा मलाई निकै दुःख लागिरहेको थियो ।

अचानक बेपत्ता हुने इरोमको शैली पछ्याउन मन लाग्यो मलाई पनि । राजनीतिमै बसिरहने हो भने आफूलाई डिप्रेसन हुने सङ्केत मैले पाइरहेको थिएँ । जतिसक्यो चाँडो यसबाट आफूलाई मुक्त पार्नुमा मैले आफ्नो बाँकी जिन्दगीको हित हुने बुझिरहेको थिएँ ।

अरुले सोचे होलान् म पनि अचानक बेपत्ता भएँ भनेर !

या, कसैकसैलाई त म पनि इरोमसँगै बेपत्ता भएको भनिदिने छुट पनि मिल्न सक्ला ! जसले जेसुकै भनुन् । मभित्र राजनीति शून्य हुँदै जाँदै थियो ।

मलाई पनि भित्रभित्रै राजनीति र समाजसँगै विरक्ति जन्मिएको थियो । विरक्तिलाई बिसाउन चाहन्थेँ म । बाँकी जिन्दगी आफ्नै मर्जीमा बिताउन चाहन्थेँ म ।

एकाबिहानै केही कपडा झोलामा कोच्दै घरबाट निस्किएर बसपार्कतिर लागेँ म । केही दिन पोखरामा बिताएपछि बुद्ध जन्मथलो लुम्बिनीमा केही दिन बिताउने विचार मनमा आएको थियो । म नितान्त एकान्तवासको खोजीमा थिएँ ।

र, साँझपख म लुम्बिनी पुगेको थिएँ ।

इरोम गेरु वस्त्रमा बौद्ध धर्म गुरुहरुसँग ध्यान गरेर बसिरहेकी थिइन् । उनी आनी भइसकेकी रहिछन् । अचानक उनलाई नयाँ रुपमा देखेपछि मैले उनलाई बोलाएको थिएँ– इरोम, इरोम भनेर । ध्यानमा मग्न उनलाई मेरो आवाजले स्पर्श गर्न सकेन सायद, अथवा मेरो आवाज पनि इरोमका निम्ति बेतुकको भइसकेको थियो !

उनको बाक्लो कपाल पूरै काटिएको थियो । टाउकोमा कपाल नहुँदा पनि उनलाई मैले रत्तिभर अनौठो देखिरहेको थिइनँ । अनुहारमा झनै कान्ति झल्किएको देखिन्थ्यो । एक प्रकारको जितको खुसी प्रतिबिम्बित थियो उनको अनुहारमा । सफा, कोमल, आधा शताब्दी पुगेको गालामा पनि एउटै चाउरीका धर्सा नदेखिएका ! मैले मिल्नेसम्म नजिक गएर हेरेँ उनलाई । र, उनी त्यस क्षण निकै सुन्दर देखिएकी थिइन् ।

‘ओम् माने पेमे हुम्’ को लयबद्ध र सुमधुर आवाजमा म तरङ्गित भइरहेको थिएँ । पर कतैबाट उक्त ध्वनिमा सङ्गीत पनि मिसिइरहेको थियो । एकातिर मलाई त्यहाँ दिव्य शान्ति मिलिरहेको थियो भने अर्कोतिर अचानक इरोमको दर्शनले अनौठो कौतुहलता पनि उत्पन्न भइरहेको थियो । मन निकै शान्त र प्रफुल्ल थियो मेरो । आनीहरुको भीडमा रहेकी इरोमलाई मैले एक्लो देखेको थिएँ । उनीसँगको लामो परिचय र बसउठका कारण मलाई उनको कतिपय मनोविज्ञान पढ्न गाह्रो थिएन । मैले आफैभित्रबाट उनका बारेमा एउटा निष्कर्ष निकालेको थिएँ– उनी एकान्तवासको खोजीमा थिइन् ।

भजनको आवाज विस्तारै मधुरो हुँदै गयो । तर, मेरो कानमा मीठो ध्वनि भने गुञ्जिरहेको थियो ।

साँझपख घाम पहेँलो हुँदै थियो ।

करिब पचास जनाको हुलमा मलाई सबै इरोम लाग्न थाल्यो । उनी केही पर पुगिसकेकी थिइन्, त्यसैले अब उनलाई चिन्न सकिँदैनथ्यो । तर, उनले समातेको जीवनको बाटोलाई सजिलै चिन्न सक्थेँ म । मेरा निम्ति त्यो बाटो कठिन थियो । सायद म अर्कै एकान्तको खोजमा थिएँ । तथापि, कठिन बाटोमा हिँड्ने चाहना मभित्र पनि जागृत हुन थालेको थियो ।

आकाशको पहेँलो घाम क्रमशः गेरु रङको बन्दै गएको थियो । आनीहरूले लगाएको गेरु वस्त्रको प्रतिच्छायाँ आकाशमा परेको जस्तो देखिन्थ्यो । मलाई यस्तो अनुभूति हुँदै थियो– ओम् माने पेमे हुम्को ध्वनि आकाशबाटै गुञ्जँदै थियो । र, ध्वनिसँगै लहरिँदै इरोम उनको जिन्दगीको अगाडिको आनन्ददायी यात्रा तय गरिरहेकी थिइन् ।