हाफ छुट्टी भएकाले विद्यार्थीहरू गइसकेका थिए । आज महिनाको पहिलो हप्ता, त्यसमाथि शुक्रबार थियो । शिक्षकहरू प्रिन्सिपलको कक्षाकोठामा लाइन लागेर आ–आफ्नो तलब थापिरहेका थिए । प्रिन्सिपलले सबैको हरहिसाब गरेर पालैपालो तलब बुझायो र अन्तमा भने, ‘सरहरू सबैलाई मेरोतर्फबाट गुडफ्राइडे….।’
‘प्रिन्सिपलज्यूलाई पनि हाम्रोतर्फबाट स्वागतम्… ।’ सबैले एकै स्वरमा भने ।
शिक्षकहरूको ओठमा हाँसो थियो र आँखामा रौनक, किनकि आज तलब थापेको दिन थियो । सदा स्कूल छुट्टी भएपछि आ–आफ्नो मेसोमा घर फर्कने शिक्षकहरू चिया खानको लागि आज एउटै दोकानका कुर्सीहरू ढाकेर बसे । चिया पाक्दै थियो । उनीहरूको गफको मेसो चल्दै थियो ।
‘गुडफ्राइडे मनाउने होइन त कृपया… ।’ नाक लामो लामो एक हृष्टपुस्ट शिक्षकले प्रस्ताव राखे ।
‘खै साथीहरूको मनसाय के छ कुन्नि…?’ अर्को अधबैँसे शिक्षकले सिधै सहमति जनाउन सकेनन् ।
‘हो त नि कति गोरुजस्तो जोतिनु । हाम्रो पनि त मन आकाङ्क्षा छ नि त हो ।’ हेर्दा डल्ले डल्ले अलि थेप्चो नाकवाला शिक्षक बोले, ‘बिना मनोरञ्जन यो जुनी बित्ने भो गाँठे ।’ उनको समर्थनमा होमा हो मिलाउँदै सबै गलल हाँसे ।
उनीहरू चिया खाएर बिर्तामोडको ‘रमाइलो होटल’ मा जान तयार भए । हिँड्ने बेलामा एक अधबैँसे उमेर काटिसकेका, टाउकोभरि प्रस्ट तिलचामल कपाल भएका, चिम्सा आँखा मझ्यौला कद भएका सर अलमलिए । उनी सधैँ यसरी नै अलमलिन्थे र साथीहरूसँग छुटेर गुडफ्राइडे नमनाइकन नै घर जाने गर्थे ।
‘हे बुढो मान्छे पनि…।’ अघि सुरुमा प्रस्ताव राख्ने नाक लामोलामो एक हृष्टपुस्ट शिक्षक बोले, ’हामी शिक्षकहरूको चाहिँ निजी जीवन हुन्नन् र ? भट्टिसट्टी पस्दा समाजले के भन्लान्, आफैँले पढाएका विद्यार्थीले भेटे के सोच्लान् भनेर चिन्ता लिएर, यो एकफेरे जिन्दगीलाई बिना रमाइलो निरस तरिकाले बिताएर के नै फाइदा पुक्छ र ?’उनीहरू उभिई उभिर्इ गफिन थाले ।
‘हो भन्या, यो समाज पनि कस्तो ?’अर्का डल्लेडल्ले अलि थेप्चो नाकवाला शिक्षकले सही थापे, ‘व्यापारी, राजनीतिज्ञ, कर्मचारी, कुल्ली, किसान…. सबै सबै खुल्लाम खुल्ला भट्टीमा गएर दिनदिनै रमाइलो गर्न पाउने रे । हामीले चाहिँ नपाउने ? कस्तो बन्धन हेर्नुस् त ! कहिलेकाहीँ शुक्रबार यसो मुड चलेर नजिकका भट्टीमा पस्यो भने दोकानदारले समेत भनिहाल्छ, ‘अरे ! सर पनि आज त… ।’ समाजले किन लगाम लगाउँछन् हँ हामीलाई बिनासित्ती ?’ ती अधबैँस नाघेको सरलाई उनका कुरा मनासिब नै हो जस्तो लागिरहेको थियो ।
उभिएर गफको धुनमा अर्का ख्याउटे अनुहार परेका सरले जोक सुनाउन थाले, ‘एक जना व्यापारीको फुर्तिलो र चञ्चले गधा थियो रे । त्यो गधा सधैँ खुसी खुसी काम गर्थ्यो रे । खै के भयो, बिस्तारै बेखुसी देखियो रे । आज हेर्यो उस्तै, भोलि हेर्यो उस्तै, अहँ मुन्टोसम्म हल्लाउँदैन । व्यापारीलाई आफ्नो चञ्चले गधाको यो चाला देखेर दिक्क लागेछ । उसले अनेक उपाय गर्यो, अहँ गधाले मुन्टो हल्लाउँदै हल्लाउँदैन । एकदिन व्यापारीले एउटा जुक्ति निकाले छ र पत्रपत्रिकाहरूमा विज्ञापन गरेछ, ‘जसले मेरो गधाको मुन्टो हल्लाउन सक्छ, त्यसलाई गधा सितैमा र एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।’
मान्छेहरूको भीड लाग्यो । कसैले गधाको जीउ चिमोट्यो, कसैले कान निमोठ्यो, काउकुती लगायो, कानमा बाजागाजा सुनायो, करायो, चिच्यायो, अनेक मिठा मिठा खाने कुराले लोभ्यायो, अहँ त्यो गधाले मुन्टो हल्लाउँदै हल्लाएन छ । अररो परेर बसेको छ, छ । त्यही बेला एकजना मान्छे त्यही बाटो भएर आएछ । उसले पनि यो प्रतियोगिताको कुरा थाहा पायो र गधाको कानमा गएर बिस्तारै फुसफुसायो । जब त्यो व्यक्तिले गधाको कानमा फुसफुसायो त्यसपछि गधा बुरुक बुरुक उफ्रेर मुन्टो हल्लाएको हल्लाएकै गर्न थाल्यो । त्यो मान्छेले ‘चुप लाग, चुप लाग भन्छ’अहँ गधा केही गरी चुप लाग्दैन । मुन्टो हल्लाको छ हल्लाको छ । एक्कासी यस्तो चमत्कार भयो कि यो रहस्य थाहा पाउन सबै उत्सुक भए । त्यो मान्छेले व्यापारीबाट त पुरस्कार जित्यो नै, अरूहरूलाई पनि यो गुह्य रहस्य बताए बापत थप पुरस्कार पाउने भयो ।
त्यो मान्छे मुसुक्क हाँस्यो र रहस्य खोल्यो, ‘मैले यो गधालाई केही पनि भनेको होइन । मैले उसलाई यति मात्र भने कि म एउटा शिक्षक हुँ । पढाउने पेशा गर्छु । के तँ पनि पढाउने जागिरमा जान्छस् त ? भनेर मात्र सोधेको थिएँ, ऊ त अहँ कि अहँ भनेर उफ्रेर पो मुन्टो हल्लाउन थाल्यो… ।’
उनले यो जोक मात्र के सिध्याएका थिए, नाक लामोलामो एक हृष्टपुस्ट शिक्षक प्वाक्क बोलिहाले, ‘हैट ! गधाले पनि खान नमान्ने जागिर खाएपछि यस्सो कहिलेकाहीँ त … हैन साथी ?’
उनको कुरा सुनेर सबैले होमा हो मिलाए । हाँसोको फोहोरासँगै हल्लाखल्ला मच्चाएर बस चढे । बिर्तामोडतिर अघि बढ्दै गरेको हुलमा अघि अनकनाइरहेका सर पनि थाहै नपाइ मिसिए । बिर्तामोडको ‘रमाइलो होटल’ पुगेर सबैजना भित्र छिरे। सधैजसो आई रहने गर्इ रहने आफ्ना ग्राहक देखेर होटल सञ्चालिका साहुनी मुसुक्क मुस्काइन् । अभिवादन गरिन् । त्यही बेला हुलमा नयाँ अनुहार देखेर सोध्न पनि भ्याइहालिन्, ‘उहाँलाई त चिन्न सकिनँ नि ?’
‘हाम्रै साथी हुनुहुन्छ । एउटै अफिसमा काम गर्छौं ।’ एउटाले भने । यति भनेपछि साहुनीले कुनै शंकालु प्रश्न गरिनन् । तिनले आफ्नो ग्राहकलाई सिधै होटलको माथिल्लो तलामा पुर्याइन् र सोफामा बसाएर पङ्खा खोलेर सोधिन्– ‘सरहरू के लिनुहुन्छ ? टुबोर्ग बियर त होलान् नि सधैँझैँ ?’
‘हो हो’ सबैले एकै स्वरमा भने ।
‘उहाँ सरलाई पनि त्यही चल्छ ?’ साहुनीले नयाँ ग्राहकलाई विशेष ध्यान दिए जस्तो गरिन् ।
‘हुन्छ । साथीहरू जे लिनुहुन्छ ।’ उनले सुस्तरी बोले । साहुनी अडर लिएर तल झरिन् ।
खाने, पिउनेको अडर लिएर आउँदा त्यहाँ चार जना केटीहरू पनि हुरुरु पसे ।
‘ओ मेरो राजा…’
‘ओ मेरो बुढो…’
‘ओ मेरो सोल्टी…’
मान्छेपिच्छे साइनो, मान्छेपिच्छे सम्बोधन गर्दै केटीहरू कोही कसको काखमा, कोही कसको छेउमा बस्न थाले । नयाँ सर भने अकमकिए । उनलाई कसैले न सम्बोधन गर्यो, न कसैले चिमोटनिमोठ नै गर्यो । उनले यहाँ के भइरहेको छ भन्ने कुराको भेउ पाउन सकेनन् ।
‘उहाँ चाहि नयाँ पाहुना….।’ साथी अकमकिएको देखेर ती तरुनीहरूलाई चिनाउँदै डल्ले डल्ले सरले भने ।
‘अहो सोल्ठा…।’ त्यो सरले त्यति भन्ने बित्तिकै उनलाई पनि साइनोले भेटिहाल्यो र एउटी भखरै बाईस तेईसझैं देखिने केटी काखमा आएर थ्याच्च बसिन् ।
तिनले छोटो मेडी लगाएकी थिइन् । मास्तिर टाइट टिसर्ट । यसरी बस्दा मेडी मास्तिर सोहोरिएर नाङ्गै जस्तो देखिइन् । नयाँ शिक्षकको लागि जीवनको पहिलो अनुभव थियो, उनलाई साह्रै अप्ठ्यारो लाग्यो । आफ्नो काखमा मस्तकी तरुनी मदहोस् भएर पसारिँदा उनको गाला रातोपिरो भयो । जेठको गर्मीले यसै हप्पिएको जीउ डर पनि थपिन पुग्दा पसिना पसिना भयो ।
‘ए सर पनि….।’ उनमा केही लाज, केही डर देखेर एक जना साथीले भने ।
‘विचरा सर…।’ उनको भयमिश्रित अनुहार देखेर ती मदहोसी तरुनीले उल्टै ओठ समाएर चुप्प म्वाइ खाइदिइन् ।
जेठ त्यो पनि दिनको मध्य समय । पानी नपरेको पनि धैरै दिन भइसकेको थियो । गर्मीले उधुम मच्चाइरहेको थियो । कोठाको माहोल चिसो होइन तातिँदो थियो । तातो माहोलमा चिसो बियर खोलिन थाल्यो । उनीहरू चार जना आएकोमा अब संख्या थपिएर आठ भइसकेको थियो ।
‘पाँच बोतल चिसो बियर… सेकुवा तीन प्लेट… दुई प्लेट सलाद…।’ यसरी अडरमाथि अडर थपिँदै गयो । ग्राहक र सेवाग्राही दुवै मातिए ।
‘एकचोटिको जीन्दगी हो रमाइलो गर्नुपर्छ सर…।’ नाक लामोलामो एक हृष्टपुस्ट शिक्षक मातेर लरबरिएको स्वरमा बोले ।
‘कति दिन घरवालीसँग दिग्दारको जिन्दगी बिताउनु ।’ अर्को ख्याउटे अनुहार भएका शिक्षकले सही थाप्दै भने, ‘यस्ता सुन्दरीहरूसँगको समागमको आनन्द नै अर्को हुन्छ ।’
‘हाम्रो सरको के विचार छ कुन्नि ?’ डल्लेडल्ले शिक्षकले सोधे, ‘मौकामा चौका हान्नुपर्छ है । भोलिको दिन कसले के देखेको छ र ! मरेको भोलिपल्ट दुई दिन भइहाल्छ ।’
उनीहरू यसो भनिरहँदा ती मान्छे नयाँ रहेछन् भनेर उनीसँग बसिराखेकी तरुनीलाई बुझ्नको लागि केही गाह्रो परेन । उनले सजिलै बुझी हालिन् । आकर्षित गर्नको लागि झन् बढी मदहोसी बनेर अभिनय गर्न थालिन् । ‘लु आउनूस्, के हेरिराखेको ?’ त्यो सर अकमकिएको देखेर तिनले सबैतिर आँखा सन्काएर खितिति हाँसिन् र भनिन्, ‘लाटाले पो पापा देख्दा ट्वाल्ला परेर हेर्छ रे भनेको सुनेकी थिएँ, तपाईं पनि हिही….हिही….।’
सबैजना आ–आफ्ना च्यापेर कोठा कोठामा पस्न थाले ।
‘आहा ! साँच्चै यस्ता सुन्दरीसँगको समागम कति रमाइला हुँदा हुन् ।’ बियरको नसामा उनको पनि बैँस उम्लन थाल्यो । कहिलेकाहीँ उनले पनि पश्चिमातिरको निलो फिल्म हेर्ने गर्थे । त्यहाँको रोमान्सशैलीको आज झझल्को आयो । सोचे,‘पक्कै यिनीसँग आज यस्तै रोमान्स गर्न पाइने भयो ।’ उनले पनि साथीहरूलेझैँ आफूसँगको तरुनी च्यापेर कोठा भित्र छिरे र चुकुल मारे ।
भित्र छिरेपछि ती तरुनीले मेडी फरक्क फर्काइन् र ओछ्यानमा उत्तानो परेर भनिन्, ‘लौ फटाफट आफ्नो काम गर्नूस् ।’ अघि बियर खाना बस्दा ती तरुनीको मादकतापूर्ण व्यवहार देखेर आकर्षित भएर कति धेरै रमाइलोको परिकल्पना गरेका उनी अहिले भने हिस्सिए ।
‘सिधा सिधा, यस्तो नि रमाइलोको तरिका हुन सक्छ त ?’ उनी अलमलिए र अनुहार असिनपसिन पार्दै भने ।
‘फटाफट…. हो फटाफट ।’ अघिको मदहोस तुल्याउने मुस्कान लुकाएर अलि कडा स्वरमा बोलिन् । उनको अघिको परिकल्पनामा गुलिएको मन अमिलिएर आयो । शिक्षक बोल्न खोज्दै थिए, ‘अनि… अनि… त ?’ तिनले बेवास्तपूर्वक झर्किँदै बोलिन्, ‘मन भए फटाफट गर्नू । नभएर निस्केर जानू ।’तपार्इँको सम्बोधन एक्कासी तँमा झारिन्, ‘खुसी, रमाइलो र आनन्द खोज्न त आफ्नो स्वास्नीसँग जा न, केको रन्डी खोज्न आउछस् त…।’
उनलाई यो अन्तिम वाक्यको चट्याङले दिमाग नै छ्यालब्याल पार्यो । दिमागमा कम्प मात्र छुटेन, पूरै जीउ पसिनाले निथ्रुकै नुहाउन पुग्यो । गरुडको अगाडि परेको सर्पझैँ बनेर उनी त्यो केटीको अगाडि लत्रिए ।
आँखा वरिपरि श्रीमतीको अनुहार नाच्न आइपुग्यो । आज तलब आउने दिन । श्रीमती उनैको बाटो कुरिराखेकी छिन् । यो तलब हातमा राखिदिँदा उनी यति खुसी हुन्छिन् कि त्यो खुसीको वर्णन गर्नै सकिन्न ।
‘मेरो पन्ध्रसय ।’ शिक्षकले सोधे । ‘त्यो त फच्चे भयो ।’ केटीले भनिन् ।
‘थुक्क !’ साथीको लहलहैमा लागेर आएकोमा आफूले आफैँलाई थुके । घृणा व्यक्त गरे । ‘धन्यवाद !’ आँखा खोलिदिएकोमा त्यो केटीलाई दशअम्ला जोडेर आभार व्यक्त गरे र पैसा गएकोमा कुनै पछुतो दर्शाएनन् । कोठाबाट निस्केर साथीहरूलाई जान्छु पनि नभनी हतार हतार घरतिर दौडिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।