वर्जितलाई आर्यवर्त गाउँमा वर्जिते डाङ्ग्रा भन्छन् । सुकेको बाँसजस्तो सिलित्त ज्यान छ उसको । त्यो ज्यानमा एक मुठी सास, अझ अलिकति भन्दा पनि हुन्छ । अनि एक पाउ छाला, त्यस्तै अलिकति र बाँकी केवल सुकेका हड्डी नै हड्डी । उसले लगाउने पातलो खैरो पतलुँगको पिँधमा सेतो सुती कपडा कालो धागोले सिलाएको छ। उसले न नुहाएको कति भयो भन्ने कुरा, उसको जुहारी कोटले छोप्ने नसकेको मयलको कालो पत्रदलबाट थाहा हुन्छ। उसको नखौरिएका दारी अनुहारभरि सिउँडीझैँ उम्रेका छन् र शिरको टुप्पामा बाङ्गो परी अल्झेको कालो भादगाउँले टोपी जहिले पनि नमिलेकै देखिन्छ।

वर्जितलाई यो गाउँको कुनै पनि पोखरीमा, पँधेरीमा या ढुङ्गेधारामा नुहाउन वर्जित छ । उसलाई यो गाउँमा दारी काट्न, शिर ठाडो पार्न र टोपी मिलाएर लाउन पनि वर्जित छ । उसलाई यो गाउँमा मिठो खान र राम्रो लाउन त झनै वर्जित छ । अरू पनि धेरै थोकहरू उसलाई वर्जित छ ।

वर्जितको जहान कलावती उमेरले त्यति परपाखा नाघेकी छैन, बल्ल बत्तीस पुगी तर सधैँको बोझिलो कामले उसका सबै शरीरको ओज निस्तेज भइसकेका छन् । सुख्खा मकैको ढोड र कलावतीको सुकेको शरीरमा कुनै भेद छैन । एक सरो पात्लो धोती र फाटेको चोलीले उसको अर्ध शरीर छोपेको छ । हाडहरूले बनेकी ताजमहल हो कलावती तर फिक्का उसको अनुहारमा कुनै रस-रङ्ग छैन।

वर्जितको एउटी छोरी छे, उमेरले पोहोर साल सोह्रबाट सत्रमा टेकी । बिहे गर्ने उमेर गाउँघरको चलनअनुसार ढिला भइसकेको छ । चुनीमाया हो उसको नाम । उसको लागि वर्जितले वर जुराइसक्यो आफ्नो नजिकैको कुटुम्बबाट । तर धेरै भयो उसले आफ्नी पुत्रीको लागि बिहेको साइत भने जुराउन नसकेको ।

खुपेन सुनुवार (बेलायत)

आज पनि ऊ सबेरै आएको छ डाँडाघरे पण्डित सोमनाथको आँगनमा बिहेको साइत जुराउन । काँधमा एक भारी घाँस ल्याएको छ । ऊ मलिनो स्वरमा आफ्नो देउताजस्तो पण्डितलाई पुकार्छ; “ए हजुर ! पण्डितजी घरमा हुनहुन्छ ?”

भित्रबाट पण्डित सोमनाथ आफ्नो नित्य पूजापाठ सकेर बाहिर आउँछन् । शिर झुकाएर बसेको वर्जितलाई देख्नसाथ अँध्यारो अनुहार बनाउँदै ऊतिर हेरेर भन्छन्; “असती डाङ्ग्रा एक बिहानै किन मुन्टिस् ? शिव ! शिव ! मेरो धर्म नै नष्ट भो अब के अनर्थ हुने हो ? अपवित्र ! अपवित्र ! अनिष्ट ! अनिष्ट ! सत्यानाश होस् तेरो ।”

“जदौ मालिक ! अन्नदाता, जगत्को स्वामी, दया गर्नुहोस् यो गरीबउपर दया गर्नुहोस् ! गल्ती भयो हजुर ! म पापीलाई क्षमा होस् धर्मावतार । प्रभुसमक्ष एउटा सानो बिन्ती बिसाउन आएको छु हजुर । छोरीको बिहेको साइत जुराइदिन घरमा पाली बक्सियोस् । हजुर बिन्ती छ ।”

“ल भयो भयो । धेरै तेरो थुतुनो नबजा, अब जा गएर त्यो घाँस गाईलाई खुवा । त्यसपछि गोठ सफा गर अनि भकारीमा मल भर । त्यसपछि फुर्सद भएछ भने हेरौँला ।”

खुशी हुँदै ऊ पण्डितले अह्राएको सबै काम एकै निमेषमा गरिसक्छ । तर काम सकेपछि उसलाई फेरि पण्डितले अर्को चर्को काम थपिदिन्छन् । पण्डितको घरको तल्लो फाँटको बाँझो बारीको डल्ला पनि सबै फोर्न लाउछन् । अब वर्जितको अनुहारबाट तुरुन्तै उज्यालो घाम अस्ताउँछ ।

तर वैशाखमा मध्यदिनको चर्को घाम टन्टलापुरा छन् । एकैछिन गम्भीर भएर ऊ सोच्छ, छोरीको बिहे नै नहुने हो कि भन्ने पीरले छाती पोल्छ । बिहानैदेखि खाली पेटमा काम गरेकोले ऊ एकदमै गलेको छ । फेरि आज बिहानबाट एक हप्तादेखिको काम जरो उत्रेको छ । थकितअनुहार र खाली पेट लिएर पानी पिउन ऊ पण्डितको आँगनमा आएर बिन्ती चढाउँछ, “मालिक, सारै प्यास लाग्या छ । एक लोटा पानी पिउन पाए हुन्थ्यो ।”

भित्रबाट पण्डितकी अर्धाङ्गिनीले बर्बराउँदै प्लासटिकको मगमा पानी ल्याएर दिन्छिन् । वर्जित फेरि सानो स्वरमा बिन्ती चढाउँछ; “हजुर, बिँडी जलाउन आगो पाए हुन्थ्यो ।”

पण्डितनी रिसले मुरमुरिँदै भित्रबाट आगोको कोइला आँगनतिर मिल्काई दिन्छिन् र ढोका थुन्छिन् । भित्रबाट पण्डितले भन्छन्; “ओई डाङ्ग्रा, बारी जोतेपछि आँगनको त्यो सग्लो मुढा पनि पात्लो गरी चिरेस् है ।”

वर्जितले कालो अनुहार बनाउँदै भन्छ; “मालिक, बिहानदेखि यो पापी पेटमा अन्नको एउटा दाना पनि पर्या छैन । यसो मिल्छ भने दया गरी अलिकति केही खान पाए हुन्थ्यो ।”

भित्रबाट आवाज आउँछ, “पहिला अह्राएको काम सबै फत्ते गर अनि खान पाउलास् पेटभरि ।”

वर्जितले अन्तिम सर्को बिँडी तान्छ । भुइँमा पिच्च थुक्छ र थुकमाथि बिडी मार्छ । अनि खुइय्य बारीमा जान्छ । मनमनै पण्डितलाई बेहिसाब सराप्छ र भएभरको बल लाएर बाँझो फोर्छ । काम सकेपछि माथि गोठछेउ आएर एकैछिन घोप्टो परेर थकाइ मार्छ । शरीर निकै थाकेकोले होला उसलाई तुरुन्तै गहिरो निन्द्रा पर्छ।

यता पण्डित भने मिष्ठान्न भोजन गरेर खाटमा लम्पसार पल्टिन्छन् । पण्डितनी छेउमा बसेर बुढाको गोडा मिच्छिन् । एकछिनमा उनले भयानक दिवा स्वप्न देख्छन् । बडो डरलाग्दो दृश्य, वर्जितले पण्डितलाई मार्नको लागि बन्चरोले खेदेको बडो डरलाग्दो … । पण्डित अघि अघि, वर्जित पछिपछि लखेट्दै छ । लखेट्दै लखेट्दै पण्डित डाँडाको भीरमा पुग्छन् र माथि आकाशमा गिद्धहरू कराउँछन् र बन्चरको त्यो शक्तिशाली प्रहारबाट पण्डित रक्ताम्य भई भीरबाट गुल्टिन्छन् र आफ्नो खाटबाट ठुलो चीत्कारसँगै खलखल पसिनाले भिजेर ब्यूँझिन्छन् ।

भित्ताको घडीले सन्ध्याको ठिक साँढे सात बजाउँछ । अम्खोराको चिसो पानी घटघट पिएपछि उनी बाहिर निस्कन्छन् र गोठछेउ उधुमुन्टो भई घोप्टिएको वर्जितलाई देखेर झस्किन्छन् ।

बिस्तारै उनी वर्जित नजिक पुग्छन् र भन्छन्, “ओई असती डाङ्ग्रा, उठ् । होइन यो त दाउरा चिर्यो होला भनेको त सुतेर पो मर्या रैछ । ए भतुवा, उठ् !” लाठीले घोच्छन् । वर्जित एक डेक पनि सर्दैन । घोप्टो परेर बसेको वर्जितलाई अलिक बल लगाएर लाठीले घोच्दा, वर्जित जसरी घोप्टो परेको थियो त्यसरी नै सेता आँखा पल्टिएर, घोप्टिएका छन् । घरको धुरीबाट एउटा सेतो परेवा पखेटा फटफटाउँदै आकाशतिर वेग हान्छ र वर्जितको हंस उठेको पण्डिलाई बल्ल थाहा हुन्छ ।

एकछिनपछि गाउँभरिका मानिसहरू पण्डितको घरमा भेला हुन्छन् । तर कसैले पनि त्यो वर्जितको लासलाई उठाउने हिम्मत गर्दैनन् । रात झमक्क परेपछि झ्याउँकिरीको कर्कस आवाजसँगै घनघोर अन्धकारले पूरा गाउँलाई छोप्छ अनि त्यसै रात ठुलो आँधीहुरी, बतास चल्छ । पूर्वबाट चम्केको बिजुली र त्रासदी, विशाल मेघ गर्जनको गडगड़ाहटले पण्डितलाई ह्रदयघात हुन्छ र पण्डितको पनि ठाउँको ठाउँ हंस उठ्छ ।

एक बिहानै आर्यवर्त गाउँभरि विरहको ध्वनि गुञ्जिन्छ । फेदीमा खोलाको तटछेउ गैरीघाट छ । घाटमा दुईवटा लास जल्छन् र खरानी हुन्छन् । तर कसैलाई थाहा हुँदैन, त्यसबखत जलेर खाक भएको खरानीको रङ्ग कस्तो थियो ?