ठूले थाला परेको पनि निकै वर्ष भयो । आफ्नै घरमा भित्रबाहिर गर्न पनि सक्दैन । उःबेला सबैका लागि ठूले भीम नै थियो । काम गर्नलाई नै जन्मिएको जस्तो । काम पनि कति चाँडो र सफासँग गर्ने । उसको काम देखेर सबै मख्ख थिए । उसको घरमा कहिले चुल्हो निभेन ।

पुन्टी र काले ठूलेका प्राण थिए । पुन्टीको गालाको लाली र कालेको चञ्चल बानीमा ठूले मोहित थियो । यिनीहरूलाई हेरेरै ऊ उर्जा सञ्चित गर्थ्यो । तर आज आफ्नै शरीर पनि ओल्टेकोल्टे पार्न सक्दैन । शिखरको डाँडातिर हेर्दै बेला बेला भक्कानिन्छ । त्यही डाँडा हो उसले दिनको तीनचार पटक ओहोरदोहोर गरेको । त्यही उकालो हो पुन्टीको हात समातेर मायापिरतीको कसम खाएको । देउरालीमा बसेर सुनौलो भविष्यको कल्पना गर्दै भुन्टीको कपाल सुम्सुम्याएको । अतीत सम्झेर ठूलेका आँखाबाट बरर.. आँसु खस्यो ।

एकोहोरो मझेरीमा टोलाई बसेकी पुन्टीलाई भ्यान्टीले पछाडिबाट आँखा छोपिदिन्छे ।

“नजिस्की है, मान्छेको पेटमा सातुसामल नपरेको कति दिन भैसक्यो । ठूलेको दुर्दशा देखेर सिङ्गै घरमा आगो लाएर होम्मिउँझैं भाछ, तलाईं चाहिँ कुन बैँसको उन्माद लागेको हँ ? जिस्किन आउँदी रहिछे।”, हातले ढुङ्गा उचाली हाली ।

साँच्चै मन दुखेको बेला सुमधुर सङ्गीत पनि झर्को लाग्छ । बिहानको सुनौलो किरणले पनि भतभती पोल्छ । खाली पेट कहाँ शान्ति हुन्छन् ?

“के गर्छेस् बाबै आ-आफ्नो भाग्यको खेल हो । अब चित्त बुझा । भर्‍याङ्ग कहिले बैठकमा पुगेको देखेकी छस् ? हामी त्यही भर्‍याङ्ग हौँ । जसलाई प्रयोग गरेर टाठाबाठा सजिलै उक्लिए ।”

“चोक्टा खान गएकी बुढी झोलमा डुबी भनेको यही हो । ठूलो भाग खायौँ । ठूले नराम्रोरी थला पर्यो । म पनि ढाडको चोटले भारी बोक्न नसक्ने भएँ । तेरो खुट्टा देखेकै छस् । दिक्क मात्र लाग्छ ।”

खुट्टा खोच्याउँदै भ्यान्टीले ठूलेतिर पाइला बढाई, “अलिकति भुटेको मकै ल्याइदिएको छु। तँ पनि खा अलिकति ।”

भुन्टीको पोल्टामा एक मुठी मकै हाल्दी ।

“मलाई दाइसँग कुरा गर्नुछ ।”, ठूलेको नजिकै गएर भ्यान्टी थ्याच्च बसी ।

“दाइ ! माथि गाउँमा अग्लो टावर बनाएका छन् नि ।”

“किन बनाएका हुन्त ती टावर, थाह छ तलाईँ ?”

“खोई, दाइ सुनेका कुरा हुन् । जिम्मेवार व्यक्तिहरूलाई घर घर धाएर गाउँलेको समस्या देख्न गाह्रो भएर बनाएको जस्तो लाग्यो । महेन्द्र मल्लले जनताको घरबाट धुवाँ नआएसम्म अन्नपानी केही खाँदैन थिए । हाम्रा नेताहरू पनि महेन्द्र मल्लझैँ भएका पो हुन् कि त !”

“ए, लौ ! राम्रो कुरा सुनाइस् कान्छी ।”

“आजसम्म हाम्रो देशमा सोचेको जस्तो विकास नभएको त भ्यूटावर नबनाएर पो रहेछ, दाइ ! अब समस्या पत्ता लाग्यो । भ्यूटावरको सोच ल्याउने मान्छे त चानचुने होइन रहेछन् । निकै बुद्धिमान छन् क्यार !”

आँखा तनक्क तन्काउँदै शिखरको डाँडातिर हेर्दै ठूले मुसुक्क मुस्कुरायो ।

“अब तपाईँको उपचार पनि गाउँकै नामूद अस्पतालमा हुन्छ दाइ । गाउँमा टावर भएपछि गाउँलेहरूको घरघरमा रोजगारी आउँछ । गाउँबाट दु:ख र गरीबी त कुलेलाम ठोक्छन् । सबैका घरमा धुवाँ आउँछ । ”

पुन्टी पनि मुख आँ गरेर भ्यान्टीका कुरा चाख दिएर सुन्दै भित्रभित्रै रारा भएर खिलखिलाएकी थिई ।

“भ्यूटावर भएपछि त गाँउमा अस्पताल, स्कुल, कारखाना त जम्मै गुटुङ्गटुङ्ग खुल्छन । तर दाइ ! धेरैले त बिरोध पनि गरेका छन् ।”

ठूले खकार्दै बोल्यो, “भ्यूटावरको जादू थाह नभएर गरेका होलान् ।”

“हो त नि, यो त जादूको छटी जस्तै हो । डाँडा टोलका मान्छेले भनेका । अब त शिखरमा पनि आकाश छुने भ्यूटावर बनाउने रे । अब हेर्नू होला, नेपालमा गाउँ भन्ने नै हुँदैनन् । सबै सहर हुन्छन् ।”

“भ्यान्टी ! नेपालको कुना कुनामा भ्यूटावर बनेपछि कोही जानू पर्दैन होला है खाडीका मुलुकतिर ? यहीँबाट खाडी छर्लङ्ग देखिन्छ होला । माथि टावरबाट हेरेर हाम्रा दाजुभाइलाई यतै बोलाउन सकिन्छ होला है ?”

भुन्टी पनि मकै चपाउँदै कुरा सुन्दै थिई । पहेँला दाँत ङिच्च देखाएर प्रफुल्ल भएर हाँसी । चाउरी परेका गाला तनक्क तन्किए, “अब साँच्चै हाम्रा दुखका दिन जान्छ त कालेका बा  ?” भत्किएको मनमा विश्वासको सगरमाथा ठड्याउँदै भुन्टी मक्ख थिई ।

“भ्यूटावरबाट अब सरखारले हाम्रा दु:ख जम्मै देख्छ । रोएर बस्नु पर्दैन । हिजो गरेको क्रान्ति सफल होलाजस्तो छ । समस्या त यहाँ पो रहेछ, बित्थामा लडिएछ ! यति सजिलै आमूल परिवर्तन हुने रहेछ ।”, लोप हुन लागेको आशा बिउँतिएकोझैं लागेर होला ओछ्यानबाटै ठूले दाइ जुर्मुराए ।

“ए कालेकी आमा ! मलाई पनि डोकोमा बोकेर लैजा है भ्यूटावरमा । अक्षतापाती पनि बोक्नु पर्छ । धुमधामले पूजा गर्नु पर्छ ।”