धनिया चमारको आँखा एकदम विस्फारित भयो । ऊ त्यही विस्फारित नेत्रले अगाडि हेरेको हेर्यै थियो । उसले विश्वासै गर्न सकेको थिएन– ऊ त्यो रमाबाबु उसको मालिक ।
रमा चौधरी केही पर पारिपट्टिको बाँसको छेकबारमा टाउको अडाएर घुरिरहेको थियो । धनिया चमार एकदम चकित थियो, उसको मालिक रमाबाबुको यो हविगत ! रमाबाबु पनि शरणागत थियो– धनिया चमारझैँ बाढीपीडित उद्धार शिविरमा ।
धनिया अर्को शिविरमा नअटाएर यहाँ आएर बसेको मात्रै थियो, उसले रमाबाबुलाई देखिहाल्यो । यो शिविरमा पनि त्यत्तिकै हूल थियो अटेसमटेस । तर ऊ एक्लो भएकाले ठाउँ पाएको थियो । धनियाले रमाबाबुको आसपास घाँटी तन्काई–तन्काई हे¥यो, तर उसले रमाबाबुको परिवारको कोही एकजना पनि देखेन ।
अर्को आश्चर्य ! रमाबाबु एक्लो एकदम एक्लो । उनको जहान, परिवार सब गायब । मालिकाइन पनि गायब, छुनमुने केटाकेटी सब गायब । उसका आफ्ना केटाकेटी, स्वास्नी गायब भएजस्तै रमा मालिकको पनि सब गायब । शिविरमा हूलमूल त्यस्तै थियो, खल्लीबल्ली त्यस्तै थियो । तर धनियाले मालिकलाई हेरिरह्यो । उसले अहिले आफ्नो जहानबच्चा एकदम बिर्सेको थियो र मालिकका जहान–परिवारलाई मात्रै सम्झिरहेको थियो । झुसझुसे दाह्रीजुँगाले छोपेको ओठमा र्याल निकालेर मालिक बेसूध घुरिरहेको थियो । उसले हेरिरह्यो ।
निस्पट्ट अँध्यारो रात । घरभित्र पानी, कोठाभित्र पानी, पानी नै पानी, जताततै पानी । धनिया चिच्च्यायो र चिच्च्याएको चिच्च्यायै फुसको घर ढल्यो । चिच्च्याएको चिच्यायै केटाकेटी, चिच्च्याएकी स्वास्नी, चिच्च्याएको आवाज गायब । ऊसले भएभरको बलले पानीमा हातले छ्यापछ्याप्ती गर्दै स्वास्नी, केटाकेटीलाई खोज्यो । ऊ हिँडन खोज्यो, दौड्न खोज्यो । भएभरको बलले आँखा च्याती–च्याती खोज्यो, आँखा च्याती–च्याती स्वास्नी, केटाकेटीलाई खोज्यो । सब बेकाम, निरर्थक । पछि ऊ शिविरमा पुगेको थियो, हूलमूलको एउटा मान्छे भएर । ऊ बसेको थियो र पानी–पानी चारैतिर भएकाले पानी–पानीको सपना देखिरहेको, पछि कसैले उसलाई कोट्याएर उठायो । ऊ उठ्यो, उसको हातमा केही पर्यो । खानेकुराजस्तै केही चिज थियो र त्यसलाई उसले एकटक हेरिरहेको थियो ।
रमा चौधरी अझै ब्युझेको थिएन । त्यतिका झुत्रेझाम्रे बाढी–पीडितहरूको सुस्ताएको हाहाकारको बीचमा ऊ अझै सुतेर घुरिरहेको थियो । धनियाको आँखा रमा चौधरीको अनुहारबाट हट्न सकेको थिएन । उसको बाबु रमा चौधरीकै घरको हरूवा थियो । ऊ पनि उसैकहाँको हरूवा । उसको बाबुले रमा चौधरीको बाबुसँग कर्जा लिएको थियो । जीवनभरि हरूवाइ गरेर पनि कहिल्यै त्यो कर्जा फर्किएन । ऊ मर्यो ।
अहिले त्यो कर्जा धनिया चमारले फर्काउनुपर्छ हरूवाइ गरेर । यसैबीचमा उसले फेरि कर्जा लिएको छ रमासँग । कति लिएको छ त्यो हिसाब गर्न सक्दैन ऊ । मालिक रमाबाबुले जति भन्नुहुन्छ त्यति । उसलाई थाहा छ त्यो कर्जा कहिल्यै फर्किंदैन–जीवनभरि हरूवाइ गरे पनि । तर उसले काम पाएको छ जीवन धान्न । उसका स्वास्नी, केटाकेटीले रमा मालिकको घरमा परिआएको काम गर्छन्, ज्याला पाउँछन् र कहिलेकाहीँ बचेखुचेको कुरा खान पाउँछन् ।
बिहान सबेरै गएर हलो जोतेर फर्केपछि उसले जलखाई खान पाउँछ भोको पेटमा । जलखाईमा सधैंजसो भिजाएको काँचै चामल नुनको ढिको र सकेसम्म पिरो खुर्सानी हुन्थ्यो । सधैँजसो पिरो खुर्सानी टोक्थ्यो र जिब्रो पट्काउँथ्यो । रमा मालिकको कति सम्पत्ति छ त्यो धनियालाई थाहा छैन । पहिले धेरै थियो भन्ने उसले सुनेको थियो । दाजुभाइ फट्टिदारको फाँट भएपछि घट्दै गयो र भूमिसुधारपछि उनको भागमा बीस बिघा बाँकी छ । १० बिघाजति मोही लागेको छ र बाँकी आफ्नै जोताइमा छ । त्यही जोताइमा धनिया चमार हल चलाउँछ ।
रमा मालिकको पक्की कोठाजस्तै घर छ । घरको सामुन्ने खलिहान छ र खलिहानसँगै दुइटा भकारी छाती फर्काएर ठाडो छ । दुईजोर गोरु (बरद) छ । हलो जोतेर फर्केपछि गोठबाहिर बाँधिएको हुन्छ । नादमा मनग्गे भुसा खाएपछि बाँधिएको बाँधियै भैँमा बस्छन् र एकनाससँग उग्राइरहेका हुन्छन् । दुई–चारवटा गाई र बाच्छा छन् । एउटा ब्याएको भैँसी छ र सधैँ रातो आँखाले घुरेर हेरिरहेको हुन्छ । अहिले खोइ त्यो ? धनिया चमार झसंग झस्क्यो, सजग भयो ।
खोइ रमा मालिकको त्यो घरद्वार, खेत, खलिहान । सबै बग्यो पानीमा । सबै बगायो पानीले, त्यो गाईवस्तु, बरद, भैँसी सबै पानीमा हरायो । अचानक उसलाई उठेर चिच्च्याउन मन लाग्यो, यो होइन होइन, हुनै सक्दैन, तर शिविरमा ऊजस्तै यत्रतत्र फैलिएका मानिसका आँखाले भनिरहेको थियो– ‘यो हो, यो हो ।’ पल्लो गाउँको नथुनिया खतवेको आँखाले यही भन्छ । त्यो फेरि अर्को गाउँको रामपुरको मगनिया साहुको अनुहारले यही भन्छ– ‘यो हो, यो हो ।’
ती गाई, गोरु, भैँसीसँग धनिया चमारको सुखदुःख गाँसिएको छ । लस्ट भएर भुसा उग्राएर आफूजस्तै अर्को जन्म हेरेर बसेको उसलाई लाग्छ । हो, अर्को पनि एउटा हरूवा छ ज्यालादारीमा । त्यो कामचोर– कहिले आउँछ, कहिले आउँदैन । मालिकले त्यसको भर गरेको छैन, खाली उसैको मात्रै भर गरेको छ । ती सबै गाईवस्तु उसैलाई पर्खेर बसेको जस्तो लाग्छ उसलाई । ऊसँगै मात्रै लहसिएको उसलाई लाग्छ । रमा मालिकको घरको अरूले कुटी ख्वाएको धनियालाई चित्त बुझ्दैनथ्यो । ऊ मौकाबेमौका पराल–घाँस नादमा हालिहाल्थ्यो । गाईवस्तुहरू सधैँ उसको अनुहार आशामुखी भएर हेरिरहेको उसलाई लाग्थ्यो ।
त्यसमध्ये एउटा बैल साह्रै बदमास, चकचके । जति फोहर–फोहर गाली गरे पनि सुनिरहन्थ्यो । जति गाली गरोस्, जति लट्ठीले ठोकोस् बेपर्वाह उफ्रिरहन्थ्यो । फेरि अर्को छ ढिठा हलो जोत्दाजोत्दै थचक्क बस्थ्यो । पछिल्तिर कन्डामा लट्ठी घोचेर जति उठाउन खोजे पनि उठ्दैनथ्यो र जति मुड्की हिर्काए पनि उठ्दैनथ्यो । पटापट जति लाठी बजारे पनि उठ्दैनथ्यो । पछि धनिया चमार पनि थकित भएर त्यही बैलको जिउमा टाउको टेकाएर सुस्ताउँथ्यो र बैलले पनि टाउको फर्काएर उसलाई सुँघ्न खोज्थ्यो । खोइ ती सबै, कहाँ हराए, कहाँ हराए ।
रमा चौधरी, रमा मालिकले आँखा पर्लक्क खोल्यो । आँखाले चारैतिरको सबैलाई हेर्यो । धनिया चमारलाई पनि हेर्यो । त्यो आँखाले धनियालाई चिनेन । त्यो आँखाले त्यहाँ बसेका अरू कसैलाई पनि चिनेन । त्यो आँखा भावहीन थियो । त्यो आँखाले सबैलाई बिर्सेको थियो । रमा मालिकको त्यो लथालिंग मानिसको जमघटमा (आँखा) त्यसै परेको मात्रै थियो । त्यो आँखाले आफ्ना हराएका जहानबच्चा छोराछोरी कसैलाई खोजेन । उसले सबैलाई बिर्सेको थियो । धनिया चमार एवं भूमिकामा मालिकनिर जान खोज्यो, तर उठ्न सकेन । ऊ आफैँ सर्मायो । उसलाई आफैँलाई सरम लाग्यो । मालिकको यो हविगत ?
शिविरमा खल्लीबल्ली मच्चियो र त्यो खल्लीबल्लीसँगै धनिया सचेत भयो । लुगा बाँड्ने काम भएको थियो । उसको हातमा पनि एउटा पोका पर्यो । त्यो लुगाको पाकेट थियो । उसले हेर्यो– त्यसमा गन्जी छ, लुंगी छ र ओढ्ने पनि छ । अनायास धनिया खिस्स हाँस्यो । उसले आफूले नयाँ लुगा कहिल्यै किनेको थिएन । उसले कहिलेकाहीँ मालिकको जडाउरी अहँगा मात्रै लगाएको छ । फगुवामा मालिकले किनिदिएको नयाँ छहाते सेतो धोती लगाएको छ । अनायास धनिया चमारको आँखा रमा मालिकमा पर्यो । अर्को आश्चर्य ! रमा मालिकले उसले लिएजस्तै त्यस्तै पाकेट हात थापेर लियो र काखमा राख्यो । धनियाले त्यस्तै विस्फारित नेत्रले हेरिरह्यो ।
दैवीप्रकोपको अघिल्तिर नतमस्तक शिविरमा मानिसको श्वासप्रश्वाससमेत सुस्ताइरहेको थियो । एउटा मानिसको व्यथा अर्को मानिसको व्यथामा मिसिएर एकाकार भएको थियो । एउटाको भताभुंग भएको घर बगेर गायब भएको थियो । शिविरमा कोही सुतेका थिए, कोही बिउँझेका थिए र सबैलाई समेटेर शिविर सास फेरिरहेको थियो । धनिया चमार मानौँ त्यो शिविरको सासप्रति एकाग्र भएर मौन थियो । मानौं त्यो शिविरको सासभित्र उसका आफ्ना स्वास्नी, केटाकेटी सबै बिलाए, बेपत्ता भए । उसले आँखाले, आँखा तानीतानी खोज्न पनि छाडिसकेको थियो । ऊ पनि शिविरजस्तै नतमस्तक छ, नियतिको अघिल्तिर मानौँ उसले यी सबै स्वीकारेको छ । शिविरका अरू मानिसझैँ ऊ पनि आँखा चिम्लेर बसिरह्यो ।
‘थाप, थाप’ को आवाज सँगसँगै उसले आँखा खोल्यो । अब खानेकुराको पालो आयो । खानेकुरा बाँड्ने काम भइरहेको थियो । मानौँ धेरै–धेरै दिन भयो उसले केही नखाएको, उसलाई अचानक भोक लाग्यो । उसको पनि पालो आयो हात थाप्ने । प्लास्टिकको झोलामा खानेकुरा थियो । त्यसमा चिउरा थियो, बिस्कुट पनि थियो । उसले त्यो बिस्कुट कहिल्यै किनेर खाने आँट गर्न सकेको थिएन । उसको भोकाएको शिथिल शरीरभित्र एउटा अपूर्व सन्तुष्टि व्याप्त भयो । र खानेकुरा बाँड्ने मानिस सर्दै, बढदै गरिरहेको थियो । धनियाको आँखाले फेरि पुलुक्क रमा मालिकलाई हेर्न पुग्यो । बाँड्ने मानिस रमा मालिकनिर पुगिसकेको थियो । रमा मालिकको आँखाजस्तो अघि थियो त्यस्तै थियो, केही नबुझेको, केही नहेरेको । रमा मालिकले पनि हात थाप्यो । धनियाले मालिकले हात थापेकोे हेरेको हेर्यै भयो ।
उसलाई अचानक रमा मालिकको घरको आँगनको झझल्को भयो । त्यस्तै अचानक मालिकाइनको हातबाट खानेकुरा थापेर लिएको झल्झल्को भयो । रमा मालिकले त्यो खानेकुरालाई जतनसँग लिएको उसले देख्यो । त्यो खानेकुरालाई त्यतै जतनसँग पोल्टामा राखेको पनि देख्यो । मालिकले खानेकुरालाई त्यसरी लिएको, त्यसरी राखेको एकै उद्वेगमा धनियाको पोल्टाबाट खानेकुराको झोला खस्यो । त्यही बेगमा पानीको छालले उसलाई छोप्यो । बाढी आयो, बाढी आयो । झुपडी भत्क्यो । उसको जिउको अन्तरकुन्तरमा पानी नै पानी । ऊ रोयो । रोयो । दुइटै घुँडाको बीचमा टाउको घुसाएर रोयो । उसले मालिकाइनलाई सम्झ्यो । मालिकका केटाकेटीलाई सम्झियो । उसले आफ्ना छोराछोरीलाई सम्झ्यो । उसले आफ्नी स्वास्नी सम्झ्यो । मानौँ धेरै दिन भयो उसले सबैलाई बिर्सेको, अहिले भर्खर सम्झ्यो र रोहइरह्यो ।
गोठालेको ‘बाह्र कथा’बाट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।