मेरी बुने छे एउटी । जन्मजात होइन, कर्मबाट । बुने के भनूँ ऊ छोरी हो मेरी । बा भन्छे मलाई । वा भनूँ काका भन्छे । अनि प्यार दर्शाउन ऊ अझ काके भन्छे । हिजो उसको लोग्ने छँदा पनि म उसलाई माया गर्थें । उसले मेरो मायाको प्रस्ताव सहजै स्विकारेकी थिई – बाबुको भूमिकामा । ऊ सानै छँदा बाबु बितेछन् । मैले निकटताको केही समयमै उसलाई ‘तँ’ सम्बोधन गर्दा खुसीले मात्तिएकी थिई – मलाई बाबुको माया प्राप्त भो भनेर ।
उसैको कुरा गरूँ न त । मेरी बुनेको । फूल हो ऊ । फूल भनेर चिनाइसकेपछि उसको थप परिचय दिनुपर्छ र ? तर पर्छ नि ! बिडम्बना, एउटा फूललाई हेरेर बुझ्न सकिन्छ नि मान्छेको वास्तविकता । अहँ, यो सम्भव नभएरै त आज मानिस लुगा लगाएर हिँड्ने प्राणी बनेको छ । रूखका बोक्राले नछोपेको सुन्दरता रेशमी फुलबुट्टे सारीले छोप्न खोज्छ मान्छे । अनि फूलसितको आफ्नो साइनो कसरी केलाओस् …! प्रकृतिले मानव जीवन बुझ्न प्रशस्त उदाहरण दिएको छ । तर मानव स्व-केन्द्रित बन्दै गएकाले यी दृष्टान्त अबोध्य बनेका छन् ।
फूल भन्नेबित्तिकै बगैँचामा वा गमलामा ढकमक्क फुलेर संसारलाई सुगन्ध छरिरहेको, सुनौला रङ पोतिएको, हेर्दै आकर्षक, टिपूँटिपूँ लागिहाल्ने एउटा प्राकृतिक उपहार भन्ने सम्झिन्छ नि ? अनि हरेक अपराधी, कुलङ्गार, कुरूप र निर्दयी समेत फूलका सामु आफूलाई संसारको सबैभन्दा सभ्य, सुशिक्षित तथा आदर्शवादी मान्छे भनाउन चाहन्छ ।
कसैले सुकेको, किक्रिक्क परेको, ओइलाएको र झरिसकेको फूल सम्झन्छ र ? हो त्यसै गरी आफूलाई सौन्दर्य पूर्ण, सामाजिक एवं महाप्रेमीका रूपमा प्रस्तुत गर्न चाहन्छ ।
महाज्ञानी होस् वा महामूर्ख, सबैले फूल भन्नासाथ फुलिरहेको, वासना छरिरहेको, संसारलाई उज्यालो दिइरहेको र नझरेको फूल सम्झन्छ । म भन्छु, फूल मानिस हो मानिस फूल । झर्छ, ठोकिन्छ, कुल्चिन्छ । चुँडिन्छ । थुतिन्छ । घाम, पानी, शीत, ताप सबैको यथोचित सम्मिश्रणबाट मात्रै फूलको सुन्दरता निखारिन्छ । दुख, सुख, हाँसो, खुसी, पीर वेदना आदिले मानिसको भित्री सौन्दर्य उजागर गर्छ । बुझ्नेले बुझ्छ – मानिस फूल, फूल मानिस । म बुझ्छु – बुने फूल हो, फूल बुने हो ।
मृत्यु के हो ? जन्मपछिको अन्तिम सत्य । अर्थात् जन्मने हरेक सिर्जनाले मृत्यु लिएर आएको हुन्छ । सायद मृत्युकै कारण जीवन सुन्दर बनेको छ । भोग्नेलाई मृत्यु क्षणिक पीडा होला, तर बुझ्नेलाइ मृत्यु मोक्ष पनि त हो । मृत्यु मात्र त्यस्तो बाटो हो जसबाट मानिस कुन्ठामुक्त हुन्छ । सांसारिक मोहजालबाट टाढा, सदा सदाका निम्ति ।
यहाँ मृत्यु भोग्नु सामान्य हो । मृत्युभन्दा भयङ्कर पीडा भोग्ने हाम्रा बुनेहरू छन् । बुनेको मुटु चिरेर हेर्ने हो भने त्यहाँ सयौँ मृत्युका डोबहरू भेटिन्छन् । मुटुका हरेक अवयवमा मृत्यु टाँसिएको छ । मैले उसको मुटु छामेर हेरेको छु । सयौं अनिदा रातहरूले एकै पटक हजारौं मृत्युका धाँजा पारेर हिँडेका गोरेटा छन् त्यहाँ । यसरी आज पनि ऊ हरेक रात मृत्युभन्दा हजारौं गुना गरुँगो भारी बोकेर सुत्छे । सपना नदेखियोस् भनेर निदाउँदिन । सुतेर सपना देखियो भने उल्टै सपनाले ठुँग्छ । अनजानमा ऊ निदाउँदा कति सपनाले चिथोरेका छन् । सपनामा मैले उसको मुटु दरो गरी समाएँ भने ऊ फेरि सुत्छे । निदाउँछे मस्त । हरेक बिहान मृत्युका सयौं सुइराले घोपेको अनुहार लिएर उठ्छे । दिउँसो त भन्नु मात्रै हो, कानमा हजार किलोको घनले ठोकेभन्दा बढी कर्कस आवाज सुन्नुपर्छ उसले । जिउभरि सामाजिक रुढान्धका दुर्गन्धित लेपहरू टाँसिएका छन् ।
यो मृत्युसित दाँजिने दु:ख हो र ?
उसलाई लोग्नेको नाउँ थियो । बाउको जात छोडेर लोग्नेको गोत्रमा समाहित हुनु हाम्रो समाजको परम्परा । एउटी साधारण महिलाका लागि यो एउटा अनिवार्य सर्त । समाजको बन्धन । तर हाम्रो जस्तो समाजमा पनि उसले ५ फिट ६ इन्चको अग्लाइ भएको आफ्नै लोग्नेसित पिरतीको बिउ रोपिहेरी । सुरुमा उसले एक थान ज्यान मात्र पाएकी थिई । सँगै सुत्दैमा सबै मानिस लोग्ने हुन्छन् र ? लोग्नेसित केके होलान् ? दुई नाक पसिना, एक मुख दुर्गन्धित श्वास, दुई कानजति स्वास्नीको पोइ हुने अहं मिश्रित बोली । त्यसमाथि केही थप भए आफ्नो पौरखको बयान । नढाँटी भन्ने हो भने यस्तै केही चिजबिज र अरु अलिकति भएको दुई खुट्टे प्राणीलाई लोग्ने भनिन्छ । तर बुने छक्क परी क्या । लोग्नेमान्छेहरू मात्र बिउ होइन, ब्याड पनि हुँदा रहेछन् । उसले ब्याड हाली । एक थान गतिलो ज्यान भएको त्यो लोग्नेमान्छेभित्र उसले रोपेको प्रेमको बिउ उम्रला थिएन विश्वास । तर उम्रियो । सुपारीको बोटमा बेरिएको गुर्जोको लहरो जस्तै उसको प्रेम सप्रियो । अनि उसलाई लाग्यो – लोग्नेमान्छेहरू बिउ मात्र होइनन् ब्याड पनि हुन् ।
यहीँबाट सुरु भएको त हो उसको प्रेम कहानी । लोग्नेको जातलाई आफ्नो जात । उसको थरलाई आफ्नो थर । उसको सुखदुखलाई आफ्नो सुखदुख । यति के हो र ! लोग्ने नै आफैं भई । चार खुट्टा, दुई ज्यान, दुई मुटु भएर पनि एउटै विचारमा बाँच्ने दुई प्राणी भए मेरी बुने र उसको लोग्ने ।
अनि लोग्ने मर्यो । हाहाहाहा । हाँस्नु कि रुनु ? मैले बुनेलाई हाँस भन्नु कि रोऊ ? उसलाई पनि खित्का छाडेर हाँस्न मन लागेको थियो । समाजले रुन लगायो । रोई । मैले हाँस्न भनेँ । हाँसी । यो हाँसो-रोदनको जुहारी चल्यो । धेरैले उसलाई रुन भने । रुनलाई त आँसु चाहियो नि । त्यसै रो भनेर हुन्छ ? उसको आँसु नै ईश्वरले लगेपछि । भित्र धेरै भित्र जहाँ आँसु उत्पादन हुन्छ नि, हो त्यही आँसुको मूल नै उखेलेछ । एकदुई दिन त रोइहेरी । आँसु आउला कि भनेर । अँहँ, आँसु नै नआएपछि रुनुको के अर्थ । र पो मलाई पनि ज्ञान भो – मृत्युभन्दा बढी । मृत्यु के हो र ! बुनेको जिन्दगी छामेर हेर त, मृत्यु केही होइन । बस, एउटा सामान्य घटना । मृत्यु थुम्को हो भने सगरमाथाहरू छन् दु:खका । मृत्यु तलाउ हो भने सागरहरू छन् पीडाका । मृत्यु संसार हो भने ब्रह्माण्डहरू छन् शोकका । यी सगरमाथा, सागर र ब्रह्माण्ड मेरी बुनेमा छन् । मृत्युभन्दा बढी ।
म फूल भन्छु नि । मान्छेले बुझेको भए यो कथा लेख्नैपर्ने थिएन । फूल-बुने, बुने-फूल । बास । बाख्राले मुन्टो निमोठेझैं फूलको । साँढेले ढाड कुल्चेझैं फूलको । घामले जरा सुकाएझैं फूलको । रातले शीत थपेझैं फूलमा । बादलले वर्षा हिर्काएझैं फूलमा । हावा, किरा, चरा र पुतलीका आहार बनेझैं फूल ।
ठक्कर दिनेहरू पराया हुँदैनन् । फूल टिपेर ईश्वरलाई चढाउने नै फूलको शत्रु हो । आज बुनेका आफन्त हात धोएर लागेका छन् उसको गला निमोठ्न । उसले हाँस्नु हुन्न । मरेको लोग्नेका लागि उसले रुनुपर्छ । अब उसको सुहाग खोसिएको छ । जीवन अर्पण गर्नुपर्छ उसैलाई । बुनेलाई माया गर्नेहरू उसले दु:ख पाओस् भन्छन् ।
तर ऊ आज चियाबारी भएकी छे । ऊ आफैँ दृश्य बनेकी छे । चियाबारीमा मान्छे रमाउँछन् । दृश्यमा टिकटक बनाउँछन् । बस्, जल्नेहरू जल्छन् । उसले मृत्युभन्दा बढी भोगिसकेकी छे । आई लब यु – मेरी बुने ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।