सुरजले दार्जीलिङ सहरभित्रको एउटा पुरानो रेस्टुराँमा बसेर चिया र चुरोट पिउँदै कविता रच्ने चेष्टा गरिरहेको छ । जति कविता कोर्दै जान्छ त्यो उति स्वत: कथा बन्दै जान्छ । उसले त्यसरी निकै समय बिताइसकेपछि आफूले पिएको चिया र चुरोटको पैसा तिर्दै रेस्टुराँको मालिकलाई सोध्छ, “नरिसाउनुहोस् ल दाज्यु, तपाईँलाई एउटा कुरा सोध्छु—म किन यहाँ एकाबिहानै आएँ ?”

रेस्टुराँको मालिकले रिसाउँदै भन्छ, “थाहा छैन, तर तिमीले तीन कप चिया र चारवटा चुरोटहरू पियौ अनि मेरा कतिपय गाहकहरूले बाँकीमा खाएका हिसाब लेख्ने खाताका चार-पाँचवटा पन्नाहरू बिगारेर खिर्कीबाट फ्याक्यौ । अरु त के भन्नु यसपालिको त छोडिदेऊ पोहोर सालका एक-दुईवटा बाँकी अझै पनि दिएको छैनौ !

प्रत्योत्तरमा त्यति सुनिसकेपछि ऊ त्यहाँबाट अँध्यारो अनुहार लिएर निस्कन्छ र क्यापिटल हलको उकालै चौरस्तातिर लाग्छ । ऊ त्यहाँबाट निकैमाथि पुगेपछि रेस्टुराँको मालिक आफैँसित गनगनाउँछ—“हन, कस्तो मान्छे ! आफूले बाँकी खाएको त बिर्सियो-बिर्सियो तर आफू रेस्टुराँमा किन आएको त्यो पनि मैले पो बताइदिनुहरे ! कस्ता-कस्ता मानिसहरू जन्मन्छन्, यो संसारमा !”

चौरस्तामा एक फन्को घुमिसकेपछि ऊ एउटा बेन्चमा घोरिरहन्छ । त्यहाँ, त्यसरी घाममा रातोपिरो भइञ्जेल बस्दा पनि उसलाई याद आउँदै-आउँदैन कि आज ऊ घरबाट बजार किन आएको छ । त्यहाँ पनि वाक्क लागेपछि ऊ ओरालो बजारतिर झर्छ । अलिक तल आइपुगेपछि उसको दृष्टि एक जना साथीको घरमा पर्छ र त्यतैतिर जाने मन बनाउँछ ।

इगम खालिङ (दार्जीलिङ)

साथी घरमा नै रहेछ । भेट हुनसाथ साथीले खुल्ला हृदयले बधाई दिँदै बैठक कोठामा बसाएर प्रशंसा गर्न थाल्छ, “अस्ति हिमालय दर्पण दैनिक समाचार पत्रिकामा तपाईँको कविता छापिएको रहेछ पढेर साह्रो आनन्द लाग्यो । मलाई अहिलेसम्म त्यो कविताको ‘ह्याङ ओभर’ भइरहेको छ । हन साथी, यति मिठो कविता कसरी रच्नुहुन्छ हौ !”

सुरज नबोली कोठामा सजाएर राखेको लाफिङ बुद्धको मूर्तिलाई एकटक लगाएर हेरिरहन्छ । साथीकी श्रीमतीले एक कप तातो चिया टक्राउँदा मात्र ऊ झस्कन्छ । सुरजले चिया पिउनलाई चियाको कप के उठाएको मात्र थियो साथीले मुख बनाउँदै कुरा बढाउन थाल्छ, “म तपाईँलाई नै भेट्न आउनलाई तर्खर गर्दै थिएँ तर तपाईँ पो यहाँ ठ्याक्क आइपुग्नुभएछ, राम्रो भयो !”

सुरज केही नबोली चिया पिइरहन्छ । साथी फेरि स्वर बनाएर नम्रभावमा बोल्न थाल्छ, “हेर्नुहोस् न, नानीलाई यसपालि नयाँ स्कूलमा भर्ना गरेको बजेटले अलिक भ्याएन । त्यसैले तपाईँले अस्ति लानुभएको सापटी फर्काई दिनुहुन्छ कि भन्ने आशाले नि !”

त्यति सुन्नसाथ चियाको कपबाट चिया छचल्किने गरी टेबलमाथि जोरले राखेर ऊ त्यहाँबाट फुत्त बाहिर निस्कन्छ । साथी रिसले रातो भएर श्रीमतीलाई ट्वाल्ल हेरिरहन्छ ।

त्यहाँबाट दार्जीलिङ सदर अस्पताल हुँदै तल नयाँ सुपरमार्केटअगाडिको बस स्ट्यान्ड आइपुग्छ । त्यहाँ भीड रहेछ । भीडलाई चिरेर हेर्दा ऊ छक्क पर्छ—अन्धाहरूले मधुर स्वरमा गाउँदै रहेछन् । उनीहरूका गीतमा डुबेर उसले त्यहाँ कतिपल्ट आँसु खसाल्छ र आफूसित रहेका एक-दुईवटा नोटहरू पनि दान गरिराख्छ ।

साँझमा ओल्याङटोल्याङ गर्दै घर पुग्छ । घरभित्र पलङमा सुतिरहेकी बिरामी स्वास्नीलाई देख्दा पो उसलाई झसङ्ग भएर याद आउँछ—स्वास्नीलाई उपचार गराउन डाक्टरकहाँ लान्छु भन्ठानेर त्यही रेस्टुराँको मालिकलाई अलिकति सापटी माग्नलाई ऊ एकाबिहानै घरबाट निस्केको थियो ।

अब बिरामी स्वास्नीलाई कुन मुख देखाउने भनेर ऊ अप्ठ्यारो मान्दै भित्र पसेपछि उसलाई एकप्रकारको चिसो पसिना आउँछ । सारा शरीर थरर काम्नथाल्छ । बाकसबाट एउटा तातो लुगा झिक्नलाई ऊ के लम्केको मात्र थियो उसकी स्वास्नीले उसका दुबै खुट्टा समाएर विन्ती गर्न थाल्छे—“दया गरेर, त्यो धन भने पनि इज्जत भने पनि एउटै मात्र रहेको मङ्गलसूत्र नबेचिदिनुहोस् !”

सुरजले स्वास्नीलाई कति सम्झाउँछ कि उसले मङ्गलसूत्र होइन तर एउटा तातो लुगा झिक्न त्यो बाकस खोल्न खोजेको हो भनेर । तर स्वास्नी भने पटक्क मान्दिइन, बाकस पक्रेर मात्र रोइरहन्छे ।

स्वास्नीलाई देखेर सुरजको मुटु चरक्क दुखेर आउँछ । ऊ उकुसमुकुस मन लिएर फेरि एकपल्ट त्यही पुरानो रेस्टुराँमा पुग्छ । रेस्टुराँको बेन्चमा बस्नेबित्तिकै रेस्टुराँको मालिकले एक कप चिया र एक गोल चुरोट ल्याएर टेबलमाथि राखिदिन्छ । उसले लज्जित भावमा हातको इशाराले आफूसित रोकडा छैन भन्छ । मालिकले पनि इशाराले नै फोकटमा खाऊ भन्छ ।

केही बेरपछि ऊ एकोहोरो भएर घोरिएको देखेर रेस्टुराँको मालिकले त्यो गाहकले बाँकीमा खाएको हिसाब लेख्ने खाताको एउटा पन्ना च्यातेर उसको अघि राखिदिँदै इशाराले भन्छ—“लेख्नुहोस् !”

उसले साँच्चै लेख्ने मन बनाउँछ । त्यो दिनभरि आफूसित घटेका घटनाहरू समेटेर एउटा कथा लेख्ने अठोट गर्छ । तर जति कथा लेख्दै जान्छ त्यो उति स्वत: कविता बन्दै जान्छ । ऊ आफैँसित वाक्क भएर त्यहाँबाट बाहिर निस्कन्छ । रेस्टुराँको मैलाबग्ने नालीमा त्यो आफ्नो आदर्श बोकेको कलम फ्यात्त फ्याकी राखेर फेरि एकपल्ट उकालै लाग्छ ।

राति सुरुवाल भिझ्नेगरी बेस्सरी रक्सी पीएर चौरस्तामा आउँछ र भानुभक्तको सालिकनेर चिसो बेन्चमा लमतन्न पल्टिर रातभरि गनगनाइरहन्छ ।