इमानसिं मगर बिहानै उठ्यो । गोठधन्दा गर्यो । श्रीमतीले घरधन्दा गरी । दलानको गुन्द्रीमा बसेर चिया पिउँदै श्रीमतीलाई भन्यो, ‘सुकुमाया, आज तल सिरुबारीमा हाम्रो नेता आउनु हुँदैछ । तँ पनि हिन् । ठुलो कार्यक्रम छ ।’
सुकुमायाले अबोध प्रश्न सोधी, ‘को नेता आउने हुन् नि ?’
इमासिंले भन्यो, ‘तँ चिन्दिनस् के । हाम्रो नेता । देशको नेता । ठुलो नेता । तँैले त्यत्रो नेता अहिलेसम्म देखेकै छैनस् । आएपछि देख्लिस् नि ! तँलाई चिनारी पनि गराइदिउँला । उनी मेरा पूराना साथी हुन् । छोराका लागि जागिरको पनि कुरा गरौँला ।’
सुकुमाया निस्पृह देखिई । उसको अबोध चेहरा एकछिन् आफूमाथिका दलिनतिर सोझियो । अविश्वास देखाएर भनी, ‘खै तिम्रा कुनै नेताले अैलेसम्म क्यै गर्या हैनन् । मलाई त विश्वासै लाग्या छैन ।’
इमानसिंले श्रीमतीलाई विश्वस्त पार्न खोज्दै भन्यो, ‘आज ठुलो मौका छ क्या सुकुमाया । देशकै ठुलो नेता हाम्रै गाउँघरमा आउने भएका छन् । यै वेला हाम्ले छोराको जागिरको कुरा गर्नुपर्छ । उनी जनताका नेता हुन् । अरूजस्ता हैनन् । उनले जनताको मर्का बुझ्छन् । मसँग नेताको नम्बर छैन र पो त । नत्र अहिल्यै फोनमा कुरा गर्थेँ । भेटेपछि फोन नम्बरचैँ लिनुपर्छ है ! केही गाह्रोसाँग्रो पर्दा फोन गर्न हुन्छ ।’
सुकुमायाले कुनै प्रतिक्रिया जनाइन । शून्यभावमा देखिई ऊ । ओठ लेप्य्राएर भित्र पसी । इमानसिं आफ्नो कामधन्दामा लाग्यो । दिनभरको काम दुवैले बिहानै सके । सुकुमायाले सभामा जाने इच्छा देखाइन । अनास्था देखाउँदै भनी, ‘हामीजस्ता गरिबको मर्का कुनचाहिँ नेताले बुझ्छ र भन्या ! म जान्नँ । किन जानु !’
इमानसिंले पुनः अहम् खोक्यो, ‘हेर्, यो इमानसिं हो क्या इमानसिं । धन नभएपनि इमान बाँकी राखेको छ । हाम्रो कुरा उनले पक्कै सुन्छन् । हाम्रो बिहे नहुँदै नेताजी र म सँगसँगै राजनीति गथ्र्यौँ । पार्टी सङ्गठन बनाउन गाउँगाउँ डुल्थ्यौँ । पानीमा सातु घोलेर खान्थ्यौँ ।’
सुकुमायाले पुनः शङ्का व्यक्त गरी, ‘नेताले तिमीलाई चिनेनन् भने !’
इमानसिंले भन्यो, ‘त्यस्तो पनि हुन्छ ? के कुरा गर्छे यो ? मलाई नचिने कसलाई चिन्छन् त ! भेट नभएको पन्ध्रै वर्ष त भो । गाउँमा पार्टीलाई बलियो बनाएको उनलाई थाह छैन होला र ! उनी जिल्लामा आउँदा हाम्रो भेट भइरहन्थ्यो । पछि पो उनी ठुला नेता भए । जिल्लामा आउन फुर्सद भएन । भेट हुन छाड्यो । हेर् सुकु, अरू सुखका साथी हुन्, म त दुःखको साथी हुँ नि ! दुखमा चिनिएको साथीलाई कसैले बिर्सन्छ ?’
सुकुमाया करबलले सिरुबारीको सभामा जाने भई । इमानसिंले खै के सम्झेजस्तो गरी टाउको कन्यायो । सुकुमायाको शङ्काले उसलाई पनि भित्र कता कता झस्का हान्यो । केही भनेन । झटपट तलामाथि गयो । ट्याङ्का खोल्यो । प्लाष्टिकमा बेरेको पच्चीस वर्षअघिको फोटो निकाल्यो । पार्टी सदस्यता कागज झिक्यो । फोटो हेर्यो । फोटामा नेताजी र ऊ पहाडको खोंचमा उभिएका थिए । इमानसिंले फोटो खल्तीमा हाल्यो । दुवै जना सभाका लागि घरबाट निस्किए ।
बाटोमा दुवै खासै बालेनन् । इमानसिं भित्रभित्रै गद्गद् थियो । ऊ आज सुदामा भएको थियो । र, कनिका कोसेली बोकेर कृष्णलाई भेट्न जाँदै थियो ।
+++
गाउँ गाउँमा लोकल चुनावको रापताप बढ्दै गएको थियो । अघिल्ला कार्यकालका समीक्षा हुँदै थियो । नयाँ उम्मेदवारबारे चर्चा चल्न थालेको थियो । मानिसहरूबिच
चोक चोक, गल्ली गल्ली र चिया पसलमा चुनावकै कुरा हुन थालेको थियो । तिनका आफ्ना आफ्ना तर्क र मूल्याङ्कन थिए । बुझाइ र दृष्टिकोणहरू थिए ।
खै, कति बुझेका थिए तिनले ! कोही माक्र्सवाद-लेनिनवादका कुरा गर्थे । कोही माओका विचारको विश्लेषण गर्थे । कोही नयाँ जनवाद र बहुदलीय जनवादका पक्षपाती थिए । कोही कोही प्रजातान्त्रिक समाजवादको अस्पष्ट व्याख्या गर्थे । कोही सिधै समाजवादी यात्रामा सयर गर्थे । तिनका खोक्रा ‘वाद’ हरूले जनताको दैनन्दिनमा कहाँ मूर्त भूमिका खेलेका थिए, त्यो उनीहरू नै जानून् ! अनेक वाद र विचारका पूराना जडाउरी भिरेका तिनै ‘डेट एक्स्पायर्ड’ बुङ्गाहरूकै कब्जामा थियो गाउँ, सहर अनि देश ।
साँचो कुरा, देश ती ‘बुङ्गाहरू’ बाट मुक्ति चाहन्थ्यो । उन्मुक्ति चाहन्थ्यो । र, बुङ्गारहित स्वतन्त्रता चाहन्थ्यो । छयालिसमा उम्रेका बुङ्गाहरू छहत्तरपछि पनि उही राग, उही ढाँचा, उही अनुहार र उही रवाफमा जनताको खुन-पसिनामा उग्राइरहेका थिए ।
चुनावी सरगर्मी बढ्दै जाँदा कतै भनाभन, कतै तानातान अनि कतै हानाहान पनि चल्न थालेको थियो । यी उत्ताउला कुकृत्य पनि सामान्य लाग्न थालेका थिए । सामाजिक सञ्जालतिर एउटाले अर्कालाई ताकेर झटारो हान्थ्यो । अर्काले मर्नेगरी कमेन्ट गथ्र्यो । त्यसपछि भन्नुनभन्नु गालीको वर्षा । नैतिकता, सामाजिक मर्यादा र राजनैतिक ‘इथिक’ कतै बचेको थिएन । मानिसहरू असहिष्णु, अराजक र छाडा बन्दै गएका थिए । देशको कतै चिन्ता थिएन । मात्र चिन्ता थियो- जसरी पनि चुनाव जित्नु र निरीह जनतामाथि शासन गर्नु । देश एउटा चुनावदेखि फगत अर्को चुनावसम्मको असफल यात्रामा थियो ।
दशकौँदेखि जनताको भोटको ठेकदारी गर्दै आएका रक्त पिपासु उपियाँहरूको चुरीफुरी अचाक्ली थियो । ती उपियाँझैँ फड्किन्थे । आज तामझानसहित एउटा पार्टीमा प्रवेश गर्थे । अर्को दिन अर्कै पार्टीमा । फेरि अर्को दिन त अर्कै पार्टीको झण्डा समात्न पुगेका हुन्थे ।
+++
सिरुबारी चौरको ठुलो आयतनमा मानिसहरू बिहानैदेखि आयात हुन थाले । बसका बस मानिस झर्न थाले । सुमो, बोलेरो ट्याक्सी, कारबाट मानिसहरू उत्रिन थाले । पार्टीको झण्डा फहराउँदै कति मोटरबाइक आएका थिए, तिनको के लेखा ! चौरमा मानौँ, तिलको गेडासम्म राख्ने ठाउँ थिएन । चारै कुनामा बडेबडे स्पिकर ठड्याइएको थियो । मञ्च स्वयम्वर खातिर सिँगारिएकी बेहुलीझैँ थियो । ठुला नेताका लागि अग्रासनमा लक्जरियस सोफा राखिएको थियो । दोस्रो लाइनमा दोस्रो तहका तालुकवालाका लागि आसन थियो । तेस्रो लाइनमा स्थानीय भुरेटाकुरे नेताको लागि कुर्सी राखिएको थियो ।
मानिसहरू थपिँदै थिए । कार्यकर्ता उफ्रिँदै थिए । नर्तकनर्तकीहरू नाचमा रम्दै थिए । नेताहरू आसनमा जम्दै थिए । सबैमा व्यग्र प्रतीक्षा थियो- ठुलो नेताको ।
वेलावेला सबैका आँखा आकाशतिर सोझिन्थे । प्रमुख अतिथि र विशेष आसेपासे हेलिकप्टरबाट आउँदै थिए । उद्घोषक मच्चीमच्ची आसन ग्रहण गराउँदै थियो । ताली पड्किँदै थियो ।
+++
पश्चिम आकाशमा भँगेरोको आकारमा एउटा हेलिकप्टर देखियो । त्यो ठुलो ठुलो देखिँदै आयो । त्यसको आवाज पनि बढ्दै नजिक नजिक हुँदै आयो । सबैको तनमन त्यतैतिर तानियो । हेलिकप्टरले सिरुबारीको आकाश काटेर पूर्वतर्फ लाग्यो ।
फनक्क मोडिएर त्यै हेलिकप्टर फुत्त पूर्वबाट नजिकै निस्कियो । साराका आँखा उतैतिर गए । उद्घोषकले फलाक्यो, ‘हाम्रा आदरणीय प्रमुख अतिथि हेलिकप्टरबाट झर्दै हुनुहुन्छ । कृपया सबैले उठेर वहाँलाई स्वागत गरौँ ।’
हेलिकप्टरले पुनः अर्को चक्कर हान्यो । बेतोडले हावा चल्न थाल्यो । जमिनमा कुहिरीमण्डल धुलो उड्यो । मानिसहरूले आँखा छोपे । कति मानिसको आँखा छारोको ढाक्यो । कोही कोही आँखा मिच्न थाले । आवाजले कानै खायो । भयङ्कर गर्जनका साथ नेताजीको हेलिकप्टर पल्लोपट्टिको हेलिप्याडमा आएर बस्यो ।
नेताजीको स्वागतार्थ पररर ताली बज्यो । सुसेल्याइँले आकाश छेड्यो । माइक फोरुँलाझैँ उद्घोषक चिच्याउन थाल्यो । स्थानीय नेताहरू प्रमुख नेताको सवारीका लागि उतैतिर कुदे ।
प्रमुख नेता भित्रियो । कम्मरमुनिको भागबाहेक मालाले ऊ पुरिएको थियो । मुख र नाक अलिअलि देखिएको थियो । पुनः तालीको गडगडाहटले आकाश गुन्जियो । जयजयकारले पहाड थर्कियो ।
दाहिने हातको मुठ्ठी कसेर नेताजीले अभिभादन गर्यो । फेरि ताली र जयजयकार गुन्जियो । नेताजी अग्रभागको विशेष आसनमा आसीन भयो ।
इमानसिं अगि नै त्यहाँ पुगेको थियो । अरूको चुरीफुरीमा उसले त्यति चासो देखाएन । स्वागतका लागि कुदाकुद पनि गरेन । एउटा चिर्केटोमा आफ्नो नाम लेखी उसले ‘नेताजीलाई दिनु’ भनेर उद्घोषकलाई दियो । अनि श्रीमतीका साथ पार्टीको एउटा झण्डा उचालेर कुनामा बसेर हेरिराख्यो । ऊ नेताजीलाई जसरी पनि भेट्न चाहन्थ्यो । पूराना कुरा सम्झाउन चाहन्थ्यो । मित्रतालाई पुनर्ताजगी दिन चाहन्थ्यो ।
ऊ एकाएक अवचेतनमा पुग्यो । मनमा काल्पनिक एउटा दृश्य उतार्यो । दृश्यमा देखियो- हजारौँको भिडमा नेताजीले मलाई धाप मार्दै छन् । सभामै उसका कुरा गर्दै छन् । पार्टी बामे सर्दै गर्दा उसले पार्टीमा गरेको योगदानको चर्चा गर्दै छन् । राजनीतिक वृत्तमा शून्य चर्चा रहेको ऊ एकाएक चर्चाको शिखर पुगेको छ । सबै जना उसकै वाहवाही गर्दै छन् ।
इमानसिं अवचेतनबाट चेतनतिर फर्कियो । आफैले असहज महसुस गर्यो । श्रीमतीलाई कोट्टयाएर भन्यो, ‘उवेला नेताजी मभन्दा पनि दुब्ला थिए । निकै मोटाएछन् ।’
सभा सुरु भैसकेको थियो । वक्ताहरू सुरिई सुरिई बोल्दै थिए । पहिलो वक्ताले ०६ सालमा कम्युनिष्ट पार्टीको स्थापनाको कुरा निकाल्यो । अर्कोले केशरजङ्ग चरित्रको पर्दाफास गर्यो । तेस्रोले झापा विद्रोहको इतिहास ओकल्यो । पाँचौँले छत्तीसको आन्दोलन र जनमत सङ्ग्रह राग अलाप्यो । छैटौँले भन्यो, ‘आन्दोलनमा हाम्रो सहभागिता नभएको भए छयालीसमा राजाले घुँडा टेक्ने थिएनन् । कसैले फुर्ती नगरे हुन्छ । त्यसैले हाम्रो पार्टी बिनाको लोकतन्त्र कल्पना नगर्दा हुन्छ ।’
सातौँले बैसठ्ठी/त्रिसठ्ठीको आन्दोलन र गणतन्त्रको चर्चा गर्यो । आठौँ वक्ताको आशय थियो, ‘दोस्रो संविधान सभालाई फेल गराउन अन्तर्राष्ट्रिय शक्ति लागेको थियो । हाम्रो बल नभएको भए संविधान बन्ने थिएन । संविधानमा संघीयता, धर्म निरपेक्षता, समावेशिता र मौलिक हकहरू हाम्रै एजेण्डाहरू लिपिबद्ध भएका छन् ।’
त्यहाँ कुनै दर्शनको व्याख्या भएन । विचारको विमर्श भएन । जनजीवीकाको सवाल उठेन । कुतर्कलाई तर्कले ढाक्नेबाहेक अरू कुरा हुँदै भएन ।
इमानसिं नचाहेरै पनि बिस्तारै ताली हानिरहेको थियो । उसका आँखाले उद्घोषकलाई ताकिरहेका थिए । कान आफ्नै नाम सुन्न व्यग्र प्रतीक्षामा थिए । समय घर्कँदै थियो ।
अन्त्यमा नेताजी भाषण गर्न उठ्यो । उसले नै नामले इमानसिंलाई बोलाउला । इमानसिं दृढ थियो । विश्वस्त थियो । नेताजीले धेरै लामो भाषण गरेन । जसरी पनि आफ्नो पार्टीलाई पहिलो बनाउनुपर्ने र नत्र देश सङ्कटमा पर्ने तथ्यहीन (कु)तर्क राखेर सबैलाई धन्यवाद दिँदै ऊ मञ्चमै गएर बस्यो ।
अँहँ, इमानसिंको नाम आएन । आउने सम्भावना पनि घट्दै गयो । इमानसिंले सोच्यो, ‘मेरो नाम नेताजीकोमा नपुगेको पो हो कि ! त्यो उद्घोषकले जानेर वा बिर्सेर नदिएको पो हो कि !’
इमानसिंलाई छटपटी हुन थाल्यो । चिटचिट पसिना आयो । श्रीमतीसँग पनि बोलेन । उता मञ्चमा पार्टी प्रवेशको कार्यक्रम सुरु हुन लाग्यो । उद्घोषकले भन्यो, ‘आज विपक्षी पार्टी परित्याग गरी सयौँ कामरेडहरू हाम्रो पार्टीमा प्रवेश गर्दै हुनुहुन्छ । जिल्लाकै अत्यन्त लोकप्रिय नेता, निमाणर् व्यवसायी, जनताका मुटुका ढुकढुकी श्री डिआर शर्मासहितलाई हाम्रो पार्टीमा स्वागत छ ! अब आदरणीय प्रमुख अतिथिज्यू अबिर र मालासहित उहाँहरूलाई स्वागत गर्नु हुँदैछ ।’
नाम सुनेर इमानसिंले एक पटक जिभ्रो टोक्यो । ‘भ्रष्टचारी, कुल्लीमारा, कामचोर डिआर शर्मा लोकप्रिय ? जनताको मुटुको ढुकढुकी ?’ यत्ति सोच्यो इमानसिंले । उसको मन चिसो भएर आयो । टाउको पनि भारी भयो । तैपनि आश मारेको थिएन । पक्का नाम आउँछ भनेर उतै हेरिबस्यो ।
इमानसिंको नाम आउँदै आएन । ऊ उठ्यो । नेताजी पनि उठिसकेको थियो । नेताकार्यकर्तासँग बिदा हुन हात अघि बढाउँदै थियो । इमानसिं भिड छिचोल्दै अघि बढ्यो । चिच्यायो, ‘नेताज्यू, नेताज्यू ! म इमानसिं मगर ! मलाई चिन्नुभएन ? ईः हाम्रो पूरानो फोटो । हेर्नुस् त ! हामीले सँगै पार्टी सदस्य बनेका थियौँ ।’
कसैले भन्यो, ‘आज इमाने आज बौलाएछ क्या हो !’ इमानसिंले यो कटु वचन सुन्दै सुनेन । ऊ नेताजीको नजिक पुगिसकेको थियो । नेताजीले बिना प्रतिक्रिया पुलुक्क हेर्यो । बोलेन । हेलिप्याडतिर नेताजीको सवारी भयो । इमानसिं त्यतै गयो । पागलझैँ बर्बरायो, ‘मेरो छोराले धेरै पढेको छ नेताज्यू । ऊ इमानी छ । असल छ । जागिर भेटेको छैन । पढाउँदा रिन लागेको छ । ‘देशमै गरिखान्छु, विदेश जान्नँ’ भन्छ । उसलाई सानुतिनु जागिर लगाइदिनुस् ।’
नेताजी हेलिकप्टरमा उक्लियो । पङ्खा बिस्तारै अनि जोडजोडले घुम्न थाले । हावा चल्यो । धुलो उड्यो । हेलिकप्टरले जमिन छाड्यो । इमानसिंको आँखामा धुलो पस्यो । उसले आँखा मिच्दै आकाशतिर हेर्यो । नेताजीको हेलिकप्टर धमिलो धमिलो र सानो सानो हुँदै गएको थियो ।
धुलोले राता भएका आँखाले इमानसिंले चौरतिर हेर्यो । गीत बजिरहेको थियो-
‘जनताकै लागि लड्यौँ हामी, जनताकै लागि लड्नेछौँ
जनताकै लागि मर्र्यौँ हामी, जनताकै लागि मर्नेर्छौँ ।’
पत्याइदिनेले पत्याएकै थिए । ताली पिट्नेले पिटेकै थिए । ‘जनताको लागि’ सफेद झुट पनि स्थापित भाष्य भैसकेको थियो । एक चौथाई बढी जनता खाना-नानाका लागि बिरानु देशमा भासिँदा पनि ‘जनताको लागि’ को खेती राजनीतिको बारीमा बेस्मारी झाङ्गिएकै थियो ।
मानिसहरू कम्मर मर्काई मर्काई नाचिरहेका थिए । होहोरीमा सुसेल्नेहरू साईसाई र सुईसुई गरिहेका थिए । भक्ष्याभक्ष्यमा मात्दै मानिस हैन, त्यहाँ मुर्कुट्टा नाचिरहेका थिए । इमानसिंले सोच्यो- ‘यस्तै रहेछ राजनीति ! राजनीतिले नै देशलाई केही नउम्रिने सिरुबारी बनायो । त्यै सिरुबारीमा मुकुट्टाहरू नाचिरहेछन् ।’
सभा तितरबितर हुँदै सकिने क्रममा थियो । श्रीमतीलाई तान्यो । बाटो लाग्यो । बाटाभरि एक शब्द बोलेन । घरमा पुगेपछि सुकुमायाले सोधी, ‘नेताजीसँग चिनापर्ची गराएनौ त तिम्ले मलाई !’
इमानसिं मर्माहत भयो । केही बोलेन । उसले खल्तीबाट फोटो झिक्यो । पार्टी सदस्यता पनि झिक्यो । सँगै ल्याएको पार्टीको झण्डा पनि भुईंमा राख्यो । तख्ताबाट पार्टीको विधान र घोषणापत्र झिक्यो । लाइटर तान्यो । सबैलाई एकै थुप्रोमा राख्यो । आगो सल्कायो । भुईंमा आगो बल्न थाल्यो । थोरै थोरै तुष्टिमिश्रित अनुहारले आगो हेरिरह्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।