‘नमस्कार मेडम ! म हजुरलाई फोन गर्न खोज्दै थिएँ तर बाटामा नै भेटिहालेँ’ रमाको उद्गारले म रोकिएँ र उनलाई पुलुक्क हेरेँ ।

‘आज सयपत्री टोलमा सानो भेला छ, हजुर पनि त्यहाँ उपस्थित हुनुपर्छ है मेम !’ रमाले निमन्त्रणा गरिन् ।

‘किन आज के छ र ?’ मैले प्रश्न गरेँ ।

‘सावित्रा दिदीको छोराले दुई सन्तानकी आमा भगाए छ । घरमा श्रीमती सुत्केरी छ । उता त्यस आइमाईको पनि लोग्ने विदेशमा छ अरे । छोराछोरीको बिचल्ली भएछ । खोजिगर्दै जाँदा तिनीहरू काठमाडौँमा भेटिएछन् । आज घरमा बोलाइएको रहेछ । केटीका माइती र घरपट्टिका मानिस पनि आउँछन् अरे । सबै बसेर छलफल गर्ने कुरा रहेछ ।’ भन्दै वडा सदस्य रमाले खुइय् गरिन् ।

‘अरे ! ती त सरोज सर होइनन्, यसपटक मा.वि. दरबन्दीमा प्रवेश गरेका ?’ मैले आश्चार्य प्रकट गरेँ ।

‘हो नि, के गर्नु बुद्धि भ्रष्ट भएपछि ?’ उनले दुःख व्यक्त गरिन् ।

म पनि उनका कुरा सुनेर एकछिन मौन रहेँ । सम्झेँ, समाजमा अचेल के भइरहेको छ । राम्रा समाचार एउटै सुनिँदैन । कतै बलात्कार, कतै बलात्कारपछि हत्या, कतै घरमा श्रीमती हुँदाहुँदै अर्काकी श्रीमती भगाको, उफ

सीता अञ्जान

!

‘मेडम के सोच्नुभको, आउनुहुन्छ नि होइन ?’ मेरो मौनतालाई भङ्ग गर्दै रमाले प्रश्न गरिन् । मैले मुन्टो हल्लाउँदै उनलाई आउने सङ्केत गरेँ ।

‘हओस् त मेम ! म अहिले गएँ, भरे उतै भेटौँला ।’, उनी घरतिर लागिन् । म पनि हतारहतार घर गएँ ।

आउन ढिला भएकाले होला छोरी रिसाएर बसिरहेकी रैछे । उसलाई फकाइफुल्याइ खाना खुवाएर स्कुल पठाएँ । आफूले पनि दुई गाँस च्यापी घरको काम सकेर छलफलतिर लागेँ । सबै जना भेला भइसकेका रहेछन् । कतै भीडबाट आवाज आइरहेको थियो, ‘यो कस्ती नकचरी आइमाई रैछे, त्यसैलाई घिचाउन भनेर लोग्ने खाडीको तातो घाममा काम गर्न गएको छ । यता यो भने छोराछोरी छाडेर नाठासँग भागिछ । हेर ! छोराछोरीको हरिबिजोक ! त्यस फटाहाकी पनि त स्वास्नी भरखर सुत्केरी भएकी रैछे, बाआमा वृद्ध रहेछन्, त्यसलाई दसा लागेको । लोग्ने मान्छेलाई केही पनि हुँदैन, उसले त मैले गल्ती गरेँ, अब श्रीमतीसँग माफी मागेर परिवारसँगै बस्छु, यसलाई छाडिदिन्छु भनिसक्यो । लोग्नेमान्छे चोखिहाल्छ नि, उसलाई के हुन्छ र ? त्यो नखरमाउलीले पो जान्नुपर्छ, अर्काको पोइसँग जानुहुँदैन भनेर । ए ! के हेरिराखेका त्यस नकचरीलाई जगल्ट्याएर त्यहाँबाट खेदाओन । गाउँ भाड्ने छाडा, अर्काको लोग्ने बिगार्ने वेश्या !’

हल्लालाई नियन्त्रण गर्दै वडाध्यक्ष बोले, ‘अब गालीगलौजतिर होइन, समस्याको समाधानतिर लागौँ । दुवै पक्षका आफन्त, छरछिमेक अनि हामी जनप्रतिनिधि सबै भेला भइसकेका छौँ ।’ उनको कुरालाई समर्थन गर्दै सबै चुप लागे ।

‘यो समस्यालाई कसरी समाधान गर्ने भनेर सर्वप्रथम जाने र लानेलाई नै सोधौँ होइन ?’ वडाध्यक्षले जिज्ञासा राखे ।

‘घरमा बालबच्चा भएको मान्छेले अर्काकी स्वास्नी किन लगेको, अब यो समस्यालाई कसरी मिलाउने हो ? यो सबै कुरा त सरोज सरलाई नै थाहा होला नि होइन ?’ वडा सदस्यले प्रश्न गरिन् ।

सरोज सर मौन रहेको देखेर अर्को प्रश्न गरियो ‘किन चुप लागेको, नबोल्दा समस्याको समाधान हुन्छ, कि मौन रहँदा सजाय भोग्नु पर्दैन भन्ने लागेको छ ?’

‘मैले गल्ती गरेकै हुँ, समाजले जे सजाय दिन्छ भोग्न तयार छु ।’ मलिन स्वरमा सरोज सर बोले ।

‘गल्ती गरेपछि सजाय त भोग्नु पर्छ नै सरोज भाइ ! तर समस्याको निराकरण कसरी गर्ने ? दुवैलाई मिलाएर राख्ने हो कि, जेठीसँग नै बस्ने हो कि, कान्छीसँग बसेर जेठीलाई हेरचाह गर्ने हो कि ? के गरेर मिलाउने त ?’ वडाध्यक्षले प्रश्न गरे ।

‘कहाँको दुवैलाई मिलाउने भन्नुभाको, यस चण्डाल्नीलाई छोराछोरीको बाउ भन्ने थाहा थिएन र ? साथीकी बहिनी बनेर घरमा आकी थिई, मलाई सोझी देखेर हेपेर आकी होइन, लबस्तरी ! योसँग मिलेर बस्दिनँ, उहाँ यसैसँग बस्नुहुन्छ भने बहुविवाहको मुद्धा हाल्छु ।’ सरोजकी श्रीमती चिच्याइन् ।

‘ए नानी ! तिमी बिस्तारी बोलन, सुत्केरी मान्छे, तिमीलाई गाह्रो भयो बा ! यस्तो बेलामा पीडा दियो मास्टर बदमासले ।’ भन्दै छिमेकी काकीले शर्मिलालाई थुम्थुम्याइन् ।

‘के भनेको वडाध्यक्ष बाबुले ? हामी यसलाई स्विर्कादैनौँ । मेरो सोझो छोरालाई के भनेर फकाइ कुन्नि मुर्दाले, मेरी देवताजस्ती बुहारी छ, नातिनातिना छन्, यसलाई कसरी हुन्छ पन्छाइदिनुहोस्, हाम्रो घर नबिग्रियोस् ।’ सरोजकी आमाले बिन्ती गरिन् ।

‘अब केटी पक्षले पनि बोल्नुहोस् । यो समस्याको हल कसरी गर्ने ?’ फेरि वडाध्यक्षले प्रश्न गरे ।

‘हामी त पहिले सरोजजीलाई नै सोध्छौँ । किन श्रीमती हुँदाहुँदै हाम्री बहिनीलाई फसाउनु भयो अनि अब कसरी मिलाउने ?’ केटीका दाजुले सरोजबाट नै उत्तर खोजे ।

केटो चुप लागेर बसेको देखेपछि ‘मेरी जेठी श्रीमती भनेको मान्दिनँ, घमण्डी छे, उससँग मेरो घरबार हुँदैन, म तिमीलाई नै माया गर्छु, तिमीबिना म बाँच्न सक्तिनँ, हामी भागेर अन्तै जानुपर्छ, मेरो जागिर सरुवा भइहाल्छ भनेर फकाएर ल्याएको होइन मलाई ? अहिले किन नबोलेको ?’ भन्दै सरु सरोजसँग आक्रोशित भई ।

‘के भनिस् अरे नकचरी ! केटा मान्छेले त के के भन्छन् के के भन्छन् नि, तँ आइमाई भएर उसले फकाउँदा फकिने, तेरा छोराछोरी छैनन् ? तँलाई माया लागेन ? अहिले सबै मिलेर जगल्ट्याएर खेद्छौँ, धेर बोल्छेस् ?’ भन्दै सरोजकी काकी कराइन् ।

निकैबेरसम्म आरोप प्रत्यारोपमा नै समय खर्चियो ।

‘अब यसरी कसैलाई गाली गरेरमात्र निष्कर्षमा पुग्न सकिँदैन । त्यसैले नयाँ बेहुलाबेहुलीलार्इ नै सल्लाह गर्न समय देऊँ ।’ समाजसेवी तारा दिदीले आफ्नो विचार राखिन् । तर निकै बेरसम्म दुवै केही नबोलिकन एकअर्काको अनुहारमा हेराहेर गरिरहे । त्यो दृश्य देखेपछि वडाध्यक्ष आफैँ बोले, ‘के नछुटिने नै हो ? यदि त्यसो हो भने हामी शर्मिला बहिनीलाई सोध्छौँ । उनले के भन्छिन्  ?’

‘नाबालक छोराछोरी अनि वृद्ध भएका बाआमा हुनुहुन्छ । म सबै कुरालाई भुलेर एकचोटिलाई उहाँलाई माफ गरिदिन्छु तर त्यसलाई नछोड्ने हो भने उजुरी हालिदिन्छु ।’ शर्मिलाले भनिन् ।

‘के गर्ने जेठीसँग मिलेर बाआमासँगै बस्ने कि कान्छीसँग मिलेर चिसो छिँडीको हावा खाने सरोज भाइकै हातमा छ ।’ वडा सदस्यले व्यङ्ग्य गरिन् ।

‘गल्ती सरुको र मेरै हो, शर्मिलाको होइन । यदि उनले मलाई स्वीकार्छिन् भने म उनैसँग बस्छु । सरुका पनि बालबच्चा छन् । उनी पनि छोराछोरीसँग जान्छिन् ।’ सरोजको अभिव्यक्ति सकिनेबित्तिकै सरुका ससुरा जङ्गिए, ‘हामी यस्ती सिनोलाई लादैनौँ । खुट्टा भए जुत्ता मुला कतिकति !  हाम्रा नातिनातिना हामीसँगै बस्छन् । मेरो छोराको कति पैसा खाकी छे, त्यो सब फिर्ता गरोस् ।’

‘हो हो, यही आइमाई उस्ती हो । लोग्नेलाई विश्वास दिलाएर सबै पैसा कुम्ल्याएर नाठासँग हिँडी ।’ भीडबाट आवाज आयो ।

माइती पक्षले पनि ‘हामी केही जान्दैनौँ । लाने मान्छेलाई नै के गर्ने भन्ने थाहा होला ।’ भन्दै उसलाई आफूसँग नलाने अभिव्यक्ति दिए ।

‘एकचोटि सरुका श्रीमानलाई पनि फोन गरेर सोधौँ न उनले के भन्छन् ?’ मैले जिज्ञासा राखेँ ।

‘म त्यसको अनुहार पनि हेर्दिनँ, मेरो कमाइ केमा खर्च गरेकी छे, त्यसको हिसाब माग्नु अनि मेरा बच्चलाई बाआमाले ल्याउनु भनेको छ मेरो छोराले’ सरुका ससुरा बोले ।

त्यहाँ त्यस्तो माहोल बन्यो कि सबै दोष त्यही केटीको हो, केटो विल्कुल निर्दोष छ । मलाई असह्य पीडा भयो । म एकछिन मौन रहेँ । त्यसपछि साहस बटुलेर भने, ‘हामी सबैले केटीको मात्र दोष देखायौँ, केटालाई निर्दोष सावित गर्यौँ तर दुवै बराबरी दोषी छन् । केटाकेटी दुवै सल्लाहले नै भागेका हुन् । के यिनीहरूलाई हामी छोराछोरीका बाआमा हौँ भन्ने थाहा थिएन र ? तर अहिले आएर सरु मात्र कसरी दोषी हुन्छे ?, के सरु एक्लै भागेकी हो, त्यसमा सरोजको सहभागिता थिएन ?, उमेरका हिसाबले पनि सरु सरोजभन्दा सानी छे, पढाइका हिसाबले पनि सरोजले नै बढी पढेको रहेछ, त्यति मात्र हो र ? सरोज त शिक्षणजस्तो मर्यादित पेसामा आबद्ध भएको मान्छेले के गर्न हुन्छ के गर्न हुँदैन भनेर निर्क्यौल गर्न सक्नुपर्दैनथ्यो ? अहिले दोष जति सबै सरुलाई लगाएर ऊ उम्कन पाउँछ ?, सरोजले चाहिँ गल्ती गर्दा नि परिवारले स्वीर्काने अनि सरुलाई कसैले नस्वीकारेर ऊ सडकमा फालिनु पर्ने ? गल्ती दुवैले गर्ने अनि सजाय चाहिँ सरु एक्लैले भोग्नु पर्ने …… ?

                                               सुकुना क्याम्पस (मोरङ)